पोखरा:   पोखरामा सलाईको काँटी पटका बनाउने क्रममा अचानक पड्किदा १७ वर्षीय असिम परियार घाइते भएका छन् ।  पोखरा महानगरपालिका–२१ फुर्सेखोला रोकरे बस्ने परियारले आज आल्मुनियमको पातामा २० ब...

पोखरा:   लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र वडा प्रहरी कार्यालय बैदामले लागूऔषधसहित भारतिय नागरिकलाई प्रकाउ गरेको छ ।  पोखरा महानगरपालिका १८ सेतीस्थित डेरा गरी बस्ने भारतको केरला घर भएका २४ वर्षीय अजिन वर्गीसलाई लागूऔषध (गाँजा)सहित भदौ २७ गते प्रकाउ गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।  भारतिय नागरिक वर्गीसको कोठाबाट ७ सय ५० ग्राम गाँजा, डिजिटल तराजु र एक थान आईफोन मोबाइलसहित प्रकाउ गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।  प्रकाउ परेका वर्गीसलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।   

कास्की:   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्यालयबाट कुनै पनि प्रहरीलाई सादा पोशाक (घुमुवा) कै जिम्मेवारी नदिने भएको छ ।   कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आइपुगेका प्रहरी उपरीक्षक मोहनकुमार थापाले केन्द्रकै निर्देशन अनुसार स्थायी रुपमै घुमुवाको (सिआइडी) जिम्मेवारी नदिने बताए ।    ‘प्रहरी परिचालन कार्य निर्देशनमा पनि व्यवस्था छ । हामीले कुनै पनि कर्मचारीलाई पहिले जस्तो घुमुवा प्रहरीकै जिम्मेवारी तोक्दैनौ, एसपी थापाले सुनगाभा न्यूजसँग भने, ‘तर स्पेसल टास्क र इन्भेष्टिगेसनका लागि भने अनुभवी कर्मचारीलाई जिम्मेवारी दिनेछौं ।’   उनले केन्द्रीय निर्देशन अनुसार पद र सँगठनको दुरुपयोग हुनबाट रोक्नका लागि उक्त कार्यले सघाउ पुग्ने बताए ।  ‘यो कार्यले पद र सँगठनको प्रतिष्ठामा आँच आउनबाट रोक्न सघाउ पुग्नेछ,’ उनले भने ।   उनका अनुसार यसअघि जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, डाडाँकोनाक, वडा प्रहरी कार्यालय बैदाम, वडा प्रहरी कार्यालय बगर र वडा प्रहरी कार्यालय रामबजारबाट गरी करिब २० जना प्रहरी सादा पोशाकमा खटिदै आएका थिए ।    पोखरा महानगरपालिका १ कस्केरीस्थित सेती नदीकिनारमा लागुऔषध कारोबारीलाई पक्राउ गर्न जादाँ सादा पोशाकका प्रहरीलाई देखेपछि नदीमा हाम फालेर सन्तोष तामाङ बेपत्ता भएपछि दुई घुमुवा प्रहरीलाई जिम्मेवारीबाट हटाइएको थियो ।    अब कुनै निश्चित अनुसन्धान र विशेष घटनाको सूचना संकलनका लागि मात्रै आवश्यकतानुसार सादा पोशाकमा प्रहरी कर्मचारी खटिने कास्की प्रहरीले जनाएको छ ।  

पोखरा:    सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९ बाट फोटो पत्रकार उमेश पुन पुरस्कृत हुने भएका छन् । सहारा क्लबले हरेक बर्ष प्रदान गर्दै आएको पुरस्कार यस बर्ष पुनलाई प्रदान गर्ने भएको क्लबले जनाएको छ ।  प्रतिभा छनौट समितिले गरेको सिफारिसको आधारमा भदौं २१ गते क्लबको बैठकले निर्णयलाई अनुमोदन गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए । पुन दशक भन्दा लामो समय देखि पोखरामा रहेर फोटो पत्रकारितामा सक्रिय छन् । पुन हाल नागरिक राष्ट्रिय दैनिक, रिपव्लिका दैनिक, गोल नेपाल डटकममा आबद्ध छन् । पोखरा यूनाइटेड दैनिक, अनलाइन खबर डटकम, सिटि पोखरा डटकम लगायतमा काम गरि सकेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका सदस्य, संसदीय पत्रकार मञ्च गण्डकीका सदस्य, नेपाल फोटो पत्रकार संघ कास्कीका सचिव लगायतका संस्थामा आबद्ध हुनुहुन्छ । सहारा क्लब स्थापनाको २५ औं बर्ष गाँठको अवसरमा क्लबले भदौं ३० गते पुरस्कार पुनलाई अर्पण गर्ने छ । पुरस्कारको २५ हजार ५ सय ५५ नगद र प्रमाणपत्र रहेको छ । कास्की जिल्लालाई कर्मथलो बनाई लामो समयदेखि खेलकुद पत्रकारितामा क्रियाशील रहँदै आउनु भएका एक जना पत्रकारलाई संस्थाले विगतदेखि ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार’ द्वारा सम्मान गर्दै आएको छ । गतबर्ष नारायण शाही सम्मानित भएको थियो भने त्यसै गरी यस अघि दिपक परियार, इन्द्रप्रसाद पौडेल, सन्देश श्रेष्ठ, विजय नेपाल, सुरज श्रेष्ठ, एमबी आस्था, कृष्णमणि बराल, सागरराज तिमिल्सिना, एकराज गिरी, प्रदीप पौडेल, दीननाथ बराल, प्रेमनारायण न्यौपाने, राम गुरुङ, विनोद लामिछाने, धन बस्नेत, कुलचन्द्र न्यौपाने लगायतका पुरस्कृत भइसकेका छन् ।

पोखरा:    तमु धिं नेपाल अन्र्तगत क्रियाशिल पोखरा–२ मिरुवास्थित मिरुवा तमु समाज पोखराको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पोखरा २ मिरुवा क्षेत्रमा बसोबास गर्ने तमुहरुको साझा संस्था मिरुवा तमु समाजको साधारणसभाको प्रमुख अतिथि समाजसेवी पदमसुवा गुरुङले उद्घाटन गर्नुहुदै शुभकामनासहित आशिर्वाद प्रदान गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तमुहरुको सामुहिकता, एकता, अधिकारका लागि तमुहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । मिरुवा तमु समाजको आन्तरिक एकता उदाहरणीय भएको भन्दै तमु समाज भवनहरुलाई ज्ञान, सिप, नैतिकता, अधिकार बुझ्ने सिक्ने केन्द्रका साथै युवा तथा बालबालिकालाई आकर्षित गर्नुपर्ने उहाँको भनाई थियो ।  यसरी नै शुभकामना व्यक्त गर्नुहुदै सफल व्यवसायी प्रेमबहादुर गुरुङले तमुहरुको एकता, दुःख, सुखको आधार, व्यवसायिकतामा अघि बढ्नुपर्नेमा जोड दिनुहुदै प्रतिष्ठित व्यपारी भाट भटेनीका संचालक मिनबहादुर गुरुङ अन्यायमा परेको बताउनुभयो । यसरी नै कार्यक्रममा आमा समितिकी अध्यक्ष हाइसुवा गुरुङ, निवर्तमान अध्यक्ष सुवेदार राजबहादुर गुरुङ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । साधारणसभामा मिरुवा तमु समाजमाको वार्षिक प्रतिवेदन खेमबहादुर गुरुङ, आर्थिक प्रतिवेदन सुशीला गुरुङले प्रस्तुत गर्नुभएको थियो भने साधारण सभाले पारित गरेको थियो । समाजका अध्यक्ष प्रेमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान उपाध्यक्ष डिलबहादुर गुरुङले स्वागत, संचालन खेमबहादुर गुरुङ र सुशीला गुरुङले गर्नुभएको थियो ।   साधारणसभासँगै नजिकिदै गरेको तिजको आगमनको अवसरमा समाजले दिदिबहिनीहरुलाई दरखुवाउने, साँस्कृतिक प्रस्तुति र शुभकामना आदानप्रदान दर खाने कार्यक्रम समेत गरिएको थियो ।

पोखरा:    पोखरा मिजार समाज नेपालको महानगर कमिटि गठन गरिएको छ । मिजार समाज नेपालको २६ औं स्थापना दिवस तथा प्रथम ऐतिहासिक पोखरा महानगर सम्मेलनले सुरेन नेपालीको अध्यक्षतामा २९ सदस्य महानगर कमिटि सर्वसम्मत रुपमा गठन गरेको हो ।  यस्तै उपाध्यक्षमा ओममाया नेपाली, रामबहादुर नेपाली, सचिवमा विनोद नेपाली सह–सचिवमा गोविन्द नेपाली र मञ्जु नेपाली, कोषध्यक्षमा जौमाया नेपाली र सह–कोषाध्यक्षमा चन्द्र बहादुर नेपाली सर्वसम्मत चयन भएका हुन् ।  सदस्यहरुमा झपट बहादुर नेपाली, शोभा नेपाली, शिव नेपाली, रुद्रसिंह बसेल, बासु नेपाली, शंकर नेपाली, सुनकुमारी नेपाली, विजय नेपाली, स्यामबहादुर नेपाली, सुनिल नेपाली, फत्तबहादुर नेपाली, रुपा नेपाली, शान्त नेपाली, राजु नेपाली, कृष्ण ब। नेपाली, सम्झना नेपाली, अमृत नेपाली, सुर्य नेपाली, संगीता नेपाली, सम्मर ब.नेपाली र होम ब.नेपाली रहेका छन् ।   उक्त सम्मेलनको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले समाज परिवर्तनमा मिजार समुदायको पनि महत्वपूर्ण भूमिका रहेको बताइन् ।  उत्पीडित समुदायको हक हितका लागि युद्धमा सहभागी हुँदै आएको समुदायले उत्पीडितको समस्या समाधान गर्न एक हुनु खुसीको कुरा भएको बताइन् । समाज परिवर्तनको पक्षमा लागेको उपलब्धिका कारण अहिले सदनमा दलित मात्रै १३ प्रतिशत रहेको जानकारी दिईन ।  उनले मानव भएरपनि जातीय छुवाछुतको कारण घृणा हुँदै गर्दा मिजार समाज लगायतका समुदायको आन्दोलनकै कारण देशमा परिवर्तन सम्भव भएको उनको भनाइ थियो । उनले अझै पनि बेलाबखत विभेदका घटना घट्ने गरेको र यसका लागि समाज जागरुक भएर अघि बढ्नुपर्नेमा जोड दिइन् । दलित समुदायलाई संविधानले अधिकार सम्पन्न बनाएको र त्यो अधिकारको रक्षा र विकास गर्न आवस्यकता रहेको मन्त्री सिंम्खडाको भनाइ छ ।  मिजार समाज कास्की उपाध्यक्ष उमेश सिकेले आर्थिक, शिक्षाले मिजारहरु कम्जोर रहेको बताए । सोही अवसरमा पुर्व जिल्ला अध्यक्षहरु मंगल नेपाली, रुद्र बहादुर नेपाली, हरिशचन्द्र नेपाली र स्व. बुद्धि बहादुर नेपाली९परिवार० लाई सम्मान गरिएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघले २७ औं वार्षिक साधारणसभाको अवसरमा पोखरा – ८ बगालेटोल निवासी भक्तराज श्रेष्ठलाई सम्मान गरेको छ ।    संघको साधारणसभा र चौधौ अधिवेशनको उद्घाटनसत्रमा ७८ वर्षीय श्रेष्ठलाई नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले चन्द्रलक्ष्मी जेष्ठ नागरिक सम्मान एवं पुरस्कार प्रदान गरे ।    नगद १ लाख १ हजार राशी रहेको पुरस्कारकाे स्थापना संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले गरेका हुन् ।    विशेषतः जेष्ठ नागरिकको हितमा अनवरत लागेका श्रेष्ठ हाल जेष्ठ नागरिक सरोकार समाज नेपाल, कास्कीका अध्यक्ष हुन् ।   त्यस्तै, धार्मिकस्थल रामघाटका प्रमुख संरक्षक र शान्तिघाटको संस्थापक अध्यक्ष रहेका छन् ।    साधारणसभामा सम्मानित व्यक्तित्व श्रेष्ठले उक्त पुरस्कार राशीमा आफ्नोतर्फबाट यथाशक्य थपेर सम्पूर्णं रकम जेष्ठ नागरिक समाजलाई प्रदान गर्ने जनाए । 

पोखरा:   सिटीवान टेलिभिजनले आयोजना गर्न लागेको दोस्रो खुल्ला तीजगीत प्रतियोगिता–२०८० को टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक रहने भएको छ ।   ‘तीजको वेला सिटीवानको साँस्कृतीक मेला’ भन्ने मूल नारासहित सिटिवान टेलिभिजनले आयोजना गर्न लागेको दोश्रो खुल्ला तीज गीत प्रतियोगिता–२०८० को लागी बैँकले प्रायोजन गरेको हो ।   यहि भाद्र ३० र ३१ पोखरा उद्योग वाणिज्य संघमा आयोजना हुने प्रतियोगितामा साँस्कृतिक महत्व, कला, महिला हिसां, पर्यटन प्रर्बदन, सामाजिक क्षेत्र,सरसफाइ, बैदेशिक रोजगार, उधमशिलता, तथा लागु पदार्थ दुब्र्यसनी, विपद व्यवस्थापनसँग सम्बन्धित गीतहरु गाउन पाइने टेलिभीजनकी प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले बताइन ।    प्रतियोगितामा पहिलो दोस्रो तेस्रो हुने समुहलाई क्रमश ५० हजार र प्रमाणपत्र, ३० हजार २० हजार  सान्त्वनालाई नगद १० हजार र प्रमाणपत्र दिइने श्रेष्ठले बताइन् । प्रतियोगितामा उत्कृष्ट भेषभूषा र उत्कृष्ट नृत्यलाई नगद रु ५ हजार र प्रमाणपत्र रहेको छ ।  

पोखरा:   लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा बिनोद श्रेष्ठ निर्वाचित भएका छन् ।    लेखनाथ उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारण सभा तथा १४औं अधिवेशन अन्र्तगत भएको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा श्रेष्ठ निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्धन्दी भरतकुमार अधिकारीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भए ।    विजयी श्रेष्ठले कुल १ हजार ७ सय ११ मतमध्ये ८ सय ८१ मत प्राप्त गरेका थिए भने अधिकारीले ७ सय ८७ मत प्राप्त गरेका थिए । यस्तै वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझाले २ सय ८० को फराकिलो मतान्तरले ऋषिराम जमरकट्टेललाई पराजित गरे । ओझाले ९ सय ७० मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी जमरकट्टेलले ६ सय ९० मत प्राप्त गरेका थिए । प्रथम उपाध्यक्षमा ८ सय ९६ मतका साथ उपेन्द्रराज सुवेदी(राजु) ले १ सय २२ मतले गोपिचन्द्र बाँस्तोलालाई पछि पार्दै विजयी भए । बाँस्तोलाले ७ सय ७४ मत प्राप्त गरेका थिए । संघको द्धित्तीय उपाध्यक्ष पदमा विक्रम कर्माचार्यले ६ मतको झिनो अन्तरले प्रतिष्पर्धी मेनुका श्रेष्ठलाई पराजित गरेका छन् । कर्माचार्यले ८ सय ३७ मत प्राप्त गरेका थिए भने श्रेष्ठले ८ सय ३१ मत प्राप्त गरेकी थिईन् । महासचिव पदमा संघको ईतिहासमै पहिलो पटक महिला पदाधिकारी बनेर ईतिहास रचेकी जानुका अधिकारी पराजुलीले यस पटक पनि पुनः बाजी मारेकी छिन् । १ सय ७७ मतको फराकिलो मतको अन्तरले प्रतिद्धन्दी जिवन तिवारीलाई उनले पछि पारेकी छिन् । पराजुलीले ९ सय २९ मत ल्याउँदा तिवारीले ७ सय मत प्राप्त गरेका थिए । यस्तै उप–महासचिव पदमा भरतराज ओझाले ९ सय १२ मत ल्याउँदै भिम बहादुर सार्की (काईला)लाई १ सय ६० मतको फराकीलो अन्तरले पछि पारेका छन् । काईलाले ७ सय ५२ मत ल्याउँदा ओझाले ९ सय १२ मत ल्याएका थिए । कोषाध्यक्षमा ध्रुव बाबु भट्टराई (आईडि)ले ८ सय ३७ मत ल्याउँदै उनका प्रतिद्धन्दी पुष्पमणी भण्डारीलाई जम्मा २० मतको अन्तरले पराजित गरेका छन् । भण्डारीले ८ सय १७ मत प्राप्त गरेका थिए ।

पोखरा:  नेपाल बीमा प्राधिकरणले पोखरेली पत्रकारसँग बीमासम्बन्धि अन्तरक्रिया तथा छलफल गरेको छ ।   छलफलमा अभिकर्ताहरुले बीमित (बीमा गर्ने व्यक्ति) लाई समयावधि पुगेपछि दोब्बर (डबल) उपलब्ध गराउने भन्दै प्रलोभनमा पार्न नहुने नेपाल बीमा प्राधिकरण गण्डकीका प्रमुख केशव प्रसाद दाहालले बताए ।    अभिकर्ताले बीमितलाई समय पुगेपछि दोब्बर (डबल) रकम पाउने भन्दै प्रलोभनमा पारेर आफ्नो कम्पनीमा बीमा गर्न बाध्य पार्ने अभिकर्तालाई कारवाही गर्ने बताए ।   ‘अभिकर्ताले बीमितको आम्दानीको बारेमा प्रष्ट हुनुपर्छ । समय पुगेपछि डबल पाउनुहुन्छ भन्नै पाउनुहुन्न, उनले भने, ‘त्यसो भनिएको पाइए अभिकर्तालाई कानून बमोजिम कारवाही हुन्छ ।’   उनले कुनै पनि बीमा कम्पनीले दोब्बर रकम उपलब्ध गर्न नसक्ने बताए । ‘हरेक बीमा कम्पनीको आ–आफ्नै नीति हुन्छ । त्यस अन्तरगत नै बीमितले भुक्तान पाउने हो । राज्यलाइ तिर्नुपर्ने कर र कम्पनीको पोलिसी अनुसार भुक्तान हुन्छ । त्यो सबै बीमितले बुझ्न आवश्यक  छ,’ दाहालले भने ।   उनका अनुसार नेपाल बीमा प्राधिकरणमा ३४ वटा बीमा कम्पनी आवद्ध छन् ।   प्राधिकरणले नीजि तथा सरकारी बीमा कम्पनीलाई नियमन गर्ने काम गर्दै आएको बताउदै दाहालले  चित्त नबुझेको खण्डमा बीमितले बीमा कम्पनीविरुद्ध निवेदन दिन सक्ने सुनाए ।    ‘हाम्रो काम भनेको बीमा कम्पनीहरुलाई नियमन गर्ने हो । बीमाबाट पाउनुपर्ने रकम नपाएको खण्डमा तपाइहरुले (बीमित) बीमा कम्पनीको विरुद्धमा निवेदन दिन पाउँनुहुन्छ, दाहालले भने, ‘त्यसको लागि कुनै दस्तुर लाग्दैन । मुद्धा नै लड्न परेको खण्डमा हाम्रै वकिल लड्ने व्यवस्था हुन्छ ।’   उनका अनुसार गण्डकी प्रदेशमा अहिलेसम्म करिब  एक दर्जन निवदेन परेका छन् । त्यसमध्ये कृषि तथा वालीसम्बन्धि निवेदन परेको छन् ।    कार्यक्रममा बोल्दै पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले मानव जीवनमा बीमाको अपरिहार्यता रहेको बताइन् ।   ‘मानव जीवनमा बीमाको अतिआवश्यक देखिएको छ । पछिल्लो समय नागरिककमा बीमा गर्नुपर्छ भन्ने ह्वात्तै लहर बढेर आएको छ । किनभने घरकै बीमा गरेपनि, कृषि वा सवारी साधनकै गरेपनि आखिर जोडिने भनेकै मानव जीवनसँग हो त्यसैले बीमाको महत्व बढेको छ,’ उनले भनिन् ।    अध्यक्ष भण्डारीले कास्कीमा क्रियासिल पक्रकारका लागि महासंघले स्वास्थ्य बीमाको व्यवस्था गरेको बताउदै केही पक्रकारको सम्बन्धित कम्पनीकै कमजोरीका कारण छुट्न पुगेको सुनाइन् ।   उनले छुटेका पत्रकारको पनि स्वास्थ्य बीमा गर्ने तयारी रहेको बताएकी थिइन् ।