काठमाडौं:  मेडिकल व्यवसायी दुर्गा प्रसाईँले छिटै राजनीतिक दल खोल्ने बताएका छन्  ।  सोमबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले राजनीतिक दलहरूले बिगारेको मुलुकको अवस्थामा सुधार ल्याउन र...

काठमाडौं:   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् सुमना श्रेष्ठले पार्टी सभापति रवि लामिछानेसँगै छलफल गरेर सहमहामन्त्री पदबाट राजीनामा दिएको स्पष्टीकरण दिएकी छन् ।   बिहीबार पार्टीको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भनिन्, ‘मैले पार्टीबाट राजीनामा दिएको होइन, मैले केन्द्रीय सदस्य र सहमहामन्त्री पदबाट राजीनामा दुई हप्ता अगाडि राजीनामा दिएको हुँ ।’   रवि लामिछाने सभापति पदमा फर्किएकै दिन भेटे गरेर आफूले राजीनामा बुझाएको उनले बताइन् ।   ‘उहाँ जिम्मेवारीमा आउनुभएपछि हामी एकदम एक्साइटेड थियौं, उहाँले त्यसबेला पार्टी महाधिवेशन त्यही समयमा हुन्छ भनेर भन्नु भएको थियो’, उनले थपिन्, ‘त्यस्तोमा एकैव्यक्ति दुई पदमा रहँदा काम गर्न गाह्रो हुन्छ भन्ने हिसाबले छलफल भएपछि मैले राजीनामा दिएको थिएँ ।’ यद्यपि, आफ्नो राजीनामा प्रक्रियामा अघि नबढेको उनले बताएकी छन् ।   सभापतिले समेत पछिल्लो बैठकमा पार्टीलाई ‘अब म्यासिभ रिफर्म’मा लैजानुपर्छ भनेको स्मरण गराउँदै उनले भनिन्, ‘उहाँले आफ्नो पदबाट डेलिभरी दिन सकिँदैन भने सोचौं है भनेर भन्नुभएको हो । त्यही स्पिरिटमा दुई हप्ता अगाडि दिएको मैले राजीनामा दिएको हो ।’   छलफलपछि लामिछानेकै सहमतिमा राजीनामा दिएको उनले बताइन् । बरु अहिले फरक परिस्थितिमा आफ्नो राजीनामाको विषय बाहिर ल्याइएको भन्दै उनले असन्तुष्टि जनाएकी छन् ।   सुमनाले पार्टीको निर्णय पद्दतिप्रति असन्तोष व्यक्त गर्दै राजीनामा दिएकी छन् । जनताले पार्टीमाथि ठूलो आशा राखेको तर, पार्टीले डेलिभरि दिने क्षमता शून्य रहेको उनको निष्कर्ष छ ।   उनले ‘एक व्यक्ति एक पद’ को अवधारणा लागू गर्न सह-महामन्त्री छोड्न लागेको बताए पनि आफ्ना असन्तुष्टिका विषयहरु लुकाउन सकेकी छैनन् ।   उनले लेखेकी छन्, ‘जसरी एक नयाँ पार्टीलाई अघिल्लो निर्वाचनमा अभूतपूर्व जनमत मिल्यो त्यसबाट जनताले देशलाई बेथितिबाट बाहिर निकाल्छ भनेर हामीमाथि ठूलो आशा राखेको स्पष्ट छ । मैले हालसालै गरेको देश यात्रामा पनि त्यो आशा बाँकी रहेको पाएँ, तर दलको प्रस्तुति सोचेजस्तो सशक्त नभएको गुनासोसँग मिश्रित । पुराना दलले लगाइदिएको सहकारी ठगीको लेबल चिर्न हामीले प्रतिसोध साँधेको नारा मात्र अघि बढायौँ ।’   पार्टी बैठकमा धेरै कर्मकाण्डी प्रक्रिया अपनाइएकोप्रति पनि उनले असन्तुष्टि व्यक्त गरेकी छन् । वैकल्पिक राजनीतिक दलको रूपमा स्थापित हुन खोजेको रास्वपामा ‘फ्ल्याट हाइरार्की’ सबैभन्दा प्रभावकारी हुने उनको धारणा छ ।   यस्तो छ, राजीनामा पत्र   श्री सभापतिज्यू राष्ट्रिय स्वतन्त्र पार्टी बनस्थली, काठमाडौ।   विषयः सह महामन्त्री पदबाट राजीनामा बारेमा महोदय, मैले पार्टीमा एक व्यक्ति एक पद हुनु पर्छ भनेर वकालत गर्दै आएकी छु, यसैलाई आत्मसाथ गर्दै पार्टीको सह–महामन्त्री पदबाट आजैका मितिदेखि लागु हुने गरी राजीनामा गर्दैछु ।   अधिवेशनको मिति घोषणा भएको अवस्थामा अब पुस्तान्तरणको लागि ठाउँ खाली छ भन्ने सन्देश दिनुपर्छ भन्ने मलाई लाग्छ। देशको चौथो ठूलो दलको महत्वपूर्ण पद त्याग गर्दा अनावश्यक चर्चा नहोस् भनी राजीनामा गर्नुका पछाडिका कारण स्पष्ट पार्न चाहन्छु ।   एक व्यक्ति एक पद– पदको लालसा नेपालका पुराना पार्टी र अझ भन्नु पर्दा नेपाली समाजमै गढेको एक प्रथा हो। संघिय सांसद हुँदा मैले पार्टीको अर्को महत्वपूर्ण जिम्मेवारी लिदाँ पद नभई केही गर्न सकिन्न भन्ने सन्देश जान्छ जुनसँग मेरो गहिरो विमति छ । अन्य पार्टीभन्दा हामी भिन्न भन्ने तर रवैया उस्तै रहने मेरो लागि स्वीकार्य छैन ।   एक व्यक्तिले दुई पूर्णकालिन जिम्मेवारीलाई न्याय गर्न सक्दैन– संघिय सांसदले मूलभूत रुपमा पेश भएका विधेयकहरूको अध्ययन गर्ने, सरोकारवालाहरूसँग छलफल गर्ने, आवश्यक संशोधन पेश गर्ने, समसामियक विषयलाई सदनमा उठान गर्ने र समाजलाई उन्नत बनाउने भाष्य निर्माण र मुद्दाहरु स्थापित गर्नु पर्ने पर्ने हुन्छ। यसका बाहेक शिक्षा सूचना प्रविधि संसदीय समितिको भूमिका त छदैछ । पार्टीको सह–महामन्त्रीको रूपमा पार्टी संगठन निर्माण लगायत पार्टीको विधि निर्माण र कार्यान्वयन गर्न जति समय चाहिन्छ, त्यो सांसदका रूपमा काम गर्न मानवीय हिसाबले सम्भव छैन।   यी दुवै पूर्णकालिन पद हुन्। दुवै जिम्मेवारी एकै व्यक्तिलाई दिँदा दुवै तर्फको जिम्मेवारी पूरा गर्न नसक्ने मेरो अनुभवले बताउछ। संसदीय भूमिकामा नै मेरो सम्पूर्ण समय व्यतित हुन्छ, सह–महामन्त्रीले गर्न पर्ने काम प्रभावकारी हन नसकेको मेरो ठम्याइ छ ।   पार्टीमाथि जनताको ठूलो आस, डेलिभरि दिने क्षमता शुन्य– जसरी एक नयाँ पार्टीलाई अघिल्लो निर्वाचनमा अभूतपूर्व जनमत मिल्यो त्यसबाट जनताले देशलाई बेथितिबाट बाहिर निकाल्छ भनेर जनताले हामीमाथि ठूलो आशा राखेको स्पष्ट छ । मैले हालसालै गरेको देश यात्रामा पनि त्यो आशा बाँकी रहेको पाएँ, तर दलको प्रस्तुति सोचे जस्तो सशक्त नभएको गुनासोसँग मिश्रित ।   पुराना दलले हाम्रो पार्टीलाई सहकारी ठगीको लेबल चिर्न हामीले प्रतिसोध साँधेको नारा मात्र अघि बढायौँ। पार्टीका दुई प्रदेशका पालिका तहका पदाधिकारीहरू सबैलाई राखेर सामान्य तथ्याङ्क संकलनको काम दिँदा पनि कसैले सो काम शुरू नगरेकाले पनि स्पष्ट हुन्छ, हामीले पार्टी बन्नको लागि र डेलिभरी दिनको लागि कति लामो यात्रा तय गर्नुपर्ने छ। यसको एउटा कारण एकै व्यक्तिलाई धेरै जिम्मेवारी दिनु पनि हो कि भन्ने मेरो ठम्याई छ।   धेरै कर्मकाण्डी प्रक्रिया– बैठकमा बस्ने क्रम, बोल्ने क्रम आदिमा पदाधिकारीलाई चाहिने भन्दा बढी महत्व दिइन्छ। यस्तो संस्कारले innovation र काम गर्ने जाँगरलाई हतोत्साहित गर्ने रहेछ। व्यवस्थापन परामर्शदाताका रुपमा विभिन्न प्रकारको organization structure देखेको छु। वैकल्पिक राजनैतिक दलको रुपमा स्थापित हुन खोजेको हाम्रो पार्टीमा स्थापित खोजेको हाम्रो पार्टीमा flathierarchy सबैभन्दा प्रभावकारी हुने मेरो धारणा छ। जहाँ कसले बोल्यो भन्दा पनि के बोलियो, त्यसको गुण दोषको आधारमा छलफल हुन्छ। जहाँ उमेर वा ओहोदामा ठूलो सानो नहेरी सबैको विचारलाई उत्तिकै महत्व दिएर मनन गरिन्छ ।   पदाधिकारीसँग सल्लाह नगरी महत्वपूर्ण निर्णय पदाधिकारी भएर समेत पार्टी सम्बन्धी महत्त्वपूर्ण विषय तथा निर्णय आधिकारीक श्रोतबाट नभई अरुबाटै थाहा पाउनुपर्ने स्थिति भएकाले, पद दिएर पनि कुनै वजन नभएको महसुस गरें। कैयौं पटक विभिन्न विषयमा बैठक बसौं भन्दा समेत वास्ता नगरेको, संसदीय दलमा विद्यार्थीको विषयलाई लिएर सदन अवरुद्ध गरौं भन्दा पनि नसुनिने समेत अवस्था देखें। यसकारण यस्तो महत्त्वपूर्ण पद अब चाहीँ यसरी हलुका नालिदिनुहुन पनि आग्रह गर्छु।   पार्टीले ममाथि ठूलो आशा गरी दिएको पद त्याग गर्नुलाई मैले हल्का रुपमा पक्कै लिएकी छैन । यसले उब्जाउने थप केही प्रश्नको पनि म अग्रिम उत्तर दिएर स्पष्ट पार्न चाहान्छु –   रास्वपाप्रति मेरो प्रतिबद्धतामा केही हेरफर हुन दिने छैन । मलाई यो मञ्च र जनतामाझ पुग्ने मौका पार्टी र पूर्व सभापति रवि लामिछानेको प्रयासका कारण मात्र सम्भव भएकोमा कुनै दुई मत हुन सक्दैन । पार्टीको जिम्मेवारीबाट मुक्त भए पछि सांसद्को भूमिका अझ सशक्त रुपमा अघि बढाउने छु ।   मैले पार्टीमा अन्य कुनै पद ताकेर यो पद त्याग गरेकी हैन । म एक व्यक्ति एक पदलाई पूर्ण रुपमा अंगिकार गरी सांसद रहे सम्म केन्द्रिय सदस्य बाहेक पार्टीको अन्य पदमा दावेदारी पेश गर्ने छैन ।   पद त्याग गर्दै गर्दा पार्टीले ममाथि देखाएको विश्वासको लागि हृदयदेखि नै धन्यवाद दिन चाहान्छु । हाम्रो पार्टीमा मभन्दा सक्षम महिलाहरू हुनुहुन्छ, उहाँ मध्येबाट उपयुक्त पात्रलाई छनौट गरी रिक्त भएको सह–महामन्त्रीको पदमा नियुक्ति गरियोस् भनी अनुरोध गर्दछु । भवदीय सुमना श्रेष्ठ

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक भोलि बस्दै छ । कार्यवाहक सभापति डीपी अर्यालले बिहीबार दिउँसो ३ बजे पार्टी कार्यालयमा बस्ने गरी बैठक आव्हान गरेका हुन् ।   बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए । उनका अनुसार बैठकमा पार्टीका आगामी गतिविधि, सदस्यहरूको रिपोर्टिङ हुने जनाइएको छ।

काठमाडौं:   नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १७ गते बस्ने भएको छ ।   पार्टी केन्द्रीय कार्यालय सानेपामा वैशाख १७ गते दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।  बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।  

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेताको नेतृत्वशैलीले व्यवस्था बदलिए पनि अवस्था बदलिन नसकेको बताउनुभएको छ ।       बौद्धिक पेशाकर्मी परिषद्ले आज यहाँ आयोजना गरेको नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेतृत्वशैली बदल्नुपर्ने बताउनुभएको हो ।       “अहिले नागरिकले नेतृत्वसँग शुद्धता र योग्यता दुवै खोजेका छन्, योग्यता र शुद्धता भएको नेतृत्वले अहिलेको समस्या समाधान गर्न सक्छ,” महामन्त्री थापाले भन्नुभयो । सरकारले सेवा प्रवाह गर्न सक्नुपर्ने उल्लेख गर्दै उहाँले शिक्षक र सहकारी पीडितका समस्या समाधानमा जोड दिनुभयो ।       सांसद सूर्य थापाको नेतृत्वमा गठित संसदीय समितिले सहकारी छानबिनसम्बन्धी प्रतिवेदन दिएको लामो समयसम्म पनि रु पाँच लाखभन्दा कम बचत गरेका सहकारी पीडितले बचत फिर्ता पाउन नसकेको बताउँदै उहाँले सेवाप्रवाह छिटो र चुस्त बनाउन पार्टीले सरकार एवं मन्त्रीहरुलाई अनुरोध गरिरहेको जानकारी दिनुभयो ।       “सरकारलाई सही निर्णय गर्नुस्, रक्षा गर्छौँ, गलत निर्णय गरे प्रतिरक्षा गर्न सक्दैनौँ भनेका छौँ, गभर्नर बिचौलियाले बनाउने होइन, प्रक्रियाबाटै बन्नुपर्छ, भन्ने धारणा राखेका छौँ,” उहाँले भन्नुभयो ।       परिषद्का अध्यक्ष धु्रवराज थापाले आर्थिक, सामाजिक र राजनीतिक हिसाबले देश अप्ठ्यारो अवस्थामा रहेको उल्लेख गर्दै यस्तो अवस्थाको सुदृढीकरणमा नेतृत्वको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।       कार्यक्रममा कोशी प्रदेश, अर्थ समितिका विज्ञ ध्रुव घिमिरे, गैर आवासीय नेपाली सङ्घका राजेन्द्रकुमार राउत, खुला विश्वविद्यालयका डा चिरञ्जीवी भट्टराईलगायतले सरकारले सेवाप्रवाह समयमा गर्न नसक्दा सेवाग्राही प्रभावित भएर असन्तुष्टि बढेकामा सत्तारुढ दलका नेताको ध्यान जानुपर्ने बताएका थिए ।

नवलपुर:  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान’ नवलपुरको गैँडाकोटबाट सुरु भएको छ । झापाबाट सुरु भएको अभियान गत चैत ८ मा चितवन पुगेर स्थगित गरिएको थियो ।       अभियानका लागि सोमबार साँझ नै माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको टोली गैँडाकोट आइपुगेको थियो ।  नयाँ वर्षको अवसर पारेर नवलपुरबाट पुनः अभियान सुरु गरिएको अध्यक्ष दाहालले बताउनुभएको थियो । गैँडाकोटबाट अभियान पुनः सुरु गर्न पाउँदा खुसी लागेको अध्यक्ष दाहालको भनाइ थियो ।       अध्यक्ष दाहालसहितको टोलीले आज बिहान गैँडाकोट–४ को गैँडाकोट पम्पिङ स्किम खानेपानीबाट अभियानको सुरुआत गरेको छ । उक्त टोलीले यहाँ करिब पाँच किलोमिटर ‘मर्निङ वाक’  गरेको माओवादी केन्द्र गैँडाकोट नगर समितिका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिनुभयो । अभियानका क्रममा अध्यक्ष दाहालले गैँडाकोट–८ स्थित लखन चोकमा रहेको नेपालका प्रथम सहिद लखन थापाको सालिकमा माल्यार्पण गर्नुभएको थियो ।       अभियानका क्रममा अध्यक्ष दाहालले नगरपालिकाभित्र रहेका पार्टी निकट सहिद परिवार, शुभेच्छुकलगायतका व्यक्तिहरुसँग समेत भेटघाट र कुराकानी गर्नुभएको थियो । माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन पनि अभियानमा सहभागी हुनुहुन्छ ।       अध्यक्ष दाहालले अभियानअन्तर्गत आज दिउँसो देवचुली नगरपालिकाको रजहर, जिल्ला सदरमुकाम कावासोतीलगायतका स्थानमा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।       अभियानका क्रममा आज नवलपुर केन्द्रित कार्यक्रम रहने नगर अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान कञ्चनपुर पुगेर समापन गर्ने तयारी गरिएको छ ।

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले राष्ट्रको आजको प्राथमिकता राजनीतिक स्थायित्व, स्थायी शान्ति, दीगो विकास तथा प्रत्येक नेपाली जनताको आर्थिक, सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु रहेको उल्लेख गर्नुभएको छ ।   नयाँ वर्ष २०८२ को आगमनको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै भट्टले नयाँ वर्ष बितेका दिनको समीक्षा गर्ने र भविष्यमा गरिने कार्यहरूको योजना बनाउने अवसरका रूपमा ग्रहण गर्ने हुँदा नयाँ वर्षले जोश, जाँगर र उत्साह थप्ने विश्वास लिनुभएको छ ।   उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ – ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप मजबुत बनाउँदै समस्त नेपालीको जीवनलाई अझै उन्नत र समृद्ध बनाउन विशेष योजना, मार्गचित्र निर्माण गरी कार्यारम्भ गर्न जरूरी रहेको छ ।’   यस साझा लक्ष्यलाई प्राप्त गर्न हामी सबै नेपालीबीच एकता, पारस्परिक मेलमिलाप, भाइचारा र सौहार्दपूर्ण भावनालाई अभिवृद्धि गर्न आवश्यक रहेकोमा उहाँले जोड दिँदै नयाँ वर्षले सुशासन, समृद्धि र समाजवादको लक्ष्य हासिल गर्न तथा शान्ति प्रक्रियाका कामहरु पूरा गर्न प्रेरित गरोस् भन्ने कामना गर्नुभएको छ ।   ‘यो पुस्ता र नयाँ पिँढीको गुणस्तरीय भविष्यका लागि हामीले सामूहिकताको संस्कृति विकास गर्दै आइलाग्ने थुप्रै चुनौतीलाई सबै पक्षको सहमति र सहकार्यबाट परास्त गर्नुपर्नेछ ।’ उहाँले भन्नुभएको छ – ‘लोकतन्त्रको उच्चतम अभ्यास गर्न, यसलाई फुल्ने, फल्ने वातावरण बनाउन, लोकतान्त्रिक विधि, पद्धति र प्रक्रिया लागू गर्न एवं संवैधानिक मूल्य, मान्यता र नैतिकतालाई आत्मसात् गर्न नयाँ वर्षले सबैलाई प्रेरणा मिलोस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्दछु।’  

पोखरा:   नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएकाले उहाँलाई कारबाही गरिने बताउनुभएको छ ।   कास्कीमा शनिबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले प्रक्रियाअनुसार पूर्वराजा शाहमाथि छानबिन हुने बताउनुभयो ।   ‘त्यो कार्यक्रम हत्या, हिंसा, तोडफोड, आगजानी गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो । त्यो सम्पूर्ण कामको जवाफदेही, त्यसको योजनाकार, मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्र थिए जसलाई अब यथोचित प्रक्रियाबाट छानबिन हुन्छ भन्ने कुरा म जानकारी गराउन चाहन्छु,’ उहाँले भन्नुभयो ।    अराजकताबादलाई सघाउने र मलजल गर्ने काम गर्नु उचित नहुने पोखरेलको भनाइ थियो ।   देशलाई द्वन्द्व, हिंसामा लैजाने कुरा सरकारले राम्रोस“ग बुझेकाले छानबिन गरेर सजाय दिने पोखरेलले बताउनुभयो । ‘एउटा नागरिकले जसरी गलत काम गरेबापत दण्डको भागिदार हुनुपर्छ त्यस्तै किसिमले दण्डको भागिदार (पूर्वराजालाई) बनाउने छौं,’ उहाँले भन्नुभयो ।    उहाँले लोकतन्त्रको विकल्प वंश परम्परा र अनिर्वाचित सत्ता हुन नसक्ने बताउनुभयो ।   लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हुने उहाँको भनाइ थियो । राजाको शासनकाल र राजतन्त्र ढलेपछि विकास र जनताको जीवनस्तरमा सुधार भएको पोखरेलले दाबी गर्नुभयो ।   ‘हिजो बाटो, स्कुल र अस्पतालको अवस्था के हो ? हिजो २५१ डलर प्रतिव्यक्ति भएकोमा अहिले १४ सय डलर पुगेको कसरी बिर्सन सक्छौं,’ उहाँले भन्नुभयो, ‘हिजो र आजको तुलना गर्दा यी सबै कुरा हेर्न आवश्यक छ ।’ उहाँले आगामी निर्वाचनमा एक्लै लड्ने गरी मानसिकता बनाउन कार्यकर्तालाई निर्देशन दिनुभयो ।   नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालतर्फ इंगित गर्दै उहाँले ‘म्याजिक नम्बर’मार्फत अस्थिरता पैदा भएकाले त्यसको अन्त्य गर्न तत्काललाई कांग्रेससँग मिल्नुपरेको पोखरेलले बताउनुभयो ।    शिक्षा विधेयक र निजामति सेवा विधेयक वर्तमान सरकारले बर्खे अधिवेशनबाट पारित गर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनुभयो ।   ‘शिक्षकका माग जुन छन् ती मागलाई सम्बोधन गर्ने हिसाबले आउने बर्खे अधिवेशनमा पहिलो चरणमै त्यो शिक्षा विधेयक ल्याउने छौं र पास गर्ने छौं । समितिमा छलफल चलिरहेको कुरा भएको हुनाले त्यसलाई टुंगिने प्रक्रिया हुन्छ,’ उहाँले भन्नुभयो । आन्दोलनरत शिक्षकले वार्तामार्फत समाधान खोज्न आवश्यक रहेको उहाँको भनाइ थियो ।   एमाले कास्कीले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा तथा प्रतिगामी षड्यन्त्रविरुद्ध शनिबार पोखरामा जागरण सभा गरेको हो । सभाअघि पोखराका ३ ठाउँबाट विशाल ¥याली निकालिएको थियो ।     सभामा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ, स्थायी कमिटी सदस्य एवं गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, स्थायी कमिटी सदस्य थममाया थापालगायतले बोल्नुभएको थियो ।   एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रम सचिव दर्शन लामाले सञ्चालन गर्नुभएको थियो ।   

काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले १२ दिनको म्याद दिएको छ।   शुक्रबार काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई अनुसन्धान गर्न १२ दिनको म्याद अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।   जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न म्याद थप गरेको हो।   प्रसाईं र खड्कालाई शुक्रबार बिहान काकडभिट्टाबाट नियन्त्रणमा लिएर प्रहरीले काठमाडौं ल्याएको थियो।    शुक्रबार नै उनलाई अदालत उपस्थित गराइएको हो ।   चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन प्रसाईंकै नेतृत्वमा भएको थियो।

चैत्र १५ गतेको हिंसात्मक प्रदर्शनपछि फरार रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा आफ्नो नियन्त्रणमा लिएर काठमाडौं ल्याइँदैछ ।   तीनकुनेमा चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोप खेपिरहेका प्रसाईंलाई भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा पक्राउ गरेको  हाे ।   यसअघि प्रसाईंको सचिवालयले उनले बिहीबार आसाम प्रहरी समक्ष आत्ममसर्पण गरेको बताएको थियो ।   आसाम प्रहरीले सीमा क्षेत्रसम्म प्रसाईंलाई ल्याएर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको बताइएको छ ।    नेपाल र भारतबीचमा सुपुर्दगी सन्धि नभएकाले एकअर्काको देशमा पक्राउ परेका आरोपितहरुलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास रहँदै आएको छ ।   अर्को देशमा पक्राउ परेमा त्यहाँको प्रहरीले सीमाक्षेत्रमा ल्याएर छोड्ने र लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिएर गन्तव्यमा पुर्‍याउने अभ्यास रहिआएअनुसार प्रसाईंको हकमा पनि सोही भएको बताइएको छ ।    सोही अभ्यासका कारण बिहीबार प्रसाईं भारतबाटै पक्राउ परेको समाचार फैलिएपछि प्रहरीले खण्डन नै गरेको थियो ।