पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

पोखरा:    पोखराका कृयाशील पत्रकार विभु भुसाल पुरस्कृत हुनुभएको छ । प्रेस सेन्टर नेपाल कास्कीको वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा सेन्टरले सञ्चालन गर्दै आएको ‘थमन महेश स्मृति पत्रकारिता पुस्कार’बाट भुसाल पुरस्कृत हुनुभएको हो ।  जनपक्षिय पत्रकारितामा दुई दशकदेखी क्रियाशील पत्रकार भुसाललाई नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङ,सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा, कास्कीका अध्यक्ष कृष्ण दवाडी लगायतले सो पुरस्कार अर्पण गर्नुभयो । पुरस्कार राशी रु २५ हजार एक रहेको छ । सोही अवसरमा पोखराका अग्रज पत्रकारहरु कोमलनाथ बराल, कुशुमकेशव पराजुली, नारायण भट्टराई, विश्वप्रकाश लामिछाने र पदम रेग्मी सम्मानित हुनुभयो । उहाँहरुलाई पत्रकारिता क्षेत्रमा गरेको योगदान स्वरुप सम्मान गरिएको सेन्टरले जनाएको छ । साधारणसभाका अवसरमा ‘समृद्धि र जनपक्षिय पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारिता जहिलेपनि जनताको पक्षमा र जनताका मुद्धा बोक्नुपर्नेमा जोड दिनुभयो । जनपक्षिय पत्रकारिताले जनताका आवाजहरु मुखरित गर्ने भएकाले यसले समाजको सवै क्षेत्र र तहको समृद्धिमा योगदान पुग्ने भनाई सहभागीको छ । पत्रकारिता व्यवस्थित र समाज एवं राष्ट्र प्रति उत्तरदायि हुन सक्दा भष्टाचार नियन्त्रण, सुशासन, सदाचारिता हुने भएकाले यसले समृद्धिमा योगदान पुग्नेमा जोड दिइयो । अग्रज पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी कोमलनाथ बरालले पत्रकारिताले राष्ट्रको विकास र समुन्तिमा योगदान दिने भएकाले जनपक्षिय पत्रकारितालाई जीवन्त राख्न सके समृद्धिमा सघाउ पुग्ने बताउनुभयो । जनपक्षीय पत्रकारिताको माध्यमबाट समाज रुपान्तरण गर्नु सञ्चारकर्मीहरुको मूल उद्धेश्य हुनुपर्ने बताउँदै उहाँले  समाजवाद उन्मुख शासन व्यवस्थाको आधार तयार गर्न पनि पत्रकारिता आधारभुत जनतासम्म पुग्नुपर्ने बताउनुभयो । बरालले भन्नुभयो,“जनपक्षीय पत्रकारिताले समाज परिवर्तनका मुख्य एजेण्डाहरुलाई प्राथमिकताकासाथ उजागर गर्दे आमनागरिकमा चेतना फैलाउनुपर्दछ । हामीले देखेको समाजवाद र समृद्धिको यात्रा जनपक्षिय पत्रकारिताबाट मात्र सम्भव हुन्छ ।” प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगलले पत्रकारिता जनपक्षिय पत्रकारितालेमात्र निमुखा बर्ग र दबिएका र दबाइएका बर्ग र समूदायको आवाज बुलन्द गर्न सक्ने बताउनुभयो । उहाँले प्रेस सेन्टरमा आवद्ध सञ्चारकर्मीहरुले अन्य भन्दा पृथक पहिचान कायम राख्न सक्नुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञवाली, महासचिव सन्तोष पौडेल, नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्यद्धय रामजी प्रसाद बराल, दीपक कोइराला, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष एवं पत्रकार महासंघ कास्कीका सहसचिव श्रीराम सिग्देल, पत्रकारहरु अर्जुन काफ्ले, राजेन्द्र  न्यौपाने, दीननाथ बराल, पुष्प दाहाल लगायतले पत्रकारिताले जनताका मुद्धाहरुलाई उठान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।   

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ अन्तर्गत पर्ने टाँडीबिसौनीमा पञ्चासे जैविक विविधता पार्कको प्रारम्भिक निर्माण कार्य शुरु हुने भएको छ । प्रदेश सरकारको सहयोगमा निर्मित सो पार्क पञ्चासे सुनाखरी पदमार्गको प्रस्थानबिन्दुमा रहेको छ। अध्ययन, अबलोकन, परिभ्रमण र होमस्टे बसाईका निम्ति आउने पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले सो पार्कको काम थालनी गरिएको अन्नपूर्ण ४ का वडाध्यक्ष आइन्दल गुरुङले बताए । ५४ रोपनी क्षेत्रफल निर्धारण गरि प्रारम्भिक निर्माण सुरुवात गरिएको सो पार्कमा चौतारी, फुट ट्र्याक, घण्टी पोखरी, बगैंचा, बिसौनी स्थल समेत निर्माण गरिएका छन् । आगामी दिनमा ढुङ्गे धारा, योगा मेडिटेसन स्थल, टि सप, बोटानिकल गार्डेन, साँस्कृतिक घर, शौचालय, पानी फोहरा, कुटी, पाटीपौवा, सुटिङ स्टेसन, हर्बल गार्डेन, सुनाखरी बगैंचा, सुन्दर फोटो स्टेसन लगायतका पूर्वाधारहरु पनि निर्माण क्रमिक रुपमा अगाडि बढाई पञ्चासेको उत्कृष्ट पर्यटन पूर्वाधारका रुपमा विकास गरि पर्यटक भित्राउने लक्ष्य रहेको पार्क निर्माण समिति अध्यक्ष तथा पञ्चासे क्षेत्र विकास समितिका प्रवक्ता नवराज पौडेलले जानकारी दिए । प्रसिद्ध धार्मिक, पर्यटकीय एवं साँस्कृतिक तीर्थस्थल पञ्चासेको पर्यावरणीय महत्त्व, जैविक विविधता र पर्यापर्यटन प्रबर्द्धन अभियानमा यी र यस्ता पूर्वाधारले सघाऊ पुर्याउने स्थानीयको धारणा छ । पञ्चासेको मूलद्वारका रुपमा रहेको भदौरे क्षेत्रमा पर्यटक आवागमनमा वृद्धि गर्दै स्थानीयवासीको आयस्तर समेत उकास्ने अभियानका साथ आवधिक योजनाको रुपमा बृहत् पर्यटन पूर्वाधारको रुपमा विकास गर्न लागिएको पञ्चासे जैविक बिबिधता पार्कको यहीँ बैशाख १ गते नयँबर्षको अबसर पारेर उद्घाटन गरिने पार्क निर्माण समितिले जनाएको छ। नयाँबर्षको अबसरमा पञ्चासेको पर्यापर्यटन प्रबर्द्धनका निम्ति पञ्चासे सुनाखरी पदयात्रा नामक हाईकिङ्ग कार्यक्रम समेत आयोजना गरि पञ्चासे जैविक विविधता बिबिधता पार्कको समुद्घाटन गरिने बताईएको छ।  

पोखरा:   नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीलाई सम्मान गर्ने भएको छ ।  आइतबार बसेको मञ्चको सचिवालय बैठकले करनलाई नगदसहित सम्मान गर्ने भएको हो । सो बारे जानकारी दिंदै मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले नेपालमा हालै सम्पन्न लिग टु क्रिकेट प्रतियोगितामा बिजयी बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेपाली राष्ट्रिय टिमका सदस्य करणलाई नगद २० हजारसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गर्ने बताए ।  महासचिव तिमिल्सिनाले भने-“लामो समय देखि गण्डकी प्रदेशका खेलाडी समेत रहेका करणले राष्ट्रिय टिमको सदस्यको रुपमा नेपालको झण्डालाई उचाईमा पु¥याउन र राष्ट्रिय गौरव बढाउन जुन भूमिका खेलेका छन् त्यो महत्वपूर्ण छ भने खेलाडीको रुपमा करनको भूमिका समेत उत्तिकै स¥हानिय छ ।” मञ्चले उनको खेलायात्रालाई अझै मनोबल बढाउन सम्मान गर्न लागेको उनको भनाई थियो ।   मञ्चले आफ्नै सचिवालय गैह्रापाटनमा विहान ८ बजे सम्मानको कार्यक्रम तय गरेको उनले जानकारी दिए ।  मञ्चका प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षतामा भएको बैठकले अप्रिल ६ पिस एण्ड स्पोर्टस डेको अवसरमा खेलकुद पत्रकारहरु संग मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ भने मञ्चले २०८० सालको क्यालेण्डर समेत प्रकाशित गर्ने निर्णय गरेको मञ्चले जनाएको छ ।     

पोखरा:   नविन श्रेष्ठले तेस्रो संस्करणको रेवान पोखरा कप भेट्रान्स टेनिस प्रतियोगिताको उपाधि जितेका छन् ।  आइतबार भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन राजन पौडेललाई पराजित गर्दै नविनले पहिलोपटक यो उपाधि आफ्नो नाम गराएका हुन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा सम्पन्न प्रतियोगितामा पहिलो सेटमा ४-२ ले पछि परेका पौडेलले उत्कृष्ट कमब्याक गर्दै ४-६ ले खेल आफ्नो पक्षमा पारे । तर दोस्रो र तेस्रो सेट गुमाउँदा पौडेलले उपविजेतामै चित्त बुझाए । नविनले दोस्रो सेट ६-२ ले तथा तेस्रो सेट सुपर टाइमा ९-२ ले आफ्नो पोल्टामा पारेका थिए । त्यसैगरी मेन्स डबल्सतर्पmको उपाधि अनुज कुमार बाँस्तोला र नविन श्रेष्ठको जोडीले जितेको छ । गोपीबहादुर भट्टराई र सूर्यबहादुर भुजेल विरुद्धको फाइनल खेलमा ६-१, ६-१ को सहज नतिजा निकाल्दै अनुज र नविनको जोडिले उपाधि आफ्नो पक्षमा पारेका हुन् । जितसँगै विजयी खेलाडीले नगद रु १० हजार तथा उपविजेता खेलाडीले नगद रु ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा नवप्रवेशी तर्फ दुर्गा सुनार विजेता तथा सिरोज कोइराला उपविजेता बने । उनीहरुले ट्रफि पुरस्कार प्राप्त गरे । प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि रेवान पोखराका वरिष्ठ उपाध्यक्ष विश्वराज पौडेलले विजयी खेलाडीहरुलाई एक समारोहका विच नगद तथा ट्रफि पुरस्कार वितरण गरे । सो अवसरमा बोल्दै पौडेलले स्वास्थ्य, भाइचारा र खेल पर्यटन विकास प्रतियोगिता महत्वपूर्ण रहेको औंल्याए । विशेष अतिथि नेपाल प्रहरीका पूर्व डीआइजी केशव अधिकारीले खेलक्षेत्रमा पोखरा नेपालमै अग्रणी रहेको बताए । अर्का अतिथि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्वउपाध्यक्ष सुनिल गुरुङ्गले टेनिसमा पोखराले अभूतपूर्व सफलता प्राप्त गर्दै गएको जनाए । कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङको अध्यक्षतामा भएको समापन समारोह संघका केन्द्रिय उपाध्यक्ष विनोद कायस्थ, जिल्ला उपाध्यक्ष नविन चालिसेले लगायतले आ–आफ्नों भनाई राखेका थिए ।   

पोखरा:    कलाकार बालकृष्ण समद्धारा विश्वविख्यात चित्रकार साल्भाडोर डालीको उपमा पाएका दुर्गा बराल ‘वात्सायन’ले जीवनका ४५ बर्ष बढी नेपाली चित्रकलामा बिताए।  जीवनको ८० बर्ष पार गर्दासम्म उनले चित्रकला त्यागेका छैनन् । नेपाली चित्रकला र काटुर्नको श्रीवृद्धीमा उनले सारा जीवन खर्चिए ।   सामाजिक विषयवस्तु र प्रकृतिका विषयमा अनेकन चित्र बनाए । नेपाली राजनीति र सामाजिक क्षेत्रका विकृतिमाथि चोटिलो कार्टुन प्रहार गरे । शान्त र हसिलो स्वभावका बात्सायनका कार्टुनमा राजनीतिमा देखिएका विकृतिमाथि दरिलो बिद्रोह झल्किन्छ, जसले कुनै समय सत्ता, संसद र प्रतिपक्षीमा बसेका दलहरुसमेत त्रसित बनेका थिए । चित्रकारिता प्रतिको लगावकै कारण उनले जीवनका अनेक आरोह अवरोहको सामना गरे । पढ्न भन्दा चित्र बनाउन ध्यान दिए । उनले विषयलाई अक्षरमा भन्दा चित्रमा बुझे । समाज र राजनीति शब्द र आवाजमा होइन, चित्रमा उतारे । चित्रकारितामा उनको जीवनपर्यन्त लगाव देखेर शनिबार पोखराले उनलाई रथारोहणसहित अभिनन्दन ग¥यो । कलाकारलाई राज्यले होइन, आम नागरिक र सर्वसाधारणले सम्मान दियो । उनी सम्मानित बने ।  वात्सायनको घर अगाडि शनिबार विहानदेखि विभिन्न थरीका मानिसका भिड थिए । त्यहाँ विद्यार्थी थिए । विभिन्न जातजाती, भाषा, धर्म र संस्कृतिका अग्रज उपस्थित थिए । कलाकारिता र साहित्यका अनुरागीहरु नहुने कुरै भएन । सर्वसाधारणको उल्लेख्य सहभागिता थियो । उनको घरबाट रथयात्रा गराएर वात्सायन दम्पत्तिलाई विन्ध्यवासिनी मन्दिर पु¥याइएको थियो । पोखरेलीले वात्सायनको रथयात्रा हुने घर अगाडी श्रद्धास्वरुप घर अगाडी तामाको गाग्रीमा पानी भरेर फुल राखेका थिए । व्यंग्यचित्रकार बराललले चित्रकलाको माध्यमबाट समाजमा पु¥याएको योगदानको कदर गर्दै जन्मभूमी पोखरा परिक्रमा गरी नागरिक अभिनन्दन गरिएको हो । पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा पोखरामा क्रियाशील झन्डै तीन दर्जन वाङमयिक संघसंस्था लगायतले बराललाई नागरिक अभिनन्दन गरेका हुन् । बराल निवास नदीपुरबाट सुरु भएको रथयात्रा पोखरा बजार परिक्रमा गरी विन्ध्यवासिनी मन्दिरमा पुगेर नागरिक अभिनन्द गरिएको थियो । बराललाई व्यंगचित्रकारितामा लाग्न साथ र सयोग गर्दै आएकी जीवनसंगिनी पार्वतीलाई पनि रथारोहणमा संगै राखेर अभिनन्दन गरिएको थियो । वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, कवी तीर्थ श्रेष्ठ लगायतले बराललाई नागरिक अभिनन्दन गरेका थिए ।  सानै उमेर देखि धुलीमाटीमा औंलाले चित्र बनाएर चित्रकारिता सुरु गरेका बराल अहिले पनि चित्रकारितामा सक्रिय रहेर समाजका विकृति विसंगतीलाई चेटीलो प्रहार गर्दै सभ्य समाज निर्माणकालागि घच्घच्याउँदै आएका छन् । नेपाली चित्रकारितालाई अतियतार्थवादी धारमा डोर¥याउन गरेको अतुलनीय योगदानको कदरस्वरुप रथारोहण गर्न लागिएको पोखेरेली सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताए । बरालले पोखरालाई पानी रंगको चित्रकारितामा स्थापित गर्दै  युवा पुस्तालाई चित्रकारितामा लाग्न प्रेरित गर्दै आएका छन् ।  वात्स्यायनका नाममार्फत व्यंग्यचित्रका माध्यमबाट नेपाली समाज र राजनीतिका विकृति, विसंगति केलाउँदै बरालले व्यंग्यचित्रकारितामा सर्वोच्च शिखरका रुपमा आफूलाई उभ्याउनु भएको वरिष्ठ साहित्यका सरुभक्त श्रेष्ठले बताए । बराल पोखरामा जन्मेका विश्वस्तरीय व्यंग्यचित्रकार रहेको पनि उनले बताए । चित्रकारिताका साथै फोटोग्राफी कला र प्रशिक्षणमा पनि उनको योगदान रहेको छ । राजधानी काठमाडौं बस्न छाडेर जन्मभूमि पोखरालाई कर्मथलो बनाएका बराल देशविदेशसम्मै परिचित छन् ।  बराल व्यंग्यचित्रका बादसाह रहेको संस्कृतिकर्मी तीर्थ श्रेष्ठले बताए । कलाको माध्यमबाट समाज र राजनीतिका विकृती तथा विसंगतलाई चिर्न कसैले सकेको छ भने त्यो नाम वात्स्यायन रहेको उनले श्रेष्ठले बताए । बराल कलाका माध्यमबाट साहित्यीक गतिविधि गर्न प्रोत्साहित गर्ने अभिभावकको रुपमा रहेको पनि श्रेष्ठले बताए ।  नेपाली कला क्षेत्रमा लामो समय काम गरेका बरालले दर्जनौं पुरस्कार एवम् सम्मान पाएका छन् । बरालले सन् १९६५ मा राष्ट्रिय कला प्रदर्शनी, नाफा, बिपी पत्रकारिता पुरस्कार, जगदम्बाश्री, प्रवल गोरखा दक्षिण बाहु चौथो, राष्ट्रिय प्रतिभा पुरस्कार, राष्ट्रिय ललितकला प्रज्ञा सम्मान, शिरोमणि पुरस्कार, वासुदेव लुइँटेल लगायतका पुरस्कार पाइसकेका छन् । २० वर्षको उमेरमा नयाँ सन्देश साप्ताहिक मार्फत वात्स्यायनले कार्टुन करिअर सुरु गरेका थिए ।  को हुन वात्सायान १९९९ चैत ५ गते कास्कीको आर्बा (हालको पोखरा १३) मा जन्मेका दुर्गा बराल ‘वात्स्यायन’ विश्वस्तरका व्यंग्यचित्रकार हुन् । पोखरामा ‘वाटर कलर स्कूल’ सुरु गर्ने श्रेय बराललाई जान्छ । बराल व्यंग्यचित्रकारिताबाट चर्चित रहे पनि पानी रङ्गको चित्र, फोटो ग्राफीमा उनको उतिकै दक्षता रहेको छ । व्यवसायिक रुपमा चित्र र फोटो ग्राफी समेत गरेको अनुभव उनि संग छ । उनले पोखरामा इगल आई स्टुडीयो चलाएर चित्र र फोटोग्राफीको व्यवसाय पनि गरेका थिए ।  जीव विज्ञानका विद्यार्थी बराल पढ्नमा भन्दा चित्र कोर्नमा सानै देखि मन पराउथे ।  पेन एन्ड इङ्कमा कोरिएका चित्र (चोक र तमसुक शृङ्खलामा रचिएका चित्र) तथा एक्रेलिकमा कोरिएका चित्र (द फेसेज अफ टाइम एन्ड कलर्स अफ सेन्सिबिलिटी नामक प्रर्दशनीमा प्रदर्शित कला)मा उनको आफ्नै मौलिकता देख्न सकिन्छ । चोक र तमसुक शृङ्खलामा रचिएका चित्र नेपाली कलाको कोशेडुंगा रहेको कवि तीर्थ श्रेष्ठ बताउँछन् । बरालको ‘समयको अनुहार र समयका रङ्गहरु’मा देशको पिढा (द्धन्द्धको प्रभाव) समेटिएको कवि श्रेष्ठ बताए ।    बरालले चार एकल चित्रकला प्रर्दशन गरेका छन् । उनको पहिलो चित्रकला प्रदर्शनी सन् १९७३ मा नेपाल ललित कला प्रतिष्ठान, काठमाडौंमा भएको थियो । यसैगरी सन् १९८३ मा नेपाल–भारत सांस्कृतिक केन्द्र, काठमाडौं, सन् २००४ मा  सिद्धार्थ आर्ट ग्यालरीमा र चौथो प्रदर्शनी सन् २००६ मा ग्यालरी नाइन लाजिम्पाटमा भएको थियो । स्वदेश तथा विलेशमा थुप्रै सामूहिक चित्रकला प्रर्दशनीमा उनि सहभागी भएका छन् ।  कार्टुनको क्षेत्रमा वात्स्यायनबाट बढी चिनिएका बराल यसैका माध्यमबाट आफूलाई नेपालकै सर्वोत्कृष्ट काटुनिस्टका रुपमा स्थापित गराएका छन् । साठीको दर्शकको मध्यतिर २० वर्षे कलिलो उमेरमै उनले नयाँ सन्देश साप्ताहिक पत्रिकामार्फत् आफ्नो कार्टुन करिअर सुरु गरेका थिए । साहित्यिक पत्रिका प्राङ्गण र राष्ट्रपुकार, मातृभूमि, सुरुचि, देशान्तर, गोरखापत्र, कान्तिपुर र द काठमाडौं पोस्ट जस्ता पत्रपत्रिकामा काम गरेका थिए । कला क्षेत्रमा पाँच दर्शकभन्दा बढी समय विताइसकेका बरालले नेपाली राजनीतिक विकृति र त्यसको कुरुप तस्वीरलाई आफ्नो कलामार्फत जीवन्त देखाइदिने गरेका छन् । बरालले एकल कार्टुन प्रर्दशनी पनि गरेका छन् ।  उनको प्रकाशित कृतिमा वात्स्यायन एन्ड हिज बाब्र्सः अ कार्टुनिस्ट्स टेक अन पोस्ट १०९० नेपाल (भोल्युम १) रहेको छ । वात्स्यायन एन्ड हिज बाब्र्स (भोल्युम २), प्रकाशोन्मुख रहेको छ ।

पोखरा:    राजन पौडेल र नविन श्रेष्ठ पोखरा रंगशालामा जारी तेश्रो रेवान कप टेनिस प्रतियोगिताको मेन्स सिंगल्स उपाधिका लागि भिड्ने भएका छन् ।  कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको सेमिफाइनलमा राजनले लक्ष्मण तामाङलाई ६-३, ६-२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । अर्को सेमिफाइनलमा नविनले अनुज कुमार बाँस्तोलालाई ६-४, ६-४ ले पराजित गर्दै उपाधीका लागि राजनसंगको भेट पक्का गरे । डबल्सतर्फ उपाधीका लागि गोपीबहादुर भट्टराई र सूर्य भुजेलले अनुज कुमार बाँस्तोला र नविन श्रेष्ठको जोडीसंग प्रतिस्पर्धा गर्नेछन् । भट्टराई जोडीले पदम गुरुङ्ग र हुम आलेको जोडीलाई ६-३, ६-२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । अर्को सेमिफाइनलमा अनुज र नविन जोडीले लोक गुरुङ्ग र राजन पौडेलको जोडीलाई ६-२, ६-४ को सेटमा पराजित गर्दै फाइनल पुगे । प्रतियोगितामा विजयी हुने खेलाडीले नगद १० हजार सहित ट्रफि तथा द्वितिय हुने खेलाडीले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिको फाइनल खेल आइतबार पोखरा रंगशालामा हुनेछ ।  

पोखरा:    पोखरामा वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’लाई रथारोहणसहित नागरिक अभिनन्दन गरिएको छ ।  ‘वात्स्यायन’ ८० वर्ष पूरा भएको अवसरमा पोखरेली युवा सांस्कृतिक परिवारको नेतृत्वमा पोखरामा क्रियाशील दजएन बढी वाङ्ममय तथा सामाजिक संघसंस्थाले अभिनन्दन गरेका हुन् ।  नदीपुरस्थित उनको घरबाट सुरू भएको रथयात्रा बगर, ट्याक्सी चोक,बागबजार हुँदै विन्ध्यवासिनी मन्दिरमा पुगेर अभिनन्दन समारोहमा परिणत भएको थियो । बाजागाजासहितको रथयात्रालाई स्थानीयले घरघर अघि फूल र घडाले स्वागत गरेका थिए । समारोहमा पोखरा महानगरसहित विभिन्न संघसंस्थाले सम्मानपत्रले सम्मान गरे ।   रथारोहणमा वरिष्ठ साहित्यकाहरू सरुभक्त, तीर्थ श्रेष्ठ, वरिष्ठ गायिका हरिदेवी कोइराला लगायतका कलाकार सहभागी थिए। साहित्यकार, कलाकार, नागरिक समाज, विद्यार्थीलगायतले ब्यानरसहित उपस्थिति जनाएका थिए। समारोहमा उनको धर्मपत्नी, छोराहरू र परिवारका सदस्यको पनि उपस्थिति थियो। वात्स्यायन १९९९ सालको चैत ५ गते कास्कीको आर्बा (हाल पोखरा-१३) मा जन्मिएका थिए । पोखरालाई ‘पानी रङको विद्यालय’का रुपमा चिनाउने मुख्य श्रेय उनै कलाकार वात्स्यायनलाई जान्छ । करिब ३० को दशकमा पोखरामा ‘इगल आई’नामक आर्ट स्टुडियो खोलेर उनले पोखरामा पानीरङ चित्र्याएका थिए ।    

पोखरा:    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा २ ले स्पष्ट भनेको छ, ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइनेछैन ।’ यसैलाई आधार मानेर प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ ले पनि सोही कुरालाई परिभाषित गरेको छ । तर पछिल्लो समय राइङ सेयरिङको नाममा कानूनको धज्जी उडाउँदै इनड्राइभ (निजी सवारी साधन) ले यात्रु बोक्ने गोरखधन्दा चलाइरहेको छ ।   इन्ड्राइभले काठमाडौंसँगै पछिल्लो समय पोखरामा पनि गतिविधि व्यापक बनाएको छ । पोखराका मुख्य चोकहरुमा अवैधरुपमा इन्ड्राइभ सेवा प्रदायक मोटरसाइकल र ट्याक्सीहरु तैनाथ हुन्छन् । यद्यपि उनीहरु भने खुलेरै इनड्राइभ सेवाको बारेमा बताउदैनन् । किनभने उनीहरुलाई इनड्राइभ अवैध हो भन्ने थाहा छ । यतिमात्र नभएर इनड्राइभरलाई भेटेको खण्डमा ट्राफिकले २ हजार जरिवानासहित कारवाही गर्न पाउने अधिकार छ । त्यसैले इनड्राइभरहरु खुल्दैनन् । यस्तो गैरकानूनी गतिविधिबारे सरोकारवाला र प्रदेश सरकार पनि जानकार छ । तरैपनि चुपचाप छ ।  ‘इनड्राइभ गण्डकी प्रदेशमा दर्ता पनि छैन । स्वीकृत पनि लिएको छैन’, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशका प्रवक्ता टिकाराम पौडेलले सुनगाभा न्यूजसँग भने, ‘त्यसैले यो अल्टिमेट्ली कानून बर्खिलाप छ ।’  उनले इन्ड्राइभ प्रदेशमा दर्ता नभएको र स्वीकृत नलिएकाले कानून विपरित भएको दोहोर्याए ।   रातो प्लेटको सवारी साधन निजी प्रयोजनमा मात्रै प्रयोग हुने व्यवस्था कानूनमै स्पष्ट उल्लेख गरेको बताउदै सार्वजनिक काममा प्रयोग गर्न नपाईने बताए । ‘रातो प्लेटको सवारी भनेको निजी प्रयोजनका लागि हो, प्रवक्ता पौडेलले भने, ‘संघीय सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ ले पनि त्यही भन्छ । कुनै पनि सवारी जे प्रयोजनमा दर्ता भएको हो त्यही प्रयोजनमा प्रयोग हुनुपर्छ भन्छ । अन्यथा कानून विपरित मानिन्छ ।’  उनले संघीय सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संसोधनको प्रक्रियामा रहेको  बताउदै भने, ‘ऐन संसोधनको प्रक्रियामा छ त्यहाँ यो विषयको सबै कुराहरु समेटियो भने प्रदेशले पाउने अधिकार अनुसार हामी अघि बढ्न सक्छौ ।’ प्रवक्ता प्रौडेलले केन्द्रले नै इन्ड्राइभलाई रोक्न नसकेको बताए । ‘संघीय सरकारले त केन्द्रमै रोक्न सकेको छैन, उनले भने, ‘हामीले नै हात हालेर अघि बढ्न सक्ने अवस्था नै छैन ।’  उनले इनड्राइभको दर्ताका लागि मापदण्ड पनि स्पष्ट नभएको बताए । ‘अहिलेसम्म त्यस्तो स्पष्ट कार्यविधि र मापडण्ड छैन, उजुरी र प्रयोजन विपरित प्रयोग भएको प्रमाणित भए ट्राफिक प्रहरीले कारवाही गर्ने हो ।’ इनड्राइभले गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रलायमा न दर्ता गरेको छ । नत स्वीकृति नै लिएको छ । त्यसैले यसले राज्यलाई राजस्व (कर) तिर्दैन । यतिमात्र होइन यसको पोखरामा कार्यालय पनि छैन । डिजिटल प्रविधिको प्रयोगले सेवा दिदै आएको इनड्राइभले अनलाइन दुनियामा व्यापक गतिविधि बढाएको छ । प्राय इनड्राइभलाई पेशा नै बनाएर लागिरहेका छन् भने कतिपय अतिरिक्तरुपमा यात्रु बोक्ने गरेको पाइएको छ । एक इन्ड्राइभरले दैनिक १ हजार ५ सय देखि २ हजार ५ सय रुपैयाँसम्म कमाउन सक्ने बताए ।  ‘मैले आज १५ सय कमाए, लेकसाइडबाट एउटा विदेशीलाई सराङ्कोट पुर्याएर लेकसाइड छोडेको थिए’, ति इन्ड्राइभरले भने, ‘मान्छे पायो भने त दिनमा २५ सय रुपैयाँसम्म कमाइन्छ । तर लुकीलुकी काम गर्न परेको छ ।’ अर्का इन्ड्राइभरले बिहान र बेलुकी मात्रै अनलाइनमा बस्ने गरेको बताए । ‘मैले दिनमा त जागिर गर्छु, त्यै बिहान र बेलुकी अफिसबाट निस्केपछि काम गर्छु । त्यस्तो कमाई हुन्न तेज जोहो गर्न सजिलो भाछ । जागिर जाने आउने बेला मेसो मिल्दा बोक्छु ।’ पोखरामा इनड्राइभमा संलग्नहरुको अनलाइन समूह छ । जहाँ कोहीपनि व्यक्ति सदस्य बन्न सक्छ । र, व्यवसायमा जोडिन सक्छ । पछिल्लो हप्ता एकैदिनमा २१ जना यस समूहमा जोडिएका छन् । उनीहरुले फेसबुक पेजमा ड्राइभरहरुको नाम र संख्या उल्लेख गरेका छन् ।  तर अहिले पेजमा जोडिन सहज भने छैन । सोही पेजमा रहेका एक जनाले इनड्राइभको वैधानिक र दर्ताबारे प्रश्न गरेपछि एडमिनले उनीसहित २ महिला सदस्यलाई पनि हटाएका छन् । त्यसपछि एडमिनले निकै कडाई गरेका छन् । उनीहरुको समूहको नाम ‘राइडर्स युनियन टिम’ हो । हाल इन्ड्राइभमा आबद्ध समूह नै पोखरामा ७ वटा छन् ।  इनड्राइभले आफ्नै भाडादर कायम गर्दै मनोमानी भाडा असुल्दै आएपछि ट्याक्सी व्यवसायीहरु चिन्तित बनेका छन् । ‘उनीहरुले नत सरकारले कायम गरेको भाडा लिन्छन् नत कर नै तिर्छन । हामीलाई त रुनु न हाँस्नु बनाएको छ, एक ट्याक्सी चालकले भने, ‘यसकै कारण हामीले हाम्रो समिति छाड्न परेको छ ।’   रातो प्लेटले यात्रु बोक्न पाइदैनः अध्यक्ष गिरी   गण्डकी पब्लिक लिमिटेडका अध्यक्ष गान्धीराज गिरीले इनड्राइभ अवैध भएकाले गण्डकी प्रदेश सरकारलाई ध्यानाकर्षण गरिसकेको बताए । उनले रातो नम्बर प्लेटले यात्रु बोक्न नपाइने र स्वतस्फूर्त भाडादर कायम गर्न नपाइने बताउदै नियमन गर्न आवश्यक रहेको बताए । ‘इनड्राइभ त इल्लेगल काम हो त्यसैले ट्याक्सी व्यवसायीमाथी चुनौती बढेको छ, उनले भने, ‘रातो प्लेटले सार्वजनिक काम गर्न पाउदैन भन्ने कानूनमै स्पष्ट उल्लेख छ । यो विषय सरकारसँग भनिसकेका छौं ।’   उनले कानून विपरित कार्य भएकाले ट्राफिक प्रहरीलाईसमेत जानकारी दिइसकेको बताए । ‘अवैध रुपमा निजी सवारीले यात्रु बोकेकाले उक्त गतिविधिलाई रोक्न हामी सबैलाई ध्यानाकर्षण गरिसेकेका छौ । सरकारले यसको छिटै निचोड निकाल्नुपर्छ ।’ उनले भने ।   गिरीका अनुसार गण्डकी पब्लिक लिमिटेडसँग गण्डकी प्रदेशभरबाट ७ सय ७५ आबद्ध छन् । उक्त लिमिटेड बाहेक अन्य व्यवसायीहरुक गरि गण्डकी प्रदेशमा करिब २ हजार बढी ट्याक्सी छन् । हाल इनड्राइभकै कारण समिति विवादित बन्न थालेको छ ।    कतिपय ट्याक्सीले समिति छाडिसकेका छन् । र मासिक शुल्कसमेत तिर्न छाडिसकेका छन् ।   अध्यक्ष गिरीले ट्याक्सी व्यवसायीलाई मासिक शुल्क अनिवार्य नगरेको बताए । ‘तपाइहरुले अनिवार्य तिर्नुस् भन्ने हुदैन । मन लागेकाले तिर्ने हो त्यसले दुर्घटना भए क्षतिपूर्ती पाउँछ, गिरीले भने, ‘शुल्क नतिरे क्षतिपूर्ती नत्र पाउन्न ।’   उनले इनड्राइभको विषयलाई वार्ताबाटै हल गर्नका लागि पहल गरिरहेको बताए । ‘गैरकानूनीरुपमा देखिएको इनड्राइभलाई वार्ता र संवादबाटै रोक्न पर्छ भनेर सरकारसँग पटकपटक बसेर ध्यानाकर्षण गरेका छौं ,  उनले भने, ‘यतिमात्र नभएर ट्राफिक प्रहरीलाई पनि जानकारी गरेका छौ अब केही दिनमै अनुगमन हुन्छ भन्ने बुझेका छौं ।’ 

पोखरा:    जिल्ला समन्वय समिति कास्कीले प्रमुख लिलाधर पौडेलको नेतृत्वमा बिहीबार  गण्डकी प्रदेश  सरकारको एक निर्बाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत काहुखोला (सिक्लेस) दूध पोखरी  सडकको १० कि मि निर्माणाधिन पहिलो सडक खण्डको अनुगमनको गरेको छ। अनुगमनका क्रममा प्रमुख पौडेलले  कास्कीका कुनै पनि बिकास निर्माणका योजनामा गुणस्तर लगायतका बिषयमा जन गुनासो नआउने गरि काम समयमै सम्पन्न गर्ने सरोकारवाला निकाय लाई आग्रह गर्नु भयो । केन्द्र  सरकार , प्रदेश सरकार र स्थानिय सरकारबिच समन्वय र सहकार्य अति आबश्यक भएको भन्दै पौडेलले निर्माण कम्पनीले कुनै लापरबाही गरेको भेटिएमा तुरुन्तै खबर गर्न स्थानीय उपभोक्तालाई आग्रह गरे। बिकासका आयोजनामा जुनसुकै बेला पनि अनुगमन हुन सक्ने र कमि कमजोरी भेटिएमा तत्काल कारबाही हुने तर्फ निर्माण कम्पनी लगायत सरोकारवालाहरूलाइ ध्यानाकर्षण गराएका थिए। अनुगमनमा जि स स कास्कीका उपप्रमुख सरिता माल ,सदस्य राजु अधिकारी ,स्थानिय जनप्रतिनिधि , प्रदेस तथा स्थानिय तह सहित प्राबिधिक र संचारकर्मीहरूको सहभागिता रहेको कास्कीका निमित्त जिल्ला समन्वय अधिकारी एबम सूचना अधिकारी  झबिश्वर  रेग्मीले जानकारी दिए।