काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू निलो रिबन गलामा भिरेर संसद् भवन पुगेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन र उनको राजीनामा माग गर्दै आएको रास्वपाका सांसदहरू आज निलो रिबन भिरेरै संसद् भवन प्रवेश गरेका हुन्। रास्वपाका सांसद तथा कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार मानव तस्करीविरुद्धको अभियानलाई विश्वभर ुनिलो रिबनुको प्रतिकले जनाउने भएकोले आफूहरू त्यस्तै गरी प्रस्तुत भएको बताए। रास्वपा गत जेठ १३ गतेदेखि लगातार सदनमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने भन्दै विरोध जनाउँदै आइरहेको छ। तर सत्तापक्षले भने यसलाई इन्कार गरिरहेका छन्।
चितवन: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताउनुभएको हो । दाहालले भन्नुभयो, “यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपाईहरुले पनि थाहा पाउनुभएको छ र हामीले पनि थाहा पाएकै छौँ ।” यस विषयमा छानबिन र नीतिगत सुधार गर्नुपर्ने उहाँको भनाइ छ । यो मुद्दालाई त्यत्तिकै नछाड्ने उहाँले बताउनुभयो । यसका लागि जरुरी परे संविधान संशोधन, ऐन निर्माण र नीतिगत निर्णय गर्नु परे पनि गरिने उहाँको धारणा छ । उहाँले भन्नुभयो, “मैले छोडेर पनि यो मुद्दा नेपाली जनताले छाड्ने कुरा हुँदैन ।” प्रचण्डले आफूहरु प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले संविधानका निम्ति, ऐन कानुनका निम्ति, सिस्टमका निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ ।” अध्यक्ष प्रचण्डले बजेट पारित गर्नुपर्ने, सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने लगायतका जिम्मेवारीबोधका साथ ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा संसद्को अवरोध खुलाउन सहमति गरिएको स्पष्ट पार्नुभयो । संविधानको रक्षार्थ आफूहरूले दुई बुँदे सहमति गरी सत्ता पक्षकै जस्तो भूमिका निर्वाह गरेको उहाँले बताउनु भयो। काँग्रेस एमालेको दुई तिहाइ भए पनि संविधान रक्षार्थ माओवादी पार्टी पनि सत्तापक्ष जस्तै जिम्मेवार बन्नुपर्ने अवस्था रहेको उहाँको भनाई थियो ।
काठमाडौंः प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जारी राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिस्कार गरेको छ । यी दुई प्रतिपक्षी दल भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै विरोधमा उत्रिएका हुन् । बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट माथि छलफल चलिरहँदा रास्वपा सांसदहरुले नाराबाजी गरिरहेका छन् । आजको बैठक सुरुभए लगत्तै आकस्मिक समयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिपक्ष दलहरुको विरोधकै बीच संसद् अघि बढ्दा आफ्नो दलले बहिस्कार गर्ने बताउनुभएको थियो । “संसदमा रहेका राजनीतिक दलहरुबीच गणितमा फरक होला तर कुनैपनि विचारलाई निषेध गर्ने व्यवस्था संविधानमा छैन, सभामुख एक सिट भएका राजनीतिक दलको पनि अविभावक हो । अहिले दुई दलले विरोध जारी राख्दा बैठक सञ्चालन गरिनु संसदीय मर्यादाअनुकुल हुँदैन”, लिङ्देनले भन्नुभयो, “जबसम्म जबरजस्ती बैठक सञ्चालन हुन्छ, राप्रपाले बहिस्कार गर्छ । बहिस्कार गरेको बैठकको भत्ता सरकारको राजस्वमा जम्मा गर्ने व्यवस्था गर्न आग्रह छ ।” आकस्मिक समयमा रास्वपा सांसद सन्तोष परियारले भिजिट भिसा प्रकरणबारे छानबिन समिति गठनको माग दोहोर्याउनुभयो । बैठकमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ । बजेटमाथिको छलफल जारी छ ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा बहिष्कार गरेको असार १ गतेको संसद भत्ता नलिने निर्णय गरेको छ । राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संघीय संसद सचिवालयलाई एक पत्र पठाउँदै असार १ गते आइतबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरिएकाले उक्त दिनको भत्ता अस्वीकृत गरिएकाले राजश्वमा फिर्ता गरिदिन आग्रह गरेका छन् । भिजिट भिसा प्रकरणमा प्रतिपक्षीको विरोधका बावजुत बैठक सञ्चालन गरिएको भन्दै राप्रपाले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको थियो । राप्रपाले पत्रमा भनेको छ, ‘उक्त दिनको बैठक भत्ता लिनु नैतिक र सैद्धान्तिक रूपमा उचित नहुने ठहर गर्दै राप्रपा संसदीय दलले मिति २०८२ असार १ गतेको संसद बैठकको भत्ता नलिने निर्णय गरेको व्यहोरा यसै पत्रमार्फत जानकारी गराउँदछौँ ।’
काठमाडौं: सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ प्रतिनिधि सभामा पेश गरिएको छ । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले उक्त प्रतिवेदनमा संसद्मा पेश गरेका हुन् । प्रतिनिधि सभाको २०८१ जेठ १५ गतेको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवासर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि संशोधनसहित दफावार छलफलका लागि प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम सम्बन्धित समितिमा पठाउने निर्णय गरेको थियो । दफावार छलफल गर्ने क्रममा २०८१ भदौ २० गते समितिको बैठकमा नेपाल सरकारको तर्फबाट उक्त विधेयक ल्याउन पर्नाको कारण उद्देश्य र औचित्यबारे विभागीय मन्त्रीले जानकारी गराएका थिए । विधेयकमा १५३० वटा संशोधन प्रस्ताव परेको थियो । विधेयक प्रतिवेदन समितिबाट पारित गर्दासम्म समिति र उपसमिति गरी ४७ वटा बैठक सञ्चालन भएको सभापति खतिवडाले जानकारी दिए । यो विधेयक संविधानपछिको सबैभन्दा महत्वपूर्ण विधेयक रहेको पनि उनले दाबी गरे । समितिले समितिमा पेश गरेको प्रतिवेदनको नाम ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवासर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन’ राखेको छ ।’
काठमाडौं: नेपाली कांग्रेसले आगामी असार १५ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यका साथ बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यको उपस्थितीका लागि अनुरोध गरिएको मुख्यसचिव पौडेलको भनाइ छ ।
मुस्ताङ: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुस्ताङमा पार्टीको भवन शिलन्यास गर्नुभएको छ । दुई दिने भ्रमणका लागि मुस्ताङ आउनुभएका अध्यक्ष प्रचण्डले घरपझोङ गाउँपालिकाका–४,जोमसोममा दुई तले पार्टी भवनको शिलन्यास गर्नुभएको हो । पार्टी भवन शिलन्यास कार्यक्रममा अध्यक्ष प्रचण्डले मुस्ताङको समस्यालाई सम्बन्धित निकायको ध्यानार्कषण गराउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मेरो मुस्ताङ भ्रमण अविस्मरणीय रह्यो, यहाँका जनताले भोगेका समस्याका बारे मैले निरन्तर खवरदारी गर्ने छु ।’’ अध्यक्ष प्रचण्डले जलवायु परिवर्तनको असरलाई मुस्ताङमा आएर नजिकबाट महसुस गर्न पाएको बताउनुभयो । उहाँले पार्टीको गतिविधिलाई सहज बनाउन समेत भवनसहितको संरचना आवश्यकता हुने बताउनुभयो । मुस्ताङ भ्रमणको क्रममा उहाँले पार्टीको जिम्मेवारी सम्हालेकालाई सपथग्रहण, कार्यकर्ता प्रशिक्षण, जनभेटघाट, अवलोकनसहित जिल्लामा भइरहेका विकास निर्माणका बारेमा अवलोकन गर्नुभएको थियो ।
काठमाडौं: प्रतिनिधि सभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ। बुधबार दिउँसो बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलले अवरोध गरेपछि बैठक बिहीबारका लागि सरेको हो। बुधबार दिउँसो १ बजेका लागि बोलाइको बैठक सभामुख र प्रमुख दलका प्रमुख सचेतकसँगको छलफलपछि दिउँसो ३ः१५ बजेका लागि सरेको थियो। तोकिएको समयभन्दा केही ढिला सुरु भएको बैठकमा प्रतिपक्षी दलले अवरोध गरेपछि समामुख देवराज घिमिरेले बिहीबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराउनुभएको हो। प्रतिनिधिसभाको अवरोध खुलाउने सन्दर्भमा सत्तापक्ष र प्रतिपक्षी दलहरूबिच निरन्तर प्रयास भइरहे पनि सहमति जुट्न सकेको छैन। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि प्रतिपक्षी दलले सदन अवरोध गर्दै आएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले दुई सातादेखि निरन्तर बैठक अवरोध गर्दै आइरहेका हुन् ।
काठमाडौं: सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने तयारी छ । ‘भिजिट भिसा’ प्रकरणलाई लिएर विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटकपटक सहमतिका लागि दलहरूबीच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।