विराटनगर: एमाले-माओवादीको गठबन्धले नयाँ सरकार गठनका लागि दाबी पेश गरेका छन् । प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठनका लागि दाबी पेश गरेका हुन्। एमालेका ३९ र माओवादी केन्द्रका १३ सहित ५२ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका छन्। एमाले माओवादी गठबन्धनले एमाले संसदीय दलका नेता समेत रहेको हिक्मत कार्कीलाई प्रदेशको छैटौँ मुख्यमन्त्रीको रूपमा दाबी पेस गरेको हो। प्रदेश प्रमुख पर्शुराम खापुङले आजै सांसदहरूको हस्ताक्षर सनाखत गराएर मुख्यमन्त्री नियुक्ति र शपथ गराउने तयारी गरेका छन् । प्रदेश प्रमुख खापुङले बुधबार साँझ संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेका थिए । यसअघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएकाले पदमुक्त भइसकेको दाबी गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्न भन्दै बुधबार नै निवेदन दिएका थिए ।
काठमाडौं: नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक एक दिनलाई सरेको छ । कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक आज दिउँसो १ बजे र दलको बैठक २ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने तय गरेको थियो । तर, मंगलबार निधन भएका पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा संविधान सभा सदस्य सूर्यमान गुरुङको अन्त्येष्टि आज हुने भएकोले बैठक सारिएको कांग्रेसले जनाएको छ । संसदीय दल कार्यसमितिको बैठक अब शुक्रबार ८ बजे र दलको बैठक साढे ८ बजे ल्होत्से हलमै बस्ने कांग्रेसले जनाएको छ ।
काठमाडौं: नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे देउवा निवास बुढानीलकण्ठमा बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र २८ गतेदेखि सुरु हुने बजेट अधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको सभापति देउवाको सचिवालयले जनाएको छ । बजेट अधिवेशनमा कांग्रेसका सांसदहरुले उठाउने विषयबारे छलफल गर्न विहीबार संसदीय दलको बैठकसमेत बोलाइएको छ । संसदीय दलको बैठक विहीबार दिउँसो २ बजे बस्ने तय भएको छ ।
काठमाडौं: सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकमा प्रतिनिधिसभाको बैठकलाई नियमितरुपमा बाधारहित सञ्चालन गर्ने विषयमा छलफल भएको छ । सभामुखको कार्यालयमा भएको छलफलमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाएर जानुपर्ने बताउनुभएको थियो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल भएको र यो निरन्तरको प्रक्रिया भएको बताउनुभयो । सभामुख घिमिरेले भन्नुभयो, “विभिन्न समस्या आइरहन्छ, समस्याले सदनलाई अवरोध गर्नु हुँदैन । आजको बसाइँ र छलफलले यही वैशाख २८ गतेदेखि सुरु हुने बैठकलाई सहजरुपमा अगाडि बढाउने महत्वपूर्ण आधार तयार पारेको छ ।” उहाँले सदनलाई सहजरुपमा सञ्चालन गर्ने दायित्वको राजनीतिक दलको भएकाले ठूला राजनीतिक दल संसद्लाई समस्याको समाधान गर्ने थलोका रुपमा अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो । संसदीय व्यवस्थामा सबै राजनीतिक शक्तिको भूमिका निर्णायक हुने र दलहरुले नै समस्या समाधानका लागि पहल गर्ने सभामुख घिमिरेको भनाइ छ । उहाँले सदनलाई प्रभावकारी बनाउन सबैको साझा र आ–आफ्नो भूमिका रहने जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेले सहकारी समस्या समाधानका लागि द्रुतमार्गमा कानुन निर्माण गर्ने विषयमा सरकारले आवश्यक प्रक्रिया थालिसकेको बताउनुभयो । कुनै पनि विषयमा प्रश्न उठ्नेबित्तिकै संसदीय छानबिन समिति गठन गरिहाल्नुपर्ने माग उचित नभएको उहाँको भनाइ थियो । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकार गम्भीर रहेको र ठगी प्रकरणमा जोडिएका जिबी राईलगायतलाई पक्राउ गर्न सरकार लागीपरेको उहाँले बताउनुभयो । बैठकमा नेपाली कांग्रेसले सहकारी प्रकरणका सम्बन्धमा संसदीय छानविन समिति गठन गर्नुपर्ने विषयलाई पुनःदोहो¥याएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने र छानबिन गर्नुपर्ने आफूहरुको धारणा रहेको बताउनुभयो । “हामीले संसदीय छानविन समितिको कुरा राखेको छौँ । हामीले गृहमन्त्रीको राजीनामा मागेका छैनौँ, प्रश्न उठेपछि संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने कुरा राखेका छौँ । सरकारले समिति बनाउँछ भन्ने हाम्रो विश्वास छ”, नेता लखेकले भन्नुभयो । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सहजतापूर्वक सदनको बैठक सञ्चालनका लागि कांग्रेसले सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । गृहमन्त्रीमाथि प्रश्न उठेका विषयमा सदनमा बोल्न दिनुपर्छ र कांग्रेस सुन्न तयार नभएपनि आफ्नो पार्टी सुन्न तयार रहेको नेता बर्तौलाले बताउनुभयो । सहकारीपीडितबारेमा कुनै कुरा नराखी अरुलाई निषेध गर्ने तरिकाबाट जाने कांग्रेसको तरिका सही नभएकोसमेत उहाँले उल्लेख गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सभामुखले आयोजना गर्नुभएको बैठकमा महत्वपूर्ण छलफल भएको र समस्या समाधानमा केन्द्रित रहेको बताउनुभयो । यही वैशाख २८ गतेदेखि सुरु हुन लागेको सङ्घीय संसद्को बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको उहाँले उल्लेख गर्नुभयो । बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहकारीको रकम हिनामिनाका विषयमा उपप्रधान एवं गृहमन्त्री लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने बताउनुभएको प्रमुख सचेतक परियारले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत प्रतिनिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको सहभागिता थियो ।
काठमाडौं: गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको भनी गरेको घोषणाविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट दिएको छ । कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री अधिकारीले विश्वासको मत नै नपाएको अवस्थामा कपटपूर्ण ढंगले विश्वासको मत पाएको भनी घोषणा गरेको भन्दै त्यसलाई बदर गर्न माग गरेका छन् । उनले संविधानको धारा १६८ ९२० अनुसार नियुक्त मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाई स्वतः पदमुक्त भएको भन्दै प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका छन् । गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा जम्मा ३० मत पर्दा पनि सभामुख कृष्ण धितालले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए । ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ सांसदको समर्थन आवश्यक पथ्र्यो । सभामुखले असंवैधानिक घोषणा गरेकाले त्यसविरुद्ध सर्वोच्चमा रिट दिएको कांग्रेसका गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदीले जानकारी दिए । रिटमाथि २७ वैशाखमा सुनुवाइ हुने भएको छ ।
पोखरा: गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेपछि नेपाली कांग्रेस त्यसविरुद्ध सर्वोच्च अदालत जाने भएको छ । आइतबार प्रदेश सभामा पेस विश्वासको मतसम्बन्धी प्रस्तावमा अधिकारीको पक्षमा ३० मत परेको थियो । त्यही मतलाई सभामुख धितालले विश्वासको मत पाएको घोषणा गरेका हुन् । ६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ सांसदको समर्थन चाहिन्छ । नेपाली कांग्रेस गण्डकीका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले आइतबार विज्ञप्ति जारी गर्दै खगराज अधिकारीले विश्वासको मत लिने क्रममा असंवैधानिक काम गरेको बताएका छन् । ‘संविधानको धारा १८८ को उपधारा ३ मा भएको व्यवस्था अनुरूप प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत मत प्राप्त गर्नुपर्नेमा सो प्रक्रिया पूरा नगरी मा। सभामुखले असंवैधानिक तबरबाट मुख्यमन्त्री मा. खगराज अधिकारीलाई विश्वासको मत प्राप्त भएको भनी गर्नुभएको घोषणा र निर्णय पूर्ण रूपमा असंवैधानिक, संसदीय अभ्यास र परम्पराविरुद्ध छ,’ विज्ञप्तिमा भनिएको छ । सभामुखजस्तो जिम्मेवार भूमिकाबाट दलीय पक्षधरताको आधारमा कसैलाई सत्तामा पुर्याउनका लागि संविधानको खिलापमा कार्य हुनु दुःखद भएको कांग्रेसले जनाएको छ । ‘‘सभामा तत्काल कायम रहेका ६० सदस्यमध्ये विश्वासको मतका निम्ति ३१ सदस्यको समर्थनमा विश्वासको मत प्राप्त गर्नुपर्नेमा सो नभई बहुमत सदस्यको विश्वासको मत प्राप्त नगरेको अवस्थामा मा. मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेको भनी गरिएको असंवैधानिक घोषणा र निर्णय प्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर असहमति छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो असंवैधानिक निर्णयलाई नेपाली कांग्रेस संसदीय दल पूर्ण रूपमा अस्वीकार गर्दै कानुनी उपचारको प्रक्रियामा जाने जानकारी गराउँदछौं ।’ सभामुखले ३० लाई नै बहुमत मानेर विश्वासको मत प्राप्त गरेको घोषणा गरेपछि नेपाली कांग्रेसले प्रदेश सभामा पनि विरोध गर्दै नाराबाजी गरेको थियो ।
काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको छ । अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि ७ जना सांसदहरू सहित नेताहरु निर्वाचन आयोग पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् । दल दर्ताको लागि निवेदन दर्ता भइ प्रक्रिया अघि बढेको र नयाँ पार्टीको नाम जसपाबाट नेपाल हटाई जनता समाजबादी पार्टी मात्र राखिएको निर्वाचन आयोगबाट सहकर्मी कालिका शिवाकोटीले जानकारी दिए ।
पोखरा: राष्ट्रिय प्रजातन्त्र पार्टीले गण्डकीका मुख्यमन्त्ती खगराज अधिकारीलाई विश्वासको मत नदिने भएको छ । आइतबार मुख्यमन्त्री अधिकारीले गण्डकी प्रदेशसभा बैठकमा विश्वासको मत मागेका प्रस्तावमाथि छलफलका क्रममा बोल्दै राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले आफ्नो पार्टी तटस्थ बस्ने जानकारी गराए । केन्द्रीय सत्ता गठबन्धन जनताको भावनाविपरीत चलेको र संसदको पाचौं पार्टी राप्रपासँग छलफल, सल्लाह त परै जाओस्, उल्टै आरोप, प्रत्यारोप लगाउने काम गरेको उनले बताए । अहिलेको गठबन्धन पवित्र नभएको र राप्रपाले कसैलाई पनि मत नदिएर तटस्थ बस्ने तमुको भनाइ छ ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेका छन् । आइतबार प्रदेशसभामा विश्वासको मत मागेका हुन् । संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा नियुक्त भएका मुख्यमन्त्री अधिकारीले १६८ (४) बमोजिम विश्वासको मत मागेका हुन् ।