भरतपुर: शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणना अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा गरिने भएको छ । मतगणनाको तयारीको काम भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलका अनुसार केन्द्रको ‘सी’ ब्लकमा मतगणना गर्ने तयारी गरिएको हो । सो ब्लकमा सिसिटिभि जडानको काम सकिएको छ भने तार जाली लगाउने काम भईरहेको जनाइएको छ । सात समुहमा मतगणना गर्न सकिने गरी तयारी थालिएको पौडेलले जानकारी दिनुभयो । “आयोगले ५ गते सम्म गणनाको काम सक्न निर्देशन दिएको छ, सोही अनुसार तयारी गरेका छौ”, उहाँले भन्नुभयो । तर, महानगरमा खस्ने मतको अनुपातमा आयोगले तोकेको मितिभन्दा दुई दिन ढिला हुनसक्ने कार्यालयले अनुमान गरेको छ । वि सं २०७४ को मत गणनाको क्रममा मत पत्र च्यातिएपछि अहिलेको गणनामा त्यस्तो नहोस भनेर सबै खालको तयारी गरिएको पौडेलले बताउनुभयो । भरतपुर महानगरमा २९ वडा छन् । जहाँ १ लाख ८५ हजार ७ सय ५२ मतदाता छन् । महानगरमा लागि ६५ मतदान स्थाल २०२ मतदान केन्द्र रहेको छ । विगतको स्थानीय तहको निर्वाचनमा मतगणनाको क्रम भएको घटना दोहोरीन नदिन तीन तहको सुरक्षाकर्मी परिचालनका साथै पर्याप्त कर्मचारी खटाईने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले बताउनुभयो ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिकाका एकीकृत समाजवादीका अध्यक्ष रामप्रसाद अधिकारी मूलघर नेकपा एमालेमा नै फर्किएका छन् । आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरेर गाउँपालिकामा आयाजित चुनावी भेलामा अधिकारी आफ्नै मूलघर नेकपा एमालेमा नै फर्किएका हुन् । कार्यक्रममा बोल्दै उनले केहीले आफ्नो खुट्टा तान्ने प्रयास गरिरहेको र निषेधको राजनीति नगर्न आग्रह गरेका छन् । ‘मेरो खुट्टा तानिरहँदा, मेरो घाँटी निचोरिरहँदा तपाईं खेल मैदानबाट बाहिरिनु भएको छ ।’ उनले भने, ‘त्यसैले म के भन्न चाहन्छु भने कोही कसैले निषेधको राजनीति नगरौं, विचार र विवेकको राजनीति गरौं ।’ अबबाट आफूले एमालेमा रहेर नै राजनीति गर्ने अधिकारीले प्रतिवद्धता व्यक्त गरेका छन् । त्यस्तै नेकपा एमाले केन्द्रीय पोलिटब्युरो सदस्य सीता गिरीले गाउँपालिकामा नेकपा एमालेले धेरै विकासका काम गरेको र आगामी दिनमा उक्त कार्यलाई निरन्तरता प्रदान गर्न फेरी पनि एमालेले जिताउन सूर्य चिन्हमा भोट हाल्न आग्रह गरिन् । ‘नेकपा एमाले भनेको विकासको सोच बोकेको पार्टी हो, परिर्वतनको एजेण्डा बोकेको पार्टी हो । यो कुरा हामीले चुनावमा भोट माग्न मात्रै भनेका होइनौं ।’ उनले भनिन्, ‘समृद्धिको यात्रामा, विकासको अभियानमा, सुखी माछापुच्छ्रेवासी हुनको निम्ति सूर्य चिन्हमा मतदान गरिदिनुहुन अनुरोध गर्छु ।’ भेलामा गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्षका प्रत्यासी विक्रम गुरुङले आफूहरु माछापुच्छ्रेको मुहार परिर्वतनका लागि उमेद्वार बनेको बताएका छन् । नेकपा एमालेले देशभरीका स्थानीय तहमा विकासको बाढी ल्याउन उमेद्वार खटाएको उनले बताए । भुगोल तथा क्षेत्रलाई मध्यनजर गर्दै आफूले प्रतिवद्धतापत्र ल्याएको प्रत्यासी गुरुङको भनाई थियो । पार्टीले जितेको खण्डमा गाउँपालिकाको आर्थिक वृद्धिदरसंग जोडिने गुरुङको भनाई छ । गाउँपालिकामा रहेका प्राकृतिक सुन्दरतालाई प्रयोगमा ल्याएर गाउँपालिकाको आर्थिक अवस्थामा सुधार ल्याउने उनले बताए । ५ वर्षको अवधीमा आफूहरुले विभिन्न कानुन बनाएको र अब कानुन लागू गर्ने गुरुङले बताएका छन् । त्यस्तै गाउँपालिकामा एमालेको तर्फबाट उपाध्यक्षकी उमेद्वार सीता तिवारी अधिकारीले गाउँपालिकामा हुने विभिन्न विकास निर्माणका कामहरुमा अवरोध आउने समस्या भइरहेको बताएकी छिन् । विकासका योजना सम्पन्न गर्दा आएका त्यस्ता अवरोधलाई हटाउने आफूले पहल गर्ने उनले प्रतिवद्धता व्यक्त गरिन् । जेष्ठ नागरिकका लागि समेत आफूसंग योजना भएको उपाध्यक्षका प्रत्यासी तिवारीको भनाई छ । ‘गाउँपालिकामा कुनै पनि जेष्ठ नागरिकले भोकको सामना गर्नुपरेको छैन । एमालेको सरकारले ती सबै कुरा पु¥याइरहेको छ ।’ उनले भनिन्, ‘अहिले उहाँहरुलाई मानसिक शान्ति आवश्यक छ, त्यसका लागि उहाँहरुलाई खाजासहितको विश्रामगृह निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्छु ।’ गाउँपालिकाका महिलालाई आयसंग जोड्ने उनले प्रतिवद्धता व्यक्त गरिन् । ‘महिलालाई आय अन्य क्षेत्रमा विकासका काममा ल्याउन कार्यक्रम ल्याउने छु ।’ उनले भनिन् । कार्यक्रममा तिवारीले गाउँपालिकालाई डिजिटलाइजेसन गर्ने घोषणा गरेकी छिन् ।
दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयका लागि आजको समय तोकिएको छ । एमालेका लागि मात्रै आज बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताउनुभयो । बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । वडा नं १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइने छ । त्यसपछि मौन अवधि सुरु हुनेछ । त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ । कलेजो, मिर्गौला रोगका कारण चौधरीको मृत्यु भएको हो । वडा नं १७ को निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुने भएको छ ।-
पोखरा: दलीय भागवण्डा विरुद्धमा सुरु भएको अटेरी अभियानबारे धेरै केही त भन्नै पर्दैन । राजनीतिक दलको टाउको दुखाई बनि रहेको अटेरी अभियानले आफ्नो चुनावी खर्च समेत सार्वजनिक गरि सकेको छ । अटेरी अभियानका परिकल्पनाकार तथा पोखरा महानगर प्रमुख पदका उम्मेदवार गनेस पौडेलले चुनाव जितेपछि पोखराप्रति अपनत्व जगाउने बताएका छन् । पोखरा महानगरमा समावेश भए पनि अझैं पोखरा महानगरबासिले पोखराबासि भएको महसुस नै नगरेको उनले बताए । ‘अस्ति चुनावी कार्यक्रममा माँझठान जाँदा एक जना महिलाले केटाकेटी पोखरा गएका छन् । भरे, आउँछन् भनेर भन्नु भयो, जबकी उहाँ आफैं पोखराबासि हो,’ उनले भने, ‘पोखराबासी हुँ भन्ने महसुस नै भएको छैन । जबसम्म पोखरा बासि हुनुको महसुस हुन्न, पोखरा नामप्रति अपनत्व महसुस गर्न सक्दैन, तबसम्म विकासको थोत्रा गफ गरेर कुनै फाइदा छैन ।’ ग्रामीण क्षेत्रसम्म पहिचानको समान वितरण हुनुपर्ने उनले बताए । ‘त्यो भनेको के भन्दा सेवा सुविधाको अवधारणा । त्यसको लागि एक गाउँ एक पर्यटकीय गन्तव्य हुनुपर्छ । ति सबै प्रकृति र पर्यावरणसँग सम्बन्धित रहेका छन्,’ उनले भने । चुनाव जितेपछि उनले पोखरालाई सिर्जनात्मक सहर बनाउने उनले बताएका छन् । कल्चर हाउस र सिर्जनाग्रामको पनि पहिचान गरेर पोखरामा मुभमेन्टहरु बढाउने उनले बताए । सामुदायिक शिक्षाको दुरावस्थाले देश विकास हुन नसकेको बताउँदै उनले सबैभन्दा पहिला सामुदायिक शिक्षा सुधार गर्नपट्टी आफूहरु लाग्ने उनले बताए । अहिले स्वास्थ्यमा देखिएको विकराल समस्याका कारण घरपरिवार दुई तिर बाँडीनु परेको उनले बताए । कम्तिमा महानगरले अपनत्व लिएर उपचार गर्नुपर्ने उनले बताएका छन् ।
पोखरा: स्थानीय तहको निर्वाचनको प्रचार प्रसारको मौन अवधी सुरु हुन केही घण्टा मात्रै बाँकी रहदा पोखरामा एमाले प्रवेशको क्रम जारी छ । यसैबीच सो महानगरको वडा न ३३ मा एमाले प्रवेश गर्ने क्रम रोकिएको छैन । सो वडाका नेपाली काँग्रेसका पुराना कार्यकर्ता श्रीकृष्ण नेपालीसहित ४ दर्जन युवा एमाले प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेहरु आपुकसेरी तल्लो पुडि, छप्ल्याङ लगाएतका स्थानका युवा रहेको साविक भरत पोखरी गाविसका अध्यक्ष तथा एमाले पोखरा महानगर कमिटी सदस्य गोपाल पुनले बताए । उनीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य भिम कार्की, केन्द्रीय सदस्य विद्या भट्टराई, प्रदेश उपसचिव रश्मि आचार्य लगायले उक्त वडाको चुनावी आमसभामा स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै सो पार्टीका स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीले ऐतिहासिक बिरासत बोकेको सो वडाबाट एमालेको विजय सुनिस्चित भैसकेको जिकिर गरे । उनले रुप फेरेर जनतासंग आउनेदेखि भरतपोखरीवासी सतर्क भइसकेको विशाल जन सहभागिताले पुष्टि गरेको बताएका छन् । एमाले केन्द्रीय सदस्य भिम कार्कीले जनताबाट स्वीकृत हुन कामै गर्नुपर्ने भन्दै एमालेका विकासका अभियन्तालाइ जिताउन आग्रह गरे । अर्का केन्द्रीय सदस्य विद्या भट्टराईले एमालेले गरेको विकास सबैका लागि भएकाले विकास गर्ने पार्टीदेखि कोही पार्टी नआत्तिन आग्रह गर्दै विकासका काम नै एमालेको परिचय भएको उल्लेख गरिन् । मेयर पदका उमेद्वार कृष्ण थापाले सो वडालाई पूर्ण भौतिक पूर्वाधार सहितको समृद्ध वडा बनाउने प्रतिवद्धता व्यक्त गरे । उप मेयर पदका उमेद्वार मन्जुदेवी गुरुङले सो वडामा अघिल्लो कार्यकालमा सुरु भएका विकासका योजनाको चर्चा गर्दै अब केही नया योजना सहित लागि पर्ने उल्लेख गरिन् । एमाले प्रदेश उपसचिव रश्मि आचार्यले भरत पोखरीको एमालेको विरासत झन्झन् उँचो हुने भन्दै सम्पूर्ण स्थानीयको रहर लाग्दो साथ नै यसमा काफी भएको उल्लेख गरे । चुनावी सभामा सो वडाका पूर्वसचिव बसन्तराज आचार्य, पूर्व गाविस अध्यक्ष गोपाल पुन, युवा नेताद्वय श्रीधर पौडेल, ऋषिराज आचार्य, खुल्ला सदस्य पदका उमेद्वार, बिनोद भण्डारी, अध्यक्ष पदका शिवप्रसाद आचार्य, एमाले ३३ का उपसचिव रमेशराज आचार्य, प्रेस चौतारी नेपाल लेखा आयोग उपाध्यक्ष रामजीप्रसाद लम्साल लगाएतले बोलेका थिए । सो वडा कमिटी अध्यक्ष दीपक लामिछनेको अध्यक्षतामा सम्पन्न चुनावी सभामा सयौंको संख्यामा जनसहभागिता थियो ।
हेमजा: नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं २५ को चुनावी घरदैलो अभियान सम्पन्न भएको छ । स्थानिय तह निर्वाचनका लागि यही वैशाख १८ गतेदेखि सुरु भएको वडा नं २५ को चुनावी घरदैलो अभियान मंगलवार सम्पन्न भएको नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं २५ का सचिव तथा घरदैलो अभियानका संयोजक झङ्कनाथ तिम्सिनाले हामीलाई जानकारी दिए । उम्मेदवारहरु मतदाताहरुको घरघरमा पुगेर यसपटक गठबन्धन सहितका उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गरेका थिए । घरदैलो अभियान वडा २५ का मतादाताहरुले वडामा भएका समस्याको गुनासो गरेकोमा वडा अध्यक्ष पदका उम्मेदवार मोती तिमिल्सिनाले आफुले जिते महानगर सगंको पहलमा समस्या सामाधान गर्ने प्रतिबद्धता गरे । त्यस्तै आर्थिक, सामाजिक, शिक्षा, स्वस्थ्य, पुर्वाधार विकासलगायत क्षेत्रमा उत्कृष्ट काम गर्दै वडालाई नमुना वडा बनाउने प्रतिबद्धता जाहेर गरेका थिए । गठबन्धलाई गलत ढंगले नबुझि बुद्धिमता र ईमान्दारिताका साथ आफ्नो मत दिएर पुरै टिमलाई नै जिताउन पनि अध्यक्ष पदका उम्मेदवार तिमिल्सिनाले अनुरोध गरेका थिए । यसपालीको आसन्न स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिका २५ मा वडा अध्यक्षमा तिमिल्सिनासहित गठबन्धनको टिम चुनावी मैदानमा रहेको छ । जस अन्तर्गत खुल्लामा सुरेश बहादुर साप्कोटा (नेकपा माओवादी केन्द्र), ई . दिपेन्द्र बाँस्तोला (नेकपा एस ) त्यस्तै महिला सदस्य आरति अधिकारी (नेकपा माओवादी केन्द्र)र दलित महिला सदस्य सीता नेपाली ( नेकपा माओवादी केन्द्र) रहेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले वैशाख ३० गते सूर्यमा मतदान गरेपछि काम सकियो भनेर सुत्न जाने हैन भन्दै मतपेटिकाको अवस्था ख्याल गर्न मतदाता र कार्यकर्तालाई निर्देशन दिएका छन् । पोखरामा आयोजित वृहद चुनावी आमसभामा बोल्दै अध्यक्ष ओलीले भनेका छन् ‘सतर्क हुनुहोला, धाँधली हुनेमा चनाखो हुनुहोला ।’ गठबन्धनले मत पाएर हैन मतपेटिकामा चलखेल गरेर जीत्ने इतिहास बनाएका छन् भन्दै चनाखो हुन आग्रह गरेका हुन् । ‘भोट हालेर घर जाने हैन, काम सकिएको हुँदैन’ ओलीले भने ‘सुत्ने हैन, आँखा झिमिक्क नगरी मतपेटिकाको आसपास बस्नुहोस् नत्र मन्दिरमा प्रसाद चोर्ने बाँदरजस्तै यता पनि ५ वटा हुल आउनसक्छ ।’ सम्बोधनकै दौरान ओलीले यो सरकार जनताको आदेशले नभई परमादेशले बनेको भन्दै वैशाख ३० गतेपछि पुनः जनताको आदेशमा एमालेले सरकार बनाउने दाबी गरे । ‘अब जनताको बल देखाउने बेला आएको छ, वैशाख ३० पछि एमालेको नाममा तपाइहरु (जनता)को सरकार हुनेछ । सोहीक्रममा कांग्रेसको आलोचना गर्दैै ओलीले युवाहरुलाई मलेसिया हैन देशमै रोजगार दिने, व्यवसायी बनाउने भन्दै देशमा अवसरको सृजना गरिदिने नीति रहेको बताए ।
नेकपा एमालेबाट पोखरा महानगरका मेयर प्रत्यासी कृष्ण थापाले सूर्यरुपि महासागरले गठबन्धनलाई ढलाउने बताएका छन् । पोखरामा आयोजित वृहद चुनावी आमसभामा बोल्दै प्रत्यासी थापाले सूर्यको ज्वालाले सुकेकोमात्र हैन काँचो वस्तुलाई समेत जलाउने भन्दै गठबन्धनलाई यस निर्वाचनले ढलाउने उल्लेख गरेका हुन् । महानगरवासीलाई स्वास्थ्यमा पहुँच पु¥याउने योजना रहेको बताउँदै थापाले पोखरामा पर्यटन र कृषिको विकासमा दीर्घकालीन नीति ल्याउने दाबी गरे । ‘एमालेले मौका पाउँदा हाम्रा कमरेडहरुले धेरै काम गर्नुभएको छ’ थापाले भने ‘अब वडावडामा डिजिटल सेवा दिने हाम्रो लक्ष्य र योजना छ ।’ सम्बोधनकाक्रममा थापाले हिजैदेखि नै एमालेले आधुनिक पोखराको जग बसालेको उल्लेख गर्दै हाल थपिएका वडालाई उन्नत शैलीमा विकास गर्न मतदानको अपील गरे ।
पाेखराः पोखरा महानगरमा गठबन्धनबाट महानगरका मेयर धनराज आचार्यले गरिबीको रेखामुनी रहेकाहरुको परिचयपत्र बनाएर अवसर सिर्जना गर्ने बताएका छन् । सोमबार पोखरा १७ को चुनावी सभालाई सम्बोधन गर्दै उनले पोखरा महानगरभर अझै पनि ९ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेकोले उनीहरुलाई अवसरका बाटो खोजिदिने बताएका हुन् । उनले आफूहरुले जितेमा २ वर्षभित्र आधारभुत आवश्यकता पुरा गर्नका लागि रोजगारको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । मेयरको कुर्चीमा बसेको ४५ दिनभित्र गरिबीको परिचयपत्र वितरण गरेर रोजगारीको व्यवस्था गरेर शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानीको महसुलमा केही प्रतिशत छुट दिएर अघि बढ्ने उनको भनाई थियो । रोजगारीको अवसर भएरपनि आफूलाई पुग्नेगरी कमाउने अवस्था नभएपछि युवाहरु विदेशीन बाध्य भएकाले उनीहरुलाई स्वदेशमै ल्याउने योजना अघि सारिने उनले बताए । पोखरा १७ मा रहेको अन्तर्राष्ट्रिय संग्राहलयको प्रबद्र्धनमा जोड दिने उनले योजना सुनाए । महानगरका अधिकांश महानगरमा गठबन्धन भएपनि कतिपय वडामा मित्रवत प्रतिस्पष्र्धामा गएको बताउँदै मेयर र उपमेयर साझा रहेकाले गठबन्धनलाई जिताउन उनको आग्रह थियो । गठबन्धन राष्ट्रिय आवस्यकता रहेको प्रस्ट्याए । गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले गठबन्धनलाई नजिताए पोखरा पोखरा महानगरको विकास ५ वर्ष पछि पर्ने बताईन् । चुनावीसभामा बोल्दै गठबन्धनलाई नजिताए पाँच वर्ष एमालेले फेरी रजाई गर्ने र विकास नहुने जनाईन् । त्यसकारण पनि गठबन्धनलाई इमान्दार भएर जिताउन उनको अनुरोध थियो । चुनाव आउन ३ दिनमात्र रहेकाले २ दिन खटिनका लागि आग्रह गरिन् । ‘अबको ३ दिन तपाईँहरु खटिनुहोस हामी पाँच वर्ष खटिने छौ । अहिले महानगरको सबैभन्दा खतरा भनेको भ्रष्टचार हो । पोखरा महानगरपालिकालाई अब भ्रष्टचार मुक्त महानगर बनाउने छौँ’, उनले भनिन् । आफूहरुले जितेको खण्डमा पाँच वर्षसम्म महानगरको साझा जनप्रतिनिध भएर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।