काठमाण्डौँ : नेकपा (एकीकृत समाजवादी) का तर्फबाट सरकारमा सहभागी नव नियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चार मन्त्रीलाई आज दिउँसो ११ बजे राष्ट्रपति कार्यालय र प्रधानमन्त्री शेरबहादुर देउवाले एक राज्यमन्त्रीलाई सिंहदरबारस्थित कार्यालयमा शपथ गराउनुहुने कार्यक्रम रहेको जनाइएको छ । नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभएको छ । त्यसैगरी राज्यमन्त्रीमा हीराचन्द्र केसी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय हुनुहुन्छ । राष्ट्रपति भण्डारीले गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्य प्रधानमन्त्रीको सिफारिसमा आइतबार हेरफेर गर्नुभएको हो ।
काठमाण्डौँ : नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन । आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको आले निकट स्रोतले बतायो । ‘राजीनामा पत्र अध्यक्षलाई बुझाइसकेका छौं,’ उक्त स्रोतले भन्यो, ‘अध्यक्षले प्रधानमन्त्रीसँग सल्लाह गरेर अगाडि बढाउनुहुन्छ।’ मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी समेत गरेका छन् । आलेसहित, विरोध खतिवडा, किसान श्रेष्ठ, रामकुमारी झाँक्री र मन्त्री नबनेका अरु सांसद समेत गरी १० जनाले मन्त्रिपरिषद हेरफेरप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए । तर पछि हस्ताक्षर गर्नेहरुमध्ये पर्यटनमन्त्री आलेसहित ६ जना सांसदले नाम फिर्ता लिएका थिए ।
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता तत्कालीन प्रधानमन्त्री केपी ओलीकै पालामा भएको दाबी गरेका छन् । अखिल नेपाल महिला संघ समाजवादीको कार्यक्रमलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै नेपालले ओली आफैंले गरेको सम्झौता अहिले थाहा छैन भनेर झुटो बोलेको बताए । ‘केपी ओलीकै पालामा एसपीपी सम्झौता भयो, तर अहिले थाहा नै भएन भन्नुहुन्छ,’ उनले भनेका छन्, ‘कि चिन्तनमा कमजोरी कि काम गर्ने गलत छ, यसमा सुधार गर्नु होला ।’ २०७४ मा पहिलो पार्टी रहेको एमाले अहिले कांग्रेसभन्दा पछाडि पुगेको उल्लेख गर्दै नेपालले ओलीको कमजोरी औँल्याए । ओलीको कमजोरीले पार्टी कमजोर बनेको, तर उनले आफ्नो गल्ती लुकाउन अरुलाई दोषी देखाउने गरेको नेपालले बताए ।
काठमाण्डौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रको रक्षाका लागि आफूहरुले तत्कालीन अवस्थामा नेकपा (एमाले) बाट गरेको विद्रोह देश र जनताको पक्षमा रहेको प्रमाणित भएको बताउनुभएको छ । एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा उहाँले कम्युनिष्ट पार्टीभित्र अधिनायकवाद र व्यक्तिवाद हाबी भएकाले राजनीतिक प्रणालीको रक्षाका लागि आफूहरुले गरेको विद्रोह जायज भएको बताउनुभयो । कम्युनिष्ट पार्टीले देशभक्ति र लोकतन्त्रको पक्षमा जनतालाई सङ्गठित गर्ने हुँदा राष्ट्रियताको संरक्षणमा विदेशी शक्तिका सामू नझुकेकै कारण देशमा कम्युनिष्ट पार्टी जनताको प्रिय बनेको बताउँदै अध्यक्ष नेपालले देशभक्ति, लोकतन्त्र र जनजीविकाका सवाललाई केन्द्रमा राखेर पार्टी निर्माणमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । लोकतन्त्रको मूल्यमान्यता स्वीकार्न हामीलाई जनताको बहुदलीय जनवादले नै निर्देश गरेको उहाँको भनाइ छ । पाँचदलीय गठबन्धनबाट स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँट कार्य न्यायोचित रुपमा हुन नसकेकाले नेकपा(एस)लाई उचित स्थान नदिइए पनि एक महानगर, एक उपमहानगरसहित केही स्थानमा विजयी भएकाले अब बलियो सङ्गठन निर्माण गरी अगाडि बढनुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ठोस योजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै अहिलेको मूल्यवृद्धिले जनतालाई समस्या भएकाले राज्यले कम मुनाफा लिएर भए पनि जनतालाई राहत दिनुपर्ने बताउनुभयो । जारी बैठकमा अध्यक्ष नेपालले चौतीस पानाको प्रतिवेदन पेश गर्नुभएको छ ।
पोखरा : पोखरा महानगरपालिकाको नगरसभा नेकपा (एमाले) ले बहिष्कार गरेपछि सभामा बजेट प्रस्तुत गर्ने कार्य रोकिएको छ । पोखरा सभागृहमा साँझ ४ः०० बजे उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहे पनि सभामा बजेट प्रस्तुत नहुँदै रातो किताब छापिएको भन्दै विरोध गरेपछि बजेट प्रभावित भएको हो । एमालेबाट निर्वाचित नगरसभा सदस्यहरूले आफूहरूको अधिकार कुण्ठित गर्ने गरी बजेट पुस्तिका प्रकाशन गरिएको भन्दै नाराबाजीसहित सभा बहिष्कार गरेपछि महानगर प्रमुख धनराज आचार्यले केही समयका लागि सभा स्थगन गर्नुभएको छ । एमालेका तर्फबाट दलका नेता राधिका योगी शाहीले आज बजेट पेश गर्ने र रातो किताब नगर सदस्यले छलफलपछि मात्र ल्याउने बिहीबार सहमति भए पनि छलकपट गरेर पुस्तिका ल्याइएपछि बहिष्कार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरसभा सदस्यहरूको अधिकार हनन गरेर रातो किताब निकालिएको छ । यसमा नगरका योजना समावेश छैनन्, त्यसैले हामीले बहिष्कार गरेका छौँ ।” महानगर प्रमुख आचार्यले भने बजेट कार्यक्रमको मस्यौदा (ड्राफ्ट) मात्र तयार गरिएको र बजेट पुस्तिका प्रकाशित नगरिएको दाबी गर्नुभयो । उहाँले विषयगत समितिमा भएको छलफलको अन्तिम रूप दिन बाँकी रहेकाले संशोधन गर्ने गरी हाललाई मस्यौदा मात्र बनाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “लिजा (स्थानीय तह स्वमूल्याङ्कन प्रणाली)मा चढाउनका लागि लेखा शाखाले नियमित कामका क्रममा बजेट ड्राफ्ट तयार गरेको हो । रातो किताब छापेका छैनौँ ।” एमालेबाट निर्वाचित सदस्यहरूले नगरसभा बहिष्कार गरेर बजेट रोकिएपछि महानगर प्रमुख आचार्यले सहमतिका लागि छलफल सुरु गरिएको बताउनुभयो । सहमति गरेर आजै बजेट प्रस्तुत गरिने आचार्यले बताउनुभयो ।
पोखराः पोखरा महानगरपालिको ११ औं सभामा बजेट प्रस्तुत भइरहँदा नेकपा एमालेका प्रतिनिधिले विरोध जनाएपछि सभा अवरुद्ध भएको छ । एमालेले बजेट प्रस्तुत भइरहेकाबेला रातो किताबमा कार्यक्रम उल्लेख भइसकेको चाल पाएपछि बजेट पुस्तिका च्यातेका छन् । आज महानगरले साढे ८ अर्ब रुपैयाँको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । एमाले वडा १७ कि अध्यक्ष राधिका शाही योगीले बजेट प्रस्तुतअगावै रातो किताब प्रकाशन गरेको भन्दै बजेट पुस्तिका च्यातेपछि सभा अशान्त बनेको हो । हाल सभा केही समयकालागि स्थगित भएको छ । यतिबेला एमाले प्रतिनिधिहरु सभास्थल बाहिर नाराबाजी गरिरहेका छन् ।
बागलुङ : बागलुङको ताराखोला गाउँपालिकाले रु ३६ करोड ६६ लाख ९२ हजार बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभा तथा प्रथम अधिवेशनबाट गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिउपजको बजारीकरणका लागि प्राथमिकतामा राखिएको छ । गाउँपालिकाले सङ्घीय सरकारबाट शसर्त अनुदानमार्फत प्राप्त गरेको रु १६ करोड ५४ लाख, वित्तीय समानीकरण अनुदान रु सात करोड ९९ लाख र राजस्व बाँडफाँट बाट रु छ करोड ७३ लाख २६ हजार प्राप्त गरेको थियो । त्यस्तै गण्डकी प्रदेश सरकारबाट समानिकरण अनुदान रु ७९ लाख ६४ हजार, राजश्व बाँडफाँट रु ३८ लाख नौ हजार, सङ्घीय सरकार विशेष अनुदानबापत रु एक करोड २० लाख, सङ्घीय सरकार समपूरक अनुदान रु ७० लाख, गण्डकी प्रदेश सरकार समपूरक अनुदान रु ४० लाख र चालु आर्थिक वर्षको रु ८२ लाख ९३ हजार मौज्दात र आगामी आर्थिक वर्षको आन्तरिक आम्दानी रु ५० सङ्कलन हुने गरी गाउँपालिकाले रु ३६ करोड ६६ लाख ९२ हजार बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाले चालु खर्चतर्फ रु छ करोड सात लाख, पुँजीगत खर्चतर्फ रु १४ करोड रु ६३ लाख २९ हजार, सशर्त अनुदानसहित चालु खर्च रु २२ करोड तीन लाख ६३ हजार विनियोजन भएको छ । पालिकाले कृषि विकासतर्फ रु एक करोड ५६ लाख २५ हजार, पशु विकासतर्फ रु एक करोड १९ लाख ६०द हजार, सामाजिक विकासको शिक्षातर्फ रु एक करोड १० लाख ८७ हजार, खानेपानी तथा सरसफार्यमा रु। ९६ लाख, पूर्वाधार विकासमा रु पाँच करोड १२ लाख २० हजार, वन वातावरण तथा विपद् व्यवस्थापनमा रु ७० लाख, गाउँपालिकाको प्रशासनिक खर्चका लागि र छ करोड ४८ लाख १६ हजार विनियोजन गरेको छ । भातखानेडाँडा वडा नम्बर १ जाने सडक स्तरोन्नतीका लागि रु एक करोड ४० लाख, सादी हिल गाउँ पँधेराखोला, बराहखोला सडक स्तरोन्नतिका लागि रु ८० लाख, घुस्मेली सभाहल सडक स्तरोन्नतिका लागि रु ६० विनियोजन भएको छ । यस्तै पालिकाले कृषिउपजको बजारीकरण, जनयुद्ध घाइते तथा शहीद परिवारलाई भत्ता र विद्यालयमा निःशुल्क स्यानेटरी प्याडको व्यवस्था गरिएको बजेटमा उल्लेख गरिएको छ । बागलुङको ताराखोलाले सशस्त्र द्वन्द्वकालका शहीद, बेपत्ता र घाइते तथा अपाङ्गको स्मरणमा युद्ध स्तम्भ बनाउने भएको छ । जनयुद्ध दिवसमा सार्वजनिक बिदासमेत दिएको यो पालिकाले ‘द्वन्द्वका घाउमा मलम’ लगाउने गरी नीति तथा कार्यक्रममापनि जोडेको अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले बताउनुभयो । बजेटमा जनयुद्ध दिवश, शहीद सप्ताह कार्यक्रम सञ्चालनलगायतमा व्यवस्था भएको हो । यसका लागि २४ लाख बजेट विनियोजन भएको छ । जनयद्धमा ताराखोलाका २३ शहीद भएका थिए भने दुई जना बेपत्ता र दर्जनँौ घाइते छन् । अध्यक्ष विकसमेत जनयुद्धका घाइते हुन् । उनको शरीरमा समेत गोलीका छर्रा अझै बाँकी छन् । गाउँपालिकाले आफ्नो सभाहलमा शहीदको तस्बिर सजाएर राखेको छ । शहीद सप्ताहमा उनीहरुको परिवार सम्मान गर्ने, शहीदका छोराछोरीलाई छात्रवृत्ति दिनेलगायतको काम गर्दै आएको छ । श्रमदान गरेर बनाइएको सडकलाई स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । गण्डकी प्रदेश र सङ्घीय सरकारको अनुदानसमेत जुटाएर सडक चौडा पार्ने काम भइरहेको छ । तत्काल स्तरोन्नति गरेर बर्सातमा पनि नियमित सवारी चलाउन बजेटमा रु २० लाख विनियोजन गरिएको हो । गाउँपालिकाले शहीदपार्क निर्माणका लागि रु पाँच लाख बजेट विनियोजन गरेको छ । ताराखोलाले वडा नंं २ को ओसमरको गयार भन्ने स्थानमा उद्यानको तयारी छ । उद्यानसँगै २३ शहीदको अर्धकदको मूर्तिसमेत बनाइने छ ।
काठमाण्डौँ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राष्ट्रियसभामा उत्पत्ति भएको विधेयक प्राप्त नभएको भन्दै प्रश्न उठाएपछि दुई विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव अगाडि बढ्न सकेन । बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ र ‘लोकसेवा आयोग विधेयक, २०७५’ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । सांसदहरूले ती विधेयक आफूहरूले प्राप्त नगरेको भन्दै आपत्ति जनाएपछि कार्यसूचीबाट ती विषय हटाइयो । त्यसपछि वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौता सदनमा पेश गर्नुभयो । सन् २०१२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न जलवायु सम्मेलनपछि सो इन्स्टिच्युट स्थापना भएको हो । सो इन्स्टिच्युटको केन्द्रीय मुख्यालय दक्षिण कोरियाको सियोलमा छ । त्यसका हालसम्म ४३ देश सदस्य छन् । त्यसको विधानअनुसार सदस्य लिँदा कुनै पनि आर्थिक भार तथा योगदान गर्नु नपर्ने मन्त्री यादवले जानकारी दिनुभयो । आर्थिक विकासका लागि जैविक विविधता संरक्षण, वातावरण र विकासबीच सन्तुलन बनाउने सन्दर्भमा त्यस संस्थामार्फत काम गर्न सकिनेछ । दिगो विकासका लागि मूर्तरुप प्रदान गर्दै विकास र वातावरणबीचको सन्तुलन कायम गर्न पनि त्यसबाट सहयोग लिन सकिने मन्त्री यादवले विश्वास व्यक्त गर्नुभयो । नेपालले जलवायुका सम्बन्धमा अन्तर्राष्ट्रिय क्षेत्रमा गरेको प्रतिबद्धतालाई कार्यान्वयन गर्न सहयोग पुग्ने तथा लगानी वृद्धि गर्न सहयोग पुग्ने एवं विश्वव्यापीरूपमा सफल अभ्यासको आदान–प्रदान गर्न पनि उपयुक्त माध्यमका रूपमा लिन सकिने भएकाले सो सम्झौता अनुमोदन आवश्यक रहेको मन्त्री यादवको भनाइ थियो । नेपालले सदस्यता प्राप्त गर्दा कुनै आर्थिक भार नपर्ने र आरक्षणको व्यवस्थासमेत नरहेको उहाँको भनाइ थियो । मन्त्रिपरिषद्को २०७७ भदौ १ को बैठकले सो सम्झौता अनुमोदनका लागि वन तथा वातावरण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक आजै ३ः४० बजे बस्ने गरी स्थगन भएको छ ।
काठमाण्डौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न सङ्घ र प्रदेशको निर्वाचनमा माओवादी वामपन्थीतर्फ पहिलो शक्ति बन्ने जिकिर गर्नुभएको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति ललितपुरले आज आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माओवादी देशको दोस्रो ठूलो पार्टी बन्ने बताउनुभयो । “स्थानीय तह निर्वाचनमा वामपन्थीभित्रको पहिलो शक्ति हुने सम्भावना थियो, २०७४ को निर्वाचनमा जितेका पालिका यसपटक गुमायौँ”, उहाँले भन्नुभयो, “सङ्घ र प्रदेशमा वामपन्थीभित्र पहिलो शक्ति हुने सम्भावना छ, त्यसका लागि आजैदेखि मेहनत गर्नुस् ।” माओवादीको नेतृत्वमा मुलुक परिवर्तन भएको उल्लेख गर्दै उहाँले माओवादीले ल्याएको परिवर्तनका बारेमा जनतालाई बुझाउनुपर्ने बताउनुभयो । “अब हामी जनताको घरघरमा जानुपर्छ, माओवादीको एजेण्डा भन्नुस्, माओवादीले ल्याएका परिवर्तनका बारेमा जानकारी गराउनुस्”, अध्यक्ष दाहालले भन्नुभयो । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनको भर गर्दा केही स्थानमा हार व्यहोर्नु परेको उल्लेख गर्दै उहाँले अबको निर्वाचनमा गठबन्धन भए पनि आफ्नो खुट्टामा दह्रोसँग उभिनुपर्ने बताउनुभयो । “गठबन्धनबाट स्थानीय तह निर्वाचन लडियो”, उहाँले भन्नुभयो, “अब गठबन्धनको भरपर्नेभन्दा पनि आफ्नो खुट्टामा उभिनुपर्छ ।” उहाँले स्थानीय तहमा सोचेजति परिणाम नआए पनि अनिश्चितताकाबीच भएको निर्वाचनले माओवादीको जित भएको बताउनुभयो । “स्थानीय तहमा सोचेजति परिणाम आएन, तर तोकिएको समयमा निर्वाचन हुनु माओवादीको जित हो”, उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संरचनाभित्र स्थानीय तहको निर्वाचन हुनु माओवादीको जित हो, निर्वाचन हुन्छ कि हुँदैन भन्ने दोधारबीच निर्वाचन भयो ।” साउन १५ भित्र सङ्घ र प्रदेशका उम्मेदवारको टुङ्गो अध्यक्ष दाहालले आगामी साउन १५ गतेभित्र आसन्न सङ्घ र प्रदेश निर्वाचनका उम्मेदवार टुङ्ग्याइने बताउनुभयो । लोकप्रिय र जनताको पक्षका काम गर्नसक्ने नेतालाई निर्वाचनमा उम्मेदवार बनाइने उहाँले बताउनुभयो । कार्यक्रममा माओवादी नेत्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, केन्द्रीय सदस्य, प्रदेश सदस्यलगायत नवनिर्वाचित जनप्रतिनिधिको उपस्थिति थियो । अध्यक्ष दाहालले ५० भन्दा बढी जनप्रतिधिलाई प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा नेकपा ९एमाले० नेता नवराज राई र वरिष्ठ मुटुरोग विशेषज्ञ डा कृष्ण श्रेष्ठ माओवादीमा प्रवेश गर्नुभएको थियो ।