पोखरा: लियो क्लब अफ पोखरा नर्थको आयोजनामा कास्कीको माछापुच्छ्रे गा.पा–१, खहरेटोलमा रहेको श्री शारदा माध्यमिक विद्यालयमा बिहीबार निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । कान्तिपुर डेन्टल हस्पिटल न्युरोडको प्राविधिक सहयोगमा भएको दन्त शिविरमा विद्यालयका छात्रा–छात्र,शिक्षक–शिक्षिका गरि १९५ जनाले दंन्त स्वास्थ्य जाँच गराएका थिए । परिक्षण गराएका मध्य १० प्रतिशतमा स्केलिङ,आर.सि.टि,दात झिक्नुपन, दाँत भर्न पर्ने, समस्याहरु देखिएको र अन्यको दंन्त स्वास्थ्य अवस्था सामान्य रहेको कान्तिपुर डेन्टलका सि.ई.व प्रतिकमान श्रेष्ठले जानकारी दिए । पब्लिक हेल्थ अफिसर आयुशा अधिकारीले दन्त शिविरमा परिक्षण गराएका विरामीलाई अस्पताल जाँदा १५ प्रतिशतसम्म छुट दिने घोषण गरे । सोहि अवसरमा विद्यालयका प्रधानाध्यापक चाहना पुनले विद्यार्थीको दंन्त स्वास्थ्य परिक्षण सहतिको जनचेतना कार्यक्रम गरि सहयोग गर्नुभएकोमा धन्यवाद ब्यक्त गरिन ।
पोखरा: नेपाली कांग्रेस रुपा गाउँपालिकाले गाउँपालिका अध्यक्ष नवराज ओझालाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाली कांग्रेस रुपा गाउँपालिकाका सभापति बिमल न्यौपानेको नेतृत्वमा गाउँपालिका अध्यक्ष ओझालाई आज (बिहीबार) १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । कांग्रेस रुपाले महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं प्रतिवेदनको बारेमा ध्यानकर्षण भएको जनाएको छ । ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘पालिकाको सार्वजनिक सम्पत्तिको संरक्षण नभएको, सार्वजनिक जग्गामा राजनैतिक दलले कब्जा गरेको, अध्यक्षको एक निर्णयमा तोक आदेशको भरमा ठुलो रकम अबण्डा राखी १ लाख सम्मको योजना छनौट गरी भुक्तानी गर्ने निरकुंश हुकुमी शैली तत्काल बन्द गर्न उल्लेख गरेको छ ।’ यस्तै कोरोना महामारीको नाममा औषधिमा भएको आर्थिक अनियमिता, कोरोना महामारीमा भएको सम्पूर्ण आम्दानी खर्च सार्वजनिक देखि प्रधानमन्त्री युवा स्वरोजगारको नामा भएको अनियमितताको बारेमा सत्य तथ्य जानकारी दिन समेत माग रुपा कांग्रेसले माग गरेको छ । रुपा कांग्रेसले भुकम्प प्राधिकरण तथा विपद व्यवस्थापनको घर सिफारिस गर्दा राजनैकि आस्थाको आधारमा सिफारिस गरेको, एकै व्यक्तिको नाममा दोहोरो सुविधा दिइएको, सवारी साधन मर्मत,इन्धन खर्च, खाजा खर्चका नाममा भएको आर्थिक हिनामिनाले रुपा गाउँपालिका भ्रष्टाचारमा रमाएको आरोप लगाएको छ । यस्तै राजनैतिक आस्थाका आधारमा उपभोक्ता समितिलाई अनावश्यक दुःख दिएको,सेवामुखी भन्दा कार्यकर्ता मुखी टुक्रे योजना प्राथमिकतामा राखेको, पालिकाभित्रका सडक, कुला, खोलाको आदिको मापदण्ड स्पष्ट कायम गर्न माग गरेको छ । ध्यानाकर्षण पत्रमा पालिका भित्रका स्वास्थ्य, शिक्षा,प्रशासन कृषि सबै समूहका कर्मचारीको सेवा प्रवाहलाई चुस्त बनाउन र अनुसा कायम गर्न आवश्यक निर्देशन दिन र कर्मचारीहरु राजनीतिमा लागेको भन्दै तत्काल कारवाही गर्नसमेत माग गरेको छ । प्रमुख प्रशासकिय अधिकृतलाई सूचना उपलब्ध गराउन माग नेपाली कांग्रेस रुपा गाउँपालिकाका कमिटीले रुपा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई गाउँपालिकाको सूचना माग गर्दै ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७९÷०८०को खर्च र आन्तरिक आम्दानी, गाउँपालिकाको यस आर्थिक वर्षको प्रशासनिक खर्च र नेपाल सरकारबाट स्वीकृत भएका कर्मचारीको दरबन्दी सम्बन्धि सूचना रुपा कांग्रेसले प्रमुख प्रशासकिय अधिकृत समक्ष माग गरेको हो । यस्तै प्रमुख प्रशासकिय अधिकृतलाई गाउँपालिकाको आन्तरिक स्रोतबाट तलब पाउने गरी भर्ना गरिएका कर्मचारी संख्या, पद तलव स्केल र कर्मचारीको नाममा हुने वार्षिक खर्च, पदाधिकारीले प्रयोग गर्ने सवारी साधनको वार्षिक मर्मत खर्च र इन्धन खर्च, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत पालिकाले प्राप्त गरेको रकम र सो शिर्षकमा भएको खर्चको विवरण र गाउँपालिकाको अध्यक्षको एकल तोक आदेशमा यो कार्यकाल र अघिल्लो कार्यकालमा दिइएको योजना र भुक्तानीको एकमुष्ट रकमको सूचना माग गरेको नेपाली कांग्रेस रुपा गाउँपालिकाले जनाएको छ । यस्तै गाउँपालिका अध्यक्षको एकल निर्णय, तोक आदेशमा अहिले दिइएको योजनाहरुको विवरण र तोक आदेशको भरमा गरिएको भुक्तानी बारे कार्यविधि बनेको छ या छैन ? यदी कार्यविधि बनेबो भए सो कार्यविधिको प्रतिलिपिको सूचना उपलब्ध गराउन माग गरेको छ । नेपाली कांग्रेस रुपा गाउँपालिकाका सभापति बिमल न्यौपाने, गण्डकी प्रदेश सदस्य अप्सरा श्रेष्ठ, महाधिवेशन प्रतिनिधि गीमाया गुरुङ, पूर्व महाधिवेशन प्रतिनिधि प्रकाश मोहन खनाल,कास्की क्षेत्र न. १ (क) सह–सचिव विष्णु गुरुङ, प्रदेश (क) सदस्य भुला केसी, पूर्व गाउँपालिका सभापति.तुलबहादुर गुरुङ, पूर्व इलाका सभापति नोयन गुरुङ, रुपा ६ का सभापति बलाराम गुरुङ, नेपाली कांग्रेस रुपाका नेता अर्जुन अधिकारी लगायतको टोलिले आज रुपा गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
पोखरा: घर नजिकको सरकार भएपछि पहिलो समस्या सुनाउने ठाउँ स्थानीय सरकार हुनु स्वभाविक हो । संघीय संरचनाले गुनासा सुन्ने मात्रै होइन, स–साना समस्या निरूपणका लागि स्थानीय तहमा न्यायिक समिति गठन गर्न पाउने व्यवस्था गरिदिएको छ । न्यायिक निरुपण सहज र सर्वसाधारणको समेत पहुँचमा पु¥याउने संवैधानिक व्यवस्था भए अनुसार अहिले न्यायिक समितिले पालिकामा काम गरिरहेका छन् । न्यायिक समितिको काम, कर्तव्य र यसको व्यवहारिक पाटोबारे विद्यालय तहदेखि नै यसको वृहत पाटोबारे जानकारी दिने उद्देश्यले पोखरा महानगर न्यायिक समितिले अहिले महानगर भित्रका विद्यालयमा ‘विद्यार्थीसँग न्यायिक समिति, प्रशिक्षण तथा अन्र्तक्रिया’ कार्यक्रम गरिरहेको छ । प्रेस क्लब गण्डकीसँगको सहकार्यमा भइरहेको विद्यालय स्तरिय ‘विद्यार्थीसँग न्यायिक समिति, प्रशिक्षण तथा अन्र्तक्रिया’ बिहीवार पोखरा–५ स्थित ‘बाराही माध्यमिक विद्यालयका विद्यार्थीसँग गरिएको छ । पोखरा महानगर उप-प्रमुख एवम न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले कानूनले व्यवहारलाई नियमबद्ध पार्न सघाउने हुनाले कानून सबैले जान्नुपर्ने विषय रहेको बताइन् । ‘कानूनले मान्छेको आचरण, बोलीचालीमा नियन्त्रण गर्छ । जसले गर्दा सद्भावपूर्ण समाजको निर्माण हुन्छ । शान्ति, सद्भाव फैलिन्छ,’ उनले भनिन्, ‘विकास निर्माणका काम गर्न पनि सहज हुन्छ ।’ गुरुङले कसैलाई पनि अन्याय हुन नहुने बताइन् । न्यायमा सबैको समान पहुँचका लागि पनि स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको उनको भनाइ थियो । तर, न्यायमा सबैको समान पहुँच पुग्नुपर्ने भए पनि कानून निर्मम हुने उनले सुनाइन् । कानूनले धनी, गरिब कसैलाई पनि भेद्भाव नगर्ने भएकाले कानूनको अघि जुनकुनै अपराध क्षम्य नहुने उनले बताइन् । कानूनबाट कोही पनि उम्किन नपाउने भएकाले सबैले कानूनबारे जानकार हुनुपर्ने उनले सुनाइन् । विद्यार्थीले अन्य विषयको ज्ञानसँगै कानूनको ज्ञान पनि लिन जरुरी रहेको उनको भनाइ थियो । कार्यक्रममा उपस्थित पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले न्यायिक समितिले विद्याले विद्यालयस्तरदेखि नै कानूनी चेतना फैलाउने अभियान थालेको भन्दै खुसी व्यक्त गरेका थिए । विद्यालयस्तरदेखि नै कानूनी ज्ञान भए विद्यार्थीहरुलाई व्यवहारिक हुन सहज हुने धारणा राखेका थिए । कार्यक्रममा बाराही मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष निर्मल खत्री, विद्यालयका प्रधानाध्यापक शिव प्रसाद भण्डारी, पोखरा महानगर न्यायिक समिति सदस्य, कालिदास पोखरेल र भावना श्रेष्ठ, पोखरा महानगर कार्यपालिका सदस्य हरिमाया विश्वकर्मा, पोखरा महानगर न्यायिक समिति अभिलेख संरक्षक राममणी अधिकारी साथै पोखरा महानगर न्यायिक समिति मेलमिलाप सहजकर्ता सोम लम्सालको उपस्थिति थियो । न्यायिक समितिका सदस्यले विद्यालयका डेढ सय न्ययायिक समितिको गठन प्रक्रियाबारे भावना श्रेष्ठ र यसको अधिकार क्षेत्रबारे न्यायिक समितिका मेलमिलाप सहजकर्ता सोम लम्सालले प्रशिक्षण दिएका थिए ।
पोखरा: पोखराको लेकसाइडस्थित पूर्वराजपरिवार बस्दै आएको रत्न मन्दिर गणतन्त्र दिवसको अवसरमा खुल्ला गरियो । सबैले रत्नमन्दिर दरबारको रहस्य बुझ्न अवसर पाए भन्ने ठानेपनि अझै पनि रहस्य रत्नमन्दिरको ढोका भित्रै सिमित छ । मन्दिरको परिसर मात्र खुल्ला भएपछि पहिलो दिन नै रत्नमन्दिर कहिले खुल्छ भन्ने स्थानीय र पर्यटकको प्रश्न थियो । तर अहिलेसम्म पनि उक्त प्रश्नको उत्तर नेपाल ट्रष्टले दिन सकेको छैन । विभिन्न कारण देखाएर रत्नमन्दिर खुला नगरिएको मन्दिरको मुल ढोका छिटै खुला गर्ने तयारी रहेको बताइएको छ । करिब १ सय ७४ रोपनी क्षेत्रफलमा फैलिएको रत्न मन्दिरलाई पाँचवटा क्षेत्रमा विभाजन गरिएको छ । जसमा सर्वसाधारण र पर्यटकका लागि पाँच क्षेत्रमध्ये क्षेत्र नं.१ र २ मात्र खुलाइएको हो । भिडियो: यो क्षेत्रमा केवल बगैचासहितको पार्क छ । टिकट लिएबापत रत्नमन्दिरको बाहिरी आवरण मात्रै नियाल्न पाइन्छ । उ बेलाको राजपरिवारको बसाइको भित्री रहस्य भने बन्द रत्नमन्दिर भित्रै लुकेको छ । रत्मन्दिरको परिसर खुला भएको दुई साता बितेको छ । यो समयावधिमा नेपाल ट्रष्ट पोखरा इकाई कार्यालयको तथ्याङ्कमा एक दर्जन पनि विदेशी पाहुना भित्रिन नसकेको उल्लेख छ । ‘प्रवेश शुल्क कति लाग्छ र कहिले–कहिले खुल्छ भनेर हामीले गेटमै सूचना राखेका छौ, नेपाल ट्रष्ट पोखरा इकाईका प्रमुख गीता मीजारले सुनगाभा न्यूजसँग भनिन्, ‘विदेशी पाहुनाहरु टिकटघरसम्म पुग्नुहुन्छ महंगो भएको थाहापाएपछि फर्किनुहुन्छ । नत्र त विदेशी नआउने होइन । टिकटघरसम्म पुग्ने त नेपालीहरु भन्दा विदेशीहरु धेरै हुनुहुन्छ ।’ उनका अनुसार गत आइतबारसम्म कुल २ हजार ८ सय ४४ जना आन्तरिक पर्यटक र ११ जना बाह्य पर्यटक रत्नमन्दिर परिसरमा भित्रिएका छन् । जुन आन्तरिक पर्यटकको तुलनामा विदेशी पाहुनाको अनुपात अत्यन्तै कम हो । सो टिकटदरको विषममा सुझाव संकलन गरि मन्त्रालय पठाएको मिझारे बताइन् । ‘हामीले दुई प्रकारका गुनासो नोट गरेका छौं । बाह्य पर्यटकहरुको टिकटदर महंगो भएको विषय र आन्तरिक पर्यटकको रत्नमन्दिरको मुल ढोका खुल्नुपर्ने गुनासो । यी गुनासोहरुलाई हामीले माथि (पर्यटन मन्त्रालय) पठाइसकेका छौ । छिटै सकारात्मक उत्तर आउला,’ उनले भनिन् । उनका अनुसार आन्तरिक पर्यटकका लागि १ सय रुपैयाँ, ज्येष्ठ नागरिक र बालबालिकालाई ५० रुपैयाँ प्रवेश शुल्क कायम गरिएको छ भने वाह्य पर्यटका लागि १ हजार रुपैयाँ निर्धारण गरिएको छ । यही महंगी टिकटदरकै कारण बाह्य पर्यटक टिकटघर पुगरे फर्किने गरेका हुन् । उनले आन्तरिक पर्यटकहरुबाट संकलित सुझाबका अनुसार नेपालीहरुनै पनि सन्टुष्ट नभएको सुनाइन् । ‘अहिलेसम्म हेर्दा नेपाली पाहुनाहरु पनि सन्टुष्ट भएको पाएको छैन, उनले भनिन्, ‘टिकटदर अनुसार भित्र पार्कमा जाने र दरबारको बाहिरी आवरण मात्रै हेरेर फर्किने भएको छ । उहाँहरु एक पटक पछि अर्काे पटक फेरि भित्र जाने वातावरण मिलाउन सकेका छैनौं । त्यो बारेपनि हामीले सोचिरहेका छौ ।’ नेपाल ट्रष्टको मातहतमा रहेको रत्नमन्दिर दरबार अवलोकनका लागि आइतबार बिहान १० देखि २ बजेसम्म टिकट खुल्ला हुने र ३ बजेसम्म पर्यटकहरुले अवलोकन गर्न पाउनेछन् । यस्तै सोमबार बन्द रहन्छ भने मंगलबार देखि शनिबारसम्म १० देखि ५ बजेसम्म परिसर खुल्ला रहँदै आएको छ । नेपाल ट्रष्टको मातहतमा रहेको तत्कालीन राजा महेन्द्र शाहले रानी रत्नका लागि उपहारस्वरुप २०१५ सालमा फेवाताल किनारमा बनाएको रत्न मन्दिर हाल नेपाल ट्रष्टको मातहतमा रहेको छ । रत्न मन्दिरमा चीनका प्रधानमन्त्री, बेलायती महारानीलगायत विशिष्ट पाहुनाको आगमन र बास भएको इतिहास छ । २०६५ सालमा गणतन्त्र स्थापना भएपछि १७४–४–२–० रोपनी क्षेत्रफलमा फैलिएको छ । राजा महेन्द्र साविकको पश्चिमाञ्चल क्षेत्र भ्रमण गर्न आउँदा रत्न मन्दिरमा बस्थे । रत्नमन्दिर परिसरको कुन क्षेत्रमा के छ ? नेपाल ट्रष्टको कार्यालयले रत्न मन्दिरको सम्पत्ति उपभोगका स्थिति अनुसार पाँच वटा क्षेत्र मध्ये क्षेत्र १, रत्न मन्दिर परिसरको मूलद्वार र फेवाद्वार (भित्री पूर्वी गेट)को बीचको खुल्ला क्षेत्र हो । यो क्षेत्रको दक्षिणतिर २ वटा र उत्तरतिर १ वटा भवन रहेका छन् । क्षेत्र नं.२, फेवाद्वार (भित्री पूर्वी गेट) र बेगनासद्वार (भित्री पश्चिम गेट) भित्रको क्षेत्रलाई जनाएको छ, यो क्षेत्रमा ऐतिहासिक रत्नमन्दिर दरबार, तालघर, नानीगंग तथा मोटर ग्यारेज रहेका छन् । यहाँ विभिन्न प्रजातिका वनस्पति र फुलका बिरुवाहरु संरक्षित छन् । क्षेत्र नं.३, रत्न मन्दिरको उत्तर–पश्चिममा पर्ने यो क्षेत्रमा पुरानो हेलिप्याड रहेको छ, यस क्षेत्रमा ए.डी.सी अफिस र गोदाम घर रहेका छन्, यहाँ राजाको क्षेत्रीय भ्रमणका बेला प्रयोग ल्याइने घर समेत रहेको छ । क्षेत्र नं.४, यो क्षेत्र कर्मचारी तथा सैनिक आवासीय क्षेत्र र खुल्ला चौर मैदान भएको क्षेत्र पर्दछ, यो क्षेत्रमा ३८ कोठा भएको घर रहेको छ । हाल यो क्षेत्र नेपाली सेनाले संरक्षण तथा प्रयोग गर्दै आएको छ । क्षेत्र नं.५, यो क्षेत्रमा बाराही मन्दिर तर्फ जाने पक्की बाटो भन्दा उत्तर पश्चिमको खुल्ला जमिन र ३ वटा कोठा भएको १ भवन रहेको छ । यो क्षेत्रलाई हाल नेपाली सेनाले खेल मैदानको रुपमा प्रयोग गरिरहेको छ । ११ कोठे दरबार रत्न मन्दिर दरबारभित्र ११ वटा कोठा रहेका छन् । पहिलो कोठालाई तत्कालिन राजा रानीको शयन कक्ष, कोठा न.२ पोखरा सवारीको बेला रानीद्धारा पूजा आजा गर्ने तथा कपडामा इस्त्री गर्ने कोठा, कोठा न.३ शाही नातेदारहरुको शयन कक्ष, विशेष गरी राजाका छोरी ज्वाईहरुले प्रयोग गर्ने गरेको, कोठा नं. ४ शाही नातेदार तथा वरिष्ठ पाहुनाहरुको शयन कक्ष, यो कोठामा स्व. विपी कोइराला पनि बास बस्नुभएको कुरा उहाँको आत्मवृतान्तमा उल्लेख छ । कोठा नं. ५ शाही नातेदारहरुको शयन कक्ष, विशेष गरी युवराज र युवराज्ञीहरुले प्रयोग गर्ने गरेको, कोठा नं. ५ शाही नातेदारहरुको शयन कक्ष, कोठा नं. ७ मनोरञ्जन कक्षको रुपमा विशेष गरी म्युजिक सुन्ने बजाउने, रेडियो सुन्ने, क्यारमबोर्ड खेल्ने प्रयोजनार्थ प्रयोग गर्ने, कोठा नं. ८ आराम कक्ष, राजाले नुहाउने क्रममा कहिलेकाँही प्रयोग गरिएको , कोठा नं. ९ डाइनिँग हल, कोठा नं. १० भेटघाट गर्ने लक्ष्य, रत्नमन्दिर दरबार तथा अन्य भवनमा बस्ने व्यक्तिहरुले पाहुना भेटघाट गर्ने तथा उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्ने प्रयोजनका लागि ल्याएको, कोठा नं.राजाका मूख्य एडीसीको शयन कक्ष रहेको छ ।
पोखरा: आर्थिक मन्दीले व्यवसायी पलायन हुने स्थिति आएको भन्दै घरभाडामा छुट दिन घरधनीसमक्ष माग गरिएको छ । पोखरास्थित नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडामा कम्तीमा २५ देखि ५० प्रतिशतसम्म छुट दिनुपर्ने जनाएको हो । समितिद्वारा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले घरबहाल कर पनि घरधनी आफैँले तिर्न आग्रह गर्नुभयो । समितिले सम्झौताअनुरुप भाडा वृद्धिको समय आएको भए पनि त्यसलाई पछाडि सार्न माग गरेको छ । “घरभाडा बेलैमा तिर्न नसकेका कारण व्यवसायीहरू विस्थापित हुनुपरिरहेको छ”, समितिका अध्यक्ष न्यौपानेले भन्नुभयो, “सङ्कटको अवस्थामा घरधनीले व्यवसायीको मर्का बुझिदिनुस् भन्ने हाम्रो माग हो ।” कोभिड–१९ ले थलिएको व्यवसाय क्षेत्र पछिल्लो आर्थिक सङ्कटका कारण झन्झ्न मारमा परेको उहाँले बताउनुभयो । आर्थिक मन्दीका कारण १५ देखि २० प्रतिशतसम्म व्यवसायी पलायन भएको अनुमान समितिको छ । अधिकांशले भाडा तिर्न नसकेर व्यवसायबाट हात धुनुपरेको बताउने गरेको समितिका प्रथम उपाध्यक्ष उमापति ढकालले बताउनुभयो । उहाँले व्यवसायीहरू विषम परिस्थितिबाट गुज्रिरहेकाले घरभाडा वृद्धि नगर्न र बढेको भाडादर मिनाहा गरिदिन माग गरिएको बताउनुभयो । समयमा घरभाडा नतिर्ने व्यवसायीलाई घर खाली गर्न बाध्य नपार्नसमेत समितिले अनुरोध गरेको छ । “यस्तो बेला घरधनीले राहतको प्याकेज ल्याउन जरुरी छ, आखिर व्यवसायी र घरधनी भनेको एकअर्काका सहयोगी पनि त हुन्”, उहाँले भन्नुभयो
पोखरा: पोखरा महानगरपालिकाले फेवातालको सिमसार क्षेत्रमा निर्मित अनधिकृत संरचना तथा प्लटिङमा डोजर चलाएको छ । कृषिका लागि भन्दै सिमसार क्षेत्र पुरेका र प्लटिङ गरिएका ठाउँमा महानगरले आज डोजर चलाएको हो । ‘पछिल्लो समय बनाइएका अनधिकृत संरचना तथा प्लटिङमा डोजर लगाइएको हो, मेयरका प्रेस संयोजक भीम थापाले भने, ‘सिमसार क्षेत्रमा माटो परिएको र प्लटिङ गरिएको सबै क्षेत्रमा डोजर चल्छ । सबै हटाउने त्यसैले डोजर आज बेलुकासम्मै चल्छ ।’ सो सिमसार क्षेत्रमा व्यवसायी देवेन्द्र केसीले पहिल्यै प्लटिङ गरिसकेका छन् भने अर्का व्यवसायी युवराज खतिवडाले करिब ५ सय रोपनी जग्गालाई कृषियोग्य जमिन बनाउने भन्दै माटो भर्दै आएका थिए । पोखरा महानगरले भू–उपयोग नीति ०७९ अनुसार जग्गा वर्गीकरण गर्दा फेवा सिमसार क्षेत्रको अधिकांश भाग आवासीय क्षेत्र तोकेको छ ।
पोखरा: गण्डकी अटो मेकानिकल वक्स एशोसिएसनले मेकानिक्सहरुलाई निशुल्क टि.टि खोप सहित स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । एशोसिएसनले पश्चिमाञ्चल सामूदायिक अस्पतालको सहकार्यमा मेकानिक्सहरु धेरै रहेको स्थान, पृथ्वीचोक बसपार्क, औधोगिक क्षेत्र,बाग्लुङ्ग बसपार्क र याम्दीमा घुम्ती शिविर मार्फत ४८६ जनालाई खोप लगाइएको अध्यक्ष सन्तोष कुमार मिश्रले बताए । प्राणघातक रोगको रुपमा धनुष्टङ्गकारलाई लिने गरिएको धातुका कारण शरीरको कुनै पनि भागमा रगत आउने गरी काटेमा सो बाट शरीरभरि फैलन गई शरीर बाङ्गीने लामो समय उपचार गराउँदा धेरै खर्च हुने हुदाँ टिटानसको खोप प्रभावकारी रहेको डा. युक्त नारायण रेग्मीले बताए । ३ डोज लगाएपछि १० वर्ष खोप लगाउन नपर्ने हुदाँ खोप सेवा प्रभावकारी रहेको डाक्टर रेग्मीले बताए । कार्यक्रमको शुभारम्भ गर्दै पश्चिमाञ्चल सामुदायिक अस्पतालका अध्यक्ष हरि पाण्डेले खोप सेवा सङ्गै मेकानिक्सका लागी सहुलियत सेवा अस्पतालले प्रदान गर्ने बताए । एशोसिएसनका अध्यक्ष सन्तोष मिश्रको सभापतित्वमा भएको कार्यक्रममा प्रेस सल्लाहाकार कृष्ण थापा, रेडियो सराङ्गकोटका निर्देशक राममनि पौडेल, सामुदायिक अस्पतालका उपाध्यक्ष अर्जुन ज्ञवाली, संस्थाका पूर्व अध्यक्ष सानुमान जलारी, सल्लाहाकार छम बहादुर खत्री, उपाध्यक्ष कृष्ण खाँड, महासचिव विष्णु अधिकारी, कार्यक्रम संयोजक लिल बहादुर सुनारले खोप सेवाले मेकानिक्सको स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
पोखरा: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्रा.डा. डिल्लीराज शर्माले गणेशमान पालिखेको पदचाप पछ्याउने हो भने जनप्रियले शैक्षिक संस्थालाई राजनीतिक द्वन्द्वबाट मुक्त गर्नुपर्ने सुझाए । मानिस विश्वविद्यालयतर्फ उन्मुख जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १८ औं स्मृति दिवसका सन्दर्भमा बोल्दै प्रा.डा. शर्माले जनप्रिय क्याम्पस मात्रै होइन त्रिभुवन विश्वविद्यालय, पोखरा मात्रै होइन नेपालभरि कै शिक्षा क्षेत्रमा व्यवस्थापन सङ्कायको खाँचो पुष्टि गर्दै काठमाडौं बाहिर पहिलो पटक पोखरामा बिबिए कार्यक्रम ल्याएको स्मरण गरे । पब्लिक क्याम्पस सङ्घको संस्थापक अध्यक्ष भएर मुलुकभरि सामुदायिक क्याम्पसको स्थापना र सञ्चालनमा पालिखेले गरेको योगदान संझनालायक भएको बताए । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रनारायण विजुक्छेले पालिखेलाई स्मरण गर्दै भने, २०३९ सालमा पृथ्वीनारयाण क्याम्पसमा म उहाँको चेला थिएँ, २०४८ सालमा जनप्रिय क्याम्पस स्थापना भएपछि साथी भएँ, त्यो समय स्वर्णकाल थियो । उहाँ क्याम्पस प्रमुख र म जनप्रतिनिधि हुँदा भवन निर्माणका क्रममा सँगै मुद्धा खेपेका छौं । क्याम्पस कै लागि ज्यानको आहुति दिएका पालिखे शिक्षा मै सहादत पाएका व्यक्तित्व भएको जानकारी दिए । संस्थापक उपाध्यक्ष हरिप्रसाद बराल, सल्लाहकार विष्णुप्रसाद बराल, सिर्जना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापा, निवर्तमान क्याम्पस प्रमुख कृष्णबाबु बराल, पब्लिक क्याम्पस प्राध्यापक सङ्घका अध्यक्ष विकास थापामगर, कर्मचारी सङ्घ जनप्रिय इकाइका अध्यक्ष देवी पनेरु, प्राध्यापक शिव केसी, सुरेश रानाभाट लगायतका वक्ताले क्याम्पसलाई मानित विश्वविद्यालय बनाउनका निम्ति संस्थापक क्याम्पस प्रमुख पालिखेले जस्तै क्याम्पसलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्नुपर्ने विचार राखेका थिए । समुदायले स्थापना गरेको क्याम्पसमा समुदायले दिएको जिम्मेवारी पालिखेले आफ्नो भौतिक शरीर रहँदासम्म इमान्दारितापूर्वक बहन गरे । उनमा नेतृत्व क्षमता र कार्य दक्षता थियो भन्ने पुष्टि गरेका थिए । विश्वविद्यालय अनुदान आयोगबाट दुई पटकसम्म गुणमापन तथा प्रत्ययानको प्रमाणपत्र पाउन र शिक्षा मन्त्रालयबाट दुई पटक मुलुकभरिका सामुदायिक क्याम्पस मध्ये उत्कृष्ट पुरस्कार प्राप्त गर्न सफल क्याम्पसको मेरुदण्डका रूपमा पालिखेले खेलेको भूमिका स्मरण गर्न लायक छ । स्वर्गीय पालिखेको संझनामा बिबिए तथा पुस्तकालय भवनलाई गणेशमान पालिखे स्मृति भवन नामाकरण यसअघि नै गरिएको छ । गतवर्ष गणेशमान पालिखेकी धर्मपत्नी गङ्गादेवी पालिखेले पति गणेशमानको संझनामा परिवारका तर्फबाट ४ लाख रूपैयाँको अक्षयकोष स्थापनाको गरेकी थिइन । उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक र कर्मचारीलाई पुरस्कृत गर्ने उद्धेश्यले कोष स्थापना गरेकी थिइन । २०६२ जेठ २९ गते तत्कालीन विद्रोही समूहले गणेशमान पालिखेलाई उनकै निवास अगाडि नागढुङ्मा गोली हानी हत्या गरेको थियो । शिक्षामै सहादत प्राप्त गरेका कारण सरकारले उनलाई शैक्षिक सहिद घोषणा गरेको हो । कास्की जिल्लाबाट २०२२ सालमा एम.कम. पास गर्ने उनी पहिलो व्यक्ति हुन । २०२३ सालमा पश्चिम जर्मनीबाट औद्योगिक व्यवस्थापनमा स्नातक गरेका पालिखेले २०३० देखि २०३२ सालमा पृथ्वीनारायण क्याम्पसको प्रमुख भएर काम गरेका थिए । २०४६ सालमा स्वेच्छिक अवकाश लिएपछि उद्योगमा होमिएका पालिखेलाई जनस्तरबाट स्थापित जनप्रिय बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुखका लागि प्रस्ताव गरेपछि १४ वर्ष निरन्तर क्याम्पस हाँकेका थिए । १८ औं स्मृति दिवसको छेको पारेर जनप्रिय बहुमुखी क्याम्पसले पछ्याउन पर्ने गणेशमान पालिखेका पदचापहरू विषय अन्तरक्रिया कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै क्याम्पस प्रमुख लोकराज भण्डारीले स्वागत मन्तव्य राखेका थिए । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रनारायण विजुक्छेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख रमेशबहादुर खड्काले गरेका थिए ।
पोखरा: पोखरा महानगरपालिका ९ न्यूरोडस्थित निलगिरी बोर्डिङ स्कुलको छतबाट हाम फालेर गम्भीर घाइते भएकी चाहात शाहको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक श्रीराम तिमिल्सिनाका अनुसार मणिपाल अस्पतालमा उपचारको क्रममा हिजो (आइतबार) नै मृत्यु भएको हो । अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शाहको पोष्टमार्टम भइरहेको प्रहरी निरिक्षक तिमिल्सिनाले बताए । ‘मृत्यु हिजो नै भएको हो, तिमिल्सिनाले सुनगाभा न्यूजसँग भने, ‘अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टन भइरहेको छ ।’ निलगिरी बोर्डिङमा अध्ययरत भारतको बिहार मोतिहारी घर भएकी १५ वर्षीय चाहात शाह ट्युसन पढ्न गएको बेला स्कुलको छतबाट हाम फालेकी थिइन् । शाहको मृत्युपश्चात स्कुलले आज (सोमबार) विदा दिएको छ । स्थायी घर भारतको बिहार मोतिहारी भएकी शाह पोखरा महानगरपालिका ८ स्थित बगालेटोल बस्दै आएकी थिइन् । उनी के कारणले हाम फालिन भन्ने विषयबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । यद्यपी विद्यालयले भने हाम फालेको नभई अचानक खसेको दाबी गरेको छ ।