गण्डकी:   पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति न्यून देखिएको छ । गत भदौमा तीन वर्षे ठेक्का अवधि सकिएको उक्त पुलमा हालसम्म जम्मा ५०...

नुवाकोट:    नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा दुई छोरासहित आमा मृता भेटिएका छन् । आफ्नै घरमा भित्रबाट आग्लो लगाएको अवस्थामा २४ वर्षीया चन्दीमाया तामाङ, पाँच वर्षीय छोरा रोशन र तीन वर्षीय छोरा रोमन झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।      घटनाबारे अनुसन्धन गर्न जिल्लाबाट प्रहरी प्रमुखसहितको टोली गएको छ ।  चन्दीमायाका  श्रीमान् रेसबहादुर घरमाथि रहेको बारीमा केराउ (मटरकोसा) टिप्न गएको समयमा घटना घटेको स्थानीयले बताएका छन् । 

काठमाडौं:    नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा नयाँ प्यानल घोषणा गरिएको छ । काठमाडौँमा एक कार्यक्रमबीच आज शर्माको नेतृत्वमा  प्यानल घोषणा गरिएको हो ।  शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका साझा उम्मेदवार हुनुहुन्छ । शर्माको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महिला उपाध्यक्षमा नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द र महासचिवमा रामप्रसाद दाहालले उम्मेदवारी दिनुभएको छ ।       यस्तै, खुल्ला सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, आदीवासी जनजाति सचिवमा सविन प्रियासन, मधेसी सचिवमा अशोककुमार तिवारी, दलित सचिवमा प्रकाश धौलाकोटी, एसोसिएट सचिवमा बैकुण्ठराज पराजुली र कोषाध्यक्षमा रामकृष्ण ज्ञवालीले उम्मेदवारी दिनुभएको हो ।       अध्यक्ष पदका उम्मेदवार शर्माले नेपाली पत्रकारिता र मिडिया उद्योगले भोगिरहेका समस्या समाधान गर्दै पत्रकारिताको बृहत्तर हित र विकासका लागि नीतिगत नेतृत्व तथा व्यावहारिक सक्रियताका साथ महासङ्घको समग्र दायित्व पूरा गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ । 

काठमाडौं:    प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका संशोधनकर्तासँग छलफल सुरु गरेको छ । समितिको आजको बैठकमा संशोधनकर्ताले जनतालाई राज्यका तर्फबाट दिइने सेवाप्रवाहलाई सरल, सहज र सुलभ बनाउनुपर्ने निजामती कर्मचारी व्यक्तिगत लाभ र आफ्नै सेवासुविधा प्राप्तिमै रुमलिरहेकाले अहिलेको अवस्था अन्त्य हुनुपर्ने धारणा राख्नुभयो । सेवा प्रवाहका आधारमा पदोन्नति हुने व्यवस्था बनाइनुपर्ने आवश्यकता औँल्याउँदै उहाँहरूले राज्यबाट सेवासुविधा लिएको व्यक्ति नयाँ सरकार आउनसाथ सरुवा हुने प्रवृत्ति अन्त्य हुनुपर्ने विचार प्रकट गर्नुभयो । यसअघि बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती कर्मचारीलाई राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा सक्षम तथा समावेशी, व्यावसायिक र सहभागितामूलक बनाउने विधेयक ल्याइएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “निजामती सेवालाई उच्च मनोबलयुक्त र  नैतिकवान् बनाई राज्यका तर्फबाट प्रदान गरिने सार्वजनिक सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्न ऐन निर्माणका लागि विधेयक ल्याइएको हो ।” निजामती सेवालाई राष्ट्रहित र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा सक्षम, सुदृढ सेवामूलक उत्तरदायी र व्यवसायी बनाउँदै सुशासनमुखी संयन्त्रका रूपमा विकास गर्न सरकारले विसं २०८० फागुनमा यो विधेयक सदनमा दर्ता गराएको थियो । राज्यको पुनःसंरचनासँगसँगै प्रशासनिक पुनःसंरचनापश्चात् सङ्घीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई सङ्घीयताअनुरुप सञ्चालन र व्यवस्थापन गर्ने विधेयकको उद्देश्य रहेको छ । मुलुकको प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्थाअनुरुप सुव्यवस्थित, कार्यात्मक र नतिजामुखी तुल्याउन एवं प्रशासनिक सङ्घीयतालाई प्रभावकारी बनाउन सङ्घीय निजामती सेवा ऐन जारी गर्नुपर्ने आवश्यकता रहेको मन्त्री गुप्ताको भनाइ थियो ।  उहाँले स्थायी सरकारका रूपमा रहेको निजामती सेवामा कार्यरत कर्मचारीलाई राजनीतिक अस्थिरताका कारण सरकारको फेरबदलसँगै सरुवा गर्ने प्रवृत्ति अन्त्य गर्दै यसलाई व्यवस्थित र अनुमानयोग्य बनाउन आवश्यक रहेको बताउनुभयो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले थारू समुदायको निजामती सेवामा प्रवेशका सन्दर्भमा अदालतबाट भएको फैसला कार्यान्वयन गर्न सहज होस् भन्ने हेतुले संशोधन दर्ता गरेको प्रतिक्रिया दिनुभयो । विधेयकमा निजामती सेवामा महिलाको प्रवेश ३७ तथा पुरुषको ३२ तथा अवकाशको उमेर हद ६० वर्षका लागि प्रस्ताव गरिएको छ । निजामतीभित्र ११ समूह, नौवटा श्रेणी तथा १४ तहसम्म रहने गरी विधेयकमा प्रस्ताव छ । त्यस अवसरमा नेपाल सरकारका मुख्यसचिव टेकनारायण अर्यालले राजनीतिक हिसाबले मुलुकमा सङ्घीयताको अभ्यास भए पनि समयमा ऐन, कानुन, विधि र पद्धति निर्माण नभएका कारण निजामती सेवामा सहज रूपमा कार्यसम्पादन गर्न चुनौती भइरहेको बताउनुभयो ।  कर्मचारीलाई प्रोत्साहन गर्दै सुशासन र पारदर्शिता कायम गरी अघि बढनुपर्नेमा विगतको कर्मचारी समायोजनमा त्रुटि भएका कारण भर्ना र सरुवामा समेत दोहोरोपन देखिएको उहाँको भनाइ थियो ।  “लामो समयदेखि सङ्घीय संसद्मा रहेको निजामती सेवासम्बन्धी विधेयकलाई यथाशीघ्र टुङ्गोमा पु¥याएर सङ्घीयता कार्यान्वयनमा सहजीकरण गरिनुपर्छ । ऐन नआउँदा कर्मचारी खेलौनाजस्तो भएका छन्”, मुख्यसचिव अर्यालले भन्नुभयो ।

झापा:     प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमूना भएको बताउनुभएको छ ।  भव्य जनसहभागितामा एक सय मिटर अग्लो १८ तले उक्त कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।       विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्दै उहाँले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गर्नुभयो ।      उहाँले आफूहरुले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने विषय अरुलाई तथ्यहिन आरोप लगाए जस्तो नहुने उल्लेख गर्नुभयो ।

गण्डकी:    सहकारी ठगी एवम् सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहनुुभएका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । म्याद थपका लागि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएकोमा न्यायाधीश हिमलाल बेलबासेको इजलासले चार दिन म्याद थप्ने अनुमति दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुुभयो । गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याइनुभएका लामिछाने त्यस यता प्रहरी हिरासतमा हुनुहुन्छ ।  उहाँलाई त्यसपछि उहाँलाई अनुसन्धानकै क्रममा रुपन्देही, काठमाडौँ र चितवन समेत लगेर बयान लिइएको थियो । 

झापा:   प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यले आज मेचीनगर नगरपालिका–४ आमडाँगीमा निर्माण गरिएको मानवसेवा आश्रम शाखा कार्यालयको उद्घाटन तथा बृहत् गुरुयोजनाको शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री ओली र प्रथम महिला शाक्यले एक समारोहकाबीच दुई बिघा पाँच कट्ठा जमिनमा निर्माण गरिएको भवनको उद्घाटन र नयाँ बन्ने भवनको शिलान्यास गर्नुभएको हो । प्रथम महिला शाक्य सो आश्रमको संरक्षक हुनुहुन्छ । आश्रमको १९औँ जिल्ला शाखाका रुपमा उद्घाटन तथा शिलान्यास भएको आमडाँगीस्थित सो जग्गा मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका स्थानीय रामबहादुर प्रधानले निःशुल्क रुपमा प्रदान गर्नुभएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।  उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले मानव सेवा आश्रमबाट भएका गतिविधि र भावी कार्यक्रमको प्रशंसा गर्दै आफूले प्राप्त गर्ने एक महिनाको पारिश्रमिक आश्रमलाई दिने घोषणा गर्नुभयो । यसैगरी नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक समेत रहनुभएकी प्रथम महिला एवं आश्रमका संरक्षक शाक्यले निवृत्तीभरण (पेन्सन) बापत पाउने दुई महिनाको सुविधा आश्रम भवन निर्माणका लागि दिने बताउनुभयो ।         सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्रनिर्माण गर्ने परिकल्पनासहित सुरु भएको मानवसेवा आश्रममा हाल ४८ जना सहयोगापेक्षी सडक आश्रित मानव रहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।     गत साउन महिनादेखि अनौपचारिक रुपमा सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गरी संस्थाले आश्रय दिँदै आएको छ । मेचीनगर नगपालिकाको रु २५ लाख र संस्थाको करिब रु एक करोडको लगानीमा तीन वटा भवन र शौचालय निर्माण गरेर सञ्चालनमा ल्याइएको आश्रमले स्पष्ट गरेको छ । अध्यक्ष अधिकारीका अनुसार सो आश्रममा उद्धार गरी ल्याइएका ४८ मध्ये अहिले ३३ पुरुष र १० जना महिला रहेका छन् । आश्रममा उद्धार गरेर ल्याइएकामध्ये २ पुरुष र १ महिलाको परिवारमा पुनःमिलन गराइएको छ भने ३ पुरुष र १ महिलाको निधन भएको छ ।  आश्रमले १ सय ५० जना अट्ने भवन विस्तार र साधना हल बनाउने लक्ष्यसहित गुरुयोजना निर्माण गरेको अध्यक्ष अधिकारीले बताउनुभयो । विसं २०६९ मा हेटौँडामा औपचारिक रूपमा मानव सेवा आश्रमको कार्यालय स्थापना गरी आश्रमले मानवताको प्रवद्र्धनको अभियान निरन्तर चलाउँदै आइरहेको छ ।  अध्यक्ष अधिकारीले भन्नुभयो, “देशभर खुला आकाशमुनि रात बिताउन विवश बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक आश्रित मानवको मानवोचित व्यवस्थापन गर्दै २०८२ सालभित्र देशभर कोही पनि मानिस भोकै र नाङ्गै रहन नपर्ने अवस्था निर्माणका पक्षमा आश्रम जुटेको छ, सक्दो सहयोगका लागि सबैसँग अनुरोध गर्दछौँ ।” आश्रमले हालसम्म स्वयं आफ्ना लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिनेसमेत कोही नभएका सहयोगापेक्षी बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा अतिकमजोर र अनाथ मानिसको खोजविन तथा पहिचान गरी १० हजार आठ सय २७ जनाको उद्धार गरेको जनाएको छ ।  जसमध्ये ५ हजारभन्दा बढीको सामुदायिक तथा पारिवारिक पुनर्मिलन र पुनःस्थापना गराइसकेको आश्रमले स्पष्ट गरेको छ । सो आश्रमको मुलुकभर २५ वटा सेवाकेन्द्र रहेको बताइएको छ । 

स्याङ्जा:    यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि रु ५ करोडसम्म सुन्तालको कारोबार गदै आउनुभएको छ । जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा त्रिपुत्र बागवानी कृषि फार्ममार्फत उहाँले बर्सेनि करोडौँको सुन्तलाको कारोबार गर्दै आउनुभएको हो । अर्यालले आफ्नै बगैँचामा उत्पादन गर्नुभएको सुन्तला र अन्य किसानबाट खरिद गरेर ल्याएको सुन्तला बिक्रीबाट यसवर्ष पनि रु पाँच करोडभन्दा बढी कारोबार हुने अनुमान गरिएको बताउनुभयो । उत्पादन बढी हुँदा र बजार मूल्य राम्रो भएको अवस्थामा वार्षिक रु ५ करोडसम्मको करोबार हुने उहाँले जानकारी दिनुभयो । “आफ्नै फार्ममा उत्पादन भएको सुन्तला र अरु किसानबाट खरिद गरी बिक्री गर्दै आइरहेको छु”, अर्यालले भन्नुभयो, “सुन्तला खरिद बिक्रीबाट यसवर्ष रु पाँच करोडको कारोबार हुने अनुमान छ ।”  गतवर्ष रु ४ करोड बराबारको कारोबार भएको भन्दै यसवर्ष उत्पादनमा वृद्धि हुनुका साथै बजार मूल्य राम्रो भएकाले कारोबार बढ्ने दाबी गर्नुभयो ।सुन्तला बिक्रीबाट जिल्लामा सबैभन्दा बढी आम्दानी गर्ने व्यवसायीका रूपमा अर्याल परिचित हुनुहुन्छ ।  उहाँले ८० रोपनी क्षेत्रफलमा २ हजार २ सय सुन्तलाका बिरुवा लगाउनुभएको छ ।व्यवसायी अर्यालले प्रचलित बजार मूल्यमा स्थानीय किसानसँग सुन्तला खरिद गरेर बजारीकरण गर्दै आउनुभएको छ ।  “प्रचलित बजार मूल्य अनुसार किसानसँग खरिद गर्दै आएको छु”, उहाँले भन्नुभयो, “आँफूले उत्पादन गरेको सुन्तला र अन्य किसानबाट खरिद गरेको सुन्तला काठमाडौँ, पोखरा, नारायणगढ, काँकडभित्ता, भारतको सिलगुडीलगायत बजारसम्म पुग्ने गर्दछ ।” सुन्तलाको याममा अर्यालले सञ्चालन गर्दै आउनुभएको फार्ममा ४० देखि ६० जनाले प्रत्यक्ष रोजगारी पाउने गरेका छन् । सुन्तला टिप्ने, ग्रेडिङ गर्ने, ढुवानी गर्ने, बजारीकरण गर्नेलगायत काममा स्थानीयले रोजगारी पाएका उहाँले बताउनुभयो ।  गत वर्ष कामदारलाई रु १७ लाख पारिश्रमिक भुक्तान गरेको उहाँले जानकारी दिनुभयो ।यहाँ उत्पादित सुन्तलाको बजारीकरणका लागि फार्ममार्फत अर्यालले गत वर्षदेखि भाटभटेनी सुपर मार्केटसँग सम्झौता गर्नुभएको छ ।  नेपालमा पहिलो पटक सुन्तलाको ‘ग्रेडिङ’ गर्न उपकरण जडान गरिएको उहाँको भनाइ छ । उक्त उपकरणबाट विभिन्न आठ आकारका सुन्तला ग्रेडिङ हुने बताउँदै ग्रेडिङका आधारमा सुन्तलाको मूल्य निर्धारण गरी बजार पठाउने उहाँले जानकारी दिनुभयो ।

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी ९एमाले० स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङले मर्यादित महिनावारीको विषयलाई तीनै तहका सरकारले अभियानका रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।  छैटौँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसरमा राधा पौडेल फाउन्डेसनले आज यहाँ आयोजना गरेको ‘लैङ्गिक समानताका लागि यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र मर्यादित महिनावारी नीति संवादमा पूर्वमन्त्री गुरुङले महिलामाथि हुने सबै प्रकारको विभेदको अन्त्य गर्नुपर्ने र महिनावारीलाई मर्यादित बनाउनुपर्नेमा जोड दिनुभएको हो ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री हुँदा उहाँले मर्यादित महिनावारी निर्देशिका बनाउनका लागि मस्यौदा तयार गर्नुका साथै मर्यादित महिनावारीको देश बनाउन अभियान नै सञ्चालन गर्नुभएको थियो । “महिलामाथि कुनै पनि प्रकारको विभेद हुुनु हँुदैन, बालविवाह रोकिनुपर्छ, महिनावारीका नाममा हुने हिंसा रोकिनुपर्छ”, उहाँले भन्नुभयो, “तीनै तहका सरकारले महिनावारीका नाममा कुनै पनि प्रकारणको विभेद हुन हुँदैन भनेर अभियान नै सञ्चालन गर्नुपर्छ ।” पूर्वमन्त्री गुरुङ विभेदरहित मुलुक बनाउनका लागि सरकार, राजनीतिक र सामाजिक सङ्घसंस्था सबैले ध्यान दिनुपर्ने र मानिसको चेतनस्तरमा परिवर्तन ल्याउन सबैल पहल गर्नुपर्नेमा जोड दिनुभयो । २१औँ शताब्दीमा आएर यस्ता खालका विभेदलाई जरैदेखि उखेलेर निर्मूल गर्नुपर्ने उहाँको भनाइ थियो । राष्ट्रियसभाअन्तर्गत विधायन समितिका सभापति तुलसाकुमारी दाहालले मर्यादित महिनावारीको विषयलाई कानुन बनाएर कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।  सभापति दाहालले २०७४ सालमा बनेको मर्यादित महिनावारी निर्देशिकाको मस्यौदाबारेमा आफूले थप जानकारी लिने र कानुन बनाउनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  उहाँले प्राकृतिक रुपमा हुने महिनावारीलाई कुनै पाप, धर्म, जात वा भूगोल कुनैमा पनि हिसाबले विभेद गर्न नहुनेमा जोड दिनुभयो । राधा पौडेल फाउन्डेसनका संस्थापक अध्यक्ष डा राधा पौडेलले विश्वभरि नै महिनावारीका नाममा महिलाले कुनै न कुनै प्रकारको विभेद सहनुपरेको उल्लेख गर्दै विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभयो । महिनावारीका नाममा कुनै पनि प्रकारण विभेद गर्न नहुने उहाँको भनाइ थियो । कार्यक्रममा डा राधा पौडेलको शब्द र समीक्षा अधिकारीको स्वरमा ‘मेरो शरीर मेरो अधिकार हुन्छ, अनुमतिबिना छुन खबरदारी छ’ बोलको गीतको सार्वजनिक गरिएको थियो । त्यस्तै, ‘सृष्टिको रगतको गाथा–२’ को सार्वजनिक गरिएको थियो । आज डिसेम्बर ८ विश्वभरि नै अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदैछ ।  

ललितपुर:    ललितपुरको पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदर्शनी कक्ष थप हुने भएको छ । विश्वसम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा अवस्थित सङ्ग्रहालयमा ऐतिहासिक कलाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी कक्ष थप गर्न लागेको हो ।  हाल ३ वटा ऐतिहासिक भवनमा प्रदर्शनी कक्ष रहेका भन्दै ती भवनमा परम्परागत कला झल्कने नयाँ प्रदर्शनी कक्ष थप्न लागिएको दरबार सङ्ग्रहालयका प्रमख सुरेशमान लाखेले जानकारी दिनुभयो ।  उहाँका अनुसार अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस अघि (आगमी जेठ) भित्र उद्घाटन गर्नेगरी प्रदर्शनी कक्ष विस्तारको काम अघि बढेको छ । नयाँ थपिएको प्रदर्शनी कक्षमा कलात्मक मूर्ति निर्माण गर्ने चरण प्रक्रियालाई प्रदर्शनीमा राखिने लाखेले जानकारी दिनुभयो ।  ढु¬ङुगा, काठ र धातुबाट मूर्ति बनाउन सकिने भन्दै उहाँले मूर्ति निर्माणको चरणबद्ध प्रक्रिया प्रदर्शनमा राखिने उल्लेख गर्नुभयो ।  नयाँ थपिएको कक्षमा राख्न ललितपुरका लोक चित्रकारले पौवा, भक्तपुरका इन्द्रकाजी सिल्पकारले काष्टकला र ललितपुर भैँसेपाटीका चन्द्रस्याम डुङ्गोलले ढुङ्गाको मूर्ति निर्माण गरी उपहारस्वरूप सङ्ग्रहालयलाई हस्तान्त्ररण गर्ने जनाइसक्नुभएको उहाँले बताउनुभयो ।  सङ्ग्रहालयका प्रमुख लाखेका अनुुसार नयाँ थपिने कक्षमा उपहारस्वरूप कला हस्तान्त्ररण गर्ने सबैलाई उद्घाटन समारोहमा सम्मान गरिनेछ ।  सङ्ग्रहालयमा कलात्मक मूर्तिसहित अन्य ऐतिहासिक सामग्री राखिएका भन्दै सिङ्गो ढुङ्गा र काठबाट कसरी मूर्तिकोस्वरूप दिइन्छ भन्ने प्रक्रिया प्रदर्शनीमा नरहेकाले थप कक्ष विस्तार गर्न लागिएको उहाँले राससलाई जानकारी दिनुभयो ।  नयाँ कक्षमा थपिने कालात्मक प्रदर्शनीले परम्परागत कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई परम्परागत सीपको अध्ययन गर्ने अवसर प्रदान गर्ने प्रमुख लाखेले बताउनुभयो ।  “पर्यटकलाई सङ्ग्रहालयमा सधैँ एकैप्रकारका ऐतिहासिक सामग्री देखेर दिक्क लाग्नु स्वभाविक हो”, उहाँले भन्नुभयो, त्यसैले हामीले नयाँ कलात्मक सामाग्री थपेमा सङ्ग्रहालयको आकर्षण बढाउने र पर्यटन प्रवर्द्धन गर्ने योजना बनाएका हौँ ।”