छ दिनदेखि बेपत्ता इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
सर्लाही | पुस २०, २०८१

सर्लाही: सर्लाहीको हरिवनमा छ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ ।
हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा आज शव फेला परेको प्रहरीले जनाएको छ । उखुबारीमा गाडेको अवस्थामा फेला परेको शवको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
मृतक प्रसाईं गत पुस १५ गतेदेखि बेपत्ता हुनुभएको थियो । पुस १५ गते बिहान बरहथवा पैसा लिन जान्छु भनेर हिँडेका प्रसाईं साँझ अबेरसम्म पनि नफर्किएपछि परिवारले खोजी गरेका थिए । कतै फेला नपरेपछि पुस १६ गते बिहान इलाका प्रहरी कार्यालय हरिवनमा निवेदन दर्ता गरेका प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
“परिवारले १६ गते बेपत्ता भनेर निवेदन दर्ता गरेपछि प्रहरीले उहाँको निरन्तर खोजी गरिरहेको थियो”, प्रहरी उपरीक्षक श्रेष्ठले भन्नुभयो, “खोजतलासको क्रममा उहाँले लगाएको जुत्ता फेला परेपछि प्रदेश प्रहरी कार्यलयबाट कुकुर ल्याएर खोजी गरेका थियौँ ।
पुस १८ गते सोही वडाको नहर छेउमा मोटरसाइकल र च्यातिएको फोटोसमेत फेला परेको थियो । त्यसपछि १९ गते घटनास्थलको केही किलोमिटरको दूरीमा पर्स फेला परेपछि खोजी तीव्र पारिएको थियो । आज उखुबारीमा शव गाडेको अवस्थामा फेला परेको हो ।”
उहाँका अनुसार प्रादेशिक अस्पतालका चिकित्सक र जिल्लाका सुरक्षा अधिकारी, सरकारी वकिलसमेतको उपस्थितिमा खाल्डो खनेर शव निकालेको हो । प्रारम्भिक मुचुल्का पछि शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेकोे छ । अनुसन्धान कार्यमा बाधा पुग्ने भन्दै निजहरूको पहिचान भने गोप्य राखिएको प्रहरीले जनाएको छ । प्रसाईंको हत्या पछि गाउँ त्रासमा परेको छ । मृतक प्रसाईंले इँटा भट्टा सञ्चालन गर्दै आउनुभएको थियो ।
पोखरा: जेन–जी आन्दोलनका क्रममा कास्कीमा ९२ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचनामार्फत जनाएको छ । कार्यालयले घाइते लाई परिचयपत्र र भैपरी खर्च वितरण गरिने पनि बताएको छ । ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले एटीएमबाट दिने सुविधाका सीमाहरूलाई फेरबदल गरेको छ। राष्ट्र बैंकले शुक्रबार भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै प्रिपेड, डेबिट र क्र...
काठमाडौं: आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले जितका लागि १३२ रनको लक्ष्य पाएको छ। ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ...