पोखरा: नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माको सभापतित्वमा सम्पन्न बैठकले पार्टी संगठनको सुदृढीकरण लगायतका सम्बन्धमा विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । बैठकले पार्टीको गण्डकी प्रदेश सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकले यही मंसिर १३ र १४ गते हुने महासमिति बैठकका लागि प्रदेशका तर्फबाट प्रस्तुत हुने प्रस्ताव तथा सुझाव तयार गर्न महामन्त्री किरणबाबु श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । बैठकले प्रदेशबाट जिल्लाका प्रदेश क्षेत्रहरूमा खटाइएका प्रतिनिधिबाट प्राप्त प्रतिवेदनको अध्ययन एवम् कार्यान्वयन गर्नका लागि महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा ध्रुव शर्मा पगेनी र शोभा अधिकारी सदस्य रहनुभएको उपसमिति गठन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले यही असोज २५ गते शुवर्ण शमशेर स्मृति विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकले विरेन्द्रप्रसाद मण्डलको संयोजकत्वमा लेखा समिति गठन गर्ने निर्णय गरेको छ । उक्त समितिका सदस्यमा तेजबहादुर कुँवर र पदमबन्धु पोख्रेल रहनुभएको छ । उक्त वैठकमा वीपी स्मृति पुस्तकालय गण्डकी प्रदेश समितिले भाद्र २४ गते ११० औ वीपी जयन्तीको अवसरमा आयोजित सम्मान कार्यक्रम एतिहासिक रहेको र अनुकरणीय कार्य गरेकोमा कृतज्ञता सहित बधाई ज्ञापन गरिएको थियो । बैठकले प्रदेश समिति सदस्य एवम् स्वास्थ्य विभाग संयोजक नारायण बरालको असामयिक स्वर्गारोहण भएकोमा शोक प्रस्ताव पारित गरेको छ । त्यस्तै इजरायलमा भएको सांघातिक हमालामा परी निधन भएका १० जना नेपाली विद्यार्थीको निधनमा शोक व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै फसेका नेपालीको शीघ्र उद्धार गर्न आग्रह गरिएको छ । गण्डकीमा फैलिएको डेगुको प्रकोप नियन्त्रणका लागि बैठकले सरकारको ध्यानकर्षण गराएको छ । बैठकमा नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले पार्टी संगठनलाई बलियो बनाउँदै लैजानु वर्तमानको आवश्यकता भएको बताउनुभयो । पार्टीको कार्यसमिति र पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिबीच समन्वय हुनु जरुरी रहेको बताउँदै उहाँले उहाँले पार्टीका नीति तथा सिद्धान्त अनुसार जनप्रतिनिधिहरू कृयाशिल हुनुपर्ने धारणा राख्नुभयो । त्यसैगरी उक्त वैठकमा सभापति शर्माले पार्टीलाई कमजोर हुने गरि कसैलेपनि जथाभावीरुपमा अभिव्यक्ति नदिनकोलागि अनुरोध गर्नुभएको थियो । नेपाली काँग्रेस संसदीय दल गण्डकी प्रदेशका नेता एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आँफू पार्टी संगठनसँग निरन्तर समन्वय गर्दै अघि बढीरहेको बताउनुभयो । एकतावद्ध रुपमा अघि बढ्न सकेमा पार्टी बलियो बन्ने उल्लेख गर्दै उहाँले सबै मिलेर विद्यमान समस्याको समाधान गर्न सकिने बताउनुभयो । नेपाली कांग्रेस नवलपुरका सभापति एवम् गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले कृषि क्षेत्रको विकासलाई प्राथमिकताका साथ अघि बढाइएको बताउनुभयो । पार्टीको नीति तथा आदर्शमा रही जनताले अपेक्षा गरे अनुसारका कामलाई अघि बढाउने कुरा आफ्नो प्राथमिकतामा रहेको उहाँले बताउनुभयो । नेपाली कांग्रेस तनहुँका सभापति एवम् गण्डकी प्रदेशका अर्थ मन्त्री जीतप्रकाश आलेले पार्टीको अधिवेशनमा तल्लो तहबाटै आउनुपर्ने व्यवस्थालाई सुनिश्चित गर्नुपर्ने बताउनुभयो । बैठकमा पार्टीका उपाध्यक्षद्वय कल्पना तिवारी र मेखलाल श्रेष्ठ, महामन्त्रीद्वय किरणबाबु श्रेष्ठ र विष्णु लामिछाने लगायतले आआफ्ना धारणा राख्नुभयो । प्रदेश सभापति शुक्रराज शर्माको सभापतित्वमा सम्पन्न बैठकको सञ्चालन महामन्त्री किरणबाबु श्रेष्ठले गर्नुभएको थियो । बैठकमा जिल्ला जिल्लामा खटिनुभएका प्रदेश कार्यसमितिका सदस्यले तत्तत् जिल्लाको पार्टी संगठन, गतिविधि एवम् समस्या सहित समाधानका उपाय बारे जानकारी गराउनुका साथै प्रतिवेदन पेश गरेको प्रवक्ता माधवप्रसाद बास्तोला(मधु)ले जानकारी गराउनुभयो ।
काठमाण्डौ: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ । इजरायलमा हमास विद्रोहीले आक्रमण गरेपछि इजरायल र प्यालेस्टाइनबीच शुरु भएको तनावका कारण गुटरेसको नेपाल भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको नेपाल भ्रमण यही असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको थियो। गुटरेसले असोज २७ गते संघीय संसदको संयुक्त बैठकलाई समेत सम्बोधन गर्ने कार्यक्रमसमेत तय भएको थियो । तर इजरायल घटनापछि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले नेपाल भ्रमण स्थगित गरेका हुन् ।
जनकपुरधाम: नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन आजदेखि यहाँ सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिनुभयो । उहाँले एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको जानकारी दिनुभयो । अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालेले जनाएको छ । रासस
काठमाडौं: परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गर्नुभएको छ । इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीहरुको अवस्थाका बारेमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जानकारी गराउनु हुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो । मन्त्री साउदले हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेको जानकारी दिनुहुँदै अहिलेको अवस्थालाई राजनीतिकरण नगर्न पनि आग्रह गर्नुभयो । “अवस्था संवेदनशील छ । त्यसैले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक व्यक्तिगत, पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न अनुरोध छ”, उहाँले भन्नुभयो, “यो अवस्थालाई राजनीतिकरण नगरौँ ।” बैठकमा सांसदहरुले इजरायलमा नेपालीको उद्धारका लागि नेपाल सरकारले गरेको प्रयासको सराहना गर्दै थप कार्य गर्न सुझाउनुभएको थियोे । रासस
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, मृतकका परिवारलाई राहतलगायतका विषयमा चासो व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतल निवासमा बोलाएर इजरायलमा रहेका नेपाली नागरिकको अवस्थाबारे चासो व्यक्त गर्नुभएको हो । उहाँले इजरायलमा हमासको आक्रमणमा परी मारिएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धान्जली व्यक्त गर्दै उनीहरूको परिवारप्रति सहानुभूति प्रकट गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । यसैगरी, उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन परराष्ट्रमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रपति पौडेलले सुरक्षित स्थानमा रहेका नेपालीलाई स्वदेश फर्काउने काम तत्काल अगाडि बढाउन पनि आग्रह गर्नुभएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिनुभयो ।
काठमाण्डौ: प्रधानमन्त्री पुष्पकमल दाहालले चीन–नेपाल र भारतको बीचमा विकासको त्रिदेशीय साझेदारी हुन जरुरी रहेको बताउनुभएको छ । आइतवार बिआरआईको एक दशक स् व्यापार, लगानी र सम्पर्क सञ्जाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्युत् व्यापार नेपालको लागि पहिलो प्राथमिकता नरहेको भन्दै विद्युत् उत्पादनको क्षमता विकास गरी विद्युतीय सामग्रीको प्रयोग बढाउनेतर्फ सरकारले काम गरिरहेको बताउनु भयो । उहाँले डिजेल र पेट्रोलको आयात कम गर्न शुरु भइसकेको पनि बताउनु भयो । उहाँले नेपाल सम्पन्न नभइकन नेपालका कुराहरु शक्तिशाली देशलाई सुनुवाइ गर्न कठिन हुने भन्दै उहाँले यसबारेमा आफूले विभिन्न समयमा चीन र भारतका राष्ट्रप्रमुखसँग छलफल गरिसकेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपाल सबैभन्दा पहिला त अर्थतन्त्रमा आत्मनिर्भर हुनुपर्छ । बलियो हुनुपर्छ । त्यसका निम्ति हामीले हाम्रा प्राकृतिक साधन स्रोतको प्रयोग गर्नुपर्छ । अहिले बिजुलीको पनि कुरा आयो, हाम्रो कार्यक्रम देशभित्रै बजुली खपत गर्ने नै हो । विद्युत्को व्यापार गर्ने हाम्रो पहिलो प्राथमिकता होइन । तर हाम्रो क्यापासिटी अहिले विद्युत् खपत गर्ने कति छ रु र हामीले त्यसलाई कसरी विकास गर्ने हो रु अहिले नै हेर्ने हो भने हामी ई।भेइकल भनेर जसरी हामी त्यसलाई प्रोत्साहन गर्दैछौँ र त्यसले डिजेल र पेट्रोलको आयात कम गर्न शुरु भइ नै सकेको छ । सरकारको प्राथमिकता यतापट्टि छ ।’ प्रधानमन्त्री दाहालले बिआरआईमा आधारित परियोजना अगाडि बढाउन नेपाल प्रतिबद्ध रहेको पनि बताउनु भयो । उहाँले बिआरआईअन्तर्गतका परियोजना अघि बढाउनका लागि कार्ययोजना बनाएर समयबद्ध कार्यतालिका अनुरुप दुवैका साझा संयन्त्रहरुलाई परिचालन गरी छिटो काम गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले विगत १० वर्षमा बिआरआईमार्फत मात्र एक हजार अर्ब अमेरिकी डलर भन्दा बढी लगानी भएको तथ्यांक सार्वजनिक भइरहँदा नेपालले तुलानात्मक रुपमा लगानी भित्र्याउन नसकेको बताउनु भयो । उहाँले नेपालको तर्फबाट लिनुपर्ने पहलकदमी तथा नीतिगत र प्रक्रियागत अवरोध हटाउने काम सरकारले गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले बिआरआई परियोजनाको सूचि नभइ कार्यान्वनय योग्य परियोजना छनोट र कार्यान्वयन हुनेगरी बिआरआई सम्बन्धी विकास निर्माणका परियोजना अघि बढाउन जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘विगत १० वर्षमा बिआरआईमार्फत मात्र एक हजार अर्ब अमेरिकी डलर भन्दा बढी लगानी भएको तथ्यांक सार्वजनिक भइरहँदा नेपालले तुलानात्मक रुपमा लगानी भित्र्याउन सकेन । अब हामी छिटै कार्ययोजना बनाएर समयबद्ध कार्यतालिका अनुरुप दुवैका साझा संयन्त्रहरुलाई परिचालन गरी छिटो काम गर्नुपर्ने अवस्था छ र सरकार त्यो दिशामा गम्भीर रुपले अघि बढेको छ ।’
भैरहवा: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)द्वारा आयोजित समाजवाद जागरण अभियान तीन प्रदेशमा सम्पन्न भएको छ । यही असोज १४ गते काँकडभिट्टाबाट सुरु गरेको अभियान कोशी, मधेस र बागमती प्रदेशमा सम्पन्न भएको हो । पार्टीले अवलम्बन गरेको वैचारिक नीति तथा राजनीतिक दृष्टिकोण स्थानीय तहसम्म स्थापित गर्ने अभियानले ध्येय राखेको छ । अभियानका यस क्रममा विभिन्न जिल्लामा २८ सभा र सम्मेलन सम्पन्न भएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । काँकडभिट्टा, बिर्तामोड, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, भारदह, राजविराज, छिन्नमस्त, अर्नाह, भगवान्पुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जलेश्वर, ढल्केबर, बर्दिबास, लालबन्दी, गरुडा, हर्नैया, कलैया र वीरगन्ज, हेटौँडा, चितवनमा ठूला सभा सम्पन्न भएका छन् । अभियान अहिले लुम्बिनी प्रदेशमा पुगेको छ । पार्टीका शीर्षनेताहरूले सम्बोधन गर्नुभएको अभियानमा कार्यकर्ता भेला, पत्रकार सम्मेलन, अन्तक्र्रिया, कोणसभा तथा ठूला आमसभा गरिएका छन् । यही असोज २९ गते सुर्खेतमा सम्पन्न हुने अभियानले आज मणिग्राम र बुटवलमा सभा अयोजना हुँदैछन् । अभियानक्रममा आर्थिक, राजनीतिक, सामाजिक सुरक्षाका विषयमा जनतासँग सुझाव सङ्कलन गरिएको छन् । ती सुझावलाई समाजवादी नीति निर्माणमा समावेश गरिने उपमहासचिव खतिवडाले जानकारी दिनुभयो । रासस
काठमाण्डौ: राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति आवास शीतल निवासमा भएको भेटमा संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाका क्रममा हालै भएको आफ्नो अमेरिका र छिमेकी राष्ट्र चीनको भ्रमणबारे प्रधानमन्त्री दाहालले जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताउनुभयो । राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले मुलुकको समसामयिक अवस्थाबारे पनि जानकारी गराउनुभएको थियो । त्यसअघि राष्ट्रपति पौडेललाई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बेग्ला–बेग्लै भेटेर समसामयिक विषयमा छलफल गर्नुभएको सल्लाहकार पोखरेलले जानकारी दिनुभयो ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । भेटमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका विविध विषयमा छलफल भएको बताइएको छ ।