काठमाडौं:  मेडिकल व्यवसायी दुर्गा प्रसाईँले छिटै राजनीतिक दल खोल्ने बताएका छन्  ।  सोमबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले राजनीतिक दलहरूले बिगारेको मुलुकको अवस्थामा सुधार ल्याउन र...

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरुलाई आग्रह गर्नुभएको छ । आजदेखि सुरू भएको एमालेको केन्द्रीय कमिटीको नवौँ बैठकमा अध्यक्षता गर्दै अध्यक्ष ओलीले पार्टीभित्र वैचारिक र नीतिगत रूपमा कुनै विवाद नभएकाले सिङ्गो पार्टी पङ्क्ति एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।  अध्यक्ष ओलीले पछिल्लो समयमा एमालेको पार्टी सदस्यता एक लाख ३९ हजार ९२८ प्रतिशत० ले वृद्धि भई सङ्गठनात्मक रूपमा मजबुत भएको बताउनुभयो । उहाँले पार्टीलाई राष्ट्रिय निर्णायक शक्तिका रूपमा रुपान्तरण गर्न आह्वान गर्नुभएको एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरूलाई आफूलाई लागेको कुरा बैठकमा राख्न आग्रह गर्नुभएको र विरोधी तथा अनेक तत्वहरूले एमालेमाथि झुट र अफवाहको शैलीमा आक्रमणको निसाना बनाएकाले एकताबद्ध भएर सामना गर्न आग्रह गर्नुभएको उहाँले जानकारी दिनुभयो ।  “वैचारिक र नीतिगत रूपमा अहिले हाम्रो पार्टी एकढिक्का छ । यहाँ कुनै मतभेद छैन तर हामीलाई विवाद र विभाजन गराउने तत्वका अनेक प्रयास हुन सक्नेतर्फ सचेत भएर लाग्नुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो, “विरोधीहरूले हामीसँग विचार र काममा प्रतिस्पर्धा गर्न सक्दैनन् । झुटको सहारा लिएर गोयबल्स शैलीमा आरोप लगाउँछन् । एमालेलाई कमजोर देखाउने प्रयास गर्छन् । यस्ता आरोप र चुनौतीको सामना हामीले पहिल्यैदेखि गर्दै आएका छौँ । फेरि पनि गर्छौँ ।” नेता गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सक्रिय राजनीतिमा आउने भन्ने सन्दर्भमा उहाँ र पार्टी अध्यक्ष ओलीबीच आइतबार भएको संवाद र उक्त विषयबारे निर्णयमा पुग्नुपर्ने प्रस्ताव पनि बैठकमा आउने अपेक्षा गर्नुभयो । प्रचार विभागका प्रमुख गौतमका अनुसार बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्ठगनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुने छभने आसन्न विधान महाधिवेशनको व्यवस्थापकीय तयारीका सम्बन्धमा पनि छलफल हुनेछ ।

काठमाडौं:   दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा (एमाले) को केन्द्रीय कमिटीको नवौँ बैठक आजदेखि बस्दैछ ।  सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो ११ बजेदेखि बस्ने बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।  केन्द्रीय कमिटीको बैठक मङ्गलबारसम्म चल्नेछ । यसअघि यही साउन २ र ३ गते एमालेको पोलिटब्यूरो बैठकबाट विधान सशोधनको प्रस्ताव पारित भएको थियो । एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले विधान मस्यौदा गर्न जिम्मेवारी प्राप्त उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्ने र प्रस्तावित विधान संशोधनबारे इच्छुक केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेटभित्र आफ्ना धारणा राख्न समय दिइने बताउनुभयो ।  बैठकमा सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो सदस्यबाहेक करिब २३० केन्द्रीय सदस्यले धारणा राख्न सक्नेछन् । विधान संशोधन प्रस्तावमा पार्टीको पदाधिकारीमा ७० वर्षे उमेर हद र एकै पदमा दुुई कार्यकाल बस्न नपाइने व्यवस्था हटाउने प्रस्ताव रहेको जनाइएको छ । एमालेको विधान महाधिवेशन आगामी भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने तय भएको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सक्रिय राजनीतिमा फर्कने घोषणा गर्नुभएको विषयमा पनि केन्द्रीय कमिटीमा विषय उठ्ने जनाइएको छ 

काठमाडौं:  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतासँग सिँधै जोडिने भएकाले प्रत्यक्ष निर्वाचत प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्ने बताउनुभएको छ । सभापति देउवा निवास बूढानीलकण्ठमा आज नेपाल मतदाता अधिकार मञ्चका अध्यक्ष भक्त विश्वकर्मासहितको टोलीले ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मस्यौदामा संशोधनका लागि बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले जनतासँग सिँधै जोडिने भएकाले प्रत्यक्ष निर्वाचनभित्र समानुपालितक प्रतिनिधित्व जरुरी भएको बताउनुभयो ।   “निर्वाचन विधेयकमा आएको संशोधनका विषयमा म पार्टीभित्र र अन्य राजनीतिक दलहरूसँग पनि सल्लाह गर्छु”, सभापति देउवाले भन्नुभयो, “प्रत्यक्ष निर्वाचन प्रणाली जनतासम्म पुग्ने मुख्य आधार हो, प्रत्यक्षभित्र पनि समानुपातिक सहभागिता चाहिन्छ ।” मञ्चका अध्यक्ष विश्वकर्माले बुझाएको विभिन्न २१ बुँदे सुझावपत्रमा महिला तथा महिलाभित्रको अन्तर–सामुदायिक समावेशीलाई सम्बोधन गर्न प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलाको जनसङ्ख्याको आधारमा कम्तीमा ५० प्रतिशत उम्मेदवारको व्यवस्था गरिनुपर्ने, दलित महिलालाई अल्पसङ्ख्यक महिलाहरूद्वारा प्रतिस्थापन गर्ने प्रस्तावमा दलित महिलालार्ई राजनैतिक सहभागिताको अधिकारबाट वञ्चित गर्ने हुँदा उक्त संशोधनको व्यवस्थालाई अविलम्ब हटाउनुपर्नेमा जोड दिइएको छ ।  पहिलो हुने निर्वाचित हुने निर्वाचनमा महिला र दलितका लागि चक्रीय प्रणालीबाट निर्वाचन क्षेत्र तोकिने गरी महिलाका लागि ५० प्रतिशत दलितका लागि १३ प्रतिशत निर्वाचन क्षेत्र आरक्षित गर्नुपर्ने उहाँहरूको माग छ ।

काठमाडौं:   नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टी कार्यालय च्यासल पुग्नुभएको छ ।  आइतबार दिउँसो एमाले पार्टी कार्यालय च्यासल पुगेर पूर्व राष्ट्रपति भण्डारीले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीसँग भेट गर्न लाग्नुभएको हो ।  भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । 

काठमाडौं:  जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । ‘जनताका तमाम अपेक्षाको सम्बोधन हुन नसकेकाले वर्तमान सरकारलाई पार्टीले गर्दै आएको समर्थनको कुनै औचित्य एवं अर्थ नरहेकाले उक्त समर्थन फिर्ता लिई अब उप्रान्त विपक्षमा बस्ने निर्णय गरियो’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । सरकारले सुशासनको प्रत्याभूति गराउन नसकेको, मुलुकको अर्थतन्त्रलाई सुधार गरी आर्थिक विकासको गतिलाई अगाडी बढाउन नसकेको, सङ्घीयताको प्रभावकारी कार्यान्वयन नभएकोे जनाएको छ ।

काठमाडौं:   नेकपा एमालेकी राष्ट्रियसभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मंगलबार अपराह्न नियुक्त गरेका हुन् । यसअघि सो मन्त्रालय सम्हालेका राजकुमार गुप्ताले ७८ लाख रुपैयाँ घुस डिलसम्बन्धी अडियो प्रकरणमा मुछिएपछि मंगलबार नै राजीनामा दिएका थिए । न्यौपाने एमालेकी तिनै नेता हुन् जो २०७४ सालको स्थानीय तह चुनावमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् । 

झापा:  प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको एकतालाई मजबुत बनाएर संकल्पका साथ लाग्ने हो भने एमालेलाई अरुले हराउन नसक्ने बताउनुभएको छ।  नेकपा (एमाले) को जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले एमालेमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभको अवसर लिएका कतिपय स्वार्थी नेताहरूले विगतमा पार्टी विभाजन र पार्टी सिध्याउने षड्यन्त्र गरे पनि कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः  राष्ट्रिय शक्ति बनाएको बताउनुभयो।  केपी ओलीविनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरुको खेल भएको टिप्पणी गर्दै  उहाँले पार्टीभित्र र बाहिरबाट भइहेको षड्यन्त्र चिर्दै ढुक्कका साथ पार्टीको सही नीति र नेतृत्वको पक्षमा लाग्न आग्रह गर्नुभयो। ‘एमालेविनाको देश र केपी ओली विनाको एमाले होस् भन्ने कामना गर्नेहरूको कामना पुरा हुँदैन। एमाले साना स्वार्थ बोक्ने पार्टी होइन। यसको काँधमा देश बनाउने महान उद्देश्य छ। यो राष्ट्रिय हितका लागि बलिदानबाट आएको पार्टी हो’, अध्यक्ष ओलीले भन्नुभयो, ‘एमालेविरुद्ध जाल बुन्नेहरु सफल हुँदैनन्। माकुरोको जालोमा कहिल्यै भैसी पर्दैन। हाम्रा विरुद्धको भ्रामक प्रचारको पछि लाग्नु हुँदैन। केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन। हामी  सहकारी ठगेर मुद्दा  झेलेपछि आफ्नो पक्षमा हस्ताक्षर अभियान चलाउने रास्वपाजस्तो हुँदै होइन।’’  उहाँले नेपाललाई एमालेले नसके अरु कसैले बनाउन नसक्ने स्पष्ट गर्दै आफू प्रधानमन्त्री भएपछि फलामखानी र पेट्रोलियम पदार्थको उत्खनन, सुरुङमार्ग निर्माणजस्ता अनेकौं  विकास र समृद्धिका काम थालनी भएको र त्यसको प्रतिफल आउन थालेको बताउनुभयो।  अहिले नेपालको अन्तर्राष्ट्रिय छवि देखिने र सुनिने अवस्थामा रहेको उल्लेख गर्दै उहाँले पछिल्लो स्पेन भ्रमणको सफलता सुन्न नचाहने विपक्षीले वाइसिएल प्रयोग गरेर स्पेन भ्रमणमा मान्छे छाडेर आयो भन्ने दुस्प्रचार गरेको जनाउनुभयो।

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘भिजिट भिसा’ प्रकरणमा छानबिन गर्न सामान्य प्रशासनिक समिति बनाएर आफूहरुको माग बेवास्ता गरेको जनाउँदै प्रतिनिसभाको आजको बैठक बहिस्कार गरेका छन् । बैठक प्रारम्भ हुनासाथ  रास्वपाका सांसद सोविता गौतमले भिजिट भिसा छानबिनका लागि उच्चस्तरीय आयोग वा संसदीय छानबिन समिति गठन नभएसम्म सदनको बैठक बहिस्कार जारी रहने जानकारी दिनुभयो ।  “नागरिक बेचिने र मुलुकको छविमा आँच आउने विषयमा पनि स्वार्थ बाझिने, आफू मातहतको र कनिष्ठ कर्मचारी सम्मिलित टालटुले प्रशासनिक समिति बनाएर झेली खेल खेलेको छ”, उहाँले भन्नुभयो, “हाम्रो कुरा सरकारले नसुनेका कारण निरन्तर संसद् बहिस्कार गरिरहेका छौँ ।” राप्रपाका सांसद अनिशा नेपालीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरिएको भए पनि सामान्य समिति गठन गरेर आलटाल गरेको बताउनुभयो । उच्चस्तरीय छानबिन आयोग नबनेसम्म राप्रापाले संसद् बैठक बहिस्कार गर्ने जानकारी दिनुभयो ।  उहाँले देशका विभिन्न स्थानमा प्राकृतिक विपद्बाट ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै विपद् प्रभावित नागरिकलाई उचित राहत दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । रास्वपा र राप्रपाका तर्फबाट गौतम र नेपालीले आ–आफ्ना धारणा राखेपछि दुई दलका सांसदहरु बैठककक्षबाट बाहिरिनुभएको थियो । रास्वपा र राप्रपाले भिजिट भिसाको दुरुपोग सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग वा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ ।   बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सुनिता बरालले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई लिएर रास्वपाका तर्फबाट गरिएको टिप्पणीप्रति आपत्ति जनाउनुभयो ।

काठमाडौं:  नेपाली कांग्रेसले संविधान संशोधनलाई सार्थक निष्कर्षमा पुर्‍याउन कार्यदल गठन गर्ने निर्णय गरेको छ । कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट नेकपा एमालेसँग भएको सहमतिअनुसार संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको हो । उक्त कार्यदलले पार्टीभित्र संविधान संशोधनका विषयमा छलफल चलाउने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कार्यदलले संविधान निर्माणमा सहकार्य गरेका दलहरू एवं अन्य दलहरू, संविधान निर्माणमा योगदान गरेका विज्ञ, विशेषज्ञ एवं सरोकारवाला नागरिक समाजसँग संवाद गर्ने बताइएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा एवं कार्यान्वयनको मूल दायित्व र जिम्मेवारी पार्टीको नै भएको कुरामा स्पष्ट र पूर्ण प्रतिवद्ध रहेको कांग्रेसले दोहोर्‍याएको छ । संविधान कार्यान्वयनको एक दशकमा देखिएका चुनौती र जटिलताको समीक्षा गर्दै यसको गतिशील कार्यान्वयनका लागि समयानुकूल संशोधन गर्नुपर्छ भन्ने विश्वासका साथ ७ बुँदे सहमतिमा संविधान प्रारम्भ भए पश्चात् अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनैतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने’ भन्ने विषय महत्वका साथ उल्लेख गरिएको कांग्रेसले स्मरण गरेको छ ।