संविधान विरोधी गतिविधि स्वीकार्य छैन: गृहमन्त्री लेखक
पाेखरा | बैशाख ५, २०८२

गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ ।
गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै उहाँले पूर्वराजावादी या अरु कुनै पनि नाममा हुने संविधानविरोधी गतिविधि तथा अस्थिरता निम्त्याउने काम कुनै पनि हालतमा क्षम्य नहुने बताउनुभयो ।
मन्त्री लेखकले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त वर्तमान संविधानको रक्षाका लागि सबै तयार हुनुपर्ने बताउनुभयो ।
नेपालमा सात दशकको अन्तरालमा सात वटा संविधान बनेको उल्लेख गर्दै उहाँले वर्तमान संविधान संसारकै उन्नत लोकतान्त्रिक संविधान भएकाले यसैमार्फत हरेक समस्याको समाधान सम्भव भएको धारणा राख्नुभयो ।
“संविधानभित्र रही आलोचना, समालोचना तथा विभिन्न गतिविधि गर्न पाइन्छ । संविधानविरोधी गतिविधिका माध्यमबाट हत्याहिंसालाई प्रश्रय दिने, संविधान फाल्छु भन्नेजस्ता अराजक गतिविधि गर्न पाइँदैन । गरिएमा कानुनअनुसार कारबाही हुन्छ”, मन्त्री लेखकको भनाइ थियो,“संविधानको रक्षा आजको आवश्यकता हो । वर्तमान संविधान निर्माणको १० वर्षे हुँदैछ । यस अवधिको आवश्यक समीक्षासहित सम्बद्ध सबैसँग सहमति कायम गरेर आवश्यकताका आधारमा संशोधन गर्दै थप सुधारको प्रयास गरिने छ ।”
पछिल्ला वर्षमा लागुऔषधको बढ्दो प्रयोग, आत्महत्या, सवारी दुर्घटना, साइबर अपराध, प्राकृतिक विपद् आदि चुनौतीका रूपमा देखापरेकाले यी सबै चुनौतीको समाधान गर्नेतर्फ सरकार निरन्तर क्रियाशील उहाँले बताउनुभयो ।
साथै, सेवा प्रवाहलाई प्रभावकारी बनाउनु अपरिहार्य भएको उल्लेख गर्दै मन्त्री लेखकले जनतालाई सेवा दिने कुरामा कुनै कसर बाँकी नराख्न आग्रह गर्नुभयो ।
उहाँले जिल्लामा प्रमुख जिल्ला अधिकारीलगायतको रूपमा सङ्घी सरकारका प्रतिनिधि रहेकाले यस कार्यालयले सङ्घ, प्रदेश र स्थानीय तहबीच आपसी समन्वय गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । सेवालाई नागरिकमैत्री तथा प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने पनि उहाँको भनाइ थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश प्राकृतिक विपत्तिका दृष्टिबाट पनि जोखिमपूर्ण रहेका भन्दै जोखिमलाई समाधान गर्नेतर्फ सरकार निरन्तर लागिपरेको बताउनुभयो । बाढी, पहिरा, भूकम्पलगायत विपद् प्रतिकार्यमा सरकार निरन्तर लागिपरेको उहाँले बताउनुुभयो ।
मुख्यमन्त्री पाण्डेले प्रदेशमा सम्भाव्य प्राकृतिक विपत्तिलाई लक्षित गरी रु १० करोडमा नघट्ने गरी कोषसमेत विनियोजन गर्दै प्रतिकार्यका लागि आवश्यक उपकरणलगायतमा सहयोग गरिँदै आएको बताउनुुभयो । गत वर्ष कोरला नाका सञ्चालनसमेत गरिएको बताउँदै उहाँले त्यसलाई थप व्यवस्थित गर्दैै अघि लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सुरक्षा गोष्ठीमा प्रदेशअन्तर्गत सबै जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थिति छ । मन्त्री लेखकले आजै सङ्घ मातहत रहेको आपतकालीन गोदामघर गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुभएको थियो । एक समारोहका बीच मन्त्री लेखकले प्रदेशका मुख्यमन्त्री पाण्डेलाई आपत्कालीन गोदामघर हस्तान्तरण गर्नुभएको हो ।
गण्डकी प्रदेशमा आपत्कालीन बन्दोबस्ती क्षमता अभिवृद्धि गर्न निर्माण गरिएको आपत्कालीन गोदामघरले सङ्कटका समयमा तत्काल प्रभावकारी बन्दोबस्ती सहायता सुनिश्चित गर्ने गृहमन्त्री लेखकले बताउनुभयो ।
गण्डकी प्रदेश प्राकृतिक जोखिमका दृष्टिबाट समेत जोखिमपूर्ण रहेको बताउँदै उहाँले गोदामघरले यहाँ हुने विभिन्न प्राकृतिक विपत्तिमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि केन्द्र, प्रदेश र स्थानीय तहबीचको सहकार्य आवश्यक भएको उहाँले बताउनुभयो ।
गोरखा: उत्तरी गोरखाको मनास्लु पदमार्गमा निस्कने फोहर सङ्कलन र व्यस्थापनका लागि विभिन्न ४० स्थानमा ‘डस्टबिन’ राखिएको छ । स्थानीयवासीको सहभागितामा फोहर व्यवस्थापनका लागि पदमार्गमा &ls...
सुर्खेत: तुइन हटाउने नीति लिएको कर्णाली प्रदेशले तथ्याङ्क सङ्कलन गरेको छ । तथ्याङ्कअनुसार १० जिल्लामा सङ्कलित तथ्याङ्कअनुसार ५० वटा तुइन रहेको प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्ज...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक भ्रमण निश्चित भएको छ । उहाँको भ्रमणको मिति करिब निश्चित भएकाले परराष्ट्र मन्त्रालय तथा अन्य सरोकार भएका मन्त्रालय र निकायले आ&ndash...