पोखरामा ‘इनड्राइभ’को गोरखधन्दा: छैन दर्ता, तिर्दैन कर

पाेखरा | चैत ४, २०७९

पोखरामा ‘इनड्राइभ’को गोरखधन्दा: छैन दर्ता, तिर्दैन कर

पोखरा:    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा २ ले स्पष्ट भनेको छ, ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइनेछैन ।’ यसैलाई आधार मानेर प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ ले पनि सोही कुरालाई परिभाषित गरेको छ । तर पछिल्लो समय राइङ सेयरिङको नाममा कानूनको धज्जी उडाउँदै इनड्राइभ (निजी सवारी साधन) ले यात्रु बोक्ने गोरखधन्दा चलाइरहेको छ ।  


इन्ड्राइभले काठमाडौंसँगै पछिल्लो समय पोखरामा पनि गतिविधि व्यापक बनाएको छ । पोखराका मुख्य चोकहरुमा अवैधरुपमा इन्ड्राइभ सेवा प्रदायक मोटरसाइकल र ट्याक्सीहरु तैनाथ हुन्छन् । यद्यपि उनीहरु भने खुलेरै इनड्राइभ सेवाको बारेमा बताउदैनन् । किनभने उनीहरुलाई इनड्राइभ अवैध हो भन्ने थाहा छ । यतिमात्र नभएर इनड्राइभरलाई भेटेको खण्डमा ट्राफिकले २ हजार जरिवानासहित कारवाही गर्न पाउने अधिकार छ । त्यसैले इनड्राइभरहरु खुल्दैनन् ।


यस्तो गैरकानूनी गतिविधिबारे सरोकारवाला र प्रदेश सरकार पनि जानकार छ । तरैपनि चुपचाप छ । 


‘इनड्राइभ गण्डकी प्रदेशमा दर्ता पनि छैन । स्वीकृत पनि लिएको छैन’, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशका प्रवक्ता टिकाराम पौडेलले सुनगाभा न्यूजसँग भने, ‘त्यसैले यो अल्टिमेट्ली कानून बर्खिलाप छ ।’ 


उनले इन्ड्राइभ प्रदेशमा दर्ता नभएको र स्वीकृत नलिएकाले कानून विपरित भएको दोहोर्याए ।  


रातो प्लेटको सवारी साधन निजी प्रयोजनमा मात्रै प्रयोग हुने व्यवस्था कानूनमै स्पष्ट उल्लेख गरेको बताउदै सार्वजनिक काममा प्रयोग गर्न नपाईने बताए । ‘रातो प्लेटको सवारी भनेको निजी प्रयोजनका लागि हो, प्रवक्ता पौडेलले भने, ‘संघीय सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ ले पनि त्यही भन्छ । कुनै पनि सवारी जे प्रयोजनमा दर्ता भएको हो त्यही प्रयोजनमा प्रयोग हुनुपर्छ भन्छ । अन्यथा कानून विपरित मानिन्छ ।’ 


उनले संघीय सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संसोधनको प्रक्रियामा रहेको  बताउदै भने, ‘ऐन संसोधनको प्रक्रियामा छ त्यहाँ यो विषयको सबै कुराहरु समेटियो भने प्रदेशले पाउने अधिकार अनुसार हामी अघि बढ्न सक्छौ ।’


प्रवक्ता प्रौडेलले केन्द्रले नै इन्ड्राइभलाई रोक्न नसकेको बताए । ‘संघीय सरकारले त केन्द्रमै रोक्न सकेको छैन, उनले भने, ‘हामीले नै हात हालेर अघि बढ्न सक्ने अवस्था नै छैन ।’ 
उनले इनड्राइभको दर्ताका लागि मापदण्ड पनि स्पष्ट नभएको बताए । ‘अहिलेसम्म त्यस्तो स्पष्ट कार्यविधि र मापडण्ड छैन, उजुरी र प्रयोजन विपरित प्रयोग भएको प्रमाणित भए ट्राफिक प्रहरीले कारवाही गर्ने हो ।’


इनड्राइभले गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रलायमा न दर्ता गरेको छ । नत स्वीकृति नै लिएको छ । त्यसैले यसले राज्यलाई राजस्व (कर) तिर्दैन ।


यतिमात्र होइन यसको पोखरामा कार्यालय पनि छैन । डिजिटल प्रविधिको प्रयोगले सेवा दिदै आएको इनड्राइभले अनलाइन दुनियामा व्यापक गतिविधि बढाएको छ । प्राय इनड्राइभलाई पेशा नै बनाएर लागिरहेका छन् भने कतिपय अतिरिक्तरुपमा यात्रु बोक्ने गरेको पाइएको छ । एक इन्ड्राइभरले दैनिक १ हजार ५ सय देखि २ हजार ५ सय रुपैयाँसम्म कमाउन सक्ने बताए ।  ‘मैले आज १५ सय कमाए, लेकसाइडबाट एउटा विदेशीलाई सराङ्कोट पुर्याएर लेकसाइड छोडेको थिए’, ति इन्ड्राइभरले भने, ‘मान्छे पायो भने त दिनमा २५ सय रुपैयाँसम्म कमाइन्छ । तर लुकीलुकी काम गर्न परेको छ ।’


अर्का इन्ड्राइभरले बिहान र बेलुकी मात्रै अनलाइनमा बस्ने गरेको बताए । ‘मैले दिनमा त जागिर गर्छु, त्यै बिहान र बेलुकी अफिसबाट निस्केपछि काम गर्छु । त्यस्तो कमाई हुन्न तेज जोहो गर्न सजिलो भाछ । जागिर जाने आउने बेला मेसो मिल्दा बोक्छु ।’


पोखरामा इनड्राइभमा संलग्नहरुको अनलाइन समूह छ । जहाँ कोहीपनि व्यक्ति सदस्य बन्न सक्छ । र, व्यवसायमा जोडिन सक्छ । पछिल्लो हप्ता एकैदिनमा २१ जना यस समूहमा जोडिएका छन् । उनीहरुले फेसबुक पेजमा ड्राइभरहरुको नाम र संख्या उल्लेख गरेका छन् । 


तर अहिले पेजमा जोडिन सहज भने छैन । सोही पेजमा रहेका एक जनाले इनड्राइभको वैधानिक र दर्ताबारे प्रश्न गरेपछि एडमिनले उनीसहित २ महिला सदस्यलाई पनि हटाएका छन् । त्यसपछि एडमिनले निकै कडाई गरेका छन् । उनीहरुको समूहको नाम ‘राइडर्स युनियन टिम’ हो । हाल इन्ड्राइभमा आबद्ध समूह नै पोखरामा ७ वटा छन् । 


इनड्राइभले आफ्नै भाडादर कायम गर्दै मनोमानी भाडा असुल्दै आएपछि ट्याक्सी व्यवसायीहरु चिन्तित बनेका छन् । ‘उनीहरुले नत सरकारले कायम गरेको भाडा लिन्छन् नत कर नै तिर्छन । हामीलाई त रुनु न हाँस्नु बनाएको छ, एक ट्याक्सी चालकले भने, ‘यसकै कारण हामीले हाम्रो समिति छाड्न परेको छ ।’

 

रातो प्लेटले यात्रु बोक्न पाइदैनः अध्यक्ष गिरी

 

गण्डकी पब्लिक लिमिटेडका अध्यक्ष गान्धीराज गिरीले इनड्राइभ अवैध भएकाले गण्डकी प्रदेश सरकारलाई ध्यानाकर्षण गरिसकेको बताए । उनले रातो नम्बर प्लेटले यात्रु बोक्न नपाइने र स्वतस्फूर्त भाडादर कायम गर्न नपाइने बताउदै नियमन गर्न आवश्यक रहेको बताए । ‘इनड्राइभ त इल्लेगल काम हो त्यसैले ट्याक्सी व्यवसायीमाथी चुनौती बढेको छ, उनले भने, ‘रातो प्लेटले सार्वजनिक काम गर्न पाउदैन भन्ने कानूनमै स्पष्ट उल्लेख छ । यो विषय सरकारसँग भनिसकेका छौं ।’

 

उनले कानून विपरित कार्य भएकाले ट्राफिक प्रहरीलाईसमेत जानकारी दिइसकेको बताए । ‘अवैध रुपमा निजी सवारीले यात्रु बोकेकाले उक्त गतिविधिलाई रोक्न हामी सबैलाई ध्यानाकर्षण गरिसेकेका छौ । सरकारले यसको छिटै निचोड निकाल्नुपर्छ ।’ उनले भने ।

 

गिरीका अनुसार गण्डकी पब्लिक लिमिटेडसँग गण्डकी प्रदेशभरबाट ७ सय ७५ आबद्ध छन् । उक्त लिमिटेड बाहेक अन्य व्यवसायीहरुक गरि गण्डकी प्रदेशमा करिब २ हजार बढी ट्याक्सी छन् । हाल इनड्राइभकै कारण समिति विवादित बन्न थालेको छ । 

 

कतिपय ट्याक्सीले समिति छाडिसकेका छन् । र मासिक शुल्कसमेत तिर्न छाडिसकेका छन् ।

 

अध्यक्ष गिरीले ट्याक्सी व्यवसायीलाई मासिक शुल्क अनिवार्य नगरेको बताए । ‘तपाइहरुले अनिवार्य तिर्नुस् भन्ने हुदैन । मन लागेकाले तिर्ने हो त्यसले दुर्घटना भए क्षतिपूर्ती पाउँछ, गिरीले भने, ‘शुल्क नतिरे क्षतिपूर्ती नत्र पाउन्न ।’

 

उनले इनड्राइभको विषयलाई वार्ताबाटै हल गर्नका लागि पहल गरिरहेको बताए । ‘गैरकानूनीरुपमा देखिएको इनड्राइभलाई वार्ता र संवादबाटै रोक्न पर्छ भनेर सरकारसँग पटकपटक बसेर ध्यानाकर्षण गरेका छौं ,  उनले भने, ‘यतिमात्र नभएर ट्राफिक प्रहरीलाई पनि जानकारी गरेका छौ अब केही दिनमै अनुगमन हुन्छ भन्ने बुझेका छौं ।’ 

काठमाडौंः   राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने बताउनुभएको छ ।   नेपालको समृद्धिका लागि हरित ऊर्जा भन्ने नारासहित काठमाडौंमा आयोजित...

थप पढ्नुहोस्

काठमाडौँ:   नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा बिहीबार पेसी तोकिएको छ ।     ...

थप पढ्नुहोस्

चितवन:  पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ।   राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किएकी राप्ती नगरपालि...

थप पढ्नुहोस्