काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।  उहाँले दुवै सदनबाट पारित भएर आएका विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणी...

काठमाडौं:     पछिल्लो २४ घण्टामा देशका विभिन्न १६ ठाउँमा आगलागीका घटना भए । ती आगलागीका घटनाबाट चार जना घाइते भएका छन् ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर लागेपछि आगलागीका घटना बढ्न थालेको छ । दैनिक आगलागीका घटना भइरहेका छन् । वर्षा नभएको र चिसो मौसम बढिरहेकाले पनि अबको समय आगलागीको उच्च जोखिम हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउनुहुन्छ ।  एक त ज्वलनशील वस्तु जम्मा हुन थालेको र अर्को जाडोमा आगो ताप्ने चलनले आगलागी र डढेलो बढ्छ । त्यहीअनुसार तयारी थालिएको पनि उहाँले बताउनुभयो । अबको केही समयपछि डढेलोको जोखिम पनि उत्तिकै हुने भएकाले अहिलेदेखि नै तयारी थालिएन भने बढ्दो डढेलोको जोखिमले मानव तथा भौतिक सम्पत्तिमा ठूलो क्षति हुनसक्नेतर्फ विज्ञहरूले सचेत गराएका छन् ।  विज्ञहरूका अनुसार पछिल्लो एक दशकको तथ्याङ्क अध्ययन गर्दा नेपालमा डढेलोका कारण ठूलो जनधनको क्षति हुन थालेको छ । डढेलो मानव बस्तीमा सल्किने क्रम पनि बढिरहेको छ । विज्ञहरूले डढेलो लागेपछि नियन्त्रण गर्न कठिन हुने भएकाले डढेलो लाग्न नदिने उपाय खोजी गरी पूर्वतयारीलाई प्राथमिकता दिएर काम गर्नुपर्नेमा सुझाव दिएका छन् । यो क्रम अहिलेदेखि नै सुरू गर्नुपर्नेमा उहाँहरूको सुझाव छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलोसम्बन्धीका विज्ञ सुदीप छतकुलीले आगलागीबाट नेपालमा १३ जिल्ला अति संवेदनशील र ११ जिल्ला संवेदनशील रहेको जानकारी दिँदै पछिल्लो समयमा डढेलो बढ्दै जानु चुनौतीको विषय भएको बताउनुभयो । तर पनि कुनै न कुनै रूपमा आगलागी र डढेलोले देश नै प्रभावित हुने गरेको छ । उहाँले जङ्गलमा पतकर, काठ तथा वन पैदावर बढ्दै जाँदा डढेलो लाग्ने क्रम बढेकाले त्यसको व्यवस्थापन जरूरी रहेको बताउनुभयो । उहाँका अनुसार गएको वर्ष नेपालका ७४ जिल्ला डढेलो र आगलागीबाट प्रभावित भएको छ ।  शतप्रतिशतजस्तै डढेलो मानवीय कारणले लाग्ने गरेको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार ६४ प्रतिशत मानिसले जानीजानी डढेलो लगाउने गरेका छन् । एकतीस प्रतिशत हेल्चक्रयाइँका कारण डढेलो लाग्ने गरेको छ । यसरी हेर्दा केही प्रतिशतबाहेक मानिसकै गतिविधिका कारण डढेलो लाग्ने भएकाले सचेत हुनेपर्नेमा उहाँले जोड दिनुभयो । डढेलोसम्बन्धीका अध्यक्ष एवं अर्का डढेलोसम्बन्धी विज्ञ डा कृष्ण भुजेलले आगलागी हुने दिन पनि बढ्दै गएको बताउनुभयो । उहाँले सिवालिक क्षेत्रमा बढी डढेलो लाग्ने गरेको जानकारी दिँदै जङ्गलबाट बस्तीमा डढेलो सल्किने क्रम पनि बढेको बताउनुभयो ।  भुलेलले भन्नुभयो, “विभिन्न कारणले बस्ती र वन जोडिन थालेको छ, त्यसैले वनमा लागेको आगो बस्तीमा सल्किने क्रम पछिल्ला वर्षहरूमा बढ्दै गएको हो, यसले ठूलो जनधनको क्षति गराइरहेको छ ।” नेपालमा तथ्याङ्क हेर्दा बढी लुम्बिनी प्रदेशमा डढेलो लागेको छ । त्यसपछि सुदूरपश्चिम, कर्णाली, बागमती, मधेश प्रदेश, कोशी र गण्डकीमा डढेलोका घटना भएको छ ।  केही वर्षहरूमा गरिएको अध्ययनले डढेलो लाग्ने क्रम बढ्नु र क्षति पनि बढाउँदै लैजानुले डढेलो लाग्ने मौसमभन्दा केही महिना अगाडिदेखि नै रोकथामको तयारी थाल्न जरूरी रहेको उहाँले सुनाउनुभयो । उहाँले यही मङ्सिर पुसदेखि नै तयारी थाल्नुपर्नेमा जोड दिनुभयो ।  जङ्गल व्यवस्थापन प्रभावकारी नहुनु, वनपैदावर र जल्ने वस्तु थुप्रिँदै जानु, कृषि भूमि बाँझिदै गएर जङ्गलमा परिणत हुनु र त्यसले बस्तीसम्म फैलिँदा घरमा पनि डढेलो पुग्नु, जलवायु परिवर्तनलगायत कारण आगलागी बढिरहेको विज्ञहरू बताउँछन् । डा भुजेलले अब ज्वलनशील पदार्थ जङ्गलबाट हटाउन नसके डढेलो र आगलागी भयावह हुनेतर्फ सरकारले बेलैमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले तल्लो स्थानीय तहदेखि केन्द्रसम्मका निकाय सक्रिय भएर लाग्न सके डढेलोकै लागि कमाण्ड पोष्ट निर्माण गरी फायर फाइटिङ टिम निर्माण गर्न जरूरी रहेको बताउनुभयो । उहाँले डढेलो लाग्नै नदिने उपायको खोजी गर्नतर्फ ध्यान दिनुपर्ने सुझाव दिनुभयो । वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक दीपक ज्ञवाली गएको वर्ष ७४ जिल्लामा पाँच हजारभन्दा बढी डढेलोका घटना भएको जानकारी गराउँदै जङ्गल र घरसँगसँगै जोडिन पुग्दा जङ्गलमा लागेको डढेलो घरसम्म आइपुग्ने गरेको र जनधनको क्षति भइरहेको बताउनुहुन्छ । जङ्गलका प्रज्वलनशील पदार्थ हटाउन सके डढेलो नियन्त्रणमा सहयोग पुग्ने हुँदा अब वन व्यवस्थापन यसतर्फ केन्द्रित हुनुपर्नेमा उहाँको जोड छ । विपद्सम्बन्धी अगुवाइ गर्ने संस्था गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण हो । तर पनि अन्य बाढीपहिरोजस्ता विपद्लाई झैँ डढेलोलाई प्राथमिकता दिन अझै सकिएको छैन । प्राधिकरण आएपछि केही प्रयास भएका छन्, तर पर्याप्त छैन । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल वन व्यवस्थापनलाई कसरी व्यवस्थित र बलियो बनाउने भन्नेबारे वर्तमान आवश्यकतासहितको राष्ट्रिय रणनीति आवश्यक भएको बताउनुहुन्छ ।  त्यसका लागि प्राधिकरणले आवश्यक प्रक्रिया अघि बढाइसकेको र तयारीमा जुट्न कर्मचारीहरूलाई निर्देश गरिसकिएको उहाँले बताउनुभयो । डढेलो जोखिम न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि सँगसँगै वनमा थुप्रिएर बसेका सुकेका पत्करहरूको उचित व्यवस्थापन गर्न सबै क्षेत्रको समन्वयात्मक भूमिका र अग्रसरता जरूरी रहको उहाँले बताउनुहुन्छ ।  उहाँका अनुसार प्राधिकरणले भर्खरैमात्र डढेलोको विपद् न्यूनीकरणसम्बन्धी राष्ट्रिय बहस सम्पन्न गरेको छ । उक्त बहसले महत्त्वपूर्ण सुभाव दिएकाले त्यसलाई कार्यान्वयनका लागि प्राधिकरणले पहल थालेको र संयुक्त कार्र्य अघि बढाउने विषयमा आह्वानसमेत गरिएको बताउनुभयो ।  

कञ्चनपुर:    हिमालय पर्वतमालामा पाइने दुलर्भ कृष्णवक्ष रातोकण्ठ ९चाइनिज रुबीथ्रोट० चरा पहिलोपटक कञ्चनपुरमा देखापरेको छ । बेलौरी नगरपालिका–७ नकैया सीमसार क्षेत्रमा कृष्णवक्ष रातोकण्ठ चरा फेलापरेको हो । नेपाल पक्षी संरक्षण सङ्घ (विसिएन)का चराविज्ञ हिरूलाल डगौरा शुक्लाफाँटा नेचरगाइड एशोसिएसनका सुवन चौधरी र महानन्द जोशीको टोलीले सो चरा फेलापारेका हुन् । हिमाली क्षेत्रमा हिउँ पर्ने क्रमसँगै चिसो बढेपछि यो चरा तराई क्षेत्रमा आउने गर्दछ ।  “तराई क्षेत्रमा आउने भए पनि विरलै देखापर्ने गरेको छ”, चराविज्ञ डगौराले भन्नुभयो, “कञ्चनपुरमा भने पहिलोपटक देखापरेको छ, यो चरा यस क्षेत्रका लागि दुलर्भ नै हो ।” अहिलेसम्मको तथ्याङ्कमा यो चरा नदेखिएको उहाँको भनाइ छ । उहाँका अनुसार यो चरा बङ्गलादेश, भुटान, म्यानमार, नेपाल, पाकिस्तान, रुस र थाइल्याण्डमा पाइन्छ । गर्मीका बेला हिमाली क्षेत्रमा र जाडोमा तराई क्षेत्रमा बसाइ सर्ने गर्दछ ।  जाडोमा यो चरा नेपालदेखि भारतको आसामसम्म बसाइ सरेर पुग्ने गर्छ । यसले गर्मीका बेला प्रजनन गर्ने गर्दछ । घना रुख र झाडीमा गुँड लगाएर अण्डा पारेर बच्चा कोर्लने गर्दछ । कृष्णवक्ष रातोकण्ठ चराको भालेको सेतो निधार, स्टलेटी खैरो हुन्छ भने पखेटा खैरो रङको र पुच्छर सेतो टुप्पोमा कालो रङको हुन्छ । घाँटी र छातीको छेउ कालो हुन्छ भने घाँटीको बीचमा रातो रङको हुन्छ । पोथी निलो खैरो रङको हुन्छ । घाँटी सेतो हुन्छ । “यस चराका जोडी प्रजननको समयमा एक्लै वा जोडीमा देखिने गर्दछन्”, चराविज्ञ डगौराले भन्नुभयो, यसले स–साना कीरा र कमिलालाई आहाराका रूपमा खाने र बचेरालाई खुवाउने गर्दछन् ।”  तराई क्षेत्रमा चिसो बढ्न थालेपछि यो चरा पुनः पुरानै बासस्थानमा फर्कने गर्दछ । यो चरा विशेषगरी समुद्री सतह दुई हजार पाँच सयदेखि दुई हजार सात सय मिटरको उचाइसम्म देखिने गरेको छ । सिमसार क्षेत्र संरक्षणमा स्थानीय बासिन्दाको चासो बढ्दै जानु र चराको सिकार गर्ने क्रममा कमी आएपछि दुर्लभ प्रजातिका चरा देखिन थालेको चराविज्ञ डगौराको भनाइ छ ।

तनहुँ:    म्याग्दे गाउँपालिका–३ बेल्टारस्थित ठूलो बगैचामा गाउँपालिकाको रु तीन करोड लगानीमा सात सय दर्शक क्षमताको सभाहल निर्माण भएको छ । प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार सभाहल निर्माणका लागि स्थानीय सरस्वती घिमिरेले आधा रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको हो ।  सभाहलको निर्माण गत असारमा पूरा भएको हो । आज त्यसको औपचारिक उद्घाटन हुँदैछ ।  अब  गाउँपालिकाले कार्यक्रम गर्न अन्यत्र पेक्षालयको व्यवस्था गर्नुपर्ने छैन । साथै अन्य सङ्घसंस्थालाई पनि कार्यक्रम गर्न सहज हुनेछ ।

काठमाडौं:     नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८८ पैसा कायम भएको छ ।  युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ दुई पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ सात पैसा र बिक्रीदर एक सय ७२ रूपैयाँ ८३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रूपैयाँ एक पैसा र बिक्रीदर एक सय ५३ रूपैयाँ ६९ पैसा कायम गरिएको छ ।  अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ सात पैसा र बिक्रीदर ८७ रूपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ २३ पैसा र बिक्रीदर ९६ रूपैयाँ ६५ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रूपैयाँ ८५ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ २९ पैसा निर्धारण गरिएको छ ।  जापानी येन १० को खरिददर नौ रूपैयाँ एक पैसा र बिक्रीदर नौ रूपैयाँ पाँच पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १८ रूपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ र बिक्रीदर ३६ रूपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा कायम भएको छ ।  केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रूपैयाँ ९६ पैसा र बिक्रीदर तीन रूपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९९ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ३५ पैसा र बिक्रीदर ३० रूपैयाँ ६९ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रूपैयाँ ५४ पैसा र बिक्रीदर नौ रूपैयाँ ५८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ३७ पैसा र बिक्रीदर १२ रूपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ नौ पैसा र बिक्रीदर १९ रूपैयाँ १८ पैसा तोकिएको छ ।  राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ३८ पैसा र बिक्रीदर १७ रूपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रूपैयाँ ९८ पैसा र बिक्रीदर चार सय ४१ रूपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रूपैयाँ ७७ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ ३६ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५१ रुपैयाँ ३७ पैसा र बिक्रीदर तीन सय ५२ रुपैयाँ ९३ पैसा तथा भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

काठमाडौं:  विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै  तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ ।  विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई तथा रितेन्द्र थापाको इजलासले निजहरूलाई दोषी ठहर गरेको हो । अदालतले निगमका तत्कालीन महाप्रबन्धक कङ्साकारलाई दुई वर्ष नौ महिना कैद हुने फैसला गरेको छ । त्यसमा बिगो रु एक अर्ब ४७ करोड १० लाखको दामासाही हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना गरिएको छ । निजले  ज्येष्ठ नागरिक ऐनअनुसार ५० प्रतिशत सजाय छुट पाउने छन् । निगमका सञ्चालक समितिका तत्कालीन अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीलाई एक वर्ष नौ महिना कैद सजायको फैसला भएको छ । दामासाहीले हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना भने सोही बराबरको बिगो जफतसमेत हुने फैसलामा उल्लेख छ । विशेष अदालतले पूर्वसचिव एवं तत्कालीन निगम सञ्चालक समिति सदस्य शिशिरकुमार ढुङ्गानालाई एक वर्ष छ महिना कैद सजाय सुनाएको छ ।  ढुङ्गानालाई कुल बिगोको दामासाही हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना हुने फैसला भएको छ ।  पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव बुद्धिसागर लामिछानेलाई पनि एक वर्ष छ महिना कैद सजायको फैसला भएको छ । दामासाहीले हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना लामिछानेलाई हुनेछ । बिगो असुलउपरको फैसला लामिछानेलाई पनि लागू हुनेछ । अदालतले जहाज खरिद प्रक्रियामा संलग्न विदेशी कम्पनीका तीन प्रतिनिधिलाई पनि दोषी ठहर गरेको छ । ती कम्पनीका प्रनिनिधिलाई एक वर्ष छ महिना कैद र दामासाहीले हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवानाको फैसला गरेको छ । अदालतले तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीलाई सफाइ दिएको छ । उक्त प्रकरणमा दुई विदेशीसहित २७ प्रतिवादीले अभियोगबाट सफाइ पाएका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिदमा भ्रष्टाचार भएको उल्लेख गर्दै मुद्दा दायर गरेको थियो ।

काठमाडौं:     इतिहासकार पुरुषोत्तम शमशेर राणाको आज निधन भएको छ ।  ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा राणाको ९९ वर्षको उमेरमा निधन भएको उहाँकी बुहारी भगवती राणाले जानकारी दिनुभयो । उहाँका अनुसार राणालाई रक्तचाप कम भएपछि अस्पतालमा भर्ना गरिएको थियो । विसं १९८२ चैत १५ गते चारबुर्जा दरबार अर्थात् हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवनमा उहाँ जन्मनुभएको हो । तत्कालीन जहानिया शासनको प्रतिबन्धका कारण उहाँले पाल्पा दरबारमै अध्ययन गरी युपी बोर्डबाट एसएलसी उत्तीर्ण गर्नुभएको थियो ।  उच्च शिक्षा हासिल गर्ने क्रममा भारतको वाराणसीस्थित जयनारायण कलेजबाट इन्टर–मिडियट उत्तीर्ण गर्नुभएका उहाँ बनारस हिन्दू विश्वविद्यालयमा विकम पढ्ने क्रममा क्रान्तिमा लाग्नुभएको थियो ।     उहाँले राणाकालीन प्रमुख ऐतिहासिक दरबारसम्बन्धी श्री ३ राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरु, लुकेछिपेका प्रतिभाहरु, मेरा जीवनका स्मृतिहरुलगायतका पुस्तक लेख्नुभएको छ । उहाँ रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुनुहुन्छ ।

चितवन:    भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले समग्रमा ७० प्रतिशत काम सम्पन्न भएको जनाएको हो ।  आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार अहिले केवल (तार) बिच्छ्याउने कार्य र घरघरमा जडान कार्य (सर्भिस कनेक्सन)को काम बाँकी रहेको छ ।  अहिले शहीदचोक र पुलचोक क्षेत्रमा काम भइरहेको उहाँले बताउनुभयो । निर्माण कार्य तिव्र पारिएकाले सन् २०२५ को जुलाईसम्म काम सक्ने गरी कार्ययोजना निर्माण गरेर काम गरिएको छ ।  जमिनको सतहभन्दा माथि देखिने काम र जमिनमा नदेखिने गरी दुई चरणमा विभाजन गरेर काम गरिएको छ । डिभाइस र फाउण्डेसन निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको उहाँले बताउनुभयो ।  अन्य कामलाई तिव्र गतिमा लैजान निर्माण कम्पनीलाई आयोजनाले आग्रह गरेको छ । सुवेदीले भन्नुभयो, “निर्माण कम्पनीले समय थप गर्न गरेको निवेदनलाई मध्यनजर गर्दै दश महिनाको समय थप गरिएको छ ।”  सन् २०२२ को अक्टोबरमा दुई वर्षमा काम सम्पन्न गर्ने गरी भारतीय ठेकेदार कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले ठेक्का सकारेको थियो । पछिल्लो सम्झौताअनुसार महानगरपालिकाभित्र चनौली लाइन जडानका लागि भरतपुर महानगरको मुख्य शहरी क्षेत्रमा भूमिगत मार्फत गर्दै लगिने उहाँले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “बसेनीदेखि भरतपुर महानगरपालिका अगाडिसम्म, आँपटारीदेखि पोखरा बसपार्कसम्मको सडक र केन्द्रीय बस ट्रमिनलदेखि गोन्द्राङ्सम्मको सडक थपिएको छ ।”  केन्द्रीय बस ट्रमिनलदेखि गोन्द्राङ्सम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र ४०० भोल्टको लाइनलाई भूमिगत गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि रु एक अर्ब ४० करोड लागत लाग्ने छ । सुरुवाती समयमा रु १ अर्ब ३० करोड वजेट भरतपुरलाई विनियोजन गरिएको थियो । एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।   

पाल्पा:    नागरिकका गुनासो र अपेक्षा सङ्कलन गर्ने उद्देश्यले रामपुर नगरपालिकाले ‘जनप्रतिनिधिसँग संवाद’ कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाले १० वटै वडामा सुझावसहित गुनासो सङ्कलन गर्ने उद्देश्यले अभियानका रूपमा कार्यक्रम अघि बढाएको हो । स्थानीय सरकारका कामबाट नागरिक सन्तुष्ट छन्रछैनन्, नगरका विभिन्न वडा तथा बस्तीमा भएका प्रगति तथा समस्याबारे स्थानीयसँग प्रत्यक्ष सुझाव सङ्कलन सुरु गरिएको नगरपालिका कार्यालयले जनाएको छ । जनप्रतिनिधि प्रत्यक्ष रूपमा वडावडामा पुगेर नगरवासीको गुनासो सुन्ने, विकास निर्माणका साथै सामाजिक काम, आवश्यकताका आधारमा बजेट निकासा, पूर्वाधार निर्माणमा भएका प्रगति र ढिलासुस्ती, आगामी कार्यक्रममा महत्वका साथ समावेश गर्नुपर्ने योजनालगायत विषयमा स्थानीयबाट सुझाव लिन अभियान सञ्चालन गरिएको नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो । उहाँले आवश्यक सुझावसहित गुनासो प्रस्तुत गर्न स्थानीयलाई आग्रह गर्नुभयो । नगरपालिकाले वडावडामा सुरु गरेको उक्त कार्यक्रमले वडाभित्रका साना–ठूला सबै समस्या, विकास निर्माणका प्रगति, तत्काल गर्नुपर्ने कामलगायत विषयमा महत्वपूर्ण सुझाव दिन नागरिकलाई अवसर प्राप्त भएको चन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक टङ्कनाथ पोखरेलले बताउनुभयो ।  “नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी सबैको उपस्थितिमा प्रत्यक्ष सहभागी भएर गाउँका समस्या, नागरिकका गुनासो, अपेक्षाअनुसार स्थानीय सरकारबाट भएका काम, आगामी दिनमा सुधार गर्नुपर्ने योजनालगायत विषयमा रचनात्मक सुझाव सङ्कलन गर्ने माध्यम यो कार्यक्रम बनेको छ”, उहाँले भन्नुभयो । नगरपालिकाले वडा नं १ बाट सुरु गरिएको कार्यक्रम दशवटै वडामा सञ्चालन गरिने नगरका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले बताउनुभयो ।  उहाँका अनुसार वडा नं १ मा सहभागीले टोल विकास संस्थाको काम तथा संस्था दर्ता र सञ्चालनका लागि बजेट विनियोजन, विकास निर्माणसम्बन्धी प्रगति र ढिलाइ, वडामा सञ्चालित योजना सम्झौता, योजनाको नियमित अनुगमन र मुल्याङ्कन, सरकारी संरचनामा बनेका संरचनाको संरक्षण, सडक सुरक्षा, सवारीसाधनको भाडादर कार्यान्वयन, विद्यालयका शिक्षक दरबन्दी, आपराधिक क्रियाकलाप नियन्त्रणका लागि भएका पहल, आयआर्जनमूलक क्षेत्र, कृषि तथा पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्य, सडक स्तरोन्नतिलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट उपलब्ध गराउन सुझाव व्यक्त गरेका छन् । नागरिकबाट आएका सुझाव र वडाका समस्यालाई नगरपालिकाले आवश्यकता र महत्वका आधारमा प्राथमिकता दिएर काम गर्ने नगरप्रमुख थापाले बताउनुभयो ।  नागरिक र जनप्रतिनिधि एकै ठाउँमा सहभागी भएर नगर तथा वडाका विषयमा संवाद गर्दा तत्काल गर्नुपर्ने काम र समस्या समाधानका विकल्प प्राप्त भएका भन्दै आगामी नीति तथा कार्यक्रममा ती सुझाव समावेश गरी योजना सञ्चालन गरिने उहाँले उल्लेख गर्नुभयो ।  वडावडामा संवाद कार्यक्रम सुरु गरेपछि जनप्रतिनिधिले नागरिकका समस्या सुन्ने र जानकारी लिने भएकाले आगामी दिनमा योजना कार्यान्वयनमा सहज हुने प्रमुख प्रशासकीय अधिकृत पण्डितले बताउनुभयो ।  नगरपालिकाले थालेको उक्त कार्यक्रम सिधैँ नागरिकसँग जोडिएकाले नगरको समग्र विकास निर्माणमा महत्वपूर्ण प्रभाव पार्ने उहाँको भनाइ छ । यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा नागरिकले जोड दिएका छन् ।  

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किनुभएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखहरूले स्वागत गर्नुभयो ।  प्रधानमन्त्री ओलीको स्वागतमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।  चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली यहीँ मङ्सिर १७  गते चीन प्रस्थान गर्नुभएको थियोे ।बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुभएको थियो ।  साथै प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली तथा राष्ट्रिय जनकंग्रेस (एनपिसी)का अध्यक्ष चाओ ल चीसँगको भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार विमर्श भएको थियो । उहाँको चीन भ्रमणका क्रममा नेपाल–चीनबीच विभिन्न सहमतिमा हस्ताक्षर समेत भएको छ ।  प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायत हुनुहुन्थ्यो ।