काठमाडौं:   हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । ...

काठमाडौं:    असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट रु ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० बराबरको बीमा दाबी गरिएको छ ।  नेपाल बिमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये गत कात्तिक मसान्तसम्म रु ६१ करोड सात लाख ९३ हजार तीन सय ८७ बराबरको दाबी भुक्तानी भएको छ । बीमा दाबी गर्दै तीन हजार चार सय १८ वटा निवेदन प्राप्त भएका छन् ।        प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा परेको छ । सो कम्पनीमा पाँच सय एक दाबीका आवेदन परेका छन् । दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा एक सय ७६, सगरमाथा लुम्बिनीमा तीन सय ७७, हिमालयन एभरेष्ट दुई सय ४३, नेकोमा दुई सय १९, युनाइटेड अजोडमा तीन सय २३, सानिमा जिआइसीमा दुई सय १७, आइजिआई प्रुडेन्सियलमा दुई सय ९६ दाबी परेका छन् ।        त्यस्तै, नेशनल इन्स्योरेन्समा ८६, एनएलजीमा एक सय ७२, नेपाल इन्स्योरेन्समा एक सय ७६, प्रभु इन्स्योरेन्समा एक सय ३७, राष्ट्रिय बीमा कम्पनीमा १७, स्टार माइक्रो इन्स्योरेन्समा १०, ट्रष्ट र नेपाल माइक्रो इन्स्योरेन्समा समान चार/चार वटा दाबी पर्दा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा सात दाबी निवेदन परेका छन् । कूल दाबीमध्ये नौ सय दुई वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।       कूल एक हजार छ सय ५३ वटा सम्पत्ति बिमा दाबी गरिएकामा तीन सय ९८ वटाको भुक्तानी भएको छ । कूल सम्पत्ति बिमा दाबी रु आठ अर्ब ७५ करोड ८७ लाख ५१ हजार दुई सय ३४ भएकामा रु ४६ करोड ७० लाख ९७ हजार सात सय ८० मात्रै भुक्तानी भएको छ ।       इञ्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ तीन सय चार वटा दाबी परेका छन् । विशेष गरी बाढीपहिरोका कारण जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । अधिकांश ऊर्जा उत्पादक केन्द्रले बीमा गर्ने भएकाले पनि यो शीर्षकमा परेको दाबी भुक्तानीका लागि व्यवसायीहरुले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयकोसमेत ध्यानाकर्षण गराएका छन् । दाबी भएकामध्ये ३८ वटाको रु तीन करोड ११ लाख २८ हजार पाँच सय ५५ मात्रै भुक्तानी भएको छ ।       मोटर बीमा निजीतर्फ आठ सय ८७ दाबी परेकामा दुई सय ८० को रु छ करोड १६ लाख ९७ हजार पाँच सय ८७ भुक्तानी भएको प्राधिकरणको विवरणमा उल्लेख छ । मोटर बीमासार्वजनिकतर्फ तीन सय ५० दाबी हुँदा ९१ वटाको रु ४३ करोड दुई हजार एक सय ७७ बराबरको भुक्तानी भएको छ ।       पुशपन्छी बीमा ५१ दाबी पर्दा २१ वटाको रु २४ लाख ९२ हजार आठ सय ५४ मात्रै भुक्तानी भएको छ । बाढीपहिरोका कारण पशुपन्छी र चौपायासमेत उल्लेख्य मात्रामा मरेका वा बेपत्ता भएका थिए ।  त्यस्तै, सामुद्रिक बीमा २२ को दाबी पर्दा दुईको भुक्तानी भएको छ । कृषिबाली बिमातर्फ एक सय ३१ को दाबी हुँदा ६५ को भुक्तानी भएको छ । विविधतर्फ २० को दाबी पर्दा सातको भुक्तानी भएको छ ।        प्राधिकरणका अनुसार कोसी प्रदेशमा दुई सय ५१, मधेसमा एक सय एक, वाग्मतीमा दुई हजार नौ सय ६८, गण्डकीमा ३३, लुम्बिनीमा ४८, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० वटा बिमा दाबी भएको छ ।      अविरल वर्षाका कारण ठूलो मात्रामा जनधनको क्षति भए पनि बीमाको पहुँच नहुँदा कम मात्रैले दाबी गर्न सक्ने अवस्था रहेको जनाइएको छ । वर्षाका कारण सबैभन्दा बढी प्रभावित भएको प्रदेश वाग्मती प्रदेश भएकाले पनि दाबी पनि बढी परेको प्राधिकरणले जनाएको छ । 

पर्वत:    उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गा–बेनी खण्ड दैनिक छ घण्टा बन्द गरिने भएको छ । सडक कालोपत्र र स्तरोन्नतिका लागि आजदेखि मङ्सिर ११ गतेसम्म दैनिक छ घण्टा उक्त खण्ड बन्द गरिने भएको हो ।       सडकको प्रवेश बिन्दुमा पर्ने पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा सडकको क्षेत्राधिकारमा पर्ने ढुङ्गा फुटाएर पन्छाउन र मालढुङ्गाबाट लस्तीसम्म कालोपत्र गर्न ‘प्राइमकोट’ बिछ्याउन सवारीसाधन बन्द गर्न लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ ।      आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको आयोजना, जनप्रतिनिधि, सुरक्षा अधिकारी र निर्माण कम्पनीका प्रतिनिधिको बैठकले आजदेखि आठ दिनसम्म बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारीसाधन आवतजावत रोकेर निर्माण गर्ने निर्णय भएको जानकारी दिनुभयो ।      म्याग्दी र मुस्ताङ आवतजावत गर्ने सवारीसाधनको चापका कारण निर्माण प्रभावित भएकाले समय तालिका बनाइएको उहाँले बताउनुभयो । सडक फराकिलो बनाउन किनारामा रहेको ठूलो ढुङ्गा फुटाउने, सबबेस, बेस राखेको मालढुङ्गा–लस्ती खण्डको चार किलोमिटर दूरीमा प्राइमकोट बिछ्याउने र कालोपत्र गर्ने तयारी भइरहेको चापागाईंले बताउनुभयो ।       उक्त खण्ड अवरुद्ध हुँदा मालढुङ्गा–बागलुङ–बेनी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको सूचना अधिकारी चापागाईंले बताउनुभयो । अन्य सवारीका लागि सडक अवरुद्ध भए पनि अत्यावश्यक एम्बुलेन्स, दमकल र शववाहन सञ्चालनमा भने सहजीकरण गरिने आयोजनाले जनाएको छ ।      कुश्मा–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३  नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित यस आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको छ ।       तेह्र किमी दूरीको बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न बेनी–जोमसोम–कोरला सडक आयोजना र एपेक्स–खड्का–कृष्ण जेभीबीच विसं २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता भएको थियो ।       तीस महिनामा काम सम्पन्न गर्नेगरी सम्झौता भए पनि निर्माण व्यवसायीले विभिन्न कारण देखाउँदै ढिलाइ गरेको हो । यो सडक चालु आर्थिक वर्षभित्र पूर्ण रुपमा सम्पन्न गर्नेगरी काम गर्न निर्माण व्यवसायीलाई आयोजना कार्यालयले निर्देशनसमेत दिएको छ ।       उक्त सडक भएर म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनीअन्तर्गत बेनीतर्फ २०६८ सालमा कालोपत्र गरिएको थियो ।  मुस्ताङको कोरला नाकाबाट दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर चौडा र कालोपत्र गर्न लागिएको हो ।

काठमाडौं:    मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उतरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गर्नुभएको छ ।   विश्व हिन्दू परिषद् नेपाल धनुषाद्वारा आज अयोध्याधाममा आयोजित समारोहमा मुख्यमन्त्री सिंहले राममन्दिर ट्रष्टका महासचिव चम्पत रायलाई निमन्त्रणापत्र हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा मुख्यमन्त्री सिंहले नेपाल र भारतबीच परापूर्वकालदेखि आर्थिक सामाजिक, धार्मिक र रोटी—बेटीकोसम्बन्ध रहेकाले आगामी दिनमा यो सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नुभयो ।  उहाँले विवाहपञ्चमी समारोह हर्षोल्लासका साथ मनाउन नेपाल र भारतका नागरिकले खेलेको भूमिका अत्यन्त महत्वपूर्ण र सराहनीय रहेकोे बताउनुभयो । ट्रष्टका महासचिव रायले जनकपुरधाम र अयोध्याको सम्बन्धलाई थप प्रगाढ बनाउन नेपाल र भारत सरकारका साथै नागरिक तहमा रहेको सम्बन्ध महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले विवाहपञ्चमीको महत्व बढाउन दुवै देशका सरकारले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।  आज भएको तिलकोत्सव समारोहका लागि मुख्यमन्त्री सिंहको नेतृत्वमा मधेस प्रदेशका वन तथा वातावरणमन्त्री त्रिभुवन साह, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, श्रम तथा यातायातमन्त्री कौशलकिशोर राय, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँ, स्वास्थ तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह, प्रदेशसभा सदस्य रुपा यादव र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहलगायत दुई ५१ जनाको टोली अयोध्या आएको छ ।  जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ । यही मङ्सिर २१ गते जनकपुरधाममा रामजानकी विवाहपञ्चमी हुँदैछ । 

काठमाडौं:    निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहमाकायमभएका मतदानस्थलरकेन्द्रमा आधारभूत भौतिक संरचनाको उचित प्रबन्ध मिलाउन सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ ।  आयोगको आज बसेको बैठकले मतदान स्थलमा खानेपानी, शौचालय, विद्युत्, सञ्चार, आवजावतको वैकल्पिक मार्गका साथै ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गमैत्री बनाउन निर्देशन दिएको हो ।       सङ्घीय सरकार र प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्था वा स्थानीय तहका पूर्वाधार तथा भौतिक साधन, सभागृह तथा अतिथि गृह, सवारी साधन र अन्य विद्युतीय उपकरण मर्मत सम्भार गरी उपनिर्वाचनका लागि आवश्यकताअनुसार प्रयोग गर्न आयोगले आग्रह गरेको छ ।            उपनिर्वाचनका लागि खटाउन सकिने कर्मचारीको विवरण अद्यावधिक गरी र निर्वाचन प्रयोजनका लागि माग भएका बखत तत्काल उपलब्ध गराउने अवस्थामा राख्न पनि आयोगको अनुरोध छ ।       यातायात व्यवस्थालाई नियमित र भरपर्दो बनाइ निर्वाचन अधिकृतको कार्यालय रहने स्थानसम्मको आवागमनलाई निर्वाध रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन स्थानीय तहलाई निर्देशन दिइएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।            आयोगले मतदानस्थल र मतदान केन्द्रसम्म पुग्ने सडक तथा अन्य भौतिक पूर्वाधारसमेत स्थानीय तहबाट प्राथमिकताका साथ आवश्यक मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न आग्रह गरेको छ ।      स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा अनुदानमा सञ्चालित कुनै संस्था वा निकाय वा सामुदायिक विद्यालयको जग्गा, भवन, फर्निचर वा परिवहनको साधनको प्रयोगमा पूर्णतः रोक लगाउन निर्देशन दिइएको छ ।       निर्वाचन प्रचारप्रसार सामग्री यथासम्भव समयमै मतदाता समक्ष पुर्‍याउने व्यवस्था मिलाउन पनि आयोगले आग्रह गरेको छ ।  उपनिर्वाचन सम्पन्न नभएसम्म सम्बन्धित स्थानीय तहले उपभोक्ता समिति गठन, नयाँ योजना सञ्चालन, उद्घाटनलगायत कार्यहरू नगर्नेरनगराउने व्यवस्था मिलाउन आयोगले सूचित गरेको छ ।

म्याग्दी:    म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ मा तीन सय तीन वटा पूर्वाधार सम्बन्धी योजना कार्यान्वयन गर्दैछ । गत असारको नगरसभाबाट छनौट भई बजेट बिनियोजन भएका वडा स्तरीय २ सय ७१ मध्य ४७ वटा सम्झौता र नगर स्तरीय ३२ मध्य ८ वटा ठेक्का प्रक्रीयामा रहेका नगरपालिकाले जनाएको छ ।  सडक, खानेपानी, सिचाई, पहिरो तथा नदी नियन्त्रण, भवन, खेलमैदान निर्माण सम्बन्धि योजना छनौट भएका छन् । वडा स्तरीय १७ वटा योजना सम्पन्न भएका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।  रु ५ लाख सम्म बजेटका योजनाहरु वडा कार्यालयमै सम्झौता गर्ने व्यवस्था मिलाएको बेनी नगरपालिकाले १० वटा मध्य ७ र ८ नम्बर बाहेकका वडामा उपभोक्ता समिति गठन गरेर कार्यान्वयनका लागि अभिमुखीकरण गराएको छ ।  पूर्वाधार आयोजनाहरुका लागि रु १२ करोड ४३ लाख २५ हजार बजेट बिनियोजन भएकोमा साउन देखि कात्तिक महिनासम्म रु ४५ लाख ९६ हजार खर्च भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।  बेनी–अर्थुङ्गे तोरीपानी, बेनी–अर्थुङ्गे–पुलाचौर–भुतपानी, बेनी–लभ्लिहिल–ज्यामरुककोट, अर्थुङ्गे–पुलाचौर, महारानीथान–छाप डाडाखेत, बेनी–अुर्थङ्गे–तोरीपानी–पात्लेखेत सडक, खबरा र पुलाडाडा पुरुण्डी खानेपानी, रावण पार्क र जामुनाखर्क नमुना विद्यालय भवन बेनी नगरपालिकाको चालु आर्थिक वर्षमा सञ्चालित ठूला आयोजना हुन् ।  गत आर्थिक वर्षमा ठेक्का सम्झौता भएको खबरा खानेपानी, बेनी–अर्थुङ्गे–पुलाचौर–भुतपानी र बेनी–अर्थुङ्गे–तोरीपानी सडक योजना निर्माण सकिएको ईञ्जिनियर सुदिप गौतमले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तगका २१ वटा योजना कार्यान्वयनको चरणमा छन् ।  न्यायिक समितिमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेरा आएको छ र नयाँ दर्ता भएका छ सहित १० वटा फस्यौट भएको र दुई  प्रक्रियामा रहेका नगर उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो । रु ५ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको नगरपालिकाले पहिलो चौमासिकमा रु ८० लाख २७ हजार १८ हजार राजस्व संकलन गरेको छ । 

काठमाडौं:    पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय  सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवंगत ढुङ्गानाको सम्मानमा शोक सलामी अर्पण गरेको थियो । ढुङ्गानाको पार्थिव शरीरमा उहाँका छोराहरुले दागबत्ती दिनुभयो । पूर्वसभामुख ढुङ्गानाका सम्मानमा १७ तोपको सलामीसमेत दिइएको थियो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्न सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्री गण, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सांसद तथा विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्ति तथा सर्वसाधारण आर्यघाट पुग्नुभएको थियो । अस्पतालमा निधन हुनासाथ ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएकामा आजै बिहान ज्ञानेश्वरस्थित सानो गौचरणमा ल्याइ उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।  प्रधानमन्त्री, सभामुख, नेपाली कांग्रेसका सभापतिसहित विभिन्न राजनीतिक दलका नेता सानो गौचरन पुगेर उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्नुभयो । नेपाल सरकारले आजै उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।  उहाँको योगदानको सम्मान गर्दै सरकारले आज सार्वजनिक विदासमेत दिएको छ । नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरिरहनुभएका ढुङ्गानाले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।  राजनीतिक क्षेत्रमा देखिएको विकृति र विसङ्गतिबारे स्पष्ट र खरो रुपमा प्रतिक्रिया दिँदै आउनुभएका उहाँ संविधान तथा कानुनका ज्ञाता हुनुहुन्थ्यो ।  विसं २०४८ मा काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उहाँ प्रतिनिधिसभाको सभामुख बन्नुभएको थियो । नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न उहाँले ठूलो योगदान छ ।  विसं २०४७ को संविधान निर्माणका लागि गठित आयोगको सदस्यसमेत रहनुभएका ढुङगाना मुलुकमा अहिले देखिएको राजनीतिक अस्थिरताको अन्त्य गर्दै सङ्घीयतालाई सबल बनाउन वर्तमान संविधान संशोधनका लागि कानुनका ज्ञाता र राजनीतिक व्यक्तित्वसँग छलफल चलाउँदै आउनुभएको थियो ।

काठमाडौं:    नेपाल–भारत सहयोग कार्यक्रमअन्तर्गत चन्द्रागिरि नगरपालिका–६ स्थित ऐतिहासिक एवं धार्मिक चन्दन भराटेश्वर महादेव मन्दिरमा परिसरमा पूर्वाधार निर्माण हुने भएको छ । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, चन्द्रागिरि नगरपालिका र काठमाडौँस्थित भारतीय राजदूतावासका बीचमा त्रिपक्षीय समझदारी भएको छ । सोही समझदारीअनुसार आज यहाँ आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी र यहाँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले संयुक्त रुपमा पूर्वाधार निर्माणको शिलान्यास गर्नुभयो ।  कुल रु ६ करोड ५ लाख ७ हजार ४ सय ६७ लागत रहेको सो परियोजनाका लागि भारतीय दूतावासबाट रु ४ करोड ३६ लाख ९० हजार सहायता प्राप्त भएको जनाइएको छ । परियोजनाको अवधि २०८२ कात्तिक ११ गतेसम्मे रहनेछ ।  सो अवसरमा चन्द्रागिरि नगरप्रमुख गिरीले ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माणपछि दोस्रो चरणमा मन्दिरको पनि कलात्मक जीर्णोद्धार गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “धार्मिक पर्यटन प्रवद्र्धन गर्दै नगरको आर्थिक, सामाजिक विकास एवं आर्थिक समृद्धि हासिल गर्न उच्च प्राथमिकता दिएको छ ।”  नगरप्रमुख गिरिले नगरपालिकाको समृद्धिका लागि वैदेशिक सहयोग भित्रिने क्रम जारी रहेको जानकारी दिँदै थानकोटमा जर्मन सरकारको सहयोगमा रु १ अर्बको अस्पताल निर्माण हुने बताउनुभयो । उहाँले ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माणमा भारतीय दूतावासले आर्थिक सहयोग गरेकामा दूतावासलाई धन्यवाद दिनुभयो ।    सो अवसरमा चन्द्रागिरि नगरपालिकाका प्रशासकीय अधिकृत हेमराज अर्यालले ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिरमा परिसरमा पूर्वाधार निर्माणको समयमै सम्पन्न गर्न स्थानीय सरोकारवाला नागरिक तथा सङ्घसंस्थाले सकारात्मक सहयोग, निगरानी र अनुगमन गर्नुहुने अपेक्षा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “चन्द्रागिरि नगरक्षेत्रको ऐतिहासिक, सांस्कृतिक, धार्मिक क्षेत्रको संरक्षण, संवद्र्धन गर्दै धार्मिक पर्यटन प्रवद्र्धन गर्ने नीति रहेको छ । यसका लागि सबैको सामूहिक भावना आवश्यक पर्छ ।” सो अवसरमा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठ र  चन्द्रागिरि–६ का वडाध्यक्ष सञ्जय सिग्देलले चन्दन भराटेश्वर महादेव मन्दिरको ऐतिहासिक पक्षका बारेमा चर्चा गर्दै यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

काठमाडौं:    जिपी कोइराला मेमोरियल कलेजमा पत्रकारिता अध्ययनरत विद्यार्थीले राष्ट्रिय समाचार समिति(रासस)बाट गरिने समाचार सङ्कलन, सम्पादन र सम्प्रेषणबारे जानकारी लिएका छन् । कलेजमा स्नातक तह तेस्रो र चाँैथो वर्षमा पत्रकारिता विषयमा अध्ययनरत ४५ जना विद्यार्थीले आज रासस मिडिया सङ्ग्रहालय, समाचार कक्षको अध्ययन तथा अवलोकन गरेका हुन् ।  त्यस अवसरमा राससका अध्यक्ष धर्मेन्द्र झाले समाचारका धेरै प्रश्नको उत्तर ‘फिल्ड’ मा गएर मात्र भेटिने भएकाले स्थलगत रिर्पोटिङको महत्वबारे विद्यार्थीलाई जानकारी गराउनुभयो ।  उहाँले राससबाट हुने समाचार सेवा प्रवाहबारे प्रकाश पार्दै भन्नुभयो,“राससले नेपाली, अङ्ग्रेजी, मैथिली, नेपाल भाषालगायत फोटोसहित दैनिक ७ सयवटा कन्टेन्ट उत्पादन गर्दछ । सेवा २४ सै घण्टा दिइरहेका छाँै ।” राससका महाप्रबन्धक सिद्धराज राईले रासस सरकारी सञ्चारमाध्यम र न्युज बैँकको रूपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“हाम्रो ग्राहक भनेका मिडिया हुन् । हामीले समाचार उत्पादन गर्छौँ । ती समाचार आवश्यकताअनुसार प्रयोग हुन्छन् ।”  उहाँले पत्रकारिताका विद्यार्थीले जहिल्यै पनि ‘किन’ भन्ने प्रश्न गर्नुपर्ने तथा प्रश्न सोध्न डराउन नहुने सुझाउनुभयो । कलेजका शिक्षक शिवहरि घिमिरेले विद्यार्थीलाई समय–समयमा सैद्धान्तिक ज्ञानसँगै यस्ता खालका व्यवहारिक ज्ञानले कक्षाकोठाभन्दा राम्रो सिकाइको काम गर्ने बताउनुभयो ।  

गण्डकी:     गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पोखरामा क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगसहितको विशिष्टीकृत अस्पताल निर्माणको एजेण्डा समावेश गर्न प्रस्ताव गरेको छ ।  प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मन्त्रीस्तरीय निर्णय र प्रदेश मन्त्रिपरिषद्को सफारिससहितको उक्त प्रस्ताव आइतबार सङ्घ सरकारका मुख्यसचिव एकनारायण अर्यालसमक्ष पेस गर्नुभएको हो ।  स्रोतसाधन र बजेटको अभावमा एक हजार शय्याको विशिष्टीकृत अस्पताल निर्माणको काम अगाडि बढ्न नसकेकाले भौतिक पूर्वाधार निर्माण, शय्या, औँजार, उपकरणलगायतमा चीन सरकारको सहयोगको अपेक्षासहित उक्त प्रस्ताव गरिएको मन्त्री पाठकले बताउनुभयो । “प्रदेश स्थापना भएपछि पहिलो प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाका रुपमा विशिष्टीकृत अस्पताल बनाउने निर्णय गरे पनि स्रोतको अभावमा उक्त काम अझैसम्म अगाडि बढ्न सकेको छैन”, उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डाका रुपमा यो अस्पताल समावेश भएर परियोजना कार्यान्वयन हुनसक्यो भने गण्डकी प्रदेशवासीले महत्वपूर्ण लाभ लिन सक्छन् ।”  मन्त्री पाठकले गण्डकी प्रदेश चीनको भू–भागसँग जोडिएको र हालै यसै प्रदेशमा पर्ने कोराला नाकामा अध्यागमन कार्यालयसमेत स्थापना भएको अवस्थामा द्विपक्षीय लगानी तथा सहयोग आदानप्रदानमा थप सहजता थपिएको उल्लेख गर्नुभयो ।  “विशिष्टीकृत अस्पताल निर्माणमा गण्डकी प्रदेश सरकार र चीन सरकारबीच सहकार्य हुँदाको अवस्थामा दुवै देशका स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ता र विशेषज्ञका लागि अध्ययन तथा अनुसन्धानको अवसरसमेत सिर्जना हुन्छ”, उहाँले भन्नुभयो ।  उक्त अस्पताल स्थापना भएपछि क्यान्सर, मुटु, मिर्गौला रोग, जलन जस्ता जटिल स्वास्थ्य समस्यामा हुँदा सर्वसाधारणले प्रदेशमै गुणस्तरीय सेवा पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  अस्पतालमा एयर एम्बुलेन्ससहित आपतकालीन उद्धार सेवा उपलब्ध भई दुर्घटना तथा स्वास्थ्य विपद् व्यवस्थापनमा सहयोग पुग्ने जनाइएको छ ।  प्रस्तावित उक्त अस्पतालबाट परम्परागत चिनियाँ उपचार, आयुर्वेद चिकित्सा जस्ता सेवासमेत उपलब्ध गराउने उद्देश्य लिइएको मन्त्री पाठकले बताउनुभयो ।  पछिल्लो समय मुटु, मिर्गौला, क्यान्सर जस्ता रोगको बिरामीको सङ्ख्या बढ्दै गएकाले यी रोगको उपचारका लागि जिल्ला अस्पतालको रिफरल अस्पतालका रुपमा एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल निर्माणको योजना अगाडि बढाइएको उहाँको भनाइ छ । मन्त्री पाठकले केही समयअघि प्रधानमन्त्री ओलीलाई भेटी कास्कीको पोखरा महानगरपालिका–१६ स्थित जौवारी सिँचाइ विभागको २०० रोपनी जग्गा सोही अस्पताल निर्माण प्रयोजनका लागि प्रदेश सरकारलाई उपलब्ध गराइदिन माग गर्नुभएको थियो ।  प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा विशिष्टीकृत अस्पतालको योजना समेटिँदै आए पनि जग्गा र बजेट अभावका कारण कार्यान्वयनमा आउन सकेको छैन । “प्रधानमन्त्रीसमक्ष जग्गा व्यवस्थापनलगायत विभिन्न १२ वटा माग मन्त्रालयकातर्फबाट पेस गरिएको छ, प्रधानमन्त्रीले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको छ”, उहाँले भन्नुभयो ।  जटिल रोगको उपचार सेवाका लागि सर्वसाधारण काठमाडौँ जानुपर्ने बाध्यता अन्त्यका लागि पोखरामा सुविधासम्पन्न विशिष्टीकृत अस्पताल अत्यावश्यक रहेको मन्त्री पाठकले बताउनुभयो । स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर मन्त्रालयले काम सुरु गरेको मन्त्री पाठकको भनाइ छ । स्वास्थ्य क्षेत्रको नीतिगत, संस्थागत र संरचनागत सुधारको खाकासहित भावी कार्ययोजना बनाइएको उहाँले बताउनुभयो ।