पोखरा: काठमाडौंका मेयर बालेन्द्र शाहले सुरु गरेको ‘बुक फ्रि फ्राइडे’ अहिले अभियान चर्चामा छ । काठमाडौंमा हरेक शुक्रबार विद्यार्थी किताब नबोकी विद्यँलय जान्छन्, दैनिक जीवनयापनसँग जोडिने सीप सिक्छन् । त्यो अभियान अन्नपूर्ण गाउँपालिकामा पनि चलाउन स्थानीयले माग गरेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका ३ का ध्रुव पौडेलले शुक्रबार आयोजित सार्वजनिक सुनुवाईमा बोल्दै हप्तामा एकदिन जीवनउपयोेगी शिक्षा सिकाउने व्यवस्था गर्न गाउँपालिकासँग माग गरे । ‘काठमाडौंमा शुक्रबार विद्यार्थी किताब निलई विद्यालय जान्छन् । पाठ्यपुस्तकभन्दा बाहिरका कुरा सिक्छन्,’ पौडेलले भने, ‘हाम्रा विद्यालयमा पनि त्यसरी नै एकदिन जीवनउपयोगी शिक्षा सिकाउन पाए राम्रो हुन्थ्यो ।’ जवाफमा गाउँपालिकाले आफूहरु विद्यार्थीलाई खेती सिकाउने योजना रहेको बतायो । जवाफमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख बलराम भुगाइँले आफूहरु पनि हप्तामा एकदिन विद्यार्थीलाई मौसमअनुसारको खेती गर्न सिकाउने योजनामा रहेको सुनाए । ‘हामीकहाँ ५७ वटा विद्यालय छन् । सबैमा सुरुमा नसकिएला, २÷३ वटा विद्यालयका कक्षा ६ देखि ९ सम्मका विद्यार्थीलाई मौसमी खेती सिकाउने योजना छ,’ भुगाइँले भने, ‘असारमा धान लगाउन, त्यसपछि गहुँ, कोदो लगाउन अनि मौसमी तरकारी पनि खेतमै लगेर लगाउन सिकाउँछौं ।’ अन्नपूर्ण–२ का हरिराम भण्डारीले पशुमा लम्पी स्किन रोग देखिएकाले त्यसले भयावह स्थिति लिन नसक्ने गरी योजना ल्याउन गाउँपालिकालाई आग्रह गरे । गाउँपालिकामा मौज्दात औषधि पनि नभएको जानकारी पाएकाले त्यो समस्या समाधान गर्न उनले ध्यानाकर्षण गराए । ‘मान्छेमा कोरोना देखिएजस्तै पशुमा लम्पी स्किन रोग भयावह देखिएको छ । यसमा गाउँपालिकाभरको अनुगमन एकैपटक गर्न नसकिएला । तर, त्यसको जोखिमलाई ध्यानमा राखेर औषधि तयार राख्नप¥यो,’ उनले भने । जवाफमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले आफूहरुले बिहीबार कार्यपालिका बैठकबाटै लम्पी स्किन नियन्त्रणका लागि सबै पहल गर्न सम्बन्धित शाखालाई जिम्मा दिने निर्णय गरेको जानकारी दिए । ‘रोग फैलन नदिन के गर्न सकिन्छ ? के–के औषधि चाहिन्छ, के गर्नुपर्छ सबै गर्न भनेर पशु शाखालाई भनेका छौं,’ उनले सुनाए । अन्नपूर्ण ११ का जमान गुरुङले आफूले चार वर्षअघि स्वास्थ्य चौकी बनाएबापतको पैसा अहिलेसम्म नपाएको बताए । गाउँपालिकाबाट उपभोक्ता समितिलाई पैसा गएको भनिए पनि आफूले त्यो नपाएको उनको भनाइ थियो । ‘पुरै पैसा पाएकै छैन । उपभोक्ता समितिले हामीले हार्डवेयरमा तिर्दियौं भन्छ । त्यहाँ तिर्ने त मेरो काम हो नि,’ ठेकेदार गुरुङले सुनाए । उनले छानबिन गर्न माग गर्दै शुक्रबार नै न्यायिक समितिमा निवेदन दिएका छन् । न्यायिक समिति संयोजकसमेत रहेकी गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले आफूहरुले दुवै पक्षलाई बोलाएर सत्य पत्ता लगाउने बताइन् । बजेट खर्च ७९ प्रतिशत अन्नपूर्णको चालु आर्थिक वर्ष २०७९–०८० को ७३ करोड ३४ लाख रुपैयाँको बजेटमध्ये ५८ करोड खर्च ९ लाख रुपैयाँ अर्थात् ७९.२१ प्रतिशत भएको छ । चालु आर्थिक वर्षको प्रतिवेदन सार्वजनक गर्दै प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले चालुतर्फ विनियोजित ४४ करोड ७३ लाख रुपैयाँमध्ये ३७ करोड ६६ लाख रुपैयाँ अर्थात् ८२.२ प्रतिशत र पुँजीगततर्फ विनियोजित २८ करोड ६० लाख रुपैयाँमध्ये २० करोड ४३ लाख अर्थात् ७१.७२ प्रतिशत खर्च भएको जानकारी दिए । आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि गाउँपालिकाले ५८ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको छ । विगत वर्षको एक करोड ५६ लाख रुपैयाँ बेरुजु चालु आर्थिक वर्षमा लेखापरीक्षण गर्ने क्रममा सम्परीक्षण गरेर फछ्र्यौट गरिएको देवकोटाले बताए । उनकाअनुसार स्वास्थ्यतर्फ गाउँपालिकाले ल्याएको ५० प्रतिशत अनुदानमा बिमा गर्ने कार्यक्रमबाट १ हजार ६७४ जना लाभान्वित भएका छन् । त्यसमध्ये ५६ जना विपन्न परिवारलाई शत प्रतिशत अनुदान उपलब्ध गराइएको छ । चालु आर्थिक वर्षमा १ हजार १७४ जना पशु पालकलाई औषधि वितरण गरिएको र त्यसबाट ४ हजार ३२५ पशु लाभान्वित भएको प्रतिवेदनमा उल्लेख छ । अध्यक्ष भन्छन्: चुनावको १५ दिनअघिसम्म निष्पक्ष पालिका हाँक्नेलाई राजनीतिक आस्था हेरेर बजेट, योजनामा विभेद हुने गरेको आरोप छ । अन्नपूर्णका अध्यक्ष विष्णुबहादुर केसीले आफूले अहिलेसम्म कसैले राजनीतिक आस्थाको हिसाबले निर्णय गरेको भनेर प्रश्न उठ्ने गरी काम नगरेको दाबी गरे । ‘मेरो नेतृत्वकोको टिम आएको एक वर्ष भयो तर आजसम्म राजनीतिक पूर्वाग्रह राखेर निर्णय गरेको छैन,’ शुक्रबारको सार्वजनिक सुनुवाईमा उनले थपे, ‘आफूलाई मन नपर्ने निर्णय भएपछि अनेक भन्नु त मानवीय चरित्र नै हो । तर, कुनै ठाउँमा राजनीतिक आस्थामा रहेर निर्णय गरेको भए त्यो मान्छेले प्रमाणसहित गाउँपालिका आए बल्ल स्वीकार्छु ।’ आर्थिक स्रोतको अभावले पाँच वर्षमा चाहेजस्तो काम गर्न सक्ने अवस्था नभए पनि सुरुआत भने गर्ने उनको भनाइ थियो । अध्यक्ष केसीले बाँकी ४ वर्षको कार्यकालमा पनि निष्पक्ष भएर काम गर्ने बताए । ‘हामी जति बाँडिए पनि चुनावभन्दा १५ दिनअगाडि टिकट पाएपछि हो । फेरि टिकट पाइन्छ–पाइँदैन थाहा छैन । तर, त्यो चुनावसम्म निष्पक्ष भएर काम गर्ने हो,’ उनले भने, ‘कास्कीका पाँच पालिकामध्ये हामी हरेक हिसाबले पहिलो छौं । यसलाई पहिलो बनाइराख्ने चुनौती सम्झेर काम गर्छौं ।’ विपद् व्यवस्थापनका सामान त्रिपाल बाँड्ने विषयमा उठेका प्रश्नमा आफ्नो ध्यानाकर्षण भएको उनले बताए । त्यहाँ प्रक्रियागत त्रुटि रहेको स्वीकार्दै उनले आगामी वर्षदेखि वडाबाट सिफारिस हुँदै कडाइ गर्ने अध्यक्ष केसीले सुनाए । ‘सहयोग भनेको जसले केही गर्न सक्दैन उसलाई दिने हो । तर, यहाँ माग्न आउनेकहाँ हेर्न जाँदा दिनैपर्ने खालको अवस्था हुँदैन,’ उनले थपे, ‘सिफारिस नदिए वडाध्यक्षलाई पनि ठूलो पल्टियो भन्ने हुन्छ । तर, अब अतिविपन्न जो हो त्यो पहिचान गरेर बल्ल दिने व्यवस्था गर्छौं ।’ वडा नम्बर १, २ र ३ मा गाउँपालिकाबाट सामान लिएर घरमा लगेर थन्क्याउने अवस्था आफूहरुले अनुगमन गर्दा देखेको उनको भनाइ थियो ।
पोखरा: लोकतान्त्रिक तमु संघ नेपाल रुपा गाँउपालिकाको प्रथम अधिवेशनले सुवेदार केहरसिंह गुरुङको अध्यक्षतामा २१ सदस्यीय कमिटि निर्वाचित गरेको छ । गाउँपालिकाको अधिवेशनले लोकतान्त्रिक तमु संघ रुपा गाँउपालिको प्रथम अधिवेशनले केहरसिंङ गुरुङको अध्यक्षतामा सर्वसम्मत कमिटि चयन गरेको हो । कमिटिको उपाध्यक्षहरुमा लेखबहादुर गुरुङ र जसबहादुर गुरुङ, सचिवमा खसबहादुर गुरुङ, उपसचिवमा तेज गुरुङ, कोषाध्यक्षमा बेलकुमारी गुरुङ र सदस्यरुमा सुन्दर गुरुङ, बिकास गुरुङ, निर्मला गुरुङ, देवी गुरुङ, हरिमाया गुरुङ, प्रकाश गुरुङ, संजित गुरुङ, खगेन्द्र गुरुङ, रुपकला गुरुङ, नन्दकुमारी गुरुङ, लिलबहादुर गुरुङ, ज्ञानबहादुर गुरुङ, तेजमाया गुरुङ र हिमाल गुरुङ चयन भएका हुन् । नवनिर्वाचित कमिटिलाई लोकतान्त्रिक तमु संघका महासचिव हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष गुरुङले लोकतान्त्रिक तमु संघलाई रुपमा नमुना संघको रुपमा सबै तमुहरुलाई आस्थाको केन्द्र बनाउने प्रतिवद्धता व्यक्त गरे ।
पोखरा: कपडा व्यवसायी एसोसिएसन कास्कीद्वारा आयोजित खुला रक्तदान कार्यक्रममा ५२ युनिट रगत सङ्कलन भएको छ । रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा सहयोगमा आयोजित कार्यक्रममा ५२ जना रक्तदाताहरूले रक्तदान गरेका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापतिले व्यवसायीहरूले व्यापार व्यवसायका साथै उत्कृष्ट सामाजिक कार्यहरू समेत गर्दै आइरहेको बताउनुभयो । कपडा व्यवसायी एसोसिएसन पोखरा उद्योग वाणिज्य सङ्घको उत्कृष्ट वस्तुगत सङ्घका रूपमा स्थापित भैसकेको उल्लेख गर्दै उहाँले यसका गतिविधिहरू स्मरणयोग्य रहेको बताउनुभयो । व्यवसायीहरूको छाता संस्थाका हैसियतले सङ्घ व्यवसायीका तमाम समस्याहरूको समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने कुरामा प्रतिबद्ध रहेको बताउनुभयो । बजारमा उत्पन्न कठिनाइ लगायत राज्यका तर्फबाट हुनु पर्ने नीतिगत सुधार तथा सहजिकरणमा आफूहरू निरन्तर लागि रहेको उहाँले बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका सह–समादेशक प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्की, फ्लोरिङ एन्ड फर्नेसिङ व्यवसायी सङ्घ कास्कीका अध्यक्ष जीवन प्रकाश श्रेष्ठ, थोक व्यवसायी सङ्घका अध्यक्ष टिकाराम सुवेदी, कस्मेटिक व्यवसायी सङ्घका अध्यक्ष दुर्गा बराल, बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका उपाध्यक्ष इन्द्र अर्याल लगायतले व्यवसायीक समस्याहरूको समाधानका लागि एकीकृत प्रयासमा जोड दिनुभयो । एसोसिएसनका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले संस्थाको वार्षिक कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रम गरिएको बताउनुभयो । नियमित कार्यक्रमका रूपमा संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व रक्तदान जीवनदान, जीवनदान महादान भन्ने नाराका साथ उक्त कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
पोखरा: पोखरा महानगरपालिका वडा नम्बर १३ ले निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । वडाध्यक्ष किरण बरालले विहिबारदेखि निशुल्क एम्बुलेन्स सेवा सुरु गरेका हुन् । वडाका सबै विरामी नागरिकले पोखराका जुनसुकै अस्पतालमा पुग्दा पनि एम्बुलेन्सको भाडा तिर्न नपर्ने बरालले बताए । ‘आजपनि सामान्य विरामी हुँदा उपचार गर्ने खर्च नागरिकसँग छैन । अस्पताल पुग्न एम्बुलेन्सलाई तिर्ने भाडा छैन,’ उनले भने, ‘महानगरभित्र बसेर पनि महानगरबासीको महशुस गर्न पाउनुभएको छैन । आज सानो खुसीको खवर तपाईंहरुलाई, पोखरा १३ ले आजैका दिनदेखि निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न लागेको खवर सुनाउन पाउँदा खुसी लागेको छ ।’ यसअघि पनि उनले छात्रबृत्तिदेखि जेष्ठ नगारिक र अपांगता भएकाहरुका लागि विभिन्न कार्यक्रम ल्याएका थिए । एम्बुलेन्स सञ्चालनका लागि वडाले वार्षिक ४ देखि ५ लाख खर्च गर्ने बरालले सुनाए । ‘एम्बुलेन्स निशुल्क चलाउँदा वर्षमा ४ देखि ५ लाख हुने अनुमान छ । त्यो रकम वडाले व्यहोर्छ,’ उनले भने, ‘हामी अन्य सहयोगी पनि खोजिरहेका छौं ।’ एम्बुलेन्स सेवाका लागि विरामी वा आफन्तले खवर गर्नुपर्छ । वडामै भएका स्वास्थ्य संस्थालाई प्रभावकारी र उपकरणयुक्त बनाउने अभियानमा आफु लागेको बरालले सुनाए । ‘वडाकै स्वास्थ्य संस्थालाई पनि कामयावी बनाउने योजना छ । हाम्रा सरकारी स्वास्थ्य संस्थाहरुमा उपकरण, औषधी र डाक्टरको अभाव छ,’ उनी भन्छन्, ‘तैपनि सकेजति सुधार गर्दैछौं । सामान्य उपचार वडामै हुने र रिफर गर्नुपर्दा निशुल्क एम्बुलेन्समा पठाउछौं ।’ महानगरभित्र तुलनात्मक रुपमा विकट वडा भएकोले त्यहाँका नागरिकहरु विरामी हुँदा एम्बुलेन्स वा निजी गाडी रिजर्भ गरेर अस्पताल जानुपर्ने बाध्यतामा छन् । बरालले आफ्नो काममा टिप्पणी गरिदिन पनि आग्रह गरेका छन् । सामाजिक सञ्जाल मार्फत आफुले प्रतिबद्धता जनाए अनुसार काम भए नभएको टिप्पणी गरिदिन आग्रह गरेका हुन् । ‘मैले सँधै आँफुलाई तपाईंको सेवक ठानेको छु । बरु मैले गरेका काम र व्यवहारले तपाईंहरुलाई कस्तो लागिरहेको छ ?,’ उनले भने, ‘सल्लाह र सुझाव पनि दिँदै गर्नुहोला । गलत भएको ठाउँमा खवरदारी गरिदिनुहोला ।’ बरालले केही समयअघि आफु निर्वाचित भएको १ वर्षभित्र गरेका कामहरुबारे सार्वजनिक गरेका थिए ।
पोखरा: पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यमिक विद्यालयमा तीन बर्षे वन विज्ञानको पढाई सञ्चालन गरिएको छ । गण्डकी बहुप्राविधिक शिक्षालयको सहकार्य र सिटिइभिटीको अनुमतिमा गत बर्षदेखि उक्त पढाईका कक्षा सञ्चालन गरिएको हो । पहिलो बर्षमा १६ जना विद्यार्थी र आठ जना शिक्षक शिक्षिक अध्ययन अध्यापन भई रहेको छ । उक्त बिषयमा पढाई सञ्चालन गर्ने जानकी जिल्लामा पहिलो भएको वन विज्ञान संयोजक शंकर भण्डारीले दावी छ । उहाँका अनुसार विद्यालयको नयाँ भवनमा सञ्चालन गरिएको प्रभावकारी र गुणस्तर बनाउनका लागि पोखरा महानगरपालिकाको २२ लाख ५० हजार रुपैयाको आर्थिक सहयोगमा प्रयोगशाला स्थापना गरि सञ्चालन गरिएको छ । तीन बर्षे डिप्लोमा तहको उक्त पढाईको लागि प्रति विद्यार्थीबाट एक लाख २५ हजार शुल्कको व्यवस्था गरिएको बताउँदै उहाँले भन्नुभयो, विद्यार्थीले उक्त रकम मध्ये पहिलो बर्ष ४० प्रतिशत र दोश्रो र तेश्रो बर्षमा ३०। ३० प्रतिशतका दरले शुल्क बुझाउनु पर्ने छ । विद्यालयले लिने प्रवेश परिक्षामा सर्वोत्कृष्ठ अंक ल्याउने एक जना विद्यार्थीलाई वहुप्राविधिक शिक्षालय एवम् पोखरा महानगर, सिटिभिटी र पोखरा १७ वडा कार्यालयबाट पनि छात्रबृत्तिको व्यवस्था भएको उहाँले जानकारी दिनुभयो । वन विज्ञान अध्ययनका लागि विद्यालयले प्रत्येक बर्ष ४० जना विद्यार्थी भर्ना गर्न पाउने अनुमति प्राप्त गरेको छ । वन विज्ञान बिषयलाई गुणस्तरीय र थप प्रभावकारी बनाउनका लागि सोही स्थानको भित्री गाउँमा रहेको खेल मैदानमा सुविधा सम्पन्न पक्कि भवन निर्माण भई रहेको विद्यालयका प्रधानाध्यापक अर्जुन कडेलले जानकारी दिनुभयो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ५० लाखको लागतमा निर्माणाधिन दुई तल्ले चारकोठे उक्त भवनमा वन विज्ञानका दोश्रो र तेश्रो बर्षका कक्षा सञ्चालन गर्ने कार्यक्रम रहेको उहाँको भनाई छ । विद्यालयमा हाल ३५० जना विद्यार्थी अध्ययनरत छन् । सामुदायिक विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तर कायम गर्दै प्राविधिक बिषयको पढाईलाई जोड दिदै आएका छन् । रुचि भएर पनि पाएक पर्ने स्थानमा कक्षा सञ्चालन नहुँदा प्राविधिक शिक्षाबाट बञ्चित विद्यार्थीका लागि सामुदायिक विद्यालयमा बिभिन्न बिषयका प्राविधिक कक्षा सञ्चालन भएपछि विद्यार्थीका लागि वरदान सावित भएको छ ।
पोखरा: पोखरा महानगरपालिकाले हङकङ बजार व्यवसायीहरुले कृषि सामाग्री कम्पनी लिमिटेडलाई सिधा भाडा बुझाउने व्यवस्था मिलाउने प्रतिवद्धता गरेको छ । पोखरा महानगरपालिका, हङकङ बजार व्यवसायी, पोखरामा क्रियाशिल राजनैतिक दल, पोखरा उद्योग वाणिज्य संघ र व्यवसायीहरुको सर्वपक्षिय बैठकले उक्त निर्णय गरेको हङकङ बजार व्यवस्थापन समितिका एक सदस्यले जानकारी दिए । तिनका अनुसार पोखरा महागनरपालिका ९ स्थित रहेको कृषि सामाग्री कम्पनी लिमिटेडको जग्गामा व्यापार गर्दै आएका व्यवसायीहरुले अहिलेको बहाल रकम भन्दा अत्यधिक वृद्धि गरेर टेण्डर आह्वान गर्दा ठेकेदारले मनोमानी रुपमा भाडा उठाउने भन्दै सर्वपक्षिय बैठकले उक्त निर्णय गरेको छ । सर्वपक्षीय बैठकमा कम्पनीले आह्वान गरेको टेण्डर भन्दा बढी कबुल गरी बोलपत्र दाताबाट पस्ताव पेश भएको र सो बमोजित ठेक्का स्वीकृत भए उक्त स्थानबाट ठेकेदारले मनोमानी रुपमा भाडा उठाउँदा व्यवासायी विस्थापित हुने भएकाले ठेक्का प्रक्रिया स्थगन गर्न र कृषि सामाग्री कम्पनीलाई न्यूनतम बहाल रकम व्यवसायी संस्थाले सिधा बुझाउने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरेको हो । पोखरा महागनरपालिका ९ स्थित रहेको कृषि सामाग्री कम्पनी लिमिटेडको जग्गामा एक दशकदेखि व्यापार गर्दै आएका व्यवसायीहरुले कम्पनीले तिर्दै आएको भाडा भन्दा बढी शुल्क राखेर टेण्डर आह्वान भएपछि विगत केही महिना यता आन्दोलन गर्दै आएका थिए । सर्वपक्षिय निर्णय कार्यान्वयन गर्न व्यवसायीहरुको पुन: आन्दोलन पोखरा हङकङ बजार व्यवस्थापन समितिले एक महिना अगाडि सर्वपक्षिय बैठकले गरेको निर्णय कार्यान्वयन गर्न माग गर्दै महानगरपालिकाका अगाडि प्रदर्शन गरेका छन् । पोखरा हङकङ बजार व्यवस्थापन समितिले सर्वपक्षिय बैठकले गरेको निर्णय कार्यान्वयन गर, स्थानीय सरकार कहाँ छौं न्याय माग्दै आएका छौं, ठेकेदारी प्रथा मान्दैनौ लगायतका प्ले कार्ड सहित पोखरा महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । पोखरा हङकङ बजारका व्यवसायी नविन पौडेलले प्रदर्शन पछि कोण सभालाई सम्बोधन गर्दै ठेकेदारी प्रथाका कारण हजारौै युवाहरु रोजगारीका लागि विदेश भासिनु परेको बताए । ‘राज्यले फाइदा मात्र खोजेको छ, फाइदाका लागि साना किसान र व्यापारलाई नहेरी सबै पक्षमा ठेकेदारको मनोमानी छ’, पौडेलले भने, ‘जुनसुकै क्षेत्रमा ठेकेदारीको मनोमानी हुँदा हजारौं युवाहरु विदेश जान बाध्य छन् ।’ उनले कृषि सामाग्री लिमिटेडले टेण्डर प्रक्रिया खारेज गरेर हङकङ बजार व्यवस्थापन समितिले सिधा रुपमा भाडा तिर्ने व्यवस्था मिलाउन समेत आग्रह गरे । व्यवसायीहरुले पोखरा हङकङ बजारमा ठेकेदार आए भाडा नतिर्ने अडान राख्दै आएका छन् ।
पोखराः गत माघदेखि पोखरा महानगरले न्यूरोडमा सुरु गरेको पे–पार्किङ असफल भएपछि पार्किङ सञ्चालकलाई महानगरले क्षतिपुर्ति थमाएको छ । महानगरले अघि सारेको योजना असफल भएपछि क्षतिपुर्ति बुझाएको यो पहिलो पटक हो । महानगरले न्यूरोडस्थित पुरानो पूर्णिमा हलको खाली जग्गामा पे–पार्किङको व्यवस्था गरी धुमधामले शुभारम्भ गरेको थियो । उक्त पार्कि«ङ सञ्चालन गर्ने जिम्मा स्थानीय एक युवाले लिएका थिए । त्यसबखत उनले महानगरको योजनालाई सघाउन तयार रहेको बताएका थिए । सोही अनुरुप उनले फिल्महलको खाली जमिनमा लगानी गरी पार्किङयोग्य पनि बनाए । तर पार्किङ नचलेपछि लगानी डुबेको भन्दै उनले असारको पहिलो साता क्षतिपुर्ति दाबी गर्दै महानगरमा निवेदन दिएका थिए । करिब ४ लाख रुपैयाँ लगानी गरेको बताएका उनले हाल क्षतिपुर्तिवापत महानगरबाट २ लाख ७० हजार रुपैयाँ पाएका छन् । व्यक्तिलाई क्षतिपुर्ति तिरेको विषयमा जानकारी लिन खोज्दा महानगरका प्रवक्ता मोतिलाल तिम्सीनाले यस विषयमा आफुलाई कुनै जानकारी नभएको भन्दै बुझेर खबर गर्ने बताएका छन् ।
पोखराः जिल्ला प्रशासन कार्यालय कास्कीले नागरिकताको प्रमाणपत्र, राहदानी र राष्ट्रिय परिचय पत्र बनाउन विचौलियाले सेवाग्राहीबाट शुल्क लिएको गुनासो आएको भन्दै विचौलियालाई रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले प्रशासनमा सेवाग्राहीको चाप फाईदा उठाउँदै सेवाग्राहीबाट विभिन्न बाहनामा शुल्क लिएको भन्दै गुनासो आएकाले प्रशासनले सूचना प्रकाशित गरेको जानकारी दिए । ‘प्रशासनमा केहीदिन यता नागरिकताको प्रमाणपत्र, राहदानी र राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहीको चाप बढेको छ’, ढकालले भने, ‘प्रशासनान सेवाग्राहीको चापको फाईदा उठाउँदै विचौलियाले विभिन्न बाहानामा सेवाग्राहीबाट शुल्क लिएको गुनासो आएकाले विचौलियालाई प्रशासनमा रोक्न सूचना प्रकाशित गरेका हौं ।’ प्रशासनले कार्यालयमा सेवा लिन आउँदा सेवाग्राहीलाई गलत ढंगले काममा सहजीकरण गरिदिने भन्दै शुल्क मागमा प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीको सम्पर्क मोबाइल नम्बरमा खवर गर्न आग्रह समेत गरेको छ ।
पोखरा: कास्की जिल्लाको मादी गाउँपालिकामा अबिरल वर्षापछिको पहिराले घरमा क्षति पुगेर विस्थापित परिवारलाई राहत प्रदान गरिएको छ । मादीको वडा नं ६ का पाँच र वडा नं २ का एक परिवारमध्ये दुई घर पूर्णरूपमा विस्थापित र अन्य जोखिममा परेका थिए । मादी गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले शनिबार प्रभावित परिवारलाई गाउँमै पुगेर राहत रकम प्रदान गरेका हुन् । पीडित परिवारलाई क्षतिका आधारमा गाउँपालिकाले रु दुई लाख पाँच हजार र जिल्ला प्रशासनले रु एक लाख राहत वितरण गरेको छ । यही असार १९ गतेको अबिरल वर्षाले मादी–६ को काहुँखोला–दूधपोखरी सडकको दोस्रो खण्डमा सजुक भेडीखर्क टोलको भेडीखर्क चोकमा पाँच परिवारको छ घर र गोठ पहिराले क्षति पुर्याएको थियो । पहिरोबाट विस्थापित मादी–६ का कमलापति बराललाई मादी गाउँपालिकाबाट रु ७० हजार र प्रशासनबाट रु २५ हजार राहत रकम प्रदान गरियो । त्यसैगरी दीपक बराललाई गाउँपालिकाबाट रु ५० हजार र प्रशासनबाट रु २० हजार, शम्मेर पाण्डेलाई पालिकाबाट रु ३० हजार र प्रशासनबाट रु १५ हजार, भुवन सिंहलाई पालिकाबाट रु २० हजार र प्रशानबाट रु १५ हजार राहत रकम प्रदान गरिएको छ । पहिरापीडित विष्णुमाया घर्तीका परिवारलाई प्रशासनबाट रु १५ हजार र गाउँपालिकाबाट रु २० हजार र कृष्णप्रसाद देवकोटाका परिवारलाई गाउँपालिकाबाट रु १५ हजार प्रशासनबाट रु १० हजार राहत रकम प्रदान गरिएको मादी गाउँपालिका–६ का वडाध्यक्ष डिलबहादुर क्षेत्रीले जानकारी दिनुभयो । पीडित परिवारलाई प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङ, गण्डकी प्रदेशसभा सदस्य बेदबहादुर गुरुङ, गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङ, जिल्ला प्रशासन कार्यालय कास्कीका अधिकृत दीपक रेग्मीलगायतले राहत वितरण गर्नुभएको हो । पहिराले पूर्णरूपमा घरमा क्षति पुगेका दीपक र शम्शेर पाण्डेको परिवार हाल आफन्त र समाजघरमा आश्रय लिएका छन् । यी दुवै परिवार विस्थापित भएर आफन्त तथा समाजघरमा आश्रय लिएको वडाध्यक्ष क्षेत्रीले बताउनुभयो । अबिरल वर्षा तथा पहिराका कारण मादीका विभिन्न स्थानमा क्षति पुगेको बताइन्छ । विशेषगरी ग्रामीण सडकमा पहिराले क्षति गराएको छ ।