जनकपुरधाम: नेकपा माओवादी केन्द्र मधेस सरकारबाट बाहिरिएको छ । मधेस सरकारमा रहेका माओवादी नेताहरूले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएका हुन् । मन्त्रीहरू भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री यादवलाई भेटेर राजीनामा दिएको माओवादी मधेस संसदीय दलको भनाइ छ । साहलाई वन तथा वातावरण मन्त्री थिए भने भट्टराई उद्योग तथा पर्यटन मन्त्री थिए । तर साहले मन्त्रालयमा चित्त बुझाएका थिएनन् । उनले आफूलाई न्याय नगरेको बताइरहेका थिए । मधेसबाट माओवादी बाहिरिएपछि केन्द्र गठबन्धनमा पनि तहमाथि हुने अवस्था छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा उहाँहरुबीच संसद बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको भेटमा सहभागी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । भेटवार्तामा कांग्रेस नेताहरुले सहकारीको रकम अपचलनका सन्दर्भमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने लगायतका आफ्ना मुद्दाबारे जानकारी गराउनुभएको थियो । कांग्रेसका मागका सन्दर्भमा प्रधानमन्त्री दाहाल सकारात्मक रहनुभएको नेता लेखकले बताउनुभयो । सो सम्बन्धमा कांग्रेसको सोमबार बस्ने संसदीय दलको बैठकमा छलफल तथा निर्णय हुने उहाँले बताउनुभयो । कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । सरकारले आगामी जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको छ । त्यसअघि सदनको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री दाहालले कांग्रेसका सभापति देउवासहितका नेताहरुसँग आज छलफल गर्नुभएको हो ।
काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ डा. चिरञ्जिवी नेपालले दिएको राजीनामा स्वीस्कृत गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारी गरी डा. नेपालले दिनुभएको राजीनामा राष्ट्रपतिले स्वीस्कृत गर्नुभएको जानकारी दिनुभएको हो । “राष्ट्रपतिज्यू समक्ष आर्थिकविज्ञ डा चिरञ्जिवी नेपालले दिनुभएको राजीनामा सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ । साथै, राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पुर्याउनुभएको सेवाका लागि धन्यवादसमेत दिनुभएको छ”, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
काठमाडौं: प्रमुख विपक्षी कांग्रेसले सहकारी अपचलनमा मुछिएका रास्वपाका सभापति, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको बटमलाइन भएको निष्कर्ष निकालेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले लामिछानेमाथि संसदीय छानबिन समिति गठनको आफ्नो माग पूरा नगरे संसद् बैठक चल्न नसक्ने बटमलाइन बनाएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । संसद् बैठक अवरोध हुँदा त्यसको जिम्मेवार सरकार हुने उहाँले बताउनुभयो । रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समितिगठन कांग्रेसको बटमलाइन भएको भन्दै उहाले सरकारले प्रतिपक्षको मागलाई वेवास्ता गरेको लेखकले जानकारी दिनुभयो । उहाँले सहकारीबाट नागरिकको बचत रकम फिर्ता गर्न र रकम हिनामिनामा गृहमन्त्रीको पनि संलग्नता देखिएकाले छानबिन निष्पक्ष होस् भन्ने सुनिश्चितताका लागि संसदीय छानबिन समिति माग गरेको बताउनुभयो । लेखकले सहकारी ठगी प्रकरणमा लामिछाने जोडिएको पुष्टि गर्ने थप आधार भेटिएको बताउनुभयो । लामिछाने जोगाउनलाई राज्य संयन्त्रको दुरुपयोग भएको उहाँको भनाइ छ । त्यस्तै उहाँले रवि लामिछानेलाई रास्वपा दलको नेताको हैसियतले संसदमा बोल्न दिने धारणा राख्नुभयो ।
काठमाडौं: कोशी प्रदेशमा नयाँ सरकार गठनका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो सो रिट दर्ता गराउनुभएको हो । रिटमा कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले गर्नुभएको आव्हान असंवैधानिक भन्दै खारेज गर्न अन्तरिम आदेशको माग गरिएको छ । कार्कीले आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग पनि गर्नुभएको छ ।
विराटनगर: नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । लगत्तै उनलाई समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत भयो । सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्की मुख्यमन्त्री नियुक्त भएको घोषणा गरे । सरकार गठन आह्वानका विरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालत पुगेका छन् । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री कार्कीको पक्षमा ५२ मत देखिएपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति भएको जानकारी दिएका छन् ।
विराटनगर: मुख्यमन्त्रीमा दाबी पेश गरेका नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीका समर्थकहरूले कोशी प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयमा सनाखत थालेका छन् । कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेका एमालेका ३९ र माओवादी केन्द्रका १३ प्रदेश सभा सदस्यहरू भौतिक रुपमै उपस्थित भई सनाखत गर्न थालेका हुन् । कार्कीले बिहीबार नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगत्तै एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेस गरेका थिए । प्रदेश प्रमुख खापुङले बुधबार राति संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि २ दिनको समय दिएर आह्वान गरेका थिए । यसअघि दुई पटक मुख्यमन्त्री भइसकेका उनको पक्षमा ५२ सांसदको हस्ताक्षर जुटेको छ । यसअघि उनी २४ पुस २०७९ पहिलो पटक माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । त्यसपछि केन्द्रमा सत्ता समीकरण फेरिएपछि १४ असार २०८० मा राजीनामा दिए ।
धनगढी: सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सदस्य दमनबहादुर भण्डारीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सभाका सभामुख भीम भण्डारीले बझाङ १ बाट गत वैशाख १५ गतेको उपनिर्वाचनबाट विजयी भण्डारीलाई शपथ खुवाएका हुन् । चुनावी प्रचारकै क्रममा भण्डारीका बुवाको निधन भएको थियो । उपचुनावमा विजयी भएका उनी बुवाको काजकिरियामा बसेकाले शपथ रोकिएको थियो । ०७९ मंसिरको प्रदेश सभाको निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको २०८० असार ५ गते सडक दुर्घटनामा निधन भएपछि बझाङमा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा एमालेबाट उम्मेदवार बनेका भण्डारीले दिवंगत पृथ्वीबहादुरकै छोरा एवम् नेपाली कांग्रेसका अभिषेक सिंहलाई पराजित गरेका हुन् । भण्डारी ११ हजार ६१२ मतसहित विजयी हुँदा सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका थिए । भण्डारी निर्वाचित भएसँगै प्रदेश सभामा एमालेका सांसद ११ पुगेका छन् । यसअघि प्रदेश सभामा एमालेका १० सांसद थिए । भण्डारीको शपथसँगै अब मुख्यमन्त्री दीर्घ सोडारीका लागि विश्वासको मतको ढोका पनि खुलेको छ । यसअघि एमालेले दुई पटकसम्म सोडारीलाई विश्वासको मतमा रोकिसकेको छ ।
विराटनगर: कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले हिक्मत कार्कीलाई मुख्यमन्त्रीको दाबी पेश गरेका सांसदहरूलाई सनाखतका लागि बोलाएका छन् । अहिले सांसदहरू सनाखतका लागि पुगेका छन् । एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्री बनाउन माग गर्दै एमाले र माओवादीका ५२ सांसदले हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए । ती सांसदहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचय पत्रसहित सनाखतका लागि प्रदेश प्रमुख कार्यालयमा बोलाइएको छ ।