पोखरा: राष्ट्रिय युवा संघ नेपालको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पोखरा सभागृहमा मंगलबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो । आगामी नेतृत्वका लागि क्षितिज थेबे र सुमन पुरीले उम्मेदवारी दिएका छन् । सुरुमा भोटिङ पनि उनीहरूले नै गरेका छन् । निर्वाचनका लागि ४२ इलेक्ट्रिक मेसिन राखिएको छ । हरेक प्रदेशको लागि फरक फरक बुथ राखिएको छ । थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् । पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन् । महासचिवमा थेबे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन् ।
ललितपुर: पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिको पक्षमा पार्टी एकतालाई अगाडि बढाएको बताएका छन् । नेकपा (माओवादी केन्द्र)र समाजवादी पार्टीबीच पार्टी समायोजनका लागि आज ललितपुरमा आयोजित कार्यक्रममा उनले गत आमचुनावदेखि नै एकताको पक्षमा छलफल चलाएको र विचार, राजनीतिक आस्थाका आधारमा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया निरन्तर जारी रहेको उल्लेख गरे। ‘सबै कम्युनिस्ट एक ठाउँमा हुँदा जनमत ठूलो हुन्छ, यो एकताले ठूलो ढोका खोल्नेछ, महेन्द्र राय यादवसँग पनि छलफल भइ नै रहेको छ । पार्टीको नामको कारणले उहाँ महाधिवेशनसम्म बहिरै हुन चाहनु भएको छ, उहा पनि यो एकता प्रक्रियामा समाहित हुनुहुनेछ’, प्रचण्डले भने, ‘गंगानारायण श्रेष्ठले जे प्रतिबद्धता गर्नुभएको छ, त्यो सराहनीय छ ।’ आज सुरु भएको प्रयास दूरगामी राजनीतिक महत्त्वको प्रयास भएको बताउँदै उनले आजको प्रयासले शक्तिशाली समाजवादी आन्दोलनलाई अगाडि बढाउने धारणा राखे। आफूसहित नेपाल समाजवादी पार्टीका नेताहरूलाई नेकपा (माओवादी केन्द्र)मा समायोजन भएको अवसरमा गरिएको समझदारी पत्रमा हस्ताक्षर गरेपछि नेता गंगानारायण श्रेष्ठले नेताहरूको दोष नहुँदानहुँदै पनि समृद्धिको यात्रामा समाजवाद निर्माणका लागि बहसलाई अगाडि बढाउने क्रममा पार्टी छिन्नभिन्न हुन पुगेको बताए। उनले विगतको प्रयोगबाट नेपालको समृद्धि हासिल गर्ने परिणाम आउन नसकेको तर्क गरे । नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिमा रहेका दुई तिहाइ सदस्यले अनुमोदन गरेर एकतामा आएको श्रेष्ठले स्पष्ट पारे। उनले हिजो जानअन्जानमा गरेका गल्तीबाट देश र पार्टीले क्षति भोग्नुपरेको भन्दै विचार र राजनीतिक एजेन्डा मिल्नेहरू छुट्टाछुट्टै भएर बस्नु आवश्यक नभएकाले एकता प्रक्रियामा सामेल भएको बताए। महासचिव देव गुरूङले समाजवादी क्रान्तिका लागि यसका पक्षधरसँग एकतालाई निरन्तरता दिने जानकारी गराए। उनले जनवादी केन्द्रीयताको मान्यता अनुरूप पार्टी अगाडि बढ्ने जानकारी गराए। दुई पार्टीबीच पार्टी समायोजनपश्चात् गंगानारण श्रेष्ठलाई सचिवको जिम्मेवारी दिइएको महासचिव गुरूङले जानकारी दिए।
काठमाडौं: नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सोमबार बसेको माओवादी पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा छानविनका लागि रमेश लेखकले राजिनामा दिएर मार्गप्रसस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो । बैठकपछि माओवादी प्रवक्ता अग्नि सापकोटाले गृहमन्त्रीले तुरुन्त राजीनामा दिएर छानबिनलाई सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको बताउनुभयो । उहाले राज्यका निकायहरूले छानबिन नै सुरु गरिसकेको अवस्थामा शक्तिको दुरुपयोग हुन नदिन पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने जिकिर गर्नुभयो । गृहमन्त्रीले राजीनामा दिन ढिला गरे राज्यको साख गिर्दै जाने उहाँले बताउनुभयो । त्यस्तै पदाधिकारी बैठकले मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान सफल भएको निष्कर्ष निकालेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । उहाले अभियान निकै प्रभावकारी भएको र जनताको उपस्थीति र आकर्षण गुणात्मक ढंगले बढेको पार्टीको निष्कर्ष रहेको उल्लेख गर्नुभयो ।
काठमाडौं: नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको दाबी गरेको छ । सोमबार बसेको पदाधिकारी बैठकले लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए । बैठकपछि उनले भने, ‘उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौँ । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’ आजै बसेको माओवादी बैठकले भने लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ । यस्तै प्रतिपक्षी दलहरूले मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्धको तयारी गरेका छन् ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अनेरास्ववियुमा उमेर हद ३२ वर्ष तोक्ने निर्णय गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोकिएको एमालेले जनाएको छ । एमाले सचिव पद्म अर्यालले अनेरास्ववियुको उमेर हदसम्बन्धी भएको निर्णय चाँडै सर्कुलर गरी जानकारी गराउने बताउनुभयो । उहाँले अन्य पार्टीले आफ्नो विद्यार्थी सङ्गठनमा उमेर हदबन्दी लगाएको सन्र्दभमा एमाले अनेरास्वविुमा पनि उमेर हद लागू हुने बताउनुभयो । यसअघि नेपाल विद्यार्थी सङ्घले र अनेरास्ववियु (क्रान्तिकारी) ले ३२ वर्ष उमेर हद तोकेको थियो । एमालेले राष्ट्रिय युवा सङ्घमा ४० वर्षे उमेर हद तोकेको छ । अनेरास्ववियुको महाधिवेशन यही जेठ २५ देखि २७ गते काठमाडौँमा तोकिएको छ ।
काठमाडौं: समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु छलफलमा जुटनु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा जारी बैठकमा यसै साता सदनमा पेश हुन लागेको आगामी आर्थिक बर्ष २०८२/०८३ बजेटको तयारी साथै समसायीक राजनीतिक विषयहरुमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चले दिएको आदेश, पछिल्लो राजनीतिक घटनाक्रम, भिजिट भिसामा जानेहरूबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको चर्चालगायत विषयमा छलफल हुने बताइएको छ । यसअघि रास्वपाले शनिबार सचिवालय र केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठक गरेको थियो ।
काठमाडौं: नेकपा एमालेको सचिवालयको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पार्टीको गतिविधि, समसामयिक राजनीति, सरकारको कामकारबाहीलगायत विषयमा छलफल हुने बताइएको छ ।
पोखरा: गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले आफूले राखेका मागहरू बारम्बार उपेक्षा हुँदै आएको भन्दै राजीनामा दिने चेतावनी दिएका छन् । शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा राजीनामाको नमूना सार्वजनिक गर्दै शेरचनले गम्भीर असन्तुष्टि जनाएका हुन् । शेरचन नेपाली कांग्रेसका तर्फबाट मुस्ताङ (२) बाट गण्डकी प्रदेशसभामा निर्वाचित सांसद हुन् । सभामुखलाई सम्बोधन गरी फेसबुकमा सार्वजनिक गरिएको राजीनामा पत्रमा शेरचनले लेखेका छन्, ‘श्रीमान्, गहिरो आत्ममन्थनपछि म, गण्डकी प्रदेशसभाको सदस्य विकल शेरचन, पदबाट तत्काल लागू हुने गरी राजीनामा दिन चाहन्छु।’ उनले अघिल्लो र चालु वर्षको बजेटमा समेत दुर्गम क्षेत्रका आवश्यकताहरू बेवास्ता गरिएको आरोप लगाएका छन्। ‘मुस्ताङ जस्तो संवेदनशील, भौगोलिक रूपमा जटिल र सम्भावनायुक्त जिल्लालाई प्राथमिकतामा राखिनुपर्ने हो, तर बजेट निर्माण प्रक्रियाले यसलाई निरन्तर पछाडि पार्ने प्रवृत्ति देखाएको छ,’ शेरचनले लेखेका छन् । उनका अनुसार पूर्वाधार विकास, आर्थिक सशक्तीकरण, उच्च हिमाली स्वास्थ्य जोखिम न्यूनीकरण, जलवायु अनुकूलन र युवाका लागि अवसर सिर्जना गर्नेजस्ता विषयमा आफूले दिएको आग्रह उपेक्षित हुँदै आएको छ । राजीनामालाई उनले आन्तरिक असहमति र राजनीतिक प्रणालीप्रतिको गम्भीर चिन्ताको अभिव्यक्ति भनेका छन्। ‘यो कुनै भागदौड होइन, बरु एक जिम्मेवार अपिल हो । यसले हाम्रो राजनीतिक र नीतिगत प्रणालीलाई आत्मसमीक्षा गर्न प्रेरणा देओस् भन्ने मेरो आशा छ,’ उनले भनेका छन् ।