काठमाडौं: गत मङ्गलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख निवारण कल्याणकोषले ल्हासामा बसोबास गरिरहेका नेपाली समुदायबाट सङ्कलन भएको रु ३७ लाख १७ हजार पाँच सय ३० प्रदान गरिएको छ । ल्हासास्थित रेडक्रस कार्यालयमा आज आयोजित कार्यक्रममा कल्याणकोषका अध्यक्ष कुञ्जो धार्के नेपालीले ल्हासा रेडक्रसका प्रमुख लियो यिदोङलाई सहायता रकम हस्तान्तरण गर्नुभएको हो । ल्हासास्थित महावाणिज्यदूतावासका अनुसार सहायता रकम ग्रहण गर्दै अध्यक्ष लियोले महावाणिज्यदूतावास, कल्याणकोष र नेपाली समुदायप्रति आभार व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा अध्यक्ष लियो र महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाबीच नेपाल–चीन सम्बन्धका विविध पक्षमा छलफल भएको थियो ।
काठमाडौं: प्रेस चौतारी नेपालले ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नका साथै दशौँ महाधिवेशन आगामी फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा आयोजना गर्ने निर्णय गरेको छ । मनोनीत केन्द्रीय सदस्यमा ईश्वरी काफ्ले, रामकृष्ण ज्ञवाली, प्रकाश सिलवाल, शन्तराम विडारी, डिल्ली आचार्य, खगेन्द्र अधिकारी, दिलबहादुर छन्त्याल, तिलक रिमाल, वसन्ती बास्तोला, भवानी कार्की, सतिदेवी उप्रेती, श्यामकृष्ण दाहाल, गणेश ज्ञवाली, उर्वसी बस्नेत, सङ्गीता आचार्य, कमला पन्थी, कालिका शिवाकोटी, श्रीधर पौडेल, लक्ष्मण तिवारी, सम्झना वन, काशी रिजाल, शङ्कर पाण्डे, भोजराज विश्वकर्मा, मालती केसी, सुनिता महतो, चिवच्छ चौधरी, सम्झना गौतम, धर्मेन्द्र दाहाल, अप्सरा गौतम, पार्वता चौधरी, नरेश शाही र सलिम मियाँ छन् । महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष गणेश बस्नेतको नेतृत्वमा मूल व्यवस्थापन समिति गठन भएको छ । चौतारीको हालैको बैठकले सङ्गठनका जिल्ला अधिवेशन आगामी माघ २५ गतेभित्र र प्रदेश अधिवेशन फागुन ७ गतेभित्र गरिसक्ने निर्णय भएको चौतारीले जनाएको छ । बैठकले सङ्गठनको स्थापना दिवसका दिन प्रदान हुँदै आएको हृदयचन्द्रसिंह प्रधान र अग्निशिखा स्मृति पत्रकारिता पुरस्कारसहित सबै पुरस्कार सिफारिस गर्न वरिष्ठ पत्रकार गोविन्द पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय सिफारिस समिति गठन गरेको छ । महिला पत्रकारलाई प्रदान गर्नेगरी यसैवर्ष स्थापना गरिएको प्रेस चौतारी राष्ट्रिय महिला पत्रकारिता पुरस्कार सिफारिस गर्न बैठकले सङ्गठनका उपाध्यक्ष देवीका घर्तीमगरको संयोजकत्वमा तीन सदस्यीय समिति पनि गठन भएको छ ।
काठमाडौं: क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । आगलागीबाट आक्रान्त बनेको लस एन्जलस र वरपरका क्षेत्रमा क्यालिफोर्नियाको नेसनल गार्डका सैनिकहरुलाई परिचालन गर्ने तयारी गरिरहेको अधिकारीले बताएका छन् । लस एन्जलस काउन्टी मेडिकल एक्जामिनरले बिहीबार अबेर १० जनाको मृत्यु भएको र संयुक्त राज्य अमेरिकाको दोस्रो ठूलो शहरको ठूलो भाग भग्नावशेषमा परिणत भएका बेला क्यालिफोर्नियाको नेसनल गार्डका सैनिकहरुलाई परिचालन गर्ने तयारी गरिरहेको जानकारी आएको हो । आगो निभाउने अभियान रातभर चलिरह्यो। आगो निभाउनका लागि पानी छर्किने हेलिकोप्टरका चालकले हावाको सुस्तताले आगो निभाउने अभियानलाई साथ दिएको बताएका छन् । यद्यपि, नयाँ डढेलोहरू निस्कने क्रम जारी रहेको छ । लस एन्जलस काउन्टीका शेरिफ रोबर्ट लुनाले रातको समयमा कफ्र्यू लगाउने योजना रहेको र राज्यको नेसनल गार्डले प्रभावित क्षेत्रमा गस्ती गरिरहेको बताउनुभएको छ । गभर्नर गेभिन न्युसमले हजारौं को सङ्ख्यामा सेनाका सदस्य र सरकारी कर्मचारीहरू तैनाथ गरिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “हामी आगामी दिनमा समुदायको सुरक्षाका लागि नेसनल गार्ड सेवाका सदस्यसहित सबै तैनाथ गरिरहेका छौँ । यसले सहरमा हुनसक्ने सम्भावित लुटपाटका घटनालाई नियन्त्रण गर्न सकिनेछ ।” लुनाका अनुसार अधिकारीहरूले उद्धार क्षेत्रमा गस्ती गरिरहेका छन् र त्यहाँ नबस्ने जो कोहीलाई पनि परिचय पत्रका आधारमा पक्राउ गर्नेछन् । सबैभन्दा ठूलो डढेलो प्यासिफिक पालिसाडेस आसपासको करिब २० हजार एकड (आठ ८०० हेक्टर) क्षेत्रमा फैलिएको छ भने अल्टाडेना वरपरको अर्को आगलागीले १३ हजार ७०० एकड जमिन जलेर नष्ट भएको छ। अग्निनियन्त्रकले प्यासिफिक पालिसेड्समा लागेको आगोको छ प्रतिशत परिधिमा रहेको र त्यसको परिधिमा आगोलाई नियन्त्रण गर्न थालेको बताएका छन् ।
काठमाडौं: सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको छ । यही पुस २३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी दिनुभएको हो । बैठकले सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकका रुपमा काम गर्नेगरी काजमा खटाउने निर्णय गरेको छ । बैठकले आगामी माघ २८ देखि ३० गतेसम्म फिलिपिन्सको मनिलामा सञ्चालन हुने ‘वर्कसप अन इनह्यान्सिङ एसएआई–सिएसओ इन्गेजमेन्ट इन द एएसओएसएआई रिजन’ कार्यक्रममा सहभागी हुन उपमहालेखापरीक्षक वामदेव शर्मा अधिकारलाई स्वीकृत प्रदान गरेको जानकारी उहाँले दिनुभयो । मन्त्री गुरुङका अनुसार मन्त्रिपरिषद्ले आगामी फागुन १२ देखि १५ गतेसम्म इटालीको रोममा आयोजना हुने जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्रीलाई स्वीकृति प्रदान गरेको छ ।
सङ्खुवासभा: सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले २०७९ चैत २३ गते प्रकाशन गरेको सूचनाअनुसार एक महिनाभित्र भुक्तानी दिन सर्वोच्च अदालतले यही पुस ११ गते परमादेश जारी गरेको छ । त्यति बेला जिल्ला प्रशासनले छ्याङ्कुटीबाट विद्युत् गृह जाने २४ किलोमिटर प्रवेशमार्गको पाँच सय २४ रोपनी जग्गाको मुआब्जा प्रतिरोपनी रु ११ लाख ७५ हजारका दरले तोकेको थियो । प्रशासनको धरौटी खातामा पीडितका लागि ‘अरुण–३ पावर डेभलपमेन्ट कम्पनी लिमिटेड’ले तत्कालै रु ५३ करोड जम्मा गरिदिएको थियो । आयोजनाको प्रवेशमार्गमा झण्डै चार सय परिवारको घरजग्गा परेको छ । सर्वोच्चको परमादेशपछि गृह मन्त्रालयलाई पत्र पठाइएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताउनुभयो । विसं २०८१ जेठ २२ गते अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङमार्गको ब्रेक थ्रु गरेर सुरुङमार्गको काम सकिएको घोषणा गरिएको थियो ।
झापा: झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ । नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाट मर्मतसम्भार गरिने बिजोर नम्बरका सीमास्तम्भ मर्मत थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण, झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिनुभयो । मेचीनगनर नगरपालिका–१५ सिसुवाडाँगीस्थित सानो सीमास्तम्भ नं ९५/१२ बाट मर्मतसम्भार कार्य थालिएको उहाँले बताउनुभयो । झापामा भारतसँग नेपालको सीमा जोडिएको एक सय ४४ दशमलव दुई किलोमिटर क्षेत्रअन्तर्गत रहेका एक सय सात सीमास्तम्भ मर्मतसम्भार गरिनेछन् । सशस्त्र प्रहरीसँगै जिल्ला प्रशासन कार्यालय, नापी विभाग, स्थानीय जनप्रतिनिधि, भारतीय सीमा सुरक्षा बल (एसएसबी), स्थानीयवासीको उपस्थितिमा सीमास्तम्भ मर्मत सुरु गरिएको हो । सीमा क्षेत्रमा रहेका सीमास्तम्भमध्ये सन् २०१४ पछि निर्माण गरिएका बिजोर नम्बरका सीमास्तम्भ सशस्त्र प्रहरी बल नेपालले र जोर नम्बरका स्तम्भ भारतीय सीमा सुरक्षा बलले मर्मतसम्भार गर्ने निर्णयानुसार गत वर्षदेखि दुवैतर्फ सीमास्तम्भ मर्मत कार्य हुँदै आएको छ ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आज एक निर्देशन जारी गर्दै राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहँुचका आधारमा राष्ट्रिय परिचयपत्र वा सोको नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा र खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको छ । लघुवित्त वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण नियमावली, २०७३ बमोजिम ग्राहकको पहिचान तथा सोको सम्पुष्टि गर्नु पर्नेछ । ग्राहक पहिचान तथा सम्पुष्टिसम्बन्धी नीति तथा कार्यविधि बनाई ग्राहकको पहिचान तथा सोको सम्पुष्टि हुने सुनिश्चितताका आधारमा विद्युतीय माध्यमबाट समेत खाता खोल्न वा व्यावसायिक सम्बन्ध स्थापित गर्न सकिने निर्देशनमा उल्लेख छ । त्यस्तो कार्यविधिले विद्युतीय माध्यमबाट प्राप्त गर्न सकिने आवश्यक कागजात तथा विवरणको सूची, सही कागजात तथा विवरण प्राप्त गर्न भरपर्दो विद्युतीय माध्यम र नियमित रूपमा सम्पुष्टि गरिने विधिसमेत तय गरको हुनुपर्ने व्यवस्था छ । विद्युतीय माध्यमबाट गरिने कारोबारमा हुनसक्ने जोखिम एवं दुरूपयोगबाट सुरक्षित रहन बैंक वा वित्तीय संस्थाले पर्याप्त उपाय अवलम्बन गर्नुपर्ने निर्देशनमा समेटिएको छ । यस्तै आगामी माघ १ सम्ममा संस्थाले सबै उच्चपदस्थ व्यक्तिको खातामा पनि राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्नेछ ।
काठमाडौं: अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा घुस रकमसहित पुगेका अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ । मेसिनरी सामान खरिदसम्बन्धी उजुरीमाथि आयोगको कार्यालय कञ्चनपुरमा छानबिन भइरहेको बेला सापकोटा अनुसन्धान अधिकृतको कार्यकक्षमा आई कागजातसहितको खाम दिँदा रू एक लाख बराबरको घुस रकम फेलापरेको थियो । अनुसन्धान अधिकृतले सोधपुछ गर्दा मुद्दा मिलाइदिनका लागि स्वेच्छाले नै रकम ल्याएको भन्ने बयान सापकोटाले दिएका थिए । आयोगले बिहीबार सापकोटाविरूद्ध रू एक लाख बराबरको बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
गण्डकी: पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ । लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उहाँ आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो । अदालतको आदेशानुसार रू ६५ लाख धरौटी बुझाएर उहाँ कास्की प्रहरीको हिरासतबाट रिहा हुनुभएको थियो । उहाँसँगै उक्त मुद्दाका छ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका हुन् । लामिछाने, छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो । न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई रू ६५ लाख, छविलाल जोशीलाई रू ८८ लाख, लीला पछाईँलाई रू ३७ लाख, मीना गुरूङलाई रू पाँच लाख, रामबहादुर खनाललाई रू १५ लाख, आरती गुरूङलाई रू पाँच लाख र कृष्णबहादुर गुरूङलाई रू एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । प्रतिवादी लीला पछाईँले भने आज धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहेको अदालतले जनाएको छ । अदालतमा दश दिनसम्म भएको थुनचेक बहसपछि प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्न आदेश आएको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । धरौटीमा रिहा भएका प्रतिवादीहरूको मुद्दामा थप अनुसन्धान हुने श्रेस्तेदार खनालले बताउनुभयो ।

