काठमाडौं:  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा। शम्भुप्रसाद ढकालले...

काठमाडौं:    तमु धीं यूकेको अध्यक्षमा जुमकाजी गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।  तमु धिं भवन मिचेटमा शनिबार सम्पन्न २४औँ वार्षिक साधारणसभा तथा १३औँ महाधिवेशनबाट अध्यक्षमा जुमकाजी गुरुङ र आमा समूहको अध्यक्षमा कमलादेवी गुरुङ निर्विरोध चयन हुनुभएको हो ।       अध्यक्षलगायतमा एकल उम्मेदवारी परेकाले उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन मण्डलका संयोजक एकेन्द्र गुरुङले जानकारी दिनुभयो । जुमकाजीसहित २९ जना निर्विरोध निर्वाचित भएका हुन् ।  समितिको उपाध्यक्षमा परशु गुरुङ, कमल गुरुङ, दिलमाया गुरुङ, तथा महासचिवमा डा विशाल गुरुङ चयन हुनुभएको छ ।       त्यसैगरी कमलादेवीको नेतृत्वमा २८ सदस्यीय आमा समूह निर्वाचित भएको छ । नवनिर्वाचित कार्यसमितिले शनिबार नै पद तथा गोपनीयताको शपथ लिएको छ । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने व्यवस्था छ । यो समूहले यही २८ डिसेम्बरबाट औपचारिक रुपमा जिम्मेवारी लिनेछ । 

ललितपुर:    ललितपुरको सानेपास्थित वाग्मती करिडोरअन्तर्गत कालोपुलमा सवारी प्रयोगकर्तालाई सचेत गराउन एक सूचना टाँस गरिएको छ ।  सूचनाको व्यहोरा यसप्रकार छ– ‘यो पुलमुनि बर्सातको समयमा पानी जम्ने भएकाले वैकल्पिक बाटो प्रयोग गरी सुरक्षित यात्रा गर्नुहुन अनुरोध छ ।’        काठमाडौँ उपत्यकामा अत्यधिक ट्राफिक जामको समस्या झेलिरहेका यात्रुहरुलाई वाग्मती करिडोरले ठूलो राहत त दिएको छ । तर कुपण्डोल–सानेपा खण्डअन्तर्गत कालोपुलमुनि वाग्मती नदीको देब्रेपट्टिको लेनमा वर्खादेखि नै पानी जम्ने समस्याले सवारी आवागमनमा समस्या थपेको छ ।        पुलमुनिको एकतर्फी सडकमा हिँउद–बर्खे पानी जमेपछि सवारी चालक र पैदलयात्रीले सास्ती व्यहोर्दै आइरहेका छन् । बर्खाका बेला जमेको पानी अझै हटेको छैन । दुईतर्फी सडकको एकातर्फ पोखरी जमेको छ । उक्त सडक हुँदै ओहोरदोहोर गर्ने सवारी सधान एकै लेनबाट ‘पास’ हुने गरेका छन् ।        पुलमुनि जमेको पानीलाई नालीमा पठाउन ‘लेबल’ नमिलेका कारण हालसम्म पानी जमिरहेको ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकार बताउनुहुन्छ ।  उहाँले भन्नुभयो, “बागमती कारिडोरको स्तरोन्नति र वाग्मती सभ्यता संरक्षणको जिम्मा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको हो तर समितिले समस्याको समाधान गर्न कुनै पहल गरेको छैन ।”        कालोपुलमुनिको एकतर्फी सडकमा पानी जमेको कारण जहिल्यै जामको समस्या झेल्नु परेको मोटरसाइकल चालक रत्नकुमार श्रेष्ठ सुनाउनुहुन्छ ।  उहाँ भन्नुहुन्छ, “वर्षौंदेखि बागमती करिडोरको बल्खु पुल र सानेपाको कालो पुलमुनि पानी जम्ने समस्या देखिँदै आएको छ, तर जिम्मेवारी निकायले ध्यान नदिँदा सवारी चालक र पैदलयात्रीले झन्झट व्यहोर्नु परिरहेको छ ।”

काठमाडौं:   काठमाडौँ महानगरपालिकाले पूर्व मेयर पिएल सिंहको निधनमा आज शोक बिदा दिएको  छ ।  उहाँको ८७ वर्षका उमेरमा उपचारका क्रममा आज विहान निधन भएको थियो ।  कामपाको सहायक प्रवक्ता धुव्रकुमार काफ्लेले पूर्व मेयर सिंहको निधनमा  कामपाको केन्द्रीय कार्यालय र मातहतको सबै वडा कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गरी शोक बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो ।     २०५२ साल मङ्सिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो ।    

दाङ:    दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउखोला बक्सकटिङ नजिकै आज बिहान लु१ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृत्यु हुनुेमा सिवराज नगरपालिका–३ का ४२ वर्षीया प्रिथी थारु र सोही ठाउँका ६० वर्षीया फुलसी थारु रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभयो ।   कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै गरेको गाडी आज बिहान दुर्घटनामा परेको थियो । प्रहरी नायब उपरीक्षक थापाका अनुसार दुर्घटनामा घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ ।  प्रहरीका अनुसार गाडीमा १४ जना सवार रहेका थिए । तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुनसक्ने प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले गत मंसिर महिनामा ५१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।  जिल्ला अदालत कास्कीबाट विभिन्न मुद्धामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ५१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए ।  ‘कास्की प्रहरीले गत मंसिर १ देखि ३० गतेसम्म जिल्ला अदालत कास्कीबाट विभिन्न मुद्धामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ५१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको हो’, सूचना अधिकारी शर्माले भने, ‘ फैसला कार्यान्वयन गर्नका लागि प्रतिवादीहरुलाई अदालतमा बुझाएका छौं, प्रतिवादीहरुलाई ८ वर्ष ९ महिना ४ दिन कैद सजाय र ६१ लाख २३ हजार ६ सय रुपैयाँ जरिवाना असुल गर्न बाँकी छ ।’ उनका अनुसार चेक अनादार मुद्धामा ३३ जना, बैंकिङ कसुर मुद्धामा ६ जना, लागूऔषध सम्बन्धी मुद्धामा ३ जना, चोरी सम्बन्धी मुद्धा, बैंकिङ कसुर मुद्धा, लेनदेन बिगो मुद्धामा २÷२ जना, बालबालिका विरुद्धको कसूर, बाल यौन दुरुपयोग मुद्धा र सवारी ज्यान सम्बन्धी मुद्धामा १÷१ जना रहेका छन् ।   

काठमाडौं:   नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् ।   प्रेस चौतारी र प्रेस युनियनको संयुक्त प्यानलकी उम्मदेवार शर्मा निकटतम प्रतिस्पर्धी रमेश विष्टलाई १ हजार ७९ मत अन्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भएकी हुन् ।   शर्माले ४ हजार २८२ मत प्राप्त गरिन् भने र प्रेस युनियनको विद्रोही विष्टले ३ हजार २०३ मत प्राप्त गरे । विष्टलाई प्रेस सेन्टर र समाजवादी प्रेस संगठनले समर्थन गरेका थिए ।   यसैगरी अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले २७० र लालसिंह लामाले ९६ मत पाए ।   महासंघको नयाँ कार्यसमितिमा अधिकांश शर्मा प्यानलका उम्मेदवारहरु निर्वाचित भएका छन् ।   केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षमा शर्मा प्यानलका दीपक आचार्यले ४ हजार २३० मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी विष्ट प्यानलका रोशन पुरीले २ हजार ८८६ मत प्राप्त गरे ।   उपाध्यक्ष महिलामा शर्मा प्यानलकी नितु पण्डितले ४ हजार ७०५ मत प्राप्त गरी विजयी हुँदा विष्ट प्यानलकी गंगा पौडेल बरालले २ हजार ६४४ मत प्राप्त गरिन् ।   उपाध्यक्ष समावेशीमा शर्मा प्यानलका उमिदप्रसाद बागचन्दले ४ हजार २९२ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी विष्ट प्यानलका सुभाषप्रसाद साहले २ हजार ८० मत प्राप्त गरे । यसैगरी मोहन कुमार सिंहले ८६० मत पाए ।   महासचिवमा पनि शर्मा प्यानलका रामप्रसाद दाहाल निर्वाचित भए । दाहालले ४ हजार ८४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी विष्ट प्यानलका लेखनाथ न्यौपानेले १ हजार ९२९ मत प्राप्त गरे ।   महासचिवका अर्का उम्मेदवार जन्मदेव जैशीले १ हजार ९२९ र प्रकाश थापाले ४८८ मत पाए ।   कसले कति मत पाए ?       सचिव खुलामा रमेश खतिवडाले ३ हजार ४०० मत प्राप्त गरी विजयी भए । यो पदमा प्रतिस्पर्धा गरेका उत्तरसिंह विष्टले २ हजार ६७, बालकृष्ण अधिकारीले ७७५, माधव दुलालले ७१९ र कुमार ओझाले ३१६ मत पाए ।   सचिव महिलामा सोनी शर्माले ४ हजार ३४७ मत प्राप्त गरी विजयी भइन् । सरिता बराइलीले २ हजार ८२३ मत पाइन् ।   त्यस्तै, सचिव आदिवासी जनजातिमा सविन प्रियासनले ३ हजार ५३५ मत प्राप्त गरी विजयी भए । यो पदमा प्रतिस्पर्धा गरेका भिसन राईले २ हजार ४५७ र टिकाराम प्रधानले १ हजार ६९ मत पाए ।   सचिव मधेशीमा अशोककुमार तिवारीले ३ हजार ८५८ मत प्राप्त गरी विजयी भए । अर्का प्रत्यासी श्रीजन झाले २ हजार २४३ र प्रविण कुमार चौधरीले ९५२ मत पाए ।   सचिव दलिततर्फ प्रकाश धौलाकोटी ४ हजार ११० मतसहित विजयी भए । अर्का प्रत्यासी बसन्त विकले १ हजार ८९२, भिमबहादुर विश्वकर्माले ६५० र सन्तोष कुमार बराइलीले ४७४ मत पाए ।     सचिव एशोसिएटतर्फ बैकुण्ठराज पराजुलीले ३ हजार ६४५ मत प्राप्त गरी जित निकाले । उनका निकटतम प्रतिस्पर्धी विकास कार्कीले २ हजार ७३५ र योगेश खपाङ्गीले ८१२ मत पाए ।   कोषाध्यक्ष पदमा रामकृष्ण अधिकारी ३ हजार ८४७ मत प्राप्त गरी विजयी भए । उनी विष्ट प्यानलबाट निर्वाचित एकमात्र पदाधिकारी हुन् ।   प्रेस सेन्टर नेपालका अधिकारीले शर्मा प्यानलका रामकृष्ण ज्ञवालीलाई ३८३ मत अन्तरले पछि पारे । शर्मा प्यानलका ज्ञवालीले ३ हजार ४६४ मत पाए ।

पोखरा:   नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको अध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन् ।  शुक्रबार भएको निर्वाचनको निर्वाचन समितिद्वारा आज सार्वजनिक मत परिणामअनुसार पौडेलले चार सय एक मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी गोविन्दप्रसाद सुवेदीले एक सय ७८ मत प्राप्त गरे ।       प्रदेश समितिको उपाध्यक्ष (खुला)मा प्रकाश पौडेल, उपाध्यक्ष (महिला)मा मायाकुमारी अधिकारी, महासचिवमा जमुना वर्षा शर्मा, सचिव (खुला)मा भविश्वर पाण्डे, सचिव (समावेशी)मा रोशनी गुरुङ र कोषाध्यक्षमा रमेश बस्ताकोटी निर्वाचित भए ।       गण्डकी प्रदेशअन्तर्गत महासङ्घको जिल्ला अध्यक्षहरूमा कास्कीका लागि माधव बराल, पर्वतमा लक्ष्मीप्रसाद सापकोटा, बागलुुङमा राम थापा, मनाङमा नविन लामिछाने, मुस्ताङमा सुनदेवी रसाइली, लम्जुङमा सन्देश पौडेल, तनहुँमा डिपी अधिकारी, स्याङ्जामा प्रदिप कोइराला, म्याग्दीमा हरिकृष्ण गौतम, नवलपुरमा श्रीराम सिग्देल निर्वाचित भए ।        

काठमाडौं:   उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पाँचदिने औपचारिक भ्रमणका लागि दक्षिण कोरिया प्रस्थान गर्नुभएको छ । मन्त्री भण्डारी आज औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।  नेपाल र दक्षिण कोरियासँग कूटनीतिक मैत्रीपूर्ण सम्बन्ध भएको ५० वर्ष पूरा भएका अवसरमा विभिन्न सम्झौता गर्न मन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।  मन्त्री भण्डारी र दक्षिण कोरियाका राज्यमन्त्रीबीच ट्रेडिङ इन्भेस्टमेन्टसम्बन्धी एमओयु सम्झौता गरिने जनाइएको छ ।  कोरियामा रहेका लगानीकर्तालाई नेपालमा लगानी भित्र्याउने विषयमासमेत छलफल हुने उहाँका स्वकिय सचिव आनन्द भट्टले राससलाई जानकारी दिनुभयो ।

कैलाली:    २७ वर्र्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ ।  आज तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान सुरू भएको हो ।  पहिलो उडानमार्फत टीकापुर पुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य सङ्घ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाइँलगायतले स्वागत गर्नुभएको थियो ।  विमान अवतरणका क्रममा सयौँको सङ्ख्यामा उपस्थित स्थानीयले भव्य स्वागत गरेका थिए । त्यसअवसरमा राज्यमन्त्री चौधरीले टीकापुर विमानस्थलको छिट्टै स्तरोन्नति गरी आगामी दिनमा काठमाडौँ–टीकापुर सिधा हवाई उडान सञ्चालन गरिने बताउनुभयो ।  “गत निर्वाचनमा पनि मैले टीकापुर विमानस्थल सञ्चालनको प्रतिबद्धता जनाएको थिएँ, आजदेखि टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ, यसको निरन्तरताका लागि मेरो प्रयास रहनेछ ।” टीकापुर नगरपालिकाको विशेष पहलमा काठमाडौँदेखि नेपालगञ्जसम्म यति एयरलाइन्समार्फत र नेपालगञ्जबाट ‘कनेक्टिङ फ्लाइट’ मार्फत टीकापुर विमानस्थलसम्म तारा एयरले उडान गर्ने गरी व्यवस्थापन गरिएको टीकापुरका नगरप्रमुख डगौरा थारूले जानकारी दिनुभयो ।  विमानस्थलमा प्रत्येक साता आइतबार र बिहीबार काठमाडौँ–नेपालगञ्ज–टीकापुर र टीकापुर–नेपालगञ्ज–काठमाडौँ उडान हुनेछ । टीकापुर नगरपालिका र तारा एयरबीच प्रत्येक उडानमा न्यूनतम १५ सिटको रकम सुनिश्चित गर्ने गरी सम्झौता भएको नगरप्रमुख डगौरा थारूले जानकारी दिनुभयो ।  “यति एयरलाइन्सले काठमाडौँ–नेपालगञ्ज र त्यहाँबाट कनेक्टिङ फ्लाइटमार्फत तारा एयरले नेपालगञ्ज–टीकापुर उडान भर्नेछ । यसका लागि एकमुष्ट काठमाडौँ–टीकापुरको एकतर्फी भाडा रू नौ हजार निर्धारण गरिएको छ”, उहाँले भन्नुभयो ।  उहाँले लामो प्रयासपछि विमानस्थल सञ्चालन सम्भव भएको उल्लेख गर्दै यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डे, पर्यटन राज्यमन्त्री चौधरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरोकारवाला, उद्योग वाणिज्य सङ्घ टीकापुर, व्यावसायी तथा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीलगायतलाई विशेष भूमिका निर्वाह गरेकामा धन्यवाद व्यक्त गर्नुभयो ।  उक्त उडानको टिकट बिक्रीका लागि आधिकारिक बिक्रेतामा पथिल होलिडेजलाई नियुक्त गरिएको छ । टीकापुरस्थित सिद्धार्थ होटल र काठमाडौँको तीनकुनेमा रहेको पथिल होलिडेजबाट पनि टिकट काट्न मिल्ने गरी व्यवस्था गरिएको छ ।  साथै यात्रुहरूले यति एयरलाइन्सको एप, विभिन्न ट्राभल एजेन्सी, खल्ती, इसेवालगायतका माध्यमबाट टिकट खरिद गर्न पनि सक्नेछन् ।   विमानस्थल सञ्चालनमा आएपछि धनगढी र नेपालगञ्ज विमानस्थल धाइरहेका टीकापुर नगरपालिका आसपासका कैलाली, सुर्खेत र बर्दियाका स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ । टीकापुर विमानस्थलमा हाल धावनमार्गमा ग्राभेल गरिएको छ ।  सिद्धार्थ बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले विमानस्थल सञ्चालनमा आएपछि टीकापुरलाई पर्यटकीय सहरका रूपमा विकास गर्न थप सहज हुनेमा विश्वास व्यक्त गर्नुभयो ।  तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार काठमाडौँबाट विहान १० बजे यति एयरलाइन्सको विमान नेपालगञ्जका लागि उडान भर्नेछ भने त्यहाँबाट दिउँसो १२ः३० बजे तारा एयरले यात्रु लिएर टीकापुर पुग्नेछ ।  सोही दिन दिउँसो १ः२० बजे तारा एयरको विमान नेपालगञ्जका लागि प्रस्थान गर्नेछ भने दिउँसो २ः०५ बजे यति एयरलाइन्सको विमानले यात्रु लिएर काठमाडौँ आउने तालिका छ ।      त्यसैगरी काठमाडौँदेखि अछामको साँफेबगरस्थित विमानस्थलमा उडानका लागि पनि साँफेबगर नगरपालिका र तारा एयरबीच सहमति भइसकेको छ । यद्यपि साँफेबगरस्थित विमानस्थलमा परीक्षण उडानपछि मात्रै नियमित उडान हुनेछ ।  साँफेबगर नगरपालिकाले पनि तारा एयरसँग न्यूनतम १५ सिटका लागि सुनिश्चित गर्ने सम्झौता गरिसकेको छ अर्थात् न्यूनतम १५ सिट नभएमा नगरपालिकाले सो बराबरको रकम उपलब्ध गराउनेछ ।