काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइटले भेटवार्ता गरेकी छन् । उनले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेकी हुन् । भेटमा भदौ १३ गतेदेखि सुरु एमसीसी परियोजना कार्यान्वयनबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आइतबार नेपाल आएकी बलब्राइटले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला लगायतसँग भेटवार्ता गरिसकेकी छन् । अमेरिका र नेपाल सरकारबीच सम्झौतामा हस्ताक्षर भएको ६ वर्षपछि गएको १३ भदौबाट एमसीसी परियोजना कार्यान्वयनमा गएको छ । एमसीसीकी प्रमुख कार्यकारी अधिकृत अलब्राइटले नेपाल–अमेरिका बीचको द्विपक्षीय साझेदारी मनाउन र एमसीसी–नेपाल कम्प्याक्ट सम्झौताको सफल सुरुवातको उपलक्ष्यमा नेपाल भ्रमण गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । नेपालमा रहँदा उनले विभिन्न मन्त्री र अन्य सरकारी उच्च अधिकारीसँग भेटवार्ता गर्ने तय भएको छ । भेटमा उनले एमसीसी कार्यान्वयनमा भएको ढिलाइका कारण अल्झिएका आयोजना र तिनका समस्याबारे छलफल गर्ने जनाइएको छ ।
पोखरा: नेकपा एमाले गण्डकीको प्रथम अधिवेशन पोखरामा आजदेखि सुरु भएको छ । प्रदेशभरबाट कुल ९ सय ७ जना प्रनितिधि सहभागी हुने सो अधिवेशनको एमालेका महासचिव शंकर पोखरेले अधिवेशनको उद्घाटन गरे । मौसममा आएका खराबीका कारण पार्टी अध्यक्ष केपी ओली पोखरा आउन नसकेपछि महासचिव पोखरेलले अधिवेशनको उद्घाटन गरेका हुन् । उनले सो अवसरमा बोल्दै कुनै पनि भ्रष्टाचारका फाइल खोल्दा सत्तापक्षकै नेताहरू जेल जाने दाबी गरे । उनले सरकार भ्रष्टाचारविरुद्ध अभियानमा रहेको बताएपनि भ्रष्टाचारीकै संरक्षणमा लागेको आरोपसमेत लगाए । यस्तै कार्यक्रममा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले १० वर्षसम्म अझै एमालेको नेतृत्वमा केपी ओलीको विकल्प नरहेको बताए । उनले फरक प्रसंगमा बोल्दै भिजन विनाका केही व्यक्तिले सस्तो लोकप्रियताको भरमा पार्टी खडा गरेर जनतालाई दिग्भ्रमित पारिरहेको धारणा राखे । उनले नेकपा एमाले बलियो र सत्तामा नजाँदासम्म अपराधि समाउने र लुकाउने सम्झौता अहिलेको गठबन्धनले गरिरहने बताए । अधिवेशनमा सहभागी हुन गण्डकीका ११ जिल्लाबाट ९ सय ७ जना प्रतिनिधि छनोट भएर पोखरा आएका छन् । उनीहरुका लागि एमालेले २१ वटा होटल बुक गरेको छ । नेकपा एमाले गण्डकीको प्रदेशको प्रथम अधिवेशनमा पोखराको हस्पीटल चोक, औद्योगिक क्षेत्र (शिव चोक), बुद्ध चोक र बसपार्कबाट ¥यालीसहित अमरसिंह चौरमा उद्घाटन सत्र सुरु भएको थियो ।
पोखरा: नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार र शेरबहादुर देउवासँग मिलेर म्याच फिक्सिङ गरेको आरोप लगाएका छन् । पोखरामा आजदेखि सुरु भएको नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा बोल्दै उपमहासचिव गुरुङले भ्रष्टाचारको अनुसन्धानको सुइरो पूर्वप्रधानमन्त्रीहरुको श्रीमती तर्फ घुम्दा म्याच फिक्सिङ गरेको आरोप लगाएका हुन् । उनले नेकपा एमाले बलियो र सत्तामा नजाँदासम्म अपराधी समाउने र लुकाउने सम्झौता अहिलेको गठबन्धनले गरिरहने बताए । ‘आफ्नो सरकार टिकाउन लागि अपराधी लुकाएर, अपराधी समाउने कुरामा सम्झौता गरेर अहिलेको सरकार चलेको छ’, गुरुङले भने, ‘यो अवस्था त्यो दिनसम्म चलिरहन्छ जबसम्म एमाले बलियो र सत्तामा पुग्दैन, ।’ उनले भ्रष्टाचारको विषयमा अहिलेको सरकारले नौटङ्की देखाइरहेको समेत टिप्पणी गरेका छन् । उपमहासचिव गुरुङले माधव नेपालले पार्टी फुटाएर गल्ती गरेको भन्दै एमालेमा समाहित हुन समेत सुझाव दिएका छन् । ‘माधव नेपालले पार्टी फुटाएर नयाँ पार्टी स्थापना गरेपनि केही परिवर्तन देखिएन, केपी ओलीसँग झगडा गरेर मात्र पार्टी चल्दैन’, उनले भने, ‘गण्डकीमा एकसिट पनि जित्न सकेन, परिवर्तन केही भएको छैन, एमालेमा छिटै समाहित हुनुहोला ।’
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको बताउनु भएको छ । संविधान दिवसका अवसरमा बाँकी कैद मिनाहा गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराउन आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको प्रतिनिधिमण्डललाई राष्ट्रपति पौडेलले यस्तो बताउनु भएको हो । संसदीय व्यवस्थाको मान्यताअनुसार मन्त्रिपरिषद्ले गरेको निर्णयको जसअपसजको भागी सरकार नै हुने संवैधानिक व्यवस्था रहेको उहाँले बताउनु भयो । संविधानले राष्ट्रपतिलाई विवेक प्रयोग गर्न दिएको ठाउँमा आफूले प्रश्न उठाएर ३४ जनाको आममाफीका लागि गृहमन्त्रालयबाट आएको पत्र फिर्ता गराएको उहाँले बताउनु भयो । ुहाम्रो संविधान, हाम्रो गणतन्त्र र हाम्रो संसदीय व्यवस्था तपाईँहरूले बुझ्नुभएको छैन भन्ने मलाई लाग्दैनु, राष्ट्रपति पौडेलले भन्नुभयो, ‘तपाईंहरू संसदमा हुनुहुन्छ, सरकार पनि संसदमा नै छ, त्यही तपाईँहरूले प्रधानमन्त्री, गृहमन्त्रीलाई किन जवाफदेही बनाउन सक्नुभएन र सोझै यहाँ आउनुभयो ? अलिकति यो संविधान र व्यवस्थाअनुसार प्रक्रिया मिलेन कि जस्तो लाग्यो ।’ उहाँले कहिलेकाँही यहाँ आउनुपर्ने अवस्था नेताहरूको हुन सक्छ तर यसपटक आएको चाँहि उल्टो भयो कि जस्तो लागेको बताउनुभयो । ‘संविधानमा राष्ट्रपतिले स्वविवेकले आममाफी दिन सक्ने व्यवस्था टेकेर आएको ३४ जनाको बारेमा विधि, प्रक्रियाका सम्बन्धमा मैले प्रश्न उठाएर गृह मन्त्रालयमा फर्काइदिएको छु’, पौडेलले भन्नुभयो, ‘जहाँसम्म छ सय ७० जनाको बाँकी कैद मिनाहाको विषय छ त्यो सबै प्रक्रिया पुर्याएर मन्त्रिपरिषद्ले निर्णय गरेपछि आएको विषय मैले स्वीकार गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।’ राष्ट्रपति पौडेलले कानुन नमिलेको भए कानुन मिलाउने, संशोधन गर्ने अधिकार संसद्लाई भएको बताउनु भयो । यतिबेला संविधान, यो व्यवस्था, गणतन्त्रमाथि नै प्रहार भइरहेको भन्ने चिन्ता उठिरहेको बताउँदै राष्ट्रपति पौडेलले भन्नुभयो,‘तपाईंहरू जस्तो संविधान र गणतन्त्रप्रति प्रतिबद्ध भएका नेताले होसियार भएर सोच्न जरुरी छ । म सुन्छु, सबै कुराको दोष राष्ट्रपति संस्थामाथि थोपरेर यो व्यवस्था र गणतन्त्र नै ठीक छैन भन्ने पुष्टि गर्न र ७० वर्ष लडेर ल्याएको यो प्रणालीलाई कमजोर पार्न खोजिँदैछ, यसमा तपाईँहरू सचेत हुनुहोला र यसलाई जोगाउनु तपाईँहरूको दायित्व हो ।’ यस क्रममा रास्वपाका सभापति रवि लामिछानेले अभिभावकको हैसियतले राष्ट्रपतिसमक्ष सरकारको ध्यानाकर्षण गराइदिन आग्रह गर्न आएको बताउनुभयो । उहाँले देशकै अभिभावक भएको नाताले राष्ट्रपतिसँग सरकारको ध्यानाकर्षण गराइदिन आग्रह गर्नु आफूहरूको हक भएको बताउनुभयो ।
पोखरा: नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन समारोह प्रतिकुल मौसमका कारण केही समय रोकिएको छ । गण्डकी प्रदेशको प्रथम अधिवेशन पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने तय भएपनि प्रतिकुल मौसम कारण उडान प्रभावित हुँदा उद्घाटन समारोह रोकिएको हो । नेकपा एमाले गण्डकी प्रदेशका उपसचिव एवम्, प्रचारप्रचार उपसमिति संयोजक रश्मि आचार्यले प्रतिकुल मौसमका कारण उडान प्रभावित हुँदा उद्घाटन समारोह रोकिएको बताए । उनले पार्टी अध्यक्ष ओली जहाजमा आउने भएकाले प्रतिकुल मौसमका कारण उडान रोकिदा केही समय ढिलाई भएको बताएका छन् । नेकपा एमाले गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा आएका पार्टीका नेता कार्यकतालाई भुलाउन सांस्कृतिक कार्यक्रमलाई अगाडि बढाएको छ । अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ७ जना प्रतिनिधि छनोट भएर पोखरा आएको छन् । यस्तै पोखरामा अधिवेशनका लागि आएका प्रतिनिधि राख्न एमालेले २१ वटा होटल बुक गरेको छ । यस्तै नेकपा एमाले गण्डकीको प्रदेशको प्रथम अधिवेशनमा पोखराको हस्पीटल चोक, औद्योगिक क्षेत्र (शिव चोक), बुद्ध चोक र बसपार्कबाट ¥यालीसहित अमरसिंह चौरमा उद्घाटन सत्र सञ्चालन हुने प्रदेशका उपसचिव एवम् प्रचारप्रचार उपसमिति संयोजक आचार्यले बताए ।
पोखरा: नेकपा एमाले गण्डकीको प्रथम अधिवेशनको तयारी पूरा भएको छ । पोखरामा सोमबार हुने प्रथम अधिवेशनको तयारी पूरा भएको प्रदेश अध्यक्ष नवराज शर्माले बताए । उनले पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको समेत बताए ।‘अहिले सातै प्रदेशको प्रथम अधिवेशनमा पार्टी लागिरहेको छ, केही प्रदेशमा सम्पन्न भएको छ, केहि प्रदेशमा बाँकी छ, शर्माले भने, ‘गण्डकीको प्रदेशको प्रथम अधिवेशन पोखरामा भोलि सञ्चालन हुँदै छ, पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।’ यस्तै प्रचारप्रसार उपसिमितिका संयोजक तथा गण्डकी उपसचिव रश्मि आचार्यले अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ७ जना प्रतिनिधि छनोट भएर पोखरा आएको बताए । उनका अनुसार अधिवेशनका लागि आएका प्रतिनिधि राख्न पोखरामा २१ वटा होटल बुकिङ गरेको छ । नेकपा एमाले गण्डकीको प्रदेशको प्रथम अधिवेशनमा पोखराको हस्पीटल चोक, औद्योगिक क्षेत्र (शिव चोक), बुद्ध चोक र बसपार्कबाट ¥यालीसहित अमरसिंह चौरमा उद्घाटन सत्र सञ्चालन हुने उनले जानकारी दिए । आचार्यले इलेक्ट्रिक मेसिनको प्रयोगमा मतदान गर्ने तयारी गरिएको बताउदै अधिवेशन सम्पन्न गर्न करिब ८० लाख खर्च हुने अनुमान गरिएको बताए । नेकपा एमाले गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अधिवेशनबाट सर्वसहमतिबाटै नेतृत्व चयन गर्ने प्रयन्त्र गरिरहेको बताए । ‘पार्टी भित्र हामीले लोकतन्त्रको अभ्यासपनि चलाइरहेका छौं, सके सम्म सहमतिमै नेतृत्व चयन गर्ने प्रयत्न गरेका छौं’, विष्टले भने, ‘प्यानल बनाएर उम्मेदवारी दर्ता गर्न दिदैंनौ, यसले पार्टीलाई कमजोर बनाउँछ, सकेसम्म सहमतिमै नेतृत्व चयन गछौं ।’
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा बैठक अवरूद्ध पारेको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकको शुभारम्भमा नै सो पार्टीका सांसदहरुले उठेर अवरुद्ध पारेका हुन् । बैठक सञ्चालन गर्नका लागि सभामुख देवराज घिमिरेले सो पार्टीका सांसदहरुलाई आग्रह गरिरहनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बोधन भएकाले बैठक अवरुद्ध नपार्न उहाँको आग्रह छ । तर रास्वपाका सांसदहरु नमानेपछि सो पार्टीका सभापति रवि लामिछानेलाई बोल्ने समय दिनुभएको छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाडबाड र आम उपभोक्ताको हितलाई ध्यानमा राखेर आफूले पेट्रोलियम पदार्थको गरिएको मूल्यवृद्धि फिर्ता लिने निर्णय लिएको बताउनुभएको छ । आइतवार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले आफूलाई नेपाल आयल नियमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थाहा नभएको उल्लेख गर्दै त्यसलाई तत्काल फिर्ता लिन निर्देशन दिनुपरेको पनि स्पष्ट पार्नुभयो । उहाँले अटोप्राईसमा जाने निगमको निर्णय जनताको पीरमर्का, भावना र आवश्यकता विपरीत रहेकाले आफूले सो निर्णयलाई फिर्ता गरएको पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री दाहालले नेपाल आयल निगम स्वतन्त्र निकाय नभएकाले उसले सरकारको निर्देशन अनुसार काम गर्ने पनि बताउनु भयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘आजै बसेको मन्त्रीपरिषद बैठकले सुनको अवैध पैठारी, तस्करी नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश श्री डिल्लीराज आचार्यको अध्यक्षतामा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक श्री सहकुलबहादुर थापा, पूर्व सहसचिव श्री किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज जोशी रहेको जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको छ ।’’ बैठकमा प्रधानमन्त्री दाहालले सुन तस्करीबारे छानबिन गर्न चार सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरिएको पनि बताउनु भयो । केहीबेर अघि बसेको मन्त्रीपरिषद् बैठकले सुनको अवैध पैठारी, तस्करी नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा पूर्वप्रहरीअतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्वसहसचिव प्रेमराज जोशी रहेको जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो ।
काठमाण्डौ: सुन तस्करी प्रकरणमा छानबिन गर्न आजै उच्चस्तरीय छानबिन आयोग गठनलगायत विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । गएको साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिने क्रममा सिनामङ्गलमा करिब ६१ किलो सुन बरामद भएको थियो । आज हुने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने र बैठक अगावै आयोगको घोषणा गर्ने सहमतिको तयारी भएको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकारात्मक भएको र आयोगको कार्यदेशमा आफूहरु सहमतिको नजिक पुगेको भेटमा सहभागी एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । सत्तापक्ष र प्रतिपक्षबीच आयोग गठन गर्ने सहमति भए पनि यसको कार्यादेश र कार्यक्षेत्रबाट सहमति जुट्न बाँकी थियो । आयोग गठन नभए एमालेले आजको प्रतिनिधिसभा बैठक अवरोध गर्ने चेतावनी दिएपछि सरकारले छलफल तीव्र बनाएको छ ।