पर्वत: आवश्यक संरक्षण र उपयोग गर्न नसक्दा पर्वतका वन क्षेत्रमा पाइने करोडौँ मूल्यका जडीबुटीको चोरीनिकासी बढ्दै गएको पाइएको छ । जडीबुटी संरक्षण, प्रवर्द्धन, सङ्कलन र निकासी गर्ने आधिकारिक निकायको बेवास्ताका कारण दैनिकजसो चोरीनिकासी बढ्दै गएको हो । जिल्लाका उच्च पहाडी भेगमा रहेका जङ्गलमा बहुमूल्य औषधीय गुणयुक्त जडीबुटी प्रशस्तमात्रामा रहेको छ । जिल्लाको जलजला र मोदी गाउँपालिकामा पर्ने हम्पाल क्षेत्र, मोदी र कुश्मा क्षेत्रमा पर्ने पञ्चासे, डहरे, चिसापानी, गोल्र्याङ ठूला जङ्गल क्षेत्र हुन् । यी क्षेत्रमा अल्लो, सत्तुवा, नागबेली, पाखनभेद, रक्तमूल, भूतकेश, चिराइतो, पदमचाल, बज्रदन्ते, लोठसल्ला प्रशस्तमात्रामा पाइन्छ । यसैगरी सुनाखरी, चिराइतो, अर्गेली, टिमुर, ढकायो, चुत्रो, लोक्ता, सिल्टिमुर, धसिङ्ग्रे, खोटो, हर्रोबर्रोलगायत सयौँ प्रकारका जडीबुटीसमेत प्रशस्तै पाइन्छ । डिभिजन वन कार्यालय पर्वतका अनुसार जडीबुटी पकेट क्षेत्र तोकेर संरक्षण गर्न नसक्दा ठूलोमात्रामा नोक्सानी भइरहेको छ । जिल्लामा कुन जडीबुटी कति परिमाणमा पाइन्छ भन्ने यकीन नभए पनि चोरीनिकासीकै कारण जडीबुटीको आनुवंशिक स्रोतसमेत नष्ट हुने खतरा बढेको जनाएको छ । जिल्लाको उत्तरी भेगमा पर्ने तीन हजार मिटर उचाइसम्म फैलिएका सामुदायिक वन सहस्रधारा सामुदायिक वन, खर्सुबास सामुदायिक वन, रेसापातल सामुदायिक वन, ठूला टाउका गैँडाखर्क सामुदायिक वन, छिपछिपे सिलिङ्गे सामुदायिक वनमा औषधीय जडीबुटी प्रजातिका वनस्पति पाइन्छ । पर्वतको मोदी–४ लेस्पारका ७३ वर्षीय वृद्ध टेकबहादुर पुनले जडीबुटीको प्रयोग गरी गाउँलेको उपचारसमेत गर्दै आउनुभएको छ । पुनले चिन्ता व्यक्त गर्दै भन्नुभयो, “पर्वतका सामुदायिक वनमा धेरै प्रकारका जडीबुटी पाइने भए पनि अहिले उचित संरक्षणको अभावले कतिपय नासिँदै गाएका छन् भने चोरी हुनेक्रम पनि बढेको छ ।” पहिले प्रशस्तै पाइने धेरै प्रकारका जडीबुटी अहिले थोरैमात्रामा देखिने गरेको उहाँको भनाइ छ । गाउँमा बस्ने मानिसको सङ्ख्या घट्दै जानु र भएकालेसमेत चासो नदिएका कारण बहुमूल्य जडीबुटी जोखिममा पर्दै गएको उहाँको गुनासो छ । खर्सुबास सामुदायिक वन उपभोक्ता समूह मोदी–४ क्याङका अध्यक्ष नरसिं पुनले जडीबुटीको उचित संरक्षण हुन नसक्दा धेरै प्रकारका जडीबुटी चोरीनिकासी हुने र जङ्गलमै खेरजाने तर गाउँलेलाई कुनै लाभ नहुने गरेको बताउनुभयो । डिभिजन वन कार्यालय पर्वतका सहायक वन अधिकृत रामबहादुर विकले जिल्लामा वनजन्य जडीबुटी प्रशस्तै पाइने भएर पनि बजेट र कार्यक्रम नहुँदा यस क्षेत्रमा कुनै कार्य हुन नसकेको बताउनुभयो । वनजन्य जडीबुटीबाट आर्थिक लाभ लिन सबैभन्दा पहिले कुन स्थानमा कुन जातिको प्रजाति कतिमात्रामा पाइन्छ सोहीअनुसार पहिले पकेट क्षेत्र तोकिनु पर्दछ विकले भन्नुभयो, “जडीबुटीको विस्तृत स्रोत सर्वेक्षण गरिनुहुन सकेको छैन ।” डिभिजन वन कार्यालय, पर्वतमा चालु आर्थिक वर्षमा जडीबुटी संरक्षण र प्रवद्र्धनसम्बन्धी एउटै कार्यक्रम नसमेटिएको उहाँको भनाइ छ । जिल्लामा वन उपभोक्ता समूह गठन भई १४ हजार चार सय २२ हेक्टर वन क्षेत्रमा करिब ४४ हजार एक सय चार घरधुरीका स्थानीय समुदाय वनसँग जोडिएको भए पनि अहिलेसम्म समुदायस्तरबाट जडीबुटी संरक्षण र प्रवर्द्धनमा प्रत्यक्ष जोडिएर आम्दानी गर्न नसकेको उहाँको भनाइ छ ।
काठमाडौं: पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले माध्यमिक तह (कक्षा ९–१०) को इतिहास र वातावरण विज्ञान विषयको पाठ्यक्रम थप समसामयिक र विद्यार्थीमुखी बनाउन पाठ्यक्रम विकास केन्द्रलाई १५ दिनभित्र स्वीकृतिका लागि सिफारिस गर्न निर्देशन दिएको छ । परिषद्का अध्यक्ष तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा बसेको बैठकले कक्षा ९ र १० को उक्त दुई विषयका पाठ्यक्रमका विषयवस्तुलाई दैनिक जीवनसँग जोडी स्थानीय विषयसँग तादाम्यता मिलाउन र विद्यार्थीको दृष्टिकोणबाट पाठ्यक्रम निर्माण गर्नेलगायत सुझाव समेट्नुपर्ने निष्कर्ष निकाल्दै यस्तो निर्देशन दिएको हो । बैठकमा सहभागी शिक्षा क्षेत्रका विज्ञहरूले युवाहरूलाई देशप्रति सकारात्मक भावना विकास गराउने र नेपालको सभ्यताको इतिहासबारे थप प्रष्ट हुने गरी पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरूले वातावरण विज्ञानको पाठ्यक्रममा नेपालको विविधता संरक्षण, हिमाल पग्लने, चुरे विनास र जलवायु परिवर्तनले नेपालमा पारेका असरलाई विद्यार्थीले बुझ्ने र त्यसको समाधानमा कसरी योगदान गर्न सकिन्छ भन्ने विषयसमेत पाठ्यक्रममा समावेश गर्न सुझाव दिनुभएको थियो । यस्तै, उक्त बैठकले मातृभाषातर्फ आधारभूत तह (कक्षा ६–८) को चाम्लिङ भाषाको पाठ्यक्रम स्वीकृतिका लागिसमेत सिफारिस गरेको छ । बैठकले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ मा रहेका ऐच्छिक विषयको समूह मिलान गर्दै माध्यमिक तह (कक्षा ९–१०) मा हाल कार्यान्वयनमा रहेको ऐच्छिक पहिलो समूहमा रहेका २७ भाषामध्ये नेपालमा बोलिने भाषाको छुट्टै समूह बनाउने निर्णय गरेको छ । तीन समूहमध्ये कुनै दुई समूहबाट एक–एकवटा विषय छनोट गर्न पाउने व्यवस्था गरिएको छ । उक्त बैठकले उच्च माध्यमिक तह (कक्षा ११–१२) मा ऐच्छिक तेस्रो समूहमा रहेका १४ भाषामध्ये नेपालमा बोलिने भाषाहरूको छुट्टै समूह बनाउने र पाँच समूहमध्येबाट विद्यार्थीले कुनै तीन विषय लिन पाउने व्यवस्था गर्ने निर्णय गरेको छ । बैठकको निर्णयअनुसार कक्षा ११–१२ को ऐच्छिक दोस्रो समूहमा रहेको जनसङ्ख्या अध्ययनलाई ऐच्छिक तेस्रो समूहमा र तेस्रो समूहमा रहेको ‘जेरोन्टोलोजी’ र ‘केयर ट्रेकिङ’ शिक्षा विषयलाई दोस्रो समूहमा राखिएको छ । अब विद्यार्थीले आफ्नो इच्छाअनुसार पाँचवटा समूहमध्ये कुनै तीन ऐच्छिक विषय रोज्न पाउने छन् । विद्यार्थीको मूल्याङ्कनमा घरायसी तथा दैनिक जीवनमा गरेका कार्य पनि समावेश गरिने भएको छ । बैठकले विद्यार्थीको घरायसी एवं दैनिक जीवनका कार्यलाई आधारभूत तह (कक्षा ६–८) तथा माध्यमिक तह (कक्षा ९–१०) को आन्तरिक मूल्याङ्कनमा समावेश गर्न आवश्यक छलफल र आवश्यक तयारी गरी परिषद्मा पेस गर्न केन्द्रलाई सैद्धान्तिक सहमतिसमेत दिएको छ । उक्त बैठकले लिएका यी निर्णयहरूले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पुग्ने र पाठ्यक्रमलाई समयसापेक्ष बनाउने अपेक्षा गरिएको छ ।
सोलुखुम्बु: सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा गए राति भएको आगलागीमा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षे नवराज खालिङ राई रहेको वडासदस्य हीराकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बलबहादुर नेवारको घाँस राख्ने गोठमा आगलागी हुँदा खालिङको ज्यान गएको हो । खालिङ विगत १५ वर्षदेखि बेवारिसे अवस्थामा बस्दै आएका थिए । बिहीबार राति सोही गोठमा बसेका खालिङले चुरोट खाने क्रममा आगलागी भएको अनुमान गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धानका लागि बिहान प्रमुख जिल्ला अधिकारी घिमिरे, प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरे र चिकित्सकसहितको टोली घटनास्थल पुगेको छ । आगलागीबाट जलेर चिन्न नसक्ने अवस्थामा रहेका खालिङको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको प्रजिअ घिमिरेले बताउनुभयो ।
गण्डकी: पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका छन् । आज सरकारी वकिलले जवाफी बहस गर्ने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो । न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस जारी छ । प्रतिवादीहरुका तर्फबाट कानुनी व्यवसायीहरुको बहस सकिएपछि जवाफी बहस सुरु भएको अदालतले जनाएको छ । लामिछानेसहित उक्त सहकारीको रकम अपचलन मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो । थुनछेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा छ ।
सोलुखुम्बु: सोलुखुम्बुको खुम्बु क्षेत्रमा पटक–पटकको भूकम्पका पराकम्प गएको छ । मङ्गलबार गएको ठूलो भूकम्पपछि खुम्बु क्षेत्रमा साना पराकम्प निरन्तर गइरहेका छन् । आज बिहान ३ः३० बजे र ५ः३० बजे खुम्बु क्षेत्रको दिङबोचे क्षेत्रमा भूकम्पका पराकम्प महसुस गरिएको छ । त्यसपछि बिहान ९ः३० बजे थाम्बुचे क्षेत्रमा र साँझ ५ः३० बजे लुक्ला तथा पैयाँ क्षेत्रमा पनि पराकम्पका झट्का अनुभव गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले पराकम्पका कारण स्थानीय बासिन्दामा त्रास बढेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खुम्बु क्षेत्र जहाँ मङ्गलबार गएको भूकम्पको केन्द्र तिब्बत् नजिक पर्छ, त्यहाँ धेरै पराकम्प गइरहेका छन्, जसले गर्दा स्थानीयवासीमा त्रास उत्पन्न गराएको छ तर सम्भावित सहयोगका लागि हाम्रा प्रहरीहरू स्थानीयवासीसँगै छन् ।” पराकम्पले छिनछिनमा धक्का दिन थालेपछि स्थानीयवासी घरभित्र छिर्नसमेत डराइरहेको स्थानीय पासाङ शेर्पाले बताउनुभयो । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मङ्गलबार बिहान ६ बजेर ५० मिनेट जाँदा नेपाल–चीन सीमा क्षेत्रमा पर्ने तिब्बतमा ७ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो । यस भूकम्पका पराकम्प नै खुम्बु क्षेत्रमा महसुस भएको अनुमान गरिएको छ । खुम्बु तिब्बत्को नजिकपर्ने भएकाले त्यस क्षेत्रमा बढी पराकम्पको धक्का महसुस गरिएको हुनसक्ने बताइएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको सङ्कुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ । प्रधानमन्त्री निवासमा मङ्गलबार साँझ भएको भेटमा प्रधानमन्त्री ओलीसँग परिषद्का अध्यक्ष बलिभद्र रानासहितका पदाधिकारीले सार्वजनिक खरिद नियमावलीमा संशोधन, छड, सिमेन्टलगायत निर्माण सामग्रीमा भएको मूल्यवृद्धिलाई ध्यान दिएर ठेक्कामा मूल्य समायोजनलगायत विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभएको हो । प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीको केही रकम भुक्तानी गरिसकिएको र बाँकी रकम भुक्तानी प्रक्रियालाई सहज बनाउनेगरी काम गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी गराउनुभयो । सबैभन्दा कम रकममा ठेक्का दिने प्रक्रियाले कतिपय स्थानमा गुणस्तरीय निर्माण कार्य हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीले गुणस्तरमा सम्झौता नगर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । सरकारलाई गुणस्तर मापदण्ड पूूरा नभएका कुनै पनि कार्य स्वीकार्य नहुने स्पष्ट गर्दै उहाँले लागत अनुमान गर्दा सम्भावित जोखिमलाई ध्यानमा राखिएको बताउनुभयो । सरकारले विकास निर्माणलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै प्रधानमन्त्रीले विगतमा भूकम्पपछिको पुनःनिर्माणलाई सफलतापूर्वक सम्पन्न गरेको स्मरण गर्नुभयो ।
काठमाडौं: गणतन्त्र कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष नेपालका राजदूत डा शिवमाया तुम्बाहाम्फेले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । मङ्गलबार सियोलमा आयोजित एक समारोहमा उहाँले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो । प्रमाणपत्र पेस गरेपछि राजदूत तुम्बाहाम्फेले कार्यवाहक राष्ट्रपति चोईसँग शिष्टाचार भेट गर्नुभएको सिओलस्थित नेपाली राजदूतावासले आज जनाएको छ । त्यस अवसरमा उहाँले नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको सन्दर्भमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्वपूर्ण हुने बताउँदै आगामी मेसम्ममा त्यस्ता भ्रमणका निम्ति सहजीकरण गर्न दूतावासलाई अवसर मिल्ने विश्वास व्यक्त गर्नुभयो । आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउन इमान्दार भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै राजदूत तुम्बाहाम्फेले गणतन्त्र कोरियामा रहेका एक लाखभन्दा बढी नेपाली कामदारले दुई देशबीच जनस्तरको सम्बन्धलाई प्रवर्द्धनका साथै कोरियाको अर्थतन्त्रमा योगदान गरेका बताउनुभयो । कार्यवाहक राष्ट्रपतिले राजदूत तुम्बाहाम्फेलाई गणतन्त्र कोरियाका लागि नेपालको राजदूतका रूपमा स्वागत गर्दै नेपाल–कोरिया सम्बन्ध प्रवर्द्धनमा सक्दो सहयोग गर्ने बताउनुभयो । साथै उहाँले राजदूत तुम्बाहाम्फेको सफल कार्यकालको कामना पनि गर्नुभयो । उहाँले कार्यवाहक राष्ट्रपतिमार्फत नेपाल सरकार र आफ्नो तर्फबाट २९ डिसेम्बरमा गणतन्त्र कोरियामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभयोे । त्यस अवसरमा नेपाली दूतावासका उपप्रमुख पुष्पराज भट्टराई तथा गणतन्त्र कोरियाका विदेशमन्त्री चो ताई युल, शिष्टाचार प्रमुख र विदेश मन्त्रालयका अन्य उच्च अधिकारीको उपस्थिति थियो ।
नवलपरासी: बाक्लो हुस्सुका कारण पूर्व–पश्चिम राममार्गअन्तर्गत बुटवल–नारायणगढ सडक अवरुद्ध भएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानी खोलाको सडक चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो । बाटो चिप्लो भएकाले सवारीसाधन चलेका छैनन् । हिजोदेखि नै पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । आज विहान २ बजेदेखि बाटो दुईतर्फी अवरुद्ध भएको उहाँले बताउनुभयो । बाटो खुलाउन निरन्तर प्रयास भइरहेको सूचना अधिकारी रेशम बोहरले बताउनुभयो ।
इलाम: भारतसँग नेपाल एकीकरणमा पूर्वतर्फको सीमामा विजयपश्चात् गाडिएका निसान फर्काइएको बाटोको संरक्षण गर्ने उद्देश्यले आजदेखि निसान मार्ग पदयात्रा शुभारम्भ भएको छ । नेपाली सेनाको इलामस्थित रणसार्दुल गणसहित जिल्लाका तीन वटा पालिकाको समन्वयमा आज पुस २४ गतेदेखि २६ गतेसम्म पदयात्रा सञ्चालन हुनेछ । आज बिहान नेपाल–भारत पूर्वी सीमा मेची बजारबाट पदयात्राको शुभारम्भ भएको हो । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले इलाम नगरपालिकाका प्रमुख केदार थापालाई नेपालको झण्डा हस्तान्त्रण गरी पदयात्राको शुभारम्भ गर्नुभयो । आज निसान राखिएको ठाउँ पुर्णेडाँडामा बास बस्ने कार्यक्रम रहेको छ । ४१।१ किलोमिटरको पदयात्रामा करिब दुई सयले एकैपटक यात्रा गर्ने आयोजकले जानकारी दिएको छ । पदयात्राको टोलीले २५ गते पुनः सोही स्थानबाट औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको इलाम नगरपालिकाका वडा नं ७ का वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उद्घाटनपछि फेरि निसान फर्काइएको गोरेटो सटकमा नै पदयात्रा हुनेछ । निसान बास बसेको माइजोगमाई गाउँपालिकाको नामासालिङस्थित हात्तीटारमा भोलि २५ गतेको बास बस्ने कार्यक्रम तय भएको छ । पुस २६ गते बिहान नामसालिङको हात्तीटारबाट सुरु भएको पदयात्रा माई बेनी, तिल्केनी हुँदै हाल निसान रहेको इलाम सदरमुकाममा पुग्नेछ । सदरमुकामस्थित माई स्थान मन्दिरमा हाल निसान र तोप राखिएको छ । निसान नेपाल एकीकरणसँग सम्बन्ध जोडिएको ऐतिहासिक सम्पत्तिका रूपमा लिइन्छ । नेपाल एकीकरणसँग ऐतिहासिक सम्बन्ध जोडिएको निसानको महत्व युवा पिँढीले भुल्दै गएको भए पनि पछिल्लो समय यसको जगेर्नामा स्थानीय तह जुटेका छन् । नेपालको पूर्वी सीमा कुनै बेला टिस्टा नदीसम्म पुगेको इतिहास छ । तत्कालीन समयमा नेपाली सेनाको वीरताको प्रतीकका रूपमा त्यहाँ राखिएको दुई सय वर्ष ४८ वर्ष पुरानो निसान फर्काइएको सडकमा पैदल यात्रा गरिने भएको हो । जिल्ला सदरमुकाम समेत रहेको इलाम नगरपालिका, भारतसँग सीमा जोडिएको सूर्योदय नगरपालिका र निसानबीचमा राखिएको माईजोगमाई गाउँपालिकाको संयुक्त आयोजनामा पदयात्रा गर्न लागिएको हो । निसानसँग नेपाली सेनाको छुट्टै र ऐतिहासिक नाता भएका कारण पनि नेपाली सेनाले यसको संरक्षण गर्दै आएको छ । सदरमुकाममा राखिएको निसान २०५९ सालमा तत्कालीन सरकार र माओवादी द्वन्द्वका समयमा सुरक्षाका कारण देखाउँदै काठमाडौँ सारिएको थियो । २०७४ सालमा पुनः सो निसान इलाममा नै फर्काइएको थियो । सुगौली सन्धिपछि इलाम भित्र्याइएको सेनाको श्रीनाथ गुल्मको निसान १५ वर्षपछि काठमाडौँबाट पुनः इलाम सारिएको छ । भारतसँग सीमामा राखिएको निसान फर्काइको बाटोको संरक्षण गर्दै निसान पदयात्रा गर्न लागिएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताउनुभयो । उहाँका अनुसार तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भू–भाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानलाई जोडेर निसान पदयात्रा तयारी गरिएको हो । तत्कालीन अवस्थामा पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा खेलेको भूमिका समेत सम्झाएको इतिहासकाका जानकार युद्धप्रसाद वैद्यले बताउनुभयो । उहाँले निसान पृथ्वीनारायण शाहसँग सम्बन्ध जोडिएको र नेपाल भारत सीमासँग ऐतिहासिक भएको बताउनुभयो । पदयात्रा हुने स्थानका पालिका, वडा र टोल विकास समितिहरूले आफ्नो भूभागमा पर्ने पदमार्गको सरसफाइ गरिरहेका छन् । पदयात्रीलाई खाने–बस्ने व्यवस्थापन, स्थानीय वेशभूषासहितको झाँकी प्रदर्शन समेत हुने भएको छ । जसका लागि सम्बन्धित पालिका र वडाहरूले स्थानीय व्यवस्थापन गरिरहेका छन् । निसानलाई सेनाको ‘शक्तिको स्रोत’का रूपमा समेत लिइन्छ । नेपाली सेनाले निसानलाई ‘शक्ति स्वरूपदेवी’ र ‘निसान भगवती’ मान्दै पूजापाठसमेत गर्ने गरेको छ । निसान नेपाली सेनाको गणको प्रतीक हो । निसान विशेष किसिमको झन्डाको स्वरूपमा हुन्छ । यस पटकको पदमार्गमा समेत तत्कालीन नेपाली सेनाको पोसाकसहित नेपाली सेनाको सहभागिता रहने जनाइएको छ । निसानको साङ्केतिक निसानसहित दौरा सुरुवालसहितको नेपाली सेनाको पोसाकमा १० जना सेना रहने बताइएको छ ।

