काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ। शनिबार बसेको रास्वपा सचिवालयको ‘भर्चुअल’ बैठकले भिजिट भिसा प्रकरण मुछिएका उनलाई तत्काल राजीनामा दिएर अनुसन्धानमा सघाउन आग्रह गरेको छ। ‘विगतमा सांसद रमेश लेखकले नै सदनमा ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं,’ कार्यवाहक प्रवक्ता मनीष झाले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै यस मुद्दालाई लिएर आगामी दिनमा सदन अवरुद्ध हुँदा, त्यसले उत्पन्न गर्ने नेपाली राजनीतिप्रति घृणाको कारक नहुन पनि सुझाव दिन्छौं।’ गृहमन्त्री र उनका सचिवालयमाथि ‘भिजिट भिसा’मार्फत् मानव तस्करीमा संलग्न रहेको आरोप लागिरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। यो प्रकरणमा कम्तिमा १४ कर्मचारी आयोगको छानबिनमा परेपछि शुक्रबार गृहमन्त्रालयले उनीहरुलाई जिम्मेवारीबाट हटाएको थियो। गृहमन्त्रीको मञ्जुरीबिना यस्तो काम हुननसक्ने भन्दै धेरैले गृहमन्त्री लेखकमाथि छानबिन थाल्नुपर्ने दवाव बढेको छ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ । सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेको सम्बन्धमा आदेश जारी गरे पश्चात् उत्पन्न परिस्थितिका बारे छलफल गर्न बैठक बोलाइएको हो । शुक्रवार राति बसेको केन्द्रीय सचिवालयको आकस्मिक भर्चुअल बैठकले सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाउने निर्णय गरेको हो । सचिवालयको भर्चुअल बैठक दिउँसो ३ बजे र केन्द्रीय समितिको बैठक दिउँसो ४ बजे बस्नेछ । साथै आइतबार दिउसो २ बजे पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक भौतिक रूपमा नै बस्ने निर्णय गरेको छ ।
पोखरा: नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजावादीसँग मिल्ने कुनै सम्भावना नरहेको बताएका छन् । प्रेस सेन्टर गण्डकी प्रदेश समितिले पोखरा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राजासँग मिल्ने आरोप लगाएको भए मेन्टल हस्पिटल जचाउन आग्रह गरे । ‘राजासँग मिल्ने अभियान हो प्रचण्डको भनेर कही न कही बोले रे भन्ने सुन्छु । अहिले त धेरै केही भन्दिनँ । यदि त्यसो भनेको हो भने म प्रधानमन्त्रीज्यूलाई मेन्टल हस्पिटल गएर जँचाउन सल्लाह दिन चाहन्छु’, उनले भने ।
काठमाडौं: सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ । न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो । सर्वोच्च अदालतको यो आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा हुनेछन् । जिल्ला अदालतले सफाइ दिएमा मात्रै उनी थुनामुक्त हुनेछन् तर त्यतिबेलासम्म अरु आरोपबाट पनि उनले सफाइ पाएको हुनुपर्नेछ ।सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने थुनामा परेका थिए । उच्च अदालतले त्यतिबेला जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर रविलाई थुनामा पठाएको थियो ।
गण्डकी: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङको ताराखोला पालिकाको सहिद मार्ग स्तरोन्नतिका निम्ति बजेट विनियोजन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउने बताउनुभएको छ । साथै उहाँले पूर्वाधार विकासलाई आफ्नो पार्टीले उच्च प्राथमिकता दिएको बताउनुभयो । ताराखोला गाउँपालिकाद्वारा आज यहाँ आयोजित एक उहाँले ताराखोलालाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त सडकको विस्तार र कालोपत्र गर्न सरकारसँग रकम माग्ने बताउनुभयो । “सहिद मार्गलाई बजेटमा समेट्न यसअघि पनि पहल गरिएको हो, तर त्यसले सार्थकता पाउन सकेन, यसपालि विशेष प्रयत्न गर्छौँ”, उहाँले भन्नुभयो, “स्थानीय उत्पादनको बजारीकरण र पर्यटनका दृष्टिले पनि यो सडक महत्वपूर्ण छ ।” भौगोलिक कठिनाइ र सीमित स्रोतसाधन हुँदा पनि विकासनिर्माण र सेवा प्रवाहमा ताराखोला गाउँपालिकाले उदाहरणीय काम गरेको उहाँले बताउनुभयो । स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्यअनुरूप २० किलोमिटर लामो उक्त सडक चार वर्ष अघि नै कालोपत्र गरिने सडकका रूपमा छनोट गरिएको थियो । पार्टीले सुरू गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित जनजागरण अभियानले माओवादी केन्द्रको जनतासँगको सम्बन्धलाई सुदृढ बनाएको उहाँले बताउनुभयो ।
धनुषा: नेकपा एमाले धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित भएका छन् । धनुषा जिल्ला कमिटीको आठौँ अधिवेशन अन्तर्गत भएको मतदानमा एमाले केन्द्रीय सचिव रघुवीर महासेठ पक्षका यादव विजयी भएका हुन् । उनले आफ्ना प्रतिद्वन्द्वी लक्ष्मीनारायण यादवलाई पराजित गरेका हुन् । भोलाले ४०२ मत प्राप्त गर्दा लक्ष्मीनारायणले दुई सय मत पाएका छन् । लक्ष्मीनारायण केन्द्रीय सदस्य उमाशंकर अरगरियाको पक्षबाट उम्मेदवार बनेका थिए । अधिवेशनले उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा दीपनारायण ठाकुर, उपसचिवमा सविनविक्रम थापालाई चयन गरेको छ । यस्तै, महिला उपसचिवतर्फ रुकाकुमारी मिश्र र लेखा समितिको संयोजकमा वीरेन्द्रलाल कर्ण निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गर्न चुनाव भएको थियो ।
काठमाडौं: नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाबारे प्रकाशित भएको भ्रामक र कपोलकल्पित समाचारप्रति गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको गम्भीर ध्यानाकृष्ट भएको बताए । विज्ञप्तिमा उल्लेख छ, “कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे उहाँको धारणा भनी सञ्चार माध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो । पार्टी सभापतिले कहीँ कतै नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढङ्गले आम सञ्चारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो।” “जो सुकैले यस्तो कार्य गरेको भए पनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ,” विज्ञप्तिमा भनिएको छ, “नेपाली कांग्रेस सबै आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्न प्रतिबद्ध रहेको दोहो¥याउँदै यस्ता समाचारप्रति विश्वास नगर्न आमनागरिकलाई अपिल गर्दै अव्यक्त कुरा सञ्चार माध्यममा सम्प्रेषण नगर्न सञ्चारकर्मी मित्रहरूलाई आग्रह गर्दछ ।” ऐतिहासिक जनआन्दोलन २०६२÷६३ मा नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट प्राप्त उपलब्धि सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको संरक्षण र संवर्धन गर्दै नागरिकलाई पूर्ण स्वतन्त्रता, समानता र सामाजिक न्यायसहितको लोकतान्त्रिक व्यवस्थाका लागि सभापति देउवाले सदैव नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहनुभएको विज्ञप्तिमा जनाइएको छ ।
रुकुमपूर्व: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धका शहीद परिवार, बेपत्ता व्यक्तिका आफन्त तथा घाइते अपाङ्ग योद्धाहरूको अवस्थाबारे जानकारी लिँदै भेटघाट गरेका छन् । प्रचण्ड नेतृत्वको जनतासँग माओवादी(मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अहिले रुकुमपूर्वको सिस्ने गाउँपालिका–५, रुकुमकोटमा पुगेको छ । प्रचण्डले घाइते तथा अपाङ्ग योद्धाहरूले उपचार, जीवन निर्वाह भत्ता वृद्धि, रोजगारीको व्यवस्था र राज्यबाट प्रभावकारी पुनः स्थापनाको माग गरेका थिए । त्यस्तै, विभाजित माओवादी धाराहरूलाई पुनः एकताबद्ध गर्नुपर्ने आवश्यकता पनि व्यक्त गरेका थिए । सहभागीहरूको माग सुन्दै अध्यक्ष प्रचण्डले उनीहरूको पीडा र आवाजलाई गम्भीर रूपमा लिएको बताउँदै, राज्य जिम्मेवार ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिए । उनले माओवादी पार्टी सरकारमा रहँदा जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गरिएको, शान्ति प्रक्रियासम्बन्धी बाँकी कार्यहरू पूरा गर्न संसदबाट कानुन निर्माण गरिएको, र पीडितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउने कानुन मै व्यवस्था गरिएको जानकारी दिए । उनले शान्ति प्रक्रिया टुङ्ग्याउन दुई वटा समिति गठन भइसकेको जानकारी दिए । पीडितलाई परिचयपत्र दिने प्रक्रिया कानुनमार्फत सुनिश्चित गरिएको र सोही अनुसार ती समितिले काम गर्ने उनले बताए । सरकारमा रहँदा माओवादी केन्द्रले देशका पाँच स्थानमा आवासीय विद्यालय स्थापना गरेर शहीद, बेपत्ता र गरिब परिवारका सन्तानलाई शिक्षाको पहुँचमा ल्याउने काम गरेको अध्यक्ष प्रचण्डले स्मरण गराए । उनले आफूहरूले पीडितलाई कहिल्यै नबिर्सेको प्रस्ट पारे । पार्टी एकताको विषयमा प्रचण्डले धारणा राख्दै आगामी जेठ १२ गते नेपा राष्ट्रिय पार्टीसँग पार्टी एकता हुने जानकारी दिए । साथै, बाबुराम भट्टराईसँगको अलग भएर गएका अन्य नेताहरूसँग पनि विचार र सिद्धान्तको आधारमा एकता गर्ने प्रक्रिया अघि बढिरहेको बताए । पार्टीले आत्मसमिक्षा गर्दै आफ्नो वर्गका जनता, जनयुद्धका शहीद परिवार, बेपत्ता व्यक्तिका आफन्त तथा घाइते अपाङ्ग योद्धाहरू सँग भेट्दै पिर मर्का बुझ्दै र सके सम्म उनीहरूकै घरमा बस्ने गरेको जानकारी दिए ।
शिवहरि सुवेदी -केन्द्रीय अनुशासन आयोग सदस्य (राष्ट्रिय युवा संघ नेपाल) -नेकपा एमाले लेखा कमिटी अध्यक्ष अन्नपूर्ण गाउँपालिका,कास्की पोखरा: नेपालको समकालीन राजनीतिक वातावरणमा सबैभन्दा बढी निराश देखिएको वर्ग युवाहरू हुन् । विगतका आन्दोलन, परिवर्तन र राजनीतिक उपलब्धिमा युवाहरूको निर्णायक भूमिका रहेपनि अहिलेको राजनीतिक प्रणालीप्रति उनीहरूमा बढ्दो अविश्वास, वितृष्णा र दूरी देखिएको छ । राजनीति ‘प्रभावशाली सेवा’ को माध्यम हैन, सत्ताको संरक्षणको औजार बनेको धारणा व्यापक बन्दै गएको छ । यस्तो सन्दर्भमा, राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशन केवल संगठनको नेतृत्व चयन गर्ने औपचारिकता नभई समग्र युवापुस्तासँग जोडिएको अपेक्षा र चुनौतीको संगम बन्दैछ । समसामयीक पृष्ठभूमि: युवाबीचको राजनीतिक वितृष्णा –विगतमा युवाहरू आन्दोलनको अगुवाइमा थिए, तर आज नीति निर्माण प्रक्रियाबाट उनीहरू टाढा छन् । –बेरोजगारी, शिक्षा र स्वास्थ्य सेवामा असमानता, र सिफारिस–प्रेरित प्रणालीले उनीहरूलाई निराश बनाएको छ । –राजनीति र राज्यप्रणालीप्रति वितृष्णा बढ्नुको मुख्य कारण, योगदान पुर्याउनेलाई छायामा राख्ने प्रवृत्ति हो । दशौं महाधिवेशनका अवसरहरू १. संगठनको गुणात्मक पुर्नसंरचना -सँख्यात्मक हैन, गुणात्मक विस्तारमा जोड दिनु पर्ने समय आएको छ । नेतृत्व र नीतिको पुनरावलोकनको अवसर यही महाधिवेशनले दिन सक्छ । २. योगदानमा आधारित नेतृत्व निर्माण -क्षमता, प्रतिबद्धता र इमानदारितामा आधारित नेतृत्व छनोटले संगठनलाई विश्वसनीय बनाउँछ । यही आधार तय गर्न महाधिवेशन निर्णायक बन्न सक्छ । ३. नीति स्पष्टता र युवामैत्री दृष्टिकोण -रोजगारी, प्रविधि, उद्यमशीलता, जलवायु संकटलगायत युवासम्बन्धी विषयमा ठोस नीति आवश्यक छ, जसको कार्यान्वयन खाका महाधिवेशनबाट तय हुनुपर्छ । ४. मिसन २०८४ सँग रणनीतिक जोड -दशौं महाधिवेशनले ‘युवालाई मतदाता होइन, नीति निर्माता बनाउने’ दृष्टिकोण ल्याउने हो भने आगामी निर्वाचनमा संगठन निर्णायक भूमिका खेल्न सक्छ । चुनौतीहरू १. गुटगत राजनीति र गुट सन्तुलन -यदि महाधिवेशन गुट सन्तुलनकै भरमा सीमित रह्यो भने योगदान गर्ने धेरै युवाहरू हतास हुनेछन् । २. व्यवहारमा लागु नहुने घोषणा -अघिल्ला महाधिवेशनका नीति, योजना कार्यान्वयन नभएको इतिहास दोहोरियो भने यसपटकको उत्साह पनि निराशामा परिणत हुन सक्छ । ३. प्रतिनिधित्वको सीमितता -प्रदेश, लिङ्ग, वर्ग, समुदायको समावेशी प्रतिनिधित्व भएन भने संगठन ‘राष्ट्रिय’ हैन ‘केन्द्रीकृत’ संस्थाजस्तो देखिने खतरा रहन्छ । ४. व्यावसायिक रणनीतिक अभाव -राजनीतिक प्रशिक्षण, नीति बहस, उद्यम विकासजस्ता क्षेत्रमा व्यावहारिक योजना र दीर्घकालीन सोचको अभाव नै प्रमुख चुनौती हो । रणनीतिक सिफारिसहरू ❖ “एक कार्यकर्ता = एक अभियान” मा संगठनलाई परिचालन गर्ने रणनीति आवश्यक छ। ❖ महाधिवेशन निर्णयहरू कार्यान्वयन गर्न छुट्टै ‘Action Committee’ गठन गरिनुपर्छ। ❖ संगठनभित्र अनुशासन, पारदर्शिता, जवाफदेहिता, र प्रतिस्पर्धाको संस्कृति विकास गर्नुपर्छ । ❖ निर्णयहरू संवाद र दस्तावेजमार्फत आम युवासम्म पु¥याउने कार्ययोजना आवश्यक छ । निष्कर्ष राजनीतिक विसंगति, गुटगत जटिलता र वैचारिक विचलनबीच राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशन युवापुस्तामाझको राजनीतिक आस्थालाई पुनस्र्थापित गर्ने अवसर हो । यदि यस महाधिवेशनले आत्मालोचना, पारदर्शिता, योग्यता र योगदानको मूल्यांकनसहितको नेतृत्व छनोट, तथा समावेशी रणनीति प्रस्तुत गर्न सक्यो भने—यो महाधिवेशन नैराश्यताको अँध्यारोमा उज्यालो किरण सावित हुनेछ । “अत सही मार्गचित्र र जवाफदेही नेतृत्व स्थापित गर्न सकियो भने, राष्ट्रिय युवा संघ नेपाल फेरि पनि मात्र राजनीतिक संगठन होइन — नेपाली युवाको आशा, विश्वास र परिवर्तनको अग्रणी प्रतिनिधि, आस्थाको एकमात्र धरोहर बन्न सक्छ ।