काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।  उहाँले दुवै सदनबाट पारित भएर आएका विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणी...

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङ प्रस्थान गर्नुहुने भएको छ ।  चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँले यही मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो ।        भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नुहुनेछ ।  प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ ।        भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ । त्यस्तै उहाँले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।       प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य रहनुहुनेछ । त्यस्तै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत हुनुुहुन्छ ।       प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कने तालिका छ ।

काठमाडौं:      नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।    राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ८२ र बिक्रीदर एक सय ७२ रुपैयाँ ५८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।      केन्द्रीय बैंकका अनुसार  अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।      यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ०१ पैसा र बिक्रीदर नौ रुपैयाँ ०५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ७१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर ३६ रुपैयाँ ०६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा कायम भएको छ ।      केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९३ पैसा र बिक्रीदर तीन रुपैयाँ ९५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा तोकिएको छ ।      त्यस्तै, साउथ कोरियन वन एक सयको खरिदर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १२ रुपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २१ पैसा तोकिएको छ ।      राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ३९ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ३५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ७५ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ३४ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५० रुपैयाँ ३५ पैसा र बिक्रीदर तीन सय ५१ रुपैयाँ ९१ पैसा तोकेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

काठमाडौं:     मन्त्रिपरिषद् बैठकले २० मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।  सो सम्बन्धी सहमति आदानप्रदान पत्रको मस्यौदा स्वीकृत गरी हस्ताक्षर गर्ने जिम्मेवारी अर्थ मन्त्रालयका सचिवलाई दिने निर्णय भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।  मन्त्रिपरिषद् बैठकले संलग्न प्रस्तावित तीन सय मिलियन आरएमबी चिनियाँ युआन बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्झौता स्वीकृत गर्ने निर्णय पनि गरेको उहाँले बताउनुभयो । उक्त प्रस्तावमा हस्ताक्षर गर्ने अख्तियारी पनि अर्थ सचिवलाई नै दिइएको छ ।       संलग्न विकास योजना सन् २०२५ देखि सन् २०२९ सम्मको समझदारी पत्र पनि आजको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । यसको हस्ताक्षर गर्ने जिम्मेवारी अर्थ मन्त्रालयका सचिवलाई दिइएको छ ।      यस्तै सार्वजनिक सेवा प्रसारण संस्था (रेडियो नेपाल र नेपाल टेलिभिजन) र चाइना मिडिया ग्रुप (सिएमजी) बीच हुने ‘मेमोरेबल अन्डरस्ट्यान्डिङ’ विषयक समझदारी पत्रलाई पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो । यससम्बन्धी समझदारी प्रधानमन्त्री केपी शर्मा ओलीको सोमबारदेखि हुने चीन भ्रमणका क्रममा गरिने बताइएको छ ।      नेपाल सरकार र चिनियाँ सरकारबीच नेपालमा स्वयंसेवी चिनियाँ भाषा शिक्षक तालिम कार्यक्रम परिचालनका लागि तयार भएको समझदारी पत्र स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । समझदारी पत्रमा हस्ताक्षर गरी कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।       मन्त्रिपरिषद् बैठकले प्राविधिक सहसचिव रामप्रसाद घिमिरेलाई प्राविधिक सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री ओलीको यही मङ्सिर १७ देखि २० गतेसम्म हुने चीन भ्रमण सफलताका लागि शुभकामना दिने निर्णय पनि गरेको छ । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले चीनको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ ।      प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा एमओयु (लेटर अफ एक्सप्रेसन) हुने तय भएका आयोजनामा काठमाडौँ चक्रपथ सुधार, चौथो चरणको अरनिको राजमार्ग सुधार, हिल्सा–सिमीकोट सडक आयोजना, कोरोला नाकालाई व्यवस्थित गर्ने विषयसँग सम्बन्धित आयोजना, टोखा–छहरे सुरुङ मार्गलगायत रहेका छन् ।       यसैगरी बिपी कोइराला क्यान्सर अस्पताल चितवनमा बोन म्यारो ट्रान्सप्लान उपचार पद्धति सुरु गर्नेलगायत आयोजना रहेका छन् ।  एक सय विद्युतीय गाडी, एक सय  प्रहरी भ्यान, ५० स्कुल भ्यान, ५० एम्बुलेन्सका लागि पनि प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा सहमति हुनेगरी छलफल अघि बढेकाले यस विषयमा पनि ठोस उपलब्धि हुनसक्ने मन्त्री गुरुङले जानकारी दिनुभयो ।

काठमाडौं:    सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वमन्त्री एवं नेकपा (एमाले) नेता लिला बल्लभ अधिकारीमाथि मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिट निवेदनलाई दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको छ । रजिष्ट्रार भद्रकाली पोखरेलले आज वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेस गर्नुभएको रिट निवेदन दरपीठ गर्नुभएको हो ।  “कुनै अदालत वा न्यायिक निकाय वा अधिकारीसमक्ष नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने अधिकार महान्यायाधिवक्तालाई हुनेछ भन्ने व्यवस्था रहेको छ”, दरपीठ आदेशमा भनिएको छ, “उक्त मुद्दाको अभियोगपत्रमा ‘लिला बल्लभ अधिकारीको प्रस्तुत वारदातमा सङ्लग्न रहेको वस्तुनिष्ठ प्रमाण हालसम्मको अनुसन्धानबाट नदेखिएकाले निजउपर थप प्रमाण प्राप्त भएका बखत कानुनबमोजिम हुने नै हुँदा...’ भनी उल्लेख भएको परिप्रेक्षमा प्रस्तुत रिट निवेदन यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत दर्ता गर्न मिलेन ।” सरकारी वकिल कार्यालय काठमाडौँले मन्त्री अधिकारीविरूद्ध यही मङ्सिर १० गते मुद्दा नचलाउने निर्णय गरेको थियोे । 

धनुषा:    आजदेखि सुरु भएको सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महामहोत्सव पहिलो दिन नगर दर्शन सम्पन्न भएको छ । विवाहपञ्चमीको पहिलो दिन आज जानकी मन्दिरको प्राङ्गणमा नगर दर्शन गरिएको हो । यो विधि हेर्नका लागि मन्दिर प्राङ्गणमा श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरुको भीड लागेको थियो ।  भगवान् राम र लक्ष्मण पहिलोपटक प्राचीन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन विधि गरिन्छ ।      नगर दर्शन विधिमा राम लक्ष्मणको प्रतीकका रूपमा रहेका दुई बालकलाई नगर दर्शन गराइएको थियो ।  विवाहपञ्चमी महोत्सवका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत श्रद्धालुहरू आउनुभएको थियो । मिथिला नरेश राजा जनककी छोरी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाइने गरिन्छ ।      धार्मिक, सांस्कृतिक र सामाजिक महत्वको यस पर्व आजदेखि भव्यताका साथ मनाउन सुरु भएको छ । भोलि १७ गते पुष्पवाटिका फूलबारी लिला, १८ गते धनुष यज्ञ र बरात आगमनको स्वागत पनि त्यही दिन हुन्छ ।  १९ गते तिलकोत्सव, २० गते मटकोर महोत्सव, २१ विवाह महोत्सव र २२ गते रामकलेवा उत्सवको आयोजनापछि साताव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न हुनेछ ।      अयोध्याबाट आएका अतिथिहरूलाई २३ गते स–सम्मान बिदा गर्ने चलन छ । प्रत्येक पाँच वर्षको अन्तरालमा विशेष रूपमा भारतको अयोध्या रामजन्मभूमिबाट जन्ती आउने प्रचलन अनुसार यसपटक यहाँ उत्साह अझै थपिएको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णले बताउनुभयो ।

काठमाडौं:    कथाकार विष्णु पादुकाले ‘माग्युद् खोना’ कथाका लागि प्रथम पुरस्कार प्राप्त गर्नुभएको छ । बाह्रखरी मिडियाले गरेको कथा प्रतियोगिताको छैटौँ संस्करणमा उहाँ विजेता हुनुभएको हो ।  आज काठमाडौँमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विजेता पादुकालाई रु एक लाख पुरस्कार र ट्रफी प्रदान गर्नुभयो ।  कथाकार प्रमेय भण्डारीको कथा ‘कृत्रिम सपना’ द्वितीय र विवेक धिमालको कथा ‘मैले देखेको विद्यालय’ लाई तृतीय पुरस्कार प्रदान गरिएको छ । उहाँहरूले क्रमशः नगद रु ६० र ४० हजारसहित पुरस्कार प्राप्त गर्नुभयो ।       कार्यक्रममा प्रतिस्पर्धामा नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्राप्त नौ सय ३७ कथाहरूमध्येबाट उत्कृष्ट २५ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा–२०८१’ पुस्तकको लोकार्पण पनि गरियो ।       प्रतियोगितामा उत्कृष्ट २५ कथाकारहरूमा क्रमशः अनिता पन्थी, अप्सना चौलागाईं, चेतनाथ आचार्य, जीतबहादुर कटुवाल, तोयम्, दीक्षित केसी, दुर्गा ढेंगा, देवेन्द्र खापुङ, ध्रुव अधिकारी, प्रमेय भण्डारी, भागवत खनाल, भूमिका थारू, मधुर भट्टराई, महेन्द्र महक, मिरमा, रमेशजङ्ग थापा, राधिका कल्पित, ललिता दोषी, विमला तिवारी, विवेक धिमाल, विष्णु पादुका, सपना अधिकारी, सुदीप चापागाईं, हर्कबहादुर लामगादे ‘रोहित’ र डा हिमलाल श्रेष्ठ रहेका छन् ।       बाह्रखरी उत्कृष्ट कथा–२०८१ फाइनप्रिन्टले बजारमा ल्याएको हो । यस कृतिको सम्पादन आख्यानकार नयनराज पाण्डेले गर्नुभएको छ ।  १२खरी मिडियाले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुई मूल्याङ्कन समिति गठन गरेको थियो । बाह्य निर्णायकहरूमा प्रा डा ज्ञानु पाण्डे संयोजक र साहित्यकार डा गीता त्रिपाठी र धीरेन्द्र प्रेमर्षि सदस्य हुनुहन्थ्यो । 

काठमाडौं:    स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको निर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको छ । उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा दुई लाख २६ हजार सात सय ९९ मतदाता रहेकामा हालसम्मको प्राप्त विवरणअनुसार करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिनुभयो ।      उपनिर्वाचनमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ पदका लागि आज मतदान भएको हो । उपनिर्वाचन प्रयोजनका लागि २५ राजनीतिक दल दर्ता भएकामा २० राजनीतिक दलका तर्फबाट उम्मेदवारी परेको थियो ।      बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको आयोगले जनाएको छ ।  यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । मतपेटिका सुरक्षित रूपमा सङ्कलन भएपछि मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको आयोगले जनाएको छ ।      निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउने कार्यमा सहयोग, समन्वय र सहकार्यका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहसहित सबैलाई आयोगले आभारसहित धन्यवाद ज्ञापन गरेको छ ।  

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि भोलि सोमबार बिहान बेइजिङ प्रस्थान गर्नुहुने भएको छ ।  चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ यही मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो ।        भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  यसैगरी उहाँले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान गर्नुहुनेछ । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ ।        भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नुहुने कार्यक्रम छ । यस्तै उहाँले बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य रहनुहुनेछ ।        यस्तै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीलगायत हुनुुहुन्छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कने तालिका छ ।

काठमाडौं:    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचआइभी नियन्त्रणका लागि चेतना विस्तार आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगले विश्व एड्स दिवसका अवसरमा आयोजना गरेको ‘एचआइभी एड्स सङ्क्रमित नागरिकको मानव अधिकार अवस्था अध्ययन प्रतिवेदन २०८१’ को सार्वजनिकीकरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।  मन्त्री पौडेलले अझै चेतना विस्तार हुन नसक्दा सङ्क्रमण भइरहेको  र सङ्क्रमितले विभेद भोग्ने अवस्था रहेको भन्दै सबैले सचेत रहनुपर्नेमा जोड दिनुभयो ।        उहाँले एड्स नियन्त्रणको सवालमा स्वास्थ्य मन्त्रालय सधैँ सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।