काठमाण्डौँ: प्रतिनिधिसभाको आजको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले प्रतिकात्मक रुपमा सभामुख अग्निप्रसाद सापकोटालाई ताला चाबी बुझाउनुभएको छ । प्रमुख प्रतिपक्षीले आफ्ना कुरा सुनाउने र अर्काको कुरा नसुन्ने प्रवृत्ति देखिएको भन्दै विरोधस्वरुप प्रतिकात्मक रुपमा सभामुखलाई ताला चाबी बुझाएको उहाँले बताउनुभयो । तीन घण्टासम्म आफ्नो कुरा सुनाउनेले अर्काले बोल्ने बेला अवरोध गरेको सांसद महतको भनाइ छ । शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले आफ्नो धारणा राख्दा एमाले सांसदले अवरोध गरेका थिए । विवाद बढ्दै गएपछि सभामुख सापकोटाले प्रयोग गरिएको अमर्यादित शब्द हटाउने निर्णय गर्नुपरेको थियो । सांसद महतले भन्नुभयो, “प्रतिपक्षीको व्यवहार हेर्दा बोल्न पाइँदैन कि भन्ने त्रासमा थिएँ । म अहिले पनि अलि मोटो र ठूलो स्वर गर्ने हो भने अवरोध आउँछ कि भन्ने चिन्तामै छु । उहाँहरु धित मरुञ्जेल तीन घण्टा गाली गर्नुहुन्छ । र धित मरिसकेपछि यसलाई अवरोध गर्न खोज्नुहुन्छ । फेरि ताला लगाउन खोज्नुहुन्छ ।” उहाँले आफूले ताला र चाबी ल्याएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईंहरु धित मरुञ्जेल बोल्नुहोला त्यसपछि हामी बोल्दा यो ताला र चाबी लगाइदिनुहोला । जतिबेला बोल्न मन लाग्छ आउनुहोला र यो ताला चाबी खोल्नुहोला अनि बोल्नुहोला । मैले सभामुखज्यूलाई बुझाएँ ।” गाली गर्नेलाई संसद्मा बोल्न तीन घण्टा र कर्णालीको आवाज बोल्नेलाई तीन मिनेट छुट्याइएकामा सांसद महतले आपत्ति प्रकट गर्नुभयो ।
पोखरा: पेट्रोलियम पदार्थको मूल्य वृद्धि जनताको हितमा नभएको भन्दै पोखरामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युुनियन (अनेरास्ववियु) ले विरोध जनाएको छ । पोखरा १ बगरस्थित पृथ्वीनारायण क्याम्पस गेटमा प्रधानमन्त्री शेर बहादुर देउवाको राजिनामा माग गर्दै नाराबाजी सहित विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले प्रदर्शनका क्रममा ‘मूल्य वृद्वि फिर्ता गर, नालायक सरकार राजीनामा दे, शेरे चोर देश छोड्’ लगायतका नारा लगाएका थिए । साथै जिल्ला प्रहरी कार्यालयका कस्कीले शुक्रबार अनेरास्ववियुका समर्थक माधव पौडेललाई पक्राउ गरेकाले विनाशर्त रिहाईको माग गरेका थिए । तस्वीर: अर्जुन गाहा (सुशान्त) /सुनगाभा न्यूज
पोखरा: स्वतन्त्र उम्मेदवारहरुको जितसँगै पोखरामा पनि धन्यवाद र्याली आयोजना गरिएको छ । काठमाण्डौँ महानगरपालिकामा बालेन्द्र साह, धरान उपमहानगरपालिकामा हर्क साम्पाङ राई र धनगढी उपमहानगरपालिकाको मेयरमा गोपाल हमाललाई निर्वाचित गराएको भन्दै आम मतदातालाई स्वतन्त्र पोखरेली नागरिकहरुले र्याली आयोजना गर्दै धन्यवाद व्यक्त गरेका हुन् । उनीहरुले ‘दलतन्त्रको दलदलबाट बाहिर निस्कौँ दासताको जन्जिरबाट मुक्ति खोजौँ’ भन्ने नाराका साथ पोखराको मानव अधिकारचोकबाट र्याली सुरु गरि महेन्द्रपुल नयांबजार, पृथ्वीचोक, न्यूरोड परिक्रमा गरेका थिए । सोही क्रममा स्वतन्त्र उम्मेदवारबाट निर्वाचित भएका मेयरहरुको पक्षमा नाराबाजी समेत गरेका थिए । तस्वीर: अर्जुन गाहा (सुशान्त) /सुनगाभा न्यूज
पोखराः पोखरा महानगरपालिकाबाट एकमात्र महिला वडाध्यक्षमा निर्वाचित राधिका शाही योगीले पदभारसँगै ३ जनपक्षीय निर्णय गरेकी छिन् । अध्यक्ष योगिले सो वडामा स्थायी बसोबास गर्ने निम्न आय भएका ,अशक्त ,अपाङ्ग र पिछडिएका बर्गलाइ हिमालय आखा अस्पताल सङ्गको सहकार्यमा मोतियाबिन्दुको निशुल्क उपचार गर्ने, वडामा स्थायी बसोबास गरी शहरी स्वास्थ केन्द्रबाट नियमित सेवा लिइरहेका गर्भवती महिलाहरुको लागि पोषण प्याकेजको ब्यबस्थापन गर्ने र वडा कार्यालयको सेवा थप प्रभाबकारी बनाउन सहायता कक्ष निर्माण गर्ने तीन निर्णय गरिएकाे बताइन् । उनले निर्बाचन दौरानमा गरिएका बाचा हर तरहले पूरा गर्दै पुर्ण भौतिक पुर्बाधार सहितको समृद्ध वडाको निर्माण एकमात्रै अर्जुन दृस्टी रहेको बताइन। उनले आफ्नो समुहलाइ बिजयी गराउन सहयोग गर्ने सम्पुर्णमा आभार ब्यक्त गर्दै बिना पुर्बाग्रह बिकासका काम अगाडि बढाउने प्रतिबद्धतासमेत ब्यक्त गरिन् ।
कास्कीः कास्कीको अन्न्पूर्ण गाउँपालिकाको कान्छो वडाध्यक्ष रमेश गुरुङले पदभार ग्रहण गरेका छन् । अन्नपूर्ण गाउँपालिका ९ को वडाध्यक्षको रुपमा २६ वर्षिय गुरुङले बिहिबार पदभार ग्रहण गरे । उनले सो अवसरमा बोल्दै वडाबासीलाई सहज र सरल तरिकाले सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाए । उनले आफ्नो वडालाई नमुना वडाको रुपमा विकास गर्नको लागि अगाडी बढ्ने बताए । उनले अन्नपूर्ण गाउँपालिका पर्यटकीय केन्द्र रहेको बताउदै अझ पर्यटन प्रवर्द्धनको लागि विशेष पहल गर्ने बताए । उक्त क्षेत्रमा शाहसिक पदयात्राका लागि अन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुदै आएको छ । नवनिर्वाचित वडाध्यक्ष गुरुङले सबै नागरिकलाई समान रुपको व्यवहार र सेवा प्रवाह गर्ने बताउदै जनप्रतिनिधिको असली परिचय आफुले दिन सधै तत्पर रहने प्रतिवद्धता जनाए । वडाबाटै भत्ता नेपाल सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता अन्तर्गतका जेष्ठ नागरिक भत्ता, एकल महिला भत्ता तथा अपांग तथा फरक क्षमता भएका नागरिकलाई प्रदान गर्दै आएको भत्तालाई वडाबाटै वितरण गर्ने जानकारी दिए । ‘वैंकसँग समन्वय गरेर सामाजिक सुरक्षा अन्र्तगतका सबै भत्ताहरु वडाबाटै प्रदान गर्ने व्यवस्थाका लागि पहल गर्नेछु, उनले भने, ‘गाउँघरमा भत्ताकै लागि दुख पाएको विगत छ । यसलाई अब सहजै पाउने वातावरण तय गर्नेछु ।’ गुरुङले अन्नपूर्ण गाउँपालिकाले स्थानीयहरुको स्वास्थ्य विमामा ५० प्रतिशत व्यहोर्ने निर्णयलाई वडामा पनि शत प्रतिशत लागु गर्ने बताए । उनले युवा, महिला तथा बालबालिका र अपांग तथा फरक क्षमता रहेका वडाबासीको क्षमता अभिवृद्धिको लागि कार्यक्रमहरु ल्याउने बताउदै भने, ‘हामीले क्षमता अभिवृद्धिसँगै पर्यटन प्रवद्र्धनको लागि विभिन्न कार्यक्रमहरु अघि ल्याउनेछौं । अहिले सञ्चालनमा रहेका होमस्टेलाई पनि प्रवर्द्धन गरि थप पर्यटक भित्राउनका लागि पहल गर्नेछौं ।’
काठमाण्डौँ: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनप्रतिनिधिमूलक संस्थालाई आरोप प्रत्यारोपको थलो नबनाउन आग्रह गर्नुभएको छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै नेपालले जनताको आवाज मुखरित गर्ने स्थानलाई मर्यादित बनाउन आग्रह गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले नेकपाका संस्थापक महासचिव पुष्पलालले अगाडि सार्नुभएको वामपन्थी र लोकतान्त्रिक शक्तिबीचको सहकार्यका आधारमा मात्रै नेपालमा ठूलाठूला परिवर्तन भएको तथ्य पेश गर्दै अध्यक्ष नेपालले राष्ट्रिय आवश्यकतालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो । राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उहाँले सरकारले अगाडि सारेको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, जलविद्युत् उद्योगलगायतका विषयलाई प्राथमिकतामा राखिएमा प्रसन्नता व्यक्त गर्नुभयो । अध्यक्ष नेपालले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकरण गर्ने विषयमा नीति तथा कार्यक्रमले जोड दिएकाले अब त्यसलाई कार्यान्वयनमा लैजानेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । पानीजहाज, भ्यूटावरलगायतका कार्यक्रम आवश्यक नभएको भन्दै उहाँले नेपाली युवालाई सीपयुक्त बनाउन दूरदृष्टि राख्नुपर्ने स्पष्ट पार्नुभयो । नेपालमा कति वटा राजमार्ग आवश्यकपर्ने विषयमा पनि वस्तुवादी दृष्टिकोणका आधारमा निर्णय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालले स्वतन्त्र उम्मेदवारको जीतलाईसमेत जनभावनाका रुपमा स्पष्ट पार्नुभयो । राजनीतिप्रति बढ्दै गएको वितृष्णालाई पनि हेर्नुपर्ने तथा भ्रष्टाचार समाप्त गर्नेतर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो । समग्र नेपालको विकासको प्रक्रियालाई आत्मसात् गर्नुपर्ने, विकास प्रगति र न्यायोचित वितरणको कामलाई अगाडि बढाउनुपर्ने नेता नेपालको धारणा छ । नेपालले मनलाग्दी तवरले विमानस्थल निर्माण गरिएकामा समेत आपत्ति प्रकट गर्नुभयो । उहाँले लामो अध्ययनपछि अगाडि बढाइएको निजगढ विमानस्थल अगाडि बढाइएको भए पनि त्यसलाई रोकिएको भन्ने विषय आएकामा दुःख व्यक्त गर्नुभयो । “सो विमानस्थलको विकल्प के रिजनल हबका रुपमा अगाडि बढाउन खोजिएको हो, विमानस्थल निर्माण रोकिनुका कारण के हो ” पूर्वप्रधानमन्त्री नेपालले प्रश्न गर्नुभयो । भ्रष्टाचारको जालो तोड्नका लागि सरकारी निकायको तत्परताको जरुरी रहेको उल्लेख गर्दै उहाँले निर्वाचनका नाममा भोजभतेर गर्ने, कसलेभन्दा कसले बढी खर्च गर्ने प्रतिस्पर्धा चलेको बताउनुभयो । अध्यक्ष नेपालले हाम्रै जीवनकालका देश समृद्ध बन्ने, विकास र समृद्धिको चाहनाले साकार रुप पाउने विश्वास व्यक्त गर्नुभयो । सांसद प्रमोद साहले पछिल्ला चार वर्षमा सरकारी पक्षले नीति तथा कार्यक्रमको समर्थन गर्ने र विपक्षीले विरोध गर्ने परिपाटी रहेमा यस वर्षको कार्यक्रमले कृषि, उद्योग, खानेपानी, विद्युत् उत्पादन प्रसारण लगायतका विषयलाई समावेश गरिएकामा प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले नीति तथा कार्यक्रम राम्रो भए पनि कार्यान्वयनमा चुनौती रहने गरेकाले त्यसलाई मजबुत बनाएर लागिपर्न आग्रह गर्नुभयो । मानव सूचकाङ्कका आधारमा नीति तथा कार्यक्रम ल्याएकामा खुसी व्यक्त गर्दै उहाँले जनसङ्ख्याका आधारमा पनि मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान सरकारलाई आरोप लगाउनुअघि आफ्नै पालामा भएका भ्रष्टाचारका विषयमा पनि स्मरण गर्न नेकपा एमालेलाई आग्रह गर्नुभयो ।
भारत: काङ्ग्रेसले शुक्रबार भारतका शिल्पकार प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूलाई उहाँको ५८ औँ वार्षिक पुण्यतिथिमा श्रद्धाञ्जलि अर्पण गरेर सम्झेको छ । नेता नेहरूका पनाति राहुल गान्धीको उपस्थितिमा भएको स्मृतिसभामा उहाँका दर्शन, विचार र राजनीति राष्ट्रका लागि आज पनि उत्तिकै सान्दर्भिक रहेका अभिमत वक्ताहरूले प्रकट गरेका छन् । प्रथम प्रधानमन्त्रीले नेहरू अगस्ट १९४७ र मे १९६४ को बीचमा कार्यभार सम्हाल्नु भएको थियो । आज कै दिन अर्थात् मे २७ १९६४ मा उहाँको निधन भएको थियो । काङ्ग्रेस अध्यक्ष सोनिया गान्धीले यहाँस्थित शान्ति वनमा नेहरूप्रति पुष्पार्पणसहित श्रद्धाञ्जलि दिनुभयो । काङ्ग्रेसले पण्डित नेहरूलाई साहसी स्वतन्त्रता सेनानी, आधुनिक भारतका शिल्पकार, एक राजनेता, दूरदर्शी, देशभक्त एवं भारतमाताको सच्चा पुत्रका रूपमा प्रशंसा गरेको छ । पार्टीले आफ्ना प्रथम प्रधानमन्त्रीलाई उहाँको पुण्यतिथिमा करोडौं अभिवादन र अर्बौं श्रद्धाञ्जली अर्पण गरेको छ । नेता नेहरूप्रति पार्टीका वरिष्ठ नेताहरूले पनि श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
निर्वाचन आयोग: निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि स्थापित संयुक्त निर्वाचन सञ्चालन केन्द्र जेइओसीका कार्य बन्द गरेको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट एकाध बाहेक सबै पालिकाको मत परिणाम प्राप्त भइसकेकाले सो केन्द्रका कार्यहरु बन्द गरिएको हो । निर्वाचन आचारसंहिता तथा अन्य गतिविधि सूक्ष्मरुपले अनुगमन तथा मूल्याङ्कन गर्न आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलको संयोजकत्वमा गठित केन्द्रमा गृह र रक्षा मन्त्रालयका साथै सुरक्षा निकायका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतको प्रतिनिधित्व थियो । आयोगको कान्तिपथस्थित कार्यालयमा खडा गरिएको केन्द्रको सचिवालयमा आज आयोजित समीक्षा बैठकमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन केन्द्रमा रहेका प्रतिनिधि र कर्मचारीले महत्वपूर्ण कार्य गरेकामा प्रशंसा गर्नुभयो । आयोगका सचिव गोकर्णमणि दुवाडीले केन्द्रले दिने प्रतिवेदन र सुझावका आधारमा आगामी निर्वाचनमा थप प्रभावकारीरुपमा काम गर्न सकिने बताउनुभयोे । गत वैशाख १० गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो केन्द्र शुभारम्भ गर्नुभएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र अन्य निकायले पेश गरेको समस्या समाधान गर्न आवश्यक व्यवस्था मिलाउने र निर्वाचन सुरक्षा तथा निर्वाचन हिंसाका घटना तथा परिघटना सङ्कलन एवं विश्लेषण, रोकथाम र समाधान गर्न उपयुक्त कदम चाल्न आयोगका साथै सम्बन्धित निकायमा सुझाव पेश गर्ने जिम्मेवारी उक्त केन्द्रले पाएको थियो । निर्वाचन व्यवस्थापनसम्बन्धी सूचना सङ्कलन, प्रशोधन र विश्लेषण अद्यावधिक गर्ने तथा दैनिक प्रतिवेदनसम्बन्धी काम केन्द्रले गरेको थियो । केन्द्रमा काजमा रहेका अधिकारी र कर्मचारीलाई यही जेठ १६ गतेदेखि लागू हुने गरी काज फिर्ता गरिएको आयोगले जनाएको छ । बुलेटिन बन्द आयोगले गत वैशाख १ गतेदेखि प्रकाशन गरेको स्थानीय तह निर्वाचन ई बुलेटिनको प्रकाशन आजैदेखि बन्द गर्नाका साथै यसै सातादेखि नियमित पत्रकार भेटघाटको कार्यक्रम पनि स्थगन गरेको छ ।
काठमाडौँ- काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोल विजय हुनुभएको छ । नवनिर्वाचित साहले प्रतिस्पर्थी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई २३ हजार ४२६ मतले पछि पार्दै ३२ वर्षीय साह संघीय राजधानी काठमाडौँको महानगर प्रमुख निर्वाचित हुनुभएको हो । साहले ६१ हजार ७६७ मत प्राप्त गर्दा सिंहले ३८ हजार ३४१ मत प्राप्त गर्नुभएको हो । एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरी तेस्रो स्थानमा सीमित हुनुभयो । कामपाको उपप्रमुखमा एमालेका उम्मेदवार डङ्गोलले निकटतम प्रतिस्पर्थी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठलाई ४४ हजार ८०६ को भारी मतान्तारले पछि पार्दै विजय हुनुभएको हो । नव निर्वाचित डङ्गोलले ६८ हजार ६१२ मत प्राप्त गर्दा श्रेष्ठले २३ हजार ८०६ मतमा सीमित हुनुभयो । कामपाको प्रमुख पदका लागि विभिन्न दल र स्वतन्त्र गरी ५६ र उपप्रमुखमा ३५ जानको उम्मेदवारी परेको थियो । कामपाका ३२ वडा र प्रमुख-उपप्रमुखसहित १६२ जनप्रतिनिधि रहनुपर्ने भए पनि वडा नं २४ र २५ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेको हुनाले १६० प्रतिनिधि रहनेछन् । कामपाका ३२ वडामध्ये १९ मा कांग्रेसका उम्मेदवार वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ भने १२ वडामा एमालेको उम्मेदवार अध्यक्षमा विजयी हुनुभएको छ । वडा नं १५ मा एकीकृत समाजवादीका प्यानलसहित ईश्वरमान डङ्गोल विजय हात पार्नुभएको छ । उहाँ कामपाको पूर्व नगर प्रवक्तासमेत हुनुहुन्थ्यो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको गणना ३१ गते शनिबारबाट सुरु गरी १३ दिनपछि जिल्ला निर्वाचन कार्यालय काठमाडौँले प्रमुख–उपप्रमुखसहितको अन्तिम मत परिणाम सार्वजनिक गरेको हो । उक्त निर्वाचनका लागि कामपामा मात्रै १५६ स्थल र ३६३ केन्द्र तोकिएको थियो । यहाँ तीन लाख २४२ मतदाता रहेको भने पनि करिब एक लाख ९० हजार ९६२ ले मात्र मतदान गरेको जिल्ला निर्वाचन कार्यालयको भनाइ छ । यसमा सात हजार ६८२ मत पूर्ण बदर भएको बताइएको छ । ‘स्ट्रक्चरल इञ्जीनियर’ नगरपिता नव निर्वाचित कामपा प्रमुख साहले ह्वाइटहाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इञ्जीनियरिङमामा स्नातक र भारतको कर्नाटकबाट स्ट्रक्चरल इञ्जीनियरिङमा स्नातकोत्तर अध्ययन पूरा गर्नुभएको छ । पछिल्लो समय उहाँ ‘र्यापर’का रूपमा पनि परिचित हुनुहुन्छ । हाल उहाँ काठमाडौँको वडा नं ९ गौरीगाउँमा बसोबास गर्दै आउनुभएको छ । कामपा प्रमुख साहले पूर्वाधार, बाटो, विद्यालय, अस्पताल व्यवस्थापनदेखि शिक्षा सुधार र फोहर व्यवस्थापनबाटै नगरका कामको थालनी गर्ने जानकारी दिनुभयो । साथै भौतिक पूर्वाधार निर्माणको योजनासँगै काठमाडौँको सडकका खाल्डाखुल्डी पनि तत्काल पुर्ने कम सुरुआती चरणमा गर्ने उहाँको भनाइ छ । यसअघि जडान भएको सिसीटिभीलाई मर्मतसम्भार गर्दै सहरी सुरक्षाको लागि तत्काल १० हजार सिसीटिभी जडान गर्ने पनि उहाँको तत्काल सुरुआती काम पर्ने छ । उहाँले सरसफाइ, खानेपानी, यातायात साधनलाई वैज्ञानिकरूपमा सञ्चालन गर्ने, फोहरको दीर्घ समाधान, अव्यवस्थितरूपमा सहरलाई कुरुप पार्ने गरी यत्रतत्र छरिएको तारको व्यवस्थापन, सार्वजनिक शौचालयमा नागरिकलाई सहजताजस्ता सामान्य तर आवश्यक गर्नका लागि सम्बन्ध भएका निकायसँग समन्वय गरी काम गर्ने भनाइ छ । ‘लिपि क्विन’ उपप्रमुख नव निर्वाचित उमप्रमुख डङ्गोल सांस्कृतिक तथा सामाजिक अभियन्ताका रूपमा परिचित हुनुहुन्छ । करिब एक दशकअघि मिस नेवाःको ताज पहिरन सफल उहाँ अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने रञ्जना लिपिलाई नवीन सोचका साथ विश्वभरका नेपालीलाई सिकाउँदै आएकी एक लिपिगुरु पनि हुनुहुन्छ । उहाँ ‘लिपि क्विन’को उपनामले समेत परिचित हुनुहुन्छ । उहाँले विश्वभरका नेपाली तथा विदेशीलाई भर्चुअल प्रविधिबाट लिपि र नेपाल भाषा सिकाउँदै भाषा र लिपिको संवद्र्धन र प्रवद्र्धन गर्दै आउनुभएको छ । यसअघि उहाँले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । नेपाल टेलिभिजनमा शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्दै उहाँले पछिल्लो समय कामपाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यको विज्ञका रूपमा समेत काम गर्नुभएको थियो । उहाँले सडक आश्रित मानवमुक्त महाअभियानमा समेत नेतृत्वदायी भूमिका निभाउनुभएको थियो । जापान, कोरिया, जर्मनीलगायत करिब एक दर्जन मुलुकहरूको भ्रमण गरी नेपालको संस्कृतिलाई विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा प्रचार गर्दै आउनुभएकी डङ्गोल काठमाडौँ महानगरका आदिवासी हुनुहुन्छ । तीस वर्षीया डङ्गोलले आफूलाई भूगोल र भर्चुअल दुवैतर्फ उत्तिकै जानकार रहेको जनाउँदै युवाको जित र नागरिकको सहकार्यले मतदाताको मन जित्न सफल हुनेमा ढुक्क हुनुहुन्छ । उहाँले काठमाडौँको माटो र पानीलाई राम्रोसँग चिनेकाले विकासको काममा कमी नहुने र कला संस्कृतिको संरक्षण गरी पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने बताउनुभयो । नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँको १८ नगरपालिकासँग साझेदारी गरेर काठमाडौँ उपत्यका बाहिरका स्थानीय तहलाई पनि सिकाइ हुने गरी काम गर्ने उहाँको भनाइ छ ।