मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

पोखरा:    गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्वसामु नयाँ चुनौतीका रूपमा देखापरेको आधुनिक दासत्व र मानव तस्करी अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । कोपिला नेपालको आयोजनामा पोखरामा आयोजित ‘दक्षिण एशियामा आधुनिक दासत्व र मानव ओसारपसारका विरुद्ध तीन दिवसीय क्षेत्रीय सम्मेलन’ को समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि भट्टले मानव बेचबिखन तथा ओसारपसार एक गम्भीर सामाजिक तथा मानवता बिरुद्धको विश्वव्यापी समस्या रहेको उल्लेख गर्नुभयो । उहाँले शुरुमा मानव बेचविखन दास र बधुवा श्रमिक वा यौनदासीको रुपमा मात्र सीमित रहेको आजको युगमा आधुनिक दासताका रुपमा देखापरेको बताउनुभयो ।  मानव बेचबिखन तथा ओसारपसारको समस्यामा विशेष गरी बालिका र महिला प्रभावित भएको भन्दै उहाँले आधुनिक दासतालाई रोक्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट प्रयत्न भइरहेको बताउनुभयो । मानवअधिकार विरुद्धको कार्यलाई रोक्न समाजले सकारात्मक भूमिका निर्वाह गर्न जरुरी रहेको उल्लेख गर्दै उहाँले पीडित तथा प्रभावितलाई सम्मानपूर्ण जीवनयापनका लागि उपयुक्त वातावरण सिर्जना गर्न सरकारका साथै नागरिक समाज र सबै सरोकारवालाले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । यो सम्मेलनबाट आर्जित ज्ञान र अनुभवलाई प्रयोग गर्दै बालबालिका तथा लैंगिक समानता सम्बन्धी नीति निर्माण र कार्यान्वयनमा रहेका पदाधिकारी एवं प्राज्ञिकहरु लाभान्वित हुने, नेपालका संघसंस्थाहरुले गरेको अभियान र प्रगति अन्तर्राष्ट्रियकरण गर्नमा सहयोग पुग्ने अपेक्षा पनि उहाँले गर्नुभयो ।   ‘चेतनाको अभाव, गरिबी, समाजमा विद्यमान असमानता, विभेद, शोषण, बेरोजगारी, लैंगिक विभेद, पारिवारिक हिंसा र अशिक्षा नै मानव बेचबिखन तथा ओसारपसारका प्रमुख कारणहरु हुन् ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो– ‘विश्वसामु आधुनिक दासत्वको अँध्यारो पक्षसँग कसरी लड्ने भन्ने गम्भीर चुनौतीपूर्ण प्रश्न तेर्सिएको छ । नेपाल र तेस्रो विश्वका अन्य मुलुकका लागि त झन् यो भयावह रूपमा देखापरेको छ ।’ मानव बेचविखन विरुद्ध जनचेतना वृद्धि गर्ने उद्देश्य राखिएको यस सम्मेलन दक्षिण एशियाली मुलुका अभियानकर्मीबीच आपसी सिकाई र राम्रो अभ्यासहरूको आदानप्रदानका लागि फलदायी बन्ने विश्वास व्यक्त गर्नुभयो ।   उहाँले भन्नुभयो  ‘दासत्व र मानव बेचविखन विरुद्ध साझा सञ्जाल निर्माण गर्न र सरोकारवालाबीच संवादलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रम लाभदायक रहनेछ ।’ सम्मेलनमा छिमेकी मित्र राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका लगायत विभिन्न मुलुकहरुमा सामाजिक तथा बालबालिकाका क्षेत्रमा कार्यरत अभियानकर्मीको सहभागिता रहेको छ । वाक फ्री र आईएलओको पछिल्लो प्रतिवेदन अनुसार संसारभर ५ करोड मानिस आधुनिक दासका रूपमा बाँचिरहेका छन् । मानवअधिकार आयोगको मानव बेचबिखनविरुद्धको प्रतिवेदन अनुसार नेपालमा वार्षिक करिब ३५ हजार व्यक्ति बेचिने गरेका छन् । नेपालको संविधान र कानुनले यस अपराधलाई रोकी नागरिकको मानव अधिकारको सम्मान गर्ने प्रयत्न पनि गरेको छ । संविधानको धारा २९ मा शोषण विरुद्धको हक सु्निश्चित गर्दै मानिसलाई बेचबिखन गर्न, दास बनाउन पाइने छैन र इच्छा विरुद्ध काममा लगाउन पाइने छैन भन्ने व्यवस्था छ ।  मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ मा मानव बेचबिखन र ओसारपसार गर्ने कसुरका विरुद्धमा कानुनी कारबाहीको व्यवस्था छ । राष्ट्र सङ्घीय दासत्व महासन्धिको नेपाल पक्ष राष्ट्र बनेको १९६३ मै हो।  यस्तै, जिउ मास्ने बेच्ने तथा शारीरिक शोषणको दमनको लागि व्यवस्था भएको महासन्धिको १९९५ मा पक्ष राष्ट्र बनेको हो। महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन महासन्धिको नेपालले १९९१ मा अनुमोदन गरेको हो। बाल अधिकार सम्बन्धी महासन्धि १९८९ को पनि नेपाल पक्ष राष्ट्र हो। नेपालमा वि।सं। १९८१ मै दासत्व उन्मुलन, २०५८ मा कमैया श्रम निषेध ऐनमार्फत सबै प्रकारका दास प्रथाको अन्त्य, २०६३ मा हलिया प्रथा अन्त्य र हरूवा–चरुवा समुदायको मुक्ति घोषणा गरिएको छ । 

कालीकोट:     हृदयाघातका कारण कालीकोट महावै गाउँपालिका–३ का प्रशासन सहायक केशरबहादुर सिंहको ३७ वर्षको उमेरमा निधन भएको छ ।  आज बिहान कार्यालय जाने तरखरमा रहनुभएका उहाँको आफ्नै निवासमा निधन भएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभयो ।       सत्र वर्षअघि उहाँ राष्ट्रसेवामा प्रवेश गर्नुभएको थियो । उहाँकी श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।  स्वर्गीय सिंहको आजै पादमघाटमा अन्तिम संस्कार गरिने अध्यक्ष सिंहले बताउनुभयो । उहाँले प्रशासन सहायक सिंहको निधनप्रति दुःख व्यक्त गर्दै पालिकाले एक कुशल राष्ट्रसेवक गुमाएको बताउनुभयो । 

काठमाडौं:    पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र भोलि सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र मधेस प्रदेशको पूर्वी भू–भागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ ।  आज दिउँसो देशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि साधरणतया मौसम बदलीदेखि सामान्यतया वर्षा रहने छ । आज राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनेछ ।   “तुलनात्मक रूपमा आजभन्दा भोलि सोमबार बढी बदली रहने र वर्षाको पनि सम्भावना रहेको छ”, उहाँले भन्नुभयो, “बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिमका पहाडी र उच्च हिमाली क्षेत्र र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।” पश्चिमी न्यूनचापीय प्रणालीको बढी प्रभाव सोमबार र मङ्गलबार रहने भएकाले बदली र वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । काठमाडौँको न्यूनतम तापक्रम बढ्यो शनिबारको तुलनामा आज काठमाडौँको न्यूनतम तापक्रम केही वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौँको न्यूनतम तापक्रम  सात दशमलव दुई डिग्री सेल्सियस मापन भएको छ ।  शनिबार पाँच दशमलव नौ डिग्री सेल्सियस मापन भएको थियो । राति काठमाडौँको आकाशमा बादल लागेको हुनाले न्यूनतम तापक्रम थोरै बढेको मौसमविद् महर्जनले जानकारी दिनुभयो । न्यूनतम तापक्रम बढेकाले काठमाडौँमा आज तुलनात्मक रूपमा बिहान कम चिसो महसुस भएको छ ।  गत मङ्सिर २९ गते काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री सेल्सियस पुगेको थियो ।

नवलपुर:    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट स्थित सिद्धान्त कलेजको वनविज्ञान सङ्कायतर्फको स्नातक तह आठौँ ‘सेमिस्टर’को ‘थेसिस’को नतिजा राकिँदा विद्यार्थी समस्यामा परेका छन्  ।  कृषि तथा वन विज्ञान विश्वविद्यालयले सो कलेजमा अध्ययनरत २९ जना विद्यार्थीको नतिजा रोकिदिँदा विद्यार्थी समस्यामा परेका हुन् । कलेजका विद्यार्थी आशिष थपलियाले आठौँ सत्रहान्तको थेसिसको नतिजा रोकिएको जानकारी दिनुभयो ।  “हामीसँगै भर्ना भएका वन विज्ञानतर्फका हेटौँडा र कटारीका विद्यार्थीको ‘रिजल्ट’ यही पुस १६ गते आयो तर हाम्रो रोकिएको छ, थेसिसको रिजल्ट नआएसम्म ट्रान्सकृप्ट पाइँदैन”, उहाँले भन्नुभयो, “यस विषयमा क्याम्पस प्रमुखसँग कुराकानी गर्न खोज्दा क्याम्पस प्रमुखले हामीसँग कुराकानी गर्नै खोज्नुभएन ।” क्याम्पस प्रमुखलाई आफूहरूको नतिजा प्रकाशनका बारेमा फोनमा कुरा गर्दा विद्यार्थीको अभिभावकलाई घरमा फोन गरेर मानसिक तनाव दिइएको विद्यार्थी थपलियाले गुनासो गर्नुभयो ।  “हामीले हाम्रो रिजल्ट रोकिएकोबारे कलेजसँग कुरा गर्न खोज्दा हामीलाई प्रहरी लगाएर थुन्ने धम्की दिइयो”, उहाँले भन्नुभयो, “हाम्रो घरमा अभिभावकलाई समेत फोन गरेर मानसिक तनाव दिइएको छ ।” कलेजका कारण आफूहरूको नतिजा रोकिँदा अब आउने नतिजामा उत्तीर्ण वर्ष २०२५ हुने भएकाले लोकसेवामा आवेदन तथा वैदेशिक अध्ययनमा जानसमेत असर पुग्ने उहाँको भनाइ छ । क्याम्पसका प्रमुख एवं प्रबन्ध निर्देशक छवि कँडेलले विश्वविद्यालयको गल्तीका कारण विद्यार्थीको नतिजा रोकिएको बताउनुभयो ।  “हामीले आन्तरिक मूल्याङ्कनको नम्बर पठाउने अन्तिम दिनमा विद्यार्थीहरूको नम्बर इमेल गरेर विश्वविद्यालयको परीक्षा शाखामा पठाएका थियौँ”, उहाँले भन्नुभयो, “विश्वविद्यालयले इमेल नहेरी अरु दुई कलेजको रिजल्ट निकाल्दा हाम्रो कलेजको रोकिएछ ।”  विद्यार्थीहरूको नतिजा रोकिएको विषयमा विश्वविद्यालयसँग कुराकानी भइरहेको जनाउँदै क्याम्पस प्रमुख उहाँले चाँडै नै विद्यार्थीहरूको नतिजा प्रकाशन हुने बताउनुभयो ।  आठौँ सत्रहान्तका विद्यार्थीसँग कलेजले अतिरिक्त शुल्कसमेत माग्दै आएको विद्यार्थीको गुनासो छ । आठौँ सत्रहान्तका विद्यार्थी प्रेमकृष्ण साहले भर्ना गर्ने बेलाबाट नै कलेजमा धेरै समस्याको सामना गर्दै आएको बताउनुभयो ।  “हामी विश्वविद्यालयको आठौँ ब्याच तथा सिद्धान्त कलेजको दोस्रो ब्याचको विद्यार्थी हो”, उहाँले भन्नुभयो, “कलेजले प्रयोगात्मक परीक्षा नलिने तर शुल्क लिने गरेको छ । विद्यार्थीसँग भर्ना हुने बेलामा मागेको धरौटी रकमसमेत फिर्ता नगर्ने कलेजले जनाएको छ ।” कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट बिएस्सी फरेष्ट्रीतर्फको सम्बन्धन लिएर शैक्षिकसत्र २०७५ बाट सिद्धान्त कलेजले अध्ययन अध्यापन गराउँदै आएको थियो । कलेजमा बिएस्सी फरेष्ट्रीतर्फ दोस्रो ब्याचका रूपमा शैक्षिकसत्र २०७६ /२०८१ समूहमा भर्ना लिएको थियो ।  

पर्वत:     पर्वतको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ ।       पीपलटारीस्थित तल्लो रोहोटेका धु्रव रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा छिमेकी ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो । मृतक पौडेल चिया पिउन र दूध लिन रेग्मीको घरमा जानुभएको थियो ।       घरधनी ५२ वर्षीय रेग्मी गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।       आगलागीलगत्तै सदरमुकाम कुश्माबाट पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।  आगलागीबाट घरमा क्षति पुगेको बताउँदै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिनुभयो । मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइएका प्रहरीले जानकारी दिएको छ । 

पोखरा:    गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकी विश्वविद्यालयको आयोजनामा भएको “गण्डकी विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्मेलन–२०२५” ले प्रदेशको शिक्षा र अनुसन्धानमा योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।  पोखरामा “उच्च भविष्यका लागि नेटवर्किङ माइन्ड्स” विषयलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त सम्मेलनको महत्वलाई उनले उजागर गरेका हुन् ।   मन्त्री थापाले गण्डकी प्रदेशलाई शिक्षा, अनुसन्धान र सामाजिक विकासको केन्द्रका रूपमा स्थापित गर्ने दिशामा यस किसिमका अन्तर्राष्ट्रिय मञ्चहरूको भूमिका निर्णायक हुने बताए ।   उनले डा. सन्दुक रुइतजस्तो विश्वप्रसिद्ध व्यक्तित्वसँगको संवादले सबैलाई प्रेरित बनाएको र प्रदेशको विकासका लागि ठोस योजनाहरू निर्माण गर्न थप उत्प्रेरणा मिलेको उल्लेख गरे । सम्मेलनमा प्राज्ञिक, अनुसन्धानकर्ता र सामाजिक अगुवाहरूले आफ्ना विचार प्रस्तुत गरे । गण्डकी प्रदेशलाई एक शिक्षामा आधारित, नवीन र समृद्ध प्रदेश बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री थापाले यस्ता सम्मेलनहरूले प्रदेशलाई थप ऊर्जा दिने बताए । कार्यक्रममा डा. सन्दुक रुइतले आफ्नो अनुभव र दृष्टिकोण प्रस्तुत गर्दै नेटवर्किङ, सहयोग र समर्पणले कसरी उज्ज्वल भविष्य निर्माण गर्न सकिन्छ भन्नेबारे विचार व्यक्त गरे । सम्मेलनमा विभिन्न सत्रहरू सञ्चालन गरिनुका साथै प्रदेशको युवा, खेलकुद र सामाजिक विकासका लागि सम्भावनाका क्षेत्रहरूबारे छलफल समेत गरिएको थियो ।

काठमाडौं:    देशभरका साना तथा मझौला उद्योगी व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको अध्यक्षमा मनोजबाबु श्रेष्ठ निर्वाचित हुनुभएको छ । महासङ्घको आज सम्पन्न सातौँ वार्षिक साधारणसभा एवं तेस्रो महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा ९२ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो । अध्यक्ष श्रेष्ठ खिचापोखरी–न्युरोड व्यापार सङ्घको पूर्वअध्यक्षसमेत हुनुहुन्छ । यस्तै, महासङ्घको वरिष्ठ उपाध्यक्षमा कमल अग्रवाल र हरिबहादुर गौतम, प्रथम उपाध्यक्षमा लक्ष्मी खड्का र हरिप्रसाद पाण्डे, १३ उपाध्यक्षमा गणेशकुमार न्यौपाने, गोरखबहादुर थापा, कुसुम महर्जन, दीपकचन्द्र प्रधान, रामप्रसाद अवाल, जयकृष्ण शर्मा, पार्वती पौडेल भट्ट, धिरेन्द्र रिजाल, मिलन श्रेष्ठ, शिवप्रसाद ढकाल, सागर शाक्य, रामकुमार तिमल्सिना र लेखनाथ पौडेल चयन हुनुभएको छ । यसैगरी, महासचिवमा नवीन लुइँटेल, उपमहासचिवमा रामकुमार पण्डित, नारायणप्रसाद न्यौपाने र लवराज भण्डारी, सात सचिवमा किशोरकुमार गौतम, केदारप्रसाद न्यौपाने, विजुरत्न बज्राचार्य, देवराज कार्की, सुरेन्द्रराज सुवेदी, गोपाल घिमिरे र पृथ्वीनारायण अधिकारी चयन हुनुभएको छ । सात सहसचिवमा प्रदीप घिमिरे, हरिप्रसाद पाण्डे, सुमित लामा, दीपककुमार श्रेष्ठ, जयराज बजगाईँ र मुलुकसिंह तामाङ, कोषाध्यक्षमा हिमलाल खराल र सहकोषाध्यक्षमा त्रिलोचन सुवेदी, यमुना श्रेष्ठ र राममणि भट्टराईलाई चयन गरिएको छ । साना तथा मझौला व्यवसायीको हकहित र अधिकारका लागि स्थापना भएको उक्त महासङ्घमा हाल देशभरका दुई दर्जनभन्दा बढी सङ्घ आबद्ध छन् । महासङ्घमा हाल २५ हजारभन्दा बढी व्यवसायी आबद्ध रहेको महासङ्घका निवर्तमान अध्यक्ष कुमार कार्कीले जानकारी दिनुभयो ।

महोत्तरी:    मुटु कमाउने जाडोबीच लुगा नभएर कष्ट झेल्दै आएका महोत्तरीको मटिहानी–४ र ९ का दलित परिवारले नेपाली सेनाको सहयोगले न्यानो ओढ्ने पाएका छन् ।  दुवै बस्तीका एक सय २३ परिवारलाई सेनाको परिकौली (महोत्तरी) स्थित गोरखनाथ गण ब्यारेकले ओढ्ने मण्डी (ऊनी कम्बल) शनिबार वितरण गरेको हो । शीतलहरको यो राहत पाउने उनीहरु अतिविपन्न मुसहर र डोम समुदायका परिवार हुन् । मटिहानी–८ स्थित श्रीराम माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रममा गोरखनाथ गणका गणपति प्रमुख सेनानी विनोदविकास पाठक, मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल र जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले सेनाप्रदत्त कम्बल मुसहर र डोम परिवारलाई प्रदान गर्नुभएको हो । जिल्लामा नेपाली सेनाले प्रत्येक वर्षजसो शीतलहर प्रभावित बस्तीका अतिविपन्न परिवारलाई कम्बल वितरण, चोकचोकमा आगो बाल्ने र बटुवालाई तातो चिया खुवाउने कार्य गर्दै आएको छ । जनताको दुःखमा एकाकार हुन गरिब बस्तीमा कम्बल वितरण गरिएको गणपति प्रमुख सेनानी पाठकको भनाइ छ । सेनाले जाडोमा सहयोगका लागि अतिविपन्न बस्तीका दलित परिवार छानेर प्रशंसनीय कार्य गरेको मटिहानी नगरप्रमुख मण्डलले बताउनुभयो ।  शीतलहर प्रभावितलाई न्यानो वितरण गर्ने समारोहमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृत, नगरका जनप्रतिनिधि र सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।  महोत्तरीका सुदूरदक्षिण र मध्यभेगमा पुस तेस्रो साता सुरु भएदेखि नै बाक्लो हुस्सुले ढाकेर चिसो स्याँठ बहने क्रमले सर्वसाधारण अत्यन्त कष्टकर अवस्थामा छन् । यो अवस्थामा सेनाले सराहनीय कार्य गरेको मटिहानी–७ का ९० वर्षीय विन्देश्वरीप्रसाद मण्डल बताउनुहुन्छ ।

पोखरा:    वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत पोखरामा यस वर्षको श्रीपती समाज सेवा राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल रुइतलाई  प्रदान गरिएको हो ।  तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशकसमेत रहनुभएका डा रुइतलाई गुठीको ३२औँ वार्षिक साधारणसभा समारोहमा पोखरा–९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीलगायतले शनिबार रु दुई लाख २२ हजार दुई सय २२ सहित श्रीपति समाज सेवा पदक र ताम्रपत्रबाट पुरस्कृत गर्नुभयो । कार्यक्रममा डा रुइतले सम्मानले आफूलाई जिम्मेवार बन्दै थप समाज सेवाका लागि अभिप्रेरित गरेको बताउनुभयो । यसैगरी सामाजिक पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार नारायण कार्की सम्मानित हुनुभएको छ । पत्रकारिताका माध्यमबाट सामाजिक सेवामा पु¥याएको योगदानको कदरस्वरुप उहाँलाई नगद रु २२ हजार दुई सय २२ राशिसहित दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको हो । देश र जनताका लागि विपद्मा उद्धार तथा राहत सहयोग, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा, विज्ञान प्रविधि, सामाजिक जागरण, मानवीय सेवा र सामुदायिक विकासको क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको श्रीपति कोइराला गुठीका सचिव नवराज कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, “मानवीय सेवाका क्षेत्रमा र विशेषगरी आँखा उपचारमा गर्नुभएको योगदानको कदर गर्दै डा रुइतलाई पुरस्कृत गरेका हौँ ।” पुरस्कृत व्यक्तित्व छनोटका लागि गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाको संयोजकत्वमा समाजसेवी, बुद्धिजिवीसहितको ६ सदस्यीय समिति गठन गरिएको थियो । छनोट समितिको सिफारिसलाई गुठीको बैठकले अनुमोदन गरी गत असार २७ गते पुरस्कृत व्यक्तित्वको नाम सार्वजनिक गरेको थियो ।  यसअघि उक्त पुरस्कारबाट माइती नेपाल, राष्ट्रिय आविष्कार केन्द्र, सर्लाहीको पद्म भवानी नमूना विद्याश्रम र पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भइसकेका छन् ।