काठमाडौं: नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले आज मुस्ताङ जिल्लास्थित मुक्तिनाथ मन्दिरको भ्रमण गर्नुभएको छ । सो अवसरमा उहाँले मुक्तिनाथ मन्दिरमा पूजाअर्चनासहित दर्शन गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाल र भारतका हिन्दू एवं बौद्ध धर्मावलम्बीले मुक्तिनाथको पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन् । प्रत्येक वर्ष हजारौँ भारतीय दर्शनार्थी मुक्तिनाथको दर्शनका लागि आउने गरेका छन् । आजै, भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदीले पोखरास्थित श्री पश्चिम पृतना मुख्यालयको भ्रमण गर्नुभएको छ । उहाँलाई पृतनापति उपरथी सन्तोष बल्लभ पौडेलले पश्चिम पृतनामा स्वागत गर्नुभएको थियो । नेपाली सेनाको निमन्त्रणामा उहाँ बुधबार नेपाल भ्रमणमा आउनुभएको हो । बिहीबार उहाँले सेनाको राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ महारथीबाट सुशोभित हुनुभएको छ ।
सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका–११ खहरेस्थित अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता भएका छन् । चैनपुर–११ कुइबिरका ४८ वर्षीय गजेन्द्र जिमी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो । शनिबार दिउँसो चैनपुर–११ खहरेस्थित अरुण नदीमा पूजा गर्न क्रममा चिप्लिएर जिमी बेपत्ता हुनुभएको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो । जिमीको सशस्त्र प्रहरी, प्रहरी र स्थानीयले खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार गजेन्द्र अरुण नदीमा पूजा सुरु गरे लगत्तै नदीमा चिप्लिएर बेपत्ता हुनुभएको थियो । चैनपुर–११ कुइबिरका गजेन्द्र परिवारका छ जनासहित शनिबार अरुण नदी पुग्नुभएको थियो । शनिबार साँझसम्म पनि जिमीको शव फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौं: काठमाडौंका विभिन्न क्षेत्रमा आजमात्रै तीन जना मृत भेटिएका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका, टोखा र दक्षिणकालीमा शव भेटिएको काठमाडौंका प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभएको छ । उहाँका अनुसार गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा सोलुखुम्बु घर भएका ५२ वर्षीय नरबहादुर राई, टोखा नगरपालिका–१० खरिबोटस्थित सत्कार खाजा पसलका सञ्चालक सुनसरी धरान उपमहानगरपालिका घर भएका ५५ वर्षीय अर्जुनकुमार राई आफ्नै खाजा पसल अगाडि मृत फेला परेका छन् । यसैगरी दक्षिणकाली नगरपालिका–६ दक्षिणकाली साँस्कृतिक क्षेत्र सुधार समितिको जङ्गलको पानी ट्याङ्की नजिक खोल्सामा आज बिहान एक पुरुष मृत भेटिएका प्रहरीले जनाएको छ । अन्दाजी ६० वर्षीय ती पुरूषको पहिचान खुलेको छैन । तीनै वटा घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कञ्चनपुर: पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगर आउँदै गरेको ना ४ ख ७७५५ नं को बस दुर्घटना हुँदा बसमा सवार ३१ जना घाइते भएका छन् र दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिनुभयो । घाइतेहरूको अत्तरिया र महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचार भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पिता मोहनप्रसाद ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत रहनुभएका आफ्ना पिताको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीले जानकारी लिनुभएको उहाँले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ । सामाजिक सञ्जालमाफमा भनिएको छ, “बुबालाई फोक्सोसम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ, अहिले स्वास्थ्य स्थिति सामान्य छ ।”
गण्डकी: शल्यचिकित्सक समाज नेपालको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा जारी छ । ‘साउथ एसियन सर्जिकल केयर सोसाइटी’सँगको सहकार्यमा शुक्रबारदेखि सुरु भएको सम्मेलनमा आठ सय बढी सहभागी छन् । सम्मेलनमा दई सय जना अन्तर्राष्ट्रिय प्रतिनिधिले भाग लिएको समाजका महासचिव डा. शैल रुपाखेतीले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा चार वटा समानान्तर सत्रसहित दुई सय बढी वैज्ञानिक तथा अनुसन्धानमुलक कार्यपत्रको प्रस्तुती रहनेछ । यस्तै २५ भन्दा बढी सर्जिकल भिडियो सम्मेलनमा प्रदर्शन गरिने उहाँले बताउनुभयो । कार्यपत्रमाथि विज्ञसहितले सामूहिक छलफल गर्ने कार्यक्रम रहेको उहाँको भनाय छ । सम्मेलनपूर्व बिहीबार स्तन क्यान्सर, ग्यास्ट्रेक्टोमीलगायत शल्यचिकित्साका विभिन्न विषयका कार्यशाला सञ्चालन गरिएको समाजले जनाएको छ । शनिबारसम्म चल्ने सम्मेलनमा शल्य चिकित्साका क्षेत्रमा भएका नयाँ वैज्ञानिक अनुसन्धान र खोजबारे गहन छलफल हुने जनाइएको छ । “देशविदेशका शल्यचिकित्सकबीच ज्ञान, सीप र अनुभवको आदानप्रदानका लागि यो सम्मेलन फलदायी हुने अपेक्षा लिइएको छ”, महासचिव डा. रुपाखेतीले भन्नुभयो, “सम्मेलनका अवसरमा शल्यचिकित्सका क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तित्वहरुलाई विभिन्न पुरस्कार तथा सम्मानसमेत प्रदान गरिनेछ ।” सम्मेलनमा अतिथिका रुपमा सहभागी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मेलनले स्वास्थ्य सेवाका क्षेत्रमा साझेदारी, सहकार्य र नवप्रर्वद्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता गराउन सबैको सामूहिक प्रयत्न जरुरी रहेको बताउनुभयो । “सम्मेलनमा हुने अनुसन्धानमूलक कार्यपत्रको प्रस्तुतिले शल्यचिकित्सा क्षेत्रमा नयाँ प्रविधि र सीपको सुदृढीकरण गर्न मद्दत पुग्नेछ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “स्वास्थ्य क्षेत्र सुधारका लागि सामूहिक प्रयास र साझेदारीको खाँचो छ ।” अस्पतालहरुमा चिकित्सकमाथि हुने गरेका दुव्र्यवहारका घटना निन्दनीय रहेको भन्दै उहाँले त्यस प्रकृतिका कृयाकलाप हुन नदिन प्रदेश सरकार सचेत रहेको उल्लेख गर्नुभयो । प्रदेशका सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले आधुनिक चिकित्सासँगै आयुर्वेद र प्राकृतिक चिकित्साको विकासमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रका सुधारका लागि कार्ययोजना बनाएर काम सुरु गरिएको उहाँको भनाइ छ । उहाँले शल्यचिकित्सालगायत स्वास्थ्य क्षेत्रका समस्याको पहिचान र समाधानको उपाय पहिल्याउन सम्मेलन सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनमा ‘साउन एसियन सर्जिकल केयर सोसाइटी’का अध्यक्ष डा. सुनिलकुमार शर्मा ढकाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटा, नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीलगायतका वक्ताले सम्मेलनको महत्व र आयामबारे विचार व्यक्त गरेका थिए । सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, चीन, बङ्गलादेश, भूटान, जापान, कोरिया, अमेरिकालगायत मुलुकका शल्यचिकित्सक सहभागी छन् ।
नवलपरासी: पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयमा पुस्तकालय स्थापना गरिएको छ । जिल्लाका प्रत्येक प्रहरीलाई अध्ययनशील बनाउन जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना गरिएको हो । जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार प्रहरीले आफ्नो काम सकेपछि पुस्तकालयमा बसेर पढ्न, कोठामा लैजान सक्नेगरी अध्ययनको वातावरण बनाउन लागिएको हो । पुस्तकालयमा लुम्बिनी स्मारिका, मदरसा सन्देश, ज्ञान गङ्गा, जीउने मार्ग, आधुनिक ब्राहमण्ड, चौतारी, दरबाहिरकी महारानी, प्रज्ञा आधुनिक नेपाली गजललगायत तीन सयबढी किताब राखिएका छन् । प्रहरी उपरीक्षक फुयाँलले तीन हजार किताब थप गर्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो । अहिले प्रहरीका लागि मात्र कार्यालयभित्र पुस्तकालय स्थापना गरिएको भन्दै आगामी दिनमा सर्वसाधारण पनि कार्यालयभित्र आएर पढ्न पाउने वातावरण बनाइने फुयाँलले उल्लेख गर्नुभयो । पुस्तकालय गत कात्तिकमा स्थापना भएको थियो ।
काभ्रेपलाञ्चोक: गत असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेपलाञ्चोमा १३ हजार चार सय २७ वटा रुख क्षति भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको ‘वातावरण क्लस्टर’को प्रारम्भिक अध्ययन समितिद्वारा सार्वजनिक प्रतिवेदनमा ती सङ्ख्यामा रुख लडेको तथा बगाएको उल्लेख गरिएको छ । समितिका अनुसार जिल्लाका १३ स्थानीय तहका सामुदायिक, राष्ट्रिय तथा निजी वनका रुख लडेका हुन् । सरकारी वनमा रहेका पाटेसल्लो, ठिमुरे, उत्तिस, खयरलगायत रुखको करिब तीन सय क्युफिट काठ ढलेको प्रारम्भिक तथ्याङ्कले देखाएको हो । अग्लाअग्ला रुख भएका स्थानबाट पहिरो फुटेको, माटोको प्रकार बलौटे भएको, माटोले पानीलाई थेग्नसक्ने क्षमताभन्दा अत्यधिक पानी परेको र सो माटो आफैँ तरल बनी बग्दै जाँदा सोही स्थानको चट्टान ढल्काइ वनजङ्गलमा भएका रुख प्रजातिको जराको प्रकृति एवं जरामुनि रहेको चट्टान बग्न गई पहिरो गएको निष्कर्ष निकालिएको छ । प्रतिवेदनमा सामुदायिक वन व्यवस्थापन हुन नसक्दा बुढा रुख भिरमा आफैँमा भार थाप्न नसकी ढलेको, झाडी सफाइ नभएको, अग्नीरेखा निर्माण नभएको, आगलागी भई वनको क्षयीकरण र हरितगृह ग्यासको उत्सर्जन भई जलवायु परिवर्तनमा टेवा पुगेको जनाइएको छ । भारी वर्षाका कारण ठूलो, बाढीपहिरो आई भौतिक, जैविक तथा सामाजिक वातावरणमा ठूलो क्षति भएका सन्दर्भमा प्रमुख समस्याको पहिचान, त्यसका कारण र प्रभाव पहिचान गरी आगामी दिनमा यस्तो जलवायुजन्य विपद् आउन नदिन चाल्नुपर्ने कदमका सन्दर्भमा भूगर्भविद्, वातावरणविद्ले स्थलगत अध्ययन गरी प्रारम्भिक प्रतिवेदन तयार गरिएको वन अधिकृत, वातावरण निरीक्षक देवराज घिमिरेले बताउनुभयो । उहाँका अनुसार विपद्पछि जमिनको क्षयीकरण र भूक्षय भएको, पहिरो लडेको, नदीको धार परिवर्तन भएको, नदीको चौडाई ४ गुणासम्म बढेको, मानवीय, सामाजिक, आर्थिक र भौतिक पूर्वाधाको क्षति भएको पाइएको अध्ययन समितिको निष्कर्ष रहेको छ । अध्ययन समितिमा घिमिरेलगायत पुल्चोक इञ्जिनियरिङ क्याम्पसका भू–गर्भविद् प्रकाशचन्द्र घिमिरे र वातावरविद् निराजन श्रेष्ठ, तथा जिल्लास्थित सवडिभिजन वन कार्यालयका विज्ञ कर्मचारी, स्थानीय जनप्रतिनिधिको सहभागिता थियो । प्रतिवेदनमा बाढीपहिरोबाट क्षति हुनुका कारण उल्लेख गरिएको जनाइएको छ । “अब विस्तृत अध्ययन हुनेछ, त्यसपछि विशेषगरी वातावरणीय प्रभावबारे विस्तृत कारण पत्ता लाग्नेछ”, वन अधिकृत घिमिरेले भन्नुभयो । अध्ययन टोलीले गरेको पहिलो स्थलगत अध्ययनका आधारमा प्राविधिक, वातावरणीय, भौगोलिक, राजनीतिक, सामाजिक आर्थिक आयाम र जलवायुजन्य विपद् र समस्याले सृजना गरेका असर मुख्य कारण मानेको छ । यस्तै ग्रामीण सडक निर्माण गर्दा इञ्जिनियरिङ डिजाइन, वातावरणीय मूल्याङ्कन नगरी राजनीतिक दबाब र कार्यकर्ताको छनोटका आधारमा खनिनु प्रमुख कारण मानिएको प्रतिवेदनमा उल्लेख छ
काठमाडौं: परीक्षणका रूपमा नि:शुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार शुल्क निर्धारण गर्न सहरी विकास मन्त्रालयले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेको थियो । उक्त प्रस्ताव स्वीकृत भएसँगै यही मङ्सिर ९ गतेदेखि धरहरा चढ्दा उल्लेखित शुल्क लाग्ने मन्त्रालयले जनाएको छ । स्वदेशी नागरिकको हकमा भने विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने छन् । यस्तै, धरहरामा पार्किङ गर्दा चार पाङ्ग्रेलाई प्रतिघण्टा रु २० र दुई पाङ्ग्रेलाई रु १० तोकिएको छ । यस्तै, धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन (व्यावसायिक बाहेक) गर्न प्रतिघण्टा रु पाँच हजार, धरहरा परिसरमा व्यावसायिक भिडियो छायाङ्कन गर्न प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार शुल्क निर्धारण गरिएको छ ।