काठमाडौं: प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले कुनै पनि विषयलाई सम्बोधन गर्न नसकेको आरोप लगाउनुभएको छ । यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि आजदेखि सुरु भएको छलफलमा भाग लिँदै उहाँले यसले मुलुकको कुनै पनि समस्याको सम्बोधन गर्न नसकेको बताउनुभयो । उहाँले आफ्नो सरकारले अगाडि सारेका नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको भन्दै प्रसन्नता प्रकट गर्नुभयो । ओलीले आफूले स्थापित गरेको सुखी नेपाली र समृद्ध नेपालको नारा हटाइएकामा भने आपत्ति प्रकट गर्नुभयो । आफूहरु सामाजिक सद्भाव, न्याय, समानताको पक्षमा रहेको भन्दै उहाँले राष्ट्रिय हितमा अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले नेपाल र भारतका सरकारका प्रतिनिधि सम्मिलित प्रबुद्ध व्यक्तिको समूह (इपीजी)ले तयार पारेको प्रतिवेदन नेपाल सरकारले बुझ्न र संसद्लाई जानकारी गराउन आग्रह गर्नुभयो । संवादहिनतामा राखेर आफूहरुलाई सरकारले पेलेको, राष्ट्रिय महत्वका विषयमा प्रतिपक्षीसँग संवाद नगरिएकामा समेत ओलीले सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रम स्वादविहीन भएको टिप्पणी गर्नुभयो । ओलीले कार्यक्रममा अधिकांश विषय अमूर्त रहेको, राज्य संयन्त्रप्रति अविश्वास व्यक्त गरिएको आरोप लगाउनुभयो । उहाँले परराष्ट्र नीतिलाई आवेगपूर्ण र सत्तास्वार्थमा सङ्कुचित बनाइएको आक्षेप पनि उहाँले लगाउनुभयो । नेता ओलीले यो नीति तथा कार्यक्रमले अघिल्ला सरकारले अगाडि सारेका सकारात्मक कामलाई समावेश नगरेको र राष्ट्रिय आवश्यकतालाई ख्याल नगरेको बताउनुभयो ।
पोखरा: पोखरा महानगरपालिकाको नवनिर्वाचित मेयर धनराज आचार्यले हामी भन्ने भावना राखेर काम गर्नुुपर्ने बताएका छन् । मुुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरा महानगरपालिकाद्वारा पोखरामाम आज आयोेजित नवनिर्वाचित पदाधिकारीहरुको घोषणा सभा, प्रमाण पत्र तथा सपथग्रहण समारोहमा सपथ ग्रहणपश्चात बोल्दै आचार्यले यस्तो अभिव्यक्ति दिएका हुुन् । उनले कूनै पार्टीबाट निर्वाचित भएपनि अब नागरिकको साझा जनप्रतिनिधि भएको उल्लेख तर्क राखे । ‘म भन्ने कुुरा भन्दा माथि उठेर हामी भन्ने कुुरामा रहेर काम र कारवाही गरौं । आमसभाबाट निर्वाचित भएर अब हामी तपाईहरु सबैको साझा प्रतिनिधि भएर आइसकेका छौ । अब हामीले हामी भन्ने भावनामा रहि तपाइहरुको समस्या समाधान गर्नेछौं, उनले भने, ‘हाम्रो पहिलो मिसन ‘मिसन पोखरा’ हुुने छ । पोखरालाई स्वच्छ, सुुन्दर पोखरामा परिवर्तन गर्नेछौ ।’ नगर प्रमुख आचार्यले आफुलाई अमुुल्य मत दिएर जिताएको भन्दै आम पोखरेली नागरिकलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।
कास्की: कास्कीको अन्न्पूर्ण गाउँपालिका १० का नवनिर्वाचित वडाध्यक्ष गौतम गुरुङले पदभार ग्रहण गरेसँगै शासक नभई जनताका सेवक भएको बताएका छन् । उनले कुनै पार्टीबाट निर्वाचित भएपनि अब सबै जनताको साझा जनप्रतिनिधि भएको धारणा राखे । ‘चुनाव लड्दा जुनसुकै पार्टीबाट आएपनि अब निर्वाचित भैसकेको छु, उनले भने, ‘हिजोका दिनमा म भन्ने थियो अब वडामा आएपछि हामी भन्ने भावनाबाट काम गर्नेछु ।’ उनले निर्वाचनको समयमा घोषणा गरेका प्रतिवद्धतालाई अक्षरश कार्यान्यवन गर्ने बताए । उनले आम नागरिकलाई सरल सेवा प्रदान गर्ने बताउदै सामाजिक सुरक्षा भत्ता अन्तर्गतको जेष्ठ नागरिक भत्ता गाउँपालिका र स्थानिय बैंकसँग समन्वय गरि वृद्व, वृद्वा तथा अपांगहरुलाई टोल–टोलमा वितरण गर्ने प्रतिवद्धता जनाए । अध्यक्ष गुरुङले नागरिकलाई प्रदान गरिने दैनिक सेवासँगै विकास निर्माणका कार्यहरुलाई समेत पहिलो प्राथमिकता राखिएको जानकारी दिए । उनका अनुसार सिवै देखि कलाभिरको सडक स्तरोन्नती गर्ने, सिवै घुम्तीदेखि विकासडाँडासम्म पिच गर्न पहल गर्ने, घान्दु्रकमा कोइवोधि निर्माणमा पहल गर्ने, निर्माणाधिन स्वास्थ्य चौकीलाई यथाशिघ्र सम्पन्न गरि सञ्चालनमा ल्याउने, खोलोभ्रो बसपार्क तथा गाउँको ढलको व्यवस्थापन गर्ने, बस्ती भित्र आवश्यक सिँढीहरु निर्माण गर्ने, स्थानीयहरुलाई उत्पादनमुखी कार्यमा अभिप्रेरित गर्ने, शवदाह स्थल निर्माण गर्ने, कोटगाउँ लगायतमा खानेपानीको व्यवस्थापन गर्ने, एक घर एक धाराको अभियान हरेक टोलमा सम्पन्न गर्ने लगायतका कार्ययोजनाहरु अघि सारिएको छ ।
पोखरा महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख मञ्जुदेवी गुरुङलाई प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराई ।
पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराई ।
पाल्पा: पेट्रोलियम पदार्थको मुल्य वृद्विको विरोधमा उत्रिएका एमाले निकट विद्यार्थी तथा युवा संगठनका ६ जना कार्यकर्तालाई पाल्पा प्रहरीले पक्राउ गरेको छ । तानसेन नगरपालिका स्थित आन्दोलन चोकमा चक्का जाम गर्न खोज्ने युवा र विद्यार्थी संगठनका ६ कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा युवा संघ नेपालका केन्द्रीय सदस्य दिपक विश्वकर्मा, जिल्ला कोषाध्यक्ष सुधिर भट्टराई, तानसेन नगर अध्यक्ष राजेश भट्टराई, अनेरास्वयवियुका जिल्ला अध्यक्ष हिरा कुल कुवँर, युवा संघका जिल्ला सदस्य कृष्ण बस्याल र शिशिर बस्याल रहेका छन् । पक्राउ परेका उनीहरुले सवारीसाधन आवतजावतमा अवरुद्ध गर्न लागेका थिए ।
दमौली: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सेवाको भावना भए मात्रै विकास सम्भव रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधिका लागि आज आयोजना गरेको बधाई एवं शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनप्रतिनिधि शासक नभई सेवक बन्नुपर्ने उल्लेख गर्नुभयो । जनताले सेवक बन्नका लागि निर्वाचनमार्फत मत दिएकाले जनताको सेवक बनेर काम गर्न वरिष्ठ नेता पौडेलले आग्रह गर्नुभयो । “जनप्रतिनिधिले हामीहरू जनताको शासक होइन, सेवक हौँ भन्ने भावना जागृत गर्नुपर्छ, त्यसो भएको खण्डमा मात्रै विकास गर्न सकिन्छ,” उहाँले भन्नुभयो । वरिष्ठ नेता पौडेलले व्यास नगरपालिकालाई सौन्दर्य भर्ने काममा अग्रसर हुन जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । जनप्रतिनिधिको काँधमा ठूलो जिम्मेवारी भएकाले उक्त जिम्मेवारी सफलतापूर्वक पूरा गर्नुपर्ने उहाँको जोड दिनुभयो । “समाज विकासका लागि आफैँ अग्रसर हुनुपर्छ, त्यसको जिम्मेवारी जनताले दिएका छन् ” पौडेलले भन्नुभयो, “समाजका लागि केही गर्नुपर्छ भन्ने सङ्कल्प बोक्नुपर्छ ।” वरिष्ठ नेता पौडेलले समाजलाई उन्नतिको बाटोमा डोर्याउनेतर्फ अगाडि बढ्न आग्रह गर्दै भन्नुभयो, “आत्मज्ञान सबैभन्दा ठूलो कुरा हो, पहिला आफैँले आफैँलाई चिन्नुपर्छ, आफूभित्र के छ त्यसलाई चिन्नुपर्छ ।” राजनीतिक रुपमा मात्र नभई सामाजिक र आर्थिक रुपमा समेत परिवर्तन भइरहेको वरिष्ठ नेता पौडेलले बताउनुभयो । कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले आर्थिक समृद्धि र विकास एउटै मात्र लक्ष्य रहेकाले त्यसलाई पूरा गर्नेतर्फ लाग्न आग्रह गर्नुभयो । व्यास नगरपालिकाको फोहरमैला समस्याका रुपमा रहेकाले त्यसलाई समाधान गर्नेतर्फ जनप्रतिनिधि लाग्नुपर्ने बताउनुभयो । केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेसको नेतृत्वमा देशमा विकास भएको र त्यसलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्नुभयो । गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विक, प्रदेश सांसद सरिता गुरुङ, नेपाली कांग्रेसका जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, नेकपा एमालेका उपसचिव प्रदीपराज अधिकारी, नेकपा एकीकृत समाजवादीका सचिव श्रीराम कार्की लगायतले व्यास नगरपालिकाको विकास र समृद्धिमा लाग्न आग्रह गर्नुभयो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जनताको भावना बुझेर काम गर्ने बताउनुभयो ।
भरतपुर: भरतपुर महानगरपालिकाको प्रमुख पदमा पुनःनिर्वाचित रेनु दाहालले जनताको मनोविज्ञान बुझेर काम गर्ने बताउनुभएको छ । अन्तिम मतपरिणाम आएपछि प्रतिक्रिया दिँदै उहाँले महानगरवासीलाई निराश हुन नदिने बताउनुभयो । स्थानीय तहमा यो आफ्नो अन्तिम कार्यकाल भएको भन्दै उहाँले महानगरका अधुरा काम पूरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“देशकै ध्यान यो महानगरमा रहेकाले आफू जित्नु सुखद भए पनि जनताको भावना बुझेर काम गर्छु”, उहाँले भन्नुभयो,“स्थानीय सरकार भनेको राजनीति गर्ने ठाउँ होइन, विकास निर्माण गर्ने हो, त्यतै तर्फ लाग्छु ।” पहिलो पटकको कार्यकालमा महानगरमा आफूले गरेको पहिलो निर्णय अहिले धेरै पालिकाले सुरु गरेकाले त्यो जनताबाट अनुमोदित भएको उहाँले बताउनुभयो । पहिलो पटक उहाँ निर्वाचित भएसँगै पहिलो निर्णय भरतपुर अस्पतालमा महिलाका लागि बहिरङग सेवाको टिकट निःशुल्क गरिएको थियो । पाँच दलीय गठबन्धन शान्ति र प्रगतिको लागि भएकाले यो लामो समयसम्म जाने बताउँदै उहाँले यो भत्किहाल्ने, टुटिहाल्ने जस्तो केही पनि नहुने बताउनुभयो । निर्वाचन अघि सार्वजनिक गरेको प्रतिबद्धता अनुरुप नै आफू अबको पाँच वर्ष उही गतिमा काम गर्ने उहाँले दोहोर्याउनुभयो । उहाँले भन्नुभयो “महानगरभित्र पूरा गर्न बाँकी योजना, आयोजना यो कार्यकालभित्रै सम्पन्न गर्ने तर्फ विशेष ध्यान जान्छ ।” भरतपुरलाई स्मार्ट सिटी बनाउने अवधारणा अनुसार केही काम अगाडि बढेपनि पूर्ण नभएकाले त्यसमा बढी ध्यान जाने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो “भरतपुरमा मुख्य गरेर रोजगारीको समस्या विकराल बन्दै गएको छ । त्यसको समाधान तर्फ पनि विशेष ध्यान दिने छु ।” शिक्षा, स्वास्थ्य, पूर्वाधार, विकास, फोहर तथा ढल व्यवस्थापनमा जोड दिने भन्दै उहाँले आफूले गरेको कामको अनुमोदन जनताले गरिदिएकोमा खुसी प्रकट गर्नुभयो । गठबन्धनभित्र चुनौती भए पनि गठबन्धनभित्रका दलले इमान्दारिता प्रकट गरेकाले जित भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “विपक्षीहरुले हराउनका लागि ठूलो योजना बुने तर पनि असफल भएका छन् । अब हामी मतदाताले दिएको जिम्मेवारी पूरा गर्न तर्फ लाग्छाै ।”
पोखरा: पोखरा महानगरपालिकाको मतगणनाको दौरान वडा नम्बर १८ को ९ मत हराएको भन्दै नेकपा एमालेले पुनः मतगणनाको माग गरेको छ । सोही कारण हाल मतगणना स्थगित भएको छ । हालसम्मको मतगणना अनुसार गठबन्धनका उम्मेदवार धनराज आचार्य महानगरको मेयरमा सुनिश्चित भएका छन् । ‘वेटिङ मेयर’ आचार्यले हालसम्म ५६ हजार ३ सय ३८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्दी थापाले ५१ हजार ३ सय ५१ मत पाएका छन् । आचार्य भन्दा थापा ४ हजार ९ सय ८७ मतले पछि छन् । आचार्यको जितको औपचारिक घोषणा भने हुन बाँकी छ । पोखरा महानगरको उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ दोहोरिने निश्चित देखिएको छ । उनले ५८ हजार ७ सय ४६ मत पाएकी छिन् । भने रानाभाटले ५४ हजार ७ सय १४ मत प्राप्त गरेकी छिन् । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी कोपिला रानाभाट भन्दा गुरुङ ४ हजार ३२ मतले अघि छिन् । पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो । सो मध्ये ४ हजार ६ सय २ मतगणना हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरा महानगरपालिकाले जनाएको छ ।