पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

पोखरा:     नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८०’ बाट हुमबहादुर तमु (कास्की) र सुन्दरकुमार थकाली (मुस्ताङ) पुरस्कृत भएका छन् । फोनिजको २४ औं स्थापना दिवसको अवसरमा आज (शनिबार) पत्रकार द्वयलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा पुरस्कारदाता व्यवसायी विमलमान गुभाजु तथा गुभाजु परिवारले पुरस्कार स्वरुप दोसल्ला, सम्मानपत्रसहित नगद रु २५ हजार अर्पण गरे । सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले स्वच्छ र स्वतन्त्र रुपमा पत्रकारिता गर्ने वातावरण सिर्जना गर्न स्वयम् पत्रकार नै जिम्मेवार हुनुपर्ने धारणा राखे ।   उनले पत्रकरिता आफ्नै लयमा बनगेको मुख्यमन्त्री पाण्डेले बताए । ‘आज पत्रकरिताको लय बिग्रेको छ । एउटा टिभी र अर्को टिभीमा समाचार हेर्दा फरक फरक सन्देश र सूचना जाने देखिन्छ । यसले समाजलाई दिग्भ्रमित गरेको छ । त्यसैले नियमन हुन आवश्यक छ । र पत्रकार आफै पनि जिम्मेवार र गम्भीर हुनुपर्छ ।’ मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको आमसञ्चार विधेयक ल्याउने तयारी रहेको बताए । उनले यही आर्थिक वर्षमा सञ्चार विधेयक दर्ता गर्ने तयारी भएको बताउदै भने, ‘मलाई कसैलाई नियमन गर्नु छैन त्यसैले पत्रकार साथीहरुको केही कुरा छलफलबाट पारित भएपछि अगाडी बढ्छ । मेरो एउटै मात्र धेय छ स्वतन्त्रताको नाममा अराजक हुनुभएन ।’ उनले पछिल्लो समय स्वतन्त्रतको नाममा सामाजिक सञ्जालमा अराजकता फैलिएको टिप्पणी गरे । ‘सोसल मिडिया स्वतन्त्रताको नाममा अहिले अराजक भएको छ, मुख्यमन्त्री पाण्डेले भने,  ‘यसले पत्रकारिता स्वनियमन हुनुपर्ने हो तर त्यो भएको देखिएन ।’  उनले व्यक्तिको गुण वा दोषको आधारमा एकतर्फी समाचार संप्रेषण गरेको न्यायोचित नहुने धारणा राखे ।  ‘समाचार संप्रेषण गर्दा सबै पत्रकार गलत छैनन्, सबै पत्रकार सही छैनन् भन्ने बुझे जस्तै सबै राजनीतिज्ञ गलत छैनन् भन्ने पनि हेक्का राख्नुपर्छ ।’ उनले भने । यस्तै पुरस्कृत व्यक्ति हुम बहादुर गुरुङले आवश्यकता महसुस भएर पत्रकारितामा लागेको बताए ।  उनले नेपाल विविधतायुक्त देशमा सम्पूर्ण समुदायको पहुँच स्थापना नभएको कारण सक्रिय पत्रकारितामा लागेको बताउदै पत्रकारिता भित्रै पनि असमानता रहेको धारणा राखे । ‘मैले देशमा सबै समुदायको पहुँच समान नदेखेका कारण पत्रकारितामा लागेको हो । तर पत्रकारिता भित्रै पनि असमानता देखिएको छ । जुन राम्रो कुरा होइन,’ गुरुङले भने । गुरुङले प्राप्त गरेको कञ्चन पत्रकारिता पुरस्कार अहिलेसम्मकै महत्वपूर्ण पुरस्कार रहेको बताए ।  ‘आज मलाई दिनुभएको यो पुरस्कार हेभी छ, उनले भने,  ‘यसले मलाई पत्रकारितामा थप सत्रिय हुन हौसला दिएको छ । त्यसैले म आजिवन सत्रिय पत्रकारिता गरिरहनेछु ।’ उनले फरक प्रसंगमा बोल्दै पत्रकारितालाई स्वच्छ बनाउनका लागि राजनीतिक पार्टी निकट हुनु नहुने धारणा राखेका थिए ।  यसैगरी पुरस्कृत सुन्दर कुमार थकालीले आफुलाई पुरस्कृत गरेको भन्दै पत्रकारितामा थप उत्साह मिलेको बताए ।  ‘यो पुरस्कारको महत्व बुझेर नै मलाई प्रदान गर्नुभएको छ । मलाई यो निकै भारी र गहु्रंगो भएको छ, उनले भने, पत्रकारिताका मेरो यो चौथो पुरस्कार हो । सबैभन्दा बढी महत्वपूर्ण मैले यो पत्रकारिता पुरस्कारलाई लिएको छु । यसले मलाई थप हौसला मिलेको छ ।’ गण्डकी प्रदेशको शिरमा रहेको जिल्लामा पत्रकारिता गर्न सहज नरहेको उनले सुनाए । ‘मुस्ताङमा पत्रकारिता गर्न चुनौती नै छ । मैले विगत १० वर्षदेखि पत्रकारिता गर्दै आएको छु । धार्मिक क्षेत्र भएकाले बाहिर ल्याउनुपर्ने इस्युहरुलाई माथि ल्याउन नसक्ने अवस्था छ । किनभने सानो क्षेत्र र सिमित पत्रकार भएकाले पनि निकै जोखिम छ,’ उनले भने । पुरस्कृत हुम बहादुर तमु पोखराबाट प्रकाशित हुने कास्की आवाज दैनिकका प्रधानसम्पादक हुन्  भने थकाली अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक र समाधान दैनिकका लागि मुस्ताङका संवाददाता हुन् ।  फोनिज गण्डकीका महासचिव धन बहादुर गुरुङका अनुसार पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । ५ लाख रुपैयाँदेखि सुरु गरिएको यस अक्षयकोषमा गुभाजु परिवारले हरेक वर्ष १ लाख थप गर्दै आएका छन् । यस वर्षपनि १ लाख थप गर्ने घोषणा गरेका छन् । हाल अक्षयकोषमा ९ लाख रुपैयाँ रहेको छ । यो पुरस्कार गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष प्रदान गरिँदै आइएको छ । सो पुरस्कारबाट यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना र लमजुङका आश गुरुङ पुरस्कृत भइसकेका छन् ।

पोखरा:     पोखरा महानगरपालिका भित्र सडकमा रहेका सबै सालिकहरूको व्यवस्थापन गरिने भएको छ । शुक्रवार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अध्यक्षतामा बसेको सर्वदलीय.सर्वपक्षीय बैठकले सडकमा रहेका सालिकहरू महानगरमा क्रियाशील राजनीतिक दलहरू, सरकारी निकाय तथा सरोकारवाला संघसंस्थाहरुसँग आवश्यक समन्वय गरी एक महिना भित्र स्थानान्तरण.व्यवस्थापन गर्ने निर्णय गरेको हो । सर्वदलीय/सर्वपक्षीय बैठकको निर्णयमा भनिएको छ, “पोखरा महानगरपालिका भित्र सडकमा रहेका सबै सबै सालिकहरूको सम्बन्धमा महानगरमा क्रियाशील राजनीतिक दलहरू, सरकारी निकाय तथा सरोकारवाला संघसंस्थाहरुसँग आवश्यक समन्वय गरी एक महिना भित्र स्थानान्तरण/व्यवस्थापन गर्ने निर्णय गरियो ।“ निर्णय अनुसार एक महिना भित्र सडकमा रहेका सबै सालिकहरूको व्यवस्थापन गरिनेछ ।  साथै बैठकले साबिकको पृथ्वीचोक हालको लखनचोकमा नेपालमा प्रथम सहिद लखन थापाको सालिक अगाडी राखिएको राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको तस्बिरलाई हटाई पोखरा महानगरपालिकामा सुरक्षित साथ राख्ने निर्णय समेत गरेको छ । पोखरा महानगरपालिकाले पोखरामा चोकहरूमा रहेका सालिकहरूको व्यवस्थापन पोखरा १८ स्थित विभूति पार्कमा गर्दै आएको छ । पोखराका चोकहरूमा रहेका सालिकहरूको स–सम्मान व्यवस्थापन गर्ने सम्बन्धमा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताउनुभयो । “अहिले पोखराको ट्राफिक व्यवस्थापन समेत अरू कुरालाई ध्यान दिँदै अव सडकका बिचहरूमा सालिक राख्न सक्ने अवस्था छैन, उहाँले भन्नुभयो, यस सम्बन्धमा सम्बन्धित सरोकारवालाहरूसँग छलफल गरेर, आवश्यक प्रक्रिया पुरा गरेर सडकमा रहेका सबै सालिकहरूको व्यवस्थापन छिट्टै गर्नुपर्नेछ, पोखरा महानगरपालिकाले निर्माण गरेको सहिद तथा विभूति पार्कमा बाजागाजा सहित सम्मानपूर्वक सबै सालिकहरूको व्यवस्थापनका लागि सबै सरोकारवालाहरू सहमत हुनुहुन्छ ।” उहाँका अनुसार एक महिना भित्र आवश्यक छलफल तथा परामर्श गरी सालिकहरूको व्यवस्थापन गरिनेछ । सालिकहरू व्यवस्थापनको विषय जित र हारको विषय हुनै नसक्ने समेत उहाँले बताउनुभयो । कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले राष्ट्रिय विभूतिहरूको सालिक सडकमा राख्नु भन्दा पनि व्यवस्थित ढङ्गले महानगरले व्यवस्था गरेको स्थानमा राख्नु नै उपयुक्त हुने बताउनुभयो । विवादको शान्तिपूर्ण समाधानमा जोड दिनुभएका घिमिरेले दीर्घकालीन रूपमा सडकमा सालिक रहन्नन् भन्ने कुराको जानकारी हुदाँहुदैँ पनि क्षणिक रूपमा सडकमा राख्ने विषयको वकालत गर्नु उपयुक्त नहुने बताउनुभयो । राष्ट्रले मानेका व्यक्तिहरूको सम्मान गर्नु नागरिकको दायित्व हुने भएकाले ती सम्मानित व्यक्तिहरूको सालिकहरू व्यवस्थापनको विषयलाई स्वार्थसँग जोड्न नहुने बताउनुभयो ।  बैठकमा सहभागी दलका प्रमुख तथा प्रतिनिधिहरूले सडकमा रहेका सालिकहरूको उचित व्यवस्थापनमा मतएक्यता प्रकट गरेका छन् । सडकको बिचमा सालिक राख्दैमा उनीहरूको योगदानको सम्मान नहुने भन्दै एकीकृत रूपमा सबै सम्मानित व्यक्तिहरूको प्रतिमा व्यवस्थापनमा दलहरूले जोड दिए । सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरूले सालिकको विषय साझा अपनत्वको रूपमा सम्मानजनक व्यवस्थापन हुनु आवश्यक रहेको बताए । सामाजिक रूपमा कायम सद्भावलाई खलल पुर्‍याउने काम कोही कसैबाट हुन नहुने भन्दै उनीहरूले एक महिना भित्र सबै सालिकहरूको व्यवस्थापन विभूति पार्कमा गर्ने विषयमा सहमति जनाएका छन् ।

पोखरा:    पोखरा महानगरपालिका वडा नं.३२ लामेआहाल स्थित अस्थायी ल्याण्डफिल साइटमा देखिएको समस्या सुल्झिएको छ । पोखरा महानगरपालिकाको पूर्वाधार विकास समितिका संयोजक समेत रहेका वडा नं.२६ का वडा अध्यक्ष नरेन्द्र थापा र फोहोरमैला व्यवस्थापन समितिका संयोजक समेत रहेका वडा नं. ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीको पहलमा समस्या समाधान गरिएको हो ।  महानगरपालिकाका प्रमुख धनराज आचार्यले अध्यक्षद्धय थापा र अधिकारीलाई फोहोर व्यवस्थापनको अवरोध हटाई समाधान गर्ने जिम्मेवारी दिनुभएको थियो । सोही जिम्मेवारी अनुरूप वडाध्यक्षद्वयको पहलमा स्थानीय, सङ्घर्ष समिति र महानगरका बिच १८ महिना फोहोर विसर्जन गर्ने सहमति भएको छ । १८ महिनाका लागि पोखरा महानगरपालिका र लामेआहालमा फोहोर विसर्जनका विरुद्ध गठित सङ्घर्ष समिति, राजनीतिक पार्टीका वडास्तरिय प्रतिनिधि एवं प्रभावित क्षेत्रका टोल विकास संस्थाका प्रतिनिधिका बिच सहमति भएको छ । सहमति अनुसार यस अवधिमा पनि खाडल नपुरिए स्थानीयवासी र महानगरपालिका बिच पुनः सहमति गर्न सकिने छ । फोहोर बोकेका गाडीहरू विर्सजनस्थलमा बिहान ६ बजेदेखि बेलुका ४ बजेसम्म प्रवेश गरिसक्नुपर्ने छ भने, तत्कालै माटोले फोहोर पुर्ने कार्य आवश्यकताअनुसार गर्नु पर्नेछ । विर्सजनस्थलबाट कुनै पनि कबाडीजन्य सामग्री सङ्कलन गरिने छैन । सहमति अनुसार क्षेत्रीय बसपार्क निर्माण सुनिश्चित गर्ने कार्य अगाडि बढाइनेछ । फोहोरमैला विर्सजनस्थलका प्रभावित नागरिकको स्वास्थ्य बिमा गरिनेछ । फोहोर मैला विर्सजनस्थलमा दुर्गन्ध नआउने गरी कीटनाशक विषादी छरिनेछ । स्थानीयहरूलाई सिपका आधारमा रोजगारीमा पहिलो प्राथमिकता दिइने लगायतका विषयहरू सहमतिमा उल्लेख छन् । सहमतिका लागि महानगरको तर्फबाट वडाध्यक्ष द्वय थापा र अधिकारीको अग्रसरता र स्थानीयको तर्फबाट लामेआहालमा फोहोर विसर्जनका विरुद्ध गठित सङ्घर्ष समिति, राजनीतिक पार्टीका वडा स्तरीय प्रतिनिधि, प्रभावित क्षेत्रका टोल विकास संस्थाका प्रतिनिधिका रोहबरमा सहमति पत्र तयार गरिएको हो । सहमति पत्रको साक्षी भने वडा नं.३२ का जनप्रतिनिधिहरू बस्नुभएको छ ।

पोखरा:   पोखरामा पौडी खेल्ने क्रममा नहरमा बगेर बेपत्ता भएका बालक मृत फेला परेका छन् ।  पोखरा महानगरपालिका १७ पावर हावस नजिक नहर कुलोमा पौडी खेल्ने क्रममा नहरमा बगेर बेपत्ता भएका १० वर्षीय सम्बोधन अधिकारी मृत फेला परेको प्रहरीले जनाएको छ ।  पोखरा घारीपाटन बस्ने डिल्लीराम अधिकारीको छोरा सम्बोधन अधिकारी आज (बिहीबार) पावर हाउस नजिक नहर कुलोमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।  नहरमा पौडी खेल्ने क्रममा बेपत्ता भएका अधिकारीलाई शसस्त्र प्रहरी बल कालिका गण मालेपाटनबाट खटिएको टोलीले झण्डै एकसय मिटर तल मृत अवस्थामा फेला पारेको कास्की प्रहरीले जनाएको छ ।    बालकको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । 

पोखराः   काठमाडौंबाट पोखरा आएको बस चेकजाँचको क्रममा सुन जस्तो देखिने पहेलो धातुसहित एक महिला पक्राउ परेकी छिन् ।  वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले काठमाडौंबाट पोखरा आएको बस पृथ्वीचोकमा चेकजाँच गर्ने क्रममा कल्पना गुरुङ सुन जस्तो देखिने पहेँलो धातुसहित पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय बैदामका डिएसपी बेद जोशीका अनुसार बस चेकजाँचको क्रममा सुन जस्तो देखिने पहेलो धातुसहित गुरुङ पक्राउ परेको पुष्टि गरे । झापाको बिर्तामोड घर भएका गुरुङ काठमाडौं बस्दै आएको र आज बिहान काठमाडौंबाट पोखरा आएको बस चेकजाँच गर्ने क्रममा उनी सुन जस्तो देखिने पहेलो धातुसहित प्रकाउ परेकी हुन् ।   पक्राउ परेका गुरुङका साथबाट बरामत भएको सुन जस्तै देखिने धातु २८० ग्राम २९ मिलीग्राम रहेको जसमा सुन नै प्रमाणित भए करिव २४ तोला रहेको डिएसपी जोशीले बताए । प्रहरीले भने पक्राउ परेकी महिलाको साथबाट बरामत गरिएको सुन जस्तो देखिने पहेलो धातु भएकाले परिक्षण गर्न बाँकी रहेको जनाएको छ । 

पोखरा:   आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले परम्परागत सीप, ज्ञान पुस्तान्तरण नहुँदा अहिले युवाहर बेरोजगार भएको बताएका छन् ।  नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशले आयोजना गरेको २९ औं विश्व आदिवासी दिवसको उद्घाटनपछि बोल्दै अध्यक्ष थापामगरले यस्तो बताएका हुन् ।  संयुक्त राष्ट्रसंघले अहिले दिवस मनाउन, ‘आत्मनिर्माणको लागि परिवर्तनको सम्भाहक आदिवासी युवा’ मुख्य नारा अगाडि सारेको बताउँदै उनले यो नारालाई आदिवासी युवाहरु गलिे गम्भिर भए लिन आवश्यक रहेको बताए  ।  ‘संयुक्त राष्ट्र संघको घोषणापत्रमा पनि आत्मनिर्णयको अधिकार आदिवासी जनजातिमा छ, त्यो अधिकारलाई प्रयोग गरेर आदिवासी जनजातिहरुले सामाजिक सांस्कृतिक,राजनीतिक निर्णयहरु गर्न पाउने उल्लेख गरेको छ’, अध्यक्ष थापामगरले भने ।  उनले यो अधिकारलाई नेपालको संविधानले पनि व्यवस्था गरेकाले आदिवासी जनजातिहरु सामाजिक, सांस्कृतिक र राजनीतिक निर्णयहरु गर्न पाउने अधिकार रहेको पुनः दोहो¥याए ।  संयुक्त राष्ट्रसंघले अहिले अगाडि सारेको नारामा तीन वटा नारालाई गम्भीर रुपमा अगाडि सारेको उनले बताए ।  ‘जलवायु परिवर्तनले गरेको असरलाई नारामा समेटिएको छ, इतिहासकै उच्च गर्मी भएको भनेको छ, किन गर्मी भयो त’, उनले भने, ‘वनजंगलहरु मासिदै गए, तपाई हामी सबैलाई थाहा छ, वनजङ्गलसँग आदिवासी जनजातिको सम्बन्ध जोडिएको छ, वनजंगल मासियो भने, आदिवासीको अस्तित्व पनि मासिन्छ ।’  उनले वनजंगल जोगाउन आदिवासी जनजातिले भूमिका खेल्नुपर्छ भन्ने सन्र्दभ जोडिएको बताए ।  दोस्रो न्यायको लागि गोलबद्ध हुनुपर्छ भन्ने नारालाई अगाडि सारेको छ ।‘अगाडिका वक्ताहरुले धेरै चर्चा गरिसक्नुभएको छ’, उनले भने, ‘एकजना अधिवक्ताको वक्तव्यले गर्दा सारा आदिवासी जनजातिलाई चोट पु¥यायो, यो किन हुन्छ रु, यसको लागि हामी अगाडि बढ्नुपर्छ, संगठित हुनुपर्छ, न्यायका लागि आदिवासी जनजातिहरु गोलबद्ध हुनुपर्छ ।’ यस्तै तेस्रो नारामा पुस्ता हस्तातरणलाई अगाडि सारेको बताए । ‘अहिले धेरै आदिवासी युवाहरु विदेशीनु भएको छ, त्यसको कारण खोज्नु आवश्यक छ’, उनले भने, ‘सरकारले आदिवासी जनजाति युवा मैत्री कार्यक्रम ल्याउनुपर्छ ।’ उनले परम्परागत ज्ञान सीप पुस्ता हस्तान्तरण नहुँदा युवाहरुमा बेरोजगार बढेको बताए ।  ‘अहिले युवाहरुले परम्परागत ज्ञान सीपलाई घृणा गर्ने द्धेष फैलाउने यो कामले केही हुँदैन भन्दा बेरोजगार बढेको छ’, उनले भने, ‘हामीसँग जुन ज्ञान सीप छ त्यसलाई प्रयोग गर्न जानेनौ भने गरिव हुन्छौं, बेरोजगार हुन्छौं ।’ उनले आदिवासी जनजातिहरुमा भएको ज्ञान सीपलाई पुस्तान्तरण गर्दै व्यवसायीक क्षेत्रमा प्रवेश गर्न सके मात्र अगाडि बढ्न सक्ने बताए ।  २९ औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशले पोखराको चिप्लेढुङ्गादेखि महेन्द्रपुल, नयाँबजार, लखनचोकहुँदै सभागृहमा कोण सभा गरेको थियो ।  विश्व आदिवासी दिवसको अवसरमा लामो समयदेखि आदिवासी जनजातिको हक अधिकारका लागि योगदान पु¥याउँदै आएको भन्दै प्राध्यापक ज्योति भट्टचन र समाजसेवी हक पहरे पुनलाई सम्मान गरिएको थियो ।  आदिवासी दिवसको अवसरमा आदिवासी जनजातिहरुले आफ्नो मौलिक पोशाकमा जातिय झाँकी, नृत्य प्रस्तुत गरेका थिए ।  संयुक्त राष्ट्र संघको आदिवासी जनजाति हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन अगष्ट ९ तारिखलाई विश्व आदिवासी दिवसको रुपमा मनाउँदै आएका छन् । 

पोखरा:   बागलुङको बडिगाड गाउँपालिका घर भएका भक्तबहादुर राना पोखरा २९ पटनेरीस्थित सेती नदीमा खस्दा बेपत्ता भएका छन् ।  पोखरा बागमाराबाट पटनेरीतर्फ साइकलमा आउँदै गरेका राना मंगलबार बिहान पोखरा २९ पटनेरीस्ति सेती नदीमा खसेर बेपत्ता भएको कास्की प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले साइकलमा यात्रा गरिरहेका बागलुङ घर भएका राना सेती नदीमा खसेको सूचनापछि नदीमा खोजिरहेको जानकारी दिए ।  उनका अनुसार बागलुङको बडिगाड गाउँपालिका ३ घर भएका ३५ वर्षीय राना मंगलबार बागमाराबाट पटनेरीतिरतर्फ आउँदै गर्दा सेती नदीमा खसेका हुन् । राना पोखरा महानगरपालिका ३३ बागमारामा बस्दै आएको प्रहरीले जनाएको छ ।   राना सेती नदीमा खसेको जानकारी पछि खोजी कार्यका लागि प्रहरी खटाइएको र खसेका हुन या हाम फालेका हुन भन्ने विषय अनुसन्धानमै रहेको प्रहरीले जनाएको छ । पुलको छेऊमा चप्पल भेटिएको र भक्तबहादुर नै खसेको भनेर परिवारले नै पहिचान गरेको प्रहरीको भनाइ छ ।  

पोखरा:   पोखरा महानगरपालिकालले आँखा पाक्ने रोग फैलन थालेपछि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।    महानगरले आज (मंगलबार) सूचना प्रकाशित गर्दै भोलिदेखि साउन २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।  पछिल्लो एक हप्तायता पोखरामा पनि आँखा पाक्ने बिरामीको संख्या बढ्दै गएपछि केही दिन बिद्यालय बन्द गर्न सुझाव दिएका थिए ।  विद्यार्थी–शिक्षकसँगै संक्रमण घर–घर पुग्न थालेपछि केही दिनका लागि विद्यालय बन्द गर्न महानगरपालिकाले जनाएको छ ।    स्वास्थ्य संस्थाहरूमा आँखा रातो हुने, पाक्ने, चिलाउने, पानी बग्ने तथा पोल्नेजस्ता समस्या लिएर बिरामीको चाप बढ्दै गएको छ ।

पोखरा:   पोखरा महानगरपालिकाले स्थानीयको अवरोधकाबीच १२ दिनपछि ३० वटा गाडीमा राखिएको फोहोर अस्थायी ल्याण्डफिल साइटमा फालेको छ ।  पोखरा महानगरपालिका ३२ लामेआहालमा रहेको अस्थायी रुपमा रहेको ल्याण्डफिल साइटमा आज महानगरले ३० गाडी फोहोर फालिएको महानगरले जनाएको छ ।  पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सीनाले अस्थायी ल्याण्डफिल साइटमा फोहोर फाल्नका लागि स्थानीयसँगसमन्वय भइरहेको र सर्वोच्च अदालतले पनि कानूनी बाटो खुल्ला गरेकाले फोहोर फालिएको बताए ।  ‘लामेआहालमा रहेको अस्थायी रुपमा रहेको ल्याण्डफिल साइटमा फोहोर फाल्न स्थानीयले केहीदिन यता अवरोध गरेका थिए, त्यसमा सर्वोच्च अदालतमा पनि मुद्धा प¥यो’, तिम्सीनाले भने, ‘स्थानीयको माग पूरा गर्न छलफलमा गरिरहेका छौं, अदालतले पनि कानूनी बाटो खुल्ला गरेकाले आज फोहोर फालेका हौं ।’ यस्तै पोखरा महानगरापालिकाका सरसफाई शाखा प्रमुख कल्पना बरालले सोमबार पोखराको विभिन्न स्थानबाट उठाइएका फोहोर आज अस्थायी ल्याण्डफिल्ड साइडमा फालिएको जानकारी दिइन् । उनले सोमबार उठेको फोहोर आज फालेकाले अब नियमित रुपमा फोहोर उठ्ने बताएकी छिन् ।  सोमबार जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले लामेआहालमै फोहोर फाल्ने निर्णय गरेको थियो । स्थानीयले अवरोध गर्नसक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षाकमी परिचालन गरिएपनि विना अवरोध फोहोर अस्थायी ल्याण्डफिल्डमा फालिएको महानगरले जनाएको छ ।  पोखरा महानगरपालिकाले अस्थायी ल्याण्डफिल साइट निर्माण गर्दा स्थानीयसँग गरिएको १६ बुँदे माग कार्यान्वयन गर्ने बताउँदै आएको छ ।