२०१८ सालको नापीको नक्शा अनुसार फेवातालको कूल क्षेत्रफल २२ हजार रोपनी अर्थात् १० वर्ग किलोमिटर रहेको उल्लेख गरिएको थियो । त्यसपछि विभिन्न समयमा उतारिएको नक्शामा यसको क्षेत्रफल घट्दै आएको छ । त्यसपछि ०३८ सालमा यूएनडीपीले तयार पारेको अध्ययन प्रतिवेदनमा तालको क्षेत्रफल ५.८ वर्ग किलोमिटर उल्लेख गरिएको छ । पछि ०६४ मा विश्वप्रकाश लामिछाने नेतृत्वको समितिले गरेको अध्ययनमा तालको क्षेत्रफल ५.६ वर्ग किलोमिटर भनि उल्लेख गरियो । उल्लेखित तथ्यांकलाई हेर्ने हो भने ३८ सालसम्मको २० वर्षे अवधिमा तालको आधा क्षेत्रफल घटेको छ ।त्यसपछि भने फेवाले चर्चेको क्षेत्रमा उल्लेख्य घटबढ भएको छैन । तालको निश्चित क्षेत्र तोक्ने विषय सदैव चुनौति भइरहेकाबेला पछिल्लो समय यसको आधिकारिक क्षेत्रफलको छिनोफानो गरिएको छ । ०७७ कात्तिकमा पुण्यप्रसाद पौडेलको संयोजकत्वमा गठित फेवातालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिले अन्ततः तालको क्षेत्रफल ५ दशमवल ७२६ वर्ग किलोमिटर तोकेको छ । उक्त क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा हुन आउँछ । जस अनुसार यसको परिधि १८ किलोमिटर भएको छ । यसबीच, स्थानीयले तालभित्र आफ्नो जमिन रहेको बताउँदै आएका छन् । कतिपयले बाटो खोल्ने र संरचना निर्माण गर्ने कार्यले स्थानीय निकायसँग टकराव भएको छ । पोखरा महानगरले २०७६ मा तयार पारेको प्रतिवेदनमा ६५ मिटर मापदण्ड लागू गर्दा ४ सय ९३ स्थायी तथा अस्थायी संरचना भत्काउनुपर्नेछ । ताल वरिपरि ६५ मिटरभित्र १२ सय रोपनी जग्गा अहिले व्यक्तिका नाममा छ । यसैबीच, सर्वोच्च अदालतले फेवाताल किनार वरपरका अवैध संरचना भत्काउन संघीय सरकार, पोखरा महानगर र सम्बन्धित सबै निकायका नाममा आदेश जारी गरेको छ । फेवा किनारादेखि ६५ मिटरसम्म एक हजार दुई सय रोपनी जग्गा अतिक्रमण गरेर बनाइएका कम्तीमा ४ सय ९३ स्थायी तथा अस्थायी संरचना भत्काउनुपर्नेछ । तालकाकारण पीडित भएको भन्दै लालपुर्जासहित उनीहरुले समूहमार्फत ध्यानाकर्षण गराइरहेका छन् । तालको मापदण्डभित्र पर्ने जमिन र संरचानको क्षतिपुर्ति एवं मुआब्जामामात्रै करिब ३० अर्ब रुपैयाँ लाग्ने महानगरको अनुमान छ ।
पोखरा: पोखरा महानगरपालिकाको ५५ औं कार्यापालिका बैठकले फेवातालको मापदण्ड ३० मिटर तोकेको निर्णय सर्वाेच्च अदालतले खारेज गरेको छ । सोमबार न्यायधिश कुमार रेग्मी र हरि फुयाँलको संयुक्त इजलासले सर्वोच्च अदालतले १६ वैशाख २०७५ मा गरेको फैसलालाई नै आधार मानेर फेवातालको मापदण्ड ६५ मिटर नै कायम गरेको हो । यस अगाडि १३ असारमा सर्वोच्चका न्यायधिश इश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले मुद्दाको अन्तिम किनारा नलागाग्दासम्म महानगर पालिकाको ५५ कार्यपालिका बैठकको निर्णय कार्यान्वयन नगर्न र ६५ मिटर भित्र कुनैपनि संरचना निर्माण नगर्न अन्तरिम आदेश दिएको थियो । अधिवक्ताहरु खगेन्द्र सुवेदी, सरोजनाथ प्याकुरेल, कृष्णहरि खड्का र दिपेन्द्र प्रसाद घिमिरेले ११ जेठमा सर्वोच्च अदालतमा महानगरको मापदण्ड घटाउने निर्णय विरुद्ध रिट दायर गरेका थिए । उनीहरुले १६ चैत २०७८ मा बसेको महानगरको ५५ औं कार्यपालिका बैठकले गरेको फेवाताल लगायत अन्य तालहरुको मापदण्ड घटाउने निर्णय खारेजका लागि उत्प्रेषण÷परमादेशको माग गरेका थिए ।
पोखरा: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको ६ महिनापछि पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान हुने भएको छ । बुधबार सिचुवान एयरलायन्सको एयरबस ए–३१९ विमानले असार ६ गते चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरामा सिधा उडान गर्न लागेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि विदेशी वायुसेवाले गर्न लागेको यो पहिलो उडान रहेको नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । सिचुवान एयरलायन्सको विमानले पोखरामा असार ८ र ९ गते नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट फेस्टिभलका लागि चिनियाँ पर्यटक तथा खेलाडीहरुलाई चार्टर उडानबाट ल्याउन लागेको हो । चीनबाट उक्त विमानमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १ सय ३० जनासम्म यात्रु पोखरामा ओर्लिने छन् । पोखरामा राष्ट्रिय सभाका अध्यक्षसहित सांसदहरु प्रदीप यादव, धवलशम्शेर जबरा, दिपा गुरुङ, उदयबहादुर बोहोरा, हरिशंकर चौधरी र जीवन परियार पनि त्यही विमानबाट अवतरण गर्ने कार्यक्रम छ । अध्यक्षका प्रेस सल्लाहकार दुर्गा शर्माका अनुसार, जेठ २७ गते काठमाडौंबाट चीन भम्रणमा अध्यक्षसहित ७ जना सांसद तथा अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा गएका छन् । सबै नौ जना पोखरामै अवतरण गर्ने कार्यक्रम छ । उक्त विमान त्यही दिन पोखराबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण भई काठमाडौंबाट नियमित उडानमार्फत छेन्दु फर्किने सहप्रवक्ता भुलले बताए । यो विमान उत्तरतिरको ब्राभो ३४५ हवाई रुटबाट संखुवासभा पसेर काठमाडौंबाट ओभरफ्लाई गर्दै पोखरा आउने छ। नेपालस्थित चिनीयाँ दूतावासले पर्यटन बोर्ड, पोखरा महानगरपालिकासँग सहकार्य गर्दै आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री, पर्यटनमन्त्री र पर्यटनराज्यमन्त्री सहभागी हुँदैछन् । काठमाडौंस्थित चिनीयाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जिनका अनुसार, ५० भन्दा बढी मुलुकमा आयोजना हुँदै आइरहको यो कार्यक्रम दक्षिण एशियामै पहिलोपटक हुन लागेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो जेट विमान यसअघि २०२३ जनवरी १ तारिखका दिन हिमालय एयरलायन्सको अवतरण भएको थियो । हिमालयले पहिलो डेमो उडानमा एयरबस ए–३२० विमान काठमाडौंबाट उडाई पोखरामा अवतरण गराएको थियो ।
पाेखरा: गण्डकीमा ‘राइड सेयरिङ एप’ लाई वैधता दिने तयारी कानूनबर्खिलाप अनलाइनमार्फत गोरखधन्दा चलाइरहेको ‘राइड सेयरिङ एप’ कम्पनीलाई गण्डकी प्रदेश सरकारले नियमन गर्ने तयारी थालेको छ । इनड्राइभ लगायतका राइड सेयरिङ एपलाई गण्डकी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयमा दर्ता गराएर वैधानिक रुपमा सञ्चालन गर्न पाउने वातावरण तय गर्न लागेको हो । राइड सेयरिङ कम्पनीले अनुमति लिएर चलाउनुपर्ने व्यवस्था प्रदेश सरकारले प्रस्तुत गरेको आ.व २०८०/०८१ को अर्थसम्बन्धी विधेयकमा उल्लेख छ । दुई पांग्रे सवारी कम्पनीको हकमा २५ हजार रूपैयाँ दर्ता शुल्क तिर्नुपर्ने प्रस्तावित विधेयकमा उल्लेख छ भने वार्षिक नवीकरण शुल्क १२ हजार ५ सय रूपैयाँ प्रस्ताव गरिएको छ । यस्तै ४ पांग्रे सवारी कम्पनीको हकमा ५० हजार दर्ता शुल्क र वार्षिक नवीकरण शुल्क वार्षिक २५ हजार रूपैयाँ लाग्ने प्रस्ताव गरिएको छ । दुई वा चार पांग्रे सवारी कम्पनीले दर्ता अनुमतिका लागि ७० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ भने नवीकरणका लागि ३५ हजार शुल्क तिर्नुपर्ने प्रस्तावित विधेयकमा उल्लेख छ । गण्डकी प्रदेशको राजधानी पोखरामा प्राय दुई पांग्रे राइड सेयरिङ कम्पनी सञ्चालनमा छन् भने चार पांग्रे सवारी पनि राइड सेयरिङमा आकर्षित देखिएको छ । काठमाडौंमा टुटल र पठाओको सेवा अत्याधिक भएपनि पोखरामा भने इन्ड्राइभले सेवा दिदैं आएको छ । चलनचल्तिमा पठाओ, टुटल, साधन, सारथी लगायतका एप कम्पनी रहेपनि पोखरामा भने इन्ड्राइभकै बर्चस्व छ । तर यसले लुकेर सेवा प्रदान गर्दै आएको छ । इनड्राइभले ट्याक्सी व्यवसायी समितिले भन्दा कम शुल्कमा सेवा प्रदान गरेकै कारण लोकप्रिय बनिरहेको हो । ‘फुर्सदको समयमा मात्रै राइड गर्छु, नाम नभन्ने सर्तमा एक राइडरले सुनगाभा न्यूजसँग भने, ‘जे होस् तेल खर्च जुगाड भइराछ । अलि रिक्स छ ट्राफिक र ट्याक्सीसँग जोगिएर हिड्नुपर्छ ।’ राइडरहरु प्रदेश सरकारको कदमप्रति खुशी छन् । ‘हामी कर तिर्न तयार नै थियौ तर सरकारले नियमनै नबनाएर फुल्ली यही पेशालाई अंगाल्न नसकेको अवस्था थियो, अर्का राइडर हरी गुरुङले भने, ‘अब भने यो पेशालाई नै निरन्तरता दिने हो । बल्ल हाम्रो माग सुने जस्तो आभाष भाको छ ।’ राइड सेयरिङ कम्पनी दर्ता हुनुपर्ने नियम आर्थिक विधेयक २०८० प्रदेश सभाबाट पारित भएपछि आर्थिक वर्ष २०८०/०८१ अर्थात् साउनदेखि लागू हुनेछ । त्यसका लागि सबै कम्पनी तथा राइडरहरुले यही सालको चैत मसान्तसम्म दर्ता गरिसक्नुपर्ने उल्लेख गरिएको छ ।
पोखरा: पोखरा महानगरपालिकाले पनि आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ। भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश नहटाएसम्म भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाएको महानगरपालिकाले जनाएको छ । पोखरा महानगरका मेय धनराज आचार्यले महानगर भित्रका हललाई भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउन पत्राचार गरेका छन् । यसअघि काठमाडौं महानगरपालिकाले आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको थियो।
पोखरा: पोखरा महानगरपालिका १८ स्थित अन्नपुर्ण केबलकारको नजिक ३१ रोपनीमा १३ भिल्लासहित दोर्ज रिसोर्ट एण्ड स्पा सञ्चालनको तयारी छ । नेपाली परम्परा र आधुनिक शैली प्रयोग गर्दै करिब १ अर्बको लागनीमा निर्मित दोर्जे रिर्सोट एण्ड स्पा यही महिनाको पहिलो हप्तादेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको सञ्चालक दोर्जे तामाङले बताए । उनका अुनसार जग्गासहित करिब १ अर्बको लागतमा उक्त रिसोर्ट निर्माण गरिएको हो । उनले नयाँ अवधारणा अनुसार बनाइएको कारण पर्यटक भित्रिने अपेक्षा लिइएको छ । उक्त रिर्सोटमा हाल २३ वटा कोठा छन् । जसमा १९ डिलक्स र ४ वटा सुइट रुम छन् । अन्तिमसम्म ३१ वटा रुप तयार तामाङले बताए । यस्तै रिर्सोटमा जिम हल, सेमिनार हल, स्विमिङ पुल, स्पा, ज्याकुजी, आफ्नै फार्म हाउस लगायतका सेवाहरु छन् । आन्तरिक पर्यटकका लागि प्रतिदिन कोठाको शुल्क २५ हजारबाट सुरु हुने उनले बताए । यस्तै विदेशीका लागि भने २ सय ५० डलर देखि ७ सय डलरसम्म निर्धारण गरिएको छ ।
पोखरा: गण्डकी प्रदेश प्रमुखका सचिवालय सवारी चालकले मापसे गरेर चलाएको सवारी प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङको सचिवालयको सवारी साधन ग १ झ २६३ नम्बरको सुमो गाडी र चालक प्रदीप बरालाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएका हुन् । शुक्रबार अपरान्ह ४ बजेको समयमा पोखराको पामेबाट पोखरा आउँदै गर्दा गाडी र चालक बराललाई नियन्त्रणमा लिएको हो । बरालले मापसे गरी सवारी चलाएको थाहा भएपछि विद्यार्थी नेता डिफान भुजेलको नेतृत्वले उक्त सवारी नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय बैदाममा बुझाएको थियो । मापसे गरी सवारी चलाएका चालक बराललाई कारवाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा बुझाइएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी उपरीक्षक बेद जोशीले जानकारी दिए ।
पोखरा: सृजना लिडर्स क्लबको आयोजनामा पोखरामा प्रथम गण्डकी प्रदेश स्तरीय (एसईई) टेबल टेनिस प्रतियोगिता सुरु भएको छ । सृजना लिडर्स क्लब सृजना मावि सृजनाचोक पोखरामा अध्यन गर्ने विद्यार्थीहरुको संस्था हो । विद्यालयको टेनिस कोर्टमा आयोजना भएको प्रतियोगितामा प्रदेशका ५ जिल्ला (स्याङजा, कास्की, तनहुँ, पर्वत र लमजुङका गरी ९३ विद्यार्थी सहभागी छन् । छात्र सिंगल, छात्र डबल र छात्रा सिङगलमा गरी तीन बिधामा खेल खेलाइने क्लबका अध्यक्ष मिलन खड्काले जानकारी दिए । छात्र सिंगलमा ४८, छात्र डबलमा १२ र छात्रा सिंगलमा ४ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा प्रथम हुने छात्र, छात्रा टिमले नगद ५ हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्, भने दोस्रो हुनेले नगद ३ हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै तेस्रो हुने दुई टिमले १५÷१५ सयका दरले पुरस्कार पाउने छन् ।
पोखरा: स्वतन्त्र उम्मेदवारबाट काठमाडौका मेयर बनेका बालेन शाह पदभारपश्चात नक्सापास र मापदण्ड विपरित बनेका संरचनामाथि डोजर हान्न निस्किए । त्यो कार्यलाई निरन्तरता दिए र अनअपेक्षा अनुसारको कार्यसम्पादन गरेको भन्दै ह्वात्तै प्रशंसा बटुले । त्यसपछि त्यसको दवाब विभिन्न नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका प्रमुखहरुलाई पर्याे । यस्तै पोखरा महानगरपालिकाको मेयर धनराज आयार्यलाई पनि त्यो दबावले अछुतो राखेन । उनले अण्डरग्राउण्डमा सञ्चालन गरिएका व्यवसायीहरुलाई हटाउँदै पार्किङकै रुपमा प्रयोग गर्नुपर्ने सूचना जारी गरे । ३५ दिने अल्टिमेटमपछि डोजर साथमा बोकेर निस्किए । उनले केही दिन अगाडि फेवातालको सिमसार क्षेत्रमा कृषिका लागि भन्दै पुरेको जग्गा र अनधिकृत रुपमा गरिएका प्लटिङमा डोजर चलाएका थिए । आज (शुक्रबार) उनकै निर्देशनमा फिर्के खोलाको बहाव नै परिवर्तन गर्ने गरी बनाइएको संरचनामा डोजर चलाएको छ । पोखरा महानगरपालिका ९ स्थित रहेको सगरमाथा बोर्डिङ स्कुलले फिर्केखोलाको मापदण्ड मिचेर बनाएको रिटेनिङ वालमा महानगरले शुक्रबार डोजर लगाएर भत्काएको हो । स्कुल व्यवस्थापन समितिलाई यसअघि मापडण्ड विपरित कुनै पनि संरचना नबनाउन सुचित गरेको बताउदै नगरप्रहरी प्रमुख पुरुषोत्तम थापाले आदेश अवज्ञा गरेकाले डोजर चलाउन बाध्य भएको बताए । ‘संरचना बन्नु अगाडि नै हामीले सगरमाथा बोर्डिङलाई फिर्केखोलाको मापदण्ड विपरित संरचना नबनाउन सूचना दिएका हौें’, उनले भने, ‘महानगरपालिकाको सूचना विपरित बोर्डिङले खोलाको बहाव परिवर्तन गर्ने गरी संरचना बनाएपछि डोजर लगाएर भत्काएका हौं ।’ थापाले फिर्के खोला आफ्नै लयमा बग्न पाउनुपर्ने बताए । ‘फिर्केखोलाको आफ्नै महत्व छ । यसको संरक्षणको जिम्मा महानगरको मात्रै होइन । आम नागरिकको पनि हो, के फिर्केखोला आफ्नै लयमा बग्न पाउँदैन ?,’ उनले प्रश्न गरे । उनले फिर्के खोलाको मापदण्ड फिचेर बनाएका व्यक्तिगत घर तथा भवन, समाज घरलाई भत्काएर फिर्केखोलाको मापदण्डलाई कार्यान्वयन गर्ने बताए । उनका अनुसार पोखरा महानगरपालिकाले अहिले फिर्केखोलाको दायाँ र बायाँ दुवैतर्फ १०÷१० मिटर मापदण्ड कायम गरेको छ । महानगरको डोजरले भत्काएको यो पहिलो संरचना भने होइन । महागनरले पटकपटक फिर्के खोलामा मापदण्ड मिचेर बनाइएका संरचनामा डोजर लगाएर भत्काउँदै आएको छ ।