पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

पोखरा:    फेवातालमा मृत फेला परेका युवकको दुईदिनसम्म पनि पहिचान हुन सकेको छैन ।  पोखरा ममहानगरपालिका १८ रातोडाँडा तल फेवातालमा मृत फेला परेका युवकको दुईदिनसम्म पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् सूचना अधिकारी श्रवण कुमार विकले जानकारी दिए ।  ‘साउन २७ गते पोखरा १८ रातोडाँडा तल फेवातालमा तैरिरहेको अवस्थामा युवकको शव फेला परेको थियो’, डीएसपी विकले भने, ‘आवश्यक मुजुल्का तयार पारेर शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रष्तिठान पठाएका थियौं, तर शवको पहिचान हुन सकेको छैन् ।’ मृतक युवकको दाहिने हातमा क्रिस्चियन धर्मको जिसस क्राइसको जस्तो देखिने ट्याटु भएको कोही हराएको भए कास्की प्रहरीमा सम्पर्क गर्न समेत आग्रह गर्न प्रहरीले अनुरोध गरेको छ । मृतक युवकको शवलाई अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।    

पोखरा:  पछिल्लो समय विवादित बनेको लखनचोकको विषयमा नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश र तमु धि नेपालले सँयुक्त रुपमा विज्ञप्ति जारी गरेको छ ।   यसअघि पृथ्वीनारायण शाहको सालिक पोखरा महानगरपालिकाले निर्माण गरेको विभुती पार्कमा ससम्मान व्यवास्थापन भइसकेको बताउदै सहिद लखन थापाको विषयमा विवाद नगर्न चेतावनी दिएको हो ।   महासंघ गण्डकीका अध्यक्ष धर्म बहादुर गुरुङ र गुरुङहरुको छाता संगठन तमु धि नेपालका अध्यक्ष हुम बहादुर गुरुङद्वारा हस्ताक्षरित सँयुक्त विज्ञप्तिमा भनिएको छ, ‘आदिवासी जनजाति आन्दोलनको उपलब्धि र भावनामाथि प्रहार भइरहे शसक्त सामुदायिक आन्दोलनमा उत्रने चेतावनी दिन चाहान्छौं’ ।     यस्तो छ सँयुक्त विज्ञप्ति   प्रकृति र सँस्कृतिले सुन्दर शहर पोखरा । परिवर्तनका लागि भएका आन्दोलनले सुन्दर शहर पोखरामा रहेका हिजोका राजा महाराजाहरुका सालिकहरु ढालिए, चोकहरु बेवारिसे जस्तै बने ।   यहि परिवेशमा देश र जनताका लागि नेपालका पहिलो सहिद लखन थापाको सालिक स्थापित गरियो, सामुदायिक सँस्कृतिलाई सम्मानका लागि तमु ह्युल चोक लगायत धेरै चोकहरुमा सालिकहरु निर्माण गरिए । सडक विस्तार र ट्राफिक व्यवस्थापनलाई सहजताका लागि चोकहरुका घेरा साँघुरो बनाउने कार्य पनि भयो ।       यसैबीच पोखरा महानगरपालिकाले सहिद÷विभुतिहरुलाई ससम्मान व्यवस्थित गर्ने भनि पोखरा १८ जामुनबोटस्थित पार्कमा तत्कालिन बडमहाराज पृथ्वीनारायण शाहको सालिक निर्माण गरिसकेको छ ।   लथालिङ्गैको अवस्थामा रहेको पृथ्वी चोकमा प्रथम सहिद लखन थापाको सालिक स्थापित गरी चोकको नामसमेत लखनचोक नामाकरण गरिसकेकोमा केही समय अघिदेखि बारम्बार लखनचोकमा षडयन्त्रमुलक ढंगले समस्या उत्पन्न गराउने गतिविधी भइरहेकोमा हाम्रो ध्यानाकर्षण भएको छ ।   पहिचान र स्वाभिमानी  आन्दोलनबाट स्थापित सालिकहरु स्थानान्तरण गर्ने पोखरा महानगरपालिकाको निर्णयप्रति घोर आपत्ति जनाउदछौं । बरु सालिकहरुलाई यथास्थानमै व्यवस्थित र सुसज्जित गर्न पोखरा महानगरपालिकालाई अनुरोध गर्दछौं ।         नेपाली जनताको लामो बलिदानी आन्दोलनबाट आज हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा छौं । प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै अग्रगतिमा लम्कनुपर्नेमा परिवर्तनको मर्मलाई आत्मसाथ गर्न नसकेको हो कि भन्ने आशंकाहरु उब्जिएका छन् । जनताका प्रतिनिधिहरुले देश र जनताले चाहे अनुसार परिवर्तनको महसुस गराउन नसकेको गुनासोहरु छन् ।   व्यवस्थाहरु फेरिए पनि अवस्था उस्ता उस्तै देखिएको छ । यसैबीच आज विभिन्न रुप धारण गरेर संघीयता, लोकतन्त्र, गणतन्त्रमाथि नियोजित रुपमा प्रहार भइरहेको छ । पोखरामा पटक पटक सालिकको नाउँमा समस्या उत्पन्न गराइरहने, अस्थिरता निम्त्याउदै संघीयता, लोकतन्त्र, गणतन्त्रमाथि औला ठड्याउनेहरु प्रति होशियार रहन आग्रह गर्दछौं ।       अन्त्यमा, तत्कालिन बडामहाराज पृथ्वीनारायण शाहको सालिक विभुति पार्कमा ससम्मान स्थापित भईसकेकाले प्रथम सहिद लखन थापाको सालिक रहेको चोकलाई बारम्बार विवादित नगराउन हुन अनुरोध छ ।   पुनश्चः आदिवासी जनजाति आन्दोलनको उपलब्धि र भावना माथि प्रहार भइरहे शसक्त सामुदायिक आन्दोलनमा उत्रने चेतावनी दिन चाहान्छौं ।    

पोखरा:  राजावादीहरुले पोखरा महानगरपालिका १० स्थित लखनचोकमा मयेर धनराज आचार्य र प्रहरी विरुद्ध नाराबाजी गरेका छन् ।     पूर्वनिर्धारित कार्यक्रम अनुसार उक्त चोकमा पृथ्वीनारायण शाहको मुर्ति पुर्नस्थापना गर्ने अभियानका लागि ब्यानर टाँस्न एक टोली पुगेका थिए ।    लखन थापाको सालिकमुनि ब्यानर टाँस्न खोजेपछि प्रहरीले रोक लागाएको थियो ।   त्यसपनि उक्त टोलीले मेयर धनराज आचार्य र प्रहरीविरुद्ध नारा घन्काए– ‘सालिक चोर्न पाइदैन, धने तेरो पाराले दुख पायो साराले, प्रहरी दमन मुर्दावाद ! प्रहरी हस्तक्षेप मुर्दावाद ! राष्ट्रिय एकता कायम गर, राष्ट्रघातीहरु होसियार, प्रधानमन्त्री तिमि कुन देशको ? मेयर तिमि कुन देशको ? राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको मुर्ति पुर्नस्थापना गर, मुर्तिचोर देश छोड, हाम्राे ठाउँ खाली गर ।     २९ औं विश्व आदिवासी दिवसको अवसरमा लखनको सालिकमुनि राखेको पृथ्वीनारायण शाहको प्रतिमा हटाइएको थियो । त्यसपछि विवाद सुरु भएको थियो ।    सो विवादपछि पोखरा महानगरपालिकाको सर्वदलीय बैठकले पोखरा महानगरभित्र रहेका सालिकहरुलाई सहिद पार्कमा व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।   उक्त निर्णयपछि आज (आइतबार) मात्रै कास्की  कांग्रेसले प्रेस विज्ञप्ती जारी गर्दै उक्त निर्णय मान्य नहुने बताएको छ । कास्की कांग्रेसले कुनैपनि हालतमा बिपी कोइराला, हरि प्रसाद गुरुङ लगायतको सालिक यथास्थानमै राख्ने अडान राखेको छ ।    यस्तै तमु ह्युला चोक (विराैटा) मा रहेको सालिक पनि त्यही राख्नुपर्ने भन्दै तमु धि नेपालले आन्तरिक कसरत थालेको छ ।

पोखरा:  सर्वदलीय बैठकमार्फत पोखरा महानगरभित्र रहेका सडक चोकका मुर्तिहरु सहिद पार्क लाने निर्णयप्रति कास्की कांग्रेसले आपत्ती जनाएको छ ।   विज्ञप्ती जारी गर्दै आज (आइतबार) महानगरपालिकाको ध्यानाकर्षण गराएको हो ।   जारी विज्ञप्तीमा भनिएको छ, ‘पोखरा शहरका मुख्य सडकहरुमा रहेका सालिकहरुको व्यवस्थापन तथा स्थानान्तरण गर्नका लागि सर्वदलीय निर्णय भएको भनी पोखरा महानगर पालिकाबाट मिति २०८०÷४÷२७ मा सार्वजनिक भएको अनुरोधका प्रति नेपाली काँग्रेस कास्कीको ध्यानाकर्षण भएको छ ।       पोखराको शहरी सौन्दर्यीकरण हामी सवैको साझा चासोको विषय हो जसका लागि हामी सबै पोख्रेलीहरु एक ठाउँमा उभिनै पर्छ । पोख्रेलीहरुको साझा चासोको यो विषयलाई राजनीतिक पार्टीहरुको धारणाले मात्रै सम्बोधन गर्न सक्दैन ।   यसैले पोखरालाई सुन्दर शहरको रुपमा विकास गर्नका लागि राजनैतिक पार्टीहरु र नागरिक समाजको साझा अवधारणा आवश्यक पर्ने हुनाले यस विषयमा हतारमा कुनै पनि निर्णय नगर्न नगराउनका लागि नेपाली काँग्रेस कास्की अनुरोध गर्दछ ।’   कास्की कांग्रेसले शालिकको व्यवस्थापन तथा स्थानान्तरण गर्ने भनी पोखरा महानगर पालिकाबाट सार्वजनिक गरिएको उक्त सर्वपक्षीय निर्णयमा नेपाली काँग्रेस कास्कीको कुनै पनि किसिमको संलग्नता नरहेकोसमेत जनाएको छ । 

पोखरा:    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको छ ।  फोनिजको २४ औं स्थापना दिवसका अवसरमा कास्की शाखाले शनिबार पोखरा ३२ लामेआहालमा रहेको राधाकृष्ण वृद्धाश्रमलाई खाना तथा खाजाका लागि खाद्यान्न सहयोग गरेको हो । खानाका लागि चामल र दाल सहित खाजाका लागि बिस्कुट भुजा लगायत खाद्य सामाग्री सहयोग गरेको फोनिज कास्कीका अध्यक्ष दिल गुरुङले जानकारी दिए । उक्त सामान वृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष प्रेम लिगललाई हस्तान्तरण गरिएको उनले बताए ।   सो कार्यक्रममा फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरले विभिन्न कारणले वृद्धाश्रममा बस्न बाध्य वृद्धवृद्धालाई सहयोग गर्नु फोनिज कास्कीको प्रशसंनीय कार्य भएको बताए । ‘हुन त बाबुआमा बुढाबुढी हुँदै गएपछि वृद्धाश्रमसम्म पुग्नु राम्रो काम त होइन्,’ उनले भने, ‘तर, विभिन्न कारण वृद्धाश्रमको शरणमा रहेकाहरुलाई सहयोग गरेर फोनिज कास्की शाखाले प्रशसंनीय काम गरेको छ ।’  फोनिज कास्कीका अध्यक्ष दिल गुरुङले फोनिजको २४ औं स्थापना दिवस देशभर मनाउने क्रममा आफूहरुले वृद्धाश्रममा सहयोग गरेर मनाएको जानकारी दिए । ‘देशभर फोनिजको स्थापना दिवस मनाइएको छ । हामीले पनि केही गर्नुपर्छ भनेर वृद्धाश्रममा सहयोग गर्ने निधो गरियो,’ उनले भने, ‘पोखरा कै आसपासमा रहेको वृद्धाश्रमलाई त धेरैले सहयोग गरेको सुनिन्छ । त्यसैले हामीले धेरैले नसुनेको राधाकृष्ण वृद्धाश्रमलाई रोजेका हौं ।’ फोनिज कास्कीले आगामी दिनमा अझ प्रभावकारी र रचनात्मक कार्य गर्दै जाने उनले बताए ।  वृद्धाश्रममा ६५ वृद्धवद्धा रहेको वृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष प्रेम लिगलले जानकारी दिए । फोनिज कास्की दिएको सहयोगले उनीहरुलाई केही दिनका लागि राहत हुने भन्दै सहयोग गर्ने फोनिज कास्कीलाई उनले धन्यवाद दिए ।  

पोखरा:      नौलो घुम्ती नेपालकोे आयोजना र गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित ६० घण्टे आधारभूत तालिम शनिवार सम्पन्न भएको छ । समापन समारोहमा बोल्दै कार्यक्रमका संयोजक मनकुमार राईले कम्प्युटरको आधारभूत ज्ञान वर्तमानको अनिवार्य आवश्यकता भएकाले संस्थाले परियोजना सञ्चालन गरेको बताए । नौलो घुम्ती नेपालका अध्यक्ष बद्री विनोद प्रतीकले सिकाइमा कहिल्यै पनि पूर्णता नहुने भएकाले तालिमका सिकेका कुरालाई व्यवहारमा अधिकतम लागू गर्न विद्यार्थीलाई सुझाए । परियोजनाका बारेमा बताउँदै कार्यक्रम संयोजक महेश विश्वकर्माले नौलो घुम्ती नेपालले ६-७ वर्ष अघिदेखि अध्ययनका लागि विभिन्न शैक्षिक सामग्री सहयोग पाउँदै आधारभूत कम्प्युटर तालिमसम्म आइपुगेको र भविष्यमा पनि यस्तै कार्यक्रम ल्याउने जानकारी दिए । तालिमका सहजकर्ता गण्डकी हाइटेकका प्रशिक्षक असफल गौतमले विद्यार्थी भाइबहिनीका लागि सिक्नका लागि सधैँ ढोका खुला रहेको बताए । सहभागीका तर्फबाट अपिल अधिकारी र समीक्षा विकले आफूहरूले तालिमबाट धेरै सीप आर्जन गरेको र आगामी दिनमा पनि यस्ता तालिमको निरन्तरताकोसमेत अपेक्षा गरेका थिए ।  

पोखरा:    पोखरा ८ बगालेटोलस्थित श्री सोंपाल तमु समाज पोखराको ३४ औं वार्षिक साधारणसभा एवम पाँचौं अधिवेशन सम्पन्न भएको छ ।  शनिवार सम्पन्न अधिवेशनले दिपककुमार गुृरुङको अध्यक्षतामा २५ सदस्यीय सोपाल तमु समाज, सुनिता गुरुङको अध्यक्षतामा २६ सदस्यीय आमा समुह र प्राण गुरुङको संयोजकत्वमा ८ सदस्यीय युवा समिति गठन गरिएको छ । समाजको प्रथम उपाध्यक्षमा सावित्री गुरुङ, द्धितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, सचिवमा इन्द्रप्रसाद गुरुङ, सहसचिवमा सुर्यमान गुरुङ, कोषाध्यक्षमा क्या.सागर गुरुङ, सहकोषाध्यक्षमा सोमबहादुर गुरुङ र सदस्यहरुमा साधना गुरुङ,कृष्णकुमारी गुरुङ, सुमिता गुरुङ, मञ्जु गुरुङ, रामकाजी गुरुङ, तिलबहादुर गुरुङ, राजु गुरुङ, राजेन्द्र गुरुङ, पञ्चकुमारी गुरुङ, अशोक गुरुङ, कृष्णबहादुर गुरुङ, नरबहादुर गुरुङ, प्राण गुरुङ, विजय गुरुङ, क्षेत्र गुरुङ,जानकी गुरुङ, ओम गुरुङ र मिनप्रसाद गुरुङ रहुनभएको छ । आमा समुहको उपाध्यक्षमा मिना गुरुङ, सचिवमा रिता गुरुङ, कोषाध्यक्षमा चन्द्रवती गुरुङ, सहसचिवमा अनिता गुरुङ, सहकोषाध्यक्षमा देविसरा गुरुङ र सदस्यहरुमा जयन्ती गुरुङ, कृष्णकुमारी गुरुङ, लक्ष्मी गुरुङ, मीना गुरुङ, जलदेवी गुरुङ, तिर्था गुरुङ, तारा गुरुङ, चण्डीकुमारी गुरुङ, जयदेवी गुरुङ, रचना गुरुङ, सरस्वती गुरुङ, अमृता गुरुङ, बृद्ध गुरुङ, निर्मला गुरुङ, जानकी गुरुङ, चिनु गुरुङ, ज्ञानु गुरुङ, किरन गुरुङ, सोनी गुरुङ र बुद्धिसरा गुरुङ रहनुभएको छ । यसरी नै युवा समितिको सहसंयोकमा क्षेत्र गुरुङ, विर्जुन गुरुङ, भुपेन्द्र गुरुङ, सुविन गुरुङ, प्रताप गुरुङ र सुदर्शन गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक मेजर लक्ष्मीप्रसाद गुरुङले जानकारी दिनुभयो। शनिवार अधिवेशन सम्पन्न भएपनि सोपाल समाजको स्थापना दिवस भदौ १६ गतेबाट मात्रै नवनिर्वाचित कार्यसमितिले पदभार सम्हाल्ने गरिनछ । यस अघि वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले श्री सोंपाल तमु समाज पोखरा सबैका लागि उदाहरणीय समाज, अग्रज एवम विशेष व्यक्तित्वहरुको समाज भएको भन्दै प्रसंसा गर्नुभयो । तमु समाजहरुमा युवाको सहभागीता, आकर्षणका विषयलाई विशेष ध्यान दिनुपर्नेमा उहाँको जोड थियो । समाजका संस्थापक अध्यक्ष, पोखराका पुर्व उपमेयर क्या.मानबहादुर गुरुङले साधारणसभामा समाजका सदस्यहरुको अनिवार्य उपस्थिति हुनुपर्दछ भन्दै समाज स्थापना चर्चाका साथै आगामी दिनमा समाजले ध्यान दिनुपर्ने विषयहरु प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा समाजका सचिव इन्द्रप्रसाद गुरुङले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष सावित्री गुरुङले आर्थिक प्रतिवेदन र आमा समुहका कोषाध्यक्ष साधना गुरुङ प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । समाजका अध्यक्ष मोतीप्रसाद गुरुङको अध्यक्षता, प्रथम उपाध्यक्ष दिपककुमार गुरुङले स्वागत र सचिव इन्द्रप्रसाद गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो ।  

पोखरा:   पोखरा महानगरपालिका १८ फेवाताल रातामाटामा एक पुरुषको शव फेला परेको छ ।  फेवाताल रातामाटामा पानीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी बेद जोशीले जानकारी दिए ।  ‘पोखरा १८ फेवाताल राटामाटामा आज पानीमा डुबेको अवस्थामा एक पुरुषको शव भेटिएको छ,अन्दाजी ३५–४० उमेरको पुरुषको शव भेटिएको हो’, डीएसपी जोशीले भने, ‘शवको पहिचान भएको छैन, आवश्यक मुजुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाएका छौं ।’ उनले शवको पहिचान नभएकाले शवसँगै माछा मार्ने सामान र हातमा जिसस क्राइसको ट्याटु भएकाले यो हुलिया भएको मानिस हराएको भए कास्की प्रहरीमा खवर गर्न समेत आग्रह गरेका छन् ।  शवलाई पोष्टमार्टमका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको कास्की प्रहरीले जनाएको छ ।