पोखरा:   पोखरामा सलाईको काँटी पटका बनाउने क्रममा अचानक पड्किदा १७ वर्षीय असिम परियार घाइते भएका छन् ।  पोखरा महानगरपालिका–२१ फुर्सेखोला रोकरे बस्ने परियारले आज आल्मुनियमको पातामा २० ब...

पोखरा:     नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा भएको पहिलो पोखरा चाईल्ड स्टारको उपाधि विल्शन ठकुरी र सायना श्रेष्ठ जितेका छन् । विल्नशन शिशु निकेतनका विद्यार्थी हुन् भने सायना कुश्माकी हुन् । तीन हप्ताको विभिन्न तालिमपछि पोखराको उद्योग बाणिज्य संघको हलमा ग्राण्ड फाईनल भएको थियो । उक्त कार्यक्रममा १२ जनाको सहभागिता रहेको थियो । पोखरा चाईल्ड स्टार केटातर्फ फस्र्ट रनर अप कान्तिपुर एकेडेमीका प्रनिश सिंह भण्डारी, सेकेण्ड रनर अप लावि रेसिडेन्टलका प्रविश गुरुङ्ग, थर्ड रनर अप प्राञ्जल पोखरेल, फोर्थ रनर अप मदरल्ययाण्डका श्रीयान पोखरेल हुन सफल भए । छात्रातर्फ फष्ट रनर अपमा हिमाञ्चल बार्डिङकी स्वस्तिका शर्मा, सेकेण्ड रनर अपमा मदरल्याण्डकी अदिती पौडेल, थर्ड रनर अपमा कुमुदिनी होम्सकी सरगम क्षेत्री र फोर्थ रनर अप मदरल्याण्डकी आरोही आचार्य भए । मोस्ट ईन्टलएक्चुल अवार्ड गण्डकी बोर्डिङ स्कुलकी आलिया सिटौला र मिस एन्जल टाईटलको उपाधि कुमुदिनी होम्सकी अल्जिना सिटौलाले हात पारेका थिए । वेस्ट फादर अवार्डद्धारा निमेस सिटौला सम्मानित भए । उक्त कार्यक्रममा क्राउन र अवार्ड, मिस पोखरा २०१८ विजेता सारा बजिमय, समाजसेवि माया गुरुङ्ग, साहित्यकार चन्दावती वाग्ले, फेसन डिजानर एवम मोडल रोशनी छिनाल, सञ्चारकर्र्मी आर्जु बिष्ट सल्यानी र प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेलले प्रदान गरेका थिए । पोखरा चाईल्ड स्टारको कोरियोग्रफर रक्षा कुँवर रहेकी थिइन् । गण्डकी प्रदेश तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेलले । प्रतियोगिताले पोखराका बालबालिकामा रहेको प्रतिभाको खोजी गर्न सहयोग पुगेको बताए । उनले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु निरन्तर हुन आवश्यक भएको बताए । यसअघि कार्यक्रममा सहभागिहरुलाई सार्थक अधिकारीले गरेका थिए । शूभकामना मन्तव्य गीता पाण्डे, शारदा रेग्मी, सफल देवकोटाले दिएका थिए भने कार्यक्रमको निर्देशकमा कमलराज खनाल रहेका थिए । कार्यक्रमको मुख्य प्रयोजक इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्स रहेको थियो । कार्यक्रम सञ्चालन कार्यक्रम निर्देशक रोशन गुरुङ्ग र सञ्चारकर्मी देवेन्द्र शाहीले गरेका थिए ।  

पोखरा:   ‘सुन्दर नगरी पोखरा’ हिजो आज पोखराका स्थानीय जनप्रनितिधि र नेताहरुले कुनै औपचारिक कार्यक्रममा प्रयोग गर्ने ‘नारा’ हो यो ।  माथिको नाराजस्तै पोखरा महानगरपालिका १६ दीपको मध्यमा सुन्दरफिड चोक नै छ । तीनतिरको सडकलाई छुट्याउने उक्त चोक नाम जस्तै सुन्दर भने छैन ।  पोखरा–दीप–लामाचौर सडक खण्डमा पर्ने सुन्दरफीड चोक–गोरखा बोर्डिङसम्म ३ सय ७० मिटर सडक ठेकेदारले अलपत्र छोडेपछि उक्त चोकलाई सुन्दरफीड चोक नामले चिनाउन नै स्थानीय लज्जित छन् ।  ठेकेदारले निर्माण सम्झौता अनुसार नै काम गरेको भए एक वर्ष अगाडि नै कालोपत्रे हुनुपर्ने सडक सम्झौता सकिएको एक वर्षपछि धुलाम्य अवस्थामा छ ।  ०७८ असार  १३ गते टेण्डरमार्फत पोखराको विभिन्न स्थानमा कालोपत्रे गर्ने योजनासहित ७ करोड ४० लाख ८९ हजार ९ रुपैयाँ ४२ पैसामा ठेक्कासम्झौता गरेको शिवशक्ति इन्फ्रा हेटौडाले काम अलपत्र छोड्दा सडक अलपत्र बनेको हो ।    निर्माण सम्झौता अनुसार कम्पनीले ०७९ असार १५ भित्र नै उक्त सडक खण्ड निर्माण गर्नुपर्ने भएपनि कम्पनीले काम नगर्दा सडक डिभिजन कार्यालय कास्कीले पेश्कीस्वरुप दिएको दुई किस्ताको ६५ लाख १२ हजार रुपैयाँ समेत फिर्ता लिएको छ ।  सडक डिभिजन कार्यालय कास्कीका ईन्जिनियर सुभद्रा महर्जनका अनुसार शिवशक्ति इन्फ्रा हेटौडाले पोखराको विभिन्न स्थानमा सडक कालोपत्रे गर्ने गरी योजना सम्झौता गरेको जानकारी दिए ।  उनले भनिन्, ‘ठेकेदारले सरासर काम गर्ने हो भने, एक महिना  भित्र काम गर्न सक्छ तर अहिले पोखरा दीप–लामाचौर सडक खण्डमा ३७० मिटर सडकमा नाली बनाएको छ, अब कालोपत्रे गर्ने भनेर कम्पन्नीका प्रतिनिधिले काम गर्ने बताएको छ ।’ स्थानीय रामजी केसीले पोखरा दीप–लामाचौर सडक खण्ड ठेकेदारले एकवर्षदेखि अलपत्र छोड्दा धुलोका कारण कैदी झै झ्याल ढोका लगाएर आफ्नै घरमा बस्न बाध्य भएको बताए । ‘सुन्दरफीड चोकबाट गण्डकी बोर्डिङसम्म ठेकेदारले अलिकति काम गरेको छ, जब घामसँगै सवारीको चाप बढ्छ धुलोको मात्रा बढेर जान्छ, केसीले भने, ‘पाकेको खाना धुलोका कारण राम्रोसँग खान पाइँदैन, कैदी झै झ्याल ढोका लगाएर घरभित्र बस्नुपर्छ ।’   उनले प्रदेश र स्थानीय तहको बजेट नभएर केन्द्रीय सरकारको बजेट भएकाले एकवर्ष देखि योजना अलपत्र हुँदा पनि स्थानीय सरकारले कुनै पहल नगरेको आरोप लगाए । ‘स्थानीय, प्रदेश सरकार भन्छन् तर यत्रो पर्यटकस्थल जोड्ने सडकखण्डको योजना अलपत्र हुँदा काम अगाडि बढाउन स्थानीय सरकारले कुनै पहल गरेन’, उनले भने जनप्रतिनिधि र सडक डिभिजन कार्यालय कास्कीका कर्मचारीहरुलाई यही सडकको पोलमा बाँधेर एक घण्टा धुलो खुवाउने हो अनि सडक बन्छ कि ?’ पोखराको दीप–लामाचौरमा नै सवारी चलाउँदै आएका चालक राजकुमार परियारले सडक अलपत्र हुँदा धुलाम्य र हिलाम्य हुँदा वर्षेनी सास्ती खेप्दै आएको बताए ।    स्थानीयले सडक डिभिजन कार्यालयले सडकमा धुलो उड्न नदिन ट्याङ्कर मार्फत पानी हालेर राज्यको स्रोत साधनको दुरुपयोग गरेको आरोप लगाए । ‘पोखरामा एक ट्याङ्कर पानीको २ हजार रुपैयाँ पर्छ । दिनमा २ पटक पानी सडकमा हाल्दा यसलाई हिसाब गर्दा महिनामा १ लाख २० हजार रुपैयाँको पानी धुलोसँग उडाएको छ, यसरी समस्याको समाधान हुँदैन, निर्माण कार्य छिटो पूरा गर्न सडक डिभिजनदेखि प्रशासन महिनौं गएका छौं’ स्थानीयवासी भन्छन् ।  सडक डिभिजन कार्यालय कास्कीका इन्जिनियर महर्जनलाई कार्यालयले पानी किनेर सडकमा हालेको हो ? भन्ने प्रश्नमा कार्यालयको ट्याङ्कर भएकाले पानी नकिनेको बताईन् ।  सडक निर्माणलाई तीब्रता दिन महानगरको ध्यानाकर्षण पोखरा महानगरपालिका १६का दीपका स्थानीयले दुईवर्षदेखि निर्माण थालिएपनि सडक अलपत्र भएपछि स्थानीय सरकार पोखरा महानगरपालिका र प्रशासनमा पटकपटक ध्यानाकर्षण गराउँदै आएको छ ।  आज (आईतबार) पोखरा–१६ दीप सुन्दरफीड चोकमा पोखरा महानगरपालिकाका मेयरलाई स्थानीयले पर्यटकीय स्थलको नै सडक अलपत्र हुँदापनि स्थानीय सरकार निरिह बनेको भन्दै आक्रोस पोखेका थिए ।  पोखराको सडकका योजना वर्षौदेखि अलपत्र हुँदापनि प्रदेशदेखि स्थानीय  सरकारले कुनै चासो नदिएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको हो ।   

पोखरा:    नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलाई सुप्रेम शारदा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियन कास्की शाखाले संचालन गरेको सो पुरस्कार पहिलो पटक भण्डारीलाई प्रदान गर्न लागिएको हो ।   पुरस्कार राशि ५१ हजार रुपैया नगद र सम्मान पत्र रहेको छ । नेपाल पत्रकार महासघं कास्कीका पूर्व अध्यक्ष रवीन्द्र बास्तोला संयोजक रहेको प्रतिभा छनौट समितिको सिफारिसमा नेपाल प्रेस युनियन कास्कीकोे बैठकले भण्डारीलाई पुरस्कृत गर्ने निर्णय भएको युनियनका कार्यवाहक अध्यक्ष रवीना आलेले जानकारी दिइन् । पोखरामा रहेर २ दशकदेखि पत्रकारितामा सक्रिय भण्डारीले विभिन्न संचार माध्यममा काम गरेकी छन् । उनले विशेष गरि महिला सशक्तिकरणका क्षेत्रमा आवाज उठाउदै आएकी छन् । भण्डारी यसअघि राष्टपतिबाट जनसेवाश्री विभूषणसहित विभिन्न पुरस्कारबाट पुरस्कृत एवम् सम्मानित भइसकेकी छन् । संविधान सभा सदस्य, नेपाली कांगे्रसका तत्कालिन आमन्त्रित सदस्य, वरिष्ठ उद्योगपति सूर्यबहादुर केसीले वि.सं.२०७६ सालमा प्रेस यूनियनले संचालन गर्ने गरि आफ्नी वहिनी शारदा केसीको स्मृतिमा ६ लाखको अक्षयकोष स्थापना गरेका थिए । उक्त पुरस्कार नेपाली प्रेस युनियन कास्कीको १०औं अधिवेशनको अवसरमा जेठ ७ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख अतिथ्यतामा वितरण गरिने कावा अध्यक्ष आलेले बताइन् । सोही कार्यक्रममा युनियनका निवर्तमान अध्यक्ष नवीन सिग्देललाई शान्ति पत्रकारिता पुरस्कार, प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ यनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल र २०७९ नेपाल पत्रकार महासघं कास्कीका पूर्व अध्यक्ष रवीन्द्र बास्तोलालाई प्रदान गरिने युनियनका सहसचिब ज्योति हमालले जानकारी दिइन् ।

पोखरा:  पञ्चायतकालमा जाली तमसुक बनाएर साहुमहाजनले गरिबको उठिवास लगाएको घटना प्रशस्तै देख्दै, सुन्दै आइएको हो ।    निरक्षरलाई तमसुकमा औंठाछाप लगाएर बसाइँ हिड्न बाध्य बनाएको समाजले व्यवस्था फेरेर लोकतन्त्रलाई अंगाल्दा पनि ‘जति तिरेपनि नसकिने’ रिनबाट कतिपय अहिलेपनि घर न घाटका भएका छन् ।    सुन्दा अचम्म लाग्ला तर तथ्य भयावह छ । महानगरमा स्थायी बसोवास भएकी सानु सुवेदी (नाम परिवर्तित) ६ वर्षमा घरबाट सडकमा आएकी छिन् । व्यापार गर्ने घरसल्लाहपछि आफन्तबाट ४० लाख रिन लिएर व्यापारी भएकी सानुको परिवार अहिले घरबारविहीन भएकी छिन् ।    ‘व्यापार गर्ने हो भने सहयोग गर्छु’ भन्ने आफन्तको ढाडसपछि उनले ४० लाख रुपैयँ रिन लिइन् । कागज गर्दा कहाँ के लेखियो त्यति ध्यान नपुगेको स्वीकार्दै उनले हस्ताक्षर गरिन् । त्यसयता उनले पैसा तिरेको तिरै छिन् तर सकिएको छैन ।      सानुले आफन्तलाई तिरेको कागजमा उनले पटपटक गरी ४१ लाख रुपैयाँ बुझाएको देखिन्छ । त्यसपछि ब्याजस्वरुप ३७ लाख रुपैयाँ पनि बुझाएकी छिन् । सानुको हिसाबमा ब्याजको स्याज जोड्दा पनि अब ३ लाख रुपैयाँ हाराहारीमा बाँकी होला ।    तर सानुको ग्यारजातीमा भएको ४ रोपनी जग्गाको लालपुर्जा आफन्त (साहु)सँग छ । उक्त जग्गाको बजारभाउ करिब ६ करोड रुपैयाँ रहेको उनको अनुमान छ । आफ्नो जग्गा उकास्न अब थप ३ करोड बुझाउनुपर्ने भएपछि सानु र परिवार दिउँसै अँध्यारो देख्न थालेका छन् ।    ४० लाख रिन तिर्न भएभरको जायजेथा नै सकिन लागेपछि उनी साहूलाई ‘पीडक’ करार गर्दै न्याय पाउन जिल्ला प्रशासन कार्यालय, कास्की पुगेकी छिन् ।   आखिर यति लामो समयपछि सबै गुमाएर किन पीडित भएर सानुले प्रशासन गुहारिन् ? जवाफमा प्रशासन कार्यालयअन्तरगत मिटरब्याज पीडितलाई सहायता गर्न छुट्टै कक्ष सञ्चालनमा रहेका कर्मचारी भन्छन् ‘तराईका मिटरब्याज पीडितहरु आन्दोलनमा निस्केपछि त्यसकै असर परेको हो ।’     उल्लेखित घटना पढ्दा/सुन्दा ‘अहो ! ढाडै भाँचेछ नी’ भन्नुहोला । सानुको पीडा त केवल उदाहरणमात्र हो ।    कास्कीको एक गाउँपालिकाका रोशन नेपाली (नाम परिवर्तित)को पीरको पारो यो भन्दा उच्च छ । छिमेकीसँग ५० हजार रिन लिन तमुसकमा रुपाकोटको ५ रोपनी जग्गा उल्लेख गरेपछि अहिले रोशन पनि ‘मिटरब्याज पीडित’मा दर्ज भएका छन् ।    रोशनले रिन लिएको र जग्गा धितो राखेको प्रमाण प्रशासनमा बुझाएका छन् । ‘रिन बढिरह्यो, गरिखाने जग्गा पनि गयो तर रिन सकिएन’ रोशनले सावाँभन्दा ब्याज र त्यसको पनि थप ब्याजको उल्लेख गरेर पेश गरेको निवेदनको भावले बोलेको छ ।    निवेदन बुझेपछि बढो मुस्किलकासाथ प्रशासनले दुबै पक्षलाई एकपटक भेट्न सफल भएका छन् । प्रशासनले जेठ ७ गते पुनः दुबै पक्षलाई बोलाएको छ ।  ‘यसबीच निवेदन र अन्य कागजातको मिहिन अध्ययन गर्छाै’ यसबीचमा २ वटा समस्या सल्टाएको फाँट केही उत्साहित छ ।      मिटरब्याजको समस्या सल्टाउन गृह मन्त्रालयबाटै परिपत्र भएपछि देशैभर प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सहायताकक्ष सञ्चालन भएको छ । सोही खबर सुनेपछि अहिले कास्कीमा पीडितहरु निवेदन लिएर पुग्ने गरेका छन् ।    समाचार संकलनकाक्रममा भेटिएका पीडितहरुको मुहार र शारीरिक अवस्थाले उनीहरुको पीडा बोल्ने गरेको कक्षकी कर्मचारी रुक्मिणी रेग्मी बताउँछिन् । ‘जालझेल र तिकडम कतिसम्म हुँदोरहेछ भन्ने थाहा पाउन यहाँ परेको निवेदनले प्रष्ट्याउँछ’ रेग्मी भन्छिन् ‘निवेदन झनै बढ्न थालेपछि जेठ २ गतेसम्म म्याद थपेका छौं ।’     यहीबीच प्रशासन परिसरमा निवेदनमा टाँस्न टिकट खोज्दै हिँडेकी एक महिलाले २३ लाख रुपैयाँ रिन लिएको र अहिलेसम्म ४० लाख रुपैयाँ बुझाइसकेको बताइन् । अझैपनि सावाँ रकम बाँकी नै रहेको भन्दै ताकेता गरेपछि श्रीमानसँग सम्बन्ध बिग्रेको उनले सुनाइन् ।    ‘मेरो र रिन दिनेको नाम नसोध्नुस् भाइ’ उनले भनिन् ‘मेरा बुढा (श्रीमान्)ले मलाई घरबाट निकालेको ४ महिना भयो, भाडामा बसेकी छु ।’ किन रिन लिएको भन्ने खुलाउन नचाहेकी उनले श्रीमान्ले विदेशाट पठाएको पैसासमेत उसैलाई बुझाएको तर रिन नसकिएको उनले सुनाइन् ।    स्थायी ठेगाना म्याग्दी भएकी उनी माइतिपक्षले ‘सिडिओकहाँ जा’ भनेपछि आजै निवदेन दर्ता गर्ने भनेर प्रशासन आएकी रहिछन् ।    प्रशासनमा वैशाख १७ गतेदेखि मसान्तसम्म मिटरब्याज सम्बन्धित २१ वटा उजुरी परेका छन् । त्यहाँ परेको एक उजुरीमा वडा कार्यालयले नै मिटरब्याजीलाई सहयोग पु¥याउने कागजसमेत बनाइदिएको पाइएको छ ।    प्रशासनका सहायक प्रजिअ भन्छन् ‘अवस्था विकराल रहेको पाएका छौं, हाल निवेदन संकलन भइरहेको छ, जेठ २ पछि हामी एक्सनमा जान्छौं ।’   (नोटः हामीसँग मिटरब्याजमा रिन लिने र दिने दुबैको नाम, ठेगाना सुरक्षित भएपनि निवेदकको आग्रहमा गोप्य राखिएको छ ।)  

पोखरा:    पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि योजना तर्जुमा सम्बन्धी तयारी बैठक ३३ वटै वडाहरूमा गर्ने गरी सुरु गरेको छ ।  अभियानको रूपमा महानगरका सबै वडाहरूमा गरिने यस प्रकारको तयारी बैठक नगरप्रमुख धनराज आचार्यले वडा नं।२५ बाट सुरु गर्नुभएको हो ।  पोखरा महानगरपालिका वडा नं. २५ मा आयोजित तयारी बैठकमा बोल्दै प्रमुख आचार्यले आगामी आवका लागि योजनाहरू तर्जुमा गर्दा स्थानीय आवश्यकता र प्राथमिकताको आधारलाई विशेष ख्याल गर्न अनुरोध गर्नुभयो । “वडा स्तरमा योजनाहरू तर्जुमा गर्दा सम्बन्धित वडाको आवश्यकता र प्राथमिकता पहिलो सर्त हुनुपर्दछ, उहाँले भन्नुभयो, वडामा रहेका सबै सरोकारवालाहरूको भेला मार्फत विधिसंगत तवरले तर्जुमा गरिएका योजनाहरू मात्र वडाको योजना बैङ्कमा सूचीकृत गरिनु पर्दछ ।”  योजना तर्जुमाका नाममा धेरै समय खेर जाने र परिणाममुखी योजनाहरू नबन्ने विगतका कमजोरीहरूलाई सुधार गर्दै अव चार वर्षका लागि आवश्यक योजनाहरू एकै पटक तर्जुमा गरी वडा वडामा योजना बैङ्क तयार गरिने उहाँले बताउनुभयो । आफ्नो कार्यकालमा सम्पन्न गर्न सकिने र स्रोतको सुनिश्चितता हुने योजनाहरू मात्र छनौट गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । स्थानीय विकासको दीर्घकालीन सोचलाई ध्यानमा राखी योजनाहरू निर्माण गर्ने बेला आएको प्रमुख आचार्यले बताउनुभयो ।  महानगरपालिकाका सबै वडाहरूको समुचित र न्यायोचित विकासका लागि वर्तमान नेतृत्व तत्पर रहेको बताउँदै उहाँले महानगरमा विभिन्न दातृ निकायहरुको सहयोगमा २३ अर्ब बढीको लगानीमा नयाँ परियोजनाहरू सञ्चालनको तयारीमा रहेको बताउनुभयो । सुस्त प्रायः बनेको पोखरा महानगरपालिकाको अन्तर्राष्ट्रिय दातृ निकायहरुसँगको समन्वयलाई महानगरको नयाँ नेतृत्वले तदारुकताका साथ पुनर्स्थापित गरी अरबौँ रुपैयाँ लगानीको वातावरण तयार गरेको उहाँले बताउनुभयो ।  समृद्ध महानगर निर्माणका लागि नयाँ बन्ने योजनाहरू समेत परिणाममुखी बन्न आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार वडामा हुने योजना छनौटको प्रक्रियालाई सहभागितामूलक बनाई सबै नागरिकहरूको पहुँच स्थापित गर्ने उद्देश्यले वडा वडामा यस्तो प्रकारको कार्यक्रम गर्न लागिएको हो । समग्र पोखराको समुचित विकास नयाँ नेतृत्वको स्वार्थ हुने भन्दै उहाँले यस अभियानमा हातेमालो गर्न महानगरवासीलाई आग्रह समेत गर्नुभयो । वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरूले आफ्नो वडाका योजनाहरू तर्जुमा गर्दा स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा गर्ने बताएका छन् । सो क्रममा आवश्यक विधि, प्रक्रिया र पद्धतिको पूर्ण पालना गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।  तयारी बैठकमा सहभागी स्थानीय राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, बुद्धिजीवी लगायत स्थानीयहरूले नागरिकको आधारभूत आवश्यकता, भौतिक विकास, विपद् जोखिम न्यूनीकरण, पर्यटन विकास, कृषि, सामाजिक न्याय सहितको समतामूलक समाज निर्माणका लागि मानव संसाधनको विकास लगायतका विषयमा योजनाहरू केन्द्रित गरिनु पर्ने बताए ।  वडा नं. २५ बाट सुरु भएको योजना तर्जुमा तयारी बैठक हालसम्म वडा नं. २४ र ५ मा समेत सम्पन्न भैसकेको छ । महानगरका अन्य वडाहरूमा यो कार्यक्रम सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ ।  

पोखरा:    पोखरामा स्वतन्त्र नागरिकहरुले भ्रष्टाचारविरुद्ध आज युवाहरूले प्रदर्शन गरेका छन् । देशमा भ्रष्टाचारका घटना बढेको र नियन्त्रण गर्नुपर्ने माग गर्दै युवाहरूले दबाब सिर्जना गर्न प्रदर्शन गरेका हुन् । उनीहरुले ‘कुरा सिधै प्रष्ट छ, हाम्रो सिस्टम भ्रष्ट छ’, ‘भन्नेछौं हामी बारम्बार, भ्रष्टाचारीलाई कारागार’, ‘टोपबहादुर कि टापबहादुर’, सरकार ‘ठूलो माछा पकडी, लगा छिटो हत्कडी’, ‘करोडौं पर्ने महल तिमीलाई कसले किन्दियोरु’ लगायतका नाराहरू सहित उनीहरूले प्रदर्शन गरेका हुन्। तस्बिरहरु:-          

पोखरा:   पोखरामा क्रेनको ठक्करबाट धना अधिकारीको मृत्यु भएपछि पिडित परिवारले क्षतिपूर्तिको माग गर्दै गण्डकी मेडिकल कलेज अगाडि सडकमा धर्ना दिएका छन् ।   हिजो पोखरामा क्रेनको ठक्करबाट कास्कीको माछापुच्छ्रे गाउँपालिका ७ लाहाचोककी धना अधिकारीको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको थियो । हिजो (बिहीबार) दिउँसो ३ बजे ग १ ख ५८०५ नम्बरको क्रेनले पोखरा महानगरपालिका ५ पर्स्याङस्थित विद्युत कार्यालय अगाडि क्रेनले ठक्कर दिएको थियो ।  पीडित परिवारले क्षतिपूर्तिको माग गर्दै गण्डकी मेडिकल कलेज अगाडि धर्ना दिएको हो ।   

पोखरा:   कास्की जिल्ला स्तरीय ह्विलचेयर बास्केटबल प्रतियोगितामा पोखरा महानगर टीम प्रथम भएको छ । आइएनएफ हरियोखर्क द्वितीय र महिला मिथ एफसिआई टोली तृतीय भए ।  ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा नं १५ को आयोजना तथा अपाङ्गता सञ्जाल पोखरा १५ को समन्वयमा विहीबार प्रतियोगिता भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः १० हजार, पाँच हजार र दुई हजार पाँच सय नगदसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । विजयी टोलीलाई पोखरा महानगरका प्रमुख धनराज आचार्य, पोखरा १५ का वडा अध्यक्ष तोरणबहादुर बानियाँ लगायतले पुरस्कार वितरण गरे । प्रमुख आचार्यले मानिसको व्यस्त व्यवसायिक जीवनमा कहाँ, कहिले , कसरी अपाङ्ग भइन्छ भन्ने ठेगान नहुने भन्दै अपाङ्गता भएर पनि खेलको माध्यमले आफूमा भएको प्रतिभा प्रस्फुटन गरेका सबैप्रति आभार व्यक्त गरे । उनले महानगर सधै अपाङ्गमैत्री कार्यक्रम र नीति निर्माणमा अग्रसर हुने बताए । वडाध्यक्ष बानियाँले आफ्नो वडामा अपाङ्गता भएका व्यक्तिहरु धेरै बसोबास गर्ने गरेको आफूहरुले गरेको अध्ययनले देखाएको हुँदा उनीहरु लक्षित कार्यक्रमहरुलाई वडाले निरन्तरता दिने बताए । कार्यक्रममा अमृत बराल, दिपक गोदार लगायतले बोलेका थिए ।  सञ्जालका अध्यक्ष गंगाबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पोखरा वडा नं १५ कासदस्य तथा खेल संयोजक आशिष भण्डारीले गरेका थिए । खेल हरियो खर्क हस्पतालको बास्केटबल मैदानमा भएको थियो ।  पोखरा १५ ले खेलकुदको विकासका लागि यसअघि पनि खेलकुद महोत्सव आयोजना गरेको थियो । ९०६ जना खेलाडीहरुको उल्लेख सहभागी गरेको उक्त खेलबाट उत्पादित खेलाडीहरु विभिन्न स्थानीय , जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका खेलमा सहभागी भइरहेका छन् ।   

पोखरा:   पोखराको लेकसाइडमा रहेको ‘रत्नमन्दिर’ (राजपरिवारले विदा मनाउने दरबार) गणतन्त्र दिवसको अवसरमा पर्यटक र सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ ।    पोखरेली पर्यटन व्यवसायीहरुको माग अनुसार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पहलमा आगामी जेठ १५ गतेदेखि रन्तमन्दिर खुला गर्ने तयारी भएको महानगर स्रोतले बतायो ।    नेपाल ट्रष्टको स्वामित्वमा रहेको सो रत्नमन्दिरमा प्रवेश शुल्क लाग्ने वा नलाग्ने बारे अझै टुंगो भने लागेको छैन ।    पोखरामा भ्रमणका क्रममा राजा महेन्द्रले ताल किनारमा बसेको ठाउँ मन परेपछिस्थानीयसँग १११ रोपनी जग्गा किनेर ‘रत्नमन्दिर’ २०१३ मा निर्माण सुरु भएर २०१५ मा रत्न मन्दिरको निर्माण गरेका थिए ।      रत्न मन्दिरको मुख्य भवनमा ११ कोठा छन् । पुरानै अवस्थामा रहेको यसको सरसफाइलगायत रेखदेखमा केही कर्मचारी खटिदै आएका छन् ।   प्रशासनिक भवन, फेवा तालसँगै तालघर, सैनिक बस्ने ३८ कोठे लामो भवनसमेत रहेको छ ।