पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत प्रयोजनका लागि आज दिउँसो ३ बजे गण्डकी प्रदेशसभाको बैठक बस्दैछ । उक्त बैठकमा अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको छ । गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सरकारमा दाबी गर्दा सभामुखको मत गणना गरेको भन्दै सर्वोच्चमा रिट दायर भएकोमा सर्वोच्चले प्रदेश सभाबाट विश्वासको मत लिएर नै सरकारको बहुमत तय हुने भन्दै रिट खारेज गरेपछि मुख्यमन्त्रीलाई विश्वासको मत लिने बाटो खुलेको थियो । सर्वोच्च अदालतले सभामुखबाहेक पनि खगराजको पक्षमा ३० जना रहेकाले बहुमत प्राप्त गर्न सक्ने व्याख्या गर्दै सो रिट खारेज गरेको थियो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद दीपक मनाङे रहेका छन् । संवैधानिक व्यवस्था अनुसार पक्ष विपक्षमा बराबर मत भएको अवस्थामा मात्र सभामुखले मत दिन पाउने छन् ।
पोखरा: सर्वोच्चको फैसलाले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको सरकारलाई मन्त्रीमण्डल बिस्तार र विश्वासको मत लिने ढोका खुला गरेको छ । यता राप्रपालाई तटस्थ भएर बस्ने बाटो बन्द भएको छ । राप्रपाले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ, कि मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिने कि मध्यावधि निर्वाचनमा लैजाने ? सुनगाभा न्यूजले गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङसँग यही प्रंसगबारे कुराकारी गरेका छौं । विस्तृत रुपमा प्रस्तुत छ, किरण गुरुङको अभिव्यक्ति: राप्रपा अनिर्णयको बन्दी बन्दा मुख्यमन्त्री खगराज अधिकारीको नेतृत्वमा गठित गण्डकी प्रदेशको सरकारप्रतिको अन्यौलता, पूर्व मुख्यमन्त्री सुरेन्द्र पाण्डेको रिट निवेदन खारेजी गर्ने सर्वोच्चको फैसलासँगै समाप्त भएको छ । सर्वोच्चको यस फैसलाले मुख्यमन्त्री खगराज अधिकारीको सरकारलाई मन्त्रीमण्डल विस्तार र विश्वासको मत लिने ढोका खुला गरेको छ भने अब राप्रपालाई तटस्थ भएर बस्न नमिल्ने अवस्था पनि उत्पन्न गराएको छ । राप्रपाले वर्तमान गठबन्धनको सरकारलाई विश्वासको मत नदिने हो भने गण्डकी प्रदेश सिधै मध्यावधि निर्वाचनमा धकेलिनेछ । किनकी एमाले र माओवादीको गठबन्धन कायम रहँदासम्म गण्डकी प्रदेशको संसदको समिकरणलाई हेर्ने हो भने अन्य कसैको नेतृत्व वा कुनै गठबन्धनलाई बहुमत नपुग्ने प्रष्ट देखिन्छ । त्यसैले मध्यावधि निर्वाचनमा नजाने हो भने राप्रपाले मुख्यमन्त्री खगराज अधिकारीको नेतृत्वमा बनेको वर्तमान गठबन्धनको सरकारलाई विश्वासको मत दिनु बाहेक अन्य कुनै विकल्प देखिदैन । हालै राप्रपाको केन्द्रीय समितिको निर्णयलाई विश्लेषण गर्दा पनि वर्तमान गठबन्धनको संघीय सरकारलाई समर्थन नगर्ने निर्णय गरेको भएपनि प्रदेश सरकारको हकमा भने परिस्थिति अनुसार समर्थन गर्न र सरकारमा सहभागी हुनसमेत सकिने विकल्पलाई खुला राखेको देखिन्छ । सर्वोच्चको निर्णय पश्चात राप्रपालाई आफ्नो निर्णयअनुसार आन्दोलनलाई कायमै राख्दै गण्डकी प्रदेशको वर्तमान गठबन्धन सरकारलाई समर्थन र सहभागी हुने बाटो खुला भएको छ । मध्यावधि निर्वाचनमा नजाने हो भने अब राप्रपालाई अनिर्णयको बन्दी हुने बाटो बन्द भएको छ । विश्वास छ, छिटोभन्दा छिटो निकट भविष्यमा गण्डकी प्रदेशको वर्तमान गठबन्धनको सरकारलाई समर्थन गर्ने र सरकारमा पनि सहभागि हुने सकारात्मक निर्णय हुनेछ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप रिसोर्ट निर्माणको सम्झौता भएकामा खुसी व्यक्त गर्दै पर्यटन प्रवर्द्धनका लागि सरकारको सहयोग रहने बताउनुभएको छ । आज बिहान रारा होल्डिङका प्रतिनिधिहरूसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । भेटमा प्रधानमन्त्रीले भन्नुभयो, “राराको मुर्माटपमा रिसोर्ट निर्माणका निम्ति भएको सम्झौता महत्त्वपूर्ण छ । नेपालमा समृद्धिका लागि प्रचुर सम्भावनाका क्षेत्रमध्ये पर्यटन एक महत्त्वपूर्ण क्षेत्र हो । त्यसका निम्ति पर्यटन पूर्वाधारमा राज्यले जोड दिनुपर्दछ । तपाईँहरू निजी क्षेत्र आफैँले यसका निम्ति पहल लिनुभएकामा म खुसी छु । रारामा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्नेछ ।” प्रधानमन्त्रीले रारामा पर्यटकको आकर्षणका निम्ति राज्यको तर्फबाट पूर्वाधार विकासमा सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “रिसोर्ट निर्माणका निम्ति राज्यले समेत पूर्वाधार विकासमा भूमिका खेल्नेछ । मुख्यतः त्यहाँ पुग्ने सडक निर्माण, विद्युत् प्रसारण, खानेपानीलगायत क्षेत्रमा सरकारका तर्फबाट सहयोग हुनेछ । यो लगानीले नेपालमा पर्यटक भित्र्याउनमात्र सहयोग पुग्ने छैन, आन्तरिक राजश्वसमेत अभिवृद्धि हुनेछ ।” भेटमा रारा होल्डिङ प्रालिका अभिषेकविक्रम शाह र एक्पर्ट ग्रुप अष्ट्रेलियाका सञ्जीव शर्माले लगानी सम्मेलनमा भएको सम्झौताबमोजिम निर्धारित समयमा नै काम सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोमबार सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच रु एक अर्ब १० करोडको लागतमा रारा ताल समीप सुविधासम्पन्न रिसोर्ट निर्माण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
काठमाडौं: कोशीका मुख्यमन्त्री केदार कार्कीले आफु नेतृत्वमा रहँदारहँदै प्रदेशमा अर्क मुख्यमन्त्री चयन हुन नसक्ने भन्दै त्यसो नगर्न प्रदेश प्रमुखलाई पत्र बुझाउनु भएको छ । मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर प्रदेशसभा बाट पारित संकल्प प्रस्ताव अनुसार प्रदेशमा नयाँ सरकार गठनको आह्वान नगर्न आग्रह गर्नु भएको हो । कार्कीले प्रदेश प्रमुखलाई बुझाएको पत्रमा आफू नेतृत्वको सरकार रहँदारहँदै अर्को सरकार नबनाउन आग्रह गर्दै आफुले विश्वासको मत समेत लिन नपर्ने उल्लेख गर्नु भएको छ । पत्रमा उहाँले प्रदेश सभाबाट पारित संकल्प प्रस्तावकै कारण गैर संवैधानिक काम नगर्न समेत प्रदेश प्रमुखलाई आग्रह गर्नु भएको छ । गत वैशाख ७ गते कोशी प्रदेश सभाबाट एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारी प्रस्तावक, माओवादी प्रदेशसभा सदस्य गणेश उप्रेती र एमालेका किशोरचन्द्र दुलाल समर्थक रहेको संकल्प प्रस्ताव पास भएको छ । संकल्प प्रस्तवामा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री कार्की अल्पमत परेको र कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने नलिए प्रदेश प्रमुखले नयाँ सरकार गठनको आब्हान गर्नुपर्ने उल्लेख गरिएको छ । मुख्यमन्त्री कार्कीले आफु संविधानको धारा १६८ को ५ अनुसारको मुख्यमन्त्री रहेको स्मरण गराउँदै प्रदेशसभाबाट पारित सङ्कल्प प्रस्तावमा उल्लेखित विषय संविधानको मर्म र भावना विपरीत रहेको भन्दै त्यसै आधारमा नयाँ सरकार गठन गर्न खोज्नु असंवैधानिक हुने पत्रमा उल्लेख गर्नु भएको छ ।
सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारलाई पूर्णता दिएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनपछि मंगलबार ६ जना मन्त्रीलाई नियुक्त गर्दै कँडेलले सरकारलाई पूर्णता दिएका हुन् । चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले सत्ता गठबन्धनका दुई ठूला दल एमाले र माओवादी केन्द्रबीच लामो समयको रस्साकस्सीपछि मंगलबार माओवादी र एमालेका ३÷३ जना मन्त्री नियुक्त गरे । माओवादीका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा दुर्गाबहादुर रावत र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रनसिंह परियार नियुक्त भएका छन् । त्यस्तै एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विक, भौतिक पूर्वाधार मन्त्रीमा शेरबहादुर बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोदकुमार शाह नियुक्त भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेल आफैंले राखेका छन् । मुख्यमन्त्री कँडेलले १२ वैशाखमा सत्ता साझेदार दल माओवादी केन्द्रका सांसद रनसिंह परियारलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए ।
इलाम: इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभामा विजयी सुहाङ नेम्वाङलाई बधाई दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । सुहाङ फराकिलो मतले विजयी भएपछि बधाई दिन उनी काठमाडौंबाट इलाम पुगेका हुन् । अहिले इलाम बजारमा सुहाङसहित विजय जुलुस चलिरहेको छ । दिउँसो १ बजे इलाम पुगेका ओलीले सुहाङलाई बधाई दिएका छन् । ओली इलाम २ मा एमाले उम्मेदवार सुहाङका दुईवटा चुनावी सभामा पनि सहभागी भएका थिए । मंगलबार बिहान सकिएको मतगणनामा निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतले हराउँदै सुहाङ विजयी भए । एमाले उपाध्यक्ष एवम् पिता सुवासचन्द्र नेम्वाङको निधन भएपछि छोरा सुहाङले उपनिर्वाचनमा एमालेको टिकट लिएर जितेका छन् । सुहाङले २७ हजार ७७२ मत ल्याउँदा खड्काले २१ हजार ९४२ मत पाउन सके । तेस्रोमा पहिचान पक्षधर डकेन्द्रसिंह थेगिम लिम्बूले ११ हजार ४५७ मत ल्याए । उता चौथो भएका राष्ट्रिय स्वतन्त्र पार्टी मिलन योङहाङ लिम्बू ५ हजार ५० मतमा समेटिए । उनको जमानत जफत भएको छ ।
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई उत्साहित तुल्याएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनमा प्राप्त जितले एमालेलाई खुसी तुल्याएको हो । एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले चुनावले आफ्नो दलप्रति आम मतदाताको ठूलो भरोसा रहेको देखाएको प्रतिक्रिया दिनुभयो । एमालेको अगुवाइ र उपस्थितिमा देश निर्माण गर्न सकिन्छ भन्ने सन्देश पाएको जिकिर पनि उहाँले गर्नुभयो । “अन्य राजनीतिक पार्टीमा सङ्गठित व्यक्तिले पनि ‘सूर्य’लाई मत हालेको देखिन्छ । विचारका हिसाबले आफ्ना दलको नेतालाई मान्ने तर मुलुक सञ्चालनको जिम्मेवारीमा एमाले खोज्ने प्रवृत्ति मतदातामा देखियो । यो एमालेका लागि नयाँ जिम्मेवारी पनि हो ।” आफ्नो दललाई पहिचान विरोधी हो भनेर समाजलाई साम्प्रदायिक विभाजन गर्ने दूषित मनसाय बोकेकाहरूले लगाएको आरोप र अस्वीकृत भएको उहाँको भनाइ छ । पहिचानका नाममा अतिवादी प्रवृत्तिलाई समाप्त पारिएको जनाउँदै उहाँले जनताले युवालाई अनुमोदन गरेको स्पष्ट देखिएको बताउनुभयो । विधायकको मुख्य भूमिका कानुन निर्माण हो, त्यस्तो महत्वपूर्ण थलो संंसदमा कानुनी पृष्ठभूमिका प्रतिनिधिलाई नै जनताले रोजेकामा उहाँले सन्तुष्टि व्यक्त गर्नुभयो । “प्राप्त मतभारबाट उत्साहित मात्र नभएर आफूप्रति गरिएको भरोसालाई डगमगाउन नदिई मुलुकलाई ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माणको राष्ट्रिय सङ्कल्पमा दृढ भएर अघि बढ्छौँ”, उहाँले भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका मुख्य सचेतक हितराज पाण्डेले उपनिर्वाचनबाट देशले राजनीतिक परिपक्वता खोजेको सङ्केत गरेको प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार मुलुकलाई अघि बढाउन दुई/तीन आयाम छन् । “अब सबै मिलेर काम गर्नुपर्छ । देशको समृद्धिका लागि मिलेर जाऔँ भन्ने सन्देश पाइएको छ । राजनीतिमा अघि बढ्न त्याग, समर्पण, परिपक्वता आवश्यक हुन्छ भन्ने सन्देश आयो”, उहाँले भन्नुभयो । नेपाली कांग्रेस संसदीय दलका सचेतक सुशीला थिङले आफ्नो दलले निर्वाचनको परिणामलाई सकारात्मक रूपमा ग्रहण गरेको बताउनुभयो । आफ्नो दल निर्वाचनमा पराजित भए पनि कांग्रेसप्रतिको जनताको भरोसा कायमै छ भन्ने जिकिर पनि उहाँले गर्नुभयो । “निर्वाचनले एमाले र नेपाली कांग्रेसमै जनताको भरोसा छ भन्ने देखाएको छ । यसबाट नयाँ राजनीतिक दलको पनि परीक्षण भएको छ”, उहाँले भन्नुभयो । आफ्ना मतदाता यथावत् रहेको र तिनले कांग्रेसलाई माया गरिरहेको जनाउँदै उहाँले अब पार्टी जनताका माझमा पुग्न र अलि बढी खट्नुपर्ने आवश्यकता महसुस भएको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले उपनिर्वाचनले सङ्गठन विस्तार र पार्टी बनाउनका लागि जनतासँग लामो संवाद गर्न सन्देश दिएको बताउनुभयो । “पछिल्लो राजनीतिक परिवर्तनसँगै रास्वपाले जनसमर्थन पाउँछ भन्ने बुझाइ स्थापित गर्न अझ बढी काम गर्नुपर्ने देखियो । त्यो बाँकी काम यथाशीघ्र गरेर अघि बढ्न निर्वाचनबाट सन्देश मिलेको छ ।” उपनिर्वाचनमा आएको मतमाथि विचारविमर्श र समीक्षा गर्ने ठाउँमा आफूहरूलाई पुर्याएको बताउँदै उहाँले नतिजालाई सबै आयामले सोच्नुपर्छ भन्नेमा दलको आगामी बैठकमा छलफल हुने जानकारी दिनुभयो ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को निर्वाचन परिणामले पार्टीलाई सचेत बनाएको बताएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै रास्वपाले निर्वाचन परिणामले पार्टीका प्रयासहरूमा कमीकमजोरी रहेको र त्यसलाई सच्याउँदै अघि बढ्ने उल्लेख गरेको हो । ‘सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ । नतिजा हाम्रो अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । रास्वपाले पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्ने जनाएको छ । रास्वपाले इलाम क्षेत्र नं. २ का सम्पूर्ण मतदाताहरूप्रति कृतज्ञता र आभार प्रकट गर्दै निर्वाचित उम्मेदवार एमालेका सुहाङ नेम्बाङलाई शुभकामना समेत दिएको छ ।
बझाङ: बझाङ प्रदेशसभा १ मा सम्पन्न उपनिर्वाचनमा ८ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगका अनुसार नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहसहित ८ उम्मेदवारको जमानत जफत भएको हो । जमानत जफत हुनेहरूमा राप्रपाका किशोर कुमार खड्का, जसपाका रामबहादुर जाग्री, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिपकबहादुर खड्का, जनमत पार्टीकी सुशीला देवी विष्ट, नेमकिपाका खगेन्द्रबहादुर शाही र नेशनल रिपब्लिक नेपालका कमल घर्ती मगरको जमानत जफत भएको हो । उक्त उपनिर्वाचनमा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी निर्वाचित भएका छन् भने कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले भने जमानत जोगाए । निर्वाचनमा जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा भनिएको छ, ‘निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ ।’तर निर्वाचित उम्मेदवारको हकमा भने यो कुरा लागू नहुने ऐनमा उल्लेख छ ।