मिटरब्याज आतंक: ४० लाख रिन, ७८ लाख चुक्ता, तिर्न बाँकी डेढ करोड !

पाेखरा | बैशाख ३१, २०८०

मिटरब्याज आतंक: ४० लाख रिन, ७८ लाख चुक्ता, तिर्न बाँकी डेढ करोड !

पोखरा:  पञ्चायतकालमा जाली तमसुक बनाएर साहुमहाजनले गरिबको उठिवास लगाएको घटना प्रशस्तै देख्दै, सुन्दै आइएको हो । 

 

निरक्षरलाई तमसुकमा औंठाछाप लगाएर बसाइँ हिड्न बाध्य बनाएको समाजले व्यवस्था फेरेर लोकतन्त्रलाई अंगाल्दा पनि ‘जति तिरेपनि नसकिने’ रिनबाट कतिपय अहिलेपनि घर न घाटका भएका छन् । 

 

सुन्दा अचम्म लाग्ला तर तथ्य भयावह छ । महानगरमा स्थायी बसोवास भएकी सानु सुवेदी (नाम परिवर्तित) ६ वर्षमा घरबाट सडकमा आएकी छिन् । व्यापार गर्ने घरसल्लाहपछि आफन्तबाट ४० लाख रिन लिएर व्यापारी भएकी सानुको परिवार अहिले घरबारविहीन भएकी छिन् । 

 

‘व्यापार गर्ने हो भने सहयोग गर्छु’ भन्ने आफन्तको ढाडसपछि उनले ४० लाख रुपैयँ रिन लिइन् । कागज गर्दा कहाँ के लेखियो त्यति ध्यान नपुगेको स्वीकार्दै उनले हस्ताक्षर गरिन् । त्यसयता उनले पैसा तिरेको तिरै छिन् तर सकिएको छैन । 
 

 

सानुले आफन्तलाई तिरेको कागजमा उनले पटपटक गरी ४१ लाख रुपैयाँ बुझाएको देखिन्छ । त्यसपछि ब्याजस्वरुप ३७ लाख रुपैयाँ पनि बुझाएकी छिन् । सानुको हिसाबमा ब्याजको स्याज जोड्दा पनि अब ३ लाख रुपैयाँ हाराहारीमा बाँकी होला । 

 

तर सानुको ग्यारजातीमा भएको ४ रोपनी जग्गाको लालपुर्जा आफन्त (साहु)सँग छ । उक्त जग्गाको बजारभाउ करिब ६ करोड रुपैयाँ रहेको उनको अनुमान छ । आफ्नो जग्गा उकास्न अब थप ३ करोड बुझाउनुपर्ने भएपछि सानु र परिवार दिउँसै अँध्यारो देख्न थालेका छन् । 

 

४० लाख रिन तिर्न भएभरको जायजेथा नै सकिन लागेपछि उनी साहूलाई ‘पीडक’ करार गर्दै न्याय पाउन जिल्ला प्रशासन कार्यालय, कास्की पुगेकी छिन् ।

 

आखिर यति लामो समयपछि सबै गुमाएर किन पीडित भएर सानुले प्रशासन गुहारिन् ? जवाफमा प्रशासन कार्यालयअन्तरगत मिटरब्याज पीडितलाई सहायता गर्न छुट्टै कक्ष सञ्चालनमा रहेका कर्मचारी भन्छन् ‘तराईका मिटरब्याज पीडितहरु आन्दोलनमा निस्केपछि त्यसकै असर परेको हो ।’
 

 

उल्लेखित घटना पढ्दा/सुन्दा ‘अहो ! ढाडै भाँचेछ नी’ भन्नुहोला । सानुको पीडा त केवल उदाहरणमात्र हो । 

 

कास्कीको एक गाउँपालिकाका रोशन नेपाली (नाम परिवर्तित)को पीरको पारो यो भन्दा उच्च छ । छिमेकीसँग ५० हजार रिन लिन तमुसकमा रुपाकोटको ५ रोपनी जग्गा उल्लेख गरेपछि अहिले रोशन पनि ‘मिटरब्याज पीडित’मा दर्ज भएका छन् । 

 

रोशनले रिन लिएको र जग्गा धितो राखेको प्रमाण प्रशासनमा बुझाएका छन् । ‘रिन बढिरह्यो, गरिखाने जग्गा पनि गयो तर रिन सकिएन’ रोशनले सावाँभन्दा ब्याज र त्यसको पनि थप ब्याजको उल्लेख गरेर पेश गरेको निवेदनको भावले बोलेको छ । 

 

निवेदन बुझेपछि बढो मुस्किलकासाथ प्रशासनले दुबै पक्षलाई एकपटक भेट्न सफल भएका छन् । प्रशासनले जेठ ७ गते पुनः दुबै पक्षलाई बोलाएको छ ।  ‘यसबीच निवेदन र अन्य कागजातको मिहिन अध्ययन गर्छाै’ यसबीचमा २ वटा समस्या सल्टाएको फाँट केही उत्साहित छ । 
 

 

मिटरब्याजको समस्या सल्टाउन गृह मन्त्रालयबाटै परिपत्र भएपछि देशैभर प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सहायताकक्ष सञ्चालन भएको छ । सोही खबर सुनेपछि अहिले कास्कीमा पीडितहरु निवेदन लिएर पुग्ने गरेका छन् । 

 

समाचार संकलनकाक्रममा भेटिएका पीडितहरुको मुहार र शारीरिक अवस्थाले उनीहरुको पीडा बोल्ने गरेको कक्षकी कर्मचारी रुक्मिणी रेग्मी बताउँछिन् । ‘जालझेल र तिकडम कतिसम्म हुँदोरहेछ भन्ने थाहा पाउन यहाँ परेको निवेदनले प्रष्ट्याउँछ’ रेग्मी भन्छिन् ‘निवेदन झनै बढ्न थालेपछि जेठ २ गतेसम्म म्याद थपेका छौं ।’
 

 

यहीबीच प्रशासन परिसरमा निवेदनमा टाँस्न टिकट खोज्दै हिँडेकी एक महिलाले २३ लाख रुपैयाँ रिन लिएको र अहिलेसम्म ४० लाख रुपैयाँ बुझाइसकेको बताइन् । अझैपनि सावाँ रकम बाँकी नै रहेको भन्दै ताकेता गरेपछि श्रीमानसँग सम्बन्ध बिग्रेको उनले सुनाइन् । 

 

‘मेरो र रिन दिनेको नाम नसोध्नुस् भाइ’ उनले भनिन् ‘मेरा बुढा (श्रीमान्)ले मलाई घरबाट निकालेको ४ महिना भयो, भाडामा बसेकी छु ।’ किन रिन लिएको भन्ने खुलाउन नचाहेकी उनले श्रीमान्ले विदेशाट पठाएको पैसासमेत उसैलाई बुझाएको तर रिन नसकिएको उनले सुनाइन् । 

 

स्थायी ठेगाना म्याग्दी भएकी उनी माइतिपक्षले ‘सिडिओकहाँ जा’ भनेपछि आजै निवदेन दर्ता गर्ने भनेर प्रशासन आएकी रहिछन् । 

 

प्रशासनमा वैशाख १७ गतेदेखि मसान्तसम्म मिटरब्याज सम्बन्धित २१ वटा उजुरी परेका छन् । त्यहाँ परेको एक उजुरीमा वडा कार्यालयले नै मिटरब्याजीलाई सहयोग पु¥याउने कागजसमेत बनाइदिएको पाइएको छ । 

 

प्रशासनका सहायक प्रजिअ भन्छन् ‘अवस्था विकराल रहेको पाएका छौं, हाल निवेदन संकलन भइरहेको छ, जेठ २ पछि हामी एक्सनमा जान्छौं ।’

 

(नोटः हामीसँग मिटरब्याजमा रिन लिने र दिने दुबैको नाम, ठेगाना सुरक्षित भएपनि निवेदकको आग्रहमा गोप्य राखिएको छ ।)


 

पोखरा:   पोखरा महानगरपालिका– १० अमरसिंहचोक स्थित एक बिजुली पसलको गोदाममा आगलागी हुँदा ८० लाख भन्दा बढीको क्षति भएको छ ।  पोखरा महानगर–१४ चाउथे बस्ने ४९ वर्षीय धुव्र मरासिनीले स...

थप पढ्नुहोस्

काठमाडौं:       नेपालले वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० सिरिजको चौथो खेल आज खेल्दैछ । उक्त खेल टीयु क्रिकेट मैदानमा दिउँसो १२:१५ बजेबाट सुरु हुनेछ । बुधबार भएको स...

थप पढ्नुहोस्

काठमाडौं:     नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्ने १५ जनाको टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)को घोषणा टोलीमा स्पिनर सागर ढकाल...

थप पढ्नुहोस्