काठमाडौं: उपसभामुख इन्दिरा राना मगरले अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय बालअधिकार परिषद्ले आज यहाँ आयोजना गरेको ‘अपाङ्गता भएका बालबालिकाको निःसंस्थागतकरण, नीति र अभ्यासमा समावेशी गुणस्तरिय शिक्षा तथा अपाङ्गता जाँच उपकरणको संस्थागत प्रयोगसम्बन्धी’ संवाद कार्यक्रममा अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि आवश्यक कानुन बनाउनुपर्नेमा उपसभामुख राना मगरले जोड दिनुभयो । उहाँले स्थानीय तहबाट नै अपाङ्गता बालबालिकाका मैत्री कानुन बन्नुपर्ने बताउनुभयो । शिक्षा विधेयक समावेशी बनाउन आफूले भूमिका खेल्ने उपसभामुख राना मगरको भनाइ थियो । अपाङ्गता भएका बालबालिकासम्बन्धी बनेका नीतिलाई कार्यान्वयन गर्न सबैले दबाब दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले अपाङ्गता भएका बालबालिकाको पहुँच शिक्षामा समग्ररुपमा अरु बालबालिका जस्तै पुर्याउनुपर्नेमा जोड दिँर्दै उपसभामुख राना मगरले बालबालिकाका लागि समावेशीकरण नीति बन्नुपर्ने बताउनुभयो । विश्व नै समावेशीको कुरा गरिरहेको बेला हामीले समानताको नीति बनाएर अभ्यास गर्नुपर्ने उहाँको भनाइ थियो । अपाङ्गता भएका बालबालिकाको शिक्षा र हेरचाह गर्न छुट्टै जनशक्ति उत्पादन गर्नुपर्ने उपसभामुख राना मगरले बताउनुभयो । कार्यक्रममा परिषद्का अध्यक्ष बमबहादुर बाँनियाले अझै पनि अपाङ्गता भएका व्यक्तिका लागि नीति बने पनि कार्यान्वयनमा समस्या रहेको बताउनुभयो । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै हातेमालो समाज नेपालका अध्यक्ष डिल्लीराम गिरीले अपाङ्गता भएका बालबालिकामाथि सरकारले लगानी गरेमात्र बालअधिकार सुनिश्चित हुने बताउनुभयो । कार्यक्रममा नीति र अभ्यासमा समावेशी गुणस्तरिय शिक्षासम्बन्धी प्रस्तुतिकरण गदै शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक सविता दङ्गालले ३३ विशेष र २३ एकीकृत विद्यालयबाट करिब ३३ हजार अपाङ्गता भएका बालबालिकालाई शिक्षा प्रदान गरिरहेको बताउनुभयो । उहाँले अपाङ्गमैत्री पाठ्यक्रम बनाउने काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रले करिब १ हजार ३ सय विद्यार्थीलाई बे्रललिपीका पाठ्य सामग्री उपलब्ध गराएको छ । यस्तै केन्द्रका अधिकृत दीपक माझीले अपाङ्गता जाँच उपकरणको संस्थागत प्रयोगका सम्बन्धमा प्रस्तुतिकरण गर्दै अझै पनि अपाङ्गता भएका व्यक्तिलाई सबै उपकरण पुर्याउन नसकेको बताउनुभयो । करिब १० हजार ८ सय ८२ अपाङ्गता भएका बालबालिका वैकल्पिक स्याहार केन्द्रमा रहेको परिषद्का अध्यक्ष बाँनियाले जानकारी दिनुभयो ।
म्याग्दी: सडकको स्तरोन्नति तथा कालोपत्र गरिसक्ने ठेक्का अवधिको चार महिना मात्र बाँकी रहँदासम्म म्याग्दीको रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडकको ७० प्रतिशत भौतिक प्रगति भएको छ । सडक स्तरोन्नति तथा कालोपत्रका लागि विसं २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभी र सडक डिभिजन कार्यालय बागलुङबीच भ्याटबाहेक रु २३ करोड ३२ लाखमा ३० महिनामा निर्माण सक्नेगरी ठेक्का सम्झौता भएको थियो । आगामी चैतमा उक्त ठेक्का सम्झौताको समयावधि सकिँदै छ ।विसं २०५६ मा ट्र्याक खोलिएको बेनी नगरपालिका–१, २ र ३ का बासिन्दाले प्रयोग गर्ने उक्त सडक ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले स्तरोन्नति तथा कालोपत्रको काम थालेको हो । अहिले सडक चक्लाउने, पर्खाल लगाउने, नाली बनाउनेलगायत काम भइरहेको र दैनिक ४० जनाले काम गरिरहेका सडक कार्यालयका इन्जिनियर अरुण सेढाइँले जानकारी दिनुभयो । सडकलाई नौ मिटर फराकिलो बनाएर सात किलोमिटर डिबिएसडी प्रविधिको कालोपत्र र दुई किमी आरसिसी ढलान गर्ने उहाँको भनाइ छ । “अहिलेसम्म ७० प्रतिशत काम सकिएको छ, ठेक्का अवधि सकिन चार महिना मात्र बाँकी छ, सयममा नै बजेट प्राप्त भए पुसमा ग्राभेल गर्ने, माघमा बेस बिछ्याउने र फागुनदेखि कालोपत्रको काम गर्ने योजना हो”, सेढाइँले भन्नुभयो । घुम्ती तथा मोड सुधार र ग्रेड मिलाउने काम पनि भइरहेको सेढाईंले बताउनुभयो । सङ्घीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक÷एक रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न रु ४०÷४० करोड विनियोजन गरेको थियो । भकुण्डे तथा उपल्लाचौर क्षेत्रमा डोजरले सडक फराकिलो बनाउने र मजदुरबाट पर्खाल, नाली निर्माण गर्ने काम सकिएको छ । पहिलो चरणमा उपल्लाचौरदेखि नौ किलोमिटर दूरीमा पर्ने बेनी–३ तोराखेतसम्म कालोपत्र गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । सङ्घीय सरकारकै बजेटबाट सडकको प्रवेशविन्दुमा पर्ने रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किमी तीन सय मिटर कालोपत्र र तीन सय मिटर सडक ढलान गरिएको थियो । यसैगरी, भकिम्ली–बरङ्जा–अर्मनको किमचौर हुँदै ताराखोलासम्म मार्ग खोलिसकिएको छ ।
पाँचथर: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्नुभएको छ । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा रहेको उक्त विद्यालयमा निर्माण भएको १८ कोठे भवन आज प्रधानमन्त्री ओलीले रिबन काटेर उद्घाटन गर्नुभएको हो । यस क्रममा उहाँले विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय लगायतसँग अन्तरक्रियासमेत गर्नुभएको छ । प्रधानमन्त्री ओलीले यस विद्यालयमा कक्षा ३ सम्म अध्ययन गरेको विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकीले जानकारी दिनुभयो । दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा निर्मित उक्त भवनको हालै निर्माण सम्पन्न भएको हो । भवन निर्माणमा उक्त फाउण्डेसनले रु चार करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारले रु २१ लाख ४० हजार र आठराई गाउँपालिकाले रु ६९ लाख लगानी गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम घिमिरेका अनुसार पुरानो भवनमा पठनपाठन गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीलाई विद्यालयले बजेटको पहल गरिदिन आग्रह गरेको थियो । प्रधानमन्त्री ओलीकै आग्रहका युम होङ गिल ह्युमन फाउण्डेसन दक्षिण कोरियाले मुख्य लगानी गरेपछि भवन निर्माण भएको घिमिरेले बताउनुभयो । कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते योङ, युम होङ गिल ह्युमन फाउण्डेसनका पार्क यु सुन लगायतको उपस्थिति रहेको थियो ।
काठमाडौं: बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत मङ्सिर ६ गते बिहान कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमवल दुई रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ । नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पको जोखिमपूर्ण क्षेत्रका रूपमा लिने गरिन्छ ।
म्याग्दी: बेनी– हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा–१० किलोमिटर कृषि सडक कालोपत्र गर्न धमाधम स्तरोन्नतिको काम सुरु भएको छ । जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर सञ्जय सुवेदीका अनुसार बगरफाँट– दूधेखोला साढे दुई किलोमिटर सडक चौडा बनाउनका साथै पानीको निकासका निम्ति नाली निर्माण गरी ‘ग्राभेल’सहित स्तरोन्नति थालिएको हो । योजनाअन्तर्गत कोटखोलाबाट साढे दुई किलोमिटर सडकलाई आठ मिटर चौडा बनाइनेछभने दूधेखोला–भकिम्ली खण्डमा तीन सय ९० मिटर ढलान गरिने छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट कृषि सडकका लागि रु एक करोड ६० लाख बजेट विनियोजन भएको छ ।हाँडेभिर–बगरफाँट दुई किलोमिटर कालोपत्र भइसकेको छ । सो सडक खण्डअन्तर्गत नयाँ पुलमा सय मिटर, बाहुनडाँडामा ६ सय ५० मिटर र थामडाँडामा सय मिटर नयाँ मार्ग खोलिएको छ । उक्त सडक बेनी नगरपालिका–२ बगरफाँट हुँदै पश्चिम मालिका गाउँपालिका–४ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको इन्जिनियर सुवेदीले बताउनुभयो ।
बागलुङ: राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक धमाधम स्तरोन्नति भइरहेको छ । लोकमार्गको अक्षतेबाट काठेखोला गाउँपालिका–८ लेखानी गाउँ जोड्ने सडकको २१ वर्षपछि स्तरोन्नति थालिएको हो । काठेखोला–८ का अध्यक्ष प्रमानन्द कँडेलका अनुसार सङ्घीय र प्रदेश सरकारको बजेटबाट गत वर्षदेखि नै स्तरोन्नति गर्न थालिए पनि कामले पूर्णता पाउन सकेको थिएन । आर्थिक वर्ष २०८०÷८१ मा पहिलो खण्डअन्तर्गत सुलडाँडा– भुदीखोला स्तरोन्नति भएको र यस वर्ष दोस्रो खण्डको काम धमाधम भइरहेको छ । चालु आर्थिक वर्षमा भुदीखोला–पैराखर्कसम्मको साढे तीन किलोमिटर ग्राभेलिङ गरिने उहाँले बताउनुभयो । यो सडकका निम्ति रु ५ करोड विनियोजन भएको छ । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ५० लाखले तेस्रो खण्डअन्तर्गत पैराखर्क– शिवालय–पिपलथर –करलिम पनि चालु आवमा नै स्तरोन्नति गरिने उहाँले जानकारी दिनुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुखआयुक्त डा सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री निवासमा आज बिहान भएको समारोहमा प्रधानमन्त्री ओलीले प्रमुखआयुक्त आचार्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । प्रधानमन्त्रीको उपस्थितिमा प्रमुखआयुक्त आचार्यले नवनियुक्त आयुक्त गगन विष्ट र दुर्गा भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था भएको मौलिक हकका रूपमा सूचनाको हकको कार्यान्वयन र उपयोगका लागि आयोगको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अल्मल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने भन्नुहुँदै उहाँले सूचनाको हक उपयोग गर्दा त्यो न्यायोचित भएनभएको निक्र्योल गरी अराजकताले प्रश्रय पाउन नहुने बताउनुभयो । समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, उक्त मन्त्रालयका सचिव राधिका अर्याललगायत उपस्थिति हुनुहुन्थ्यो । मन्त्रिपरिषद्को यही मङ्सिर ६ गतेको बैठकले उहाँहरुलाई आयोगमा नियुक्त गरेको हो ।
बागलुङ: यस वर्षको पहिलो सिकार याममा १० नाउर र ५ झारलको सिकार गरिएको छ । नेपालको एकमात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा १२ नाउर र ८ झारलको सिकार गर्न ४ कम्पनीमार्फत १२ विदेशी सिकारले अनुमति प्राप्त गरेका थिए । एउटा नाउरको सिकार गर्नका लागि अनुमति प्राप्त सिकारी आउन नपाएको र एक जना सिकारी नाउर सिकार गर्न असमर्थ भएको ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङले जनाएको छ । जङ्गली जनावर नाउर र झारलको सिकार गर्न यस पटक अमेरिका, स्पेन, नेदल्याण्ड र मेक्सिकोका १२ व्यावसायिक सिकारीले अनुमति प्राप्त गरेका थिए । जसमध्ये अमेरिकाका एक सिकारी राजश्व बुझाएर समेत नाउरको सिकार खेल्न ढोरपाटन नआएको तथा अर्का अमेरिकाकै सिकारीले नाउर मार्न असफल भएको सिकार आरक्ष कार्यालय बागलुङका सूचना अधिकारी पशुपती अधिकारीले जानकारी दिनुभयो । यस्तै विदेशी सिकारीले ३ वटा झारल सिकार गर्न असमर्थ भएको अधिकारीको भनाइ छ । ७ बनेलको सिकार अनुमति पाएका सिकारीले सिकारनै नगरेको आरक्षको भनाइ छ । ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज–मङ्सिर) पहिलो याम र ९फागुन–वैशाख० मा दोस्रो याम गरी २ चरणमा सिकार हुँदै आएको छ । सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालयले आफ्ना कर्मचारी र सिकारीका भरिया सम्बन्धित सिकार ब्लकमा खटाइएको हुन्छ । ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत चन्द्र शेखर चौधरीले बनेल सिकार गर्न बिदेशीले रुचि नदेखाएको बताउनुभयो । बनेलका लागि नेपाली सिकारीलाई समेत अनुमति खुला गरेपनि आवेदन नपरेको उहाँको भनाइ छ । उहाँका अनुसार पहिलो सिकार याममा ग्लोवल सफारिज नेपाल प्रालि, नेपाल ट्राभल एक्पेडिसन प्रालि, हिमालयन वाइल्डलाइफ आवटफिटर्स, स्युचाटार, काठमाडौँ र ओपन नेपाल वाइल्डलाइफ सफारिज ट्रेक प्रालिमार्फत सिकारीलाई अनुमति दिइएको थियो । सिकार आरक्ष क्षेत्रलाई ७ वटा ब्लकमा विभाजन गरिएको छ । सेङ, बार्से, सुर्तिवाङ, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा सिकार गरिएको छ । पेशेवर विदेशी सिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टरमार्फत सिकार खेल्न आरक्षमा पुग्ने गर्छन् । र्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’ मा सिकार खेल्न रुचि राख्ने गरेको सिकार आरक्ष कार्यालयले जनाएको छ । सिकारीसहित नेपाली सेना र आरक्षको समूह अधिकतम १५ दिन जङ्गलमै समय बिताउने गर्दछन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । यस वर्ष एउटै नाउरको अधिकतम रु १८ लाखसम्म राजश्व सङ्कलन भएको आरक्ष कार्यालयको भनाइ छ । नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा १ जना सिकारीले करिब रु २० लाखदेखि ३० लाख खर्च गर्ने गर्दछन् । विसं २०४४ सालमा स्थापना भएको ढोरपाटन सिकार आरक्ष बागलुङ, रुकुमपूर्व र म्याग्दी जिल्लाको १ हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
पर्वत: दोविल्ला–फलेवास–लुङ्खु–हुवास सडकअन्तर्गत लुङ्खु–हुवास खण्डमा धमाधम कालोपत्र भइरहेको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) परियोजनाअन्तर्गत पाँच वर्षदेखि जारी निर्माण एवं स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सरकारले उक्त सडक निर्माण थालेको हो । निर्माणाधीन १५ किलोमिटरमध्ये नौ किलोमिटर सम्पन्न भइसकेको छभने बाँकी आगामी दुई महिनाभित्र सम्पन्न गर्नेगरी कालोपत्र र ढलानको तयारी भइरहेको छ । हुवास–भोर्ले कालोपत्र पूरा भएको छभने मङ्गलबारदेखि पाखापानीतर्फको काम प्रारम्भ भएको छ । महाशिला गाउँपालिकाको लुङ्खुदेखि पैँयू गाउँपालिकाको केन्द्र हुवासस्थित हातेमालो चोकसम्म रु ३६ करोड ९६ लाख ९३ हजार ६ सय ८५ लागतमा सडक कालोपत्र हुने भएको हो । उक्त सडक कालोपत्र नहुँदा वर्षायाममा पैँयु र विहादी गाउँपालिकाका बासिन्दा स्याङ्जा, पोखरा भएर कुस्मा आउनुपर्ने बाध्यता थियो । कुश्मा–फलेवास १६ दशमलव सात किमी सडक ५ वर्षअघि नै कालोपत्र गरिएको होभने लमायखोला–लुङ्खु १३ किमी गत वर्ष पूरा भएको हो । यो सडक खण्डको शेराबेँसी–गेडीखोलामा पक्की पुल निर्माण भएको छ ।