पोखरा: पोखरा महानगरपालिका ८ सिर्जनाचोक स्थित होटल लक्ष्मीमा जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले प्रकाउ गरेको छ । सिर्जनाचोक स्थित होटल लक्ष्मीमा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई ४ लाख ४७ हजार ८० रुपैयाँसहित नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । इन्द्रबहादुर हिराचनले संचालन गरेको होटलमा जुवातास खेल्दै गरेको अवस्थामा मुस्ताङको घोरपझोङ गाउँपालिका २ घर भएका ५७ वर्षीय इन्द्रबहादुर हिराचन, ५८ वर्षीय मोहन थकाली, ४६ वर्षीय नविन प्रसाद थकाली प्रकाउ परेका हुन् । यस्तै पोखरा महानगरपालिका ८ सृजनाचोक बस्ने ६३ वर्षीय शंकर ज्वारचन, महेन्द्रपुल बस्ने ५३ वर्षीय गुन्ज हिराचन र दलबहादुर हिराचनलाई प्रकाउ गरिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । प्रकाउ परेका जुवाडे माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
पोखरा: भाद्र २० गते श्रीकृष्ण जन्माष्टमी पर्वका दिन पोखरा ८ रत्नचोक स्थित श्री कृष्ण प्रणामी मन्दिरमा श्रीकृष्ण जन्मष्टमी प्राकट्य महोत्सव हुने भएको छ । हरेक वर्ष हुदै आएको महोत्सबमा कृष्ण भजन , कृष्ण लिला नृत्य ,बाल बालिकाको विभिन्न लोक तथा राष्ट्रिय गीत नृत्य लगाएतका विभिन्न मनोरञ्ननात्मक सास्कृतिक तथा धार्मिक गतिविधि गरिने र रात्री १२ बजे भगवान कृष्णको जन्म महोत्सव समापन गराइने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम रेग्मीले बताउनुभयो । मन्दिरमा साउन २१ गतेबाट सगिंतमय श्रीमद् वितक तथा कृष्ण कथा वाचन जारी छ । उक्त वाचनमा पछिल्लो समय भक्तजनको उल्लेख्य सहभागीता हुदै आएको छ । । कथाको वाचन कृष्ण प्रणामी धर्मका धर्मप्रचारीका साधवी पुजन शिखा माताले गर्दै आउनु भएको छ । प्रमुख वाचिका पुजन शिखा माताले आत्मा पहिचान गराउने धर्म शास्त्रहरु भनेको आफैलाई हेर्ने ऐना भएको बताउनु भयो । हरेक मानिसमा प्रेमको जागृत गराउन ज्ञानको आवश्यक हुने बताउनुभयो । उहाँले विगत देखि नै हिन्दु धर्म माथि प्रहार हुदै आएको बताउदै वितक कथा मार्फत हिन्दु जागरण सहित मानिसमा प्रेमको भाव प्रकट हुने बताउनुभयो । भाद्र २० गते कृष्ण प्राकट्य महोत्सव संगै यस वर्षको श्रीमद् वितक तथा कृष्ण कथा वाचन समापन हुने आयोजक श्री कृष्ण प्रणामी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिका वडा नम्बर २५ ले हेमजामा रहेका विभिन्न यूवा क्लबहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । युवाहरुलाई वडाको वार्षिक गतिविधिहरुको जानकारी दिनुका साथै चालु आ.व लक्षित आर्थिक, सामाजिक र भौतिक विकासात्मक छलफललाई जोड दिन कार्यक्रमको आयोजन गरिएको वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले जानकारी दिनुभयो । कार्यक्रममा उपस्थित युवाहरुले हेमजामा नगर बस सेवा संचालन प्रभावकारी नभएको , मध्यपहाडी लोकमार्ग अन्तर्गत हरिचोक देखि यम्दी सम्मको सडक निर्माणमा ढिलाइका कारण वर्षायाम संगै हिलाम्मे सडकले आवतजावतमा हैरानी, डिजिटल पुस्तकालय अर्यात इ–लाइब्रेरीको अवस्यकता ,युवा उद्यमी सम्बन्धि सिफारिस निशुल्क गर्न आग्रह ,दुर्धटना न्युनिकरणका लागि स्कुल स्कुलका ट्राफिक जनचेतना कार्यक्रम गर्नुपर्ने,वडा तहका विभिन्न समिति गठनमा युवा प्रतिनिधित्व हुनुपर्ने, विनाधितो सहुलियत दरमा व्यवसायिक ऋण, एकीकृत कर प्रणाली लागु गर्नुपर्ने लगायतका समस्या राखेका थिए । महानगर प्रवक्ता एवं वडाध्यक्ष तिमिल्सिनाले वडाबाट समाधान गर्न मिल्ने समस्यलाई तत्काल सम्बोधन गर्ने र अन्य विषयगत समस्या अनुरुप सम्बन्धित निकायमा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै समृद्धि र विकासका लागि युवाहरुको साथ र सहयोग आवस्थक सहेको बताउनुभयो । महानगर व्यवसाय प्रवद्र्धन केन्द्रका कार्यकारी प्रमुख नवराज अधिकारीले साना व्यवसायीका लागी वित्तीय योजना तथा सहुलियतपुर्ण कर्जा सम्बन्धि जानकारी गराउनु भएको थियो ।
पोखरा: कास्कीको मादी गाउँपालिका ६ चिप्लीखोलामा पहिरो जाँदा काहुँखोला –सिक्लेस सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । अविरल वर्षासंगै चिप्ली खोलामा पहिरो जाँदा काहुँखोला–सिक्लेस सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको मादी गाउँपालिका ६ का वडाध्यक्ष डिलबहादुर क्षेत्रीले जानकारी दिए । ‘केहीदिन यता वर्षा निरन्तर भइरहेको छ, वर्षासँगै मादी ६ चिप्लीखोलामा पहिरो जाँदा काहुँखोला–सिक्लेस सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ’, वडाध्यक्ष क्षेत्रीले भने, ‘यही स्थानमा एक महिना अगाडि पनि पहिरो गएको थियो, आज पुनः पहिरो जाँदा सडक अवरुद्ध भएको छ, घाम नलागेसम्म पहिरो हटाउन सकिदैन ।’ उनले काहुँखोला–सिक्लेस सडकखण्ड पहिरोका कारण अवरुद्ध भएकाले यात्रुहरुले सवारी परिवर्तन गरेर गन्तव्यमा पुग्न सक्ने बताए । ‘काहुँखोला–सिक्लेस सडकखण्ड चिप्लीमा मात्र अवरुद्ध भएको हो, पहिरोबाट नै हिडेर सडक पार गर्न सकिदैन जोखिम धेरै छ’, उनले भने, ‘केही मिनेटको यात्रामा नजिकैको झुलुङ्गे पुल तरेपछि पुनः सडकमा जोडिन सकिन्छ, यात्रुले सवारी परिवर्तन गरेपछि गन्तव्यमा पुग्न सक्छन् ।’ वर्षा रोकिएपछि सडक खुलाउने तयारी भइरहेको उनले जानकारी दिए ।
पोखरा: गण्डकी विश्वविद्यालयको आयोजनामा ५ कि मि सडक दौड प्रतियोगिता हुने भएको छ । कक्षा ११ र १२ पढ्ने र १२ को परीक्षा दिएका विद्यालयहरुलाई लक्षित गर्दै विश्वविद्यालयले भदौं ९ गते सडक दौड प्रतियोगिता आयोजना गरेको हो । विश्वविद्यालयले आइतबार पत्रकार सम्मलेन गर्दैसमग्र खेलकुदको विकास, सम्वद्र्धन, प्रवद्र्धन र खेलकुद प्रतिको आकर्षण अभिवृद्धि गर्न योगदान पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ । विद्यार्थीहरूलाई खेलकुदका कार्यक्रमहरूको योजना तर्जुमा गर्ने, कार्यक्रमहरू आयोजना गर्ने तथा त्यस्ता कार्यक्रमहरूलाई व्यवस्थापन गर्न सक्षम बनाउने लक्ष्य राखिएको प्रतियोगिताका संयोजक डा मधुसुदन सुवेदीले जानकारी दिए । प्रतियोगिता भदौं ९ गते बिहान ७ बजे सञ्चालन हुनेछ । सहभागी हुनका लागि भदौं ७ गते बेलुका ४ बजेसम्मको समय छुट्टाइएको डा सुवेदीले बताइन् । २०८० सालको कक्षा १२ को परीक्षा दिई बसेका र हाला कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीले दौडमा सहभागी हुन पाउनेछन् । दर्ता शुल्क २० रुपैयाँ तोकिएको छ । एकै विद्यालयबाट २५ जनाभन्दा बढी सहभागी भएमा सबैको नाम निशु्ल्क दर्ता गराइने विश्वविद्यालयले जनाएको छ । दौडमा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने खेलाडीहरूले क्रमशः १० हजार, ७ हजार,५ हजार र २ हजार नगदसहित मेडल र प्रमाण पत्रको प्राप्त गर्नेछन् । निर्धारित दुरी पूरा गर्ने पहिलो १० खेलाडीलाई प्रोत्साहन गर्न मेडलको व्यवस्था गरिएको आयोजनाले जनाएको छ । । यस प्रतियोगितालाई प्राविधिक सहयोग कास्की जिल्ला एथ्लेटिक्स संघले गरको छ । यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ । यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठन पाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो । विश्वविद्यालयले खेलकुद क्षेत्रको समग्र विकासलाई विशेष प्राथमिकता दिइरहेको ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’ (बिएसएम) कार्यक्रमका संयोजक सुवेदीले बताए । २०७७ सालमा स्थापना भएको यस विश्वविद्यालयमा अहिले ५ संकायका विषयमा पठनपाठन हुँदै आएको छ । नेपालमै पहिलो पटक खेलकुद व्यवस्थापन संकायको पढाई थालेको यस विश्वविद्यालयमा नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही, नेपाली महिला क्रिकेट टिमकी खेलाडी डली भट्ट अध्ययनतर छन् ।
पोखरा: गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जालीले यातायात क्षेत्रमा चलखेल र योजना फेरबदल गर्न नदिने बताएका छन् । भौतिक मन्त्रालयको कार्यभार सम्हालेको एकसय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री जुग्जालीले यस्तो अडान व्यक्त गरेका हुन् । उनले आफु मातहतका कार्यालयमा चलखेल हुन नदिने बताउदै विकृतिलाई हटाउदैं जाने स्पष्ट पारे । ‘मन्त्रालय कसरी सञ्चालन गर्ने भन्ने बल्ल बुझ्दै छु, यहाँ आएको बल्ल तीन महिना भएको छ । यसको जस अवजस मैले नै हो लिने’, जुग्जालीले भने, ‘म कसैले भनेको पनि सुन्दिन र मान्दिन, बरु मन्त्री पद जाला तरपनि पाँचवर्ष सांसद रहन्छु त्यसैले म यहाँ रहँदासम्म यातायात क्षेत्रमा खेलामेलो र योजना फेरबदल हुन दिन्न ।’ उनले संसदमा पनि उक्त कुरा राखेकाले मन्त्रालयका योजना फेरबदल र यातायात क्षेत्रमा कुनै खेलोमेलो हुन नदिने दोहोर्याए । मन्त्री जुग्जालीले ट्याक्सी मिटरमा सञ्चालन हुने भन्दै समिति बनाएर सञ्चालन गर्न नहुनेसमेत सुनाए । ‘ट्याक्सी भनेको कन्ट्याक्टमा सञ्चालन हुने हो समिति बनाएर सञ्चालन गर्ने होइन, यो क्षेत्रमा ठुलो चलखेल हुँदा यो (मिटरसिस्टम) पहिले लागु भएन, उनले भने, ‘चलखेलले देशको विकास हुन सकेन, अब यसको अन्त्य भएर जान्छ ।’ उनले पोखरा उपत्यकामा भाद्र १ गतेदेखि ट्याक्सी अनिवार्य मिटरमा सञ्चालनमा आएकाले मिटर नियमित चेकजाँच गर्ने संयन्त्रको निर्माण गर्ने तयारी भइरहेको बताए । उनका अनुसार सार्वजनिक विद्युुतीय सवारी सञ्चालन मापदण्ड २०८० स्विकृत र लागु भएको र २० वर्षे ट्याक्सी विस्थापित गरी विद्युुतीय कार दर्ता गर्ने प्रक्रिया अघि बढेको छ । यातायात व्यवस्था कार्यालय बागलुुङमा ११ वर्षपछि चार पाङ्ग्रे सवारी साधनको लाइसेन्सको प्रयोगतात्मक परिक्षा सञ्चालन गर्न ट्रायल सेन्टर छनौट भई भोलि (मंगलबार) सम्झौता गरिने जुुग्जालीले बताए । बाग्लुुङमा चार पाङ्ग्रेको लाइसेन्स सेवा शुुरु भएपछि पोखरामा सेवाग्राहीको चाप घट्ने यातायात व्यवस्था कार्यालयको अपेक्षा छ । यातायात व्यवस्था कार्यालय कास्की सवारीको अभिलेखलाई डिजिटलाइजेसन गरिसेको छ भने सवारी चालक अनुुमतिपत्रमा अनलाइनबाट लाइसेन्स नवीकरण गर्ने र बिहान ८ बजेदेखि सेवा सञ्चालन भएको छ । यातायात क्षेत्रमा नीतिगत रुपमा सरल र सेवाग्राहीमैत्री बनाउन यातायात सेवा ऐन संसोधन तथा नियमावली र कार्यविधी निर्माणको काम भैरहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशले जनाएको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले पेट्रोलियम पदार्थ (डिजेल) बिल भौचरमा उल्लेख गरे भन्दा बढी ट्या्ङकरमा राखेको आरोपमा चालकसहित दुईजनालाई प्रकाउ गरेको छ । प्रहरीले नेपाल आयल निगम प्रादेशिक कार्यालय डिपोबाट ग २ ख ८३६नम्बरको पेट्रोलियम ट्यांकरमा बिल भौचरमा उल्लेख गरेभन्दा बढी परिणामको डिजेल लोड गरेको अवस्थामा चालक निर्मल थापा र गण्डकी धवलागिरी पेट्रोलियम एसोसियनका प्रतिनिधि जगन्नाथ ढुङ्गानालाई प्रकाउ गरेको हो । पोखरा महानगरपालिका ३० पावरहाउस स्थित नेपाल आयल निगमको प्रादेशिक डिपोबाट ट्याङ्करमा १२ हजार लिटर डिजेल लोड गरेको भनेर बिल भौचरमा उल्लेख गरेपनि ट्याङ्करमा ३ हजार बढी डिजेल भेटिएपछि चालक थापा र पेट्रोलियमका प्रतिनिधि ढुङ्गानालाई प्रकाउ गरिएको जिल्ला प्रहरी प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीले ट्याङ्करमा बिल भौचरभन्दा बढी डिजेल लोड गरेर पोखरा २७ स्थित प्रश्चिमाञ्चल पेट्रोल पम्प लैजादैै गरेको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय कास्की, ईलाका प्रहरी कार्यालय हंशपुर शिशुुवाबाट खटिएको टोलिले उक्त ट्याङ्करलाई डाँडाको नाकमा फेला पारेको थियो । प्रकाउ परेका चालक थापा र पेट्रोलियम एसोसियनका प्रतिनिधि ढुङ्गानालाई जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ल प्रशासन कार्यालय कास्कीबाट सक्कल मिसिल कागजातहरु सहितको निर्देशनमा कसूर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २५२ बमोजिमको कसूरमा ईलाका प्रहरी कार्यालय हंसपुर शिशुवा कास्कीमा मुद्धा दर्ता भएको छ ।
पोखरा: कास्कीको रुपा गाउँपालिका ६ निगालाझाँपामा आज करिब ४ बजे मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मृत्यु हुनेमा लमजुङको दुधपोखरी गाउँपालिका ६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही स्थानकै २४ वर्षीय अशोक गुरुङ रहेका छन् । प्रदेश नम्बर ३ –०२–००९ प ५२०५ नम्बरको मोटरसाइकल रुपातालतर्फ जादैं गर्दा घुम्तीबाट मोटरसाइकल तल्लो सडकमा खस्दा गम्भीर घाइते भएका थिए । त्यसपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सवा ५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: अग्रज फोटोपत्रकार राम गुरुङलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार अर्पण गरिएको छ । विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजित पोखरा फोटोग्राफर संघको ४२ औं साधारण सभामा गुरुङलाई उक्त सम्मान अर्पण गरिएको हो । फोटोग्राफीको क्षेत्रमा विगत लामो समयदेखि योगदान दिदैं आएको भन्दै उनलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँ सहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो । सो अवसरमा बोल्दै पुरस्कृत गुरुङले आगामी दिनमा थप काम गर्न उत्साहित गरेको बताए । उनले फोटोपत्रकार हुनु अघि फोटोग्राफर नै हुनुपर्ने धारणा राख्दै अनुज फोटोग्राफरहरुलाई निरन्तरता दिन आग्रह गरेका थिए । सोही कार्यक्रमकै अवसरमा संघमा आबद्ध सदस्यहरुको १२ पास गरेका छोराछोरीलाई सम्मानसमेत गरेको थियो ।