काठमाडौं: नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव स्थगित गरेको छ । आइतबारदेखि केन्द्रीय कार्यालय सानेपामा भइरहेको बिपी साहित्य महोत्सव स्थगित भएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिपी साहित्य महोत्सवका आज (मङ्गलबार)का सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो । संविधानसभाका तत्कालीन अध्यक्षसमेत रहनुभएको नेकपा (एमाले)का नेता, प्रतिनिधिसभा सांसद सुवास नेम्वाङको सोमबार राति निधन भएको थियो । नेम्वाङको निधनको शोकमा बिपी साहित्य महोत्सवका आजका कार्यक्रम स्थगित गरिएको हो । बिपी साहित्य महोत्सव भदौ २४ गतेदेखि भदौ २६ गतेसम्म निर्धारण गरिएको थियो ।
काठमाडौं: नेकपा (एमाले) को सचिवालय बैठक बसेको छ । अघिल्ला दिनहरुमा जस्तो आजको बैठकमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ छैनन् । उनको आजै निधन भएको छ । त्यसैले उनी बस्ने गरेको कुर्सीमा एमालेले फूलमाला लगाइदिएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा संविधान सभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मंगलबार बिहान आकस्मिक निधन भएपश्चात् सचिवालय बैठक बसेको हो। नेम्वाङको हृदयघातका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको थियो ।
जनकपुरधाम: मधेश प्रदेश सभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ । क्यान्सर रोगबाट पीडित सांसद यादवको आज (मंगलबार) बिहान निधन भएको हो । महोत्तरी निवासी उहाँलाई जसपाले समानुपातिक सांसद बनाएको थियो ।
काठमाडौं: नेकपा (एमाले) ले आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको छ। पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधन भएपछि पार्टीको आकस्मिकरूपमा सचिवालय बैठक बोलाएको हो। सो बैठक अहिले बिहान ११ः०० बजे पार्टी मुख्यालय, च्यासलमा बस्ने छ। एमाले सचिव योगेश भट्टराईका अनुसार पार्टी उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष नेम्वाङको अन्तिम बिदाइका बारेमा निर्णय लिनका लागि सो बैठक बोलाइएको हो।
काठमाडौं: काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा तत्काल थाल्नुपर्ने ७१ वटा कामको सूची सार्वजनिक गरेको छ । महागरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले कामको सूची सार्वजनिक गर्दै कुनै कारणले पनि निर्धारित कार्यक्रममा ढिलाइ नगर्न सबै विभागीय प्रमुखलाई निर्देशनसमेत दिनुभएको छ । तत्काल गर्नुपर्ने कामको सूचीमा हाइमास्ट लाइट जडान, विद्युतीय सेवा सञ्चालन, कार्यालय परिसर र सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन, स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनलगायतका छन् । साथै सामुदायिक कुकुरको बन्ध्याकरण, अनुगमन सूचक ९पूर्वाधार, वडास्तर, विभाग, आयोजना तथा कार्यक्रम स्तर, सार्वजनिक खरिद मूल्याङ्कन प्रक्रिया निर्माण, कार्यपालिका बैठकबाट भएका निर्णयको कार्यान्वयन, ऐन कार्यान्वयनको अवस्था, आवश्यकपर्ने कार्यविधि निर्माण, महानगर गौरव र स्वर्णिम योजना कार्यान्वयनलगायत रहेको महानगरको भनाइ छ । आकाशे पुलमा सिसाका बार बनाउने, सडक पेटीलगायत संरचनाको नियमित मर्मत सम्भार, यातायात व्यवस्थापन, सार्वजनिक शौचालय निर्माण पनि सूचीमा समावेश गरिएको छ । महानगरको कार्यालय काठमाडौँ प्लाजामा स्तनपान कक्ष निर्माण गराउने विषय पनि सूचीमा राखिएको छ । महानगरले गत साता पनि सबै वडालाई सार्वजनिक शौचालयको नमूना प्रदान गरी आवश्यक स्थानमा सार्वजनिक शौचालय निर्माण गर्न निर्देशन दिएको थियो । विगत केही वर्षदेखि नै महानगरले सार्वजनिक स्थानमा शौचालय निर्माण गर्ने भने पनि अहिलेसम्म निर्माण अघि बढाउन सकेको छैन । महानगरले चालु आवमा भौतिक पूर्वाधार निर्माणका लागि रु सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार रकम विनियोजन गरेको छ । रासस
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आत्महत्या रोकथामको मुख्य उपाए सचेतना भएको बताएका छन् । ‘एउटै, यही कारणले मानिसले आत्महत्या गरिरहेका छन् भन्ने यकिन छैन, त्यसभित्र बिभिन्न कारणहरु छन्’ आत्महत्या रोकथामका लागि नीति निर्माताहरु तथा सरोकारवालाहरु वीच सोमवार भएको छलफल कार्यक्रममा मुख्यमन्त्री पाण्डेले भने ‘आत्महत्या न्यूनिकरण र निरुत्साहित गर्ने मुख्य काम सचेतनले गर्छ ।’ गण्डकी प्रदेश भित्र दैनिक २ देखि ३ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्क छ । आत्महत्या एउटा मानसिक रोग भएको बताउँदै मुख्यमन्त्री पाण्डेले भने ‘आत्महत्या कम गर्न, मानिसलाई यसतर्फ निरुत्साहित गर्न उपचार गराउने भने सचेतना जगाउने हो ।’ आत्महत्या न्यूनिकरणको क्षेत्रमा काम गर्ने संघ संस्थासँगको सहकार्यमा यसको रोकथाम र निरुत्साहित गर्न प्रदेश सरकारलेपनि कार्यक्रम संचालन गर्ने उनले बताए । ‘मानसिक रोगको उपचार गर्ने छुट्टै अस्पताल तत्काल प्रदेशको साधन स्रोतबाट बनाउन नसकिएला’ मुख्यमन्त्री पाण्डेले भने ‘तर अस्पतालहरुमा मानसिक रोगको उपचार गर्ने युनिट राखेर सेवा दिनुपर्छ ।’ प्रदेश सरकारले आफ्नो साधन, स्रोत र क्षमताले भ्याएसम्म आत्महत्या निरुत्साहित गर्ने, मानसिक रोगको सहज उपचारको ब्यवस्था गर्ने उनले बताए । विकसित देशहरुमापनि आत्महत्याको घटना धेरै हुने गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले आत्महत्या गरिबीको कारण मात्र नभएको बताए । आत्महत्याका घटना, यसका कारण पहिचान गरेर सरोकारावाला सबैको सहकार्यमा गण्डकी प्रदेश भित्र आत्महत्या न्यूनिकरणको कार्यक्रम संचालन गरिनेमा उनले जोड दिए । सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक संघ संस्था, नागरिक समाज लगायत सरोकारावाहरुको उपस्थिती थियो । ‘आशा जगाऔँ, जीवन बचाऔँ’ भन्ने नारा सहित विश्व आत्महत्या रोकथाम दिवस २०२३ आईतवार र सोमवार बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।
पोखरा: नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सत्ताधारी दलका नीतिका कारण देशको हालत बर्बादी उन्मुख भएको बताएका छन् । पार्टीको धादिङ–पोखरा सम्पर्क मञ्चको शनिबार पोखरामा सम्पन्न १२ औं साधारणसभा तथा छैटौं अधिवेशनमा प्रमुख अतिथि गुरुङले गत निर्वाचनमा एमालेलाई बहुमत नदिँदा यो परिणाम भोग्नुपरेको उल्लेख गरे । ‘कर्मचारी तलब खान पाएका छैनन् । सरकारी विकास निर्माण आयोजनाका ठेकेदारहरुलाई दिने पैसा छैन । अर्थतन्त्र डामाडोल छ । जनता मारमा छन् ।’ उपमहासचिव गुरुङले भने– ‘गएको चुनावमा एमालेलाई जनताले नचिनेर, अझै चिन्न नसकेर पो परिणाम भोग्नुपरेको छ । ०८४ मा एमालेलाई बहुमत दिएर एकल सरकार सञ्चालनको जिम्मा लगाए देश बन्छ ।’ माओवादी, माधव नेपाल, काँग्रेसको भ्रममा जनता परेकाले पनि यस्तो परिणाम आएको भन्दै उनले यिनीहरुबाट जनता मुक्त हुनुपर्ने उल्लेख गरे । ‘विदेशीले जे जे भन्छ, त्यही नीति ल्याएर दलाल पूँजीवादीको सरकार चलिरहेको छ । दलाल नोकरशाही पूँजीवाद र दक्षिणपन्थी विस्तारवाद विरुद्ध एमाले मात्रै लडिरहेको छ ।’ उनले भने । ०८४ कोे चुनावमा नेकपा एमालेले बहुमत ल्याउने र त्यसपछि स्थायी सरकार गठन भई देशले गति लिने, विकास र समृद्धिको ढोका खुल्ने उनको भनाई छ । नेकपा एमाले जनताको अथक मेहनत, संघर्ष र समर्पणले बनेको पार्टी भएकाले पञ्चायत फाल्ने, निरंकुशतन्त्र ढाल्ने अगुवा पार्टी बनेको गुरुङको भनाई छ । ‘अरुले बनाएको, विदेशीले बनाएको पार्टी देशको हितमा, जनताको हितमा हुँदैन । मदन भण्डारी किन ठीक थिए ? एमाले किन यति सर्वप्रिय बन्यो ? भन्दा जनताको संघर्ष, त्याग र समर्पणकै कारण हो । नेकपा एमाले गौरवशाली पार्टी किन बन्यो ? भन्दा उग्रवादी माओवादी र दक्षिणपन्थी काँग्रेसलाई सही बाटोमा ल्याउने पार्टी भएकाले नै हो ।’ गुरुङको ठोकुवा थियो । आगामी चुनावमा बहुमत प्राप्त गर्न भातृ संगठनहरु, यस्ता मञ्चहरु, शुभेच्छुक संगठनहरु क्रियाशील हुनुपर्ने र अहिलेदेखि नै जागृत हुन पनि निर्देश गरे । तीज विशेष कार्यक्रममा महिलाहरुलाई सम्बोधन गर्दै उनले बच्चाहरुलाई मेहनत, संघर्ष गर्न सिकाउनुपर्ने नत्र, उनीहरुले दुःख पाउने बताए । ‘बच्चालाई दुःख बुझाउनुहोस् । नत्र, समस्यासँग जुध्न सक्दैनन् । बाँच्न सक्दैनन् ।’ गुरुङले भने । कामको सिलसिलामा जहाँ रहेपनि आफ्नो पार्टीप्रतिको निष्ठा र समर्पण नछाडेको भन्दै पछिल्लो क्रममा सक्रिय गतिविधिका साथ मुलुकका सम्पर्क मञ्च मध्ये धादिङ–पोखरा सम्पर्क मञ्च अग्रपंक्तिमा रहेको गुरुङले बताए । विशेष अतिथि एमाले बागमती प्रदेश सचिवालय सदस्य एवं पूर्व प्रदेश राज्यमन्त्री डा. रामकुमार अधिकारीले राजनीतिक प्रतिद्वन्द्वी काँग्रेस रहेकाले काँग्रेसको पछि हिँड्ने अन्यबाट कुनै खतरा नरहेको बताए । उनले भने– ‘अरू दलसँग वैचारिक मतभिन्नता होइन । काँग्रेसले सबै भन्दा बढी सरकार चलायो, के ग¥यो ? भन्न सक्दैनन् । सिद्धान्त विचार एकातिर छ, काम, व्यवहार अर्कोतिर छ । तर, नेकपा एमाले जति सरकारमा रह्यो । देश बनायो । आफ्नो गाउँ, आफैं बनाऔं नाराका साथ नेतृत्व सुरु गरेको एमालेले सधैं राम्रो नै गरेको छ ।’ उनले धादिङमा पार्टी मजबुत बन्नुुमा पोखरा स्थित धादिङेली जनताको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे । एमाले धादिङका उपाध्यक्ष एवं संविधानसभा सदस्य धन बहादुर घलेले धादिङबाट कामको सिलसिलामा पोखरा आएर वा यहीँ नै स्थायी बसोबास गरेर पनि पार्टीको हितमा लागिरहँदा असाध्यै खुशी लागेको बताए । उनले धादिङमा साढे ९ हजार संगठित सदस्य रहेकोमा बढाउने अभियानमा रहेको जनाउँदै २०८४ मा बहुमत प्राप्त गर्नको लागि पोखराका साथीहरू सबै लाग्नुपर्ने बताए । नेकपा एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारीले पार्टी विस्तार र विकासका लागि धादिङबासीको योगदान महत्वपूर्ण रहेको बताए । अधिकारीले सम्पर्क मञ्चले पार्टी जोड्ने पुलको काम गरेको बताए । जिल्ला कमिटि धादिङ सदस्य चन्द्रकुमारी अधिकारी, मञ्चका संस्थापक अध्यक्ष कृष्णबहादुर लम्साल, जिल्ला कमिटि धादिङका सदस्य बेनी पाठक लगायतले बोलेका थिए । मञ्चका अध्यक्ष शेरबहादुर अधिकारीको अध्यक्षतामा भएको साधारणसभामा सचिव सरोज कुँवरले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उपाध्यक्ष योगप्रसाद सापकोटा (नवराज)ले स्वागत गरेका थिए । उक्त अवसरमा मञ्चद्वारा आयोजित विभिन्न कार्यक्रमका संयोजकहरुलाई सम्मान पनि गरिएको थियो । निवर्तमान अध्यक्ष वीरबहादुर थापा, रक्तदान कार्यक्रम संयोजक यार्मिला तामाङ, क्यालेण्डर प्रकाशन संयोजक हरिकृष्ण श्रेष्ठ, न्यानो कपडा वितरण अभियान संयोजक मिलन सुनारलाई सम्मान गरिएको थियो । यस्तै, नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा धादिङ घर भई पोखरामा स्थायी वा अस्थायी बसोबास गर्दै आएका चेलीबेटीबीच भेटघाट कार्यक्रम पनि सम्पन्न भयो ।
स्याङ्जा: कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकासका नाममा राजनीति गर्न नहुने बताउनुभएको छ । निर्वाचनका बेला भिन्न–भिन्न पार्टीबाट प्रतिस्पर्धा गरेता पनि विजयी भइसकेपछि सबैको साझा भएर काम गर्न सकेमात्रै विकासले गति लिने उहाँले बताउनुभएको हो । स्मार्ट सिटीका रूपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिकाले वालिङमा आयोजना गरेको पालिकाको वर्तमान अवस्था र भावी गन्तव्य विषयक अन्तक्र्रिया कार्यक्रमलाई शनिबार वालिङमा सम्बोधन गर्नुहुँदै उहाँले विकासमा राजनीति घुसाउन नहुनेमा जोड दिनुभएको हो । “विकासका नाममा राजनीति गर्नहुन्न भन्ने मान्यताको पक्षधर हुँ”, उहाँले भन्नुभयो, “विकासमा सबैको अपनत्व भयो भने त्यो दिगो र प्रभावकारी हुन्छ ।” कहिलेकाहीँ विकासका नाममा राजनीति गर्ने र राजनीतिकै कारण विकास ठप्प हुने गरेका उदाहरण प्रशस्तै देखिने गरेको उहाँको भनाइ थियो । उहाँले केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावनाअनुरुप काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो । “तीन तहका सरकारबीच आपसी समन्वयको अभावले विकास निर्माणका कार्य हुन नसकेका कुरा आउने गरेका छन्”, उहाँले भन्नुभयो, “केन्द्रको जनप्रतिनिधिको तर्फबाट म प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै अगाडि बढ्न तयार छु ।” निर्वाचनका बेला मतदातामाझ गरेका प्रतिबद्धतालाई पाँच वर्षको अवधिसम्ममा पूरा गरेरै छाड्ने प्रतिबद्धता उहाँले जनाउनुभएको छ । कार्यक्रममा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले समाज रुपान्तरण गर्ने दायित्वका साथ निरन्तर लागिरहेको बताउनुभएको छ । उहाँले केन्द्र सरकार र स्थानीय सरकारसँग समन्वय गर्दै विकासका गतिविधि नागरिकले महसुस हुने गरी काम गर्ने दाबी गर्नुभयो । गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्यालले दलगत स्वार्थभन्दा माथि उठेर विकास निर्माणमा सहभागी हुनुपर्ने बताउनुभयो । वालिङको विकासका लागि नगरपालिकाले मात्रै नभई यहाँका नागरिकसँग भएका अमूल्य अनुभव, सल्लाह सुझावलाई ग्रहण गरी आगामी दिनमा योजना बनाउन सकियोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नगरप्रमुख कृष्ण खाणले बताउनुभयो । नगरको विकासमा सबैको भावनालाई समेटेर सामूहिक ढङ्गबाट छलफल गर्नका लागि अन्तक्र्रियाले महत्त्वपूर्ण टेवा पुग्ने उहाँले बताउनुभयो । वालिङमा जन्मेर देशका विभिन्न सङ्घसंस्था तथा कार्यालयमा लामो समय अनुभव सँगाल्नुभएका व्यक्तिहरूका बीच सामूहिक छलफल तथा अन्तक्र्रियाबाट निस्केको निचोडलाई नगरपालिकाले सम्पत्तिका रूपमा ग्रहण गरी कार्यान्वयनको चरणमा लैजाने उपप्रमुख कविता तिवारी गैरैले बताउनुभयो । विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्नुभएका विषयविज्ञले दिनुभएको सुझाव र राजनीतिक नेतृत्वको प्रतिबद्धतासहित अगाडि बढ्दा वालिङमा उपलब्धिहरू देखिने उहाँले दाबी गर्नुभयो । रासस
काठमाडौँ: आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, परराष्ट्र मन्त्री, पूर्व परराष्ट्र मन्त्रीहरूसँग छलफल गर्नुभएको छ । बिहान ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उहाँले छलफल गर्नुभएको हो । प्रधानमन्त्री दाहालले आज साँझ परराष्ट्र विज्ञहरूसँग छलफल गर्नुहुने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।