काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार राजनीतिक स्थायित्वका साथै सङ्घीयताको सबलीकरणका लागि आवश्यक सुधारमा कटिबद्ध भएर लागिरहेको बताउनुभएको छ । काठमाडौँमा आज आयोजित बाह्रखरी कथा प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा उहाँले विगतमा देखिएका समस्या र चुनौतीहरूको व्यवस्थापन, राजीतिक परिस्थितिलाई सम्हाल्दै सरकार अगाडि बढिरहेको बताउनुभयो । मन्त्री गुरुङले वर्तमान गठबन्धन सरकार देशलाई नयाँ दिशा दिने गरी नीतिगत सुधारदेखि संस्थागत व्यवस्थापनका काममा कटिबद्ध भए लागिरहेको बताउनुभयो । “यो स्थायी सरकार हो । धेरैले यसको दीर्घायुको बारेमा विभिन्न कुरा गरिरहेको सुन्छु तर ढुक्क हुनुहोस्, यो सरकार दायाँबाँया हुँदैन । देशलाई नयाँ दिशा दिएरै छोड्छ”, उहाँले भन्नुभयो,“राज्यको पुराना नीति परिमार्जन, डिजिटल माध्यमबाट ३ वर्षमा करिब तीन लाख युवालाई रोजगारी, सङ्घीयतालाई मसिनो ढङ्गले विस्तार, वन, प्रहरी, निजामती सेवालगायत ऐनलाई आवश्यक परिमार्जन गर्ने काममा सरकार लागिरहेको छ ।” मन्त्री गुरुङले विकासका लागि तीन खर्ब मात्रै बजेट छुटयाइएको अवस्थामा पनि पुँजीगत खर्च गर्न नसक्नु विडम्बना भन्दै अब सरकारले खर्चमा जोड दिने र त्यसका लागि नीतिगत र कानुनी सुधार गरिनेसमेत बताउनुभयो ।
कैलाली: यहाँस्थित लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण हुने भएको छ । आज लम्कीचुहा नगरपालिकाका नगर प्रमुुख सुशीला शाहीले नयाँ भवनको शिलान्यास गर्नुभयो । बिरामीको चापलाई मध्यनजर गर्दै नगर अस्पतालको स्तरोन्नति गरी २५ श्ययाको अस्पताल सञ्चालन गर्ने उदेश्यले नयाँ भवन निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । नयाँ भवन निर्माण भएपछि बिरामीलाई सेवा दिन सहज हुने उहाँको भनाइ छ । हाल लम्कीचुहा नगरपालिकामा दैनिक तीनदेखि चार सय बिरामीले सेवा लिइरहेका छन् । सेवाग्राहीलाई सेवा दिन पर्याप्त भवनको अभाव भएकाले नयाँ भवन निर्माण हुन लागेको अस्पतालका व्यवस्थापन प्रमुुख जयन्द्र जैशीले बताउनुुभयो । लम्कीचुहा नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारको संयुक्त लगानीमा निर्माण हुन लागेको भवन अढाई तलाको हुनेछ । पहिलो चरणमा एक तलाको काम चालु आर्थिक वर्षको असार मसान्तमा सम्पन्न गर्ने लक्ष्य छ । हाल १५ श्ययाको अस्पताल भवन निर्माणसँगै २५ श्ययामा स्तरोन्नति गरिने जैशीले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाको वडा नं १० मा ५० श्ययाको प्रादेशिक अस्पताल निर्माण भइरहेको छ । भल्कामा नगर अस्पतालको स्तरोन्नतिको काम भइरहेको छ ।” लम्कीचुहा नगर अस्पतालले हाल २४सै घण्टा आकस्मिकलगायत प्रयोगशाला सेवा दिइरहेको छ । चुहाको प्रादेशिक अस्पताल सञ्चालन भएमा विशेषज्ञसहितको सेवा सञ्चालन गर्न सहज हुने र एकीकृत रुपमा अस्पताल सञ्चालन गरिने व्यवस्थापन प्रमुख जैशी बताउनुहुन्छ । भवन निर्माणको जिम्मा मालिकामण्टा बेतालमाडौँ कन्स्ट्रक्सन लम्कीचुहा–६ गुुलराले पाएको छ । भवन रु दुई करोड २७ लाख २१ हजारमा निर्माण हुुन लागेको हो । बहुवर्षीय ठेक्कामा निर्माण हुन लागेको भवनको लागत रु १४ करोड अनुमान गरिएको अस्पतालका सञ्चालक सदस्य खडानन्द सापकोटाले जानकारी दिनुभयो ।
काठमाडौं: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको नयाँदिल्लीमा हुने दुई दिने साझेदारी शिखर सम्मेलन २०२४ मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयको आयोजनामा सोमबार र मङ्गलबार आयोजना हुने औपचारिक कार्यक्रमका लागि उहाँ भारत प्रस्थान गर्नुभएको हो । सो सम्मेलनमा सरकार–उद्योग साझेदारीलगायत विषयमा छलफल हुने जनाइएको छ । भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलको औपचारिक निमन्त्रणमा मन्त्री भण्डारी नयाँदिल्ली प्रस्थान गर्नुभएको हो । सो शिखर सम्मेलनमा भारतसहित नेपाल, अल्जेरिया, बहराइन, भूटान, इजराइल, इटाली, साउथ अफ्रिका, कम्बोडिया, म्यानमार, कतार, सेनेगललगायत राष्ट्रका उद्योग तथा वाणिज्य र वित्तमन्त्रीहरुको सहभागिता रहने मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिनुभयो । सो सम्मेलन नयाँदिल्लीस्थित सुस्मा स्वराज भवनमा सम्पन्न हुने जनाइएको छ ।
काठमाडौं: नेपाल फार्मेसी परिषद्ले आगामी पुस ४ गतेदेखि ‘फर्मासिष्ट’लाई अनिवार्य पोशाक र परिचयपत्रको व्यवस्था लागु गर्ने भएको छ । उक्त व्यवस्था लागू गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको आग्रह बमोजिम परिषद्ले पहिलो चरणमा फर्मासिष्टको पहिचान खुलाउन पोशाक अनिवार्य गर्ने निर्णय गरेको थियो । परिषद्ले फर्मासिष्ट तथा सहायकका लागि सेतो एप्रोनसहितको पोशाक र पोशाकमै परिचयपत्र अनिवार्य गर्ने जनाएको छ । कुनै पनि सामुदायिक फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि वितरणमा कार्यरत फर्मासिष्टले एप्रोनसँगै हरियो पृष्ठभूमिमा सेतो रङको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर तथा फार्मेसी सहायकले निलो पृष्ठभूमिमा सेतो रङको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अनिवार्य राख्नुपर्ने निर्णय आगामी पुस ४ गतेदेखि लागू हुँदैछ । यस निर्णयले औषधि बिक्रीवितरणमा आधिकारिक व्यक्तिमात्र संलग्न हुने र कुनै कैफियत देखिएमा कारबाही गर्न सहयोग पुग्ने परिषद्का रजिस्टार सञ्जिवकुमार पाण्डेले बताउनुभयो । मन्त्री पौडेलले यस व्यवस्थाको अनुगमन कडा गर्न आग्रह गर्दै मन्त्रालयले कार्यान्वयनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । औषधि बिक्रीवितरणलाई व्यवस्थित र नियमित बनाउन मन्त्री पौडेलले औषधि व्यवस्था विभागलाई अनुगमन बढाउन सजग गराउनुभएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले परिषद्को निर्णय कार्यान्वयनमा सहयोग गर्न मन्त्रालयले पत्राचार गर्ने बताउनुभयो । यसका अलावा औषधि बिक्रीवितरणमा बेथिति देखिए नदेखिएको अनुगमन गर्ने र दोषी देखिएमा एकैसाथ कारबाही गरिने उहाँले बताउनुभयो । औषधिको मूल्य समायोजन गर्न गठित समितिले काम गरिरहेको छ । समितिको सुझावअनुसार अधिकतम उपयोग हुने औषधिमा नागरिकलाई कम भार पर्नेगरी मूल्य समायोजन गर्ने मन्त्रालयको तयारी छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा विभिन्न मुलुकका लागि नियुक्त नेपाली राजदूतहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, सङ्घीय गणतन्त्र जर्मनीका लागि डा.शैल रूपाखेती, साउदी अरेबिया अधिराज्यका लागि डा. नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादवले सपथ लिनुभएको हो । उक्त अवसरमा परराष्ट्र मन्त्री डा। आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
मकवानपुर: स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ का एक सय दुई वर्षका गोविन्द लामिछानेले मतदान गर्नुभएको छ । आज वडाध्यक्ष पदका लागि भएको मतदानमा उहाँ सहभागी हुनुभएको हो । उहाँले वडाको भोर्लेस्थित विष्णुज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्यक्रममा मतदाताहरूको उत्साहजनक उपस्थिति छ । निर्वाचन कार्यालयले २ वटा मतदानस्थलको व्यवस्था गरेको छ । कूल ८ हजार ५३ मतदातामध्ये दिउँसो १ बजेसम्ममा ४ हजार २ सय २३ मतदाताले मतदान गरेका छन् । मतदान केन्द्रमा मतदाताहरू अहिले पनि मतदान गर्न लामबद्ध छन् । विष्णुज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा १ हजार ८ सय ४३ मत खसेको छभने वडाको सिग्रेनीस्थित प्रतिभा आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा दुई हजार तीन सय ८० मत खसेको मतदान अधिकृत सरोज पौडेलले जानकारी दिनुभयो ।
दाङ: रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर आज पाँच मजदुरको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरिक्षक कुबेर कठायतका अनुसार सुनछहारी गाउँपालिका–३, गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा सोही ठाउँका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको छ । निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएर उनीहरू पुरिएका थिए । मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माण भइरहेको थियो । पुल निर्माणमा सात मजदुर खटिएका थिए । पर्खाल भत्केको देखेपछि दुई जना भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
कञ्चनपुर: बेमौसमी काँक्राखेती गरेर शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले तीन महिनामै रु डेढ लाख बढी आम्दानी गर्नुभएको छ । तीन कठ्ठा जग्गामा चौधरीले काँक्राखेती गर्नुभएको छ । हालसम्म २१ क्विन्टल काँक्रा बिक्री गरेको चौधरीले बताउनुभयो । काँक्रा प्रतिकिलो रु ७० देखि रु ८० मा बिक्री हुँदै आएको छ । काँक्रा रोप्नेदेखि टिपेर बजारसम्म लैजाने कार्यमा चौधरी खटिँदै आएका छन् । बारीमा उत्पादित काँक्रा स्थानीय झलारी, कलुवापुर र अत्तरियालगायत बजारमा बिक्री हुने गरेको छ । “स्थानीय व्यापारीले काँक्रा बारीबाटै खरिद गरेर लैजाने गरेका छन्”, चौधरीले भन्नुभयो, “व्यापारी नआएको दिन आफैँ साइकलमा राखेर काँक्रा बजारमा पु¥याएर बिक्री गरिँदै आएको छ ।” अझै बारीमा रु एक लाख मूल्य बढीका काँक्रा बिक्री गर्न बाँकी रहेको उहाँले बताउनुभयो । गत वर्ष उहाँले दुई रु लाख मूल्यका बेमौसमी काँक्रा बिक्री गर्नुभएको थियो । पिपलाडी गाउँमा व्यावसायिक तरकारीखेतीमा धेरै किसान भए पनि बेमौसमी काँक्रा उत्पादन गर्नेमा चौधरी एक्ला किसानका रुपमा रहनुभएको छ । बेमौसमी काँक्राखेती गरेर बजार मूल्य पनि बढी पाइने र बजारमा सहजै बिक्री गर्न सकिने भएकाले यस खेतीलाई दुई वर्षदेखि निरन्तर रुपमा गर्दै आएको चौधरी बताउनुहुन्छ । भारतीय तरकारीखेती गर्ने व्यक्तिहरुबाट चौधरीले बेमौसमी तरकारीखेती गर्ने तौरतरिका सिकेको बताउनुभयो । काँक्रासँगै चौधरीले लौका, भन्टा, खुर्सानी, तितेकरेला, चिचिण्डा, धनियाँ, आलु, लसुन, काउली, बोडीलगायतको खेती गर्नुहुन्छ । काँक्राखेतीबाट रु तीन लाख र अन्य तरकारीखेती गरी वर्षमा उहाँले रु सात लाखदेखि रु १० लाखसम्मको आम्दानी गर्दै आउनुभएको छ । तरकारीखेती गरी आएको आम्दानीबाट चौधरीले छोरालाई काठमाडौँमा डेरामा राखेर मेकानिकल इञ्जिनियर पढाउँदै आउनुभएको छ । उहाँले छोरीलाई महेन्द्रनगरमा कम्प्युटर विज्ञानको पढाइ गराउँदै आउनुभएको छ । “तरकारीखेतीबाट आएको आम्दानीमध्ये केही छोराछोरीका लागि खर्च हुन्छ”, चौधरीले भन्नुभयो, “बाँकी रहेको रकम घरखर्चमा सकिन्छ ।” पिपलाडी गाउँमा तरकारीखेतीमा ५० बढी परिवार संलग्न रहेका छन् । त्यसमध्ये चौधरीलाई अधिक आम्दानी गर्ने किसानमा गणना गरिन्छ । चौधरीले एक दशकअघिदेखि तरकारीखेतीमा संलग्न रहँदै आउनुभएको छ । व्यावसायिक खेतीमा संलग्न रहँदै आएका चौधरीले भने अहिलेसम्म अनुदानका कुनै पनि कार्यक्रममा समावेश हुन नपाएको गुनासो गर्नुभयो ।
सिरहा: सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल– भारत सीमा नजिकै बडियारपट्टी–१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको आज बिहान मृत्यु भएको हो । भित्री सडकमा आज बिहान ३ बजेतिर जाँच गर्ने क्रममा स्कोरपियोले ठक्कर दिँदा यादव घाइते हुनुभएको थियो । घाइते यादवलाई तत्काल उपचार गराउन रामकुमार उमापसाद स्मारक प्रादेशिक अस्पताल लहान लगे पनि अस्पताले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यादव वडहरी बेस क्याम्पका कार्यरत हुनुहुन्थ्यो । जिल्ला प्रहरी सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले नम्बर नखुलेको स्कारपियोले ठक्कर दिई भारततर्फ भागेकाले ठक्कर दिने गाडीको खोजतलास भइरहेको जानकारी दिनुभयो । सशस्त्र प्रहरी ७ नम्बर गण सिरहाका प्रमुख एसपी नरेश भण्डारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीलाई देखेर भाग्ने क्रममा स्करपियोले ठक्कर दिएर भागेको भन्ने सूचना प्राप्त भएको जनाउनुभयो । उहाँले अहिलेसम्म स्कोरपियोले मदिरा बोकेको भन्ने सूचना आए पनि स्कोरपियो फेला नपरेकाले यसै भन्न नसकिने जनाउनुभयो ।