चितवन: राष्ट्रिय समाचार समिति (रासस)को भरतपुर महानगरपालिका–१० स्थित तालिम केन्द्र भवन तीव्र गतिमा निर्माण भइरहेको छ । सघन सहरी तथा भवन निर्माण आयोजना मार्फत निर्माणाधीन भवनको ७० प्रतिशत भौतिक प्रगति भइसकेको आयोजनाले जनाएको छ । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले निर्माणाधीन उक्त भवनको आज निरीक्षणपछि यथासक्य छिटो काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । उहाँले भवन निर्माण सम्पन्न भएसँगै तालिम केन्द्रका लागि आवश्यक तयारी गरिने बताउनुभयो । हालसम्म राससको आफ्नै तालिम केन्द्र छैन । आयोजनाका इन्जिनियर सन्तोष यादवका अनुसार निर्माण कम्पनीले आगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने जनाएको छ । भूमिगत (अण्डरग्राउण्ड)सहित चार तलाको उक्त भवनमा तालिम हल, स्टुडियो, पुस्तकालय, कार्यालय, चमेनागृह र १३ वटा आवासीय कोठा हुनेछन् । भवन थप दुई तला बनाउने योजना छ । आयोजनाले रु ७ करोड बजेट विनियोजन गरेकामा बोलपत्र आह्वान गर्दा रु ५ करोड ५० लाख ६० हजार ६६ मा ठेक्का सम्झौता भई काम भइरहेको छ ।
काठमाडौं: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)को आज भएको ४८औँ प्राज्ञसभाले विभिन्न १२ विधामा वैज्ञानिक, प्राविधिज्ञ र प्रतिभालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले नाष्टका प्राज्ञको संयोजकत्वमा गठित छनोट तथा मूल्याङ्कन समितिको सिफारिसका आराधामा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । निकट भविष्यमा आयोजना हुने प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा ती पुरस्कार प्रदान गरिनेछ । बैठकमा योगदानमा आधारित निवृत्तिभरण कार्यान्वयन, आर्थिकप्रशासन नियमावली संशोधन, २०६६ संशोधनको प्रस्तावलाई थप गृहकार्यसहित छिट्टै बस्ने प्राज्ञसभामा पेश गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो । उहाँले आवश्यक गुणस्तरीयरुपमा समयमा काम गर्ने प्रणाली स्थापित गर्न नाष्टका पदाधिकारीलाई आग्रह गर्नुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं नाष्टकोसहकुलपति विद्या भट्टराईले सार्वजनिक खरिद ऐनबमोजिम नाष्टका खरिदसम्बन्धी प्रबन्ध गर्न ध्यानाकर्षण गराउनुभयो । प्रतिष्ठानका उपकुलपति प्राडा दिलीप सुब्बाले आवश्यक गृहकार्य गरेर नियमावलीहरु संशोधनको प्रस्ताव ल्याइने बताउनुभयो ।
काठमाडौं: देशभरका होटल व्यवसायीको छाता संस्था होटल सङ्घ नेपाल (हान)ले होटल क्षेत्रलाई उद्योग सरह विद्युत् उपलब्ध गराउन माग गरेका छन् । सङ्घका अध्यक्ष विनायक शाह नेतृत्वको टोलीले आज उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई भेटेर होटल क्षेत्रलाई उत्पादन मुलक उद्योगले पाएको विद्युत् छुट सरहको सुविधा दिन माग गरेको हो । हानले होटलमा विद्युतीय चुल्हो राख्नका लागि आवश्यक नीति बनाउनुपर्ने, होटललाई समेत टाइम अफ डे (टिओडी) मिटर प्रदान गर्ने व्यवस्था लागू गरी प्रोत्साहित नीति लिन मन्त्रीसमक्ष आग्रह गरेको छ । होटल व्यवसायीहरुले औद्योगिक व्यवसाय ऐन, २०५६ को दफा ३ बमोजिम होटल उद्योगमा दर्ता हुनुपर्ने र पर्यटन ऐन २०३५ को दफा १० बमोजिम होटल, लज, रिसोर्ट, पर्यटक स्तरमा दर्ता गराउन चाहेमा सरकार समक्ष दर्खास्त दिनुपर्ने व्यवस्था बमोजिम पर्यटन विभागबाट स्तर निर्धारण भएका होटललाई अन्य उत्पादनमूलक उद्योग सरहको सुविधा दिन माग गरेका छन् । भेटमा ऊर्जामन्त्री खड्काले निजी क्षेत्र सुदृढ नभएसम्म राष्ट्रिय अर्थतन्त्र सुदृढ नहुने भन्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति वर्तमान सरकारले लिएको बताउनुभएको थियो । मन्त्री खड्काले नेपालमा होटल क्षेत्रले ठूलो रोजगारी प्रदान गरेको भन्दै यसलाई अगाडि बढाउन सरकार लाग्ने स्पष्ट पार्नुभयो ।
खोटाङ: सगरमाथा राष्ट्रिय लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट खण्डको फोक्सिङटारस्थित सुनकोसी नदीमा अस्थायी बेलिब्रिज जडान गर्न तयारी सुरु गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसी नदीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल गत असोज १२ गते आएको बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गर्न तयारी सुरु गरिएको हो । फोक्सिङटारमा करिब ५० मिटर लामो अस्थायी बेलिब्रिज जडान गर्नेगरी ठेक्का आह्वान गरिएको सगरमाथा लोकमार्ग (गाईघाट–दिक्तेल)सडक आयोजना कार्यालय उदयपुरका आयोजना प्रमुख पशुपति ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार यही मङ्सिर १८ गतेसम्म ठेकेदार कम्पनीले दरखास्त हाल्न पाउनेगरी समयसीमा निर्धारण गरी सूचना प्रकाशन गरिएको छ । अहिले अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याउने र पुनः खोलेर राख्नेगरी ठेक्का आह्वान गरिएको गाईघाट–दिक्तेल सडक कार्यालयले जनाएको छ । फोक्सिङटारमा २०७९ सालमा एक सय २० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल बनेपछि लामो समयदेखि बर्सेनि अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्ने र झिकेर राख्नुपर्ने बाध्यता अन्त्य भएको थियो । २ वर्ष नबित्दै बाढीले उक्त पुल बगाएपछि जिल्लावासीका लागि पुनःअस्थायी बेलिब्रिजको भर पर्नुपर्ने बाध्यता दोहोरिएको हो । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको सुनकोसीस्थित फोक्सिङटारमा विसं २०७९ मा खोलेर राखिएका सामानलाई पुनः राख्ने तयारी गरिएको आयोजना प्रमुख ज्ञवालीले बताउनुभयो । सो स्थानमा हिउँदमा राख्ने र वर्षा लाग्ने वित्तिकै झिक्ने गरी अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालन गर्ने गरिएको थियो । निर्माण कम्पनी गौरी–पार्वती–वाईपी जेभीले फोक्सिङटारमा निर्माण गरिरहेको पुल ‘फिनिसिङ’ गर्न र हस्तान्तरण गर्न बाँकी छँदै विसं २०७९ पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । ठेकेदारको ढिलासुस्तीका कारण फोक्सिङटारमा मोटरेबल पक्की पुल बन्न १० वर्ष कुर्नुपरेको थियो । सडक कार्यालयले सूचना प्रकाशन गरेपछि संविधानसभा सदस्य विशाल भट्टराईले फोक्सिङटारमा आगामी पुस दोस्रो साताभित्र अस्थायी बेलिब्रिज जडान सम्पन्न गरेर सञ्चालनमा ल्याउनेगरी पहल भइरहेको जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का पोलिटब्यूरो सदस्यसमेत रहनुभएका उहाँले वर्षाद्को समयमासमेत निकाल्नु नपर्नेगरी पुल निर्माण गर्न पहल थालिएको उहाँले तदारुकताका साथ लागेको उल्लेख गर्नुभयो । प्रतिनिधिसभाका सांसद रामकुमार राई ‘पासाङ’ले फोक्सिङटारमा स्थायी पुल निर्माण गर्न सशक्त पहल गरिरहेको बताउनुभयो । “फोक्सिङटारमा तत्काल अस्थायी बेलिब्रिज जडान गर्न पटकपटक सम्बन्धित निकायमा खबरदारी गरेपछि सडक पूर्वाधार कार्यालयले ठेक्का आह्वान भएको सूचना प्रकाशन गरेको छ । सम्भवतः आगामी पुसभित्र अस्थायी बेलिब्रिज जडान भएर सञ्चालनमा आउँछ”, उहाँले भन्नुभयो, “यहाँ स्थायी पुल नबनेसम्म समस्या समाधान हुँदैन । स्थायी पुल निर्माण गर्न पहल भइरहेको छ ।”कोसी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले फोक्सिङटार पुलको स्थायी समाधान गर्ने प्रयास जारी रहेको उल्लेख गर्नुभयो । प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’को सचिवालयले फोक्सिङटारमा स्थायी पुल बनाउन पहल गरिरहेको सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ । यहाँको मोटरेलब पक्की पुल बाढीले बगाएपछि पूर्वी तराईसँगको सिधा सम्पर्क विच्छेद भएको वर्तमान अवस्थामा स्थानीय जनप्रतिनिधि र नागरिकको खबरदारीले यथाशीघ्र अस्थायी बेलिब्रिज जडान भएर सञ्चालनमा आउने अपेक्षा स्थानीयले गरेका छन् । मोटरेबल पक्की पुल बाढीले बगाएपछि जिल्लाको भौतिक पूर्वाधार विकास १० वर्ष पछाडि धकेलिएको जिल्लावासीको भनाइ छ ।दिक्तेल–गाईघाट खण्डको महुरे–फोक्सिङटार ९४९ किलोमिटर० सडक कालोपत्रको काम अलपत्र छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको उक्त खण्डमा ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको स्थानीय बताउँछन् ।
बागलुङ: मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा एकै पटक ५ वटा पुल निर्माण सुरु गरिएको छ । बागलुङको काठेखोलामा एउटा र पर्वतमा ४ वटा पुल निर्माण थालिएको हो । मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका अनुसार काठेखोला, पर्वतको डिमुवा सुन्दरेखोलामा पुल निर्माण सुरु भइसकेको छभने मोदीखोलामा २ वटा पुलको काम यही मङ्सिरभित्र सुरु हुने भएको छ ।पातीखोलामा पुल निर्माणका लागि सर्वेक्षण भइरहेको लोकमार्ग कार्यालय पर्वतकी सव–इन्जिनियर अस्मिता भट्टराइले जानकारी दिनुभयो । काठेखोला, पातीखोला र मोदीखोलामा पुल बनेर यातायात सञ्चालन गरिए पनि लोकमार्ग फराकिलो बनाएपछि पुललाई थप चौडा बनाइने उहाँको भनाइ छ । उहाँका अनुसार काठेखोला, डिमुवा सुन्दरेखोला र मोदीखोलामा एकरएक र पातीखोला दुई वटा पुल निर्माण गर्न लागिएको हो । सव–इन्जिनियर भट्टराईले भन्नुभयो, “सुन्दरे खोलामा अहिलेसम्म पुल बनेकै थिएन, यहाँ आवश्यक देखिएको हुँदा पहिलो पटक पुल बनाउने भएका हौँ, अन्य ठाउँमा वर्षौँ अगाडि पुल बनेका थिए, ती पुल साँघुरो र जीर्ण बन्दै गएको हुँदा त्यस स्थानमा दोहोरो गाडी ओहोरदोहोर गर्न सक्ने गरी पुल निर्माण थालिएको हो ।” ५ वटै पुल निर्माणको जिम्मा लुम्बिनीरप्राकृतिक जेभीले पाएको छ । डिजाइन गरेर काम सुरु भएको पुलको निमार्ण आगामी दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भएको आयोजना कार्यालयले जनाएको छ । रु ४४ करोड १५ लाख ३५ हजारमा ती ५ पुल निर्माण हुने छन् ।
काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको निजी क्षेत्रलाई सरकारले आर्थिक क्रियाकलापमा समेट्न खोजेको बताउनुभएको छ । भृकुटीमण्डपमा आजदेखि सुरु भएको प्लाष्ट नेपालको चौथो तीन दिने प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले निजी क्षेत्रको सहकार्य बिना आर्थिक क्षेत्रका समस्या समाधान गर्न नसकिने बताउनुभयो । पछिल्लो समय आर्थिक सूचकाङ्हरुमा सुधार देखिएको उल्लेख गर्दै उहाँले पूँजी बजारमा निजी क्षेत्रको उपस्थिति बढाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “पुँजी बजारलाई बढाउनुपर्ने छ, स्वदेशी उत्पादन बढाउनुपर्ने छ, व्यापार घाटा न्यून गर्नुपर्ने छ, नविनतम प्रविधि भित्र्याउनुपर्ने छ, आयात प्रतिस्थापन गर्दै निर्यात बढाउनुपर्ने मुख्य चुनौती हाम्रा सामु छ ।” उहाँले उद्योग व्यवसायसँग सम्बन्धित बाधक विभिन्न कानुन परिमार्जनका लागि सरकारले तयारी गरेको बताउनुभयो । स्वदेशी लगानीकर्तालाई उत्साहित हुने गरेर सरकारले सुविधा दिइने उहाँको भनाइ छ । नेपालमा लगानीमैत्री वातावरण रहेको उल्लेख गर्दै उहाँले समग्र उद्योगी व्यवसायीलाई नेपालमा लगानी बढाउन आग्रह गर्नुभयो । “सरकार मेरो छ, म उद्योग चलाइरहेको छु, सरकार साथमा छ भन्ने महसुस अहिलेको सरकारले गराउन खोजेको छ”, मन्त्री भण्डारीले भन्नुभयो । सेवा प्रवाहको क्षेत्र र उत्पादनका क्षेत्रमा रहेका जटिलता हटाउन सरकारले पहलकदमी थालेको उहाँले बताउनुभयो । उद्योग मन्त्रालयमा सुधारका कार्य गर्नका लागि पहल भइरहेको उहाँले जानकारी गराउनुभयो । उहाँले छिट्टै लगानीका क्षेत्रमा देखिएका समस्या सुधारका लागि वर्तमान सरकारले पहलकदमी अगाडि बढाउने बताउनुभयो । उहाँले सरकारले वित्तीय क्षेत्र, लगानीकर्ता, कूटनीतिक निकायका प्रतिनिधिलगायत सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित व्यावसायिक सम्मेलन गर्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाललगायत वक्ताहरुले वर्तमान सरकारले निजी क्षेत्रको सुझावअनुसार आर्थिक अवस्था सुधारका कार्य अगाडि बढाएकोमा प्रशंसा गर्दै आगामी दिनमा सरकारले निजी क्षेत्रका समस्या समाधानमा पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौं: परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज चीन प्रस्थान गर्नुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उहाँ आज मध्याह्न त्यसतर्फ प्रस्थान गर्नुभएको हो । डा राणा नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा जानुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले बिदाइ गर्नुभएको थियो । भ्रमणका क्रममा मन्त्री डा राणाले चिनियाँ विदेशमन्त्री यीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । सो भेटवार्ता शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु सहरमा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीस्वरूप उहाँ आज चीन जानुभएको हो । प्रधानमन्त्री ओली अर्को साता चीन भ्रमणमा जाँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री डा राणा यही मङ्सिर १५ गते स्वदेश फर्कनुहुनेछ ।
मकवानपुर: मकवानपुरको मनहरी गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मनहरी–६ प्रतापुर लच्का निवासी ३४ वर्षीय अम्मरबहादुर लोप्चनले कुटपिट गर्दा ५० वर्षीय जितबहादुर मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । मजदुरी काम गर्दै दुवै जना खाना खाएर लोप्चनको घरमा सुत्न गएको र सोही क्रममा लोप्चनले सावेलले कुटपिट गरेको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । सावेल प्रहारबाट गम्भीर घाइते मोक्तानको उपचारका क्रममा चितवन अस्पतालमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । मोक्तानमाथि सावेल प्रहार गर्ने लोप्चनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सर्लाही: सर्लाहीको बरहथवा नगरपालिका–८, का जिवस मण्डल सख्खर (गुण) व्यापारबाट सख्खरजस्तै गुलियो आम्दानी गरिरहनुभएको छ । उमेरले ६५ वर्ष पार गरिसक्नुभएका उहाँले आठ वर्षदेखि घर नजिकै उखु पेलेर सख्खर बनाउने कोल ९क्रसर० सञ्चालन गर्नुभएको हो । खेती किसानी मुख्य पेसा भए पनि मौसमी पेसाको रुपमा कोल क्रसर चलाउने गरेको उहाँ बताउनुहुन्छ । तीनदेखि चार महिनाको बीचमा हुने यस पेसाबाट वर्षेनी सख्खर बेचेर पाँचदेखि सात लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको उहाँको भनाइ छ । ‘‘कोल चलाएको आठ वर्ष भयो, यसकै आम्दानीले घर व्यवहार गर्न र केही रकम बचत गर्न सकेको छु’’ उहाँले भन्नुभयो । विषेशगरी कात्तिक अन्तिम हप्ताबाट सुरु गरेर फागुन÷चैतसम्म उहाँ कोल चलाउने गर्नुहुन्छ । दैनिक ५० क्विन्टलसम्म उखु क्रसिङ गर्ने मण्डलले ५ सय केजीभन्दा बढी नै सख्खर बनाएर बजार पठाउने गर्नुहुन्छ । उहाँले उत्पादन गर्नु भएको सख्खर रु ६० देखि १ सय २० सम्ममा व्यापारीहरूले लैजाने गरेका छन् । उहाँले भन्नुभयो, ‘‘राम्रो सख्खरको धेरै मूल्य आउँछ । अलि फोहोर भयो भने, मूल्य कम आउँछ ।’’नजिकैका खेतहरूमा लगाएको उखु किनेर पेल्ने गरेको मण्डलको भनाइ छ । जिल्लामा रहेका चिनी उद्योगहरू ढिला चल्ने हुँदा उखु हटाएर अन्य बाली लगाउने किसानलाई उखु काट्न हतारो हुने गर्दछ । अन्य मकै, गहुँ, तोरी, आलुलगायतको बाली लगाउन समयमै उखु बेच्नु पर्ने किसानहरूलाई चिनी उद्योग ढिलो चल्दा समस्या हुने गरेको छ । उहाँ तिनै किसानहरूको उखु खरिद गरिदिनुहुन्छ र सख्खर बनाएर बिक्री गर्नुहुन्छ । स्थानीय किसानहरु पनि चिनी उद्योगहरुले समयमै खरिद नगरिदिए पनि मण्डललाई बिक्री गरेर सानातिनो गर्जो टार्न सकेको बताउँछन् । यस वर्ष पनि मण्डलले प्रतिक्विन्टल चार सय ५० रुपैयाँमा उखु खरिद गरेको बताउनुभयो । उद्योगले केही बढी मूल्य दिए पनि ढुवानी, खर्च, वर्षौंसम्म पैसा पाउन समस्या रहेकाले कोलमा उखु दिँदा सजिलो भएको बरहथवा–८ का उखु किसान रामजनम राय बताउनुहुन्छ । मण्डल भन्नुहुन्छ, ‘‘मलाई उखु किसानको समस्या राम्ररी थाहा छ, किसानहरूलाई सात÷आठ दिनमै भुक्तानी गरिदिन्छु । यसले पनि किसानहरु आफैँ बोकेर उखु ल्याइदिन्छन् ।’’ कतिपय किसानलाई त आफूले उखु लिनुभन्दा पहिला नै खेती, लगाउन बिउ मल किन्न, घरखर्च टार्न पैसा दिने गरेको उहाँ बताउनुहुन्छ । मण्डलले क्रसरमा अन्य ५ जनालाई काम समेत दिनुभएको छ । उनीहरुको पनि ३ देखि ४ महिनाको रोजीरोटी यसैबाट टरेको छ ।मण्डलको जस्तै जिल्लामा झण्डै ५० वटाको हाराहारीमा सख्खर बनाउने कोल क्रसर सञ्चालनमा रहेका छन् । कोल क्रसरले मात्र वर्षेनी अढाई लाख क्विन्टल बढी उखु क्रसिङ गर्ने गर्दछन् । यस पेसामा २ सय ५० जना बढी कामदारको रुपमा कार्यरत छन् । सर्लाहीबाट मात्र २ हजार ५ सय केजी हाराहारीमा सख्खर उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएका सख्खर छिमेकी जिल्लामा मात्र नभई काठमाडौँ, चितवन, बिराटनगरलगायतका शहरहरुमा पनि पुग्ने गरेको स्थानीय व्यापारी दिनेश महतोले बताउनुहुन्छ । भारतीय सख्खरले स्थानीय किसान मारमा भारतीय बजारबाट चोरी तस्करी भएर आउने सख्खरका कारण स्थानीय उत्पादनकर्ता मारमा पर्ने गरेको मण्डलले गुनासो छ । ‘‘भारत सरकारको किसानलाई ठूलो मात्रामा अनुदान दिने भएका कारण लागत कम छ’’ उहाँले भन्नुभयो, ‘‘कालोबजारीबाट किनेको मलखाद र बिउबिजनबाट उत्पादन भएको बालीले कसरी प्रतिस्पर्धा गर्नु हाम्रोमा लागत धेरै छ ।’’ भारतबाट आउने सख्खरमा गुणस्तर समेत नभएको उहाँको दाबी छ । यसले गर्दा नेपाली उपभोक्ता ठगिन बाध्य भएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, यसबारेमा अधिकांश उपभोक्तालाई थाहा हुँदैन । केही सस्तोमा पाइयो भन्छन् तर पछि पछुताउनु पर्ने हुन्छ ।’’ भारतको सिमावर्ती क्षेत्रबाट खुल्लमखुल्ला ट्रकका ट्रक भित्रिने गुणस्तरहीन सख्खर नियन्त्रण नगरेसम्म स्थानीय उत्पादनले बजार पाउन नसक्ने र उपभोक्ता पनि ठगिने अवस्था रहने उहाँको भनाइ छ । चिनी उद्योगलाई उखु तान्ने हतारो सरकारले उखुको न्यूनतम् मूल्य निर्धारण गर्नुअघि नै चिनी उद्योगहरुले धमाधम किसानहरुसँग उखु खरिद गर्न थालेका छन् । जिल्लामा रहेका तीन वटा चिनी उद्योगले सञ्चालनको तयारी गर्दैगर्दा क्रसिङ सुरु गरेका छन् । लामो समय किसानको उखुको भुक्तानी नदिएर विवादग्रस्त बनेको जिल्लाको धन्कौँल अन्नपूर्ण चिनी उद्योगले किसानसँग उखु खरिद गर्न शुरु गरेको छ । यही मङ्सिर ६ गतेदेखि क्रसिङ शुरु गरेर चार दिनमा २६ हजार आठ सय ७१ क्विन्टल उखु क्रसिङ गरिसकेको उद्योगका प्रबन्धक शैलेन्द्र गुप्ताले जानकारी दिनुभयो । उखु खरिद गरेको भुक्तानी नदिने र किसानलाई दुख दिने छवि बनेको अन्नपूर्ण यतिबेला नयाँ उद्योगीबाट सञ्चालनमा आएसँगै किसानको भरोसा बटुल्न लागिपरेको स्थानीय किसानहरु बताउँछन् । यसवर्ष भने मङ्सिरको पहिलो हप्ताबाटै क्रसिङ गरेर उद्योगले किसानको भरोसा बटुल्ने प्रयास गरेको हो । अब किसानहरूसँग राम्रो समन्वय गरेर क्रसिङ शुरु गरेको गुप्ताले भन्नुभयो,।‘‘किसानको पुरानो बक्यौता रकम भुक्तान भइसकेको छ ।’’ उद्योगले यस वर्ष १८ लाख क्विन्टल हाराहारीमा उखु क्रसिङ गर्ने लक्ष्य राखेको उद्योगका प्रबन्धक पवनकुमार सिंहको भनाइ छ ।विसं २०७९ मा नयाँ उद्योगीको निकै पहल पछि केही किसानले पुरानो भुक्तानी पाए । त्यसपछि उद्योग सञ्चालन भएको थियो । क्रसिङ सिजनको अन्तिममा सञ्चालनको प्रयास गरेको उद्योगले उपकरणमा आएको खराबीका कारण लगभग ६८ हजार क्विन्टल मात्र क्रसिङ गरेको थियो । अझै उद्योगलाई पूर्ण भरोसा गरेर उखु दिन नसकेको स्थानीय उखु किसानहरूले बताएका छन् । जिल्लाको धन्कौल गाउँपालिका–३, निवासी विन्देश्वर महतोले थोरै मात्रामा उखु दिएको बताउनुभयो । ‘‘मैले उखु रोप्नै छोडिसकेको छु ।’’ उहाँले भन्नुभयो, ‘‘थोरै खेतमा लगाएको उखु फेरि गाउँकै उद्योगलाई दिएको छु । बढीमा १५ दिनमा भुक्तानी दिने उद्योगीले बचन दिनुभएको छ ।’’ उद्योगमा प्रत्यक्ष जोडिएका स्थानीयले पहिलो चरणमा उखु दिएका छन् ।यस क्षेत्रमा उत्पादन भएको उखु हरिवनको इन्दुशङ्कर चिनी उद्योग हरिवन, गोडैता नगरपालिकामा रहेको महालक्ष्मी चिनी उद्योग बगदहमा दिने गरेको महतोले बताउनुभयो । जिल्लाका अन्य उद्योगले अहिले कटानी भएको उखुको चिनी राम्रो नपर्ने भन्दै उद्योग सञ्चालनमा ढिलाई गरिरहँदा अन्नपूर्णले भने किसानको मन जित्न समय अगावै उद्योग सञ्चालनमा ल्याएको हो । यस वर्ष उद्योगले कम्तीमा १५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको उखु प्रबन्धक दिनेश अग्रहरीले जानकारी दिनुभयो । उद्योगी तथा व्यवस्थापन पक्षले खेतमै पुगेर किसानहरूलाई उखु दिन आग्रह गरिरहेका अर्का उखु किसान बृजेन्द्र रायले बताउनुभयो । यस्तै गोडैता नगरपालिकास्थित बगदहमा रहेको महालक्ष्मी चिनी उद्योगले यस वर्षको क्रसिङ शुरु गरेको जनाएको छ । केही दिनदेखि उखु सङ्कलन गरेर उद्योग सञ्चालन गरिएको सिंहले जानकारी दिनुभयो । उद्योगले वर्षको केही भुक्तानी बाँकी राखेको र त्यो समेत १÷२ सातामा भुक्तानी गरिने समेत उहाँको भनाइ छ । गत वर्ष यस उद्योगले १२ लाख ३७ हजार ३ सय क्विन्टल उखु क्रसिङ गरेको थियो । जिल्लाको अर्को चिनी उद्योग इन्दुशङ्करले पनि मङ्सिरको अन्तिम साताबाट क्रसिङ शुरु गर्ने जनाएको छ । देशमै व्यवस्थित मानिने जिल्लाको हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योगले यस सिजनको लागि क्रसिङ तयारी अवस्थामा रहेको उद्योगका प्रशासकीय प्रमुख ठाकुर नेपालले बताउनुभयो । उद्योगले यसवर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने जनाएको छ । यस उद्योगले अघिल्लो वर्ष २१ लाख ४८ हजार ६ सय ११ क्विन्टल उखु क्रसिङ गरेको थियो । उखुको अनुदान बापतको रकम भुक्तानीमा ढिलाइ भएका कारण जिल्लाको उद्योगहरू सञ्चालन हुन नसक्दा अन्य जिल्लाका उद्योगहरूले ठूलो परिमाणमा सर्लाहीको उखु लगेकाले यहाँका चिनी उद्योगहरूले पर्याप्त उखु नपाएको बताएका थिए । देशमै धेरै उखु खेती हुने सर्लाहीमा वर्षेनी ७० देखि ८० लाख क्विन्टल सम्म उखु उत्पादन हुने गरेको तथ्याङ्क छ । समर्थन मूल्य अन्योलमै मङ्सिर आधा सकिनै लाग्दा समेत सरकारले यस सिजनको लागि उखुको समर्थन मूल्य तय नगर्दा किसान र उद्योगी दुवै अन्योलमा परेका छन् । उखु काटेर बेच्न लैजान समय घर्किदै गर्दा पनि अझै निर्णय नभएको उखु किसानहरूको गुनासो छ । ‘‘पहिला नै समर्थन मूल्य तय गर्ने व्यवस्था भए आफूलाई फाइदा भए उखु लगाउने नभए नलगाउने गर्न पाउँथ्यौँ, नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले भन्नुभयो ।यता उखु उद्योगहरूले भने तत्काललाई गत वर्ष सरकारले तोकेको समर्थन मूल्य भुक्तानी गरेर उखु खरीद गर्ने तयारी गरेका छन् । पछि सरकारले तय गरेको समर्थन मूल्य दिने गरी अहिलेलाई अघिल्लो वर्षको मूल्यमा खरिद गर्ने व्यवस्था गरिएको महालक्ष्मी चिनी उद्योगले जनाएको छ । तर, किसानहरू भने सरकारले पछि थपेको बाँकी रकम नपाउने चिन्तामा छन् । अघिल्लोपटक प्रतिक्विन्टल रु पाँच सय ६५ रुपैयाँ तोकिएको थियो ।