पोखराः जिल्ला प्रहरी कार्यालय कास्कीले गरगहणासहित २७ लाख बढी रकम चोरी गरेको आरोपमा पर्वतकी एक महिलालाई प्रकाउ गरेको छ । वृद्धा महिलाहरुलाई ललाई फकाई पोखराको विभिन्न स्थानबाट गरगहनासहित २७ लाख बढी रकम चोरी गरेको आरोपमा पर्वतको मोदी गाउँपालिका ६ घर भएका ३४ वर्षीय टीका श्रेष्ठलाई प्रहरीले बुधबार पोखरा ४ गणेश टोलबाट प्रकाउ गरेको हो । श्रेष्ठले २७ लाख २ हजार ५८ रुपैया बराबरको गहना चोही गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए । उनका अनुसार श्रेष्ठले पोखरा ११ रानीपौवाका ७८ वर्षीय दुर्गा कुमारीको पाध्यको २ लाख ६१ हजार ५८ रुपैया, पोखरा १३ बस्ने ८३ वर्षीय रिखीमाया सापकोटाको सुनको गहना ३ लाख बराबरको , पोखरा १२ माटेपानीका ७० वर्षीय तिल कुमारी थापाको ८ लाख, पोखरा १२ बस्नै ९० वर्षीय शान्ति माया गुरुङको ३ लाख ५५ हजार २ सय ५० रुपँया चोरी गरेको खुल्न आएको हो । यस्तै पोखरा १५का ५४ वर्षीय सिता माया गिरीको २५ हजार, पोखरा २७ बस्ने ६५ वर्षीय मधुमाया पौडेलको ३ लाख ५७ हजार, पोखरा १० बस्ने ८२ वर्षीय डुमा देवी थापाको ६ लाख ९ हजार सहित २७ लाख २ हजार ५८ रुपैया तथा गहना चोरी गरेको निमित्त प्रवक्ता खड्काले बताए । प्रकाउ परेका श्रेष्ठलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरी अनुुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखराः हालै अष्ट्रेलियामा सम्पन्न टी–२० विश्वकप क्रिकेटमा अनलाइने बेटिङ् व्यापक भएको सूचना पाएपछि चनाखो बनेको नेपाली प्रहरी फुटबल विश्वकप आयोजना भएसँगै सफलता हात पार्ने क्रममा रहेको छ । सोहीक्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले फुटबलमा सट्टेबाजी र अनलाइन जुवा खेलाएको आरोपमा महोत्तरी गाउँपालिका–१ घर भई ललितपुरको सानेपा बस्ने २० वर्षीय आदर्श ठाकुरलाई पक्राउ गरेको छ । कार्यालयका प्रवक्ता एवं एसपी कृष्णप्रसाद कोइरालाका अनुसार ठाकुरको साथबाट २ करोड २ लाख ८४ हजार ४४८ रुपैयाँसमेत बरामद भएको छ । यससँगै ठाकुरसँग रहेको नेपाल टेलिकम र एनसेलका ९४ थान सिमकार्डसमेत प्रहरीले जफत गरेको छ । ठाकुर रसियन बेटिङ एप ‘वानएक्स बेट’ मार्फत सट्टेबाजीमा संलग्न नेपाली एजेन्ट हुन् । अनलाइन माध्यममार्फत ठाकुरले विश्वकपका विभिन्न खेलमा बाजी थाप्नेहरुको रकम संकलन र भुक्तानी गर्दै आएका थिए । ठाकुरले डिजिटल वालेटमार्फत संकलन गर्ने रकम नाबिल, सिद्धार्थ र एनआइसी एसिया बैंकम रहेको आफ्नो खातामा राख्थे। उनले नबिलबाट ६९ लाख ६ हजार ७७०, सिद्धार्थबाट ४५ लाख ५३ हजार ५२३ र एनआइसी एसियाबाट ८८ लाख २४ हजार १५५ गरी जम्मा २ करोड २ लाख ८४ हजार ४४८ रुपैयाँको कारोबार गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । साथै, ठाकुरले डिजिटल वालेट खोल्न विभिन्न व्यक्तिको नेपाली नागरिकता समेत प्रयोग गरी खाता खोलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। कार्यालयले ठाकुरलाई मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाएको छ। ठाकुर पक्राउ पर्नु एक दिनअघि अनलाईन मार्फत सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको थियाे । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका नरदेवी बस्ने भारत राजस्थान प्रदेश चुरू सृजनगढ ठाना घर भएका ३२ वर्षीय पवन कुमार शर्मा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ कपन बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका-४ घर भएका ३७ वर्षीय रूद्र प्रसाद पोखरेल रहेका छन् । हाल धेरथोर पैसा हुने युवा पुस्ता अनलाइन बेटिङ्को लतमा छन् भने धनाढ्य परिवारको केही सदस्य अनलाइन क्यासिनोमा व्यस्त छन् । पोखरामा केही समयअघि क्यासिनो बन्द भएपछि अहिले त्यहाँका नियमितमध्येका केही अनलाइन क्यासिनोमा जुवा खेल्ने गरेको स्रोतमार्फत जानकारी पाइएको छ । यस्ता अनलाइन जुवाडेहरुलाई विदेशी क्यासिनोले नेपालमै एजेन्ट राखेर खेलाइरहेको बताइन्छ । नेपालीलाई देशभित्रका क्यासिनोमा प्रवेश निषेध गरिएको र लुकिछिपी जान अहिले क्यासिनो नै बन्द भएकाले जुवाडेहरुलाई अनलाइन जुवा सबै कोणबाट सुरक्षित मान्ने गरिन्छ ।
बर्दिया: ब्राउनसुगरसहित तीन पक्राउ परेका छन् । बढैयाताल गाउँपालिका २ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम सहित सोही गाउँपालिका १ डाँफे बस्ने १६ वर्षीय किशोर सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बागलुङ: बागलुङको एक होटलमा लगि तीन नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा तीन किशोर पक्राउ परेका छन् । गण्डकी प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरिक्षक शारदा प्रसाद चौधरीका अनुसार पोखरा बस्ने तीन नाबालकलाई बागलुङकै विभिन्न स्थानबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुले गत २४ गते पर्वतको कुष्मा नगरपालिकाका तीन जना नाबालिगलाई बागलुङ नगरपालिका २ स्थित समिटचोकमा रहेको होटलमा लगेर जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुलेको एसएसपी चौधरीले बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङले हिजो ९आइतबार० बेलुकी ५ बजे पक्राउ गरि थप अनुसन्धान अघि बढाइएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।
काठमाडौं: सेतो सर्ट र निलो कोट पाइन्ट, काँधमा आन्तरिक राजश्व कार्यालयको परिचयपत्र । युवा उमेरका केही व्यक्तिहरू जोसका साथ व्यापारिक फर्महरूमा पुग्छन् र कारोबारको विवरण हेर्छन् । कारोबार राम्रै देखिएको र लगत राखिएको स्थानमा पनि कुनै न कुनै कैफियत देखाउँछन् र नगद मै जरिवाना गर्छन् । अनुगमनका क्रममा कैफियत देखिएपछि नगद जरिवाना गर्दै अर्को पटक आउँदा दुरुस्त राख्न पनि भन्छन् र नगद जरिवाना गरिसकेपछि आन्तरिक राजश्व कार्यालय लाजिम्पाट लेखिएको रसिद पनि दिन्छन् । व्यापार व्यवसाय भइरहेको स्थानमा अनुगमनका लागि पुगेपछि व्यवसायीले आफ्नो प्रमाणपत्र र करको विवरण दिने नै भए । कतिपय व्यापारीले व्यापारको लगत नराखेको तथा कतिपयले कारोबार गर्दा कर छली गर्ने उद्देश्यले कारोबार नै लुकाउने गरेको प्रमाण फेला पारेपछि आन्तरिक राजश्व कार्यालयले जरिवाना समेत गर्ने नै भयो । यद्यपि राजश्व कार्यालयले जरिवाना गराउँदा चिठी दिएर यति रकम राजश्वको खातामा जम्मा गर्नु भने पनि नगद नै जरिवाना लिएर रसिद भने दिँदैन । तर यी ‘स्मार्ट कर्मचारी’हरूले भने अनुगमनपछि नगद मै जरिवाना मात्रै गराएनन्, त्यसको रसिद पनि व्यवसायीलाई दिए । अर्को पटक आउँदा सुधार गर्न चेतावनीसमेत दिएपछि उनीहरूलाई पनि जोसिला सरकारी कर्मचारीले राम्रै गरे भन्ने लाग्ने नै भयो । तर एक जिम्मेवार नागरिकले यसको सुइँको पाए । कर कार्यालयले नगद जरिवाना गराउन सक्ने भए पनि कारोबार स्थलबाटै जरिवाना लिएर नगदी रसिद दिने व्यवस्था नभएको बारे उनलाई जानकारी थियो । ती नागरिकलाई शङ्का लागेपछि उनले प्रहरीलाई यसबारे जानकारी गराए । सूचना पाउने बित्तिकै प्रहरी नयाँ बसपार्क क्षेत्रमा उनीहरूको रेकी गर्न थाल्यो । रेकी कै क्रममा ती स्मार्ट राजश्वका कर्मचारीहरू सेतो सर्ट, निलो कोट र पाइन्टमा नयाँ बसपार्क क्षेत्रका विभिन्न होटल तथा रेष्टुरेन्टहरुमा अनुगमनका लागि पुगे । जब प्रहरीले उनीहरूको परिचय पत्र हेरी उनीहरूको विषयमा आन्तरिक राजश्व कार्यालयबाट भेरिफाइ गरे, त्यसपछि पत्ता लाग्यो सेतो सर्ट र निलो कोट पाइन्ट लगाउने ती स्मार्ट व्यक्तिहरू सरकारी कर्मचारी थिएनन् । उनीहरूले काँधमा भिरेको आन्तरिक राजश्व कार्यालय, लाजिम्पाटको परिचय पत्र पनि नक्कली थियो । उनीहरू सरकारी कर्मचारी नभएर ठग थिए । राजश्वको नक्कली कर्मचारी बनेर ठगी गरिरहेको भन्ने सूचना आउने बित्तिकै प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले गत शुक्रबार अपराह्न ४ बजे नयाँ बसपार्कबाट ८ जनालाई नियन्त्रणमा लिएपछि यो ठगी र किर्ते धन्दाको पर्दाफास भएको हो । सो सम्बन्धमा आइतबार जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । प्रहरीका अनुसार ठगी र किर्तेमा संलग्न हुप्सेकोट गाउँपालिका ३ पूर्वी नवलपरासी घर भई हाल बालाजु बस्ने २९ वर्षीया बिन बहादुर बिक, पाँचथरको फिदिम नगरपालिका–१ का २२ वर्षीय सिर्जना भट्टराई, अछामको बान्नीगढी गाउँपालिका ६ घर भएका १९ वर्षीय सागर जंग लुहार, सिन्धुपाल्चोकको साँगागढीचोक नगरपालिका ३ की २३ वर्षीया प्रमिशा तामाङ, अछाम बान्गढी जयगढ गाउँपालिका ६ की २३ की दुधकला बिक, नुवाकोटको बेलकोटगढी नगरपालिका १ की २१ वर्षीया अञ्जना तामाङ, कञ्चनपुरको बेतकोट नगरपालिका ९ का २४ वर्षीय राजीव विष्ट र कञ्चनपुरकै बेतकोट १० का २५ वर्षीय डेबिड धामी पक्राउ परेका छन् । पक्राउ परेकाहरूमध्ये राजीव विष्टको साथबाट आन्तरिक राजश्व कार्यालय लेखेको स्टाम्प दुई थान, अनुगमन अधिकृत लेखिएको स्टाम्प एक थान, हस्ताक्षर भएको स्टाम्प एक थान, आन्तरिक राजस्व कार्यालयको लेटर प्याड तथा ठेलीहरू, राजश्व सम्बन्धी किताबहरू, आन्तरिक राजश्व कार्यालयको परिचयपत्र ७ थान र नगद ८४ हजार ७३० रुपैयाँ बरामद गरिएको छ । त्यसैगरी पक्राउ परेका डेबिड धामीको डेरा कोठाबाट आन्तरिक राजश्व कार्यालय लाजिम्पाट लेखिएको ४९ ठेली रसिद, रोजगारी आवेदन फारमहरू, इम्प्लोइमेण्ट एग्रिमेण्ट फारमहरू, आन्तरिक राजश्व कार्यालय लेखिएको लेटर प्याड, आन्तरिक राजश्व कार्यालय लेखिएको परिचय–पत्र तथा परिचय–पत्र झुण्ड्याउने डोरी, एकथान कम्प्युटर, डि आर एकाउण्ट एण्ड ट्याक्स सोलुसल लेखिएको स्ट्याम्प लगायतका सामाग्रीहरू बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीले जानकारी दिएका छन् । पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२१ को २४९ को ठगी गर्न नहुने कसुर तथा परिच्छेद–२५ को २७६ को किर्ते गर्न नहुने कसुर मुद्दामा प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ठगी र किर्तेमा संलग्न यो गिरोहले ४ दिन अघिदेखि नयाँ बसपार्क क्षेत्रका विभिन्न होटल, लज, रेस्टुरेन्ट तथा फुटपाथ पसलहरूबाट समेत राजश्वको नाममा रकम असुल गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । बरामद भएको नगदी रसिदको प्रतिलिपि तथा मोबाइल पे हरूको अनुसन्धान गर्दा तत्कालका लागि ५ लाख ८ हजार ६४० रुपैयाँ सङ्कलन गरेको पाइएको प्रहरीले जनाएको छ । यो रकम अझै बढ्न सक्ने र पीडितहरूबाट जाहेरी लिने काम काम भइरहेको प्रहरीले जनाएको छ । ठगीको यो गिरोहबाट पीडित बनेका मध्य ४ जनाले जाहेरी दिइसकेको र अन्य व्यक्तिहरूबाट पनि जाहेरी लिने काम भइरहेको प्रहरीले जनाएको छ ।
एजेन्सीः मलेसियाको सेरेम्बानस्थित ओकल्याण्ड कमर्सियल सेन्टर नजिक २ नेपाली सुरक्षागार्ड मारिएका छन् । उनीहरुको अनुहारमा ह्याम्मरले हानेर हत्या गरिएको मलेसियाको स्टार न्यूजले जनाएको छ । उक्त घटना ४ दिन अघिको भएको सेरेम्बान प्रहरी डिपार्टमेन्टले उल्लेख गरेको छ । शवसँगै अर्का एक नेपाली ह्याम्मरसँगै पनि नशामा धुत्त भेटिएका हुनाले नेपाली नै हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मृतक तथा अभियुक्त भनिएका तीनजना नै नेपाली भएको खुलाए पनि प्रहरीले उनीहरुको नाम सार्वजानिक गरेको छैन। प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले मृतककाे उमेर एउटाको ३५ र अर्काको ४६ रहेको उल्लेख गरेको छ। प्रहरीले अभियुक्तलाई दण्ड संहिताको दफा ३०२ अनुसार कार्वाही सुरु गरिएको छ ।
शनिबार राति ब्राजिल र क्यामरुनबीचको खेल चलेपछि १ काे ३ पाउने अनुपातमा क्यामरुनको पक्षबाट बाजी थापेका करन जेड*ले जितेपछि आफुले बाजी थपेको रकमको तीन गुणा पैसा हात पारे । बाजी जितेपछि उनको सर्कलले थाहा नपाउँने कुरै भएन । साथीहरुलाई बिहानको कफी र ब्रेकफास्ट करन जेडले खुवाए । उनका साथीहरु ब्राजिलको स्वभाविक समर्थक भएकाले हारपछि बाजीको रकम गुमाए । उल्लेखित घटना अनलाइन बाजी थाप्नेहरुमध्येको एक प्रतिनिधि उदाहरणमात्र हो । हालै अष्ट्रेलियामा सम्पन्न टि–२० क्रिकेट विश्वकपमा पनि पोखरामा अनलाइन बेटिङ् चलेको थियो । जहाँ इ–वालेटमा रकम जम्मा गरेपछि बेटिङ् साइटमा गएर बाजी लगाउन सकिन्छ । सामान्यतयः कमजोर आँकिएका टिमको पक्षमा बाजी राख्नेलाई लगानीको दुई गुणादेखि बढी रकम दिने अफर राखिन्छ । न्यू मिडियाको व्यापकतासँगै पोखरामा पनि युवापुस्ता बेटिङ्मा दिनरात व्यस्त हुने गरेको पाइएको छ । जुवा वा बाजीको शैलीमा खेल्ने र खेलाइने अनलाइन बेटिङ् आधुनिक समाजभित्र दिनानुदिन झांगिदै गएपनि यसलाई सम्बन्धित निकायले भने नियन्त्रण गर्न असम्भवप्रायः देखिएको छ । अहिले अनलाइन बेटिङ्मा चलेका एप्समध्ये ‘वान एक्स बेट’ सबैभन्दा पपुलर छ । त्यस्तै, ‘बेट ३६५’, ‘पावबेट’, ‘एलभीबेट’लगायत रहेका छन् । जसमध्ये बेट ३६५ क्रिकेट बाजीमा बढी प्रयोग भएको छ भने वान एक्स बेट अनलाइन क्यासिनोमा प्रयोग भएको छ । यस विषयमा प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले निरन्तर खोजबीन र निगरानी गरिरहेको जनाएपनि यसबारे काम गर्ने निकाय केन्द्रीय अनुसन्धान ब्यूरोको रहेको बताउँदै साइबर ब्यूरो यथाशक्य सूचना जुटाएर सहयोग गर्ने भूमिकामा रहेको जनाएको छ । साइबर ब्यूरोका प्रहरी उपरीक्षक पशुपति कुमार रायका अनुसार विशेष सूचनाका आधारमा विशेष अपरेशनबाटमात्रै अनलाइन जुवाको सञ्जालमा पुग्न सकिने बताउँछन् । यस्ता गतिविधिमा संलग्नलाई आर्थिक अपराध ऐनमार्फत कारवाही गरिने रायले जनाए । यता, अनुसन्धान ब्यूरो भने हालै सम्पन्न क्रिकेट विश्वकपबाटै चनाखो रहेको बताउँछ । ‘भर्खरै सकिएको क्रिकेटको विश्वकपमा हामीले केही सफलता हात पा¥यौं’ अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक एवं प्रवक्ता कमल थापा भन्छन् ‘अनलाइन बेटिङ् र जुवा विश्वभर चलिरहेको छ, नेपालमा पनि बढ्दो छ । स्रोत, साधनअनुसार काम गरिरहेका छौं ।’ प्रवक्ता थापाका अनुसार नेपालमा यस्ता एपहरु गैरकानुनी छन् । ब्यूरोले क्रिकेट विश्वकपमा सट्टेबाजीका गिरोहलाई पक्राउ गरी हाल अदालतमा मुद्दा चलाइरहेको छ । तरपनि प्रहरीको नेटवर्कमा कहाँ, कसले जुवा खेल्दैछ भन्ने जानकारी पाउन कठिन हुने थापा स्वीकार्छन् । थापा भन्छन्, ‘पोखरामात्र हैन, राजधानी र देशभर यतिबेला जुवा र राती फुटबलमा बेटिङ् हुन्छ, तर हामीभन्दा प्रविधि अघि छ, ट्रयाकिङ् गर्नु मुख्य चुनौती हो ।’ त्यसो त ब्यूरो चुपचाप भने नबसेको उनको दाबी छ । केही समय लागेपनि ब्यूरो मातहतका टोलीले सम्बन्धित निकायसँग समन्वय गरिरहेको र छिट्टै केही ठूलो समाचार आउन सक्ने थापाले बताए । यता, पोखरामा भइरहेको अनलाइन बेटिङ् र जुवाबारे जिल्ला प्रहरी कार्यालयको बनिबनाउ जवाफ छ । ‘पोखरामा पनि हुन्छ भन्ने सुनेका छौं’ जिप्रका कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्का भन्छन् ‘चुनौति छ तर पनि हामी लागिरहेका छौं, यस्ता गैरकानुनी अनलाइन जुवा रोक्न हाम्रो प्रयास जारी छ ।’ हाल धेरथोर पैसा हुने युवा पुस्ता अनलाइन बेटिङ्को लतमा छन् भने धनाढ्य परिवारको केही सदस्य अनलाइन क्यासिनोमा व्यस्त छन् । पोखरामा केही समयअघि क्यासिनो बन्द भएपछि अहिले त्यहाँका नियमितमध्येका केही अनलाइन क्यासिनोमा जुवा खेल्ने गरेको स्रोतमार्फत जानकारी पाइएको छ । यस्ता अनलाइन जुवाडेहरुलाई विदेशी क्यासिनोले नेपालमै एजेन्ट राखेर खेलाइरहेको बताइन्छ । नेपालीलाई देशभित्रका क्यासिनोमा प्रवेश निषेध गरिएको र लुकिछिपी जान अहिले क्यासिनो नै बन्द भएकाले जुवाडेहरुलाई अनलाइन जुवा सबै कोणबाट सुरक्षित मानिएको छ । यससँगै रेष्टुरेन्टमा ग्राहकहरुले लगाउने बाजी पनि डरलाग्दो भएको पाइएको छ । राजधानीका नाम चलेका लाउञ्जमा फुबटल क्रेजीहरु मौखिकरुपमै बाजी राखेर रात बिताउने गरेका छन् । काठमाण्डौं नैकाप निवासी सुचना प्रविधि इन्जिनियरका अनुसार एकै व्यक्ति मौखिक र अनलाइन दुबै बेटिङ्मा पैसा लगाइरहेका हुन्छन् । उनी भन्छन्, ‘पोखरातिर कस्तो छ, यता (काठमाण्डौमा) भने भर्बल्ली र भर्चुअली दुबैमा जुवा चलिरहेको छ ।’ (* नाम परिवर्तन गरिएको ।)
वीरगञ्ज: नक्कली मतपत्र र स्वस्तिक छापसहित वीरगञ्जबाट दुईजना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नं १६ इनर्वाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका वडा नंं १६ का २३ वर्षीय अमिरी राउत कुर्मी पक्राउ परेका हुन् । बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारमा कलैयाबाट वीरगञ्ज आउँदै गर्दा उनीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको थियो । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट वीरगञ्जका सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्ट र वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा खटिएको टोलीले बिहीबार राति कारमा चेकजाँच गर्ने क्रममा नक्कली मतपत्र र नगद बरामद गरेको थियो । कलैयातर्फबाट आइरहेको कारलाई वीरगञ्ज बसपार्क इलाकामा चेकजाँच गर्ने क्रममा १० हजार थान नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप, ४८ थान स्ट्याम्प प्याड र नगद २ लाख ७२ हजार बरामद भएको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली सुन बैंकमा धितो राखेर विभिन्न बैंकबाट कर्जा निकाली ठगेको आरोपमा अभिषेक सुनारलाई प्रकाउ गरेको छ । पर्वतको कुश्मा नगरपालिका ३ स्थायी घर भएका २५ वर्षीय सुनारलाई पोखरा महानगरपालिका १८ सराङकोटबाट पक्राउ गरेको हो । कास्की प्रहरीका अनुसार सुनारले राष्ट्रिय वाणिज्य बैंक बिरौटाबाट १६ लाख ६० हजार र पृथ्वीचोक बैंकबाट ७ लाख ४५ हजार कर्जा लिएका थिए । कर्जाको व्याज तिर्न लामो समयसम्म नआएपछि सुनारले बैंकमा धितो राखेको सुन चेकजाँच गर्दा नक्कली सुनबाट तयार पारिएको खुल्न आएको थियो । प्रहरीका अनुसार सुनारले धितो राखेको सुन नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीले चेकजाँच गर्दा नक्कली सुनबाट तयार पारेको प्रतिवेदन दिएको थियो । हाल प्रकाउ परेका सुनारलाई अपराधिक विश्वास घात तथा अपराधिक लाभ ( एक्सटर्सन) सम्बन्धि मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।