काठमाडौं: सत्तासाझेदार नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार (जेठ ३) बस्ने भएको छ । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने जानकारी दिए । बैठकमा आउँदो आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचारविमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए ।
विराटनगर: धरानका मेयर हर्क साम्पाङले भरतपुर महानगरकी मेयर रेणु दाहाललाई लक्षित स्ट्याटस लेख्दै आलोचना गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मेयर साम्पाङले जनताको शक्तिलाई ढुङ्गा हान्न र भएको संरचना भत्काउन नभई आफूले देश बनाउन प्रयोग गरेको उल्लेख गरेका छन् । भरतपुरका मेयर दाहाललाई देश निर्माण गर्ने भिजन के हो त्यो पनि सिकाउने बताएका छन् । उनले लेखेका छन्, ‘स्वदेशी उत्पादनमा जोड दिनु पर्छ । यो हो भिजन । बिचरा तपाईँलाई के थाहा श्रम र श्रमिकलाई अपमान पर्ने अभिव्यक्ति दिने तपाईँहरूको पार्टी ?’ उनले मेयर दाहालको पाटीलाई सामन्त र दलाल, पुँजीपतिहरूको पार्टी बनिसकेको भन्दै बिचराको संज्ञा दिएका छन् । केही दिन अघि मेयर दाहालले हर्क साम्पाङले ठुला योजना गर्नु पर्थ्यो भन्ने अभिव्यक्ति दिएको भन्दै साम्पाङ आक्रोशित भएका छन् । उनले दाहालका बुवा नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई जोडेर समेत मेयर रेणुलाई गाली गरेका छन् । उनले लेखेका छन्, ‘रेणुजी तपाईँको बाऊ प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा मागेको २० लाख मात्रै छुट्टाइदियो त मैले के गर्ने ? बाऊ ठिक रैन छ पार्टी ठिक रहेन छ त ?’ उनले धरानमा एयरपोर्ट बन्न नसकेको दोष समेत प्रचण्डलाई थोपारेका छन् । उनले लेखेका छन्, ‘एयरपोर्ट मागेको तपाईँकै पार्टीको सुदन किराँती मन्त्री थिए र तपाईँकै बाऊ प्रधानमन्त्री थिए, विराटनगरमा छँदै छ किन चाहियो धरानमा भने ।’ उनले अहिलेका पाटी ठिक नभएको र विभेद गरेको आरोप लगाए । उनले लेखेका छन्, ‘अहिलेका पार्टी ठिक छैनन् । विभेद मात्रै विभेद गर्छ ? ।’ उनले दाहाललाई प्रचण्ड प्रधानमन्त्री हुँदा भरतपुरमा मात्रै बजेट हालिदिएको आरोप लगाए । उनले लेखेका छन्, ‘तपाईँको बाउले नि प्रम हुँदा बजेट जति सबै तपाईँकै पालिकामा मात्रै खनाइदिएर विभेद गरे ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पक्राउ परेसँगै वर्तमान सरकारलाई निरंकुश सरकार भएको बताएका छन् । प्रहरी नियन्त्रणमा रहेको क्रममा मिडियाकर्मीहरुसँग बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । पक्राउ परेपछि सोही प्रसंगमा मिडियाकर्मीले के भन्न चाहनुहुन्छ ? भन्ने प्रश्नमा उनले जवाफिदै भने–‘निरंकुश सरकारले गर्ने काम भनेकै यही हो । यसमा हामीले अचम्म मान्नुपर्ने कारण नै छैन । जे पनि भोग्न तयार छौ ।’ सिंहदरबार भित्रै विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेपछि अध्यक्ष लिङ्देनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौं: राप्रपाका नेताहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । राप्रपाले आज बिजुलीबजार क्षेत्रमा प्रदर्शनको कार्यक्रम राखेको थियो । राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरु भने, सिंहदरबारस्थित पार्टी दलको कार्यालयमा थिए । प्रहरीले उनीहरुलाई त्यहीँ रोक्ने प्रयास गरेको थियो । त्यसपछि उनीहरुले सरकारविरोधी नारा लेखिएका पम्प्लेट बोकेर दक्षिण गेटबाट बाहिर निस्किन खोजेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनामा पक्राउ परेका नेतालाई रिहाई नगरेको भन्दै प्रदर्शन गरेको छ। आज दिउँसो बानेश्वर क्षेत्रमा राप्रपाका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् । आईतवार राप्रपाका नेता तथा कार्यकर्ताहरुले भेला भएर व्यवस्था परिवर्तनको माग गर्दै प्रदर्शन गरेका हुन् । उहाँहरुले चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवलसमशेर जबरालाई निःशर्त रिहा गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । उहाँहरुले 'राजा आउ देश बचाउ, हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ', लगायत नाराहरु लगाएका छन् । पार्टीका नेताहरुलाई रिहाइ नगरेको भन्दै राप्रपाले आज निषेधित क्षेत्रमा आन्दोलन गर्ने घोषणा गरेबमोजिम माईतीघर क्षेत्रबाट निषेधित क्षेत्रमा प्रवेश गरी आन्दोलन गर्ने तयारी गरेको थियो । आन्दोलनलाई मध्यनजर गरी सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित वर्तमान सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएकाले ढुक्कसाथ विकास निर्माणसहित सुशासनका काममा केन्द्रित हुन आग्रह गर्नुभएको छ । चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता, विकास र सुशासन दिनका लागि इतिहास बोकेका ठूला दलहरु एकसाथ मिलेर यो सरकार बनेकाले सरकार आफ्नो लक्ष्य र गन्तव्यमा सुस्पष्ट रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउन हामी पूर्ण रुपमा लागेका छौँ । तपाईंहरु पनि ढुक्कका साथ यस अभियानमा लाग्नुुस् । सबै मिलेर देश बनाऔँ ।” उहाँले नयाँ भवनबाट गाउँपालिकाको सुशासन र सेवा प्रवाहका काममा सहजता आउने विश्वास पनि व्यक्त गर्नुभयो । कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटालगायत सहभागी हुनुहुन्थ्यो ।
गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै उहाँले पूर्वराजावादी या अरु कुनै पनि नाममा हुने संविधानविरोधी गतिविधि तथा अस्थिरता निम्त्याउने काम कुनै पनि हालतमा क्षम्य नहुने बताउनुभयो । मन्त्री लेखकले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त वर्तमान संविधानको रक्षाका लागि सबै तयार हुनुपर्ने बताउनुभयो । नेपालमा सात दशकको अन्तरालमा सात वटा संविधान बनेको उल्लेख गर्दै उहाँले वर्तमान संविधान संसारकै उन्नत लोकतान्त्रिक संविधान भएकाले यसैमार्फत हरेक समस्याको समाधान सम्भव भएको धारणा राख्नुभयो । “संविधानभित्र रही आलोचना, समालोचना तथा विभिन्न गतिविधि गर्न पाइन्छ । संविधानविरोधी गतिविधिका माध्यमबाट हत्याहिंसालाई प्रश्रय दिने, संविधान फाल्छु भन्नेजस्ता अराजक गतिविधि गर्न पाइँदैन । गरिएमा कानुनअनुसार कारबाही हुन्छ”, मन्त्री लेखकको भनाइ थियो,“संविधानको रक्षा आजको आवश्यकता हो । वर्तमान संविधान निर्माणको १० वर्षे हुँदैछ । यस अवधिको आवश्यक समीक्षासहित सम्बद्ध सबैसँग सहमति कायम गरेर आवश्यकताका आधारमा संशोधन गर्दै थप सुधारको प्रयास गरिने छ ।” पछिल्ला वर्षमा लागुऔषधको बढ्दो प्रयोग, आत्महत्या, सवारी दुर्घटना, साइबर अपराध, प्राकृतिक विपद् आदि चुनौतीका रूपमा देखापरेकाले यी सबै चुनौतीको समाधान गर्नेतर्फ सरकार निरन्तर क्रियाशील उहाँले बताउनुभयो । साथै, सेवा प्रवाहलाई प्रभावकारी बनाउनु अपरिहार्य भएको उल्लेख गर्दै मन्त्री लेखकले जनतालाई सेवा दिने कुरामा कुनै कसर बाँकी नराख्न आग्रह गर्नुभयो । उहाँले जिल्लामा प्रमुख जिल्ला अधिकारीलगायतको रूपमा सङ्घी सरकारका प्रतिनिधि रहेकाले यस कार्यालयले सङ्घ, प्रदेश र स्थानीय तहबीच आपसी समन्वय गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । सेवालाई नागरिकमैत्री तथा प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने पनि उहाँको भनाइ थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश प्राकृतिक विपत्तिका दृष्टिबाट पनि जोखिमपूर्ण रहेका भन्दै जोखिमलाई समाधान गर्नेतर्फ सरकार निरन्तर लागिपरेको बताउनुभयो । बाढी, पहिरा, भूकम्पलगायत विपद् प्रतिकार्यमा सरकार निरन्तर लागिपरेको उहाँले बताउनुुभयो । मुख्यमन्त्री पाण्डेले प्रदेशमा सम्भाव्य प्राकृतिक विपत्तिलाई लक्षित गरी रु १० करोडमा नघट्ने गरी कोषसमेत विनियोजन गर्दै प्रतिकार्यका लागि आवश्यक उपकरणलगायतमा सहयोग गरिँदै आएको बताउनुुभयो । गत वर्ष कोरला नाका सञ्चालनसमेत गरिएको बताउँदै उहाँले त्यसलाई थप व्यवस्थित गर्दैै अघि लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । सुरक्षा गोष्ठीमा प्रदेशअन्तर्गत सबै जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थिति छ । मन्त्री लेखकले आजै सङ्घ मातहत रहेको आपतकालीन गोदामघर गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुभएको थियो । एक समारोहका बीच मन्त्री लेखकले प्रदेशका मुख्यमन्त्री पाण्डेलाई आपत्कालीन गोदामघर हस्तान्तरण गर्नुभएको हो । गण्डकी प्रदेशमा आपत्कालीन बन्दोबस्ती क्षमता अभिवृद्धि गर्न निर्माण गरिएको आपत्कालीन गोदामघरले सङ्कटका समयमा तत्काल प्रभावकारी बन्दोबस्ती सहायता सुनिश्चित गर्ने गृहमन्त्री लेखकले बताउनुभयो । गण्डकी प्रदेश प्राकृतिक जोखिमका दृष्टिबाट समेत जोखिमपूर्ण रहेको बताउँदै उहाँले गोदामघरले यहाँ हुने विभिन्न प्राकृतिक विपत्तिमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि केन्द्र, प्रदेश र स्थानीय तहबीचको सहकार्य आवश्यक भएको उहाँले बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा अनावश्यक नबोल्न, नलेख्न आग्रह गरेको छ। बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सामाजिक सञ्जालमा देखिने अमर्यादित, अशिष्ट, अभद्र प्रवृत्तिलाई पार्टी पंक्तिबाट निरुत्साहित गर्न निर्देशन दिएका हुन्। सामाजिक सञ्जालमा पार्टी समर्थकहरूको अराजक उपस्थितिप्रति ध्यानाकर्षण भएको पनि कार्यवाहक सभापति अर्यालले बताएका छन्। त्यस्तो प्रवृत्ति पार्टीकै लागि घातक हुने बताउँदै कार्यवाहक सभापति अर्यालले सबै सदस्यहरूलाई समाजिक सञ्जाल प्रयोग आचारसंहिता अन्तर्गत अभ्यास गर्न र सभ्य रूपमा प्रस्तुत हुन, अनावश्यक रूपमा नबोल्न, नलेख्न अनुरोध गरेका हुन्। केन्द्रीय समिति बैठकले महाधिवेशको नयाँ मिति तय गरेको छ भने सातै प्रदेशका लागि प्रदेश इन्चार्ज तोकेको छ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन सरेको छ । यही महिना हुनुपर्ने महाधिवेशन १० महिना पछि फागुनमा पुगेको हो । बिहीबार बसेको पार्टीको केन्द्रीय केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति तोकेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार २०८२ आश्विनसम्ममा वडा अधिवेशन, कार्तिक सम्ममा पालिका अधिवेशन, मङ्सिरसम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ । २०८२ फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने सर्वसम्मतले निर्णय गरेको उनले बताए । हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको १९७५ वडा समिति गठन भइसकेको र त्यसमध्ये ७०० वटा वडामा अधिवेशन सम्पन्न भएको छ । ७५३ पालिकामध्ये ४५८ वटा पालिकामा समिति गठन भएको झाले जानकारी दिएका छन् । ७० वटा जिल्लामा भेला आयोजना भएर समिति गठन भएको तथा सातवटै प्रदेशमा समिति बनेको उनले बताए । रास्वपाले सातै प्रदेशमा तोक्यो इन्चार्ज, को कहाँ ? रास्वपाले सातै प्रदेशका इन्चार्ज तोकेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले प्रदेशका इन्चार्जहरू तोकेको हो । जस अनुसार कोशी प्रदेशमा सन्तोष परियार, मधेश प्रदेशमा मनिष झा, बागमतीमा लिमा अधिकारी, गण्डकी शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सदूरपश्चिम हरि ढकाल रहेका छन् ।