नवलपुर: यस वर्ष चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदी आसपासका सिमसार क्षेत्रमा जलपन्छीको प्रजाति र सङ्ख्यामा कमी आएको छ । सोमबारदेखि सुरु भएको जलपन्छी गणना अन्तर्गत चरा गणनामा संलग्न निकुञ्जका मध्यक्षेत्र संयोजक एवं चराविज्ञ मनेष लिम्बूले विगतमाझँै चराको प्रजाति र सङ्ख्या नभेटिएको बताउनुभयो । “अघिल्लो वर्ष जलपन्छी गणनामा ४७ प्रजातिका चरा भेटिएका थिए”, उहाँले भन्नुभयो, “यस वर्ष २८ प्रजातिको मात्र चरा भेटिए ।” साना चराको सङ्ख्यासमेत थोरै भेटिएको उहाँको भनाइ छ । विगतमा गणना गरिएको जुरे हुटिट््याउँ, चित्र दङ्गालगायत जलपन्छी यसपटक नभेटिएको उहाँले जानकारी दिनुभयो । “चखेवा र खोया हाँसको सङ्ख्या भने विगतमाझैँ भेटिएको छ”, उहाँले भन्नुभयो । नदीमा बढेको प्रदूषणका कारण यस क्षेत्रमा जलपन्छी न्यून आएको हुनसक्ने उहाँले बताउनुभयो । गणनाको केही दिन अगाडि निकुञ्ज क्षेत्रमा पहिलोपटक ‘कालो टाउके लेक चरी’ भेटिएको थियो । “यसअघि यो चरा हामीले निकुञ्ज क्षेत्रमा कहिल्यै भेटेका थिएनौँ”, लिम्बूले भन्नुभयो, “दुई हप्ता अगाडि भेटिएको यो चरा चितवनका लागि नयाँ प्रजाति हो ।” हाल उत्तरी ध्रुव, रुस, चीन, मङ्गोलियालगायत अत्यधिक चिसो क्षेत्रबाट जाडो छल्न र खानेकुराको खोजीमा विभिन्न ताल, तलैया, नदी र जङ्गलमा चरा आउने उहाँले बताउनुभयो । निकुञ्जको पश्चिमी क्षेत्र र नवलपुरका तालतलैयामा भने पुस २७ गतेमात्र जलपन्छी गणना गर्ने तयारी गरिएको संयोजक डिबी चौधरीले बताउनुभयो । विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा देशभरका ताल, तलैया, नदी र सिमसारमा पाइने जलपन्छीको सङ्ख्या, प्रजाति र बासस्थानको अवस्थाबारे जानकारी लिन यस वर्षको गणना यही पुस २० गतेबाट माघ ६ गतेसम्म सञ्चालन हुने चौधरीले बताउनुभयो । “चरा गणना स्वयंसेवी रूपमा गरिने भएकाले सबैलाई पायक पर्ने समय मिलाएर आगामी शनिबार र आइतबार गणना गर्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “जलपन्छी गणनामा सहभागी हुने गणक होटल व्यवसायी, नेचरगाइड हुने भएकाले अन्य ठाउँमा भन्दा केही दिन पछाडि गणना गर्न लागिएको हो ।” यस क्षेत्रमा पाँच समूह बनाएर दुई दिनसम्म चरा गणना गर्ने योजना बनाइएको छ । जलपन्छी गणनाका क्रममा पानीमा आश्रित तथा पानी वरिपर बस्ने परम्परागत र बसाइँसराइ गर्ने चराहरूको तथ्याङ्क सङ्कलन गरिने जनाइएको छ । चराको प्रारम्भिक तथ्याङ्क गणना सकिएलगत्तै गरिने भए प्नि विस्तृत प्रतिवेदन आगामी वैशाख १ देखि ७ गतेसम्म मनाइने वन्यजन्तु सप्ताहका अवसरमा सार्वजनिक गरिने संयोजक चौधरीले बताउनुभयो ।
मोरङ: जिल्लाको आर्थिक एवं औद्योगिक विकासका लागि उद्योग सङ्गठन मोरङले ‘विराट एक्स्पो–२०२५’ आयोजना गर्न लागेको छ । सङ्गठनले विराटनगर महानगरपालिका–१४ जतुवास्थित डिग्री क्याम्पसको मैदानमा आगामी माघ ११ गतेदेखि २० गतेसम्म एक्स्पो (व्यापार तथा औद्योगिक मेला) आयोजना गर्न लागेको सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । विराट एक्स्पोमा नौ वटा पेभिलियन (व्यापारी कक्ष) अन्तर्गत दुई सय ६८ स्टल रहने एक्स्पो व्यवस्थापन समितिका संयोजक भोलेश्वर दुलालले जानकारी दिनुभयो । उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशका स्टार्टअप भिजन, कोशी ह्याकाथुन, रोजगार, व्यावसायिक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधि, अटोमोबाइल्सका, औद्योगिक कर्पोरेट, कृषि, पर्यटन, खाद्यका स्टल रहने उल्लेख गर्नुभयो । । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, मोरङ उद्योग व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल साह, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, उद्योग सङ्गठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी र उपाध्यक्ष विपिन काबराले एक्स्पो आयोजनाले यस क्षेत्रमा आर्थिक कारोबारमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । विराट एक्स्पो–२०२५ को सम्पूर्ण आन्तरिक तयारी पूरा भइसकेको र स्टलका लागि मैदान निर्माण सुरु भएको संयोजक दुलालले जानकारी दिनुभयो ।
काठमाडौं: काठमाडौँ उपत्यकासहित आसपास, तराइ एवं पूर्वी जिल्लामा महसुस गरिएको भूकम्पको केन्द्रविन्दु नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्रमा भएको प्रारम्भिक अनुमान गरिएको छ । आज विहान करिव छ वजेर ५० मिनेट जाँदा भूकम्पको महसुस गरिएको थियो । प्रारम्भिक अनुमानका अनुसार सो क्षेत्रमा ७ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ । भूकम्पबाट भएको क्षतिका बारेमा विवरण प्राप्त हुन बाँकीे छ ।
काठमाडौं: हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले गर्दा देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज विहान पश्चिम तराईका केही स्थानमा कुहिरो लागेको छ । विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भागका केही स्थान तथा मधेस, लुम्बिनी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा गण्डकी, बागमती र कोशीका पहाडी भू–भागका केही स्थान तथा मधेस, लुम्बिनी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
काठमाडौं: संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावास अबुधाबीले राजदूतावास, गैरआवासीय नेपाली सङ्घ, युएईलगायत अन्य सङ्घ–संस्थाको सहयोगमा घुम्ती शिविर सञ्चालन गरेको छ । यही जनवरी ५ (पुस २१ गते) अबुधाबीबाट करिब तीन सय किलोमिटर टाढा रसअल खैमहमा राहदानी घुम्ती शिविर सञ्चालन गरी सरकारले श्रम सुशासनका क्षेत्रमा अवलम्बन गरेका नीतिगत, कानुनी तथा प्रक्रियागत सुधारका बारेमा जानकारी गराएको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । दूतावासले सामाजिक सुरक्षा कोषमा श्रमिकको आबद्धता, सोको प्रक्रिया, तथा औपचारिक माध्यमबाट विप्रेषण पठाउँदा प्राप्त हुने फाइदा, पुनःश्रम स्वीकृतिसम्बन्धी व्यवस्था, वित्तीय साक्षरतालगायत विविध विषयमा जानकारी दिएको हो । उक्त घुम्ती शिविरमा तीन सय ३५ जना नेपालीको राहदानी नवीकरण गर्नुका साथै त्यहाँ उपस्थित पाँच सय ५० नेपाली श्रमिकलाई नेपाल र युएईका विद्यमान श्रम कानुनका विषयमा जानकारी प्रदान गरिएको थियो । राहदानीको म्याद समाप्त भइसकेका, प्रवेशाज्ञाको म्याद समाप्त भइसकेका र राहदानी हराई समस्यामा परेका व्यक्तिको राजदूतावासले प्राथमिकताका साथ नवीकरण गर्ने गरिएको नेपाली राजदूतावास अबुधाबीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । शिविरबाट नेपाली श्रमिकले विद्यामान कानुनी प्रक्रियाकाबारे जानकारीसहित राहदानी नवीकरणको सुविधा पाएका छन् ।
पोखरा: पोखरामा भूकम्पको धक्का महसुुस भएको छ । कही समय भूकम्पको कम्पन गएको हो । केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् । केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।
काठमाडौं: सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका आरोपित प्रतीक थापाबारे कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज उक्त प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो । उक्त प्रकरणमा उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेकामा थापाले त्यसविरुद्ध सर्वोच्च अदालतमा आज निवेदन दर्ता गराउनुभएको थियो । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार सोही निवेदनमाथिको सुनुवाइपछि थप कागजात मगाउने आदेश गरिएको जानकारी दिनुभयो । यसअघि गत असार १४ गते थापालाई सो प्रकरणमा प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौँले निजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि सो निर्णयविरुद्ध थापाले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । उच्च अदालतले पनि जिल्लाकै निर्णयलाई सदर गरेपछि निजले धरौटीमा रिहा हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो ।
काठमाडौं: सरकारले सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ । यातायात व्यवस्था विभागले सोमबारदेखि यात्रुवाहक तथा मालवाहक सार्वजनिक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी गराएको हो । यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको छ । सार्वजनिक यातायात सञ्चालनसंग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा यस विभागले गरेको बजार अध्ययन तथा विश्लेषण र सरोकारवाला पक्षहरुसँग गरिएको परामर्श समेतका आधारमा पहिचान गरिएका यातायातका श्रमिकको पारिश्रमिक, इन्धन, टायर, व्याज, संचालन खर्च, हाककट्टी र संचालन मुनाफा लगायतका मूख्य सूचकहरुमा देखिएको मूल्य वृद्धिको आधारमा सार्वजनिक यातायातका सवारीको भाडामा गरिनु पर्ने समायोजनका गरिएको विभागले जनाएको छ । सार्वजनिक यातायातका सवारीहरुको भाडादर यस विभागको मिति २०८१-०९-२२ को निर्णयानुसार आजै बाट लागु हुने बताइएको छ । हेर्नुहोस कहाँ कति सूची
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले देशको लोकतान्त्रिक आन्दोलन मात्र नभएर सामाजिक र आर्थिक रुपान्तरणमा नेपाली पत्रकारिता क्षेत्र र नागरिक संस्थाका हैसियतले नेपाल पत्रकार महासङ्घले पु¥याएको योगदान सराहनीय रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रको सृदृढीकरण र स्थायित्व पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “स्वतन्त्र, निष्पक्ष एवं व्यावसायिक पत्रकारिता तथा जनताको सूचनाको हक लोकतन्त्रको आधारस्तम्भ भएकाले हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई मौलिक हकका रुपमा प्रत्याभूत गरेको छ । त्यही भएर लोकतन्त्रको सृदृढीकरण र यसको स्थायित्व पनि पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्छ भन्ने म ठान्दछु ।” राष्ट्रपतिले सूचनाप्रविधिको क्षेत्रमा भएको विकासले समाचारको विषयवस्तु, सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तनले पाठकको सही सूचना पाउने चाहना पूरा गर्न सहज भएको बताउनुभयो । उहाँले सूचना प्राप्ति र सम्प्रेषणमा सहज भएसँगै चाँडो सूचना दिने होडबाजीमा मिथ्या सूचना प्रवाह हुनसक्ने र त्यसले समाजलाई दिग्भ्रमित पार्नसक्ने जोखिमतर्फ आमसञ्चारका माध्यमहरू सचेत हुन जरुरी भएको बताउनुभयो । राष्ट्रपतिले उपलब्ध नवीन सूचना प्रविधिको अधिकतम प्रयोगसँगै राज्यको चौथो अङ्गका रुपमा रहेका सञ्चारमाध्यमले स्वतन्त्र, निष्पक्ष र वस्तुनिष्ठताजस्ता व्यावसायिक धर्मको अधीनमा रही सत्यको अन्वेषण र त्यसको सम्प्रेषणमा वर्तमानमा देखिएका चुनौतीलाई चिर्दै सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति पौडेलले श्रमजीवी पत्रकारको हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र व्यावसायिक पत्रकारिताका लागि महासङ्घले आगामी दिनमा अझ प्रभावकारी ढङ्गले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

