काठमाडौं: यस वर्षको ‘सिविन–नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित भएको छ । बालअधिकार संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा नगरपालिकाले अतुलनीय काम गरेको जनाउँदै सिविन नेपालले आज यहाँ आयोजित कार्यक्रममा सो सम्मान अर्पण गरेको हो । नगरपालिकाले जोखिममा रहेका बालबालिकाको आपत्कालीन सहयोगका लागि ‘बालकोष’ स्थापना गरेर सेवा प्रदान गरिराखेको छ । साथै नगरपालिकाले आफ्ना १५ वडामध्ये विभिन्न आठ वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिसकेको जनाइएको छ । चन्द्रागिरि नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठले सो सम्मान ग्रहण गर्दै आगामी दिनमा बालअधिकार संरक्षण तथा प्रवर्द्धन लागि थप आवश्यक नीति तथा कार्यान्वयन गरिने जानकारी दिनुभयो । चन्द्रागिरि नगरपालिकाका प्रशासकीय अधिकृत हेमराज अर्यालका अनुसार नगरपालिकाले आफ्नो सेवालाई बालमैत्री बनाउने नीति अबलम्बन गरेको छ । सम्मानपत्रमा बालअधिकार संरक्षण तथा प्रवर्धनमा चन्द्रागिरि नगरपालिकाको प्रतिवद्धता र काम अन्य स्थानीय सरकारका लागि पनि अनुकरणीय रहेको भनिएको छ ।
चितवन: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरूलाई शय्याका आधारमा नभई सेवाका आधारमा वर्गीकरण गर्नुपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित नेपाली कांग्रेसका अग्रज नेता स्व बलबहादुर श्रेष्ठको १२औँ स्मृति सभामा उहाँले अस्पताललाई शय्याका आधारमा वर्गीकरण गर्दा व्यवस्थित र प्रभावकारी बनाउन नसकिने धारणा राख्नुभयो । अस्पताललाई वर्गीकरण गर्दा सेवाका आधारमा गर्नुपर्नेमा जोड दिँदै मन्त्री पौडेलले यसले अस्पतालको सेवा प्रभावकारी र नागरिकमैत्री बन्दै जाने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य क्षेत्रभित्र समाजवाद र लोकतन्त्र रहेको भन्दै उहाँले यसलाई अनुभूतिमा परिवर्तन गर्न आजको स्वास्थ्य परिस्थितिलाई बदल्न जरुरी रहेको बताउनुभयो । मन्त्री पौडेलले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा केही नभएको होइन, आवश्यकताअनुसार नभएको मात्रै हो । यसलाई सुधार गर्दै जानु जरुरी छ ।” जनताको आधारभूत स्वास्थ्य संवैधानिक अधिकार रहेको बताउँदै संविधानले व्यवस्था गरेको स्वास्थ्यको हकलाई सुनिश्चित गराउन स्रोतको सुनिश्चितता गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सीमित साधन, स्रोतभित्र अधिकतम काम गर्नुपर्ने आजको स्थिति रहेको रहेको मन्त्री पौडेलको भनाइ थियो । उहाँले भन्नुभयो, “सीमित स्रोत, साधन र जनशक्तिले धेरै सेवा दिनुपर्ने बाध्यता छ । यसलाई व्यवस्थापन गर्न मन्त्रालय लागिपरेको छ ।” मन्त्री पौडेलले १४ वर्षमुनिका बालकालिकाको क्यान्सरको उपचार पाँचवटा अस्पतालमा निःशुल्क हुने व्यवस्था गरेको बताउँदै अन्य उपचारमा पनि राज्यलाई दायित्व नबढ्ने गरी व्यवस्थापन गर्ने काम भइरहेको जानकाररी दिनुभयो । जलन उपचारका लागि यस वर्ष नेपालका आठवटा अस्पतालमा निःशुल्क सेवाको व्यवस्था गरिएको उहाँले उल्लेख गर्नुभयो । विसं २००८ मङ्सिर १२ गते हालको इच्छाकामना गाउँपालिका–२ विप्राङमा जन्मिनुभएका कांग्रेसका पुराना नेता श्रेष्ठको १२औँ स्मृतिमा कार्यक्रम आयोजना गरिएको हो । २५ वर्ष जनप्रतिनिधि भएर काम गर्नुभएका श्रेष्ठले विसं २०३५ मा बनेको शक्तिखोर गाउँ पञ्चायतको पहिलो प्रधानपञ्चमा निर्वाचित हुनुभएको थियो । सामाजिक क्षेत्रमा योगदान दिनुभएका श्रेष्ठले स्थानीय स्वास्थ्य चौकीलाई १० कट्ठा जमिन दान गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, अञ्जली श्रेष्ठ, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेपाली कांग्रेस चितवनका पूर्वसभापति शेषनाथ अधिकारी, कृष्णलाल सापकोटा, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य कुमार कार्की, नेपाली कांग्रेसका पूर्ववडा सभापति लीलाबहादुर श्रेष्ठ, नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठलगायत व्यक्ताले बलबहादुरले राजनीतिक तथा सामाजिक रूपमा खेल्नुभएको भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो । नेपाली कांग्रेस कालिका नगरपालिका–९ ले आयोजना गरेको कार्यक्रमको अध्यक्षता सभापति कुमलाल श्रेष्ठ गर्नुभएको थियो । कार्यक्रममा कांग्रेसका केन्द्र, प्रदेश र स्थानीय नेता, स्थानीय जनसमुदायको उपस्थिति थियो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको नवनिर्वाचित कार्यसमितिले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी उहाँलाई फोटो पत्रकाररुको हकहितका लागि नौ बुँदे ध्यानाकर्षणपत्र हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको टोलीले बुझाएको सो ध्यानाकर्षणपत्रमा नेपालमा विभिन्न सञ्चारगृहमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरूको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र फोटो सङ्ग्रहालयका लागि पहल गराइदिन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको छ । त्यस्तै ‘फोटो पत्रकारिताको माध्यमबाट जीविकोपार्जन गर्ने सम्पूर्ण फोटो पत्रकारहरूको बीमा तथा स्वास्थ सुरक्षा, फोटो पत्रकारहरूलाई व्यावसायिक तालिम दिन वार्षिक रुपमा बजेट व्यवस्थापन, समयअनुसार ‘अपडेट’ रहन फोटो पत्रकारहरूलाई आवश्यक क्यामेरा खरिद गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पहल गरिदिन समेत ध्यानाकर्षण गराइएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै पत्रकारितामा फोटोको महत्व धेरै हुने भएकाले फोटो पत्रकारहरूका लागि राज्यका तर्फबाट आवश्यक सहयोग गर्ने विश्वास दिलाउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्ने बताउनुभएको छ । छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको आज उद्घाटन गर्दै उहाँले विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका लागि आधारभूत आवश्यकताको परिपूर्ति गर्न सरकारका प्रयासहरु जारी रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले काठमाडू मेडिकल कलेज अस्पतालमा भर्खरै जन्मिएका एक शिशुका मातासँग भर्चुअल संवाद गरेर सम्मेलनको उद्घाटन गर्नुभएको थियो । उहाँले समानता र समावेशी नीति अपनाएर धनी र गरिबबीचको खाडल मेटिनुनुपर्ने, आत्मसम्मानसहितको मानव अधिकार, स्वस्थ्य र आशासहिको विश्व निर्माणमा सबै एक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पृथ्वी र मानवको रक्षार्थ लाग्दै मानवीय विकास, असल जीवनयापनका समस्या र समाधानका उपायका लागि यस्ता विषयमा हुने सम्मेलनले गहन सुझाव दिने अपेक्षा गर्नुभयो । उहाँले जलवायु परिवर्तनका मुद्दालाई सामना गर्न विश्वव्यापी साझेदारीलाई महत्वका साथ बढाउनुपर्ने भन्दै दिगो विकास, सुशासन र सामूहिक प्रयास अत्वावश्यक भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकाङ्क्षालाई देखिने खालका उपलब्धिमा रुपान्तरित गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशजङ्ग बराल, एसियाली जनसङ्ख्या एशोसिएशनका अध्यक्ष रेइको हायाशीलगायतको सम्मेलनको उद्घाटन सत्रमा सहभागिता थियो । सम्मेलनमा विभिन्न विषयगत सत्र सञ्चालन हुनेछ ।
भैरहवा: रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)तयार गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भएको छ । आज यहाँ आयोजित कार्यक्रममा भण्डारण क्षमता वृद्धि परियोजनाका प्रमुख एवं निगमका उपनिर्देशक प्रदीप यादव र काठमाडौँ विश्वविद्यालय (कन्सल्टेन्सी विभाग)का प्रमुख विवेक बरालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौतअनुसार केयूले एक करोड ९५ लाख ७६ हजार पाँच सय ७८ रुपैयाँ ५५ पैसामा छ महिनाभित्र डिपिआर तयार गर्नेछ । डिपिआर तयार भएलगत्तै डिपो निर्माण अघि बढाइने र २०८४ मङ्सिरसम्म भलवारीस्थित डिपो स्थानान्तरण गरिने निगमका उपनिर्देशक यादवले जानकारी दिनुभयो । यसअघि निगमले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको हवाई इन्धन डिपो स्थानान्तरणका लागि डिपिआर निर्माण गर्न गत साता पुल्चोक इन्जिनियरिङ क्याम्पससँग सम्झौता गरेको थियो । भैरहवा–बुटवल मुख्य राजमार्गसँग जोडिएको करिब साढे पाँच बिघा जमिनमा हालको लुम्बिनी प्रादेशिक कार्यालय अवस्थित छ । यहाँ ५ सय १९ किलोलिटर पेट्रोल, ३ हजार ४० किलोलिटर डिजेल र १ सय ४० किलोलिटर मट्टितेल भण्डारण क्षमताका ट्याङ्कर छन् । बढ्दो खपतको तुलनामा हालको भण्डारण क्षमता अत्यन्त न्यून रहेको निगमको भनाइ छ । अहिलेको भण्डारण क्षमताले पेट्रोलको २ दिन र डिजेलको ५ दिनको माग मात्रै धान्न सक्ने अवस्था रहेको उपनिर्देशक यादवले जानकारी दिनुभयो । भलवारी डिपोमा जग्गा अभावका कारण ट्याङ्करलाई यथेष्ट पार्किङस्थल उपलब्ध गराउन नसक्दा सडकमै रोक्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । “डिपो सञ्चालनका क्रममा बढ्दै गएको सुरक्षा चिन्तालाई सम्बोधन गर्न तथा आधुनिक सुरक्षाका उपकरण जडान तथा विस्तार गर्न पनि नयाँ डिपो निर्माण गर्न आवश्यक छ”, भलवारी डिपो स्थानान्तरणको आवश्यकता प्रस्ट्याउँदै उपनिर्देशक यादवले भन्नुभयो । डिपो स्थानान्तरण गर्नुपर्ने स्थानीय बासिन्दाको दबाब र बढ्दो पेट्रोलियम खपतलाई सम्बोधन गर्न रोहिणी खोला किनारमा नयाँ डिपो निर्माण गर्न लागिएको निगमले स्पष्ट परेको छ । निगमले चालु आवको नीति तथा कार्यक्रम र बजेटमा रोहिणी नदी किनारमा रहेको करिब १४ बिघा जमिनमा आधुनिक डिपो निर्माण गर्ने उल्लेख गरेको छ । कन्सल्टेन्सी सेवा विभागका प्रमुख बरालले केयू र निगमबीच लामो समयदेखि अनुसन्धान मुलुक कार्यमा सहकार्य हुँदै आएको जानकारी दिँदै पेट्रोलियम भण्डारण गृहको डिपिआर निर्माण गर्न दिइएको जिम्मेवारी समयमै पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसबाट सबै प्रकारका पूर्वाधार निर्माण गर्न नेपाली जनशक्ति सक्षम रहेको पुष्टि भएको उहाँको भनाइ छ ।निगमका उपनिर्देशक यादव पेट्रोलियम पूर्वाधार निर्माणमा इन्डियन आयल कर्पोरेसनको प्राविधिक टोलीको भर पर्नुपर्ने अवस्था अन्त्य गर्न त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पुल्चोक क्याम्पस र काठमाडौं विश्वविद्यालयबीच सम्झौता भएको बताउनुहुन्छ । आधुनिक डिपो निर्माणसँगै प्रदेशभरको माग धान्ने ठूलो क्षमताको स्टोरेज ट्याङ्कसमेत बनाइनेछ । अब बन्ने डिपोमा डिजेल भण्डारणका लागि ३ हजार किलोलिटर क्षमताको ३ ठूलो भर्टिकल ट्याङ्की निर्माण गरिनेछ । यस्तै, पेट्रोल भण्डारणका लागि २ हजार २ सय ८० किलोलिटर र मट्टितेल भण्डारणका लािग ५ सय किलोलिटरको ट्याङ्कर निर्माण हुनेछ ।डिपोभित्र कम्तीमा १ सय ५० वटा ट्रक तथा ट्याङ्कर सजिलै आवातजावत गर्न सक्ने पार्किङस्थल पनि बन्नेछ । अमेरिकन पेट्रोलियम इन्स्टिच्यूट ९एपिआई० मापदण्डअनुसार निर्माण हुने डिपोमा नवीन प्रविधिको सुरक्षा प्रणाली जडान गरिने परियोजना प्रमुख यादवले जानकारी दिनुभयो । निगमले रोहिणी खोला किनारमा भण्डारण गृह निर्माणका लागि गत वैशाखमा जमिन सम्याउने र पर्खाल लगाउने काम सुरु गरेको थियो ।निर्माण सुरु भएको ३ वर्षमा सक्ने योजना रहेको परियोजनाको कुल लागत रु ३ अर्ब २० करोड हुने प्रारम्भिक अनुमान छ । काठमाडौँ विश्वविद्यालयको विज्ञता सो परियोजनामा प्रयोग गर्न पाउँदा निगम अत्यन्त खुसी भएको जानकारी दिँदै उहाँले केयूको डिपिआरअनुसार तयार हुने परियोजना दिगो र आधुनिक सुविधा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।विसं २०२७ सालमा स्थापना भएको सरकारी स्वामित्वको निगमले नेपालमा पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरण गर्दै आइरहेको छ । निगमको हाल सातवटा प्रादेशिक कार्यालय, तीनवटा शाखा कार्यालय, १० वटा हवाई इन्धन डिपो र दुईवटा हवाई इन्धन रिफ्युलिङ स्टेसन सञ्चालनमा छन् ।निगमसँग विराटनगर, धनुषा, वीरगञ्ज, अमलेखगञ्ज, काठमाडौँ, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा इन्धन भण्डारण गृह छ । हाल निगमको पेट्रोलियम पदार्थ भण्डारण क्षमता ६० हजार तीन सय ८४ किलोलिटर रहेको छ । पेट्रोलियम पदार्थका लागि आयातमा निर्भर रहेको नेपालका लागि निगमले भारतको सरकारी स्वामित्वको इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट इन्धन खरिद गर्दै आइरहेको छ ।
काठमाडौं: यही मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा उम्मेदवारहरु मतदाता रिझाउनमा व्यस्त छन् । कीर्तिपुर नगरपालिकामा नगरप्रमुखसहित वडा नम्बर १ र ४ को वडाध्यक्षका लागिसमेत उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार मतदानको ७२ घण्टा अगाडि अर्थात् मङ्सिर १३ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ । त्यसैले यहाँ सबै उम्मेदवार मतदाता रिझाउने अन्तिम प्रयासमा जुटिरहनुभएको छ । कीर्तिपुर नगरपालिकामा मतदाता शिक्षा कार्य र आचारसंहिता पालनाका सम्बन्धमा प्रभावकारी अनुगमन भइरहेको उहाँले बताउनुभयो ।कीर्तिपुर नगरपालिकामा कूल ३१ हजार १ सय १२ मतदाता रहेका छन् । कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र र विभिन्न दलका गरी जम्मा २० उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । त्यसमध्ये ९ उम्मेदवार विभिन्न राजनीतिक दल, १ यौनिक अल्पसङ्ख्यक तथा ११ स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । कीर्तिपुर नगरपालिकाका प्रमुख निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार सङ्घीय राजधानीमै रहेको र सबैभन्दा बढी प्रतिनिधि छान्ने स्थानीय तह भएकाले यहाँ सबैको चासो र ध्यान केन्द्रित भएको देखिन्छ । “सबै दलका र स्वतन्त्र उम्मेदवारले आ–आफ्नो ढङ्गले चुनावी प्रचारप्रसार गरिरहनुभएको छ, उहाँहरु बोलाएका समयमा सर्वदलीय बैठकमा आएर सहयोग गरिरहनुभएको छ”, उहाँले भन्नुभयो । कीर्तिपुरमा १५ हजार ९५ पुरुष, १६ हजार १५ महिला र दुई अन्य मतदाता रहेका निर्वाचन अधिकृत कार्कीले जानकारी दिनुभयो । कीर्तिपुरमा चुनावी माहोल सौहाद्र्ध रुपमा अघि बढिरेको छ । निर्वाचन कार्यालयलाई सबै राजनीतिक दल र उम्मेदवारबाट पूर्ण सहयोग भइरहेको तथा सबै निर्णय बहुमतबाट नभइ सर्वसम्मतिका आधारमा भइरहेको उहाँले बताउनुभयो । आचारसंहिताको परिधिभित्रै रही उम्मेदवारले चुनावी सभा र घरदैलो कार्यक्रम गर्दै मत मागिरहनुभएको छ । मुख्य प्रतिस्पर्धा प्रमुख ३ दलबीच मतदातासँगको छलफल र कुराकानीका आधारमा प्रमुख दलबीच नै बढी प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यद्यपि स्वतन्त्र उम्मेदवारको पक्षमा पनि मतदाताको अभिमत जान सक्ने अवस्थालाई नकार्न भने सकिन्न । नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार कृष्णमान डङ्गोलले चुनाव प्रचारप्रसारको काम प्रारम्भिक रुपमा १० वटै वडामा पूरा गरेको उल्लेख गर्दै बेथिति र विकृति अन्त्य गरी विकास र समृद्धिका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको जनभावना बुझेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “नगरका प्राथमिकता शिक्षा, स्वास्थ्य, रोजगार, वातावरण, सडक र खानेपानी नै हुन । अव्यवस्थित बसोबासको अन्त्य र खानेपानीको कमी हटाइ पर्याप्त खानेपानीको व्यवस्था गरी बाह्ैमहिना आपूर्तिमा ध्यान पु¥याइने छ ।” नेकपा (एमाले)बाट नगरप्रमुखका उम्मेदवार डा सुरेन्द्र मानन्धरले आफू निर्वाचित भएको खण्डमा शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, भौतिकपूर्वाधार, कला, संस्कृति, सङ्गीत, खेलकुद, फोहरमैला व्यवस्थापन, खानेपानी, ज्येष्ठ नागरिक, प्रशासनिक सुधार गर्ने जनता समक्ष प्रतिबद्धता गर्दै मतदाताको घरदैलो गरिरहेको बताउनुभयो । यस्तै माओवादी केन्द्रबाट नगरप्रमुखका उम्मेदवार शिवशरण महर्जनले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रवद्र्धलाई मुख्य एजेण्डा बनाउँदै नगरमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायत समस्या समाधान गर्न लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । नेपाल समाजवादी पार्टी (नयाँशक्ति)का उम्मेदवार दिलकुमार महर्जनले स्वच्छ, सुन्दर र समृद्ध कीर्तिपुर बनाउन तथा नगरक्षेत्रका यावत समस्या सम्बोधन गर्न आफूले उम्मेदवारी दिएको बताउनुभयो । चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा रहनुभएका नेपाल मजदुर किसान पार्टीका उम्मेदवार श्रीकृष्ण महर्जन भन्नुहुन्छ, “नेमकिपा देशको स्वाधिनताको रक्षा र जनतालाई माया गर्ने दल भएकाले राम्रो सद्भाव पाएको छु । निर्वाचित हुनेमा विश्वस्त छु ।” नगरप्रमुखका स्वतन्त्र उम्मेदवार दिनेशकुमार अधिकारीले आफूले दलका उम्मेदवारभन्दा राम्रो काम गरेर देखाउने भन्दै मतदाता रिझाउने प्रयासमा रहेको प्रतिक्रिया दिनुभयो । निर्वाचनको प्रकाशित कार्यतालिका अनुसार उम्मेदवारी दर्ता र चुनाव चिन्ह प्रदान गर्ने कार्य सम्पन्न भइसकेको छ । नगरपालिकाका १० वटै वडामा रहने २० स्थलका र ३८ केन्द्रको अनुगमन, सुरक्षा तथा कर्मचारी व्यवस्थापन, मतदान अधिकृतका लागि अभिमुखीकरण तालिमलगायत कार्य पूरा भइसकेको निर्वाचन अधिकृत कार्कीले बताउनुभयो । सबै मतदानस्थल र केन्द्र पहिले नै निर्धारण गरिएकाले सोही बमोजिम व्यवस्थापन गरिएको छ । कीर्तिपुर–१ को वडाध्यक्षमा ७ पुरुष र १ महिलासहित आठ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । वडाध्यक्ष पदमा ५ राजनीतिक दल र ३ स्वतन्त्र उम्मेदवारले चुनाव लड्दै हुनुहुन्छ । यसैगरी कीर्तिपुर–४ को वडाध्यक्षका लागि १ यौनिक अल्पसङ्ख्यक समुदाय, २ महिला र ९ पुरुष उम्मेदवार मैदानमा हुनुहुन्छ । नेपाली कांग्रेस, नेकपा (एमाले)र नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले विगत जस्तै खानेपानी, सडक, शिक्षा, स्वास्थ्यका एजेण्डा प्रस्तुत गर्दै मत मागिरहनुभएको छ । बाक्लो बस्ती रहेको कीर्तिपुर क्षेत्रका सडकमा सबैजसो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले सडकमै सभा र ¥याली गरी मतदातालाई आफूप्रति आकर्षित गरीरहनुभएको छ । केही पार्टीले चुनावमा खटिने कार्यकर्तालाई प्रशिक्षण दिँदै आफना उम्मेदवारको पक्षमा मत माग्न मतदाताको ढोका–ढोकामा पुग्न दलसँग आबद्ध भातृ सङ्गठनका प्रतिनिधिलाई निर्देशन दिइरहेकोसमेत देखिन्थ्यो । नगरपालिकाको सभाहलमा मतगणनास्थल कायम गर्ने गरी सर्वदलीय सहमति भइसकेको छ । मतपत्र नगरप्रमुख र वडाध्यक्षको फरक फरक भएकाले मतदान भएको २ दिनभित्रै मतगणना सम्पन्न गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
झापा: जिल्लामा विगत चार वर्षको अवधिमा घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान भएका छन् । घरेलु हिंसाका अधिकांश मुद्दाहरू अदालत नपुग्दै मिलापत्रमा टुङ्गिने गरेका हुन् । ४ वर्षमा घरेलु हिंसासम्बन्धी कसुरमा आठ सय २० वटा मुद्दा विभिन्न निकायमा दर्ता भएकामा अधिकांश मेलमिलापमा टुङ्गिएका छन् भने थोरै मात्र अदालत पुगेका छन् । आर्थिक वर्ष २०७७÷७८ देखि आव २०८०÷८१ सम्मको अवधिमा जिल्लामा घरेलु हिंसासम्बन्धी कसुरमा दर्ता भएका मुद्दामध्ये ६ सय ४० वटा सहमतिमा टुङ्गिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिनुभयो । विद्यमान कानुनी व्यवस्थाअनुसार घरेलु हिंसाको कसुरमा अदालत, प्रहरी, स्थानीय तह र राष्ट्रिय महिला आयोगमा उजुरी दर्ता गर्न सकिने व्यवस्था रहेको जनाउँदै उहाँले सहजताका लागि अधिकांश पीडित प्रहरी कार्यालय र स्थानीय तहको न्यायिक समितिमा उजुरी लिएर जाने गरेका बताउनुभयो । ४ वर्षको अवधिमा जिल्लामा घरेलु हिंसाका ३१ वटा अर्थात् ४ प्रतिशत मुद्दा मात्र जिल्ला अदालत पुगेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्दले उल्लेख गर्नुभयो । आव २०७७÷७८ मा १४, आव २०७८÷७९ मा १२, आव २०७९÷८० मा ४ र गत आवमा एउटा मात्र मुद्दा अदालतमा पुगेका उहाँले जानकारी दिनुभयो । चालु आवको प्रथम चौमासिकमा घरेलु हिंसाका २८ उजुरी परेकामा १८ वटा मेलमिलापबाट टुङ्गिसकेका छन्भने हालसम्म एउटा मुद्दा मात्र अदालतमा पुगेको छ ।अधिवक्ता मणि पराजुली पीडितहरू कमजोर र पीडकहरू शक्तिशाली हुने पितृसत्ताका कारण उजुरी अदालतसम्म नपुगेका बताउनुभयो । प्रहरी र पालिकामा परेका उजुरीको सुनुवाइ छलफलबाट सुरु हुने र आरोपितलाई झिकाएर पहिलो चरणमा आपसी छलफल गर्न लगाइने भएकाले अधिकांश उजुरी मेलमिलापमा टुङ्गिने गरेका उहाँको भनाइ छ । घरेलु हिंसा ९कसुर तथा सजाय० ऐन, २०६६ बमोजिम जुनसुकै व्यक्तिले घरेलु हिंसा भइरहेको वा भएको विषयमा प्रहरीमा उजुरी दिनसक्ने कानुनी व्यवस्था छ । यस्तो उजुरीका आधारमा आरोपितलाई पक्राउ पूर्जी जारी गरी अनुसन्धानका लागि झिकाउने काननी व्यवस्था रहेको अधिवक्ता पराजुलीले जानकारी दिनुभयो । कतिपय अवस्थामा आरोपित पक्षको दबाब र प्रलोभनका कारण पीडितले बयान फेरिदिँदा आरोपित कानुनी कारबाहीको दायराबाट सहजै उम्किने उहाँले उल्लेख गर्नुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष २१औँ राष्ट्रिय ज्यापू दिवसका लागि परम्परागत निमन्त्रणा (ग्वय् दाँ तयेगु ज्वाइव)दिइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज सङ्घीय सांसद कृृष्णगोपाल श्रेष्ठ, ज्यापू संस्कृति विकास कोषका अध्यक्ष मङ्गलकृष्ण महर्जनसहित करिब सय जनाको समूहले नेवारी बाजागाजा प्रस्तुत गर्दै सगुन दिएर दिवसको प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरेको हो । यस वर्षको ज्यापू दिवस तथा योमरी पुन्ही यही मङ्सिर ३० गते मनाइनेछ । उक्त दिन काठमाडौँमा ¥यालीसहित वसन्तपुरमा मुख्य कार्यक्रम हुनेछ । कार्यक्रममा ज्यापू प्रतिभा पुरस्कार पनि प्रदान गरिने आयोजकले जनाएको छ । परम्परागत निमन्त्रणा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले नेवारी संस्कृति नेपाली संस्कृतिको पहिचान दिने मौलिक, उन्नत र परिस्कृत तथा इतिहास बोकेको संस्कृति भएकाले सबै मिलेर यसको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ज्यापू गुठीका लागि अक्षयकोषमा सक्दो रकम वृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास दिलाउनुभयो ।