पोखराको बीच भागमा बग्ने सेती नदी महानगरकै भरपर्दाे आयस्रोत भएपनि चालु आर्थिक वर्षमा यसबाट उठेको राजश्व ‘खुद्रा’मा सिमित छ । महानगरको ढुकुटीमा गिट्टी, बालुवालगायत नदीजन्य सामग्रीबाट वर्षेनी ७ देखि ८ करोड रुपैयाँ जम्मा हुने राजश्व यसपटक सेतीमा पानी बहे झैं बगिरहेको छ । पछिल्लो तथ्यांक हेर्दा माघ अन्तिमदेखि महानगरका कर्मचारीले घाटबाट राजश्व उठाउन थालेका हुन् । माघको अन्तिम सातामा ३ घनमिटर बराबर एक मिनी ट्रकबाट २ हजार १३० रुपैयाँका दरले दैनिक ६ हजार रुपैयाँको हाराहारीमा उठाइएको राजश्व फागुन दोस्रो सातादेखि दैनिक ३० देखि ३५ ट्रकबाट राजश्व उठाइएको महानगरमा रेकर्ड छ । त्यस्तै, चैतको तेस्रो हप्तादेखि दैनिक ५० ट्रकबाट राजश्व उठाइएको छ । महानगरले उल्लेखित तथ्यांक दिएपनि घाटमा खटाइएका कर्मचारीले यस हप्ता शान्तीघाटतर्फ दैनिक २० ट्रकको हाराहारीमा राजश्व संकलन भएको जनाए । महानगरका राजश्व शाखा प्रमुख झंकनाथ पौडेलले हिसाबकिताब दुरुस्त भएको बताएपनि उक्त हिसाबकिताब राजश्व उठाउन खटाइएका कर्मचारीले दिएको विवरण हो । ‘यहाँ दैनिक चल्ने ट्रक, ट्रयाक्टर र कामदारको संख्यालाई आधार मान्ने हो भने हिसाबकिताब गडबढ छ’ घाट क्षेत्रमा पर्ने वडा कार्यालयका एक जनप्रतिनिधि भन्छन् ‘कुनै–कुनै दिन रामघाट र शान्तिघाटबाट ८० ट्रिपको हाराहारीमा गिट्टी, बालुवा र ढुंगा उठाइएको छ ।’ बाराम्बार बोलपत्र आव्हन गरेपनि कसैले टेण्डर नहालेपछि महानगरको कार्र्यपालिका बैठकले आफै राजश्व संकलन गर्ने निर्णय गरेको उनले सुनाए । ‘पहिले मौखिकरुपमै निर्णय गरी राजश्व उठाउन थालिएको हो’ उनले भने ‘करिब एक महिनापछि मात्रै अप्ठ्यारो पर्छ भन्ने ठानेर निर्णय गरिएको हो ।’ सूचना संकलनका दौरान प्राप्त जानकारी अनुसार महानगरले कर्मचारी खटाएर माघको अन्तिमदेखि नै राजश्व उठाउन थालेको हो । तर आधिकारिक निर्णय भने फागुन २५ गते अनुमोदन गरी यसको जिम्मा प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको छ । किन लाग्न सकेन ठेक्का ? महानगरले लिलाम बिक्रीका लागि हालसम्म ४ पटक टेण्डर खोलिसकेको छ । सुरुमा रामघाटको मात्रै ५ करोड ८७ लाखमा टेण्डर खुलाइएको थियो । पछिल्लो पटक चैत २० गते साढे ३ करोड ५२ लाखको टेण्डर खोलिएको छ । तर टेण्डरको सूचनामा तोकिएको समयावधि मात्र २ महिना रहेको छ । कुनैपनि कम्पनीले २ महिनाकालागि ठेक्का पाउन जोडबल नगर्ने सम्भावना यसअघि कै घटनाले प्रष्ट्याएको छ । स्रोतका अनुसार महानगरको कार्यपालिकाको बैठकमा यसअघि टेण्डर प्रक्रियालाई बिचैमा तुहाउन केही जनप्रतिनिधिले भूमिका खेलेका थिए । त्यस्तै, यसअघि अनलाइनमार्फत टेण्डर (इ–बिडिङ्) नखुलाउँदा पनि आवश्यक बोलकबोल हुन सकेन । स्मार्ट सिटीको नारा दिएर चुनाव जितेका धनराज आचार्यले अनलाइन सिष्टमलाई प्रयोग नगरेकोमा कर्मचारीमाथिकोे निर्भरता भएको स्रोत बताउँछ । ‘महानगरको राजश्व अधिकृत झंकनाथ पहिले वडा ९ का सचिव हुन्, उनलाई रामघाटको कमाई सबै थाहा छ’ महानगरका एक नगरसभा सदस्य भन्छन् ‘पौडेल एमालेका मान्छे हुन्, उनलाई मेयले समाजवाीमा भित्र्याएर महानगरपालिका लगेका हुन् ।’ को हुँदैछ मालामाल ? महानगरले जति राजश्व असुली गरिरहेको छ त्यो रकम खुद्रामात्र हो । कुनैपनि सामान्य मान्छे सेती खोंचमा झरेर नियाल्यो भनेपनि यसबारे प्रष्ट हुन्छ कि घाटबाट उठ्नुपर्ने जति रकम महानगरको खातामा पुगेको छैन । त्यसो त महानगरका कर्मचारी घाट आवतजावत गर्ने गौंडामा पालले बेरेर नगदी रसिदसहित बसेका छन् । बाहिरबाट झट्ट हेर्दा सबै ठिकै देखिन्छ । तर सुक्ष्म अध्ययन गर्दा हिसाबकिताब गडबढ भइरहेको शंका गर्ने आधार भेटिएको छ । ‘महानगरले टेण्डर जसरी खुलायो त्यसअनुसार इच्छुक कम्पनीहरुलाई थाहै दिन खोजिएन’ टेण्डर प्रक्रियामा जान चाहने एक कम्पनी सञ्चालक भन्छन् ‘नामै नसुनेको सन्ध्याकालिन पत्रिकामा सूचना निकालियो ।’ एक त राजधानीबाट प्रकाशित हुने नामै नसुनेको पत्रिका त्यसमाथि अनलाइनमार्फत प्रतिष्पर्धा गर्न दिइएन भन्दै उनले कर्मचारीकै मिलेमतोमा महानगर राजश्वबाट वञ्चित भएको सुनाए । ‘पहिले–पहिले ठेक्का लागिरहेको थियो, अहिले राजश्वकै कर्मचारीको डिजाइनमा चलखेल भएको छ’ उनको दाबी छ । ‘सय ट्रिप गिट्टी बालुवा जाँदा सोही अनुपातमा राजश्व लिइएको छैन’ उनी भन्छन् ‘हाम्रो टिमले एकसाता रेकी गर्दा कर्मचारीमात्र मोटाएको देखियो ।’ त्यस्तै, अहिले महानगरले धेरथोर राजश्व उठाएपनि रातको बेलामा हुने चोरी नियन्त्रण हुन नसकेको भेटिएको छ । घाटमा झिसमिसेदेखि राति अबेरसम्म बालुवा बोक्ने र ट्रकमा लोड हुने पाइएको छ । त्यसरी बालुवा बोक्ने ट्रकचालकले दिउँसै राजश्व तिरेको बताउने गरेका छन् । रिपोर्टिङका दौरान त्यस्ता ट्रकचालकलाई ‘कर तिरेको रसिद छ ?’ भन्ने प्रश्नमा उनीहरुले ‘सबैलाई बिल देखाउन आवश्यक नरहेको जवाफ फर्काए । यस विषयमा राजश्व शाखा प्रमुख पौडेलले त्यस्तो प्र्रमाण वा डिटेल भए ल्याउनुहोस्, भिडाएर हेरौं भन्ने प्रतिक्रिया दिएका छन् । घाटमा खटिएका कर्मचारी भने राजश्व खेर जान नदिन बिहानदेखि रातीसम्म खटेको भन्दै ड्युटी आवरपछि कहाँ–के हुन्छ जिम्मा लिन नसकिने बताउँछन् । महानगरले २ महिनाकालागि साढे ३ करोडको टेण्डर खुलाउनु नै घोटाला पुष्टी हुने एक स्थानीयको भनाई छ । ‘टेण्डर अनुसारमा महिनामा पौने २ करोड राजश्व उठ्ने घाटबाट महानगरले अहिले मुस्किलले महिनामा १० लाख रुपैयाँ पनि किन उठाउन सकेको छैन ?’ उनको प्रश्न छ । ‘फेरि पनि टेण्डर नपर्ने निश्चित छ । र, महनागरकै सिमित कर्मचारीको हालीमुहाली कायम रहनेछ’ उनले थपे ।
पोखरा: पोखरा हुने होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम महाधिवेशनको तयारी पूरा भएको छ । महासंघ गण्डकी प्रदेशको प्रथम महाधिवेशन चैत २५ र २६ गते पोखरामा हुँदै छ । होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम महाधिवेशनको तयारी पूरा भएको आज (बिहीबार)पोखरामा पत्रकार सम्मेलन गदैं महाधिवेशनको तयारी पूरा भएको अध्यक्ष अर्जुन चोखालले जानकारी दिए । ‘मुलुक संघीय संरचना अनुसार गठित भएपछि होटल व्यवसायीहरुबीच समन्वय र सहकार्य अभिवृद्धि गर्दै पर्यटन व्यवसायलाई गुणस्तरीय बनाउने लक्ष्य हो, चोखालले भने, ‘ चैत २५ र २६ गते हुने प्रथम महाधिवेशनमा गण्डकीका ११ जिल्लाका १ सय २० जना प्रतिनिधि पर्यवेक्षकहरुले भाग लिनेछन् ।’ उनले होटल व्यवसायी महासंघ गण्डकीको प्रदेशको महाधिवेशनको उद्घाटन सत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती आउने बताए । महासंघ गण्डकीका अध्यक्ष चोखालले महाधिवेशनमा करिव १२ लाख खर्च हुने अनुमान गरेको बताए ।‘महाधिवेशनमा करिव १२ लाख खर्च हुने अनुमान गरेका छौं, गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा बसोबास गर्ने जातजातिका मौलिक संस्कृति झाँकी प्रस्तुत गर्ने छौं ।’ उनले भने । होटल रेष्टराँ तथा पर्यटन व्यवसायीहरुको प्रादेशिक छाता संगठनको रुपमा स्थापित होटल व्यवसायी महासंघ गण्डकी प्रदेशमा ६ हजार ५० बढी होटल सञ्चालनमा रहेको जनाएको छ । अनमानित ५४ हजार बढीलाई रोजगारी दिएको महासंघ गण्डकीले होटल व्यवसायमा ६२ अर्व लगानी रहेको र अहिले त्यो बढेर गएको अध्यक्ष चोखाले बताए । पोखरामा हुने होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम महाधिवेशनले आगामी तीन वर्षका लागि नया नेतृत्व चयन गर्नेछ ।
पोखरा: सशस्त्र प्रहरी बलको गोताखोरले पोखराको सेती नदीमा विश्वबहादुर गुरुङको शव फेला पारेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ स्थायी घर भई पोखरा लामाचौर बस्दै आएका ४४ वर्षीय गुरुङको शव गोताखोर सशस्त्र प्रहरीले सेती नदीमा ७३ दिनपछि फेला पारेको हो ।
पोखरा: होटल सङ्घ पोखराले नयाँ वर्षलाई लक्षित गरी आयोजना गरेको १८ औं नववर्ष महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । पोखराको लेकसाइडमा तीन दिनसम्म सञ्चालन हुने नववर्ष महोत्सवको तयारी अन्तिम चरणमा पुगको आज (बिहीबार) पत्रकार सम्मेलन गरेर होटल संघ पोखराले जानकारी दिएको हो । यही चैत २९, ३० र वैशाख १ गते पोखरामा १८ संस्करणको फेवा नववर्ष महोत्सव हुँदै छ । पत्रकार सम्मेलनमा बोल्दै होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड-१९ लगायतका कारणबाट प्रभावित पर्यटन व्यवसायको पुनःउत्थान गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवरद्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको बताए । ‘कोभिड लगायत विविध कारणले पर्यटन व्यवसाय फस्टाउन सकेको छैन, सुवेदीले भने, ‘पर्यटन क्षेत्रमा परेको असरलाई उकास्न महोत्सवले केही सहयोग पु¥याउँछ भन्ने उद्धेश्यले १८ औं संस्करणको फेवा नववर्ष महोत्सव सञ्चालन गर्दै छौं ।’ उनले कोरोनाले प्रभावित बनाएको पर्यटन क्षेत्र पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटना र पृथ्वी राजमार्गको सुस्त गतिमा स्तररोन्नति हुँदा असर गरेको बताए । ‘कोरोना पछि लयमा आउन लागेको पर्यटन व्यवसाय पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटना र पृथ्वी राजमार्गको अव्यवस्थित तथा सुस्त गतिको स्तरउन्नतिले असर पु¥याएको छ, उनले भने, ‘पर्यटन क्षेत्रसँगै आर्थिक क्षेत्रमा परेको समस्या समाधान गर्न राज्यले उचित निर्णय लिन आवश्यक छ ।’ पोखराको लेकसाइडस्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्मको सडकमा चैत २९, ३० र वैशाख १ गते पोखरामा १८ संस्करणको फेवा नववर्ष महोत्सव महोत्सव हुने आयोजकले जनाएको छ । महोत्सवका अवसरमा सङ्घअन्तर्गतका होटलले २० प्रतिशतसम्म छुट दिने आयोजकले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिका –१८ मा ३० वैशाखमा भएको स्थानीय तहको चुनावको वडाध्यक्ष पदको पुन: मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासले वैशाख २० गते पुन: गणना गर्न फैसला दिएको हो । मतगणनामा एमाले उम्मेदवार पुस्कलबहादुर थापालाई हराउँदै कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएको घोषणा गरिएको थियो । तर थापाले आफू ९ मतान्तरले विजयी भएको भन्दै पुन: मतगणनाको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए । निर्वाचन अधिकृतको कार्यालयले भने शिवले १६ सय ४३ र पुस्कलबहादुर थापाले १६ सय ४० मत ल्याएको घोषणा गरेको थियो ।
पोखरा: पोखरा महानगरपालिका १७ विरौटाका इन्द्रप्रसाद अर्यालले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका छन् । आज (मंगलबार) अर्यालले विरौटा फिल पछाडी रहेको आफ्नै घरको कोठामा आगो लगाएर आत्मदाह गरेको कास्की प्रहरीले जनाएको छ । अन्दाजी ४५ अर्यालले आफु सुत्ने कोठामा आगो लगाएर आत्मदाह गरेको प्रहरीले जनाएको छ । अहिले प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।
पोखरामा पछिल्लो समय बढेकोे दुर्घटनापछि समबन्धित निकायहरुले चासो राखेका छन् । यस विषयमा जिल्ला प्रशासन कार्यालय कास्कीले नागरिक समाज, ट्राफिक प्रहरी र सरोकारवालासँग छलफल गरी मापदणड निर्धारण गरेको छ । प्रशासन कार्यालयले नगर र माइक्रोबसका सरोकारवाला निकायलाई दुर्घटना न्यूनीकरण गर्न ३ बुँदै मापदण्ड पालना गर्न निर्देशन दिएको छ । उल्लेखित मापदण्डमा नगरभित्र सञ्चालित सार्वजनिक बसहरुले अधिकतम गति नियन्त्रण गर्नुपर्ने जनाइएको छ । मापदण्डमा गति उल्लेख नगरिएपनि सामान्यतयः २० देखि ३० किलोमिटर प्रतिघण्टा मापन गरिएको अन्तर्राष्ट्रिय अभ्यास छ । त्यस्तै, सार्वजनिक गाडीले उल्लेखित बस स्ट्याण्डमामात्रै यात्रु चढाउने र झार्ने व्यवस्था गर्न कडाइकासाथ लागु गर्ने उल्लेख गरिएको छ । साथै, बस चालकहले ओभरटेक गर्न नपाइने निर्देश गरिएको छ । यससँगै प्रशासले यातायात व्यवसायीहरुलाई ट्राफिक प्रहरीसँगको सहकार्यमा चालक र सहचालकलाई सचेतनामूलक प्रशिक्षणको व्यवस्था गर्न अनुरोध गरेको छ । ट्राफिक प्रहरी कास्कीको रेकर्ड अनुसार चालु आर्थिक वर्षको फागुनसम्म सय बढी दुर्घटना भएको छ ।
पोखरा: अमेरिकाको सानफ्रान्सिस्कोमा पोखरा बाटुलेचौरका एक युवा मृत फेला परेका छन् । सानफ्रान्सिस्को डाउन टाउन स्थित ओफारेल स्ट्रिटमा रहेको अपार्टमेण्टमा असमान्य अवस्थामा पोखरा बाटुलेचौर घरभएका सुरेश बाँनिया मृत भेटिएका अमेरिका स्थित नेपाली पत्रकारहरुले सुनगाभा न्यूजलाई जानकारी दिएका छने । अमेरिकाको बानिया रेष्टुरेन्टमा सेफका रुपमा कार्यरत २८ वर्षीय सुरेश शनिबार मृत भेटिएका हुन् । उनी सात वर्ष अघि अमेरिका गएका थिए । केही समयदेखि उनले मानसिक समस्याको उपचार गर्दै आएको र शनिबार साँझ अपार्टमेण्टमा बस्नेहरुले उनलाई असमान्य अवस्थामा देखेपछि आपतकालिन नम्बर ९११ मा फोन गरेका थिए । त्यसपछि प्रहरीले पोष्टमार्टमका लागि उनलाई अस्पताल लिएर गएको थियो । त्यहाँ उनको असमान्य मृत्यु भएकाले उनीसँग चिनजान भएकाले पोखरा स्थित उनको परिवारलाई खबर गरेका थिए । केही समय अघि तीव्र गतिमा गाडी चलाएपछि एक पटक उनलाई प्रहरीले समातेको थियो । मानसिक समस्या रहेको शंका लागेपछि प्रहरीले उनलाई उपचारका लागि सिफारिस गरेको थियो । त्यसपछि उनले नियमित उपचार गराईरहेका थिए ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ रिभानमा व्रतबन्धको भोजमा दलितले भान्सा छोएको भन्दै भतेर घोप्ट्याउने वडा सदस्य प्रकाउ परेका छन् । माछापुच्छ्रे गाउँपालिका–५ रिभानका वडा सदस्य रामजी लामिछाने आइतबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी ज्ञानबहादुर खड्काले जानकारी दिए । गत फागुन २५ गते ब्रन्तबन्धको भोजमा जातीय विभेद गरेको भन्दै रिभानका चार जनाविरुद्ध पोखराका नारायण परियारले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गराएपछि लामिछाने फरार थिए । व्रतबन्धमा दलित र गैरदलितलाई छुट्टाछुट्टै भान्साको व्यवस्था गरेर जातीय विभेद गरेको आरोपमा स्थानीय सन्तोष परियार र सुजन लामिछाने चैत १२ मा पक्राउ परेका थिए । फरार रहेका वडा सदस्य रामजी लामिछाने र स्थानीय सरिता लामिछाने आइतबार प्रहरीको सम्पर्कमा आएपछि पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । उनीहरुलाई अदालतबाट म्याद थप गरी थुनामा राखिएको छ । जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ अन्तर्गत कारवाही गरी क्षतिपूर्ति समेत भराउन नारायणले माग गरेका छन् । आफन्तको ब्रतबन्धमा भाग लिन पोखरा–२९ भण्डारढिकका उनी फागुन २५ मा पुर्ख्यौली गाउँ रिभान पुगेका थिए । घटनाक्रम... पीडित नारायण (दमै) परियारका अनुसार कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ रिभानमा सन्तोष परियारले फागुन २५ गते साहिल र समिर परियारको ब्रतन्बधमा पाहुनाका रुपमा आफु नारायण (दमै) परियार, जोगेन्द्र दास परियार, नरबहादुर कुमाल र मीनबहादुर परियार त्यहाँ पुगे । धर्मसंस्कार अनुसार टिकाटाला दान दक्षिणा गरेपछि भोज खान भनि भान्सातर्फ गए । त्यहाँ रहेका (आरोपित पीडक) मध्ये सरिता लामिछानेले तिमी के थरि हौं भनि सोध्नुभयो म आजको कर्ताको आफन्त हुँ भनेपछि तिमी दमैहरुलाई यहाँ होइन तिम्रो भान्सा छुट्टै छ भन्दै म (जाहेरवाला) लाई भान्साबाट करिब २० मिटर पर नै रोक्नुभयो । मैले छुट्टाछुट्टै भान्सा भएको मलाई थाहा भएन र पनि म भैसीको मासु नखाने भएकोले म यहाँको भान्सामा नै भोज खान्छु । मैले यही भान्सामा खादा के हुन्छ भनेर प्रतिप्रश्न गर्दा यो बाहुन भान्सा हो यहाँ ब्राम्हण क्षेत्रीले मात्र खाने हो, यहाँ वृद्ध बुवा आमाहरु हुनुहुन्छ, तिमीहरुले छोएको खानु हुदैन भन्नु भयो । मैले अहिलेको समयमा पनि यस्तो कुरा नगर्नु भन्दा एक्कासी तिमी दलितहरु ठुला पल्टिन्छौ, (आरोपीहरुले) एक मुख लगाउदै हाम्रा भान्सा जुठो भयो भन्दै रामजी लामिछानेले भान्सामा भएको दाल भात तरकारी भुइमा फालीदिनु भयो भने सुजन लामिछानेले पनि तिमी दमैहरु किन बाहुन भान्सामा आउने रु सबै भान्सा बिटुलो भयो भन्दै अपमान गरे । त्यसरी उनीहरुले अपमान गरेपछि आरोपी सन्तोष परियारलाई सो कुरा भन्दा छुट्टाछुट्टै भान्सा छत किन बाहुन भान्सा गएर छुवाछुत गरेको तनी भनि उल्टै मलाई सम्झाएपछि मलाई बस्न खान मन नलागेर मेरो घरमा पारिवारिक समस्यासमेत भएकोले तुरुन्तै घर फर्किए । त्यसपछी मलाई निम्ता गर्ने आरोपी सन्तोष परियारले फोन गरी तिमीले भान्सामा गई छोइदिएकाले सबै पाकेको खानाहरु फालिदिए । मेरो (एक लाख पचास हजार रुपैया)को खाना खेर गयो मेरा पाहुनाको पनि अपमान भयो । त्यसैले तिमीले हाम्रो धर्म संस्कारलाई नमानी मेरो ब्रतबन्धको कार्य नै बिफल बनायौ । अब तिमिलाई हाम्रो कुल कुटुम्बबाट निकाल्छौ हाम्रो कुल मन्दिरमा पनि प्रवेश छैन । तिमीले दिएको घन्टी पनि लैजाउ भन्दै तिमीले जसरी पनि मेरो रकम तिर्नु बुझाउनु पर्यो भनी फोनमा धम्काउनु भयो ।