काठमाडौं: प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हँुदा आन्तरिक हवाई उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुनसकेको छैन । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौँ बाहिरका विमानस्थलमध्ये भद्रपुर, भरतपुर, पोखरा र सुर्खेतबाहेक अन्य विमानस्थलमा उडान हुनसकेको छैन । काठमाडौँ विमानस्थलमा भने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित रूपमा सञ्चालन भइरहेको छ । आन्तरिकतर्फ काठमाडौँबाट सिधा उडान हुने कतिपय विमानस्थलमा उडान हुन नसकेको जनाइएको छ । बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले हाल भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत उडान खुले पनि अन्य विमानस्थल कम भिजीविलिटीका कारण उडान हुनसकेको छैन । तराई क्षेत्रका बाक्लो हुस्सुका कारण विमानस्थल ढिलोगरी खुल्ने गरेको उहाँले बताउनुभयो । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशको पूर्वी भूभागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । “तुलनात्मक रूपमा आजभन्दा भोलि सोमबार बढी बदली रहने र वर्षाको पनि सम्भावना रहेको छ”, मौसमविद् महर्जनले भन्नुभयो, “बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।” उहाँले पश्चिमी न्यूनचापीय प्रणालीको बढी प्रभाव सोमबार र मङ्गलबार रहने भएकाले बदली र वर्षाको सम्भावना रहेको बताउनुभयो ।
गण्डकी: कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा चलिरहेको छ । शुक्रबारदेखि सुरु भएको प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस आज पनि जारी रहने अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो । प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले शुक्रबार बहस गरेका थिए । पछाईँ र जोशीका कानुन व्यवसायीको बहस अझै नसकिएको श्रेस्तेदार खनालले बताउनुभयो । यसअघि सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले उक्त मुद्दामा बहस गरेका थिए । प्रतिवादीहरूको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मङ्गलबारदेखि थुनछेक बहस सुरु भएको थियो । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जाहेरवालाका तर्फबाट कानुन व्यवसायीको बहस सकिएपछि प्रतिवादी पक्षका कानुन व्यवसायीको बहस सुरु भएको बताउनुभयो । “प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि पुनः हाम्रोतर्फबाट जवाफी बहस सुरु हुन्छ”, उहाँले भन्नुभयो । थुनचेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । सभापति लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिनुभएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएको थियो । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ ।
काठमाडौं: सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी हुनुभएको छ । अध्यक्ष पोखरेलले तीन सय ६८ मत प्राप्त गर्नुभएको छभने प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता महेश थापाले एक सय ८१ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा अम्बरबहादुर राउत, सचिवमा रमणकुमार श्रेष्ठ, पुष्पराज पौडेल र सहसचिवमा पुनदेवी महर्जन, कोषाध्यक्ष रामचन्द्र पौडेल, महिला सदस्यमा शशि बस्नेत विजयी हुनुभएको छ । खुल्ला सदस्यमा दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ, प्रमोद रेग्मी, पुरुषोत्तम लोहनी, प्रदीपकुमार राजवंशी र शतिशराज मैनाली विजयी हुनुभएको छ । कुल छ सय २६ मतदाता रहेको बारको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन भएको थियो ।
पोखरा: त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ को नवौं बार्षिक साधारण सभा एवं तेश्रो अधिवेशनले पुन सुमन भट्टराईको अध्यक्षतामा संचालक समितिको चयन गरेको छ । सभाले कलेजको संचालकमा बलराम ढकाल, भरतकुमार अधिकारी, यदुराज आचार्य, मधुसुदन सापकोटा, हरि बहादुर वुढाथोकी, सोमनाथ बास्तोला, शान्ति खनाल र विनोद लामिछाने चयन गरेको छ । संचालक समितिले मुक्तिनाथ सापकोटालाई कम्पनी सचिवमा नियुक्ती गरेको छ । यसैगरी राजेन्द्रमणि लामिछाने, बाबुराम गिरी, छत्रधर आत्रेय, विष्णु प्रसाद बराल र लोकराज ढकाललाई सल्लाहकारमा चयन गरेको छ । कलेजले त्रिभुवन विश्वविद्यालयबाट गुणस्तर सुनिश्चितताको प्रमाण पत्र प्राप्त गरेपछि अध्ययनका लागि नयाँ कार्यक्रम थप गर्ने जनाएको छ । यसैगरी आवश्यक पूँजि जुटाउन सर्वसाधारणमा आइपिओ जारी गर्न संभाव्यता अध्ययनका लागि एक समिति गठन गर्ने समेत जनाएको छ । यसअघि साधारण सभा एवं अधिवेशनको उद्घाटन गर्दै, गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दु कुमार थापाले बजारको माग अनुरुपको दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक कार्यक्रम समावेश गर्न आग्रह गरे । मन्त्री थापाले शिक्षाको गुणस्तर सुधारका लागि विद्यालय र शिक्षामा अभिभावकको भूमिका समेट्नेगरी नीतिमा सुधार हुनु पर्नेमा जोड दिए । उनले विद्यार्थीका लागि शुक्रबारलाई झोला र किताव विहिन बनाउने र उत्पादनसँग जोड्ने गरी मन्त्रालयले कार्यक्रम ल्याएको उल्लेख गरे । मन्त्री थापाले उच्च शिक्षामा समेत कक्षा छाड्ने समस्या बढ्दै गएको उल्लेख गर्दै पाठ्यक्रममा सुधारगरी उत्पादन र रोजगारीमा जोड्दै लैजानु पर्नेमा जोड दिए । उनले शिक्षा नीतिमा देखिएका समस्या समाधान गर्न संघीय शिक्षा मन्त्रीसँग आफ्नो कुराकानी भैरहेको उल्लेख गर्दै, त्यसले प्रदेशलाई पनि सहज हुने बताए । नैतिक शिक्षाका साथ योग र ध्यान एवं प्रणायायलाई समेत शिक्षामा समेट्नु पर्नेमा मन्त्री थापाले जोडदिए । कार्यक्रममा पूर्व कानून मन्त्री यज्ञवहादुर थापाले शिक्षा सुधारका लागि अभिभावक, शिक्षक र विद्यार्थीको समान भूमिका रहने उल्लेख गर्दै, सवैलाई जिम्मेवार बनाउन जोड दिए । उनले विद्यार्थीहरु अध्ययनका लागि विदेश जाने अहिलेको लहरले करोडौं लगानी भएका क्याम्पस तथा विद्यालयहरु खण्डहरमा परिणतहुन सक्ने संकेत गरे । कलेजका प्राज्ञिक सल्लाहकार प्रा.डा. इन्द्र प्रसाद तिवारीले गुणस्तर सुनिश्चितताको प्रमाण पाएपछि कलेजमा एकेडेमिक कार्यक्रम थप गर्नु पर्नेमा जोड दिए ।
सर्लाही: सर्लाहीको हरिवनमा छ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ । हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा आज शव फेला परेको प्रहरीले जनाएको छ । उखुबारीमा गाडेको अवस्थामा फेला परेको शवको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । मृतक प्रसाईं गत पुस १५ गतेदेखि बेपत्ता हुनुभएको थियो । पुस १५ गते बिहान बरहथवा पैसा लिन जान्छु भनेर हिँडेका प्रसाईं साँझ अबेरसम्म पनि नफर्किएपछि परिवारले खोजी गरेका थिए । कतै फेला नपरेपछि पुस १६ गते बिहान इलाका प्रहरी कार्यालय हरिवनमा निवेदन दर्ता गरेका प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । “परिवारले १६ गते बेपत्ता भनेर निवेदन दर्ता गरेपछि प्रहरीले उहाँको निरन्तर खोजी गरिरहेको थियो”, प्रहरी उपरीक्षक श्रेष्ठले भन्नुभयो, “खोजतलासको क्रममा उहाँले लगाएको जुत्ता फेला परेपछि प्रदेश प्रहरी कार्यलयबाट कुकुर ल्याएर खोजी गरेका थियौँ । पुस १८ गते सोही वडाको नहर छेउमा मोटरसाइकल र च्यातिएको फोटोसमेत फेला परेको थियो । त्यसपछि १९ गते घटनास्थलको केही किलोमिटरको दूरीमा पर्स फेला परेपछि खोजी तीव्र पारिएको थियो । आज उखुबारीमा शव गाडेको अवस्थामा फेला परेको हो ।” उहाँका अनुसार प्रादेशिक अस्पतालका चिकित्सक र जिल्लाका सुरक्षा अधिकारी, सरकारी वकिलसमेतको उपस्थितिमा खाल्डो खनेर शव निकालेको हो । प्रारम्भिक मुचुल्का पछि शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेकोे छ । अनुसन्धान कार्यमा बाधा पुग्ने भन्दै निजहरूको पहिचान भने गोप्य राखिएको प्रहरीले जनाएको छ । प्रसाईंको हत्या पछि गाउँ त्रासमा परेको छ । मृतक प्रसाईंले इँटा भट्टा सञ्चालन गर्दै आउनुभएको थियो ।
कञ्चनपुर: ‘ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति प्रकट गरेको छ । प्रतिष्ठानका अध्यक्ष धु्रवबहादुर सिंहले सुदूरपश्चिमको मौलिक संस्कार, भाषा–संस्कृतिलाई होच्याउने खालका गीत सङ्गीतप्रति आपत्ति प्रकट गर्नुभएको हो । प्रेस विज्ञप्ति जारी गर्दै उहाँले भूगोल विशेष क्षेत्र, सम्प्रदाय, जातजाति तथा समुदायसँग जोडिएको मौलिक कला संस्कृति, परम्परालाई अपमानित गर्ने खालका गीत सङ्गीत प्रसारणमा रोक लगाउनका लागि सम्बन्धित निकायसँग माग गर्नुभएको छ । काली–कर्णालीको मौलिक संस्कार र सभ्यतासँग जोडिएका ओजपूर्ण शब्दहरूलाई शिष्टताको खिल्ली उडाउने र अपहेलित गराउने कार्य तत्काल बन्द हुनुपर्ने उहाँको भनाइ रहेको छ । संस्कृति र परम्परालाई अपमानित गर्ने खालका सामाजिक सञ्जालमा प्रकाशन, प्रसारण हुँदै आएका अपाच्य गीत सङ्गीत तथा विषयवस्तु प्रकाशन प्रसारण गर्ने र तयार गर्नेहरूमाथि उहाँले कारबाहीको माग गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशमा मान्यजनको आदर गर्दै खुट्टामा दण्डवत् प्रणाम गरी आर्शिवाद लिने कार्यलाई ढोग दिने भनिन्छ ।
म्याग्दी: प्रविधिको प्रयोग गरी सेवा प्रवाहमा सहजता ल्याउन, दोहोरो सुविधा हटाउने र लक्षित वर्गसम्म योजना तथा कार्यक्रमको पहुँच बढाउन बेनी नगरपालिकाले सबै घरपरिवारको विद्युतीय अभिलेखीकरण गरेको छ । सबै घरपरिवारको विस्तृत विवरण रहेको आर्थिक सामाजिक जोखिम व्यवस्थापन सूचना प्रणाली प्रयोगमा ल्याएको हो । यस्तो सूचना प्रणालीको प्रयोग गर्ने बेनी नगरपालिका नेपालकै पहिलो स्थानीय तह भएको नगर प्रमुख सुरत केसीले बताउनुभयो । “घरदैलो गरेर सबै नगरवासीको घरपरिवारको विवरण सङ्कलन गरेर सफ्टवेयरमा राखेका छौँ”, उहाँले भन्नुभयो, “लक्षित समुदाय र आवश्यकता पहिचान गरेर कार्यक्रम सञ्चालन गर्न यो सूचना प्रणालीले सहयोग गरेको छ ।” कोही एकै व्यक्तिले दोहोरो, तेहोरो सुविधा पाउने र कसैले नपाउने अवस्थाको अन्त्य हुने नगर प्रमुख केसीले बताउनुभयो । प्रणालीमा घरको तस्बिर, परिवारका सदस्य, उनीहरूको रोजगार, आर्थिक, शैक्षिक, स्वास्थ्य अवस्थालगायत ९२ किसिमका सूचना राखिएको छ । दश किसिमका व्यक्तिगत सूचनालाई गोप्य राखिएको छ । नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, सचिव र विषयगत शाखाका कर्मचारीको पहुँच हुने प्रणालीको विवरण अद्यावधिक गर्ने अधिकार पनि उनिहरूलाई नै दिइएको छ । यही प्रणालीका आधारमा बेनी नगरपालिकाको १० वटा वडाका सात हजार चार सय ४० घरमा क्युआर कोडसहितको विद्युतीय घर नम्बर प्रणाली लागू भइसकेको छ । यसबाट घरधनीको नाम र सम्पर्क नम्बरबाट घरको स्थान पहिचान गर्न सकिनेछ् । सूचना प्रणालीको विवरण सङ्कलन गर्ने क्रममा पहिचान भएका तीन सय ४० जना विपन्न महिलालाई संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी०को सम्बोधन परियोजनामार्फत आयआर्जनमुलक क्रियाकलाप गर्न बीउपुँजी स्वरूप रू २७ हजारका दरले सहयोग गरिसकेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । “सूचना प्रणालीको अधिकतम प्रयोग गरेर विकास आयोजना र कार्यक्रमलाई लक्षित समुदायको पहुँचमा पुर्याउने प्रयास गरेका छौँ”, उहाँले भन्नुभयो, “योजना निर्माण र कार्यान्वयनका लागि आर्थिक सामाजिक जोखिम सूचना प्रणालीले सहयोग गरेको छ ।” टहरामा बस्दै आएका सात घरपरिवारका लागि यस वर्ष घर बनाउने कार्यक्रम पनि यही सूचना प्रणालीबाट प्राप्त जानकारीका आधारमा बनाएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । युएनडिपीको आर्थिक सहयोगमा स्थानीय गैरसरकारी संस्था सङ्गममार्फत प्रत्येक बस्तीमा जनशक्ति परिचालन गरेर घरधुरीको विवरण सङ्कलन गरिएको थियो । युएनडिपीले कोड फ्युजन कम्पनीमार्फत विकास गरेको सफ्टवयरको अवधारणा, डिजाइन र विवरण राख्ने काम नगरपालिकाका सूचना प्रविधि अधिकृत खिम खत्री नेतृत्वको कर्मचारीहरूले गरेका थिए । सफ्टवयर निर्माण, घरधुरी सर्वेक्षण र प्रणालीमा प्रविष्ट गराउन रू ३९ लाख खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । म्याग्दीको बेनी नगरपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका र सुर्खेतको पञ्चमुल गाउपालिकामा आर्थिक सामाजिक जोखिम व्यवस्थापन सूचना प्रणाली प्रयोगमा ल्याउन युएनडिपीले सहयोग गरेको थियो । पुतलीबजार र पञ्चमूलभन्दा अघि बेनी नगरपालिको प्रणालीको विकास गरी प्रयोगमा ल्याइसकेको नगर प्रमुख केसीले बताउनुभयो ।
काठमाडौं: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूूरो (सिआइबी)ले पछिल्लो समयमा विभिन्न प्रलोभनमा पारेर अनलाइन ठगी बढेको भन्दै ठगीबाट बच्न विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले हालैमात्र पोखरामा रू ५७ लाख, चितवनमा रू १६ लाख, नेपाल सरकारका कर्मचारीहरूको रू पाँच लाख ५० हजार, विभिन्न कम्पनी तथा सर्वसाधारणको करोडौँ रकम ठगी भएको र उक्त विषयमा अनुसन्धान भइरहेको जानकारी दिँदै त्यस्ता लोभमा नफस्न अनुरोध गर्नुभएको छ । आज सिआइबीले सात बुँदामा एक सार्वजनिक अपिल जारी गर्दै केही दिनयता सामाजिक सञ्जाल जस्तै फेसबुक, इन्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, म्यासेन्जर, भाइबर तथा इमोलगायतबाट फोन गरी डिजटिल वालेट तथा बैंक÷वित्तीय संस्थाबाट बोलेको भनी विभिन्न अपरिचित नम्बरहरूबाट फोन गरी वा म्यासेज गरी नेपाल सरकारका कर्मचारी तथा आमसर्वसाधारणलाई समेत धोकापूर्ण तरिकाले प्रलोभनमा पारी ठगी गरिएको पाइएको छ । यस्ता घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको सिआइबीले जनाएको छ । त्यस्ता ठगीबाट बच्न अनुरोध गर्दै सिआइबीले विभिन्न सात बुँदे ध्यानाकर्षण पनि सार्वजनिक गरेको छ । सिआइबिले इसेवा, खल्तीजस्ता वालेट, बैंक तथा वित्तीय संस्थाको लोगोसमेत प्रयोग गरी धोकापूर्ण तरिकाले सम्बन्धित संस्थाको आधिकारिक व्यक्ति भनी कल गर्ने तथा पटकपटक गलत पासवर्ड राखेर वालेट अल्पकालीन बन्द गर्ने, त्यही समय वालेट प्रयोगकर्तालाई कल गरी तपाईँको यसमा समस्या आएको छ म सेवा प्रदायक कम्पनीबाट बोलेको भनी ओटिपी माग गर्नेहरूसँग सावधानी हुन अनुरोध गरेको छ । सावधानी नभए क्षणभरमा नै उक्त वालेटमा भएको पैसा अन्य व्यक्तिको वालेटमा वा बैंक खातामा ट्रान्सफर हुने भनी सजग पनि गराएको छ । यस्तै सामाजिक सञ्जालमा विभिन्न खालका प्रलोभनमा पार्ने म्यासेज पठाउने र विभिन्न किसिमका एआइले बनाएको आवाजबाट कल गरी तपाईँको सामान आएको छ, तपाईँलाई फाइदा हुने खालको व्यापार छ भन्नेजस्ता लिङ्क पठाई खोल्न लगाउने र लिङ्क खोल्नेबित्तिकै युजरनेम र पासवर्डमा पहुँच पुर्याएर पैसा रकमान्तर गर्ने गरेको भन्दै त्यसतर्फ पनि सावधानी हुन सिआइबीले अनुरोध गरेको छ । अनलाइन व्यापारको नाममा सामाजिक सञ्जालमा विभिन्न साइटहरू खोली सामानको आकर्षक फोटो भिडियो अपलोड गर्ने र कुनै ग्राहकले सामान अर्डर गर्दा विभिन्न बैंक खातामा रकम माग गर्ने र रकम प्राप्त गरिसकेपछि सामान डेलिभरी नगरी सम्पर्कविहीन हुने अवस्थासमेत रहेको प्रहरीले जनाएको छ । यस्ता कार्यमा यस्तो कार्यमा हालसम्म पाँच सयभन्दा बढी फोन नम्बर सक्रिय भएको हुँदा यस्ता अपरिचित नम्बरबाट आएका फोन तथा म्यासेज नउठाउन तथा उत्तर नदिन पनि सिआइबीले सबैमा अनुरोध गरेको छ । यस्ता किसिमका ठगीमा संलग्न व्यक्तिहरूका सम्बन्धमा कुनै जानकारी भएमा यस केन्द्रीय अनुसन्धान ब्यूरो तथा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि अनुरोध गरिएको प्रवक्ता बोगटीले बताउनुभयो ।
अन्नपूर्ण: गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान (जिटिइभिटिइ) अन्तर्गतको गण्डकी प्राविधिक शिक्षालय स्थापना भएको चार वर्षपछि भवन बन्ने भएको छ । गण्डकीमा दक्ष जनशक्ति उत्पादन गरी युवालाई रोजगारीमा आबद्ध गर्ने उद्देश्य लिएर गण्डकी प्रदेश सरकारले २०७७ सालमा गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान (जिटिइभिटिइ) स्थापना गर्ने निर्णय गरेको थियो । स्याङ्जाको फेदीखोला गाउँपालिका–१ स्थित गुर्धुममा बन्ने प्रशासनिक भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलान्यास गर्नुभएसँगै जिटिइभिटिइ आफ्नै भवनबाट सञ्चालनमा आउने भएको हो । शिक्षालयको पूर्वाधारका लागि कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका०सँग सम्झौता भएलगत्तै शुक्रबार भवन शिलान्यास गरिएको हो । गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका सचिव राजेन्द्रदेव पाण्डे र कोइकाका नेपाल कार्यालयका देशीय निर्देशक मुहुन कङबीच सम्झौता भएको हो । परियोजना अन्र्तगत कोइकाले करिब नौ मिलियन अमेरिकी डलर ९करिव सवा अर्ब रुपैयाँ०को सहायता अनुदान उपलब्ध गराउने छ । सोही सम्झौतापछि गुर्धुममा ‘नमुना प्राविधिक संरचना’ बनाउने कामको थालनी भएको हो । उक्त कामको शिलान्यासपछि मुख्यमन्त्री पाण्डेले पाण्डेले प्राविधिक शिक्षा आजको मुल आवश्यक भएको बताउनुभयो । प्राविधिक शिक्षालय स्थापनापछि नेपालमै प्राविधिक क्षेत्रमा सीप र ज्ञान वृद्धि गर्ने अवसर प्राप्त हुने उहाँले सुनाउनुभयो । देशमै रोजगारी गर्न वा विदेशमा रोजगारीका लागि जान चाहनेका लागि यसले टेवा पु¥याउने मुख्यमन्त्री पाण्डेको भनाइ थियो । “अहिले नेपालमा केही पनि गर्न सकिदैन भन्ने नकरात्मक सोंच छ । अब यसबाट उत्पादन भएका विद्यार्थीले स्वरोजगार सिर्जना वा रोजगारका लागि आफूलाई स्थापित गर्न दक्ष सीपयुक्त व्याक्ति निर्माण गर्छ,” उहाँले भन्नुभयो, “यहाँबाट ज्ञान, सीप प्राप्त गरेकामा भोलिका दिनमा नेपालकै केही सकिन्छ र यही गर्नुपर्छ भन्ने भावना पनि जगाउँछ भन्ने मलाई लाग्छ ।” कार्यक्रममा कोईका नेपाल कार्यालयका देशीय निर्देशक कङले परियोजनाले युवा, महिला र असक्षम व्यक्तिलाई गुणस्तरीय प्राविधिक शिक्षा प्राप्त गर्न अवसर प्रदान गर्ने बताउनुभयो । पछिल्लो समय तीव्ररूपमा विकास भइरहेको रोजगारी बजारमा अघि बढ्न आवश्यक सीपले सुसज्जित गर्ने उहाँको भनाइ थियो । कोइकाले नेपालमा प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिएको पनि उल्लेख गर्दै सोहीअनुसार शिक्षालयलाई सहयोग गरेको उहाँले सुनाउनुभयो । गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक डा सोमनाथ सापकोटाले प्रदेशका लागि आवश्यक पर्ने जनशक्तिको प्रक्षेपणअनुसार तालिम सञ्चालन गर्नका लागि पूर्वाधारका लागि कोइकाबाट प्राप्त सहयोगले ठूलो महत्व राख्ने बताउनुभयो । प्रदेश शिक्षा नीतिले प्रदेशभित्र सञ्चालन हुने सबै खालका प्राविधिक शिक्षा तथा तालिम यसै संस्था मातहत रहनुपर्ने परिकल्पना पनि गरेको छ । सम्झौताअनुसार परियोजना सन् २०२५ बाट सुरु भई पाँच वर्षसम्म सञ्चालन हुने छ । यो परियोजना कोइका र गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानले संयुक्तरूपमा कार्यान्वयन गर्नेछ । यसमा कक्षाकोठा, कार्यशाला, छात्रावास ९छात्राका लागि०लगायतका आवश्यक उपकरण, फर्निचर र शैक्षिक सामग्री हुनेछन् । साथै, कोइकाले प्राविधिक शिक्षालयको मास्टर प्लान, स्थानीय आवश्यकताअनुरूप छोटो समय तालिम, सञ्चालन योजना, करियर सेवा प्याकेज र उद्योगसँगको सहकार्य विकासका लागि प्राविधिक मार्गदर्शन तथा सहयोग प्रदान गर्नेछ । गुर्धुममा पहिलो चरणमा प्रशासनिक भवन, महिला छात्रावास, तीन ल्याब भवन, परीक्षा भवन, शैक्षिक भवन बन्ने प्रतिष्ठानका कार्यकारी निर्देशक डा सापकोटाले जानकारी दिनुभयो । भवन निर्माणको काम सकिएपछि ईलेक्ट्रोनिक्स÷ईलेक्ट्रिकल, अटोमोबाइल्स र टुरिजम÷हस्पिटालिटी विषयमा पठनपाठन हुने उहाँले बताउनुभयो ।

