काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताहरूबिच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा समसामयिक विषय वस्तुमा छलफल हुने छ । भेटवार्तामा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, पूर्व उपप्रधानमन्त्री एवम् कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरू रहनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पोखरा: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले व्यक्तिगत कुरालाई लिएर पार्टी सङ्गठनभित्र असमझदारी बढाउन हुँदैन भन्नुभएको छ । नेपाली कांग्रेस कास्कीद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टी सङ्गठनभित्र एकआपसमा स्वच्छ प्रतिष्पर्धा हुने भए पनि यही प्रतिष्पर्धाका कारण पार्टीलाई विभाजित गराउन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी व्यक्तिगत महत्त्वाकाङ्क्षा पूरा गर्ने ठाउँ होइन, यो राष्ट्र र समाजका लागि योगदान गर्ने थलो हो । ” कांग्रेसका सस्थापक नेता बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायत नेताहरूको अतुलनीय योगदानका कारण पार्टी यस स्थानमा आइपुगेको जनाउँदै केन्द्रीय सदस्य देउवाले उहाँहरूका मार्ग निर्देशलाई आत्मसात गर्दै अघि बढ्न् जरुरी छ भन्नुभयो “उहाँहरूले धेरै ठुलो योगदान गर्नुभएको छ उहाँहरूले देखाउनुभएको मार्गदर्शनमा कांग्रेस पार्टी हिड्नु एकदमै जरुरी छ”, उहाँले भन्नुुभयो, “हामी हरेकको बोली, आचरण, व्यवहारमा पार्टीलाई कसरी बलियो बनाउने भन्ने भयो भने पार्टी बलियो बन्छ ।” आसन्न पार्टीको १५औँ महाधिवेशनमा आन्तरिक प्रतिष्पर्धा हुने भए पनि कसैलाई काखा र कसैलाई पाखा नलगाई एक ढिक्का भएर पार्टी झन बलियो र सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । नयाँ दलले सामाजिक सञ्जालको अधिकतम प्रयोग गरिरहेको प्रसंग उल्लेख गर्दै डा देउवाले कांग्रेसले सकारात्मक ऊर्जा प्रवाह गर्ने गरी सामाजिक सञ्जालको प्रभावकारी उपयोग गर्नु जरुरी भएको धारणा राख्नुयो । पछिल्ला समयमा ‘देशमा केही भएको छैन‘ भन्ने नकारात्मक भाष्यलाई बढी प्रचार गर्न खोजिएको जनाउँदै उहाँले युवा पलायनलाई रोक्दै सकारात्मक सन्देश प्रवाहका साथ देशमा नै रहने र केही गर्ने किसिमले अघि बढ्नु हामी सबैको दायित्व भएको बताउनुभयो । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले स्थापनाकालिन राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल्य मान्यतालाई भुल्न नहुने बताउनुभयो । गुट गुटमा विभाजित नभै पार्टीलाई एकताबद्ध बनाएर लैजानु अपरिहार्य भएको उहाँको भनाइ छ । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले कांग्रेस राष्ट्रका जस्तासुकै चुनौतीलाई समाधान गर्दै अघि बढ्न सक्ने पार्टी भएको बताउनुभयो ।
काठमाडौं: नेकपा (एमाले)ले आगामी भदौमा हुने दोस्रो विधान महाधिवेशनको व्यवस्थापनका लागि जिम्मेवारी बाँडफाँड गरेको छ । महाधिवेशन सफल बनाउन विभिन्न नेतालाई व्यवस्थापनको जिम्मेवारी दिइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बुधबार बसेको बैठकले महाधिवेशन प्रतिनिधिको सङ्ख्या यकिन गर्न सङ्गठन विभागलाई जिम्मा दिएको छ । १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिमध्ये कतिको मृत्यु भयो रु कतिले पार्टी छाडे ती सबै बिषय यकिन गर्न सङ्गठन विभागलाई जिम्मा दिइएको केन्द्रीय कार्यालय सचिव डा अधिकारीले जानकारी दिनुभयो । त्यसैगरी स्वास्थ्य क्षेत्रको जिम्मा स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठ, स्वयंसेवक परिचालनको जिम्मा जनसङ्गठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाललाई, सचिवालय र खानाको व्यवस्थापन कार्यालय सचिव डा अधिकारीलाई जिम्मा दिइएको छ । महाधिवेशन प्रचारको जिम्मा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमलाई, स्वागत नृत्यसहित विविध साँस्कृतिक कार्यक्रमका लागि केन्द्रीय सदस्य हेमराज राईलाई र कार्यालयको बैठकले यातायात तथा मञ्च व्यवस्थापनको जिम्मा केन्द्रीय सदस्य विनोद श्रेष्ठलाई जिम्मा दिएको जनाएको छ । महाधिवेशन प्रतिनिधिले आवासको व्यवस्था आफैँ गर्नुपर्ने छ । आवासको व्यवस्थापन गर्न नसक्ने प्रतिनिधिका सम्बन्धित जिल्ला वा प्रदेशका सम्पर्क समन्वय कमिटीले व्यवस्थापन गर्नुपर्ने छ । यसका लागि सो विभागका इन्चार्ज लालबाबु पण्डितलाई जिम्मेवारी तोकिएको छ । विधान महाधिवेशनमा दुई हजार २७९ प्रतिनिधि तोकिएका छन् । एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुँदैछ ।
हेटौंडा: बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि तय भएको शपथ ग्रहण कार्यक्रम स्थगित भएको प्रदेश प्रमुख कार्यालय हेटौँडाले जनाएको छ । कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको स्वास्थ्यमा अकस्मात् समस्या उत्पन्न भएपछि उपचारका लागि काठमाडौं प्रस्थान गरेकाले बिहीबारका लागि तय भएको शपथ ग्रहण कार्यक्रम हाललाई स्थगित भएको उल्लेख गरिएको छ । यसअघि बुधबार बिहान ९ बजेका लागि शपथको कार्यक्रम राखिएकोमा सहयात्री दल एमालेले कांग्रेसको आन्तरिक विवाद कायमै रहेको र संसदीय दलको नेतामा समेत फेरबदल आएकाले तत्काल मन्त्री नियुक्ति तथा शपथको कार्यक्रम अघि नबढाउन सुझाव दिएको थियो । मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार बिहान गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानून, माया श्रेष्ठलाई युवा तथा खेलकुद र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त गरेका थिए ।
बुटवल: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भैरहवामा बसेको छ । काठमाडौँबाट भैरहवा आइपुगेका रास्वपाका नेता तथा सांसदहरूले सहकारी ठगी आरोपमा जिल्ला कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेसँग आजै बिहान भेटेर छलफल गरेपछि संसदीय दलको बैठक बसेको हो । भिजिट भिसा प्रकरणमा पार्टीका तर्फबाट दुई महिनादेखि संसद्मा आवाज उठाउँदा पनि बेवास्ता गरिएको, संसद्मा पेस भएका विधेयकहरू अघि बढ्न नसकेको लगायतका समसामयिक राजनीतिबारे बैठकमा छलफल हुने नेताहरूले बताउनु भएको छ । आगामी कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचन हुन लागेकोले रास्वपाको संसदीय दलको बैठक त्यही क्षेत्रमा हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
मोरङ: नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार विसं २०८४ सम्म निरन्तर रहने बताउनुभएको छ। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति जनतालाई अनुभूति गर्नेगरी काम गर्नुपर्ने सुझाव दिनुभयो । कांग्रेस केन्द्रीय सदस्य डा कोइरालाले राजनीति गर्ने व्यक्तिले विभिन्न दलका नेताहरुसँग भेटघाट गर्नु सामान्य प्रक्रिया भएअनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग आफ्नो छलफल भएको स्पष्ट पार्नुभयो । नेता कोइरालाले भन्नुभयो, “राजनीति गर्ने व्यक्तिमा नैतिकता हुनु जरुरी हुन्छ अन्यथा राजनीति धराप पर्छ ।” उहाँले नेपालको संविधानले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई पुनः राजनीतिमा आउन नरोकेको बताउँदै तर आफ्नो विचारमा राजनीतिमा नफर्केको राम्रो हुने धारणा राख्नुभयो । गठबन्धन सरकार निर्माणको क्रममा भएको सात बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । एक प्रश्नको जवाफमा नेता डा कोइरालाले कांग्रेसमा अहिले संसदीय दलको नेता परिवर्तन हुने कुनै सम्भावना नरहेको बताउनुभयो । एक फरक प्रसङ्गमा उहाँले कांग्रेसको महाधिवेशन तोकिएको समय विसं २०८२ मा हुने विचार राख्नुभयो ।
हेटौडा: बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। आज भएको मत विभाजनमा मुख्यमन्त्रीसमेत रहेका दलका नेता लामाको पक्षमा १५ र विपक्षमा २२ सांसदले मत दायर गरे। प्रदेशसभामा कांग्रेसका ३७ सदस्य छन्। यससँगै अब यहाँ इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ। दलका नेता लामाविरुद्ध बानियाँ नेतृत्वमा २१ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको थियो। नेपाली नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं परिवेक्षक राजन केसीको नेतृत्वमा अविश्वासको प्रस्तावमाथि मतविभाजन भएको हो। अविश्वासको प्रस्तावमा २१ सांसदले हस्ताक्षर गरेका थिए।
हेटौंडा: बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्याम बहादुर खड्काले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री कार्यालयमा मंगलबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएका हुन् । मुख्यमन्त्रीलाई सम्बोधन गर्दै बुझाइएको पत्रमा “विभिन्न कारणले आफूले जिम्मेवारी निरन्तर बहन गर्न नसक्ने अवस्था रहेको” जनाइएको छ । खड्काले आफूले जिम्मेवारी सम्हाल्दै आएको अवधिमा सधैं निष्ठापूर्वक काम गर्न प्रयास गरेको उल्लेख गरेका छन् । पदबाट राजीनामा दिएर सांसद खड्काले ईन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने निर्णय गरेको बताएका छन् । यस अघि बागमती प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले पदबाट राजीनामा दिएका थिए। संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले दिएको राजिनामा मुख्यमन्त्री लामाले स्वीकृत नगरि पदबाट बर्खास्त गरेका थिए ।
संघीय संसद अन्तर्गत् प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ। शुक्रबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। सो विधेयक २०८१ असार ४ गते राष्ट्रियसभामा दर्ता भएको थियो। सो विधेयकलाई राष्ट्रियसभाले २०८१ चैत ४ गते पारित गरेको थियो। यो विधेयक आँखा स्वास्थ्य शिक्षाको क्षेत्रमा अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा प्रदान गर्न तथा नवीनतम् प्रविधिको विकास र विस्तार गरी आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्नसँग सम्बन्धित छ।