काठमाडौं:   हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । ...

तनहुँ:     तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ स्थित कालीगण्डकी नदीमाथि युनिक मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।  नेपालीको महान् पर्व सकिएपछि पुल निर्माणको तीव्र गतिमा भइरहेको छ । पुल निर्माण भएपछि पाल्पा र तनहुँको यात्रामा भोग्दै आएको सास्ती हट्ने अपेक्षा गरिएको छ ।  कालीगण्डकी नदी मोटरेबल पुल पुट्टारघाट (तनहुँ–पाल्पा)उपभोक्ता समिति अध्यक्ष विष्णुभक्त सिग्देलले नेपालीहरुको चाडपर्वले केही समय रोकिएको र हाल कामले तीव्रता पाएको बताउनुभयो ।  उहाँका अनुसार नदीसँग जोडिएका भागको काम सकिएको छ । उहाँले भन्नुभयो, “काम अन्तिम चरणमा पुगेको छ, तर समयमा सकिने अवस्था देखिएको छैन ।”       कालीगण्डकी नदी पुल निर्माण अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार कालीगण्डकी नदीमाथि डबल ल्याण्डको युनिक मोटरेबल पुल निर्माण भइरहेको छ ।  निर्माणको काम भइरहे पनि निर्धारित अवधिमा काम नसिकने उहाँको भनाइ छ । विसं २०८१ पुस मसान्तसम्म मात्रै थप अवधि रहेको छ ।  अध्यक्ष सिग्देलले भन्नुभयो, “देशकै नमूनाका रुपमा डबल ल्यान्डको युनिक पुल निर्माण भइरहेको छ, यहाँ पुल निर्माण हुन थालेसँगै  आम नागरिकमा खुसी छाएको छ, यहाँ बनेको मोटरेवल पुलले तराईतर्फ र पहाडतर्फ जान सहज हुनेछ ।”       गण्डकी प्रदेशको ग्रामीण क्षेत्र मानिने तनहुँको घिरिङ र लुम्बिनी प्रदेशको पाल्पाको रामपुर जोड्ने उद्देश्यले पुल निर्माण गरिएको हो । यो पुल कालीगण्डकी करिडोरसँग सिधा जोडिन्छ । कालीगण्डकी करिडोरसँग पनि जोडिने भएकाले यो पुल निर्माण भएपछि सहज हुने स्थानीय बताउँछन् । पुल निर्माण भएपछि यहाँका स्थानीयलाई स्याङ्जा हुँदै पाल्पा पुग्नुपर्ने घुमाउरो बाटो प्रयोग गर्नुपर्ने सास्ती हट्नेछ ।  उपभोक्ता समिति अध्यक्ष सिग्देलले विसं २०७३ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट बजेट प्राप्त भएपछि कालीगण्डकी नदी माथि पुल निर्माण थालिएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “स्थानीयको प्रयासले नै पुल निर्माण भइरहेको छ, अब स्याङ्जाको घुमाउरो बाटोबाट पाल्पा पुग्नुपर्ने बाध्यता हट्ने भएको छ ।” पुल अभावले विगतमा भोग्दै आएको सास्तीको समाधान गर्ने र दुई प्रदेशका ग्रामीण क्षेत्रलाई जोड्ने उद्देश्यले यहाँका स्थानीयको पटक–पटकको प्रयासले मोटरेवल पुल निर्माण भइरहेको उहाँले बताउनुभयो । “नितान्त स्थानीयको प्रयासले कालीगण्डकी नदीमाथिको मोटरेबल पुल निर्माणले सफलता पाएको छ”, अध्यक्ष सिग्देलले भन्नुभयो, “यहाँ बनेको मोटरेबल पुलले तनहुँका ग्रामीण क्षेत्रमा ठूलो विपद् आइपरेमा जिल्लाको सहयोगको मात्र नभई प्रदेश राजधानी पोखराबाट पनि सहज रुपमा सहयोग लिन सकिनेछ ।” घिरिङमा बाढी, पहिरो, आगलागी जस्ता विपद् आइपरेको खण्डमा सदरमुकामबाट सहज रुपमा सहयोग पुग्न नसकेको अवस्थामा पनि प्रदेश राजधानी पोखरा, रामपुर, तराई क्षेत्रबाट सहज रुपमा सहयोग पाउन सक्नेछ ।  वर्षायाममा खहरे खोलामा बाढी आएको अवस्थामा समेत यस पुलमार्फत अन्यत्र आवतजावत गर्न सकिनेमा स्थानीय विश्वस्त छन् । डबल ल्यान्डको यस मोटरेबल पुल दुई सय १० मिटर लम्बाइको बन्नेछ । पुल निर्माणका लागि विसं २०७३ असार ३ मा निर्माण सम्झौता भएको हो । शर्मा, युनाइटेड बिल्डर्स, रमन जेभीले रु २४ करोड ७९ लाख ७९ हजार १ सय २५ मा ठेक्का सम्झौता गरेको छ ।  कोभिडका कारण केही समय निर्माणका कार्यले तीव्रता पाउन नसक्दा हालसम्म दुईपटक म्याद थप गरी निर्माणको काम अहिले करिब करिब अन्तिम चरणमा पुगेको अध्यक्ष सिग्देलले जानकारी दिनुभयो ।  हालसम्म उक्त पुल निर्माणका लागि दुईपटक म्याद थप गरिएको छ । विसं २०८१ पुस मसान्तसम्ममा ठेकेदार कम्पनीले उक्त मोटरेबल पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । हालसम्म पुलको ढलान, जडान लगायतका कार्य भइरहेको छ ।  वर्षायामसँगै आउने बाढीपहिराले स्याङ्जा हुँदै पाल्पा पुग्नुपर्ने बाध्यता हट्ने भएपछि खुसी लागेको दानबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “पुल बनेपछि सजिलै पाल्पा पुग्न र आउन भ्याइन्छ, बाटो घुमाउरो पनि पर्दैन, यो पुल बन्दै गर्दा हामीलाई खुसी दिलाएको छ ।”  स्याङ्जाको बाटो भएर पाल्पा जाने क्रममा पनि खोलामा मोटरेबल पुल नहुँदा यात्रामा समस्या आउने गरेको थियो । यहाँ मोटरेबल पुल निर्माण भएपछि भने चार जिल्लाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।  कालीगण्डकी करिडोरसँग जोडिएकाले सहज रुपमा पहाड तथा हिमाली जिल्लातर्फ र तराईतर्फ आवजतजावतमा सहज हुने मोटरेवल पुल बन्नेछ । पुल निर्माण भएपछि तनहुँलगायत पाल्पा, स्याङ्जा र नवलपुरका करिब ३ लाख स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । यी २ प्रदेशका ग्रामीण क्षेत्रलाई जोड्ने मोटरेबल पुल बनेको हो । यहाँ पुल निर्माण भएपछि यात्राको दूरी कम हुनाका साथै ग्रामीण क्षेत्रका स्थानीयलाई सेवा प्रवाहमा समेत सहज हुनेछ । 

पर्वत:     स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने बताउनुभएको छ ।  पर्वत अस्पतालको निरीक्षण तथा डिजिटलाइजेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले औषधिमा फार्मेसी व्यवसायी र कम्पनीबाट भइरहेको मनोमानी अन्त्य गर्नका लागि मूल्य समायोजन गर्न थालिएको बताउनुभयो ।  सरकारले मूल्य समायोजन गरेपछि सोही मूल्यसूचीका आधारमा मुलुकभर औषधि खरिद बिक्री हुने र बिरामी ठगिन नपर्ने उहाँको भनाइ छ । उहाँले औषधिको मूल्य समायोजनको कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो ।  मन्त्री पौडेलले नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । विपन्न र असहाय नागरिकले पनि सहज रुपमा सबैखाले स्वास्थ्य सुविधा उपभोग गर्न सकुन र उपचारको अभावमा कोही पनि अकालमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य क्षेत्रको सुधारका काम भइरहेको उहाँको भनाइ छ ।            मन्त्री पौडेलले तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको पालामा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमलाई परिमार्जन गर्ने तयारी भइरहेको बताउनुभयो ।  उहाँले तत्कालीन अवस्थामा रु एक लाखको स्वास्थ्य बीमा रहेकामा अब यसलाई बढाएर रु पाँच लाख पु¥याउने योजना रहेको बताउनुभयो ।  उहाँले यसका लागि रोजगारीमा आबद्ध कर्मचारीबाट मासिक तलबको दुई प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा गर्ने व्यवस्था गरिनुपर्ने बताउनुभयो । यसबाट पैसा नभएकाको पनि उपचार गर्न सहज हुने उहाँको भनाइ छ ।       सरकारले उठाउने सबैखाले करमा पनि शून्य दशमलव पाँच प्रतिशत बीमा कोषमा जाने व्यवस्था गरिनुपर्ने भन्दै उहाँले अहिले उठ्ने स्वास्थ्य बीमा करलाई तेब्बर बनाउनुपर्ने बताउनुभयो ।       मन्त्री पौडेलले मुलुकभरीका १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउने व्यवस्था गरिएको जनाउँदै अहिले खोप भण्डारणको काम भइरहेको बताउनुभयो । त्यस्तै १४ वर्ष मुनिका बालबालिकाको क्यान्सरको निःशुल्क उपचार गरिने जस्ता कार्यक्रमले धेरै लाभान्वित भएको बताउनुभयो ।  अर्को प्रसङ्गमा मन्त्री पौडेलले स्रोतको अभावका कारण स्वास्थ्य क्षेत्रलाई चाहेअनुरुप विकास गर्न नसकिएको बताउनुभयो । उहाँले स्रोतको व्यवस्थापन गरेर स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र सर्वसुलभ बनाउँदै लजाने योजना समेत सुनाउनुभयो ।  सो अवसरमा पर्वत अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले अस्पतालको सुधारका लागि आवश्यक विभिन्न कुरा समेटिएको मागपत्र पेस गर्नुभएको छ । मन्त्री पौडेलले मागपत्र बुझ्दै पर्वत अस्पतालको विकास र गुणस्तरीय सेवा प्रवाहका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

काठमाडौं:    टोखा नगरपालिका–९ नयाँ बसपार्कस्थित विष्णुमती करिडोरमा अवैध रुपमा सञ्चालन भएका ८२ टहरा हटाइएको छ ।    नगरपालिकाले आज नयाँबसपार्क पुलदेखि सामुदायिक सेवा केन्द्रसम्म विष्णुमति खोला करिडोरमा निर्माण गरी सञ्चालनमा रहेका ८२ टहरा पसल हटाएको हो ।  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले विष्णुमति नदी करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना हटाइएको जानकारी दिनुभयो । “सार्वजनिक जग्गा मिचेर नदीको किनारामा निर्माण गरिएका संरचना डोजर लगाएर हटाइएका हौँ”, उहाँले भन्नुभयो ।  नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्नका लागि वडा नं ४ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठको संयोजकत्वमा ‘सार्वजनिक जग्गा संरक्षण समिति’ निर्माण गरी सार्वजनिक जग्गा मिचेर अवैध रूपमा निर्माण गरिएका संरचना हटाएको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखावासीलाई विष्णुमती करिडोरबाट आवतजावत लागि सहज होस् भन्ने उद्देश्यले डोजर लगाइएको बताउनुभयो ।  टोखाभित्र १ हजारभन्दा बढी रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै यसलाई संरक्षण गर्ने योजना नगरपालिकाको रहेको उहाँको भनाइ थियो । नगरपालिकाका उपप्रमुख मुरारी तामाङले टोखाभित्रको सार्वजनिक सम्पत्ति संरक्षणका लागि नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।  नगरपालिकाले पहिलो चरणमा मनोरथ तीर्थदेखि टोखा प्रहरी चौकीसम्म विष्णुमति करिडोर आसपासमा निर्माण गरिएका संरचना हटाएको थियो ।  नगरपालिकाले केही दिनअघि सूचना जारी गरेर सार्वजनिक जग्गामा बनेका संरचना हटाउन नगरवासीलाई आग्रह गरेको थियो ।

काठमाडौं:    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गरेको छ । सीआईबीका प्रहरी उपरीक्षक एवम् प्रवक्ता होविन्द्र बोगटीले प्रसाईँलाई भक्तपुरस्थित निवासबाट मङ्गलबार पक्राउ गरिएको जानकारी दिए ।   

सुदूरपश्चिम:    गृहमन्त्री रमेश लेखकले नवीन सोचका साथ कार्यसम्पादन गर्न सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ । धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले सिमानाको रक्षा, आपराधिक गतिविधिको नियन्त्रण, विपद् व्यवस्थापन र सामाजिक सद्भाव कायम राख्न हरदम प्रहरी सक्रिय रहनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “ जनताले आफ्ना अधिकारलाई प्रयोग गर्न पाउने स्थितिलाई सुनिश्चित गर्नुुपर्छ,  मुलुकमा अमनचयन, विधिको शासन, शान्तिसुरक्षा र अनुशासन कायम गर्न जरुरी छ ।”      नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ऐनलाई समयानुकूल बनाउन नयाँ कानुन संसद्को आगामी अधिवेशनमा पेस गरिने  गृहमन्त्रीले बताउनुभयो ।           गृह मन्त्रालय र प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा भएको गोष्ठीमा प्रदेशका सबै नौ जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता छ ।

काठमाडौं:     भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आज भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस(केन्द्रीय कार्यालय, भद्रकालीको अवलोकन भ्रमण गर्नुभयो ।   अवलोकनपछि मन्त्री अधिकारीले नापी तथा मालपोतलगायत भूमि व्यवस्थासँग सम्बन्धित पुराना ऐन, कानुन, कार्यविधि र पुरातन मानसिकताका कारण कामकाज गर्न कठिन भएको बताउँदै पुराना तथा बाझिएका ऐन, नियम, कानुन संशोधन तथा परिमार्जन प्रक्रियामा अहिले मन्त्रालय क्रियाशील रहेको जानकारी दिनुभयो ।   धरान, भैरहवा, वीरगन्ज, जनकपुर, कृष्णनगरजस्ता महत्वपूर्ण सहर तथा व्यापारिक केन्द्रसहित देशव्यापी रूपमा जग्गाको स्वामित्व, भोगचलन र उपयोगका बारेमा विवाद तथा झमेला रहेको उल्लेख गर्दै उहाँले भूमि व्यवस्थासँग सम्बन्धित समस्या समाधानका लागि आवश्यक नीतिगत व्यवस्थासहित सुशासनलाई प्राथमिकता दिनेगरी मन्त्रालयमा कामकाज भइरहेको स्पष्ट गर्नुभयो ।   सो अवसरमा मन्त्री अधिकारीले राससको समाचार सम्पादन शाखाको निरीक्षण गर्दै समाचार सङ्कलन, सम्पादन तथा सम्प्रेषणका विषयमा जानकारी लिनुभयो ।   राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईले मन्त्री अधिकारीलाई राससमा स्वागत गर्नुभएको थियो ।  

जुम्ला:    जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तालाबन्दी भएको छ । त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीले प्रतिष्ठानमा ताला लगाएका छन् ।  बढुवा र स्तरवृद्विको माग सम्बोधन नभएको भन्दै ५८ जना शिक्षक कर्मचारीले प्रतिष्ठानमा तालाबन्दी गरेका हुन् ।  तालाबन्दीका कारण त्यहाँका पठनपाठन नै बन्द भएको छ । यस्तै उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारलगायत पदाधिकारीको कार्यकक्ष तालाबन्दी हुँदा काम ठप्प भएको छ । प्रतिष्ठानमा करिब चार सय जना शिक्षक कर्मचारी कार्यरत छन् । जसमध्ये ७०र७५ जना मात्रै स्थायी छन् । ठूलो सङ्ख्यामा करार र ज्यालादारी कर्मचारी कार्यरत छन् ।  विगत लामो समयदेखि प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई स्थायी प्रक्रियाअघि नबढाइनु, अदालतले आन्दोलनरत कर्मचारीको पक्षमा फैसला गरिसक्दा र जुम्लामा बसेको सिनेट बैठकले आन्दोलरत कर्मचारीको मागलाई सम्बोधनको प्रक्रियाअघि बढाउने निर्णय गरेपनि प्रतिष्ठानका पदाधिकारीले कार्यान्वयनमा आनाकानी गरेपछि तालाबन्दी गरिएको आन्दोलनरत कर्मचारीले बताएका छन् ।  विसं २०८० भदौ २१ गते कर्मचारीले आन्दोलन गरेर दुई पक्षीय सम्झौता गरेका थिए । जसमा असोज ८ गते बढुवापत्र प्रदान गरिएको थियो । तर, अन्य बाँकी स्थायी कर्मचारीको स्तरबृद्धि प्रक्रिया २०८० असोज १ गतेदेखि अगाडि बढाउने सहमति कार्यान्वयनमा ढिलाइ भएको आरोप कर्मचारीले लगाएका छन् । 

गण्डकी:      पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण आधार शिविरमा चर्को ध्वनि निकाल्ने यन्त्र लैजान निषेध गरिएको छ ।  चर्को आवाजले शान्त हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटकको एकाग्रता खल्बिलिने र यात्रामा बाधा पुग्ने भएकाले उक्त निर्णय गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।  आयोजना प्रमुख डा रविन कडरियाले पदयात्राका क्रममा या होटलमा बास बस्दा चर्को आवाजमा गीत बजाउने, होहल्ला गर्नेजस्ता क्रियाकलाप नगर्न पर्यटक र सर्वसाधारणलाई आग्रह गर्नुभयो ।  “आधार शिविर पुग्नुअगावै छोम्रोङ गाउँमा ध्वनि यन्त्रलाई राखेर जान र फर्कँदा लिएर आउन पर्यटकलाई अनुरोध गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अनुगमनका क्रममा कसैले त्यस्ता क्रियाकलाप गरेको भेटिएमा सामान जफत गर्र्छौँ ।” पदयात्रामा जाने कतिपयले पर्यटकले चर्को आवाजमा गीत बजाउँदा अन्य पदयात्रीलाई असर पुगेको गुनासो आएपछि चर्को ध्वनि लैजान रोक लगाइएको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो ।  आयोजना कार्यालयले उक्त कार्यमा कडाइ सुरु गरेपछि पर्यटकले कास्कीको अन्नपूर्ण गाउँपालिका–११ छोम्रोङमै त्यस्ता ध्वनि यन्त्र राखेर आधार शिविरतर्फ जान थालेका छन् ।  शान्त र प्रकृतिमय वातावरणमा पदयात्रा गर्न बर्सेनि ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक अन्नपूर्ण आधार शिविर पुग्ने गरेका छन् । आयोजना प्रमुख डा कडरियाका अनुसार अनुमतिबिना उक्त क्षेत्रमा ‘ड्रोन’ क्यामेरा पनि प्रयोग गर्न पाइँदैन ।  कसैले अटेर गरी ‘ड्रोन’बाट आधार शिविरको दृश्य कैद गरेमा क्यामेरा जफत गरिने उहाँको भनाइ छ । अन्नपूर्ण आधार शिविरसहित ‘एक्याप’भित्र पर्ने पर्यटकीय गन्तव्यस्थलको सरसफाइ अभियान पनि चलिरहेको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो ।  अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा उक्त अभियान थालिएको हो ।  आयोजना कार्यालयले अन्नपूर्ण आधार शिविरमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध लगाएको छ ।  मर्दी हिमाल, तारा हिलटपलगायत क्षेत्रमा पनि सिसा र प्लाष्टिकजन्य सामग्री नलैजान र भएको फोहर आफैँले लिएर आउन पर्यटकलाई आग्रह गरिएको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । पदमार्ग र बस्ती क्षेत्रमा भएको फोहरलाई वर्गीकरण गरेर व्यवस्थापन गर्न सुरु गरिएको उहाँको भनाइ छ । होटल व्यवस्थापन समिति, आमा समूहलगायत परिचालित गरेर फोहर व्यवस्थापनको काम अगाडि बढाइएको हो । पर्यटकीय क्षेत्रमा सङ्कलन भएको फोहरलाई पोखरामा ल्याइ प्रशोधन गर्ने योजना ‘एक्याप’ले बनाएको छ ।  अन्नपूर्ण क्षेत्रको भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सकभर पुनःप्रयोगमा आउने सामग्री लिएर जान अनुरोध गरिएको छ । “पर्यटकीयस्थलमा जथाभावी फोहर हुँदा राम्रो सन्देश नजाने हुँदा फोहर व्यवस्थापनलाई अभियानकै रूपमा सुरु गरिएको हो”, आयोजना प्रमुख डा कडरियाले भन्नुभयो ।  सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् ।  अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ ।  बर्सेनि असोज–कात्तिक र चैत–वैशाखको याममा उक्त क्षेत्रको पदयात्रा गर्ने पर्यटकको घुइँचो नै लाग्ने गर्छ । अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण क्षेत्रमा पर्ने चर्चित पर्यटकीय गन्तव्यस्थल हुन् ।

बागलुङ:   पौंदेलीले १७औँ शताब्दीदेखि मनाइँदै आएको न्वागी पर्व मनाएका छन् ।  यही मङ्सिर १ गते निकालिएको शुभसाइतअनुसार सोमबार  बिहान ९ः३७ बजे पश्चिम फर्केर न्वागी खाइएको बडिगाड गाउँपालिका–५ का वडाध्यक्ष विष्णुप्रसाद आचार्यले जनाकारी दिनुभयो । तत्कालीन गलकोट र पर्वत राज्यका सहयोगमा इस्मा राज्यले जुम्ला राज्यकोे विस्तार अभियानलाई रोकेको हुनाले पौंदी मौजा राजनीतिक महत्वको रहेकोे र यसै खुसीयालीमा न्वागी पर्व मनाउन थालिएको स्थानीय भानुभक्त पौडेलले जानकारी दिनुभयोयोे । “बागलुङको ग्वालीचौर, गुल्मीको अरेवा, अमराईलगायत पौंदीवासीको खेतमा धान पाकेपछि कात्तिकको पहिलो हप्ता मुसिकोटको छत्रकोटका पुजारी, स्थानीय र जनप्रतिनिधिको रोहवरमा मुठी लिने (धान काट्ने)र न्वागी खाने मिति हेराइने चलन छ”, स्थानीय रामबहादुर कुँवरले भन्नुभयो । यस वर्षको मुठी लिने (धान काट्ने)दिन भने गत कात्तिक ११ गते ९ः३३ बजे पूर्व फर्केर परेको उहाँले सुनाउनुभयो । न्वागी खाने समय र कुन दिशातर्फ फर्केर न्वागी खाने भन्ने यकिनचाहिँ मङ्सिर लागेपछि मात्र तोक्ने चलन रहेको कुँवरले सुनाउनुभयो । कात्तिक पहिलो हप्ता सबैसँगबाट मुठी लिई धान काटेर स्याहार्ने र न्वागीलाई घरघरमा हवन गरेपछि थानपति, छत्रभूमि, सिद्धका नाममा देवतालाई चढाई मङ्सिरको पहिलो हप्ताभित्र न्वागी खाने यस क्षेत्रमा चलन छ । यसपटकको न्वागी मेला पनि सोमबारबाटै ८ गतेसम्म बडिगाड गाउँपालिका–५ खारमा सुरु भएको छ । स्थानीयका अनुसार यस क्षेत्रमा उत्पादन हुने जर्डन प्रजातिको धानलाई दहीमा भिजाइ, केरा, सिलाम, चिनी आदि राखी स्वादिष्ट न्वागी बनाई खेत भएका र नभएका सबैले खाने प्रचलन छ । खेत भएकाहरूले खेत नभएकाहरूलाई पनि निम्ता गर्छन् भने आफ्ना आफन्त, इष्टमित्रलाई पनि न्वागी खुवाउने प्रचलन छ ।  परापूर्वकालमा स्थानीयले बाजागाजा बजाउने, भैलो तथा सोरठी गाएर मनाउने गरिएको यस पर्वलाई आजकल आधुनिकताले छोपेको बूढापाकाले गुनासो गर्ने गरेका छन् ।