टिकटक एकाउन्टमा पेस्तोल देखाएर भिडियो बनाएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् ।   कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६ महादेव बस्ने २१ वर्षीय रघुबिन्द यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ...

कास्की:  पोखरा महानगरपालिका ६ लेकसाइडस्थित एनएमबी बैकको एटिएम मेशिन तोडफोड गर्ने १ जनालाई कास्की  प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका १ घर भई हाल पोखरा महानगरपालिका ८ बगालेटोल बस्ने वर्ष २५ वर्षिय मनोज कुमाल रहेका छन् ।   पक्राउ परेका कुमालले आज बिहानै करिब ४ बजे खुकुरी प्रयोग गरी तोडफोड गरी नगद चोरी गर्न प्रयास गरेका थिए ।   सोही सुचनाको आधारमा कास्की प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरीका निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले बताए ।   उनका अनुसार पक्राउ परेका कुमालको साथबाट साढे १२ फिट लामो फलामको खुकुरी बरामद गरिएको छ । ‘हामीले नियन्त्रणमा लिएका छाैं । कुमालले साढे १२ फिटको खुकुरी प्रयोग गरिएको पाइएको छ,इन्सपेक्टर खड्काले भने, 'अहिले कास्की जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्दा दर्ता गरि ७ दिनको म्याद थपी आवश्यक अनुसन्धान गरिरहेका छौं ।’   यसअघि हिजो (सोमबार) मात्रै पोखरा ९ नयाँबजारस्थित कृषि विकास बैंकको एटिएम फोड्न प्रयास गरेका पोखरा महानगरपालिका १६ बस्ने २२ वर्षिय सन्दिप बस्नेतलाई घटनास्थलबाटै पक्राउ गरिएको थियो ।   यसैगरि सोही घटनामै संलग्न रहेका पोखरा १६ बस्ने १९ वर्षिय अनिश रानालाई भाग्ने क्रममा पक्राउ गरिएको थियो ।   उनीहरुलाई पनि  जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्दामा दिन ७ को म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।   

काठमाण्डौं:  नेपाल क्रिकेट संघले राष्ट्रिय टोलीका कप्तानसमेत रहेका सन्दीय लामिछानेलाई निलम्बित गरेको छ ।   प्रेस विज्ञप्ती जारी गर्दै नेपाल क्रिकेट संघले काठमाण्डौं जिल्ला अदालतले पक्राउ पुर्जी जारीगरेको भन्दै निलम्बित गरेको हो ।  क्रिकेटर लामिछाने विरुद्ध जबरजस्ती करणी कसुरमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी परेको थियो ।

  मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१० राप्तीपुल नजिकैबाट आज ७४ किलो ७० ग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–१३ का ३१ वर्षीय प्रकाश तामाङ र पर्साको ठोरी गाउँपालिका–३ बर्मानगरका ३४ वर्षीय चन्द्रकुमारी श्रेष्ठ छन् ।    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश०१–०२५च १९४२ नंको तरकारी बोक्ने गाडीलाई जाँच गर्दा उक्त परिमाणको गाँजा बरामद गरिएको हो । प्रहरीले उनीहरुको साथबाट रु ३१ हजार पनि बरामद गरेको छ ।

कास्की:   पोखरा  महानगरपालिका १४ स्थित छिनडाँडामा श्रीमतीको हत्यापछि आफ्नै पेटमा खुकुुरी प्रहार गरेका लोक बहादुर गुुरुङको अवस्था गम्भीर रहेको छ ।    जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता तथा प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काका अनुसार गुरुङको अवस्था गम्भीर रहेको  हो ।   श्रीमातीको हत्यापछि आफ्नै पेटमा खुकुरी हानेका पतिको अहिले पश्चिमाञ्चल अस्पतालमा उपचार भैरहेको छ, इन्सपेक्टर खड्काले सुनगाभा न्यूजसँग भने, ‘उपचार भइरहेपनि अहिले उहाँको अवस्था चिन्ताजनक भएको बुझिएको छ ।’   इन्सपेक्टर खड्काका अनुसार घरायसी विवादका कारण आज बिहान लोकबहादुुर गुुरुङले आफ्नो श्रीमती विमला गुरूङलाई खुकुरी प्रहार गरि गरेका थिए ।    त्यसपछि आफ्नै पेटमा खुुकुरी प्रहार गरि आत्महत्याको प्रयास गरेका खड्काले बताए । उनका अनुसार घाइते भएका उनको उपचारका लागि पार्कल्याण्ड पुर्याइएपनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो ।   हाल अस्पतालमा उपचरार भइरहेको गुरुङको अवस्था चिन्ताजनक रहेको खड्काले जानकारी दिए ।   सो घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।  

कास्की:   जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय गगनगौँडाको प्रहरी टोलीले लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका १९ लामाचौर बस्ने २२ वर्षिय अजय जिसी, अन्नपूर्ण गाउँपालिका ११ स्थायी घर भई हाल पोखरा १६  दीप बस्ने २९ वर्षिय मिलन गुरुङ, पोखरा १६ दीप बस्ने ४० वर्षिय सन्तोष गुरुङ र गोरखाको भिमसेनथापा गाउँपालिका ३ स्थायी घर भई हाल चितवनको रत्ननगर नगरपालिका १३ माधबपुर बस्ने २५ वर्षिय समिर कोईराला रहेका छन् ।   उनीहरुको साथबाट नुर्फिन १ सय ७०, डाईजापाम १ सय ७०, फेनरागन १ सय ७० गरि कुल ५ सय १० एम्पुल लागुऔषध बरामद गरेको कास्की प्रहरीका निमित्त प्रवक्ता तथा प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काले जानकारी दिए । उनका अनुसार पोखरा ३० स्थित पावरहाउस चोकमा सवारी चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको बसमा लागुऔषध भेटिएको थियो ।   लागुऔषधसहित पक्राउ परेका उनीहरुलाई  लागुऔषध मुद्दामा १० दिन म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीमा गत आर्थिक वर्ष २०७८/०७९ मा साइबर अपराध तथा ठगी कसुरमा ३ सय ८९ वटा मुुद्धा दर्ता भएका छन् ।  कास्की प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार विभिन्न शिर्षकमा गत १ वर्षमा साइबर अपराध अन्तर्गत ३ सय ८९ मुद्धा दर्ता भएका हुन् ।   सो तथ्याङ्क अनुुसार ठगीनेमा पुुरुष भन्दा महिलाको संख्या बढी छ । तिवारीले उक्त मुद्धा अन्र्तगत  २ सय १० जना महिला र १ सय ७९ जना पुरुषले उजुरी दिएको बताए ।    उनले २५ देखि ३५ उमेर समूहका व्यक्तिहरु बढी ठगीमा पर्ने गरेको बताए । ‘भिक्टिमहरु प्राय २५ देखि ३५ वर्ष उमेर समुहको हुनुहुन्छ । यतिमात्रै नभएर टिनयजर्स पनि भिक्टिम छन्, तिवारीले भने, त्यसैले साइबर अपराधको बारेमा बुझ्न र जान्न आवश्यक छ ।’   पछिल्लो समय प्रविधिको विकाससँगै विभिन्न व्यक्तिहरु ठगीमा पर्न थालेका छन् । कास्की प्रहरीले जारी गरेको तथ्याङ्क अनुसार सामाजिक सञ्जालमध्ये सबैभन्दा बढी प्रयोग हुुने फेसबुक हो । कास्की प्रहरीका अनुसार ८४ प्रतिशत नेपालीहरु फेसबुक प्रयोग गर्दै आएका छन्  ।   ‘सामाजिक सञ्जाल’ ठगी गिरोहको अखडा   गत वर्ष कास्की प्रहरीमा दर्ता भएका ३ सय ८९ मुद्धा मध्ये नक्कली फेसबुक अकाउण्ट (फेक) बनाएर ठगी गर्नेहरुको संख्या ९६ रहेको तिवारीले जानकारी दिए ।   उनका अनुसार विभिन्न व्यक्तिहरुको (हाइ तथा लो प्राफाइल भएका व्यक्तिहरुको) फेसबुक अकाउण्ट ह्याक गरेर ठगी गर्नेको संख्या १ सय २६ रहेको छ ।    यसैगरि  ह्वाट्सएप, फेसबुक म्यासेन्जर, भाइबर, इमोजस्ता सामाजिक सञ्जालमा विभिन्न अवसरमा चिठ्ठा तथा उपहार परेको भन्दै ठगी गर्ने १ सय २९ जना विरुद्ध ठगी मुुद्धा दर्ता भएको थियो ।  भने नग्न तस्बिरको प्रयोग गरेर व्ल्याकमेल तथा स्क्याण्डल गर्ने र विभिन्न व्यक्तिलाई गाली बेइज्जत गर्ने सम्बन्धी ३८ वटा मुुद्धा दर्ता भएको थियो ।    ठगिन्छन् १५ देखि ५५ उमेर समूह   उमेर समूहको आधारमा १५ वर्षदेखि ५५ उमेर समूहका नागरिकहरु विभिन्न माध्यमबाट ठगीमा पर्ने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीको तथ्याङ्कले देखाएको छ ।    उमेरसमुुहको आधारमा कास्की प्रहरीमा दर्ता भएका मुद्धा अन्तर्गत १५ उमेर समूहका ८ वटा, १५ देखि २५ उमेर समूहका १ सय ३० वटा, २५ देखि ३५ उमेर समूहका १ सय ४०, ३५ देखि ४५ उमेर समूहका ८५ वटा , ४५ देखि ५५ उमेर समूहका २७  र ५५ भन्दामाथि उमेर समूहका विरुद्ध ५ वटा मुुद्धा दर्ता भएको डिएसपी तिवारीले जानकारी दिए ।    उमेर समूहको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले तयार गरेको तथ्याङ्कको आधारमा ठगीमा पर्ने समूहमा महिलाको संख्या बढी रहेको पाइएको छ ।    कास्की प्रहरीको ‘एक्सन र सिक्स मिसन’   जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न ६ आपराधिक क्रियाकलापलाई आफ्नो मिसन बनाएको छ ।    शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने कर्तव्यसँगै कास्की प्रहरीले लागुऔषध ओसारपोसार, साइबर अपराध, बैँकिङ कसुुर, सवारी दुुर्घटना, आत्महत्या र महिला तथा बालबालिका विरुद्धका अपराधलाई मिसन बनाएको कास्की प्रहरी प्रवक्ता तिवारीले बताए । ‘शान्ति सुव्यवस्था र अमनचयन गर्ने हाम्रो नियमित कर्तव्य नै हो, उनले भने, ‘त्योसँगै मिसनका रुपमा पहिलो प्राथमिकतामा ६ वटा क्षेत्र तय गरेका छौं । हाम्रो एक्सन सिक्स मिसनमा केन्द्रीत रहेको छ । ’   उनले यी ६ क्षेत्रलाई प्राथमिकतामा राखेर प्रहरी परिचालन गरेको बताउदै सचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको बताए ।    जिल्ला प्रहरी कार्यालय कास्कीले अपराधिक गतिविधिलाई नियन्त्रण गर्न समुदाय प्रहरी साझेदारी अन्र्तगत कास्कीको विभिन्न विद्यालय तथा समुदायमा सचेतनामुलुुक कार्यक्रम समेत सञ्चालन गर्दे आएको छ ।    डिएसपी तिवारी भन्छन्– ‘सोसल साइटमा प्राइभेट डेटा पब्लिक नगरौं’   पछिल्लो समय साइबर अपराध बारे सचेतनामुलक कार्यक्रममा व्यस्त रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले समाजिक सञ्जालमा व्यक्तिगत जानकारी (प्राइभेट डेटा) सार्वजनिक नगर्न आग्रह गरेका छन् ।    निजी विवरण सामाजिक सञ्जालमा सार्वजनिक गर्दा आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई सघाउ पुग्ने भन्दै सार्वजनिक गर्न नहुने स्पष्ट पारे ।   डिएसपी तिवारीले प्रविधिको विकाससँगै आपराधिक क्रियाकलाप मौलाएको बताउदै नागरिक सचेत हुनुपर्ने बताए । ‘साइबर अपराध जटिल समस्या बनेको छ । तर नागरिक भने सचेत हुनैपर्छ, उनले भने, ‘अपरिचित व्यक्तिले तपाइको आधिकारिक कागजपत्र, फोटो वा कुनै सोसल साइटको ओटिपी (वान टाइम पासवर्ड) माग्छ भने डबल भेरिफिकेसन गर्नुपर्छ ।’   उनले नागरिकहरु प्रलोभनमा परेर ठगीमा पर्ने गरेको उनले बताए ।  ‘ठगी गर्ने गिरोहका लागि विभिन्न सामाजिक सञ्जालहरु छन् । ह्वाट्सएप, फेसबुक म्यासेन्जर, भाइबर, इमो आदि । यस्ता एपको प्रयोग गर्दै ठगी गिरोहहरु मौका खोज्छन्, उनले भने, ‘कहिले २५ लाखको छिठ्ठा पर्याे भन्छन्, कसैले गिफ्ट पठाउने बहाना बनाउछन्, उनले भने, ‘त्यस्तो प्रलोभनमा परेर व्यक्तिगत जानकारी दिइहाल्नु हुदैन । टु वे भेरिफिकेसन गर्नुपर्छ ।’   डिएसपी तिवारीले सबै एपमा एउटै पासवर्ड प्रयोग गर्न नहुने बताए । ‘नेपालीहरु बिर्सिन्छ भनेर प्राय सबै एपमा एउटै पासवर्ड प्रयोग गरेको पाइन्छ । त्यो एकदमै गलत हो, उनले भने, ‘यतीमात्र नभएर सोसल साइटमा प्राइभेट डेटा राखेको पाइन्छ त्यस्तो सबै पब्लिक गर्नुहुदैन । सुरक्षाको दृष्टिकोणबाट हेर्दा आपराधिक क्रियाकलाप गर्नेलाई सहज हुन्छ ।’  

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका २६ स्थित अर्घौंचोकमा रहेको एनएमबी बैंकको एटिएम फोडेर पैसा चोर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।     गण्डकी प्रदेश प्रहरी र कास्की प्रहरीको संयूक्त टोलीले नवलपुर देवचुली नगरपालिका ५ घर भइ हाल पोखरा महागनर ३० बस्ने २१ वर्षिय अनिश तामाङलाई लेखनाथबाट पक्राउ गरि आज सार्वजनिक गरेको हो ।   कास्की प्रहरीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अजय केसीका अनुसार पक्राउ परेका तामाङले गत साउन २ गते एटिमए फोडेर १४ लाख ७१ हजार ५ सय रुपैयाँ  लुटेका थिए ।    उनले एनएमबी बैंको एटिएम फोडेर पैसा लुटेपछि तालचोकमा रहेको एनआइसी एशिया बैंकको एटिएममा समेत अटेम्प्ट गरेका थिए ।    उनले पक्राउ परेका तामाङलाई ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको बताए । एसपी केसीका अनुसार गत कात्तिकदेखि हालसम्म कास्कीमा ८ वटा एटिएम फोड्ने प्रयास भएको छ ।          

पोखरा:   कास्कीको माछापुुच्छ्रे गाउँपालिका ६ धितालस्थित भूमेश्वर माध्यमिक विद्यालयको होस्टेलको यौन प्रकरणमा संलग्न किशोरलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।    कास्की प्रहरीको एक अधिकृतका अनुसार नियन्त्रणमा रहेका किशोरलाई जबरजस्ती करणी कसुरमा मुद्धा दर्ता गरिएको छ ।     किशोरीको अभिभावकको जाहेरीको आधारमा किशोरलाई नियन्त्रणमा लिइएको हो ? भन्ने प्रश्नमा ति प्रहरी अधिकृतले भने, ‘जजकमा मुद्धा दर्ता भाछ । अहिले म्याद थप भएको छ । सबै कुरा भन्न मिल्दैन ।’   गर्भवती बनेकी किशोरीलाई भने मनोपरामर्शका लागि शक्ति समुहमा राखिएको स्रोतले बताएको छ ।   सहमति विना खुल्यो ताला   विद्यालयको होस्टेलमै विद्यार्थीबीच अनैतिक शारीरिक सम्बन्ध राखेको घटना बाहिर आएपछि अभिभावकले लगाएको ताला सहमति विना नै खोलिएको छ ।    अहिले विद्यालयमा परिक्षा सञ्चालन भइरहेको बताउदै ताला खोलिएको माछापुच्छ्रे गाउँपालिका ६ का वडाध्यक्ष टेकनाथ गौतमले बताए । ‘बिहिबारदेखि विद्यालयमा परीक्षा सञ्चालन भइरहेको छ, उनले भने ‘यो विषयलाई परीक्षा सम्पन्न भएपछि पुन: छलफल गर्ने भनेपछि अहिले विद्यालयमा लगाइएको ताला खोलिएको हो । तर त्यो घटनाबारे टुंगो भने लागेको छैन ।’   एसइई दिनको लागि होस्टेलमै रहेका किशोर र किशोरीबीच अनैतिक शारीरिक सम्बन्धबाट किशोरी गर्भवती भएको खुलेपछि अभिभावकले तालाबन्दी गरेका थिए ।   स्रोतका अनुसार विद्यालय व्यवस्थापन समिति तथा विद्यालय प्रशासनको कमजोरीका कारण घटना भएको भन्दै अभिभावकहरुले व्यवस्थापन समितिका अध्यक्ष रुद्र बहादुर पौडेल र प्रध्यानाध्यापक बुद्धिबहादुर मिजारको राजिनामाको मागेका थिए । अहिले परिक्षाका कारण विद्यालय सञ्चालन भएपछि परीक्षा सकिएलगत्तै वार्ता बस्नेछ ।   घटना लुकाउन प्रयास   किशोरी गर्भवती भएको घटना बाहिरिन नदिन विद्यालयका प्रधानााध्यापक, व्यवस्थापन समितिका अध्यक्ष र  जनप्रतिनिधिहरुले गुपचुप गराउन लागेको स्रोतले बतायो ।   तर उक्त मिलेमतोमा आफ्नो सहभागिता नरहेको वडा ६ का वडाध्यक्ष टेकनाथ गौतमले बताए । ‘मैल घटना मिलाउन कुुनै पनि पक्षलाई दबाब दिएको छैन । यो विषयमा मेरो केही पनि कुराकानी भएको छैन, उनले सुनगाभा न्यूजसँग भने,  ‘हाम्रो वडा सदस्यको भाईको छोरी भएकाले उहाँहरु पारिवारिक छलफलमा बस्नुभयो होला यसलाई कुनै वडाको समन्वयमा दबाब दिन बसेको भन्न मिल्दैन ।’   विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको कमजोरीका कारण होस्टेलमै विद्यार्थीबीच अनैतिक सम्बन्ध भएकोे भन्दै चौतर्फी आलोचना भइरहेको छ ।    अस्पताल​ पुगेपछि गर्भवती पुष्टि   स्रोतका अनुसार घटनामा संलग्न किशोर दलित समुदायका हुन् भने किशोरी क्षेत्री समुदायकी हुन् ।   एसइई तयारीको लागि धिताल स्थित भूमेश्वर माविले सञ्चालन गरेको छात्राबासमा कुल १३ जना विद्यार्थी थिए । अहिले उनीहरु एसइई सकिएपछि ११ कक्षा भर्ना प्रक्रियामा थिए ।    घटना होस्टेलमै रहेको समयमा भए नभएको नखुलेपछि अभिभावकहरुले विद्यालय प्रशासनसँग वार्ताको माध्यमबाट क्रममा जवाफ खोजिरहेका छन् । एसइई सकिएपछि उक्त किशोरी समयसमयमा बिरामी भइरहिन् ।    पेट दुखेर अस्पताल लगिएको उनको चेकजाँज गर्ने क्रममा गर्भवती भएको खुलेको स्रोतले बतायो । ‘नानी पेट दुखेर बिरामी भएको भनेपछि अस्पताल लगेछन्, स्रोतले भन्यो, ‘त्यसपछि पेट पनि बाहिर निस्केकै कारण संका रहेछ । त्यसपछि यो घटना बाहिर आएको हो ।’

पोखरा:   माछापुच्छ्रे गाउँपालिका ६ धितालस्थित भूमेश्वर माध्यमिक विद्यालयमा अभिभावकले तालाबन्दी गरेका छन् ।   स्रोतका अनुसार छात्राबास (होस्टेल) मै विद्यार्थीबीच अनैतिक शारीरिक सम्बन्ध भएको थाहापाएपछि अभिभावकले हिजो (आइतबार)देखि विद्यालयमा तालाबन्दी गरेको हुन् ।  ‘एसइई दिने समयमा होस्टेलमा रहदाँ ४ महिनाअघि किशोर र किशोरीबीच अनैतिक सम्बन्ध भएको रहेछ, स्रोतले सुनगाभा न्यूजसँग भन्यो, ‘अहिले अभिभावाकले थाहापाएपछि तालाबन्दी गरेका हुन् ।’   स्रोतका अनुसार उक्त घटनामा संलग्न किशोर दलित समुदायका हुन् भने किशोरी क्षेत्री समुदायकी हुन् ।   र किशोरी गर्भवती भएको थाहा भयो...   एसइई तयारीको लागि उक्त विद्यालयको छात्राबासमा कुल १३ जना विद्यार्थी थिए । अहिले उनीहरु एसइई सकिएपछि ११ कक्षा भर्ना प्रक्रियामा थिए ।    स्रोतका अनुसार घटना होस्टेलमै रहेको समयमा भए नभएको नखुलेपछि अभिभावकहरुले विद्यालय प्रशासनसँग वार्ताको क्रममा जवाफ खोजिरहेका छन् । एसइई सकिएपछि उक्त किशोरी समयसमयमा बिरामी भइरहिन् ।   पेट दुखेर अस्पताल लगिएको उनको चेकजाँज गर्ने क्रममा गर्भवती भएको खुलेको स्रोतले बतायो । ‘नानी पेट दुखेर बिरामी भएको भनेपछि अस्पताल लगेछन्, स्रोतले भन्यो, ‘त्यसपछि पेट पनि बाहिर निस्केकै कारण संका रहेछ । त्यसपछि याे घटना बाहिर आएको हो ।’   स्रोतका अनुसार अहिले अहिले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र बहादुर पौडेल, प्रध्यानाध्यापक बुद्धिबहादुर मिजार, वटा ६ का जनप्रतिनिधिहरु तथा अभिभावकलगायतको टोलीले वार्ता गरिरहेको छ ।   वार्ताको क्रममा अभिभावकहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र बहादुर पौडेल, प्रध्यानाध्यापक बुद्धिबहादुर मिजारको राजिनामा माग गरेको बताइएको छ ।    अभिभावकले विद्यालयमा तालाबन्दी गरेपछि उक्त घटना बाहिरिएको हो । तालाबन्दीपश्चात अहिले पठनपाठन ठप्प भएको छ ।      यता जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता तथा डिएपसी सुन्दर तिवारीले सो घटनाबारे बेखबर रहेको बताए । ‘त्यो घटनाबारे हामीलाई केही थाहा छैन, उनले भने, ‘अहिलेसम्म कुनै निवेदन र खबर आएको छैन । बुझ्दै छौं ।’ सो विषयमा बुझ्न विद्यालयका प्रध्यानाध्यापक बुद्धि बहादुर मिजारलाई टेलिफोन सम्पर्क गर्दा फोन उठ्न सकेन ।