काठमाडौं: प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट सहिदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । माघ १६ गते बुधबार सहिद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरि कार्यक्रम आयोजना गरिएको जनाइएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरि सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ । यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्नुहुने सहिदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयअनुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय सहिद स्मारकमा कार्यक्रमको तयारी भएको जनाइएको छ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम गर्न लागेको अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिनुभयो । विसं २०६३ अघि सहिद दिवसका दिन राज्यका तर्फबाट सहिद गेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । सहिद गेटमा पनि विभिन्न सङ्घ संस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् । पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा सहिदप्रति श्रद्धाञ्जली गर्ने स्थल राखिने घोषणा गरिएको छ । स्मारकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदस्थले शपथ लिएपछि सहिदलाई श्रद्धाञ्जलि अर्पण गर्ने गरी तयारी गरिएको छ । विदेशी पाहुना आउँदा स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने सहिदको सम्झना स्वरुप पुष्पगुच्छा अर्पण गर्ने स्थल बनाइने जनाइएको छ ।
स्याङ्जा: भीरकोट नगरपालिका–४ र ५ लाई जोड्ने आँधीखोलामा निर्माणाधीन पुल झण्डै सात वर्ष हुनै लाग्दा निर्माण सम्पन्न हुनसकेको छैन। भीरकोट–४ को छाङछाङ्दी र ५ को छत्तिवनलाई जोड्नेगरी आँधीखोलामा निर्माणाधीन पुलको तेस्रोपटक थपिएको समयावधि सकिए पनि पुल सम्पन्न हुनसकेको छैन। विसं २०७५ असार २६ गते सम्झौता भई निर्माण सुरु भएको उक्त पुल २०७८ वैशाख ३० गते निर्माण सक्नुपर्ने भए पनि हालसम्म निर्माण सम्पन्न नभएको सडक डिभिजन कार्यालय पोखराका इञ्जिनियर दीपक विष्टले बताए। उनका अनुसार सम्झौता भएको मितिले झण्डै तीन वर्षमा निर्माण सक्नुपर्ने उक्त पुल सात वर्ष पुग्न लाग्दा पनि निर्माण सकिएको छैन। तोकिएको समयमा पुल निर्माण नसकिएपछि तेस्रोपटक २०८१ मङ्सिरमा सक्नेगरी थपिएको समय पनि सकिएको छ। पटकपटक गरी तेस्रोपटक थपिएको समयावधि मङ्सिरमा सकियो, थप गरिएको समय सकियो तर पुल निर्माण सकिएन। निर्माण कम्पनीले भ्याटसहित रु १४ करोड २६ लाख ३७ हजार चार सय २० लागतमा निर्माण सक्नेगरी सम्झौता भएको थियो। एक सय २५ मिटर लम्बाइको पुल तीन स्पानको हुने इञ्जिनियर विष्टले बताए। चालिस–चालिस मिटरको तीन स्पानमध्ये दुई किनाराका दुईवटा स्पान निर्माण सकिएको र बीचको एउटा स्पान र त्यहाँसम्म पुग्ने दुवैतर्फको पहुँचमार्ग निर्माणको काम बाँकी छ। पुलसम्म पुग्ने पहुँचमार्ग निर्माणका लागि पुलसँगै पर्खाल लगाउने काम अहिले भइरहेको छ। पुल दुवैतर्फ किनारामा फुटपाथसहित ११ मिटर चौडाइको हुने छ। निर्माण व्यवसायी चन्द्र थकालीले उक्त पुलको झण्डै ८० प्रतिशत काम सम्पन्न भएको दाबी गरे। उनले पुलको धेरै काम सकिएको र अब दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी कामदार परिचालन गरिएको बताए। ‘पुलको दुवैतर्फको स्पान निर्माण भइसकेकाले अहिले बीचको एउटा स्पान निर्माणका लागि फिलिङको काम भइरहेको छ,’ उनले भने, ‘काम सक्ने लक्ष्यसहित कामदार लगाएका छौं। दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने तयारीसहित अगाडि बढेका छौं। पुल निर्माणसँगै खोलाको दायाँबायाँ निर्माण गर्नुपर्ने पर्खाल निर्माण नगर्दा पनि वर्षाको समयमा आँधीखोलाले किनाराका खेतीयोग्य जमिन कटान गरेर बगरमा परिणत गराएको छ। बर्खामा यस ठाउँमा खोलाले डुबानमा पार्ने गरेको छ। हिउँदमा बाँसको फड्के बनाएर वा खोला तरेर वारपार गर्ने स्थानीय बर्खायाममा घुमाउरो बाटो हुँदै झोलुंगे पुलबाट वारपार गर्नुपर्छ।
पोखरा: एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत आज लिग चरणका ४ खेल हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइराखेको प्रतियोगिताको आज महिला र पुरुषतर्फ दुईदुई खेल हुने तालिका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज पहिलो खेल बिहान पौने ९ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिष्पर्धा गर्नेछन् । दोस्रो खेलमा महिलातर्फ टिपटप न्यू डायमण्ड स्पोटर््स क्लब र आयोजक टाइगर ग्रुपबिच प्रतिस्पर्धा हुनेछ । उक्त खेल पौने ११ बजे सुरु हुने तालिका छ । भोलि हुने तेस्रो र चौथो खेल पुरुषतर्फको हुनेछ । पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल एपिएफबिच पौने १ बजेबाट सुरु हुनेछ । पुरुषतर्फको दोस्रो खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ । आज भएको खेलमा महिलातर्फ एपिएफ जित निकाल्दा पुलिसले दोहोरो जित निकालेका थिए । भने टिपटप हेल्प नेपाल र गण्डकी प्रदेशबिचको खेल स्थगित भएको थियो । हेल्प नेपाल २–१ सेटले अघि हुँदा खराब प्रकाशका कारण खेल स्थगित गरिएको हो । महिलातर्फ एपिएफले टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । महिलातर्फ नै पुलिसले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३–१ को सेटले हराएको थियो । पुरुषतर्फ पुलिसले भारतको सुनिल क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो ।
भक्तपुर: प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठूला दलको सहकार्यमा बनेको वर्तमान सरकार, विकास र स्थिरताको बलियो आधार भएको बताउनुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रको पालामा शासन टिकाउनका लागि मरिमेट्दा विकास राम्ररी हुन नसकेको र लोकतन्त्रयताका विकास निर्माणको गति बेग्लै भएको बताउनुभयो । “अब नेपालमा विकासको क्रममा अगाडि बढेको छ । जो भए पनि विकास भइहाल्छ भन्ने कुरा सही होइन । राम्रो प्रणाली नभइकन विकास हुँदैन । काम गर्ने खालको पार्टी सरकारमा नभएर विकास हुँदैन । देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठूला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्नैछ । सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाति पिट्नु र बिलौना गर्नुको कुनै विकल्प छैन । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले अब देशलाई स्थिरता दिने सङ्कल्प गरिसकेका छन् । यसमा ढुक्क भए हुन्छ ।” प्रधानमन्त्री ओलीले पूर्वसहमतिअनुसार अहिले आफूले कांग्रेसबाट पूराका पूरा साथ पाएको र भोलि कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने स्पष्ट गर्नुभयो । उहाँले संसद्को हिउँदे अधिवेशनलाई कानुन निर्माणका व्यापक काम दिने पनि जनाउँदै सहमति भए चाँडै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्ने स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले आफूलाई रूघाखोकी लागेको समयमा अस्पतालको आइसियुमा रहेका बेलामा तस्बिर सार्वजनिक गरेर भ्रम फैलाइएकामा टिप्पणी गर्दै भन्नुभयो, “मलाई रूघाखोकी लागेको हो । एन्टिबायोटिकले अलि कमजोर बनाएको छ तर हाच्छिउँ गरेको देख्यो भने आइसियु कक्षकमा बसेको फोटो आइहाल्छ । खोक्न पाएको छैन आइसियुमा बसेको देखाउँछन् ।” प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्ने नाममा सीमित सङ्ख्या भएकाहरूको मोर्चा शक्ति बनाए भनेर चेतावनी दिनेहरूको भ्रमबाट मुक्त हुन पनि आग्रह गर्नुभयो । उहाँले नयाँ भवनलाई सदुपयोग गरेर अझ सहज र सरलताका साथ जनतालाई सेवा पुग्ने र आगामी योजनाबद्ध विकास बन्ने विश्वास व्यक्त गर्दै सोझा जनतालाई आतङ्कको छायाँमा राखेर चुनाव जित्ने जमाना सकिएकाले लोकतान्त्रिक अभ्यासबाट एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रतिनिधिसभाका सदस्य दुर्लभ थापा, पूर्वमन्त्री महेश बस्नेत, नगरप्रमुख वासुदेव थापालगायतले राजनीतिमा प्रतिस्पर्धा र विकास निर्माणका ऐक्यबद्धताको मर्मका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।
पोखरा: आगामी सातादेखि हुने २४ औं आहा!रारा पोखरा गोल्डकपमा भाग लिन युकेबाट फुटबल टोली नेपाल आएको छ । सोमबार बिहान त्रिभुवन विमानस्थल उत्रिएको ब्रिगेड ब्याइज फुटबल क्लब, युकेको टोलीलाई सहारा क्लब पोखराका संस्थापक कार्यसमिति सदस्य शान्ति केसी लगायतले स्वागत गरे । उक्त टिम म्यानेजरमा सुरेश राना तथा सहायक प्रशिक्षकमा रोशन राई छन् । सहारा क्लब पोखराले यही माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा २४ औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगितामा भाग लिने १२ टिममध्ये हालसम्म ११ टिमको टुंगो लागिसकेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, थ्रि स्टार, मछिन्द्र फुटबल क्लब, एनआरटी, एपिआई पावर चर्च ब्वाइज युनाइटेड क्लब, संकटा, नेपाल पुलिस, एपिएफ, थन्डर नर्थ युनाइटेड क्लब भारत, आयोजक सहारा क्ललबे समेत भाग लिने छन् । प्रतियोगिताको मुख्यप्रायोजक सधैँ झैं हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ हो । संरक्षकमा पोखरा महानगरपालिका छ भने सहप्रायोजकमा जयश्री फुड्स प्रालिको उत्पादन भान्छाघर लङ्ग्रेन प्रिमियम बासमती राइस रहेको छ । हाम्रो खेलकुद युट्यब च्यानलले प्रत्यक्ष प्रसारण गर्ने प्रतियोगिताको उपप्रायोजकमा पोखरा मनपा वडा ९ कार्यालय, सहउपप्रायोजक चरक मेमोरियल हस्पिटल, पोखरा हो । यस्तै, विभिन्न संघसंस्थाले सहयोग गरेका छन् । प्रतियोगितामा १ करोड ५१ लाख आम्दानी, १ करोड ४२ लाख खर्च र ८ लाख ८० हजार बचत हुने आयोजकको अनुमान रहेको महासचिव रामजीप्रसाद अधिकारीले बताए । गत संस्करणको विजेता त्रिभुवन आर्मी र उपविजेता थ्रि स्टार हुन् । उनीहरुले क्रमशः १२ लाख र ६ लाख प्राप्त गरेका थिए । ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने उद्देश्यका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले फुटबलमार्फत सामाजिक कार्य गर्दै आएको छ । आहा! रारा नेपालमै निरन्तर भइरहेको एकमात्र फुटबल प्रतियोगिता हो । प्रतियोगिताबाट बचत रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्चिने क्लब अध्यक्ष केशवराज बरालले बताए । हाल एकेडेमीमा ३० जना बालक आश्रित छन् ।
कास्की: सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले राष्ट्रिय परिचयपत्र सुशासन कायम गर्नका लागि महत्त्वपूर्ण आधार बन्ने बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा आज प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेबाट राष्ट्रिय परिचयपत्र ग्रहण गर्दै उहाँले आधुनिक र वैज्ञानिक प्रविधि भएकाले यसलाई ‘सुपर सिटिजनसीप’ का रूपमा समेत लिनुपर्ने बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरूङले हालै अध्यादेशमार्फत सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकताका माध्यमबाट धेरै अनियमितता भयो, त्यसलाई रोक्नका लागि राष्ट्रिय परिचयपत्रलाई आधार मान्ने भनेर प्रबन्ध गरेका छौँ । सुशासनका लागिसमेत महत्त्वपूर्ण पाटो हो ।” सरकारले बैँकिङ कारोबार, राहदानी तथा मालपोतका लागिसमेत राष्ट्रिय परिचयपत्रलई मुख्य आधार मान्ने मन्त्री गुरूङको भनाइ छ । “राष्ट्रिय परिचयपत्र उच्च प्रविधियुक्त भएकाले आधुनिक र भरपर्दो रहेको छ । यसमार्फत धेरै काम हुन्छ । बायोेमेट्रिक प्रणालीमा चल्ने भएकाले तलमाथि चोरी गर्न नसकिने खालको छ । नागरिक एपमा प्रयोग गर्दासमेत यसलाई आधार मान्छौँ,” सञ्चारमन्त्री गुरूङले भन्नुभयो । प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लामा हालसम्म दुई लाख सात सय १६ राष्ट्रिय परिचयपत्र प्राप्त भएकामा स्थानीय तहका वडा कार्यालयमार्फत ७५ हजार सात सय १८ जनालाई वितरण गरिएको बताउनुभयो ।
कास्की: सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीको आदेशविरुद्ध सरकारी वकिलपछि पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पनि उच्च अदालत पुग्नुभएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले रविसहित सात जनालाई धरौटीमा छाड्ने आदेश दिएको थियो । अदालतले रविसँग ६५ लाख धरौटी माग गरेको थियो । जिल्ला अदालत कास्कीले दिएको धरौटीमा छाड्ने आदेश बदर गरी साधारण तारेखमा पुर्पक्ष गर्न पाउँ भनी लामिछानेले दिएको निवेदन सोमबार दर्ता भएको छ । उच्च अदालतका उपरजिष्ट्रार तथा सूचना अधिकारी नीलप्रसाद पनेरुले लामिछानेको निवेदन सोमबार दिउँसो दर्ता भएको र मङ्गलबार एकल बेन्चबाट त्यसमा आदेश हुने उल्लेख गर्नुभयो । “यसअघि उच्च सरकारी वकिलको कार्यालयको पनि निवेदन परिसकेको छ” पनेरुले भन्नुभयो, “लामिछानेज्यूको निवेदन दर्ता भएको छ । मङ्गलबार यो निवेदन सिङ्गल बेन्चमा जान्छ । जिल्लाबाट कैफियत प्रतिवेदन माग हुन्छ । प्रतिवेदन प्राप्त भएपछि उच्चको संयुक्त इजलासले निवेदन बमोजिम हुने वा नहुने निर्णय लिन्छ ।” यसअघि नै सूर्यदर्शनका प्रतिवादीलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालयले थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता गराइएको छ । उच्च सरकारी वकिल कार्यालयको निवदेनपछि माघ ८ गते उच्चले सात जनालाई धरौटीमा छाड्नुको आधार र कारण पेस गर्न आदेश दिएको थियो । पुस २५ गते धरौटीमा छाड्न आदेश भएकोमा २९ गते जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालयलाई निवदेन पठाएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयको निवेदनपछि उच्च सरकारी वकिलको कार्यालयले सोमबार उच्चमा निवेदन दर्ता गराएको थियो । उच्च सरकारी वकिलको निवेदनपछि भएको आदेश बमोजिम जिल्ला अदालतको कैफियत प्रतिवेदन प्राप्त भएपछि निवेदकको माग बमोजिम आदेश हुने वा नहुने उच्च अदालतले निर्णय गर्नेछ । उच्च अदालत पोखरामा यसरी तल्लो अदालतका निवेदन र प्रतिवेदन सुन्ने र आदेश दिने नै तोकिएको छ । सूचना अधिकारी पनेरुले हरेक बिहीबार यस्ता प्रतिवेदन सुन्ने र आदेश हुने उल्लेख गर्नुभयो । सूर्यदर्शन सहकारी प्रकरणमा एक अर्ब ५१ करोड रुपियाँ बिगो मागदाबीसहित ६३ जनाविरुद्ध दायर भएको मुद्दा विचाराधीन छ ।
धनगढी: अछामको ढकारीमा मृत भेटिएकी दुई किशोरीको हत्या भएको आशङ्का गरिएको छ । रहस्यमय मृत्यु भएको भन्दै पोष्टमार्टमका लागि शव नेपालगञ्ज पठाइएको छ भने प्रहरीले आशङ्का गरिएका दुई युवकलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका दुबै जनाको नाम गोप्य राखिएको छ । ढकारी गाउँपालिका– १ स्थित सुनघर सामुदायिक वनमा शनिवार साँझ दुई किशोरी मृत भेटिएका थिए । शुक्रबार देखि हराइरहेका ढकारी गाउँपालिका– ८ का १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया ईशरा खड्काको शव शनिवार साँझ जङ्गलमा भेटिएको थियो । शुक्रवार बाख्रा हेर्न गएका किशोरीहरू शनिवार मृत अवस्थामा फेला परेका थिए । मृत भेटिएका दुबै किशोरी फुपू/भदैनी नाता पर्ने हुन् । सरस्वती फुपू र ईशरा भदैनी हुन् । आफन्तले उनीहरूको हत्या भएको दाबी गर्दै आएका छन् । घटना रहस्यमय नै देखेपछि प्रहरीले पनि पोष्टमार्टमकै लागि शव नेपालगञ्ज पठाइएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारी र प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालसहितको टोली घटनास्थलमा पुगेको थियो । परिवारका सदस्यहरूले सुरुदेखि नै हत्याको दाबी गरिरहेका छन् । पोस्टमार्टम पछि मात्रै घटनाका तथ्यहरू खुल्ने डीएसपी भण्डारीले जानकारी दिए । ‘हामी घटनास्थलको अध्ययन गरेर फर्किएका छौँ, अहिलेसम्म कसरी घटना घट्यो भन्ने कुनै तथ्य बाहिर आएको छैन’ उनले भने, ‘पोस्टमार्टम गर्छौँ त्यसपछि केही कुरा बाहिर आउला ।’ अछाममै पोस्टमार्टमको व्यवस्था भए पनि घटना गम्भीर भएकाले शव नेपालगन्ज पठाइएको प्रहरीको भनाइ छ । डीएसपी भण्डारीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि प्रयोग गरिएको छ। उनीहरूको शव अलगअलग ठाउँमा फेला परेको डीएसपी भण्डारीले जानकारी दिए । उनका अनुसार दुवै किशोरीको टाउकोमा गहिरो चोट लागेको छ भने अन्य भागमा पनि चोटहरू लागेका छन् । शव भेटिएको स्थानमा मरेको गोरु फालिएको थियो । त्यहाँ नै शव फाल्दा गन्ध गोरुको आउने र आशङ्का नहुने मनसाय देखिएको प्रहरीले जनाएको छ । घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले पनि घटनाबारे गहिरो अनुसन्धान भइरहेको बताए ।
रुपन्देही: रुपन्देही जिल्ला अदालतले बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लाद योगीको इजलासले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेश दिएको हो ।

