काठमाण्डौँ : अर्थमन्त्री जनार्दन शर्मा र पूर्वका उद्योगी, व्यवसायीबीच आगामी आर्थिक आर्थिक वर्षको बजेटले पारेको प्रभावका बारेमा छलफल भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज भएको भेटमा उद्योग सङ्गठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रदेश नम्बर १ का प्रतिनिधिले आर्थिक वर्ष २०७९/८० को बजेटले वायर, घिउतेल र स्यानीटरी उद्योगमा पारेको प्रभावका बारेमा अर्थमन्त्री शर्मा समक्ष गुनासो राख्नुभएको थियो । त्यसक्रममा अर्थमन्त्री शर्माले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर मुलुक भित्रै औद्योगिकीकरण बिस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजिएको बताउनुभयो । “बजेटमार्फत हाम्रो उदेश्य व्यवसायीलाई कतै पनि अप्ठ्यारो पार्न खोजिएको होइन”, उहाँले भन्नुभयो, “हाम्रो नीति त्यस्तो पनि छैन । सबैसँग छलफल गरेर बजेट ल्याएकाले सबै पक्षलाई समेट्ने प्रयास भएको छ ।” महिलालाई राहत हुने गरी स्यानिटरी प्याड आयातमा ठूलो भन्सार छुट उपलब्ध गराएको र यस्तो छुटले स्वदेशी उद्योगलाई केही समस्या भएको भए समाधान निकाल्न तयार रहेको अर्थमन्त्रीले जानकारी गराउनुभयो । कच्चा तेल आयात गरी स्वदेशमा उद्योग चलाउने र रोजगारी सृजना गर्नेलाई बजेटले सम्बोधन गरेको उहाँले बताउनुभयो । बजेटमार्फत स्वदेशी उद्योगलाई संरक्षण गरेर लैजाने नीति लिएको उहाँले प्रष्ट पार्नुभयो । “ बजेट तपाईहरु (व्यवसायी) का लागि हो । देशका लागि हो”, अर्थमन्त्री शर्माले भन्नुभयो, “हामीले स्वदेशी उद्योगलाई राम्रो गर्ने भनेर बजेटमा विभिन्न व्यवस्था गरेका हौँ ।” छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष नबिन रिजालले वायर, घिउतेल तथा स्यानीटरी उद्योगमा बजेटले पारेको प्रभावका बिषयमा छोटो प्रस्तुति दिनुभएको थियो । उहाँले सरकारी नीति आउँदा आत्मसाथ गर्ने वातावरण बनाइदिन आग्रह गर्नुभएको थियो । “हामी (व्यवसायी) लाई पनि नीतिले साथ दिनुस् । हामीले पनि बजेट आउँदा मुक्तकण्ठले प्रशंसा गर्ने स्थिति आओस्”, उहाँले भन्नुभयो । सो अवसरमा आगामी आवको बजेटको सकारात्मक पक्षका बारेमा पनि छलफल भएको थियो । व्यवसायीसँगको छलफलपछि अर्थमन्त्रीले समस्या भएका केही क्षेत्र र विषयका बारेमा सम्बोधन गर्न तयार रहेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।
काठमाण्डौँ : प्रतिनिधिसभामा विनियोजन विधेयक–२०७९ अन्तर्गत आज तीन मन्त्रालयका विविध शीर्षकमाथिको छलफल भइरहेको छ । बैठकमा परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयका विभिन्न विषयमा छलफलमा सांसद शेरबहादुर तामाङले नेपालको समृद्धिको आधार नै ऊर्जा भएको बताउनुभयो । उहाँले कूल जनसङ्ख्यालाई दुई हजार ८०० मेगावाट विद्युत् भए पुग्ने र बाँकी विद्युत् उत्पादन गरेर बेच्न सकिने उल्लेख गर्दै भन्नुभयो, “अर्बौं पैसाको भारतबाट विद्युत् किनियो र लोडसेडिङ कसले हटायो भन्ने जस लिनेमा होडबाजी गर्यौं, हामी अहिले दुई खर्बको ग्यास पेट्रोल, डिजेल खर्च भएको छ, त्यो पनि रोकिन्छ ।” सांसद तामाङले ऊर्जाका विषयलाई लिएर छिमेकी राष्ट्रसँग खटपट हुने गरेको उल्लेख गर्दैै मित्रराष्ट्र भारत, चीन वा अन्य राष्ट्र विकासका लागि आउँछन् भन्ने पनि सबैले मिलेर वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले जनतालाई शतप्रतिशत विद्युत् निःशुल्क दिन सकिने र त्यसका लागि अध्ययन जरुरी भएको तथा विद्युत् विकासका लागि राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्नुपर्ने सुझाव दिनुभयो । सांसद देवेन्द्रराज कँडेलले नेपालीको गौरव र मुलुकलाई बलियो बनाउने ऊर्जा भएको र आपसी सहमतिमा भएको पानीको स्रोतको संरक्षण गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले ‘नेपालको पानी, जनताको लगानी’ भन्ने नारालाई कार्यान्वयन गर्नुपर्ने सुझावसमेत दिनुभयो । उहाँले राष्ट्रको समृद्धिका लागि जलस्रोतको उपयोग गर्न सक्नुपर्ने र विद्युत्बाट सवारी साधन, खाना पकाउने काम पनि गर्न सकिने तथा विद्युत्बाटै सबै प्रकारका काम गर्न सकिनुका साथै पेट्रोलियम पद्धार्थ र ग्यास पनि खरिद गर्न नपर्ने बताउनुभयो । सांसद यशोदा गुरुङले गृह मन्त्रालयले शान्ति–सुरक्षा र स्थिरता कायम गरी मुलुकमा नागरिकलाई सुरक्षा प्रदान गर्न, शान्ति र अमनचयन कामय गर्न जरुरी भएको बताउनुभयो । उहाँले नेपालका ऊर्जा बजार भारतमुखी बन्दै गएको र परराष्ट्र मन्त्रालयले आफ्ना मित्रराष्ट्रसँग राम्रो कूटनीति सम्बन्ध कायम गर्न सक्नुपर्ने सुझाव दिनुभयो । सांसद पार्वतीकुमारी विसुङ्खेले गृह मन्त्रालयले कारागार सुधार गर्ने योजना राम्रो भएको र महिलामैत्री सुधारका कार्यक्रमलाई पनि विशेष प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो । उहाँले सुरक्षाकर्मी पनि सुरक्षित रुपमा बस्न नपाएको हुँदा सुरक्षा पोष्टसमेत सुरक्षित बनाउनुपर्नेमा गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । सांसद लीलादेवी सिटौलाले नेपाल स्वतन्त्र, अखण्ड, सार्वभौम राष्ट्र भनिए तापनि सुरक्षाका विषयमा धेरै प्रश्न उठ्ने गरेको र अहिले पनि मुलुकमा विकृति र विसङ्गतिको अन्त्य हुन नसकेको हुँदा सरकारले ध्यान दिनुपर्नेमा सुझाव दिनुभयो ।
नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले त्रिभुवन विश्वविद्यालयमा उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले आज एक विज्ञप्ति जारी गरी त्रिविभित्रको भ्रष्टाचार, बेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको शृङ्खलाबद्ध प्रहारका बारेमा छानविन गर्न १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानविन समिति गठन गर्न माग गर्नुभएको हो । अध्यक्ष शेर्पाले त्रिविमा भएको भ्रष्टाचार, बेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको शृङ्खलाबद्ध प्रहारको विरोधमा नेविसङ्घले विगत पाँच महिनादेखि लगाएको तालासमेत खोल्ने बताउनुभएको छ । उहाँले त्रिविभित्र हुने जुनसुकै अराजक गतिविधिलाई नियन्त्रण गर्नुपर्छ भन्ने मान्यता नेविसङ्घले लिएको बताउँदै शैक्षिक वातावरण बिथोल्ने आफ्नो सङ्गठनको कुनै मनसाय नरहेको स्पष्ट पार्नुभयो । अध्यक्ष शेर्पाले त्रिविमा नेविसङ्घ समर्थित विद्यार्थीलाई अनेक लाञ्छना लगाउँदै नेविसङ्घको सामाजिक, राजनीतिक र शैक्षिक योगदानमा हिलो छ्याप्ने कार्य भएको भन्दै दुःखसमेत व्यक्त गर्नुभएको छ ।
काठमाण्डौँः प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई स्वीकृत गरेको छ । आज बसेको बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक–२०७९’ लाई सर्वसम्मतले स्वीकृत गर्दै दफाबार छलफलका लागि समितिमा पठाइएको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्माले प्रतिनिधिसभामा ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक–२०७९’ दफाबार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मत स्वीकृत गरी पारित गर्दै स्वीकृत गरिएको हो । अब ती दुई विधेयकमाथि सम्बन्धित समितिमा दफाबार छलफल हुनेछ ।
सुर्खेतः जिल्ला समन्वय समिति (जिसस) सुर्खेतको नेतृत्व चयनका लागि मतदान जारीे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानस्थल सुर्खेत सभाहलमा बिहान १० देखि सुरुभएको मतदान दिउँसो १ बजेसम्म निर्वाचन जारी रहने छ । जिससका लागि सुर्खेतमा कुनै पनि दलसँग स्पष्ट बहुमत छैन । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले तालमेल गरी उम्मेदवारी दिएका छन् भने नेपाली कांगे्रसले प्रमुख र केही सदस्य पदमा मात्र उम्मेदवारी दिएको छ । कांगे्रस जिल्ला सचिव देवकुमार सुवेदीले जिससका नौमध्ये पाँच पदमा मात्र उम्मेदवारी दिएको जानकारी दिनुभयो । कांगे्रसबाट प्रमुखमा दिलीपकुमार वाग्ले, सदस्यहरूमा उजिरसिंह कामी, रत्नादेवी ढुङ्गाना, लीलाजङ्ग शाह र गौरी दमाईको उम्मेदवारी छ । सत्ता गठबन्धनको केन्द्रीय निर्देशनानुसार साझेदार दल माओवादी केन्द्रका लागि बाँकी पद छाडेको र मतदानको बेलासम्म माओवादी केन्द्र सहमतिमा आउने सम्भावना रहेको सचिव सुवेदीको भनाइ छ । एमाले–माओवादी केन्द्रका तर्फबाट प्रमुखमा एमालेका गङ्गाराम सुनार, उपप्रमुखमा माओवादी केन्द्रका सचिनकुमार बडुवालको उम्मेदवारी छ । सदस्यहरूमा एमालेबाट डिल्लीप्रसाद पाण्डे, पृथ्वीबहादुर बुढाक्षेत्री, चन्द्राकुमारी धामी, मीना मल्ल, सावित्रा टमटा तथा माओवादी केन्द्रबाट शान्ति तारामी र तुलबहादुर नेपाली उम्मेदवार हुनुहुन्छ । जिससमा स्थानीय तहका प्रमुख–उपप्रमुखले मात्र मतदान गर्न पाउने व्यवस्था छ । सुर्खेतमा नौ स्थानीय तहका १८ मतदाता छन् । तीमध्ये एमालेका नौ, कांगे्रसका आठ र माओवादी केन्द्रका एक छन् ।
काठमाण्डौँः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अधिक स्थानमा विजयी गराउने जिकिर गर्नुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले एमाले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाएका कारण जनताले संसदीय निर्वाचनमा पहिलो पार्टी बनाउने धारणा राख्नुभयो । अध्यक्ष ओलीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने बताउनुभएको छ । उहाँले मुलुकमा एमाले मात्र वामपन्थी पार्टी रहेको जिकिर गर्दै अन्य पार्टीहरु वामपन्थी नभएको आरोप लगाउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले नेकपा एकीकृत (समाजवादी)का कार्यकर्तालाई एमालेमा आए समाहित गरिने बताउनुभयो । उहाँले आफुले अन्य पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने सम्बन्धमा कुनै आश्वासन नदिएको बताउनुभयो । उहाँले स्थानीय पालिकाको निर्वाचनले सबै निर्वाचनको स्थिति तय नगर्ने भन्दै सिट सङ्ख्याका हिसाबले केही कम आएर दोस्रो भए पनि लोकप्रिय मतका हिसाबले पार्टी पहिलो भएको जिकिर गर्नुभयो ।
काठमाण्डौँः जिल्ला समन्वय समितिको निर्वाचन यही जेठ ३१ गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार एक सूचना जारी गर्दै कार्यतालिका सार्वजनिक गरेको हो । जिल्लाका सात पालिकाको कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएपछि जिल्ला समन्वय समितिको निर्वाचनका लागि सार्वजनिक गरिएको कार्यतालिकाअनुसार जेठ २८ गते मतदाता नामावली प्रकाशन, मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्ने, संशोधित मतदाता नामावली प्रकाशन गर्ने, मतदाताको विरोधमा उजुरी दिने रहेको छ । यस्तै २९ गते मतदाताको विरोधमा दिएको उजुरीउपर जाँचबुझ गर्ने, अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने उल्लेख छ । जेठ ३० गते उम्मेदवारको सूची प्रकाशन, उम्मेदवारको विरोधमा उजुरी, मनोनयनपत्र जाँच र उजुरीउपर निर्णय, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने रहेको छ ।सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । जेठ ३१ गते बिहान १० बजेदेखि १२ बजेसम्म मतदानको कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त समितिको निर्वाचनको सबै काम मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार समितिको प्रमुख र उपप्रमुखसहित नौ पदका लागि निर्वाचन हुन लागेको हो । सात पालिकाबाट १४ प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् । तीमध्ये सात जना पाँचदलीय गठवन्धनका र सात जना एमालेबाट निर्वाचित भएका हुन् ।
काठमाण्डौँः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको विश्वास जितेर इमान्दारितापूर्वक काम गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । कांग्रेस काठमाडौँ क्षेत्र नं ९ ले आज आयोजना गरेको ‘नवनिर्वाचित जनप्रतिनिधीलाई बधाई तथा मतदातालाई धन्यवाद’ कार्यक्रममा उहाँले जनताले दिएको जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्न आग्रह गर्नुभएको हो । “जनताले तपाईँहरूलाई विश्वास गरेर मत दिएका छन्, जनताको अझ बढी विश्वास जितेर काम गर्नुस्, आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्नुहोस्”, नेता सिंहले भन्नुभयो । पार्टीका पूर्वमहामन्त्री सिंहले कांग्रेसले काठमाडौँ महानगरपालिकामा प्रमुख पद नजिते पनि अधिकाशं वडामा विजय हासिल गरेको उल्लेख गर्दै आगामी निर्वाचनमा पनि पार्टीका उम्मेदवारलाई विजयी गराउने गरी काम गर्नुपर्ने बताउनुभयो । पार्टी र सङ्गठनलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उहाँको भनाइ थियो । नेता सिंहले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर जवरालगायतले गरेको त्याग र योगदानलाई सम्झेर जनताको काम गर्न नवनिर्वाचित जनप्रतिनिधीलाई निर्देशन दिनुभयो ।
कञ्चनपुरः जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नेपाली कांग्रेसका दुर्गादत्त बोहरा निर्विरोध चयन हुनुभएको छ । जिसस प्रमुखमा कांग्रेसको मात्र उम्मेदवारी परेको थियो । जिसस उपप्रमुखमा कांग्रेसकै रामकुमारी राना निर्विरोध चयन हुनुभएको छ । जिसस सदस्यहरुमा मोहन महता, रामसिंह भण्डारी, जयसिंह विष्ट, लिला चौधरी, चन्द्रावती थापा, विमलाकुमारी सार्की र अन्जुदेवी राना निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिससमा अन्य दलले उम्मेदवारी दिएका थिएनन् ।