पोखरा: छवि भन्ने कुराले धेरै अर्थ राख्छ । नेपालमा बस्दासम्म आफ्नो प्रोफेसनभन्दा बाहिर अरुले चिन्ने कुरा पनि भएन । अमेरिकाबाट फर्किएर राजनीतिमा होमिइसकेपछि पनि प्रत्यक्ष जनताले भेट्ने, हेर्ने मौका पाएका थिएनन् । त्योबेला मेरो एउटा छवि बनाइयो, एक हिसाबले मिडियाले नै त्यो बनाइदिएको हो । भन्छन् नि ‘मिस्टिरियस’ छवि ! मान्छेलाई जब केही निषेधित हुन्छ, त्यसप्रति झन आकर्षण बढ्छ । घरबाटै सरकारले निस्किन नदिएपछि अरुले त ‘यो कस्तो खतरनाक मान्छे हो’ भनेर सोचिहाल्छन् । लोकतन्त्र आइसक्दा पनि किन बाहिर जान नदिएको होला ? भनेर लागिहाल्छ । त्यसमाथि ‘मिसाइल इन्जिनियर’को छवि बनाइदिँदा नेपालमा क्षेप्यास्त्र नै हान्न आएको हो कि ? भन्ने अरुलाई लाग्थ्यो । पटकपटक पक्राउ पर्थें । २ दजर्नचोटि त पहिले नै थियो । अस्ति भर्खर सांसद भइसकेपछि पनि धोती लगाउँदा पक्राउ परें । कतै बोल्न जाँदा पनि हातमा माइक समात्नेत्तिकै पक्राउ परिहाल्थें । यसले मान्छेहरुलाई स्वभाविक रुपमा जिज्ञासा लाग्ने भयो, ‘सिकेले के बोल्दो रैछ ? मुखबाट आगो निकाल्छ क्याहो ?’ त्यतिबेला मिडियाले मेरो अन्तर्वार्ता लिएको भन्दै एउटा मिडियालाई स्पष्टिकरण नै सोधियो । सायद कारवाही पनि गरियो होला ! मेरो त्यो रहस्यमयी पात्रको छवि कतै न कतै मिडिया नै बनाइदिएको हो । तर, त्यसमा मेरो कुनै दुखेसोचाहिँ छैन । क्रमिक रुपमा मिडियाले नै अहिले स्पेस दिँदै आएको छ । अरुले पनि सुन्न पाएका छन् । हामीसँग भएका जिज्ञासाहरु क्रमिक रुपमा स्पष्ट पार्दै गइराखेका छौं । म झन्डै २०११ मा नेपाल फर्किएँ । अमेरिकामा एउटा राम्रो वैज्ञानिकको जागिर छाडेर आउँदा त्यतिबेला स्वभाविक रुपमा प्रश्न उठ्थ्यो । ‘यो मान्छे कि नेपाल आयो ? अरु मान्छे अमेरिका जान आफ्नो किड्नी बेच्न पनि तयार हुन्छन्, पक्कै पनि केही रहस्य होला ! मिसाइल बोकेर आएको छ कि ?’ भनेर पनि प्रश्न उठ्थ्यो । अमेरिकाबाट किन नेपाल फर्किएको प्रश्न १३ वर्षअगाडि पनि सोधिन्थ्यो । अहिले पनि त्यही सोधिन्छ । लाग्दैछ–यो प्रश्नको आयू धेरै लामो रहेछ । जबसम्म कोही पत्रकार आफैंले त्यो प्रश्न सोध्दैनन्, अरुलाई दिएको जवाफबाट सन्तुष्ट हुनुहुन्न । मेरो जन्म सप्तरीको गाउँमा भयो । त्यतिबेला त्यहाँ प्राथमिक विद्यालयमात्रै थियो । अहिले पनि लगभग त्यस्तै छ । मैले त्यहीं पढें । पछि अर्को गाउँमा १० कक्षासम्मको पढाइ सकें । त्यसपछिमात्रै बस चढेर काठमाडौं गएको हुँ । पुल्चोकमा ओभसियर गरें, इन्जिनियरिङमा ब्याचलर गरें । त्यसपछिमात्रै जापान, क्याम्ब्रिज युनिभर्सिटी हुँदै जागिर गरें । सुरुदेखि नै गरिब पृष्ठभूमिमा हुर्किएको भएता पनि मेरो बुवा शिक्षक हुनुहुन्थ्यो । दाइहरु कलेजसम्म पढ्न भ्याउनुभएको थियो । त्यहीभएर पनि बच्चैदेखि मेरो मानसिकता इन्जिनियर बन्छु भन्ने थियो । त्यतिबेला हजार रुपैयाँ लिएर इन्जिनियर पढ्न आएँ । काठमाडौं आउनुभन्दा अगाडि पहाड कस्तो हुन्छ भन्ने पनि हेरेको थिइनँ । एकचोटि अलि टाढाबाट हेरेको थिएँ, त्योभन्दा अगाडि पहाड कस्तो हुन्छ भन्ने मलाई थाहा थिएन । कक्षामा नेपाली पढाइ भए पनि नेपाली खासै बोल्न आउँदैन थियो । लेख्न आए पनि बोल्न आउँदैनथियो । काठमाडौं आउने बस पनि कि विराटनगर कि काँकडभित्ताबाट आउँथ्यो । त्यही बसमा हामी आयौं । त्यतिबेला टिकट नदिएर मुडामा बसालिन्थ्यो । त्योबला अरुले दशथरि गाली गरेको छ, लात्ताले हानेको छ । अहो ! यो कस्तो व्यवहार रहेछ भन्ने बस चढ्नेबित्तिकै विभेदको जुन महसुस हुन्छ, त्यहाँबाट आउन थाल्यो । कहिले ‘सामान फाल्दिन्छु भैया’ भन्ने, कहिले के भन्ने, त्यो मलाई बडो विरक्त लाग्यो । गान्धीसँग घटेका घटनाहरु तुलना हुन्थ्यो, त्यतिबेला पनि । काठमाडौं आइसकेपछि नेपाली बोल्न आउँदैनथ्यो । तर, कक्षामा बसेको छु । परिचय दिन मुख खोल्नेबित्तिकै मधेशी टोन त आइहाल्छ नि ! ग्रामेटिकल्ली शुद्ध भए पनि बोल्नेबित्तिकै गल्ल हाँस्थे । त्यो ‘ह्यारेस’ भएर कक्षामा बस्नै मन नलाग्ने हुन्थ्यो । त्यसपछि बाहिर निस्केर हनुमान ढोका जान्थें, म्युजियम जान्थें । कक्षामा जान अलिकति असहज महसुस हुन्थ्यो । पहिलो वर्ष रिजल्ट पनि खासै राम्रो आएन । दोस्रो वर्षमा बुवाले नतिजा राम्रो आएन भनेपछि केही उत्तरदायित्व सम्झिएर गम्भीर भएर यिनीहरुले जति हेपे पनि हेपून्, इग्नोर गर्छु भनेर लागें । त्यो एउटा ट्रान्जिसन थियो । अर्को सेमेस्टर टप गरें । त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । टप गर्न थालेपछि सबैले विस्तारै माया पनि गर्न थाले । पछि इन्जिजियरमा भर्ना भएर त्यसमा राम्रै भएर निस्किएँ । त्योबला म पनि अलि राष्ट्रवादी खालको थिएँ । गोर्खाली कविताहरु लेख्थें । प्रतियोगिताहरुमा भाग पनि लिन्थें । यतिसम्म कि पढाइको पहिलो वर्षमा एकचोटि ‘तराई–मधेश नवजागरण’ भन्ने एउटा संस्था थियो । त्यो संस्थाको सदस्य बन्नुप¥यो भनेर आउँदा किन सदस्यता लिनुप¥यो भनेर आउँदा ‘मधेशी–पहाडी केही पनि हुँदैन’ भनेर हप्काएर पठाइदिएको थिएँ । त्यतिबेला म विद्यार्थी थिएँ । राजनीतिमा कुनै चासो थिएन । चुनावमा भोट गर्न पनि जादिन थिएँ, खाली पढाइमामात्रै ध्यान थियो । पछिपछि एउटा अपवाफ फैलियो । हृत्तिक रोशनले नेपालललाई घृणा ग¥यो है भनेर कतै छापियो । त्यो फैलिँदैफैलिँदै काठमाडौंसम्म आइपुग्यो । त्यहीबेला सायद गोली लागेर पनि राजबिराजमा एकजना मारिनुभएको पनि थियो । त्यहीबेला काठमाडौंमा मधेशविरोध कार्य भए । काठमाडौंका मधेशीमाथि आक्रमण गर्ने, पसलमा आगो लगाउनेलगायतका त्रासपूर्ण वातावरण बन्यो । काठमाडौंमा कफ्र्युको वातावरण बन्यो । त्यतिबेला विन्टर भ्याकेसन थियो । अरु साथीहरु फर्किसकेका थिए । मभने पढन्ते भएको हुनाले काठमाडौंमै ल्याबमा पढ्न बसेको थिएँ । विभेदको नांगो रुप त्यतिबेलै हो देखेको । मलाई नै एउटा पुलमा समातेर ‘यसलाई फाल है’ भनियो । त्यो घटनामा आर्टिटेक्चरका एकवजा नेवारी साथीले गर्दा जोगिएँ । ‘यो मधेशी होइन, कालोकालो नेवारी हो’ भनेर भनिदिएपछि बाँचें । त्यतिबेला काठमाडौंका मजदुरसँग नेपाली हो भने नागरिकता खोई भनिन्थ्यो । नागरिकता देखायो भने खोसेर झोसिदिन्थे, त्यो मैले भोगेको छु । पहिले त सबै साथीहरुले एकदम सम्मान गर्थे । तर, त्यो घटनापछि होस्टल आउँदा पनि गाली गर्न थाले । अर्कै नजरले हेर्न थाले । त्यसपछि मेरो के अपराध भयो ? भनेर सोच्न बाध्य भएँ । त्यतिबेला काठमाडौंमा यस्तोसम्म वातावरण बन्यो कि मधेशीलाई भाडामा दिएकाहरु पनि बाहिरबाछ ताला लगाएर यहाँ कोही छैन भनेर भन्नुपर्ने स्थिति बन्यो । त्यसले पनि मलाई ‘यदि म यो देशको राष्ट्रियताप्रति समर्पित नागरिक हुँ भने किन आक्रमण भइरहेको छछ त ? आखिर म को हुँ ?’ भन्ने प्रश्न गर्न बाध्य बनायो । भारतकै कोही कलाकारले केही बोल्यो भन्दैमा म माथि किन आक्रमण भइरहेको छ ? मेरो राष्ट्रियता के हो ? मेरो पहिचान के हो ? मेरो अधिकार के हो त यो देशमा ? त्यतिबेला मैले सोच्नैपर्ने बाध्यता भयो । त्यतिबेलादेखि नै राजनीतिमा मेरो अलिकति चासो बढ्न थाल्यो । इतिहासहरु खोतल्न थालें । मेरो रुट, मेरो पहिचान के हो ? भनेर खोज्न थालें । त्यहीबेला जापानमा स्कलरसिप पाएर गएँ । बाहिर पनि विभेद भोग्नैपर्यो । तर, त्यहाँ म आफैं फेस गर्नुपर्छ भन्ने लागेको थिएन । म आफैं पनि अध्यात्मिक भएकाले मानवताका बारेमा सोच्नुपर्ने, सत्य खोज्नुपर्ने, किन सानो कुरामा अल्झिराख्ने भनेर आफू कहिल्यै पनि फेस गर्न खोजिनँ । ‘नेपालमा जति हेपे पनि हेपून्, विदेश गइदिम्ला नि त !’ ढुक्क भएर बसेको थिएँ । जापान जाँदा प्लेन चढ्दै गर्दा आफैंलाई प्रमिस गरेको थिएँ, ‘नेपालमा जेजस्तो भयो । सबै कुरा यहीं बिर्सिन्छु । त्यहाँ मैले फ्रेस लाइफ स्टार्ट गर्छु ।’ तर, जापान पुग्दा पनि उस्तै विभेद पाएँ । नेपालीको कार्यक्रम भनेको छ, हामीलाई नै जान दिइएको छैन । नेपालीको रेस्टुरेन्ट जान्छु, त्यहाँ तपाईं नेपाली होइन भनिदिन्थे । नागरिकता बोकेको छु भनेर भन्नुपर्ने । सहपाठी र प्रोफेसरका अगाडि तँ नेपाली होइन भनेर भनिदिँदा साह्रै अप्ठेरो महसुस हुन्थ्यो । त्यतिबेला मधेश आन्दोलन पनि भयो । त्यतिबेला संघीयता भन्ने शब्द उतिसारो प्रयोगमा आइसकेको थिएन, राज्य पुनर्संरचना धेरै भनिन्थ्यो । त्यहीबेला राज्य पुनर्संरचनाले मात्रै हामीलाई पूरा अधिकार दिन सक्दैन भन्ने लागेको थियो । अधिकार, पहिचान र स्वायत्तताको कुरा गर्न सक्दैन भन्ने लाग्थ्यो । तर, त्यतिबेलासम्म पनि खुलेर आइसकेको थिएन । मलाई त्यतिबेलासम्म पनि म जोगी बन्ने हो भन्ने थियो । पहिले नेपाललाई जापानजस्तो बनाउनुपर्छ भन्ने सोच्थें । तर, जापान गइसकेपछि त्यहाँको लाइफस्टाइल देखेर ‘यहाँ जीवन नै छैन । ठूलाठूला भवन छन्, मान्छेमा जीवन छैन । खाना खाने फुर्सद छैन । दुनियाँको तीव्र गतिको रेल छ, तर, मान्छेहरु हातमा बर्गर लिएर दौडिराखेका छन्, मान्छेलाई बच्चा जन्माउने फुर्सद छैन’ यस्तो पनि जीवन हुन्छ ? भनेर तुरुन्तै सोचें । भौतिक सुखसुविधा धेरै पाउँदा पनि मान्छे खुुसी छैन । ट्रेनमा निदाएर बस्नुपरेको छ । आँखामा खुसीको चमक कतै देखिनँ । यो त हुँदै भएन भनेर बुवालाई पत्र लेखें, ‘बुवा यता राम्रो छैन ।’ ००० अमेरिका बोस्टनमा एउटा राम्रो खालको नेपाली कम्युनिटी छ । त्यहाँ म पुगेको त्यस्तै ३, ४ महिनाजत्ति भएको होला ! उहाँहरुले बोलाउनु भएको थियो । त्यसमा नेपालबाट संविधान सभाको सदस्यहरु पनि जानु भएको थियो । त्यसमा एकजना धोती लगाउने पनि जानुभएको थियो । तर, धोती लगाएकै कारण उहाँलाई कार्यक्रममा वञ्चित गरियो । धोती नेपालीको पहिचान नभएको भन्दै पस्न दिइएन । म त अमेरिकामा भर्खर पुगेको थिएँ । मलाई फोन आयो, हामीलाई यस्तो दुव्र्यवहार गरियो । हामीलाई स्वागत नगर्ने ? भन्नु भयो । उहाँहरुलाई म र एकजना साथी मिलेर डिनर स्वागत गर्यौं । त्यतिबेलासम्म नेतालाई मनै पराउँदिनथिएँ । उहाँहरुले मधेश पहिलेभन्दा धेरै विकसित भएको तर्क गर्नुभयो । त्यसको एक महिनापछि नेपाल फर्किएँ । मधेश कतिको बनेको रैछ ? भनेर मेचीमहाकाली यात्रा त्यहीबेला गरेको हुँ । कमैया, बेरोजगार, किसान, भूमिहीन सबैसँग कुरा गरें । कञ्चनपुरबाट फर्किनेबला थारुहरुको विस्थापित बस्तीमा छिरें, त्यो बस्तीमा छिर्दा त बुज्रुकहरु खुट्टा समातेर रुन थाले । उनीहरु घर,जग्गा बनाउने ठाउँ दिनुपर्यो, प्रहरी आएर कुटेको कुट्यै गरे भनेर भन्नुभयो । न म सरकारी कर्मचारी हुँ न म सिडिओ न प्रहरी हँ । त्यहाँ पनि यहाँ कञ्जनपुरको आदिवासी समुदायले त्यसरी खु्ट्टा समाथेर रुन थालेपछि कि समाजप्रति मेरो उत्तरदायित्व छ भन्ने बोध यो । अमेरिका त विकसित छ, त्यहाँको रकेट त अरुले नै बनाइदेलान् । यहाँको म आफैं गर्नुपर्छ भन्ने बोध भयो । गाउँमा कोही नेता आयो भने ‘तपाईंहरुलाई के चाहिन्छ ?’ भनेर सोधिन्छ मैले पनि सोधें । उनीहरुले बाटोघाटो मागेनन् । खेतमा बोरिङको व्यवस्था गरिदिनुप¥यो बाबु’ भनेर भने । ‘खेतमा बाली र पेटमा अन्न प¥यो भने घोडासम्म त के छातीसम्म हिलो भए पनि हिँड्न तयार छन्’ भनेर भने । उनीहरुले मागेको ठिकै थियो । त्यसपछि म बोरिङको लागि कोशिस गरें । लाहानको कार्यालयमा सम्पर्क गरें । अझ अमेरिकाबाट आएको भनेर बढाइचढाइ पनि गरें । तर, नेपालको सिस्टमले एउटा पनि बोरिङ ल्याउन सकिनँ । अमेरिकामा ठूलो वैज्ञानिक हुँला, सबैभन्दा पढेको हूँला । तर, एउटा बोरिङसम्म आफ्नो गाउँलेका लागि ल्याइदिने मेरो हैसियत रैनछ भन्ने गाहा भयो । त्यसपछि नै मैले यो तबसम्म बद्लिँदैन जबसम्म म राजनीतिमा आउँदिनँ भन्ने बोध भयो । अब म फर्केर यो समस्या समाधान गर्छु भनेर आफैंसँग वाचा गरें । त्यसको करिब १ वर्षैपछि नेपाल फर्किएको हुँ । नेपाल फर्केर एउटा खुलामञ्चमा भाषण गरें । तर, भाषण गर्नेबित्तिकै सबबै त्रसित भए । अमेरिकाबाट फर्कियो, हाइप्रोफाइल किन नेपाल आयो भनेर वाचलिस्टमा राखे । जहाँ जाँदा पनि जासुस लागिरह्यो । पछि विचार राख्ने त्र,mममा धरपकड हुन थालेपछि चर्चाको विषय बन्दै गयो । यहीबीचमा कसरी विभेद भइराखेको छ भन्ने लेखें । हामी कर्णाली सबैभन्दा पिछडिएको भन्छौं । थियो, कुनैबेला, छ । पक्कै पनि कर्णाली, सुदूरपश्चिम विकसित हुनुपर्छ । तर, आजको दिनमा महोत्तरी जिल्ला, जुम्लाभन्दा पनि पछाडि छ । २०७८ कै पनि तथ्यांक हेर्दा साक्षरता दर जुम्लाभन्दा करिब २० प्रतिशत कम छ । समग्र मधेशको झन्डै ६३ प्रतिशत छ, कर्णालीको ७६ प्रतिशत छ । यही कुरा बोल्दै गएपछि सरकारलाई असह्य भएको हो । धरपकड हुन थाल्यो । यतिसम्म सरकारले दियो फ्रि डा सिके राउत भन्दा पनि समातेर जन्मकैद हुनुपर्छ भन्न थालियो । फोटोकपी पेपरमा फ्रि डा सिके राउत भनेर उभिँदा पनि जन्मकैदको मुद्दा लाग्ने कस्तो खालको लोकतन्त्र हो ? भन्ने लाग्थ्यो । अदालत तारिख लिन जाँदा कसैले सिके राउत जिन्दावाद भन्दा पनि जन्मकैद ठोकिदिन्थ्यो । अन्तिममा यतिसम्म भयो कि राजनीतिक कुरा गर्न नदेला भनेर जनकपुरमा विवाह पञ्चमीमा पानी खुवाउन पानी राख्दा पनि पानी खुवाउने मान्छेलाई पनि समातेर मुद्दा लगाइदिए । भनेपछि तीर्थालुलाई खुवाउन नदिनेसम्मको दमन गरियो । हामीलाई बोल्न पनि नदिने, लेखपढ गर्न पनि नदिने, तीर्थालुलाई पानीसमेत खुवाउन नपाउने भएपछि हामीले यही तरिकाले अगाडि जान सकिँदैन भन्ने निष्कर्ष निकाल्यौं । अब मूलधारमै आएर जति गर्न सकिन्छ, गरौं भनेर संविधानभित्रै बसेर केही गरौं भनेर आएको हो । म जतिबेला फर्किएँ त्यतिबेला यहाँ संविधान बनिसकेको थिएन, संघीयता आइसकेको थिएन । तर, २०७५ सालसम्म आइपुग्दा संविधान आएर पनि स्थानीय तहमा अधिकार गइसकेको थियो । राजनीतिक परिवर्तन पनि केही सकारात्मक ढंगले अगाडि बढिसकेको थियो । म अमेरिकाबाट फर्किंदा र ०७५ सालको राजनीतिक अवस्था एउटै थिएन । त्यहीबेला सरकारले वार्ता टोली गठन गरेर अगाडि बढिसकेका थियौं । यो जेल जानुभन्दा अगाडिको कुरा हो । पछि राममनोहर घटना घट्यो । उहाँको हिरासतमा मृत्यु भयो । हामी तयसलाई हत्या भन्छौं । त्यो पनि लोकतन्त्रको कालोधब्बा हो । उहाँमाथि कुनै मन्त्रीज्युलाई कालोझन्डा देखाउनु भयो भनेर आरोप लगाइयो । पछि समातेर उहाँको मृत्यु भयो, हत्या भयो । त्यसपछि यो सविधानले जति अधिकार दिएको छ, त्यो अधिकार दिएको छैन भनेर कालो दिवस मनायौं । त्यसको प्रतिसोध राख्न छापा मारेर मलाई जेलसम्म पु¥याइदिए । जेल बस्दा वार्ता अगाडि बढ्न सकेन । पछि धेरै गृहकार्यपछिमात्रै वार्ता सफल भयो । पछि पार्टी गठन ग¥यौं । लगत्तै कोरोना महामारी सुरु भयो । मूलधारको राजनीतिमा हामी परिवर्तन गर्न सकिन्छ भनेरे आएका हौं । योभन्दा अगाडि संसदमा संसदमा पुगिसिकेपछि धेरै कुरा गर्न सकिन्छ भन्ने थियो । तर, त्यहाँ गइसकेपछि बोल्न पनि पाइँदैन भनेर थाहा पाएँ । त्यहाँ को कहिले बोल्ने पालो हुन्छ । अर्को, संसदमा कोसँग कति राम्रो र महत्वपूर्ण विषय छ भनेर महत्व राख्दैन । त्यहाँ कसले कति बोल्ने भन्ने उनीहरुको सिट संख्याका आधारमा हुने रहेछ । (पोखरामा जारी ११ औं नेपाल लिटरेचर फेस्टिभलमा डा सिके राउतले ‘मधेश मन्थन’ विषयक सेसनमा राखेको विचारको सम्पादित अंश । उक्त सत्र खगेन्द्र संग्रौलाले सहजीकरण गरेका थिए ।)
धनुषा: मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज तेस्रोपटक विश्वासको मत लिँदै छन् । मधेस सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । यसका लागि आज आइतबार २ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । यसअघि गत जेठ १ गते मधेस सरकारमा रहेको नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले ३० औँ दिनमा जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिएका थिए । सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । नेपालको संविधान २०७२ को धारा १८८ को २ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले जुनसुकै बेला संसद् बैठक आह्वान गरी विश्वासको मत लिनसक्ने प्रावधान रहेको छ । मधेस प्रदेश सरकारमा एक सय सात प्रदेशसभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभामा सबैभन्दा ठूलो दलको रूपमा रहेको नेकपा (एमाले)को २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी नेपालको १८ सिट रहेको छ । सभामा जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको ९, नेकपा (माओवादी केन्द्र)को ९ र नेकपा (एकीकृत समाजवादी) पार्टीको ७, नेपाल सङ्घीय समाजवादी पार्टी एक, नागरिक उन्मुक्ति पार्टी एक, राष्ट्रिय प्रजातन्त्र पार्टी एक सिट र तीन स्वतन्त्र रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता अरुणकुमार झाले बताए । मधेस प्रदेश सरकारमा जसपा नेतृत्वको सरकारमा कांग्रेस, लोसपा, माओवादी केन्द्र र नेकपा एसे रहेका छन् । चार दल मिलाउँदा ६५ जनाको समर्थन देखिएको छ ।
काठमाडौं: आजको प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर हुने संसद् सचिवालयले कार्यसूचीमा उल्लेख गरेको छ । प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम हुने गरी निर्धारण गरेको संसद् सचिवालयले जानकारी गराएको छ ।
काठमाडौं: निर्वाचन आयोगले राजनीतिक दललाई आफ्नो नाम, विधान, नियम, छाप, झण्डा, चिह्नमा भएको परिवर्तन, संशोधन तथा पदाधिकारीको हेरफेर भएको भए सोबारे ३० दिनभित्र आयोगलाई जानकारी दिन निर्देशन दिएको छ। आयागले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम ती विवरण तोकिएको ढाँचामा आयोगलाई उपलब्ध गराउन निर्देशन दिएको हो। राजनीतिक दलले आन्तरिक सङ्गठनका विषयमा भएका त्यस्ता परिवर्तनबारे लामो समयसम्म जानकारी नगराउने प्रवृत्ति रोक्न यस्तो निर्देशन दिइएको आयोगले जनाएको छ। आयोगका सहायक प्रवक्ता डा थानेश्वर भुसालद्वारा जारी विज्ञप्तिमा राजनीतिक दलले ती विवरण आयोगबाट स्वीकृत दलको विधानबमोजिम महाधिवेशन वा आयोगको अभिलेखमा रहेको केन्द्रीय कार्यकारिणी समितिबाट मात्र निर्णय गरी तथा सम्भव भएको अवस्थामा महाधिवेशनबाट अनुमोदन गरी गराई पेश गर्न भनिएको छ। राजनीतिक दलहरूले विधानबमोजिम दलको सदस्यता वितरण, केन्द्रीय समितिलगायतका पदाधिकारी तथा सदस्यको निर्वाचन, मनोनयन वा नियुक्ति राजनीतिक दलसम्बन्धी ऐनबमोजिम हुनुपर्ने आयोगको भनाइ छ । ऐनमा उल्लेखित योग्यता पुगेका व्यक्तिलाई मात्र सदस्यता वितरण र निर्वाचन, मनोनयन वा नियुक्ति गर्न पनि आयोगको निर्देशन छ। यस्तै दलको सङ्घीय र प्रदेश तहका समितिमा रहने प्रत्येक पदाधिकारीको पद विधानमा किटान गरी तोक्ने, ती पदाधिकारीको निर्वाचन हुने ब्यवस्था विधानमा उल्लेख गरी सोबमोजिम निर्वाचनद्वारा पदपूर्ति गर्न भनिएको छ। साथै दलले आफ्नो आय र व्ययको वास्तविक हिसाब किताब देखिने तोकिएको ढाँचामा लेखा अभिलेख राखी बैंकमार्फत कारोबार गर्ने व्यवस्था मिलाउन आयोगले भनेको छ।
काठमाडौं: नेपाली कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारीलाई तीव्रता दिएको छ । कांग्रेसले ‘नीति अधिवेशन’का रूपमा लिएको महासमिति बैठकलाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन गर्न विभिन्न नौ उपसमिति गठन गरी तयारीलाई तीव्रता दिएको हो । गोदावरीमा चार दिनसम्म चल्ने महासमितिलाई व्यवस्थित एवं प्रभावकारी ढङ्गले सञ्चालन गर्न पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा रहेको मूल आयोजक समितिले छुट्टाछुट्टै उपसमिति निर्माण गरी काम अगाडि बढाएको हो । कांग्रेसले महासमितिलाई सम्पन्न गर्न प्रचार–प्रसार उपसमितिको संयोजकमा पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिको संयोजकमा केन्द्रीय सदस्य मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिमा केन्द्रीय सदस्य उदयशमरशेर राणा, स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतलाई जिम्मेवारी दिएको जनाइएको छ । यस्तै स्वास्थ्य समन्वय उपसमितिको संयोजकमा केन्द्रीय सदस्य उर्मिला नेपाल केसी, यातायात व्यवस्थापन उपसमितिको संयोजकमा केन्द्रीय सदस्य धना खतिवडा, आर्थिक उपसमितिको संयोजकमा केन्द्रीय सदस्य अनिलकुमार रुङ्गटा, प्रदेश समन्वय उपसमितिको संयोजकमा बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिमा ललितपुर कांग्रेसका सभापति जीतेन्द्र श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको कांग्रेसले जनाएको छ । स्वदेश तथा विदेशमा रहेका नेपालीले मात्रै नभई मित्रराष्ट्रले समेत चासोका साथ हेर्ने कांग्रेसको महासमितिको बैठक भव्य, सभ्य, व्यवस्थित र परिणाममुखी बनाउन कांग्रेसले पछिल्लो समय सबै उपसमितिलाई पूर्णता दिएर काम सुरु गरिसकेको बताइएको छ । पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वकर्माले पार्टीले गठन गरेका विभिन्न उपसमितिले आफ्नो काम सुरु गरिसकेको जानकारी दिनुभयो । महासमिति बैठकमा प्रस्तुत गरिने नीतिगत प्रस्ताव तयार गर्न पार्टी उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी गठन गरको र उक्त समितिमा पार्टी केन्द्रीय पदाधिकारी तथा पार्टी प्रवक्तालाई राखिएको छ । बैठकमा पार्टीको साङ्गठनिक प्रतिवेदन पार्टीका महामन्त्री गगनकुमार थापा र समसामयिक राजनीतिक प्रस्ताव पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने कार्यक्रम छ । कांग्रेसले फागन ७ गते उद्घाटनको दिन बिहान ९ बजेदेखि कार्यक्रमस्थलमा रक्तदान कार्यक्रम आयोजना गर्ने तथा कार्यक्रम सो अवधिभर ७ देखि १० गतेसम्म स्वास्थ शिविर सञ्चालन गर्ने भएको छ । यस्तै सूचना, सञ्चार तथा प्रचार विभागले उत्पादन गरेका सामग्री बिक्री तथा वितरण केन्द्र राख्ने, नेपाली कांग्रेस, लोकतन्त्र, समाजवाद र समय सान्दर्भिक विषयका पुस्तक बिक्री वितरण कक्ष राख्ने, महासमितिको बैठक हल बाहिर विभिन्न चमेनास्थलको व्यवस्था गर्ने जनाएको छ । महासमिति बैठकमा फागुन ६ देखि १० गतेसम्म मिडिया सेन्टर स्थापना गरिने, कार्यक्रमको उद्घाटन र समापनको प्रत्यक्ष प्रसारण गरिने, प्रत्येक दिन तीन–तीन घण्टामा सञ्चारमाध्यमलाई समाचार दिने व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ । यस्तै महासमिति बैठकसम्बन्धी सबै किसिमका नियमित वा आकस्मिक सूचना प्रवाह गर्ने प्रविधियुक्त ९डिजिटल० एक सूचना केन्द्र स्थापना गर्ने र डिजिटल बोर्डबाट कम्तीमा तीन स्थानमा सूचना दिने व्यवस्था मिलाउनुका साथै महाधिवेशनमा सहभागीले स्मरणका लागि फोटो लिन आकर्षक स्थानमा सेल्फी प्वाइन्ट बनाउन लागिएको छ । सहभागीलाई दिइने सामग्रीः झोला, डायरी, कलम, महासमितिको लोगो, नीति प्रस्ताव एवं प्रतिवेदन प्रदान गरिने, महासमिति सदस्य बस्ने मुख्य स्थानबाट कार्यक्रम स्थलसम्म जानआउन निःशुल्क बस सेवा सञ्चालन गर्ने कांग्रेसले जनाएको छ । यसैगरी कार्यक्रम अवधिभर बिहानको चिया, नास्ता, खाना र दिउँसोको खाजा कार्यक्रमस्थलमै उपलब्ध हुनेछ भने बेलुकाको खाना र आवास सहभागी आफैँले व्यवस्था गर्नुपर्ने कांग्रेसले जनाएको छ । दुई हजार बढी प्रतिनिधि सहभागी रहने कांग्रेसको महासमिति बैठकमा देश तथा विदेशबाट दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ । ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता १ स्वतन्त्रता, न्याय र समानता ११ नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सुरु हुन लागेको महासमिति बैठकमा देशभरका एक सय ६५ निर्वाचन क्षेत्रबाट ११ जनाका दरले महासमिति सदस्यले भाग लिनेछन् । यस्तै पार्टीको भ्रातृ संस्था, शुभेच्छुक संस्था, विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट समेत भाग लिने कांग्रेसले जनाएको छ । महासमिति बैठक आउन केही दिनमात्र बाँकी रहँदा धेरै जिल्लाका प्रतिनिधिको नाम टुङ्गो लगाउन बाँकी छ । कांग्रेसले महासमितिमा भाग लिने प्रतिनिधिका बारेमा समेत आजको केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गर्ने तयारी गरेको छ । कांग्रेस निर्वाचन समितिका सदस्यसचिव जगन्नाथ श्रेष्ठले माघ २० गतेसम्म महासमिति बैठकमा भाग लिनका लागि देशभरका एक सय ३८ निर्वाचन क्षेत्रबाट प्रतिनिधि टुङ्गो लगाएर पार्टीलाई बुझाइसकिएको जानकारी दिनुभयो । “माघ २० गतेपछि आएका केही क्षेत्रका प्रतिनिधिको नामावलीमा विवाद देखिएको छ, यसका बारेमा हामीले आवश्यक अध्ययन गरिरहेका छौँ, निर्वाचन समितिले हालसम्म एक सय ३८ क्षेत्रको प्रतिनिधि टुङ्गो लगाएको छ, बाँकी २७ क्षेत्रको टुङ्ग्याउन बाँकी छ”, सदस्यसचिव श्रेष्ठले भन्नुभयो । निर्वाचन समितिका अनुसार भोजपुर, काठमाडौँको क्षेत्र नं ५ र ६, रामेछाप, पर्वत, धादिङ, दोलखा, बारा, पर्सालगायका जिल्लामा महासमिति सदस्य टुङ्गिन बाँकी छ । निर्वाचन क्षेत्रबाहेक निर्वाचन समितिले पार्टीको भ्रातृ, शुभेच्छुक र जनसम्पर्क समितिबाट आएका नामावलीसमेत टुङ्गो लगाएर पार्टीलाई बुझाइसकेको श्रेष्ठले बताउनुभयो । सबै क्षेत्रको प्रतिनिधिको नाम टुङ्गिएमा महासमितिमा दुई हजार तीन सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ ।
पोखरा: एमालेका युवा नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले पोखरा–बुटवल र नारायणगढ त्रिकोणात्मक सहरको रुपमा विकास हुँदै गरेको बताएका छन् । बुटवल–नारायणगढ तथा मुग्लिन–पोखरा सडक स्तरोन्नति भइरहँदा सिद्धार्थ राजमार्गसमेत स्तरोन्नतिका लागि विश्व बैंकसँग सम्झौताको अन्तिम तयारी भएको उनले जनाए । ‘पोखरा–बुटवल सडकलाई साढे २ घण्टामा छोट्याउने गरी डबल लेनमै भए पनि स्तरोन्नतिका लागि विश्व बैंकसँग सम्झौताको अन्तिम तयारी भएको छ । यही वर्षदेखि सम्झौता भएर कार्यान्वयनमा गयो भने नारायणगढ–पोखरा–बुटवल ३ सहरलाई साढे ७ घण्टाको दुरीमा सीमित गर्न सकिन्छ,’ पाल्पा हाउसमा उनको सम्मानमा आयोजित समारोहमा बोल्दै उनले भने, ‘त्रिकोणात्मक रुपमा एउटा सिटीमा कन्भर्ट गर्ने मोडलमा गई सिंगो नेपालको विकासमा राम्रो उपलब्धि हुनेछ ।’ कालीगण्डकी करिडोरअन्तर्गत राम्दीदेखि रानीमहलसम्म ट्रयाक खोल्न आफूले सदनमा बोलेकोबोल्यै गरेको उनले बताए । पटक पटकको दबाबपछि अर्थ मन्त्रालयले १ अर्ब ४८ करोड खर्च स्वीकृतिका लागि साइन गरेको र चालु आवमै उक्त ट्रयाक खोल्न टेन्डरमा जाने उनको भनाइ थियो । उनले लुम्बिनी र गण्डकी प्रदेशसँग जोडिएको पर्यटकीय एवं धार्मिक क्षेत्र रानीमहल, रिडी, छेर्लुङ वरिपरि पर्यटन पूर्वाधारका हिसाबले निजी क्षेत्रबाट नै केही संरचना निर्माण गर्न सकिएमा दुवै प्रदेशको पर्यटन विकासमा पनि सघाउ पुग्ने बताए । २०४६ सालको परिवर्तनपछि भएको पाल्पा विकास गोष्ठीको निष्कर्ष स्मरण गर्दै उनले पाल्पाको विकासका मूल आधार ः शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र पर्यटन भएको बताए । त्यसबेला पूर्वाधार विकासतर्फ तानसेन–छहरा–अर्घाखाँची मोटरबाटो, तानसेन–चिलाङ्दी–राम्दी, आर्यभञ्ज्याङ–रामपुर तथा बाँस्टारी–झडेवा हुँदै खैरेनी जोड्ने मोटरबाटो गरी ४ सडक पूर्णरुपमा सम्पन्न गरी कालोपत्रे गर्न सकिएमा पाल्पाको विकासमा पूर्वाधार तयार हुने निष्कर्ष रहे पनि ती सडक सबैभन्दा अप्ठेरो र धूलाम्यमै सीमित हुनु दुखदायी हो भने । ती सडक विकासमा आगामी वर्षको योजनामा समेट्ने प्रयास भइरहेको उनले जनाए । पाल्पाको रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिका सुन्तलाको पकेट क्षेत्र भएको उल्लेख गर्दै वन क्षेत्रमा पनि सुन्तला खेती गर्नुपर्ने बताए । उनले कुसुमखोला र बाँस्टारीमा कोल्डस्टोर निर्माणको कोशिस भएको जनाए । पाल्पाको भगवती जात्रालाई सरकारीको औपचारिक कार्यक्रम बनाउनुपर्ने आवश्यकता औंल्याए । पञ्चायतकालदेखि नै पाल्पा जिल्ला मानव सूचकांकमा विकसित जिल्ला भएको उल्लेख गर्दै उनले जिल्लाको समग्र विकासमा सबै जनाले हातेमालो गर्नुपर्नेमा जोड दिए । जिल्लाका २ निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यान्वयन भएकोमा अहिले ५ वर्ष पूरा भएर छैटौं वर्ष प्रवेश गर्दासमेत प्रगति ११ प्रशितमात्र भएकोमा गुनासो गरे । गत वर्ष आफू सांसद निर्वाचित हुने बेला तानसेन–बुटवल यात्रा गर्दा साढे ३ घण्टा लाग्ने र झोलामा एकजोर कपडासमेत बोक्नुपर्ने अवस्था भएको स्मरण गर्दै डुम्रे, चिडियाखोला (कालीमाटी), भूतखोला लगायत चार ठाउँबाहेक सडक स्तरोन्नति भएको दाबी गरे । सिद्धबाबा सुरुङमार्ग प्रारम्भिक चरणमा रहेको र यो समयमै सम्पन्न गर्न सकिएमा तानसेन–बुटवल सडक सरल बन्ने अपेक्षा गरे । एमालेका युवा नेता गैरे अनेरास्ववियूका पूर्व केन्द्रीय अध्यक्ष पनि हुन् । मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष उनी पोखरामा सुरु मनमोहन मेमोरियल यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता उद्घाटन अवसरमा यहाँ आएका हुन् । पोखरा न्यूरोडस्थित पाल्पा हाउसमा शनिबार आयोजित समारोहमा सांसद गैरेलाई पाल्पा हाउस अध्यक्ष कुलप्रसाद घिमिरे, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, पाल्पा कोलोनीका अध्यक्ष रेशम रचक, समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार नारायणप्रसाद पौडेलले पाल्पाली ढाकाटोपी, खादा र माला लगाएर स्वागत गरे । पाल्पा हाउस खोलेर एकताबद्ध रुपमा पाल्पालीहरु लाग्दा पोखरासहित पाल्पाको समेत विकासमा सघाउ पुग्ने विश्वास लिए ।
काठमाडौं: प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारीहरू एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताउनुभएको छ । २९ औँ जनयुद्ध दिवसको अवसर पारेर दाङ र बर्दियाबाट पार्टीमा समाहित हुने राजनीतिक र सामाजिक क्षेत्रका अगुवाहरूलाई स्वागत गर्दै उहाँले परिवर्तनकारीहरूको सुदृढ एकताबाट मात्रै परिवर्तनका उपलब्धिको रक्षा र विकास गर्न सकिने बताउनुभएको हो । ‘अहिले मुलुकमा परिवर्तनको नेतृत्व गर्ने र यसलाई उल्ट्याउन खोज्ने दुई धार देखिएको छ’– प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिमा आधारित समाजवाद निर्माणको धारको नेतृत्वमा हामीले गरेका छौँ भने यसलाई उल्ट्याउन खोज्नेहरू पनि झिनो स्वरमा अघि बढ्न खोजिरहेका छन्, बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्ध जोगाउन सबै परिवर्तनकारीहरू एक ठाउँमा आउने बेला भएको छ ।’ विगतमा माओवादी आन्दोलनमा रहेकाहरूबिच संस्थागत रुपमा पनि एकीकरणको पहल भइरहेको उल्लेख गर्दै उहाँले यो सँगसँगै व्यक्तिगत रुपमा पनि क्रान्तिकारीहरू ध्रुवीकृत भइरहेको बताउनुभयो । जनयुद्धबाट स्थापित उपलब्धिलाई संरक्षण गर्ने दायित्व माओवादी नेता कार्यकर्ताकै भएकाले यसमा सबै गम्भीर भएर ध्रुवीकरणमा सामेल हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । ऐतिहासिक दिनमा पार्टीमा समाहित भएकोमा धन्यवाद दिँदै अध्यक्ष प्रचण्डले राजनीतिक र सामाजिक क्षेत्रमा गरेको योगदानको सम्मान गर्दै पार्टीमा उचित स्थान दिइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । सो क्रममा उहाँले पार्टी विधान र दस्ताबेजहरूमा पर्यावरण संरक्षणको सवाल र यससम्बन्धी मोर्चालाई व्यवस्थित गरेर लैजाने पनि स्पष्ट गर्नुभयो । सो क्रममा लामो विप्लव नेकपाको नेतृत्वमा रहिसक्नुभएका दाङका युवा नेता ईश्वरी पाण्डे, सोही पार्टीमा रहनुभएका तुलसीपुर खानेपानी संस्थाका पूर्व अध्यक्ष खेमराज ओली, पर्यावरण अभियन्ता गिद्ध संरक्षण राष्ट्रिय सञ्जालका अध्यक्ष डिल्लीबहादुर रावत, एमालेमा रहनुभएका अगुवा व्यवसायी युवराज केसी र शैक्षिक अभियन्ता हिमाल डाँगीलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्नुभएको थियो । त्यस्तै बर्दियाका युवा नेता एवं व्यवसायी मोहनलाल चौधरी पनि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । नयाँ शक्तिको जिल्ला अध्यक्ष हुँदै नागरिक उन्मुक्ति पार्टीमा केन्द्रीय सदस्यको भूमिका निर्वाह गरिसक्नुभएका चौधरी होटेल सङ्घ बर्दियाका अध्यक्ष पनि हुनुहुन्छ । कार्यक्रममा पार्टी स्थायी समिति सदस्य एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, नेताहरू पूर्णा सुवेदी, निर्मल आचार्य, हेमराज शर्मा, तिलकराम शर्मा, धनबहादुर मस्की, सुरेश पन्त, शेषुराम भण्डारीलगायतको उपस्थिति थियो ।
पोखरा: नेकपा एमाले निकट जनसंगठन भूमि अधिकार तथा श्रमिक संगठन नेपाल जिल्ला कमिटि कास्कीको दोश्रो अधिवेशन टेकबहादुर पुनको अध्यक्षतामा ९ सदस्य पछि थप गर्ने गरि ३५ सदस्यीय कार्य समिति चयन गरी विहिबार सम्पन्न भएको छ । कमिटिका उपाध्यक्षमा अग्नी प्रसाद तिवारी र ठुली गोले तामाङ, सचिवमा मोहन गुरुङ, उपसचिवमा हेममाया तामाङ र विजय शाही, कोषाध्यक्षमा ध्रुबकुमार श्रेष्ठ चयन भएका छन् । त्यसै गरी सदस्यहरुमा देवबहादुर विक, हेमचन्द्र मुडभरी, रोम बहादुर गुरुङ, चन्द्रमा घर्ति, विरबहादुर परियार, सपना परियार, लोक बहादुर सेन, मान बहादुर गुरुङ, सविता गुरुङ, सरस्वती नेपाली, इन्दिरा भट्टराई, देव बहादुर विक, भिमबहादुर रोकाह मगर, इन्द्रबहादुर खड्का, सरोज राई, उजेली घर्ति, दुर्गा बहादुर गुरुङ, कृष्ण गुरुङ अधिकारी र हरिमाया विक सर्वसम्मत चयन भएका छन् ।
पोखरा: नेकपा एमाले जिल्ला कमिटी कास्कीको आगामी चैत्र १० र ११ गते हुने ११ औं जिल्ला अधिवेशनका लागि जिम्मेवारी तोकिएको छ । आज (सोमबार) बसेको ११ औं सचिवालय बैठकले अधिवेशन व्यवस्थित गर्न विभिन्न जिम्मेवारी तोकेको हो । निर्णयानुसार मुल व्यवस्थापन समितिको संयोजकका रुपमा जिल्ला अध्यक्ष मन बहादुर गुरुङले जिम्मेवारी लिएका छन् । यस्तै स्वंयमसेवक उप–समितिको जिम्मेवारी उपाध्यक्ष तेजनारायण अधिकारीले सम्हाल्नेछन् । प्रतिनिधि व्यवस्थापन उपसमितिमा सचिव बैन बहादुर अधिकारी क्षेत्री, प्रचार प्रसार उपसमितिमा उपसचिव दर्शन लामा, जनपरिचालन उपसमितिमा उपसचिव नवराज ओझा, अतिथि सत्कार उपसमितिमा हिरा गिरी, आर्थिक, खानखाजा उपसमितिमा चिरञ्जिवि पोखरेल, मञ्चव्यवस्थापनमा आर पी खनाल, स्वास्थमा डा. छममाया पुन, आवास व्यवस्थापनमा कृण्ण न्यौपाने, सांस्कृतिकमा सुरेन्द्र गुरुङलाई जिम्मेवारी तोकिएको छ ।